रोमी (12:1–15:7) को भाग 6 मा मण्डलीमा जीवन, सेवकाई, ख्रीष्टियान सम्बन्ध र सरकारसँगको सम्बन्धको लागि धेरै व्यावहारिक निर्देशनहरू छन्।
12:1-2 ले भाग 6को परिचय दिन्छ, जसले हामीलाई भन्छ कि हामी परमेश्वरको सेवामा पूर्णरूपमा समर्पित हुनुपर्छ। यो अघिल्लो अध्यायमा पावलका कथनहरूबाट आएको हो: हामी सबै कुरा परमेश्वरप्रति ऋणी छौं (11:35); र परमेश्वरका मार्गहरू पूर्णरूपमा बुद्धिमानी छन् (11:33)।
पावलले जीवित बलिदानको उदाहरण प्रयोग गर्छन् (12:1)। मार्नुपर्ने बलिदानजस्तै, हामी पूर्णरूपमा त्यागिएका छौं; तर मर्नुको सट्टा, हामी परमेश्वरको लागि जिउँदछौं। यसको अर्थ प्रतिबद्धता कायम राख्नुपर्छ। दिनदिनै हामीले हाम्रो निष्ठाको कुनै पनि परिवर्तनलाई अनुमति दिन अस्वीकार गर्नुपर्छ। जीवित बलिदानको दृष्टान्तले हाम्रो बलिको समग्रतालाई जोड दिन्छ। हामी परमेश्वरको इच्छाबाहेक हाम्रो जीवनको एक भाग आफ्नो लागि आरक्षित गर्न सक्दैनौं। हामी निश्चित इच्छाहरू वा महत्वाकांक्षाहरूलाई परमेश्वरप्रति पूर्ण समर्पणको मागबाट जोगाउन सक्दैनौं।
पवित्र बलिदानको रूपमा आफैलाई अर्पण गर्नु एक आत्मिक आराधना हो, केवल औपचारिक धर्मको विपरीत।[1]
12:2 मा वर्णन गरिएको रूपान्तरणबिना पूर्ण रूपमा समर्पित सेवा सम्भव छैन। हाम्रो मनको नवीकरणद्वारा हामी रूपान्तरित हुनुपर्छ। हामी संसारको मूल्यमान्यता, व्यवहार, वा विचारहरूमा अनुरूप हुनुहुँदैन। परमेश्वरको सिद्ध इच्छाको दृष्टिकोणबाट प्रत्येक प्रश्नलाई विचार गर्ने व्यक्ति संसारको विपरीत हुनेछ। उसले कुनै पनि पापी इच्छाहरूको लागि अनुमति दिँदैन; उसले तिनीहरूलाई सामान्यरूपमा सहन गर्दैन।
ध्यान दिनुहोस् कि शरीर पवित्र हुनुपर्छ। पाप शरीरको त्यस्तो आवश्यक पक्ष होइन जुन परमेश्वरले सफा गर्न सक्नुहुन्न। शरीर आफैमा पापी छैन र इच्छा बिना पाप गर्दैन तर पापको लागि प्रयोग गर्न सकिन्छ।
12:1-15:7 का पदहरूले समर्पित, रूपान्तरित जीवन कसरी बिताउने भनेर वर्णन गर्दछ।
(12:3) पावललाई दिइएको अनुग्रहले उनको प्रेरितीय अधिकार र प्रकाशको वरदानलाई जनाउँछ।
हामी नम्र हुनुपर्छ किनभने हामीसँग भएका सबै कुरा परमेश्वरले हामीलाई दिनुभएको हो। आत्मिक वरदान भएको व्यक्तिले यो कुरा बुझेर नम्र हुनुपर्छ कि ती वरदानहरू परमेश्वरबाट आउँछन् र यो हाम्रो कमाइ होइन र यी वरदानहरू अरूको सेवा गर्ने उद्देश्यले दिइएको हो।
(12:4-5) शरीरका अङ्गहरूको रूपमा, हामीलाई अरूको आवश्यकता छ र अरूको सेवा गर्न हामी बाध्य छौं। शरीरको रूपक 1 कोरिन्थी 12:12-26 मा वर्णन गरिएको छ।
(12:6-8) यी पदहरूले धेरै सेवाहरूको नाम दिन्छन्। प्रत्येक विश्वासीले आफूले पाएको बोलावट र वरदानको सेवाको पालन गर्नुपर्छ। यदि कुनै व्यक्तिमा अनुग्रहमा आधारित नम्रता छैन भने, उसले आफ्नो प्रयास गलत तरिकाले खर्च गर्नसक्छ, (सायद मानव अनुमोदन खोज्दै), र आफ्नो वास्तविक बोलावटमा असफल हुनसक्छ।
वरदान पाएकाहरूलाई त्यसको उचित प्रयोग गर्न चेतावनी दिइएको छ। उदाहरणका लागि, दिनेले आफूले सम्मान पाउने उद्देश्यले होइन, तर उदारचित्तले दिनुपर्छ। शाषण गर्ने परिश्रमी हुनुपर्छ – सबै कुराहरूमा ध्यान दिने र सधैँ भरपर्दो हुनुपर्छ। खाँचोमा परेकाहरूलाई मद्दत गर्ने व्यक्ति अहंकारी वा घमण्डी मनोवृत्तिको हुनुहुँदैन जसले प्रापकलाई अपमान गर्छ।
► संसारका मानिसहरूले आफ्नो क्षमता प्रयोग गर्ने तरिकाभन्दा ख्रीष्टियानहरूले आफ्नो आत्मिक वरदानलाई कसरी फरक तरिकाले प्रयोग गर्छन्?
खण्ड अध्ययन – रोमी भाग 6, खण्ड 2
हरेक पदहरूको नोटहरू
(12:9) प्रेम निष्कपट र इमान्दार हुनुपर्छ। खराबीलाई अस्वीकार गर्नुहोस् र जे असल छ त्यसलाई पक्रिराख्नुहोस्। प्रेमको बृद्धि भनेको असल के हो भनेर सुधारिएको विवेकसँग जोडिएको छ (फिलिप्पी 1:9-10)
(12:10) मण्डली परमेश्वरको परिवार हो, जहाँ धेरै दाजु-भाइ र दिदी-बहिनीहरू छन्। हामीले आफैलाई सम्मान दिनुको साटो अरूलाई सम्मान दिन इच्छुक हुनुपर्छ।
(12:11) आफ्नो जिम्मेवारीहरू पूरा गर्नमा अल्छी नगर्नुहोस्। एउटा ख्रीष्टियान असल कामको नैतिकताको नमुना हुनुपर्छ। यदि ऊ परमेश्वरको उद्देश्यसँग बाँचिरहेको छ भने, ऊसँग खेर फाल्ने धेरै समय छैन। उसले यस्तो काम गर्नुपर्छ जस्तो कि उसले परमेश्वरको लागि यो काम गरिरहेको छ (एफिसी 6:6-7)।
(12:12) हाम्रो आनन्द हाम्रो परिस्थितिमा निर्भर हुँदैन, किनकि हामीसँग अनन्तताको आशा छ। धैर्य गर्नु भनेको विश्वासद्वारा सहनशील हुनु हो। एक व्यक्तिमा परमेश्वरमा निर्भर रहने, जुनसुकै समयमा निरन्तर प्रार्थना गर्न तयार रहने मनोवृत्ति हुनुपर्छ।
(12:13) अरू विश्वासीहरूलाई तिनीहरूको भौतिक आवश्यकताहरूमा सहयोग गर्नुहोस्। आतिथीसत्कार भनेको अरूको खाना र आश्रयको आवश्यकताहरू पूरा गर्नु हो।
(12:14) मानिसहरूलाई तिनीहरूले योग्यताअनुसार व्यवहार नगर्नुहोस्, तर ख्रीष्टले तिनीहरूलाई जस्तो व्यवहार गर्नुहुन्छ त्यस्तै व्यवहार गर्नुहोस्। मानिसहरूलाई तपाईंले आफूले योग्य ठान्नुभएको कुरा दिनु भनेको शाब्दिक रूपमा न्याय गर्नु हो, जुन भूमिका परमेश्वरमा आरक्षित छ।
(12:15) अरूको दुःख वा आनन्दमा सहभागी हुन तयार रहनुहोस्।
(12:16) स्थिति प्रतीकहरूको बारेमा सचेत नहुनुहोस्। उच्च वर्गका मानिसहरूको मात्र पक्ष नलिनुहोस्।गरिबहरूको पनि सम्मान गर्नुहोस्। आफूलाई अरूभन्दा माथि राख्ने तरिकाहरू नखोज्नुहोस्।
(12:17) कसैलाई हानि पुर्याउनु कहिल्यै पनि उचित हुँदैन किनकि उसले तपाईंलाई हानि पुर्याएको छ। हामीलाई मानिसहरूलाई सजाय दिन होइन, तर क्षमा गर्न बोलाइएको हो।
इमानदारिता प्रदर्शन गर्नुहोस्। यदि तपाईं आदरणीय हुन चाहनुहुन्छ भने, तपाईं र परमेश्वरलाई मात्र तपाईं इमानदार हुनुहुन्छ भनेर जान्न पर्याप्त छैन;यस्तो निति बनाउनुहोस् जसद्वारा सबैले तपाईंको इमानदारी देख्न सक्नेछन्। आफ्नो प्रतिष्ठा क्षतिग्रस्त भएपछि यसलाई पुनर्निर्माण गर्नुभन्दा सुरुबाट नै राम्ररी कायम राख्नु सजिलो छ।
(12:18) जतिसम्म तपाईं सक्नुहुन्छ, सबैसँग शान्तिमा बस्नुहोस्। शान्तिको उत्तम रूप भनेको एक सुमधुर सम्बन्ध हो। कहिलेकाहीँ शान्तिको लागि माफी माग्नु आवश्यक छ, अनजानमा गरिएको भूलको लागि पनि। कहिलेकाहीँ गल्ती गर्ने व्यक्तिसँग नम्तापूर्वक भेट गर्नु आवश्यक पर्दछ, ताकि तपाईंको सम्बन्धमा बाधा पुर्याउने अपराध समाधान गर्न सकियोस्। यदि तपाईंले माफी माग्न वा आवश्यक पर्दा भेट गर्न अस्वीकार गर्नुभयो भने, तपाईंले शान्ति कायम राख्न सक्दो प्रयास गरिरहनुभएको छैन।
(12:19) बदला नलिनुहोस्; बरु, परमेश्वरको क्रोधको लागि ठाउँ छोड्नुहोस्। यदि कुनै व्यक्ति दण्ड दिने व्यक्ति बन्न चाहन्छ भने, उसले देखाउँछ कि उसले विश्वास गर्दैन कि परमेश्वरले आफ्नो काम सही तरिकाले गरिरहनुभएको छ।
(12:20) अरूहरूप्रति राम्रो व्यवहार गर्नुहोस् न कि तिनीहरूलाई त्यस्तो व्यवहार गर्नुहोस् जसको तिनीहरू हकदार छन्। आगोको भुङ्ग्रो थुपार्नुको अर्थ सूक्ष्म तरिकाले बदला लिनु होइन, किनकि त्यो पदको मुख्य बुँदाको विपरीत हुनेछ। यो व्यक्तिको मनोवृत्तिको कठोरता पगाल्ने प्रतीक हुनसक्छ।
(12:21) खराबीले तपाईंलाई परिवर्तन गर्न र आत्मिक रूपमा पराजित गर्न नदिनुहोस्। यद्यपि, यसको विरोध खराबीले नगर्नुहोस्, तर राम्रोसँग गर्नुहोस्। यदि तपाईंले द्वन्द्व जित्नुभयो भने पनि तिक्तता राख्नु र गलत तरिकाले यसको विरोध गर्नु भनेको आत्मिक रूपमा पराजित हुनु हो।
► यदि कुनै व्यक्तिले परमेश्वरप्रति पूर्णरूपमा प्रतिबद्ध नभएको खण्डमा कसरी यी निर्देशनहरू पालन गर्दैनन् भनी सोच्नुहोस्। यी निर्देशनहरूको कारणले गर्दा तपाईंको जीवनमा के परिवर्तन हुनुपर्छ?
पावल प्रेरितका पत्रहरूको व्याख्या
पावलका पत्रहरू विशेष परिस्थितिहरूको प्रतिक्रियामा लेखिएका थिए: “सामान्यतया यस्तो समयमा जब कुनै प्रकारको व्यवहारलाई सच्याउन आवश्यक थियो, वा सैद्धान्तिक त्रुटि थियो जसलाई सच्याउन आवश्यक थियो, वा गलत धारणा थियो जसलाई थप प्रकाश चाहिन्थ्यो।”[1] पत्रहरू व्यवस्थित धर्मशास्त्रको रूपमा होइनन्, तर आवश्यकताको प्रतिक्रियामा गठन गरिएको धर्मशास्त्र हो। यो धर्मशास्त्र सुरुदेखि नै व्यावहारिक छ। यो वास्तविक जीवनबाट अलग्गै विकसित गरिएको थिएन।
नयाँ करारका पत्रहरू आम मानिसका लागि साहित्यिक रचनाहरू थिएनन्, तर तिनीहरू एकभन्दा बढी प्रापक र तत्काल प्रयोगको लागि लक्षित थिए। पावलले कलस्सीहरूलाई भने कि तिनीहरूले लाउडिकियाहरूसँग प्रत्येक मण्डलीले आफूबाट प्राप्त गरेका पत्रहरू आदानप्रदान गर्नुपर्छ (कलस्सी 4:16)। मण्डलीले सुरुबाट नै पावलका पत्रहरू सङ्कलन गर्न र तिनीहरूलाई एकसाथ प्रसारित गर्न थाल्यो। त्यसर्थ, हामी जान्दछौं कि तिनीहरूले पत्रहरूलाई सबै ठाउँ र सबै समयका मण्डलीमा लागू हुने देखे।
हामी र मूल प्रापकहरू बीच समय र संस्कृतिको अन्तर भए तापनि, पत्रहरू हाम्रोजस्तै समस्याहरूको सामना गरिरहेका नयाँ करारका ख्रीष्टियानहरूलाई लेखिएका थिए। त्यसकारण, पावलका पत्रहरू धर्मशास्त्रमा पाइने साहित्यका केही रूपहरू भन्दा आधुनिक मण्डलीमा लागू गर्न सजिलो छ। ती पत्रहरू विशेषरूपमा यहूदी राष्ट्रलाई लेखिएका होइनन्, न त ती पत्रहरूले पुरानो करारको व्यवस्था अन्तर्गत मानिसहरूलाई सम्बोधन गरिरहेका छन्।
लेखनको मूल अवस्थाले अनुवादकलाई आधुनिक प्रयोगको लागि सुरुवाती स्थान प्रदान गर्दछ। व्याख्याको एउटा सिद्धान्त यो हो कि यदि हामीलाई यो पत्र कसले लेखेका हुन्, कसले प्राप्त गरेका थिए, र यो किन लेखिएको थियो भन्ने कुरा थाह छ भने पत्रलाई हामी राम्रोसँग बुझ्नसक्छौं। पत्रहरूले अनुवादकलाई लेखक र प्रापकहरूको पहिचान थाहा पाउने फाइदा प्रदान गर्दछ।
रोमीको पुस्तक पावलका लेखहरूमध्ये सबैभन्दा औपचारिक लेख हो। यसले योजनाबद्ध संरचना पछ्याउँछ। यो लगभग एक ईश्वरशास्त्रीय ग्रन्थको रूपमा छ। पावलले रोमी मन्डलीमा भएका विशेष त्रुटिहरू उल्लेख गरेनन्। उनले विशेष परिस्थितिहरूको बारेमा कुरा गरेनन्, जस्तो उनले स्थापना गरेका र भ्रमण गरेका मण्डलीहरूलाई लेखेका पत्रहरूमा गरे।
[1]Gordon Fee and Douglas Stuart, How to Read the Bible for All Its Worth, (Grand Rapids, MI: Zondervan, 1993) 48.
खण्ड अध्ययन – रोमी भाग 6, खण्ड 3
अध्याय 13:1-7 को मुख्य बुँदा
विश्वासीहरूले प्रशासकको अधीनमा बस्नुपर्छ किनभने प्रशासकहरू परमेश्वरद्वारा स्थापित गरिएको हो।
कक्षा अगुवाको लागि नोट: समूहले अर्को खण्ड अध्ययन गर्दा धेरै छलफल र असहमति हुन सक्छ। तपाईंले सदस्यहरूलाई प्रोत्साहित गर्नुपर्छ कि तिनीहरूले रोम 1३को खण्डले उनीहरूको विचारलाई सच्याउन दिन।
► विद्यार्थीले समूहको लागि रोमी 13:1-7 पढ्नुपर्छ।
हरेक पदहरूको नोटहरू
(13:1-2) परमेश्वरले प्रशासक स्थापना गर्नुभएको छ। यसको अर्थ प्रत्येक शासक धर्मी छ भन्ने होइन, तर परमेश्वर मानव अधिकार स्थापित भएको चाहनुहुन्छ। मानव अधिकारको अधीनमा रहन अस्वीकार गर्नु भनेको परमेश्वरको विरुद्धमा विद्रोह गर्नु हो। जसरी हामी देखिने भाइलाई प्रेम गर्दैनौं भने हामी परमेश्वरलाई साँच्चै प्रेम गर्दैनौं, न त हामी देखिने मानव अधिकारको अधीनमा बस्न अस्वीकार गर्दै परमेश्वरको अधीनमा भएको दाबी गर्न सक्छौं। एक ख्रीष्टियानले कानूनका अधिकारीहरूलाई अनादरपूर्ण व्यवहार गर्नुहुँदैन।
(13:3-4) प्रशासकको एउटा उद्देश्य भनेको खराब काम गर्नेहरूलाई दण्ड दिनु हो। जब प्रशासकले राम्रो काम गरिरहेको हुन्छ, खराबी गर्नेहरू त्यसबाट डराउँछन्। सामान्य परिस्थितिमा ख्रीष्टियानहरूले प्रशासकसँग द्वन्द्व गर्दैनन् किनभने ख्रीष्टियान गुणहरूले ख्रीष्टियानहरूलाई असल नागरिक बनाउँछन्। यद्यपि, इतिहासमा धेरै पटक शासकहरूले परमेश्वरप्रति मात्र सम्बन्धित निष्ठाको माग गर्ने प्रयास गरेका छन्, र त्यसपछि तिनीहरू ख्रीष्टियानहरूलाई सताउने बन्छन्।
ठीकसँग काम गर्ने सरकार परमेश्वरको अधिकारसँग मेल खान्छ। पद 4 ले हामीलाई बताउँछ कि सरकारलाई दुष्टहरूलाई मारेर पनि कानून लागू गर्ने अधिकार परमेश्वरबाट छ।
केही राष्ट्रका ख्रीष्टियानहरूले सरकारी पदमा सेवा गर्नु गलत हो भन्ने विश्वास गर्छन्, विशेष गरी त्यस्तो पद जहाँ उनीहरूलाई हिंसाको प्रयोग गर्नुपर्ने हुनसक्छ। त्यस्तो विश्वास भएका धेरै ख्रीष्टियानहरू त्यस्ता देशहरूमा बस्छन् जहाँ सरकारले ख्रीष्टियानहरूलाई सताएको छ र अत्यन्तै भ्रष्ट छ। यद्यपि, यदि सरकारले राम्रो काम गरिरहेको छ भने, ख्रीष्टियानले सरकारी पदमा सेवा गर्नु गलत होइन किनभने सरकार परमेश्वरद्वारा अधिकृत छ।
(13:5) ख्रीष्टियानले सरकारी दण्डको डरले मात्र होइन, तर स्पष्ट विवेकको लागि पनि अख्तियारको अधीनमा बस्नुपर्छ। सरकारको विरुद्धमा विद्रोह गर्नु वा कानून पालन नगर्नु भनेको सरकारको भूमिकालाई अस्वीकार गर्नु हो। यदि कुनै सरकार हुनुपर्छ भने सबै निर्णयहरू व्यक्तिहरूले गर्न सक्दैनन्। व्यक्तिगत स्वतन्त्रतालाई व्यक्तिगत अधिकारहरूको रक्षा गर्ने अख्तियारको अधीनमा राख्नुपर्छ, यदि हामी सधैं सुरक्षा गर्ने तरिकासँग सहमत छैनौं भने पनि।
(13:6-7) एउटा ख्रीष्टियानले सरकारको वैध कर तिर्नुपर्छ। आदर देखाउने परम्परागत तरिकाहरू अपनाउनु पर्छ।
खण्ड अध्ययन – रोमी भाग 6, खण्ड 4
अध्याय 13:8-10 को मुख्य बुँदा
प्रेमले व्यवस्था पूरा गर्छ किनकि यसले विश्वासीलाई अरूप्रति जे सही छ त्यो गर्न उत्प्रेरित गर्छ।
यी पदहरूले प्रमाणित गर्दछ कि व्यवस्था विश्वासीको लागि अप्रासंगिक हुँदैन। विश्वासीले व्यवस्था पूरा गर्छ, किनकि अनुग्रहद्वारा उसले यहाँ वर्णन गरिएको प्रेम पाउन सक्छ। अनुग्रह केवल व्यवस्थाको उल्लङ्घनको लागि आवरण मात्र होइन। अनुग्रहमा परमेश्वरको हाम्रो लागि उहाँको इच्छा पूरा गर्न हामीमा काम समावेश छ।
► विद्यार्थीले समूहको लागि रोमी 13:8-10 पढ्नुपर्छ।
हरेक पदहरूको नोटहरू
(13:8) यस अर्थमा ऋणी हुनु भनेको कसैको ऋण तिर्न नसक्नु हो। केही प्रकारका दायित्वहरू अघिल्लो पदमा सूचीबद्ध छन्। यदि हाम्रा दायित्वहरू पूरा गर्ने सहमति भएको तरिका हो भने, समय तालिकाअनुसार ऋण लिनु र तिर्नु गलत होइन। पद 7 मा जस्तै, हामीलाई आज्ञा दिइएको छ कि प्रत्येक व्यक्तिलाई हामीबाट उसलाई दिनुपर्ने कुरा दिनुपर्छ।
► कुनै ख्रीष्टियानले ऋण लिएको कुरा तिर्न नसक्दा के परिणाम हुन्छ?
(13:9-10) यदि तपाईं साँच्चै कसैलाई आफूलाई जस्तै प्रेम गर्नुहुन्छ भने, तपाईंले उसको कुनै कुरा चोरी गर्नुहुनेछैन, ऊसँग झूट बोल्नुहुनेछैन, ऊसँग भएको कुराको लोभ गर्नुहुनेछैन, वा उसको विवाह तोड्नुहुनेछैन। संसारमा सामान्य हुने मित्रता र प्रेमले मात्र यी गलत कामहरूलाई सधैँ रोक्दैन; तर हामीमा रहेको ख्रीष्टको प्रेमले हामीलाई अपरिचितहरू, हामीलाई अपमान गर्नेहरू वा सहन सक्नेहरूलाई पनि गल्ती गर्नबाट रोक्नेछ।
धेरैजसो संस्कृति र धर्महरूले सिकाउँछन् कि हामी केही मानिसहरूलाई, सायद परिवारका सदस्यहरू र आदिवासी सदस्यहरूलाई यस्तो प्रेम दिनुपर्छ। तर तिनीहरू सोच्छन् कि बाँकी मानवजातिलाई यस्तो प्रेम दिनु पर्दैन। तिनीहरूले विदेशीहरू वा रोजगारदाताहरूबाट चोरी गर्न र अपरिचितहरूप्रति असभ्य व्यवहार गर्न अनुमति दिन सक्छन्। ख्रीष्टले हामीलाई सम्पर्कमा रहेका प्रत्येक व्यक्तिलाई प्रेम देखाउन आज्ञा दिनुहुन्छ। लूका 10:25-37 मा, आफ्नो छिमेकीलाई प्रेम गर्ने आज्ञालाई चित्रण गर्न, येशूले एक घाइते यहूदीलाई मद्दत गर्ने सामरीको कथा भन्नुभयो।
खण्ड अध्ययन – रोमी भाग 6, खण्ड 5
► विद्यार्थीले समूहको लागि रोमी 13:11-14 पढ्नुपर्छ।
हरेक पदहरूको नोटहरू
(13:11) यस पदमा उद्धारले ख्रीष्टको पुनरागमनमा हुने अन्तिम उद्धारलाई जनाउँछ। हामीले यो संसार सधैंभरि रहनेछ भनेर जिउनु हुँदैन। हामीले ती मानिसहरूको रूपमा जिउनुपर्छ जसले चीजहरू चाँडै बितेर जाने आशा गर्छन्।
(13:12) रात भनेको प्रभुको आगमन हुनुभन्दा अगाडिको समयलाई जनाउने एउटा अलंकार हो। (2 पत्रुस 1:19 पनि हेर्नुहोस्।) नयाँ करारमा अन्धकार प्रायः पापपूर्ण कार्यहरूसँग सम्बन्धित छ। (1 थेसलोनिकी 5:4-8 र एफिसी 5:11-14 पनि हेर्नुहोस्।)
(13:13) यहाँ लापरवाह पापीको जीवनको वर्णन गरिएको छ। यो त्यो व्यक्ति हो जसले भविष्यको वास्ता गर्दैन, र विशेष गरी अनन्तताको बारेमा सोच्दैन। ऊ नैतिकताको वास्ता नगरी आनन्दको लागि बाँच्दछ। एउटा ख्रीष्टियानको जीवन यसको पूर्ण विपरीत छ।
(13:14) पापी इच्छाहरूको लागि कुनै पनि अनुमति नदिनुहोस्। मानव स्वभावलाई पापको बहानाको रूपमा प्रयोग नगर्नुहोस्। ज्योतिमा बाँच्नुहोस् र तपाईंको जीवनमा लज्जित हुनुपर्ने कुनै पनि कुरा नराख्नुहोस्।
खण्ड अध्ययन – रोमी भाग 6, खण्ड 5
इमान्दार विश्वासीहरू असहमत हुने मुद्दाहरू सधैँ हुनेछन्। रोमी 14 ले केही विश्वास र अभ्यासहरूमा फरक रहेका ख्रीष्टियानहरूले अझै पनि एकअर्कालाई कसरी प्रेम र सम्मान गर्नसक्छन् र सँगै आराधना र सेवा गर्न सक्छन् भन्ने बारेमा निर्देशन दिन्छ।
► विद्यार्थीले समूहको लागि रोमी 14:1-23 पढ्नुपर्छ।
हरेक पदहरूको नोटहरू
(14:1) कमजोर भाइ त्यो हो जसले त्यस्तो कार्यको लागि दोषी महसुस गर्छ जुन परमेश्वरले वास्तवमा निषेध गर्नुभएको छैन (1 कोरिन्थी 8:7-12 हेर्नुहोस्)। बलियो भाइ त्यो हो जसले दोष बिना नै कार्य गर्नसक्छ किनभने उसलाई थाहा छ कि त्यो काम वास्तवमा परमेश्वरप्रति अवज्ञा होइन।
(14:2-3) यहूदी व्यवस्थामा खानाको बारेमा नियमहरू थिए। मण्डलीमा धेरै यहूदी ख्रीष्टियानहरू र अन्यजातिहरू थिए जसले यहूदी व्यवस्थाहरूको अध्ययन गरेका थिए। खानाको बारेमा कुनै पनि प्रतिबन्धबाट मुक्त महसुस गर्ने व्यक्तिले प्रतिबन्धित महसुस गर्ने व्यक्तिलाई तुच्छ ठान्ने परीक्षामा पर्न सक्छ। खानाको बारेमा नियमहरू पालन गर्ने प्रयास गर्ने व्यक्तिले अरूलाई पापी भनेर न्याय गर्ने परीक्षामा पर्न सक्छ।
(14:4) परमेश्वरले आफ्ना सेवकहरूको न्याय गर्नुहुनेछ र तिनीहरूलाई आवश्यक पर्ने अनुग्रह दिनुहुनेछ। धर्मशास्त्रमा स्पष्ट नभएका कुराहरूको बारेमा अरूको न्याय नगर्नुहोस्।
संसारभरि विश्वासीहरूमाझ बप्तिस्माको विधि, प्रभुभोज सेवा गर्ने तरिका, बाइबल अनुवादको छनौट, पहिरन र मनोरञ्जनजस्ता कुराहरूमा विविधता छ। हामीले ख्रीष्टियान एकता कायम राख्नुपर्छ तर ख्रीष्टको शरीर भित्र एकरूपताको अपेक्षा गर्नुहुँदैन। हाम्रो आदर्श वाक्य हुनुपर्छ: “आवश्यक कुराहरुमा एकता; अनावश्यक कुराहरूमा स्वतन्त्रता; तर सबै कुरामा प्रेम!”
(14:5-6) धेरै यहूदी चाडपर्वहरू थिए, जसको लागि विशेष चलनहरू छन् । शबाथ दिन पनि विवादास्पद थियो। मण्डलीले प्रभुको दिनमा एक ठाउँमा भेट्न र आराधना गर्न थाले (प्रेरित 20:7; 1 कोरिन्थी 16:2; प्रकाश 1:10) र पछि आइतबार ख्रीष्टियानहरूको विश्राम दिनजस्तै भयो। सातौं दिनमा विश्रामको सिद्धान्तमा अझै पनि फाइदाहरू छन् जुन हामीले पालन गर्नुपर्छ, किनकि यो सृष्टिको सिद्धान्त हो र मोशाको व्यवस्था दिइएको समयमा स्थापित गरिएको चलन मात्र होइन।
“…हरेक मानिस आफ्नै मनमा पूर्ण रूपले निश्चित हुन्छन्” (14:5) ले देखाउँछ कि निश्चित विचारहरू आवश्यक छन्। मुद्दाहरूको बारेमा कुनै पनि व्यक्ति आफ्नो विश्वासमा अस्पष्ट हुनुहुँदैन। अन्य विचारहरूको सहिष्णुताको अर्थ हामीलाई हाम्रो आफ्नै विचार के हो भनेर थाहा छैन वा हामी प्रमाण र तर्कलाई बेवास्ता गर्छौं भन्ने होइन।
(14:7-9) हामी आफ्नो मालिक होइनौं। प्रत्येक जीवनले ख्रीष्टको सम्मान गर्नुपर्छ। ख्रीष्टको मृत्यु र पुनरुत्थानले हामीलाई छुटकारा दिन्छ, र हामी उहाँकै हौं।
(14:10-12) प्रत्येक व्यक्तिले परमेश्वरको न्याय-आसनको सामने उभिनुपर्छ। त्यसकारण, एकअर्काको बारेमा हाम्रा विचारहरू कम महत्त्वपूर्ण छन्।
(14:13-15) हामीले अर्को विश्वासीलाई ठेस नपुऱ्याउने प्रयास गर्नु महत्त्वपूर्ण छ। ख्रीष्टियानको लागि, कुनै चीजहरू अशुद्ध हुँदैनन् किनकि सबै कुरा परमेश्वरको हो। तर यदि कुनै व्यक्तिले केही गलत छ भनेर सोच्दछ र जे भए पनि गर्छ भने, उसले पाप गरेको छ किनभने उसले गलत गर्न रोजेको छ। यदि हामीले कसैलाई गलत ठानेको कुरा गर्न उक्साउँछौं भने हामी उसलाई ठेस पुर्याउँछौं। (यस मुद्दाको बारेमा अर्को वचनको खण्ड 1 कोरिन्थी 8 हो।)
(14:16) कुनै व्यक्तिसँग सही सिद्धान्त हुनसक्छ तर अरूमाथि आफ्नो प्रभावको वास्ता नगरेको कारणले उसले हानि गर्नसक्छ।
(14:17) ख्रीष्टियान धर्म जीवनशैलीको बारेमा नियम वा स्वतन्त्रतामा समावेश छैन। यो आत्मिक विजय र आत्मामा जीवन हो।
(14:18-19) हामीले गर्ने सबै कुरा ख्रीष्टलाई सुम्पिदिँदा र अरूलाई निर्माण गर्न सक्दो प्रयास गर्दा परमेश्वर खुसी हुनुहुन्छ।
(14:20-23) सबै थोक परमेश्वरकै हो, र जसले त्यो सम्झन्छ उसले स्वतन्त्रता पाउन सक्छ। यद्यपि, यदि कुनै व्यक्तिले गलत ठानेको कुनै काम गर्छ भने, उसले त्यो रोजाइले पाप गरिरहेको हुन्छ। स्वतन्त्र महसुस गर्ने भाइले अरूलाई पतन गराउनबाट जोगिन आफ्नो स्वतन्त्रतालाई सीमित गर्नुपर्छ।
कमजोर भाइलाई उसले अधिक स्वतन्त्रता भएको व्यक्तिलाई न्याय गर्नुहुँदैन भन्ने निर्देशनबाहेक अरु कुनै दिइएको छैन। कमजोर भाइ आफ्नो विवेकले बाँधिएको हुन्छ र आफ्नो आचरण परिवर्तन गर्न सक्दैन, तर बलियो भाइसँग विकल्पहरू छन्।
अघिल्लो अनुच्छेदलाई समेट्दा धेरै छलफल हुनेछ, तर विचार गर्नुपर्ने केही प्रश्नहरू यस प्रकार छन्:
हाम्रो मण्डलीले सदस्यहरूलाई कस्ता किसिमका मुद्दाहरू व्यक्तिगत रूपमा निर्णय गर्न छोडिदिन्छ ?
अन्य विश्वासीहरूमा हामी कस्ता भिन्नताहरू देख्छौं जसको बारेमा हामी बढी सहनशील हुनुपर्छ?
हामी कसरी यस खण्डका सिद्धान्तहरूलाई अन्य मानिसहरूसँगको हाम्रो विचार र अन्तरक्रियामा लागू गर्न विश्वासयोग्य हुनसक्छौं?
यहूदी धर्म मान्नेहरूको पहिचान
यहूदी धर्म मान्नेहरू केवल यहूदी धर्मका अनुयायीहरू थिएनन्, जुन यहूदीहरूको धर्म हो। यहूदी धर्म मान्नेहरू यहूदीहरू थिए जसले आफूलाई ख्रीष्टियान भएको दाबी गर्थे तर सोच्थे कि ख्रीष्टियानहरूले यहूदी धर्मको आवश्यकताहरू पूरा गर्नुपर्छ। धर्म परिवर्तन भएका यहूदीहरूका लागि यहूदी धर्मको अभ्यास जारी राख्नु कुनै समस्या थिएन। धेरैले त्यसो गरे, विशेष गरी नयाँ करारको मण्डलीको पहिलो पुस्ताको समयमा। समस्या यो थियो कि धर्म परिवर्तन भएको दाबी गर्ने यहूदीहरूले अनुग्रहको सुसमाचार बुझेनन्।
यहूदी धर्म मान्नेहरूले सोच्थे कि अन्यजाति धर्म परिवर्तन गर्नेले मुक्ति पाउनको लागि खतना सहित यहूदी धर्मका सबै नियमहरू स्वीकार गर्नु आवश्यक छ। तिनीहरूले अविश्वासीहरूलाई सुसमाचार प्रचार गरेनन्। बरु, तिनीहरूले अरूका मन परिवर्तन गर्नेहरूलाई प्रचार गरे, भ्रम र विभाजन ल्याए। तिनीहरूको सबैभन्दा ठूलो रेकर्ड गरिएको विजय गलातीमा थियो, जहाँ तिनीहरूले सम्पूर्ण मण्डलीलाई बहकाइदिए। पावलले गलातीहरूलाई लेखेको पत्र तिनीहरूलाई साँचो सुसमाचारमा फर्काउनको लागि हो।
यहूदी आवश्यकताहरूको मुद्दा मण्डली परिषदमा ल्याइयो, जुन प्रेरित 15 मा रेकर्ड गरिएको थियो। प्रेरितहरूले महसुस गरे कि यहूदीहरूको मार्ग पछ्याउनु भनेको अनुग्रहको सुसमाचारलाई अस्वीकार गर्नु र अन्यजातिहरूलाई समान रूपमा सुसमाचार प्रदान गरिएको थियो भनेर अस्वीकार गर्नु हो। परिषदको निर्णयले साँचो विश्वासीहरूलाई सच्यायो जो इमानदारीपूर्वक गलत दिशामा थिए तर गलत मनसाय भएकाहरूलाई रोकेन। पावलले यहूदी धर्म मान्नेहरूलाई सुसमाचारको शत्रु मान्थे।
रोमी 14:1-15:12 ले पावलले पत्रभरि व्याख्या गरेको सुसमाचारको सत्यतालाई यहूदी आवश्यकताहरूको प्रश्नमा लागू गर्दछ। विश्वासीहरूले यहूदी धार्मिक मान्यताहरूको पालनमा एकअर्कालाई न्याय गर्नुहुँदैनथ्यो। खण्डको अन्त्यमा सुसमाचार सम्पूर्ण संसारको लागि हो भन्ने कुरामा जोड दिइएको छ।
यस विषयमा अन्य खण्डहरू रोमी 4; प्रेरित 15; गलाती 2, 3, 5; र कलस्सी 2:11-23।
खण्ड अध्ययन – रोमी भाग 6, खण्ड 6
हरेक पदहरूको नोटहरू जारी
(15:1-4) विश्वासमा बलियो, स्वतन्त्र महसुस गर्नेहरूले विश्वासमा कमजोर भएका र अतिरिक्त प्रतिबन्धहरूबाट मुक्त महसुस नगर्नेहरूलाई मद्दत गर्न केही विशेषाधिकारहरू त्याग्न इच्छुक हुनुपर्छ।
(15:5-7) यी पदहरूले खण्डको अन्त्य गर्दछ। लक्ष्य ख्रीष्टियान एकता हो। ख्रीष्टको प्रेम हाम्रो उदाहरण हो।
एकता, पुनरुत्थान र मिसनहरूको कथा
1722 मा, जिन्जेन्डोर्फ नामक एक जर्मनी जग्गाधनीले सताइएका मोराभियन विश्वासीहरूलाई आफ्नो सम्पत्तिमा सरेर उपनिवेश निर्माण गर्न आमन्त्रित गरे। अन्ततः समुदायमा सयौं मानिसहरू थिए। तिनीहरूले विभिन्न सिद्धान्तहरू र आराधना अभ्यासहरू बारे भएको विभाजनहरूसँग संघर्ष गरे; तर 1727 मा तिनीहरूले एकता स्थापित गर्न मद्दत गर्न “द ब्रदरली एग्रीमेन्ट” (अहिले “द मोराभियन कभनेन्ट फर क्रिश्चियन लिभिङ” भनिन्छ) विकास गरे।
त्यही वर्ष, तिनीहरूले पुनरुत्थानको अनुभव गर्न थाले। तिनीहरूले रातभरि प्रार्थना सभा र परमेश्वरको उपस्थितिको असामान्य अनुभूतिसहित धेरै लामो आराधना सेवाहरू गरे, जसमा वक्ता परमेश्वरको विस्मयमा भुइँमा डुबेको पनि समावेश थियो। एउटा प्रभुभोज सेवाको क्रममा, पवित्र आत्मा मानिसहरूमाथि यसरी आउनुभयो कि पछि जिन्जेन्डोर्फले त्यो दिनलाई नवीकरण गरिएको मोराभियन मण्डलीको पेन्टिकोस्तको दिनको रूपमा हेरे। विभाजित भएकाहरूसित ठूलो भावनाका साथ मेलमिलाप गरियो, र जिन्जेन्डोर्फले मण्डलीमा विभाजनको लागि पश्चात्तापको प्रार्थना अगुवाई गरे। तिनीहरूले विभिन्न सदस्यहरूसित मिलेर पालैपालो प्रार्थना सुरु गरे, र यसलाई 100 वर्षसम्म जारी राखे।
मोराभियन समुदाय सबै समयका सबैभन्दा ठूला मिसनेरी पठाउने मण्डलीहरू मध्ये एक बन्यो। 1733-1742 सम्म, 600 जनाको समुदायबाट 70 जना मिसनेरीहरू बाहिर निस्के। धेरै जना सतावट र कठिन परिस्थितिका कारण सानै उमेरमा मरे। 1760 सम्ममा, 28 वर्ष पछि, 226 मिसनेरीहरू पठाइएका थिए; र विश्वभरका मोराभियनहरूको संख्या हजारौंमा थियो।
पाठ 11 को समीक्षा प्रश्नहरू
(1) जीवित बलिदानको दृष्टान्त व्याख्या गर्नुहोस्।
(2) हामी पूर्ण रूपमा परमेश्वरप्रति समर्पित हुनको लागि हामीले के गर्नुपर्छ?
(3) हामी किन नम्र हुनुपर्छ?
(4) कमजोर भाइ र बलियो भाइ शब्दहरूको व्याख्या गर्नुहोस्।
(5) यहूदी धर्म मान्नेहरू को थिए?
पाठ 11 को कार्य
(1) रोमी 12:1–15:7 मा पाइने केही व्यावहारिक निर्देशनहरू वर्तमान ख्रीष्टियानहरूमा लागू गर्दै एक पृष्ठ लेख्नुहोस्।
(2) यस पाठ्यक्रमको परिशिष्टमा दिइएका प्रश्नहरूको सूची अध्ययन गरेर अन्तिम परीक्षाको लागि तयारी गर्नुहोस्। तपाईंले अरू कसैको मद्दत बिना र कुनै लिखित सामग्री नहेरी परीक्षा दिनुपर्छ।
SGC exists to equip rising Christian leaders around the world by providing free, high-quality theological resources. We gladly grant permission for you to print and distribute our courses under these simple guidelines:
No Changes – Course content must not be altered in any way.
No Profit Sales – Printed copies may not be sold for profit.
Free Use for Ministry – Churches, schools, and other training ministries may freely print and distribute copies—even if they charge tuition.
No Unauthorized Translations – Please contact us before translating any course into another language.
All materials remain the copyrighted property of Shepherds Global Classroom. We simply ask that you honor the integrity of the content and mission.