रोमीको पुस्तकको चरमोत्कर्ष रोमी 10 अध्याय हो। प्रेरितले पहिले नै व्याख्या गरिसकेका छन् कि उद्धार विश्वासद्वारा अनुग्रहबाट प्राप्त हुन्छ र संसारका सबैलाई यसको आवश्यकता छ। विश्वास आवश्यक भएकोले, सुसमाचारको सन्देश महत्त्वपूर्ण छ: मानिसहरूले सन्देश सुन्नु आवश्यक छ ताकि तिनीहरूले यसलाई विश्वास गर्न सकून्। यो अध्याय पुस्तकको उद्देश्यको लागि महत्त्वपूर्ण छ किनभने सम्पूर्ण पुस्तकले मिसनेरी कार्यको आधार दिन्छ।
रोमी 11 ले इस्राएल र मण्डलीबीचको सम्बन्धको बारेमा बताउँछ। धेरैजसो यहूदीहरूले सुसमाचारलाई अस्वीकार गरे। पावलले व्याख्या गरे कि परमेश्वरको योजना सम्पूर्ण संसारको लागि थियो र यहूदीहरू पनि बचाइनेछ। सम्पूर्ण इस्राएलले एक दिन ख्रीष्टलाई स्वीकार गर्नेछ।
धार्मिकता विश्वासद्वारा पाउनुपर्छ, र विश्वासको आवश्यकताले सुसमाचार सन्देशलाई तुरुन्तै महत्त्वपूर्ण बनाउँछ।
अध्याय 10 को सारांश
व्यक्तिगत धार्मिकताको माध्यमबाट धर्मी ठहरिने प्रयास गर्नु गल्ती हो। परमेश्वरले मानिसबाट ग्रहण गर्नुभएको धार्मिकता, उहाँले विश्वासको जवाफमा मानिसलाई पहिले दिनुहुन्छ। सुसमाचार सन्देशले विश्वासको लागि अवसर प्रदान गर्दछ।
► विद्यार्थीले समूहको लागि रोमी 10 पढ्नुपर्छ।
हरेक पदहरूको नोटहरू
(10:1-5) यहूदीहरू अझै पनि बचाइनु आवश्यक थियो किनभने तिनीहरूले बुझेका थिएनन् कि तिनीहरूलाई कस्तो धार्मिकता चाहिन्छ। तिनीहरूले व्यक्तिगत धार्मिकताको सिद्ध अभिलेख स्थापित गरेर आफूलाई धर्मी ठहराउने प्रयास गरे, यो असम्भव छ भनेर बुझेनन्। परमेश्वरले स्वीकार गर्ने धार्मिकता भनेको विश्वासीको विश्वासको प्रतिक्रियामा व्यक्तिमा काम गर्ने धार्मिकता हो।
व्यवस्थाको उद्देश्य पापको बहिस्कार गरेर र उद्धारकर्ताको आवश्यकता देखाएर हामीलाई ख्रीष्टकहाँ ल्याउनु हो। जब कुनै व्यक्ति ख्रीष्टकहाँ आउँछ, अब परमेश्वरसँग उसको स्वीकृतिको आधार व्यवस्था रहँदैन, त्यसैले ख्रीष्ट व्यवस्थाको अन्त्य हुनुहुन्छ (10:4)। यसको मतलब यो होइन कि व्यवस्थाले हामीलाई कसरी परमेश्वरको आज्ञापालन गर्ने भनेर देखाउँदैन, तर परमेश्वरद्वारा हाम्रो स्वीकृति हाम्रो आज्ञाकारिताको सिद्ध, आजीवन अभिलेखमा भर पर्दैन।
ख्रीष्ट आउनुभन्दा अघि बाँचेका मानिसहरूले कामहरूद्वारा उद्धार पाएका थिए भन्ने सिद्धान्तलाई यस खण्डले पूर्ण रूपमा खण्डन गर्दछ। पावलले स्पष्टरूपमा भनेका छन् कि कामहरूद्वारा आफ्नो धार्मिकता स्थापित गर्न खोज्नेहरू भ्रमित र हराएका थिए। पावलले 10:6-8 मा व्यवस्थाबाट उद्घृत गरेको सुसमाचारको सत्यलाई तिनीहरूले विश्वास गर्नुपर्थ्यो।[1]
(10:6-11) यो व्यवस्थ 30:11-14 को उद्धरण हो। मोशाले इस्राएलीहरूलाई परमेश्वरका आज्ञाहरू पालन गर्नु स्वर्गमा उक्लने वा समुद्र पार गर्ने जस्ता वीरतापूर्ण वा अलौकिक प्रयासहरूमा भर पर्दैन भनी बताए। बरु, यो तिनीहरूको विश्वासद्वारा परमेश्वरबाट तिनीहरूमा पूरा हुनेछ।
पावलले स्वर्ग वा पृथ्वीमा उक्लने कार्यहरूलाई सङ्केत गर्न यो कथनलाई अनुकुलित गरे र ख्रीष्टले आवश्यक पर्ने सबै कुरा पूरा गर्नुभएको देखाए।
अनुग्रहद्वारा उद्धार यति नजिक छ कि यो हाम्रो हृदय र मुखमा छ। यसको अर्थ हामी यसलाई विश्वास (हाम्रो हृदयमा) र अङ्गीकार (हाम्रो मुखले) द्वारा प्राप्त गर्छौं।
(10:12-13) यहाँ अर्को जोड दिइएको छ कि उद्धारको एउटै माध्यम प्रत्येक व्यक्तिको लागि उपलब्ध छ। येशू सबैका प्रभु हुनुहुन्छ, र संसारको जुनसुकै ठाउँमा पनि जो कोहीले पनि उहाँलाई पुकार्न सक्छ।
(10:14-15, 17) यो मिसनेरी कार्यको लागि आह्वान हो। मिसनेरीको सन्देश अत्यन्त जरुरी छ - किनकि मानिसहरू विश्वासद्वारा बचाइएका छन्, त्यसैले तिनीहरूले विश्वास गर्न सन्देश सुन्नु आवश्यक छ। यी पदहरू पुस्तकको उद्देश्यको केन्द्रबिन्दु हुन्।
[2]पावलले मिसनेरी कार्यको लागि ठूलो जोश व्यक्त गर्छन् र सुसमाचार नसुनेकाहरूको त्रासदी वर्णन गर्छन्। विश्वास गरेर तिनीहरू बाँच्न सक्छन्; तर नसुनी कसरी विश्वास गर्न सक्छन्? र मिसनेरी (सुनाउने व्यक्ति) नगएसम्म कसरी सुन्न सक्छन्?
► पावलले मिसनेरीहरू पठाउनुपर्ने आवश्यकताको बारे कुरा गरे, जसको अर्थ तिनीहरूलाई सुसज्जित र समर्थन गर्नु हो। तपाईंको नजिक नभएका मानिसहरूलाई सुसमाचार पठाउन तपाईंले के गर्नुपर्छ?
(10:16, 18-21) मिसनेरी बोलावटमा यो पनि याद दिलाइएको छ कि सबैले प्रतिक्रिया जनाउने छैनन्। मानिसहरूले सुसमाचार सुनेर मात्र उद्धार पाउँदैनन्। अन्यजातिहरूसँग सामान्य प्रकाश (1:18-20 मा छलफल गरिएको) द्वारा केही ज्ञान थियो, तर त्यसले तिनीहरूलाई बचाउन सकेन किनकि तिनीहरूले यसलाई बहिस्कार गरे (10:18 लाई भजनसंग्रह 19:4 बाट उद्धरण गरिएको छ)। इस्राएलसँग धेरै प्रकाश थियो, तैपनि तिनीहरू केवल यो पाएर मात्र बचाइएनन्। यशैयाले इस्राएलले मसीहलाई बहिस्कार गर्ने भविष्यवाणी गरे (यशैया 53:1, 3)।
प्रेरितले प्रश्नहरूको जवाफ दिन्छन्। पहिलो, अन्यजातिहरूको बारेमा, कसैले भन्नसक्छ, “तर के साँच्चै तिनीहरूलाई थाह छैन?” पावलले जवाफ दिन्छन्, “हो, परमेश्वरको ज्ञान सर्वत्र छ,” जसरी उनले 1:20 मा वर्णन गरेका छन्। त्यसपछि, प्रश्न उठाउने व्यक्तिले यहूदीहरूको बारेमा सोध्छ: “के इस्राएललाई थाहा थिएन?” उनले जवाफ दिन्छन् कि परमेश्वरले निरन्तर इस्राएलीहरूलाई सम्पर्क गर्नुभयो, तर तिनीहरूले आज्ञा पालन गर्न अस्वीकार गरे। प्रश्न उठाउने व्यक्तिले सुसमाचार सन्देशको प्रभावकारितामा शंका गरिरहेको छ किनभने धेरैले यो सुने र उद्धार पाएनन्।
पावलले व्याख्या गरे कि धेरैजसो इस्राएलीहरूले विश्वासका साथ प्रतिक्रिया दिएनन्।[3] प्रतिक्रिया नदिएसम्म सन्देशद्वारा मात्र मानिसहरूले उद्धार पाउँदैनन्।
प्रचारले एउटा व्यक्तिलाई बचाउन सक्दैन जसले इन्कार गर्दछ - परमेश्वरको अनुग्रह अप्रतिरोध्य छैन। यद्यपि, यसले उद्धारको अवसर प्रदान गर्दछ। सबैलाई परमेश्वरको बारेमा केही न केही थाहा भए पनि, सुसमाचार ठूलो प्रकाश र पवित्र आत्माको दोषी ठहराउने शक्तिको साथ आउँछ।
पावलका पत्रहरूले सुझाव दिएअनुसार तिनको सुसमाचार प्रचारको लागि दुई वटा ठूला प्रेरणाहरू छन्: परमेश्वरले उनको लागि गर्नुभएको र अरूको लागि गर्न उनलाई अह्राउनुभएको कुराबाट उत्पन्न दायित्वको भावना, र परमेश्वरलाई सकेसम्म धेरै मानिसहरूद्वारा महिमा मिलोस् भन्ने चाहना। हामीले पावललाई सुसमाचारमा परमेश्वरको अनुग्रह विस्तार गरेर अनुकरण गर्नुपर्छ जसरी उनले गरे।”
- डगलस जे. मू, रोमीहरू
[3]पाठ 4 मा रहेको “पुरानो करारमा अनुग्रह” शीर्षकको खण्ड हेर्नुहोस्।
खण्ड अध्ययन – रोमी भाग 5, खण्ड 3
अध्याय 11 को मुख्य बुँदा
परमेश्वरको सर्तमा उद्धार स्वीकार नगरी कोही पनि बाँच्न सक्दैन।
अध्याय 11 को सारांश
सामान्यतया इस्राएलले उद्धार पाएन किनभने तिनीहरूले परमेश्वरको तरिकाबाट बचाइन अस्वीकार गरे। धेरै अन्यजातिहरू बचाइएका थिए, तर विश्वासबाट पतन हुने जो कोहीले पनि उद्धार गुमाउँछन्। यदि यहूदीहरूले चुनाउ गरे भने उनीहरूलाई बचाउन सकिन्छ, र सम्पूर्ण रूपमा इज्राएलले कुनै दिन सुसमाचार स्वीकार गर्नेछ। परमेश्वरले तिनीहरूका पुर्खाहरूलाई गर्नुभएको प्रतिज्ञाहरू पूरा गर्नुहुनेछ।
► विद्यार्थीले समूहको लागि रोमी 11:1-15 पढ्नुपर्छ।
हरेक पदहरूको नोटहरू
(11:1) प्रश्न यो हो, “के परमेश्वरले यहूदीहरूलाई परित्याग गर्नुभयो?” पावलले जवाफ दिन्छन्, “कदापी होइन, म पनि एक यहूदी हुँ।” केही यहूदीहरू बचाइए।
(11:2-5) जसलाई परमेश्वरले पहिलेदेखि चिन्नुभएको थियो तिनीहरूलाई परित्याग गरिएको छैन। निस्सन्देह, परमेश्वरले सबैलाई पहिलेदेखि उहाँ सर्वज्ञ हुनुहुन्छ भन्ने अर्थमा चिन्नुभयो, तर जसलाई उहाँले यस पदको अर्थमा पहिलेदेखि चिन्नुभएको थियो तिनीहरू सबै हुन सक्दैनन् किनभने पदले इस्राएलका विशिष्ट मानिसहरूको बारेमा कुरा गरिरहेको छ। पदले ती मानिसहरूलाई बुझाउँछ जसलाई परमेश्वरले उहाँको अनुग्रहमा प्रतिक्रिया दिनेछन् भनी जान्नुहुन्थ्यो।[1] पावलले बाललाई नढोक्ने 7000 मानिसहरूको उदाहरण प्रस्तुत गर्छन् जसलाई परमेश्वरले यस अर्थमा पहिलेदेखि चिन्नुभएको थियो र स्वीकार गर्नुभएको थियो।
बाँकी रहेकाहरू जो परमेश्वरद्वारा चुनिएका छन् (11:5) स्वेच्छाचारी वा अनियमित रूपमा चुनिएका होइनन्। तिनीहरू ती मानिसहरू हुन् जसलाई परमेश्वरले चिन्नुभएको थियो कि तिनीहरूले उहाँमा विश्वास गर्नेछन्।
(11:6) ख्रीष्टियान जीवनमा काम र अनुग्रह सधैँ सँगै जान्छन्, तर तिनीहरूले उद्धारको आधारको रूपमा एकअर्कालाई पूर्ण रूपमा बहिष्कृत गर्छन्। केही झूटा धर्महरूले सिकाएझैं परमेश्वरद्वारा हाम्रो स्वीकृतिको आधारको रूपमा तिनीहरूलाई एकसाथ जोड्न सकिँदैन।
(11:7-10) यशैया 29:10 बाट उद्धृत गरिएको पद 11:8 ले देखाउँछ कि मानिसहरूको कपटले तिनीहरूलाई आत्मिक रूपमा अन्धा बनायो। तिनीहरूको हृदय कठोर भयो किनभने तिनीहरूले सत्यलाई अस्वीकार गर्न जारी राखे। यशैया 6:9-10 ले यो पनि भन्छ कि मानिसहरूले दयाको प्रस्ताव सुन्न र अस्वीकार गर्न जारी राख्दा अन्धा हुन्छन्। रोमीका यी पदहरूको अर्थ यो होइन कि परमेश्वरले केही मानिसहरूलाई दया गर्न अस्वीकार गर्नुभयो। दाऊदको श्राप (भजनसंग्रह 69:22, 23), जुन पावलले रोमी 11:9-10 मा उद्घृत गरे, पश्चात्ताप गर्ने मानिसहरूलाई परित्याग गरिनेछ भन्ने थिएन, तर दुष्ट मानिसहरूलाई दण्ड दिइनेछ भन्ने थियो।
(11:11) के परमेश्वरले तिनीहरूलाई सबै आशाभन्दा बाहिर जाने अनुमति दिनुभएको छ? कदापी होइन। इस्राएलले ख्रीष्टलाई अस्वीकार गरेको कारण उहाँ क्रूसमा टाँगिनुभयो, जुन परमेश्वरको उद्धारको माध्यम थियो। यस अर्थमा, तिनीहरूको अस्वीकृतिको परिणामस्वरूप अन्यजातिहरूले स्वीकृति पाए। जब यहूदीहरूले अन्यजातिहरूलाई उद्धार पाएको देख्छन्, तिनीहरूले बुझ्नेछन् कि तिनीहरूले पनि त्यस्तै तरिकाले उद्धारपाउन सक्छन्।
(11:12-15) यदि इस्राएल परमेश्वरकहाँ फर्कन्छ भने अन्यजातिहरूलाई अझ बढी फाइदा हुनेछ। परमेश्वरले यहूदी र अन्यजाति बीच चुनाउ गर्नु आवश्यक छैन। उहाँ सबैलाई बचाउन चाहनुहुन्छ।
► केही ईश्वरशास्त्रीहरू विश्वास गर्छन् कि परमेश्वरले केही मानिसहरूलाई बचाउन नचाहनुभएको हुनाले, उहाँले तिनीहरूबाट आफ्नो अनुग्रह रोक्नुभयो, जसले गर्दा तिनीहरूको उद्धार असम्भव भयो। 11:12-15 बाट तपाईं त्यो विचारको जवाफ कसरी दिनुहुन्छ?
► विद्यार्थीले समूहको लागि रोमी 11:16-24 पढ्नुपर्छ।
(11:16-24) यी पदहरूले एउटा रूखबाट हाँगाहरू लिएर अर्को रूखमा राखिने अभ्यासको उदाहरण प्रयोग गर्छन्। इस्राएल परमेश्वरको रूखबाट भाँचिएका हाँगाहरू जस्तै थियो, र अन्यजातिहरू रूखमा कलमी बाँधिएका हाँगाहरू थिए। यहूदीहरू तिनीहरूको अविश्वासको कारणले भाँचिएका थिए। कलमी बाँधिएका जो कोही पनि यदि विश्वासमा रहिरहेन भने भाँचिनेछ। पहिले नै भाँचिएकाहरूलाई पुनर्स्थापित गर्न सकिन्छ।
पावलले यो भनेनन् कि परमेश्वरले रूखमा को रहने भनेर निर्णय गर्नुहुन्छ र उहाँको निर्णय अपरिवर्तनीय छ। उनले भने कि परमेश्वरले अविश्वासीहरूलाई हटाउनुहुन्छ, तर यदि तिनीहरूले विश्वास गरे भने तिनीहरू फेरि रूखमा जोडिनेछन्। विश्वास गर्ने अन्यजातिहरू जोडिनेछन्, तर यदि तिनीहरू अविश्वासमा पर्छन् भने तिनीहरू भाँचिनेछन्। परमेश्वरले मानिसको चुनाउहरूको जवाफ दिनुहुन्छ।
► यी पदहरूबाट, हाँगाहरू जोडिने वा हटाइने उदाहरणलाई तपाईं कसरी व्याख्या गर्नुहुन्छ?
विश्वासीको सुरक्षाको बारेमा बाइबलले के सिकाउँछ भनेर बुझ्नु महत्त्वपूर्ण छ। विश्वासीहरूको लागि बाइबलमा धेरै गम्भीर चेताउनीहरू छन्।
यूहन्ना 15:2-10 मा दाखको बोट र हाँगाहरूको प्रसिद्ध रूपक छ। यसले केही महत्त्वपूर्ण प्रश्नहरूको उत्तर दिन्छ।
हामी कसरी ख्रीष्टमा रहन्छौं? “यदि मेरा आज्ञाहरू पालन गर्यौ भने तिमीहरू मेरो प्रेममा रहनेछौ” (15:10)। ख्रीष्टमा रहन छोड्नु भनेको एउटा व्यक्तिले उहाँको आज्ञा पालन गर्न छोड्नु हो। त्यसपछि के हुन्छ?
“कोही मानिस ममा रहेन भने, त्यो हाँगाझैँ बाहिर मिल्काइन्छ, र त्यो सुकिहाल्छ। यस्ता हाँगाहरू मानिसहरूले बटुल्छन्, र आगोमा फालिदिनेछन्, र ती जलिहाल्छन्” (15:6)। यदि एउटा व्यक्तिले आज्ञा पालन गर्न छोड्छ, र यसरी ख्रीष्टमा रहन छोड्छ भने, उसलाई अस्वीकृत गरिन्छ। दाखको बोटबाट हाँगाहरू खसेर आगोमा फाल्नको लागि बटुल्ने दृष्टान्तले हामीले कल्पना गर्नसक्ने सबैभन्दा पूर्ण अस्वीकृति देखाउँछ।
“ममा रहो, र म तिमिहरूमा रहन्छु। जसरी हाँगा दाखको बोटमा रहेन भने त्यो आफैले फल फलाउन सक्दैन, त्यसरी तिमीहरू ममा रहेनौं भने तिमीहरूले पनि सक्दैनौ” (15:4)। “ममा हुने प्रत्येक हाँगा जसले फल फलाउँदैन उहाँले त्यसलाई छाट्नुहुन्छ” (15:2)। फल फलाउनु भनेको परमेश्वरको अनुग्रहद्वारा परिवर्तित, आशिषित् र निर्देशित जीवन बिताउनु हो। यदि हामी आज्ञाकारिताद्वारा ख्रीष्टमा रहेनौं भने, हामी फल फलाउन सक्दैनौं। फल नफलाउने व्यक्ति अस्वीकृत हुन्छ।
हामीले जे गरे पनि उद्धार पाउनेछौं भनी बाइबलले कतै पनि बताउँदैन। ख्रीष्टियान जीवनको लागि निरन्तर अनुग्रह ख्रीष्टमार्फत परमेश्वरसँगको हाम्रो सम्बन्धबाट आउँछ। ख्रीष्ट एउटा दाखको बोट जस्तै हुनुहुन्छ जसबाट हामीले जीवनलाई निरन्तरता दिनै पर्छ। दाखको बोटको रूपकले देखाउँछ कि उद्धारको वरदान सम्बन्धको माध्यमबाट प्राप्त हुन्छ। उहाँबाट अलग हुनु भनेको उद्धारबाट अलग हुनु हो। हामी परमेश्वरको आज्ञा पालन गरेर यो बचाउने सम्बन्ध कायम राख्छौं।
आधुनिक उदाहरण उज्यालोदिने बल्ब र बिजुली हुनसक्छ। बिजुलीको शक्ति बगिरहेको बेला बल्बमा प्रकाश हुन्छ। यदि बल्बलाई यसको शक्ति स्रोतबाट अलग गरिएको छ भने यसले आफ्नो प्रकाश दिन सक्दैन। त्यसरी नै, ख्रीष्टसँगको हाम्रो सम्बन्धको कारण हामीसँग अनन्त जीवन छ। उहाँको जीवन हामीमा बग्छ। यदि हामी उहाँबाट अलग भयौं भने हामीले त्यो जीवन कायम राख्न सक्दैनौं।
पवित्रशास्त्रले हामीलाई चेतावनी दिन्छ कि एक पटक उद्धार पाएको व्यक्तिले अन्ततः पापमा पराजित भएर उद्धार गुमाउन सक्छ। “जसले जित्छ, त्यसलाई यसरी सेता वस्त्र पहिराइन्छ, र म त्यसको नाउँ जीवनको पुस्तकबाट मेटिदिनेछैनँ” (प्रकाश 3:5)। यी उद्धार पाएका मानिसहरू थिए, तापनि यदि तिनीहरू पापमा पराजित भए तिनीहरूले उद्धार गुमाउनेछ।
एक समयमा, पावल चिन्तित थिए कि थेसलोनिकामा रहेका उनका विश्वासीहरूले आफ्नो विश्वास त्यागेका हुन सक्छन्। उनले भने कि यदि त्यसो भएको भए, तिनीहरूलाई सुसमाचार प्रचार गर्ने उनको परिश्रम खेर जानेछ (1 थेस्सलोनिकी 3:5)। यसले देखाउँछ कि एउटा विश्वासी आफ्नो विश्वासबाट यतिसम्म पतन हुनसक्छ कि उसको मौलिक परिवर्तन व्यर्थ हुन्छ।
2 पत्रुस 2:18-21 मा हामी पाउँछौं कि त्यहाँ झूटा शिक्षकहरू छन् जसले केही विश्वासीहरूलाई धोका दिन्छन् जो “हाम्रा प्रभु र मुक्तिदाता येश ख्रीष्टलाई चिनेर पनि संसारका दूषित गराउने कुराबाट उम्किसकेका छन।” यी सुरुका विश्वासीहरूले धार्मिकताको बाटो चिनेका थिए तर तिनीहरूले त्यसलाई त्यागे। यो पदले भन्छ कि पापी जीवनशैलीमा फर्कनुभन्दा बाटो कहिल्यै नचिनेको भए राम्रो हुनेथियो। यसले देखाउँछ कि पापमा फर्केर एक व्यक्तिले आफ्नो मुक्ति गुमाउन सम्भव छ। यदि एउटा व्यक्तिले आफ्नो उद्धार गुमाउन सम्भव नभएको भए, ऊ कहिल्यै पनि उद्धार पाउनुअघिको तुलनामा अझ खराब हुन सक्दैनथ्यो।
परमेश्वर विश्वासीहरूले सुरक्षित महसुस गरून् भन्ने चाहनुहुन्छ, तर झूटो आश्वासनमा आफ्ना भावनाहरूको आधारमा होइन जसले गर्दा तिनीहरू आफैंलाई वास्तविक आत्मिक खतरामा पार्छन्। हामीले विश्वासीहरूलाई त्यस्ता प्रतिज्ञा गर्नुहुँदैन जुन परमेश्वरले गर्नुभएको छैन। हामीले जे गरे पनि हाम्रो उद्धार गुमाउनबाट सुरक्षित रहनेछौं भनेर उहाँले प्रतिज्ञा गर्नुहुन्न।
परमेश्वरले हामीसँग रहने, हामीलाई मार्गदर्शन गर्ने र पापमाथि विजय हासिल गर्न हामीलाई सशक्त बनाउने प्रतिज्ञा गर्नुहुन्छ। उहाँले प्रतिज्ञा गर्नुहुन्छ कि हामीले उहाँसँगको हाम्रो सम्बन्धबाट आत्मिक जीवन प्राप्त गर्नेछौं। विश्वासी परमेश्वरसँगको सम्बन्धमा प्राप्त गर्ने निरन्तर अनुग्रहको परमेश्वरको प्रतिज्ञामा निर्भयतापूर्वक बाँच्न सक्छ।
खण्ड अध्ययन – रोमी भाग 5, खण्ड 3
हरेक पदहरूको नोटहरू जारी
(11:25-29) इस्राएल राष्ट्रको रूपमा (सम्पूर्ण इस्राएल) बचाइनेछ। यसको अर्थ यो होइन कि प्रत्येक यहूदीले बचाइनेछ, तर भविष्यमा राष्ट्रको बाँकी रहेकाहरू परमेश्वरतिर फर्कनेछन्। अन्यजातिहरूको पूर्णता लूका 21:24 मा उल्लेख गरिएको छ। (इस्राएलको राष्ट्रको रूपमा मुक्तिको बारेमा अन्य जानकारी यशैया 2:2-5, यशैया 60:1-22; जकरिया 12:7-13:9 मा छ।)
(11:30-31) 11:11 मा भएको नोट हेर्नुहोस्।
(11:32) परमेश्वरले तिनीहरूलाई सबैलाई एउटै अवस्थामा अविश्वासीहरूको रूपमा वर्गीकृत गर्नुभएको छ (समूहबद्ध गर्नुभएको छ)। परमेश्वरले सबैलाई तिरस्कार गर्नुभएको छ र तिनीहरूमाथि दण्डको घोषणा गर्नुभएको छ, ताकि सबै समानरूपमा दयाको लागि भागिदार बनुन। यस पदमा सबै शब्द दुई पटक प्रयोग गरिएको छ। जसरी सबै पापी छन्, त्यसरी नै परमेश्वरले सबैमाथि दया गर्न चाहनुहुन्छ। जसरी उहाँले सबैलाई तिरस्कार गर्नुभयो, त्यसरी नै उहाँले सबैलाई दया प्रदान गर्नुभयो।
सबै मानिसहरूलाई एउटै वर्गमा राख्नुभएको छ ताकि सबैले समान उद्धार पाउन सकोस्। (3:19-23 लाई हेर्नुहोस्।) मुख्य कुरा यो हो कि उहाँले सबैलाई तिरस्कार गर्नुभयो ताकि उहाँले सबैलाई एउटै तरिकाले कृपा प्रदान गर्न सक्नुहुनेछ।
(11:33-36) यी पदहरू परमेश्वरको ज्ञानको लागि प्रशंसाको उद्गार हो। महान उद्धार योजना हाम्रो कल्पनाभन्दा माथि छ। हामीले यसलाई उहाँले दिन चाहनुभएको तरिकाले स्वीकार गर्नुपर्छ, किनकि उहाँले हामीलाई दिनैपर्छ भन्ने कुनै जबरजस्ती छैन (11:35)। कति जना परमेश्वरको उद्धारको योजनाबाट दु:खित छन्, मानौं यो ठेस लाग्ने चट्टान हो; तर यो दयाको जग हो।
व्यवस्थावाद (डिस्पेंसनलिज्म) विरुद्ध करार सम्बन्धी ईश्वरशास्त्र
ईश्वरशास्त्रीहरूले इस्राएल र मण्डलीबीचको सम्बन्धलाई बुझ्ने कोसिस गरे।
प्रश्नहरूमा यी समावेश छन्: के पुरानो करारका मानिसहरूले नयाँ करारका मानिसहरूभन्दा फरक तरिकाले उद्धार पाएका थिए? के परमेश्वरले इस्राएललाई गर्नुभएको प्रतिज्ञाहरू मण्डलीमा पनि लागू हुन्छन्? के इस्राएल अझै पनि परमेश्वरको योजनामा विशेष छ?
इस्राएल र मण्डलीबीचको सम्बन्धको एउटा व्याख्यालाई व्यवस्थावाद“डिस्पेंसनलिज्म” भनिन्छ। अन्य ईश्वरशास्त्रीहरू व्यवस्थावादसँग असहमत भएका छन् र एउटा व्याख्या विकास गरेका छन् जसलाई कहिलेकाहीँ "करार सम्बन्धी ईश्वरशास्त्र" पनि भनिन्छ।
व्यवस्थावाद (डिस्पेंसनलिज्म)
व्यवस्था (डिस्पेंसेसन) शब्द मानव इतिहासका विभिन्न कालखण्डहरू छन् जहाँ परमेश्वरले मानिसहरूसँग फरक व्यवहार गर्नुहुन्छ, विभिन्न माध्यमबाट मुक्ति प्रदान गर्नुहुन्छ भन्ने अवधारणाबाट आएको हो। समयको अवधि जब परमेश्वरले मुक्तिको एक विशेष योजना प्रयोग गर्नुहुन्छ, त्यस अवधीलाई डिस्पेंसन भनिन्छ।
कतिपय व्यवस्थावादी (डिस्पेन्सनलिस्ट) हरूले मानव इतिहासलाई धेरै व्यवस्थाहरूमा विभाजन गरे। बाइबलीय व्याख्यालाई सबैभन्दा बढी असर गर्ने दुई अवधीहरू इस्राएल र मण्डलीबीचको भिन्नतामा आधारित छन्। यी ईश्वरशास्त्रीहरू विश्वास गर्छन् कि पुरानो करारका इस्राएलीहरू मोशाको व्यवस्था र बलिदान प्रणाली पालन गरेर बचाइएका थिए; र नयाँ करारका विश्वासीहरू विश्वासद्वारा अनुग्रहद्वारा बचाइएका छन्। मण्डली इस्राएलबाट पूर्ण रूपमा फरक छ, र परमेश्वरले तिनीहरूसँग फरक तरिकाले व्यवहार गर्नुहुन्छ।
यद्यपि व्यवस्थागत ईश्वरशास्त्रका धेरै भिन्नताहरू छन्, व्यवस्थावादको एक विशिष्ट संस्करणले सिकाउँछ कि भूमि र राज्यको बारेमा इस्राएललाई परमेश्वरले गर्नुभएको सबै प्रतिज्ञाहरू शाब्दिक रूपमा पूरा हुनेछन्।
व्यवस्थावादीहरू सोच्छन् कि दुवै योजनाहरू पृथ्वीमा एकैसाथ चल्न सक्दैनन्; त्यसैले, तिनीहरू विश्वास गर्छन् कि मण्डलीलाई सात वर्षको अवधीको लागि पृथ्वीबाट हटाइनेछ। त्यस समयमा इस्राएलले येशूलाई आफ्नो मसीहको रूपमा स्वीकार गर्नेछ। त्यस अवधीपछि 1,000 वर्षको राज्य हुनेछ जब येशूले यरूशलेममा राज गर्नुहुनेछ।
व्यवस्थावादीहरूले पुरानो करारलाई ख्रीष्टियानहरूका लागि कम उपयोगी बनाउँछन् किनभने तिनीहरू विश्वास गर्छन् कि यो फरक युगअन्तर्गत इस्राएललाई सम्बोधन गरिएको थियो। तिनीहरू सत्यता चित्रण गर्न पुरानो करारका कथाहरू प्रयोग गर्छन्, तर तिनीहरू प्रायः पुरानो करारबाट सैद्धान्तिक प्रमाणलाई अस्वीकार गर्छन् र नयाँ करारलाई मात्र पछ्याउने प्रयास गर्छन्।
धेरै मानिसहरू जसलाई “व्यवस्थावाद” शब्द थाहा छैन, तिनीहरू यसको विचारबाट प्रभावित भएका छन्। प्रायः मानिसहरूले पुरानो करारको अधिकारलाई स्वीकार गर्न अस्वीकार गर्छन्, यद्यपि नयाँ करारका लेखकहरूले स्पष्ट रूपमा यसलाई आफ्नो अधिकार मान्थे।
करार सम्बन्धी ईश्वरशास्त्र
करार सम्बन्धी ईश्वरशास्त्रअनुसार, परमेश्वरका मानिसहरू ती हुन् जसले उहाँलाई प्रेम गर्छन् र उहाँको सेवा गर्छन्, चाहे तिनीहरू जुनसुकै ऐतिहासिक अवधीमा बाँचिरहेका छन्। मुक्ति पाएका मानिसहरू, चाहे पुरानो करारको समयमा होस् वा नयाँ करारको समयमा, पश्चात्ताप गर्ने र उद्धारको लागि परमेश्वरमा भरोसा गर्ने मानिसहरू हुन्।
मण्डली अब परमेश्वरका मानिसहरू हुन् र पुरानो करारमा इस्राएललाई गरिएका प्रतिज्ञाहरू सहित परमेश्वरका मानिसहरूलाई दिइएका प्रतिज्ञाहरू प्राप्त गर्छन्। इस्राएल राष्ट्रको अब कुनै विशेष महत्त्व छैन।
बाहिरी रूपले मात्र यहूदी हुनेचाहिँ साँचो यहूदी होइन, त्यसरी नै साँचो खतना पनि बाहिरी र शारीरिक कुरा होइन। यहूदी त्यो हो, जो भित्री रूपले यहूदी हो, र साँचो खतनाचाहिँ हृदयको कुरो हो, यो आत्मिक कुरा हो, लिखित व्यवस्थाको कुरा होइन। यस्तो मानिसको प्रशंसा मानिसहरूबाट होइन, तर परमेश्वरबाट हुन्छ (रोमी 2:28-29)।
यसकारण तिमीहरूले यो जान, कि जस-जसले विश्वास गर्छन्, तिनीहरू नै अब्राहामका सन्तान हुन्।परमेश्वरले अन्यजातिहरूलाई विश्वासद्वारा धर्मी ठहराउनुहुन्छ भन्ने पवित्रशास्त्रले पहिलेदेखि नै देखेर अब्राहामलाई “तँमा नै सबै जातिले आशिष् पाउनेछन्” भन्ने सुसमाचार अघिबाटै सुनायो। यसकारण विश्वास गर्ने मानिसहरूले विश्वासी अब्राहामसँगै आशिष् पाएका छन् (गलाती 3:7-9)।
उहाँले हामीलाई मोल तिरेर छुटाउनुभयो, ताकि अब्राहामलाई दिइएको आशिष् ख्रीष्ट येशूद्वारा अन्यजातिहरूमा आओस्, र हामी विश्वासद्वारा प्रतिज्ञाका पवित्र आत्मा प्राप्त गर्न सकौं (गलाती 3:14)।
अब न त यहूदी छ न ग्रीक… यदि तिमीहरू ख्रीष्टका हौ भनेता तिमीहरू अब्राहामका सन्तान हौ, र प्रतिज्ञाबमोजिम उत्तराधिकारीहरू हौ (गलाती 3:28-29)।
करार सम्बन्धी ईश्वरशास्त्रअनुसार, यी प्रतिज्ञाहरू इस्राएलको सट्टा मण्डलीको लागि पूरा हुनेछन्:
यरूशलेममा ख्रीष्टको सिंहासन स्थापित
शान्ति
संसारको अगुवाको रूपमा इस्राएल
सबै राष्ट्रहरूलाई इस्राएलद्वारा सिकाइँदै
प्रतिज्ञा गरिएको भूमिको अनन्त स्वामित्व, र जंगली जनावरहरूमाथि अधिकार।
सबै प्रतिज्ञाहरूको शाब्दिक अर्थको सट्टा आत्मिक अर्थ हुने गरी व्याख्या गरिएको छ। मण्डलीमा पूरा हुनको लागि यी सबै प्रतिज्ञाहरू आत्मिक लाभहरूद्वारा पूरा हुनुपर्छ।
करार सम्बन्धी ईश्वरशास्त्रमा विश्वास गर्ने धेरैजसो मानिसहरूले 1,000 वर्षको अवधिको लागि पृथ्वीमा ख्रीष्टको शाब्दिक शासनमा विश्वास गर्दैनन्। तिनीहरू विश्वास गर्छन् कि ख्रीष्ट र सन्तहरूले अहिले आत्मिक रूपमा सुसमाचारको प्रभावद्वारा शासन गर्छन्। तिनीहरू विश्वास गर्छन् कि अब्राहामलाई उनका सन्तानहरूले कनानलाई सधैंभरि अधिकार गर्नेछन् भन्ने प्रतिज्ञा वर्तमान विश्वासीहरूले मुक्ति पाएर पूरा हुन्छ।
करार सम्बन्धी ईश्वरशास्त्रअनुसार, इस्राएल राष्ट्रको लागि अहिले कुनै महत्त्व छैन, किनभने तिनीहरूले ख्रीष्टलाई अस्वीकार गरेका थिए। कुनै पनि अन्यजातिजस्तै, यहूदीहरू व्यक्तिगत उद्धार प्राप्त गरेर परमेश्वरका मानिसहरूको हिस्सा हुनसक्छन्।
एक वैकल्पिक दृष्टिकोण
आज धेरै ईश्वरशास्त्रीहरूले व्यवस्थावाद र करार सम्बन्धी ईश्वरशास्त्रबीच बाइबलीय सन्तुलनमा आउन प्रयास गरेका छन्।
व्यवस्थावादमा समस्याहरू छन्। प्रेरित पावलले तिमोथीलाई भने कि धर्मशास्त्र (पुरानो करार) ले मुक्ति सिकाउँछ (2 तिमोथी 3:15)। येशूले भन्नुभयो कि निकोदेमसलाई नयाँ जन्मको बारेमा पहिले नै थाहा हुनुपर्छ किनभने उनी पुरानो करारका शिक्षक थिए (यूहन्ना 3:10)। नयाँ करारले भन्छ कि एउटा विश्वासी अब साँचो इस्राएली र अब्राहामको सन्तान हो (रोमी 2:28-29, गलाती 3:28-29)। यसले यो पनि भन्छ कि पुरानो करारको बलिदानले पाप हरण गरेन (हिब्रू 10:4)। यी धर्मशास्त्रहरूले देखाउँछन् कि परमेश्वरले इतिहासको विभिन्न अवधिहरूमा मुक्तिको विभिन्न तरिकाहरू प्रदान गर्नुभएको छैन।
करार सम्बन्धी ईश्वरशास्त्रमा पनि समस्याहरू छन्। पुरानो करारका प्रतिज्ञाहरू आत्मिक रूपमा पूरा हुन्छन् भन्नु भनेको मूल्याङ्कन गर्न नसकिने व्याख्याहरूलाई अनुमति दिनु हो। साथै, यो व्याख्याले मूल अर्थ गुमाउँछ। अब्राहाम वा अरूले ती प्रतिज्ञाहरू बुझ्न असम्भव हुने थियो, यद्यपि उनीहरूले सोचे कि तिनीहरूले बुझेका थिए। उदाहरणका लागि, परमेश्वरले अब्राहामलाई प्रतिज्ञा गर्नुभयो कि उनका सन्तानहरूले सधैंभरि निश्चित भूमि पाउनेछन्; के यसको अर्थ साँच्चै अन्यजातिहरूले मुक्ति पाउनेछन् भन्ने हुन सक्छ?
करार सम्बन्धी ईश्वरशास्त्रले इस्राएल अझै पनि परमेश्वरको योजनामा महत्त्वपूर्ण छ भनेर अस्वीकार गर्दछ, तर प्रेरित पावलले भने कि इस्राएल एक राष्ट्रको रूपमा एक दिन बचाइनेछ (रोमी 11:26)।
इस्राएल र मण्डलीको सन्तुलित दृष्टिकोणमा पुरानो करारमा भएका विभिन्न प्रतिज्ञाहरूको बुझाइ समावेश हुनेछ।
1. उद्धारको प्रतिज्ञाहरू। उद्धार अनुग्रहद्वारा प्राप्त हुन्छ र इतिहासको कुनै पनि अवधिमा यहूदी र अन्यजातिले पश्चात्ताप र विश्वासद्वारा प्राप्त गर्छन्। परमेश्वरले एक व्यक्तिलाई स्वीकार गर्नुको आधार सधैं एउटै थियो (रोमी 4:3, एफिसी 2:8)। इस्राएल र मण्डलीलाई पृथ्वीमा छुट्टाछुट्टै पालो लिनु आवश्यक छैन किनभने उद्धारको योजना दुवैको लागि समान छ।
2. आफ्ना जनहरूको हेरचाह गर्ने परमेश्वरका प्रतिज्ञाहरू। धेरै प्रतिज्ञाहरूले परमेश्वरले आफ्ना जनहरूको हेरचाह गर्ने सामान्य तरिकाको वर्णन गर्दछ, जोसँग उहाँसँग आज्ञाकारी सम्बन्ध छ। एउटा उदाहरण भजनसंग्रह 23 हो। यी प्रतिज्ञाहरूले परमेश्वरको स्वभावलाई सम्बन्धमा प्रकट गरेको देखाउँछन्। यी सिद्धान्तहरूको कुनै पनि समय र स्थानमा प्रयोग हुन्छ, इस्राएल वा मण्डलीसँग।
3. इस्राएललाई राष्ट्रको रूपमा प्रतिज्ञाहरू। येशू यहूदीहरूका मसीह हुनुहुन्थ्यो। कुनै दिन इस्राएल राष्ट्र ख्रीष्टतिर फर्कनेछ (रोमी 11:26)। परमेश्वरले इस्राएललाई राष्ट्रको रूपमा गर्नुभएका प्रतिज्ञाहरू विश्वासी यहूदीहरूको बाँकी रहेकाहरूको लागि शाब्दिक रूपमा पूरा हुनेछन्।
► वैकल्पिक दृष्टिकोणमा कुन कथनहरू व्यवस्थावादसँग मेल खान्छन्, र कुन कथनहरू यसबाट फरक छन्? कुन कथनहरू करार सम्बन्धी ईश्वरशास्त्रसँग मेल खान्छन् र कुन फरक छन्?
पाठ 10 का समीक्षा प्रश्नहरू
(1) रोमी 10 को मुख्य बुँदा के हो?
(2) यहूदीहरूले कसरी आफूलाई धर्मी ठहराउने प्रयास गरे?
(3) ख्रीष्ट आउनुभन्दा पहिलेका मानिसहरू कामहरूद्वारा बचाइएका थिएनन् भनेर हामी कसरी जान्दछौं?
(4) उद्धार हाम्रो हृदय र मुखमा छ भन्ने कुराको अर्थ के हो?
(5) मिसनेरीको सन्देश किन जरुरी छ?
(6) रोमी 11 मा भएको रूखका हाँगाहरूको दृष्टान्त व्याख्या गर्नुहोस्।
(7) पुरानो करारमा भएको तीन प्रकारका प्रतिज्ञाहरूको सूची बनाउनुहोस्।
पाठ 10 का कार्यहरू
(1) आजका ख्रीष्टियानहरूका लागि पुरानो करार किन महत्त्वपूर्ण छ भनेर व्याख्या गर्दै एक पृष्ठ लेख्नुहोस्। विशेषगरी मूल्यवान पुरानो करारका शास्त्रका उदाहरणहरू दिनुहोस्।
(2) अन्य मण्डलीका कमसेकम दुई सदस्यहरूसँगको कुराकानीको रिपोर्ट तयार गर्न नबिर्सनुहोस्।
SGC exists to equip rising Christian leaders around the world by providing free, high-quality theological resources. We gladly grant permission for you to print and distribute our courses under these simple guidelines:
No Changes – Course content must not be altered in any way.
No Profit Sales – Printed copies may not be sold for profit.
Free Use for Ministry – Churches, schools, and other training ministries may freely print and distribute copies—even if they charge tuition.
No Unauthorized Translations – Please contact us before translating any course into another language.
All materials remain the copyrighted property of Shepherds Global Classroom. We simply ask that you honor the integrity of the content and mission.