खण्ड अध्ययन – रोमी भाग 4, खण्ड 3
यस पाठमा हामी रोमीको पुस्तकको भाग 4 लाई निरन्तरता दिन्छौं। हामीले रोमी 6 (पापमाथि विजयको बारेमा) र रोमी 7 (दोषी ठहरिएको पापीको बारेमा) अध्ययन गरेका छौं। यस पाठमा हामी रोमी 8 को अध्ययन गर्नेछौं, जसले संसारको कठिन परिस्थितिमा ख्रीष्टियानको जीवनको वर्णन गर्दछ।
अध्याय 8 को मुख्य बुँदा
विश्वासी पतित संसारमा बाँचिरहेको भए तापनि, यसको अवस्था र आफ्नै कमजोरीबाट पीडित भए तापनि, पवित्र आत्माले उसलाई पाप र सबै परिस्थितिहरूमाथि विजय प्रदान गर्नुहुन्छ।
अध्याय 8 को सारांश
यस अध्यायले त्रिएकत्व तीन व्यक्तित्वहरूलाई धेरै पटक उल्लेख गर्दछ। तीनै जना हाम्रो वर्तमान र अन्तिम उद्धारमा नजिकबाट संलग्न छन्। हामी शरीरमाथि विजय हासिल गर्न सक्छौं, उद्धारको व्यक्तिगत आश्वासनको आनन्द लिन सक्छौं, पतित सृष्टिमा परिस्थितिहरू सहन सक्छौं, हाम्रो आफ्नै धारणाभन्दा बाहिर आत्मिक मद्दतले प्रार्थना गर्न सक्छौं, र परमेश्वरसँगको हाम्रो उद्धार सम्बन्धमा दृढ रहन सक्छौं।
8:1-13 ले एउटा खण्ड बनाउँछ जसको शीर्षक “शरीरमा अब रहने छैन” हुनसक्छ।
8:1-13को परिचय
दोषी नठहराइएकाहरू ती हुन् जो अब शरीरको पछि लाग्दैनन्। शरीरको अर्थ केवल मानव हुनु मात्र होइन, तर पतित स्वभावको नियन्त्रणमा हुनु हो।[1]
शरीरमा हुनु भनेको मुक्ति पाउनुको विपरीत हो। शरीरमा मन लगाउनु मृत्यु हो (8:6) र परमेश्वरप्रति शत्रुता हो (8:7)। पापमय स्वभावको वशमा हुने व्यक्तिले परमेश्वरलाई प्रसन्न गर्न सक्दैन (8:8) अनि ऊ मर्छ (8:13)। शरीरमा हुनु भनेको 7:7-25 मा वर्णन गरिएको समान अवस्था हो (7:14,18,25 लाई हेर्नुहोस्)।
8:12-13 चाहिँ निष्कर्ष हो। हामीले शरीरअनुसार जिउनु हुँदैन, किनकि शरीरअनुसार जिउने व्यक्ति मर्नेछ, जसको अर्थ परमेश्वरको न्याय पाउनु हो (1:17 लाई हेर्नुहोस्)। हामीले शरीरका पापमय कामहरूलाई मार्नुपर्छ। शरीरद्वारा नियन्त्रित व्यक्ति येशूको अनुयायी नभएकोले, पाप आत्माको शक्तिद्वारा समाप्त हुनुपर्छ।
► विद्यार्थीले समूहको लागि रोमी 8:1-13 पढ्नुपर्छ।
हरेक पदहरूको नोटहरू
(8:1) आत्मालाई पछ्याउने व्यक्ति दोषी ठहरिएको हुँदैन। शरीरलाई पछ्याउने व्यक्ति दोषी ठहरिएको हुन्छ, अनि ऊ ख्रीष्टमा छैन।
[2](8:2) जीवनको आत्माको नियम यो हो कि जसलाई क्षमा गरिन्छ त्यो व्यक्ति अनुग्रहद्वारा ग्रहण गरिन्छ र उसको आत्मिक जीवन हुन्छ। पाप र मृत्युको नियम यो हो कि जसको व्यवस्थाद्वारा न्याय गरिनेछ उसलाई मृत्युदण्ड दिइनेछ।
(8:3) व्यवस्थाले आवश्यकताहरू प्रदान गर्यो; यसले शक्ति प्रदान गरेन। अविश्वासीले व्यवस्था पालन गर्न सकेन; त्यसकारण, व्यवस्था उद्धारको माध्यम हुनु असम्भव थियो। परमेश्वरले आफ्नो पुत्रलाई मुक्तिदाताको रूपमा पठाउनुभयो।
(8:4) हामी परमेश्वरको व्यवस्था बिर्सदैनौं तर आत्माको शक्तिले यसलाई पालन गर्छौं।
(8:5) प्रत्येक व्यक्तिले आफ्नो स्वभाव पछ्याउँछ। यदि उसले आत्मिक जीवन पाएको छैन भने, ऊ शरीरद्वारा नियन्त्रित हुन्छ।
(8:6) पापी स्वभावद्वारा नियन्त्रित हुनु भनेको दण्डको अधीनमा हुनु हो। यसको विकल्प भनेको आत्मामा हिँड्नु, परमेश्वरको आज्ञा पालन गर्नु हो। पाप गर्दै बस्नेहरूले क्षमा पाउने कुनै विकल्प छैन।
(8:7-8) शारीरिक स्वभाव भएको व्यक्ति स्वाभाविक रूपमा परमेश्वरको शत्रु हो, किनकि जबसम्म ऊ पापी स्वभावद्वारा नियन्त्रित हुन्छ तबसम्म ऊ परमेश्वरको अधीनमा बस्न सक्दैन। त्यस्तो अवस्थामा ऊ परमेश्वरको निम्ति स्वीकार्य हुँदैन।
► शरीरमा जिउने व्यक्तिको विवरणको वृतान्त सूचीबद्ध गर्नुहोस्।
(8:9) पापमय स्वभावमा हुनु भनेको पतन भएको, पापी स्वभावको नियन्त्रणमा हुनु हो। विश्वासी अब शरीरमा छैन। उसलाई अझै पनि शरीरबाट प्रलोभनहरू आउनेछन्, तर ऊ यसको नियन्त्रणमा छैन, र परीक्षाको प्रतिरोध गर्ने शक्ति छ। यस पदले हामीलाई बताउँछ कि यो शक्ति त्यहाँ छ किनभने परमेश्वरको आत्मा त्यहाँ हुनुहुन्छ। यदि कुनै व्यक्तिले पापमाथि विजय हासिल गरेको छैन भने उसले आत्माद्वारा निर्देशित र अभिषेक भएको दाबी गर्नु हुँदैन।
[3](8:10-11) मानव शरीर अझै पनि आदमको पाप र हाम्रा विगतका पापहरूबाट प्रभावित छ। त्यसकारण, यसको इच्छाहरू गलत दिशातर्फ जान सक्छन्। हामी हाम्रो शरीरको इच्छाहरूले हाम्रो मार्गदर्शन गर्न गर्छ भनी हामी त्यसमाथि भरोसा गर्न सक्दैनौं। तर येशूलाई फेरि जीवित पार्ने शक्तिले हामीमा काम गर्छ र हामीलाई जीवन दिन्छ ताकि हाम्रो शरीर परमेश्वरको आज्ञाकारितामा ल्याइयोस्। शरीरको कमजोरी पापको लागि बहाना होइन, किनकि परमेश्वरको शक्ति त्यसभन्दा ठूलो छ।
(8:12-13) शरीरलाई पछ्याउँदा आत्मिक मृत्यु हुन्छ। आत्माद्वारा हामी शरीरका पापी कार्यहरूलाई मार्छौं, त्यसको अन्त्य गर्छौं। त्यसो गर्ने मानिसहरू मात्र जिउने मानिसहरू हुन् - जो परमेश्वरको न्यायबाट बाँच्छन्। यहाँ यस्तो कुनै अवधारणा छैन कि जुन व्यक्तिले पाप गरिरहने छनौट गर्छ त्यसलाई परमेश्वरले क्षमा गर्नुहुनेछ र स्वीकार गर्नुहुनेछ।
“मानिसहरू बाहिरी, दृश्यमान, भौतिक र सतही कुराहरूमा सहज हुन्छन्। परमेश्वरको लागि महत्त्वपूर्ण कुरा हाम्रो हृदयमा पवित्र आत्माको गहिरो, भित्री, गोप्य काम हो।”
- जोन आर.डब्ल्यू. स्टट,
रोमीहरूलाई सन्देश:
संसारको लागि परमेश्वरको शुभ समाचार
“नियन्त्रणमा रहेको राम्रो भोकले स्वास्थ्य र उपयोगितालाई बढावा दिन्छ। एउटै भोकले, सम्पूर्ण व्यक्तिलाई दास बनाएर जीवनमाथि शासन गर्छ, बन्धन र पाप ल्याउँछ।”
- विल्बर डेटन