भविष्यसूचक शास्त्र संसारमा भएको दुष्टता र अन्यायको बावजुद विश्वास राख्ने समस्यासँग सम्बन्धित छ। यसले एउटा समयको वर्णन गर्दछ जब परमेश्वरले अचानक संसारमा हस्तक्षेप गर्नुहुनेछ, दुष्टलाई दण्ड दिनुहुनेछ र आफ्ना मानिसहरूलाई मद्दत गर्नुहुनेछ।[1]
परमप्रभुका दिन परमेश्वरको अन्तिम हस्तक्षेपको समयको लागि प्रयोग हुने शब्द हो। पूरानो करारमा केही खण्डहरूले प्रभुको दिनलाई समयको रूपमा वर्णन गर्दछ जब अन्यजाति राष्ट्रहरूले इस्राएलप्रति गरेको तिनीहरूको व्यवहारको कारण दण्ड दिइनेछ।[2] धेरै यहूदीहरूले यहूदी भएको नाताले तिनीहरू परमेश्वरको न्यायबाट डराउनुपर्ने कुनै कुरा छैन भनी अनुमान गर्न थाले। अगमवक्ताहरूले तिनीहरूलाई देखाउने प्रयास गरे कि यदि तिनीहरू पापी छन् भने तिनीहरूको पनि न्याय हुनेछ (सपन्याह 1:12; आमोस 5:18-27) र तिनीहरू यहूदी भएको कारणले मात्र मुक्त हुनेछैनन्; तर तिनीहरूको अनुमान यथावत रहिरह्यो।
यहूदीहरूलाई तिनीहरूले पनि उद्धार पाउन आवश्यक छ भन्ने सत्यतथ्यलाई स्वीकार गर्न गाह्रो थियो। उदाहरणका लागि, बप्तिस्माचाहिँ अन्यजातिहरूलाई यहूदी बनाउनलाई प्रयोग गरिने तिनीहरूको एउटा विधी मात्र थियो। तिनीहरूले यहूदीहरूलाई बप्तिस्मा दिएनन्। बप्तिस्मा दिने यूहन्नाले यहूदीहरूलाई बप्तिस्मा दिए, र उनको अभ्यासले केही यहूदीहरूलाई अपमानित तुल्यायो, जसले सोचेका थिए कि तिनीहरूलाई बप्तिस्मा वा पश्चत्तापको कुनै आवश्यकता छैन। तिनीहरूले तिनीहरूले सोचेका थिए कि तिनीहरू अब्राहामका सन्तान भएकाले परमेश्वरद्वारा कृपा पाएका थिए। ( मत्ती 3:9)।
रोमीको पुस्तकमान पावलले क्रोधको दिन (2:5) र परमेश्वरले इन्साफ गर्नुहुने दिन (2:16)लाई उल्लेख गरेका छन्। यी सन्दर्भहरू 1:16-18 भएको उनको विषयवस्तुबाट लिइएका छन्, कि सुसमाचार चाहिँ परमेश्वरको क्रोधबाट उद्धार हो। 2:2-3 मा उनले यहूदीहरू पनि परमेश्वरको क्रोधको दिनको लागि डराउनुपर्ने कारणहरू छन् भनी बताएर स्व-धर्मी यहूदीहरूलाई छक्कै पार्छन्। यहूदीहरूलाई पनि उद्धारको खाँचो छ।
[1]पुरानो करारको भविष्यसूचक शास्त्रमा दानिएल, जकरिया, योएल, इजकिएल 37-39, र यशैया 24-27 समावेश छ। नयाँ करारमा, हामी मत्ती 24, लूका 21, मर्कूस 13, 2 थेसलोनिकी 2, र प्रकाश भेट्टाउँछौं।
यो पाठमा, हामी रोमी को पुस्तकको भाग 2 को अध्ययनलाई निरन्तरता दिनेछौं। पछिल्लो पाठमा, हामीले अन्यजातिको त्रुटिको बारेमा अध्ययन गरेका थियौं। यो खण्ड (2:1-29) ले इस्राएलीहरूको त्रुटीलाई वर्णन गर्दछ।
1:18-3:20 चाहिँ भाग 2 हो। भाग 2 को मुख्य विषय यो हो कि संसारका सबै मानिसहरूले परमेश्वरको आवश्यकतालाई उलङ्घन गरेका छन् र न्यायमा परेका छन्। परमेश्वरका आवश्यकताहरू पूरा गर्ने आधारमा कसैलाई पनि बचाउँन सकिँदैन किनभने हरेक व्यक्तिले पहिले नै ती आज्ञाहरूलाई भङ्ग गरिसकेका छन्।
प्रथम, अन्यजातिहरूले परमेश्वरको ज्ञानलाई अस्वीकार गरेका छन् र मूर्तिहरू र पापी इच्छाहरूतिर फर्केका छन् भनी पावलले बताउँछन्। त्यसपछि, उनले इस्राएलीहरूको अवस्था वर्णन गरेका छन्, जोसँग परमेश्वरको व्यवस्था थियो तर पालन गरेनन्। अब हामी इस्राएलीहरूको बारेमा लेखिएको खण्डको अध्ययन गर्नेछौं।
यहाँ पावल तेस्रो व्यक्ति (तिनीहरू) बाट दोस्रो व्यक्ति (तिमी) मा परिवर्तन भएका छन्। उनी ती मानिसहरूसँग बोले जसले सुसमाचार तिनीहरूमा लागू हुँदैन किनभने तिनीहरू अघिबाटै धर्मी ठहराइएका छन् भनी सोचेका थिए। धेरैजसो यहूदीहरू त्यो श्रेणीमा थिए, र यो खण्डले तिनीहरूसित विशेषरूपमा कुरा गर्छ (2:17); तर उच्च नैतिकता भएका अन्यजातिहरू पनि त्यस्तै त्रुटिमा हुनसक्छन्। अनुग्रहबिना आफूलाई धर्मी ठान्ने व्यक्ति पाखण्डी र दोषी हो भनी उनले देखाउँछन्।
अध्याय 2 को मुख्य बुँदा
यहूदीहरू अन्यजातिहरूले गर्ने पापहरूका लागि दोषी छन् र परमेश्वरद्वारा पनि त्यस्तै न्याय गरिनेछ।
अध्याय 2 को सारांश
2:1, 11 ले मुख्य कुरा बताउँदछ। 2:1 ले यहूदीहरू पनि समानरूपमा दोषी छन् भनी बताउँछ; 2:11 ले बताउँछ कि परमेश्वर निष्पक्ष हुनुहुन्छ। बाँकी अध्यायले ती पदहरूमा भएका कथनहरूको लागि एउटा तर्क प्रस्तुत गर्दछ। जसरी अन्यजातिहरूलाई कुनै बहाना छैन, त्ससरी नै यहूदीहरूलाई पनि कुनै बहाना छैन (1:20) ।
2:13, 17 ले यो देखाउँछ कि किन यहूदीहरूले अनुग्रह पाउने आशा गरे – किनकि तिनीहरूले परमेश्वरको प्रकाश पाएका थिए र त्यसमाथि आधारित धर्म तिनीहरूको थियो। रोमी 1 मा, पावलले अन्याजातिहरू न्यायको योग्य छन् भन्ने सत्यतथ्यलाई स्थापित गरे। योसित सबै यहूदीहरू सहमत हुनेछन्। तर 2:1 मा, पावलले यहूदीहरूको दोष प्रकट गरेर तिनीहरूलाई स्तब्ध पारे। तिनीहरूले पनि व्यवस्था भङ्ग गरेका थिए र अन्यजातिहरूझैं न्यायको योग्य थिए। तिनीहरूले माफी पाउने आशा गरेका थिए किनभने तिनीहरू यहूदी थिए जसले परमेश्वरको व्यवस्था स्वीकार गरेका थिए र तिनीहरूसँग त्यस व्यवस्थामा आधारित सही धर्म थियो।
आज लाखौं मानिसहरू यस श्रेणीमा छन्। तिनीहरू सोच्छन् कि तिनीहरूलाई परमेश्वरले स्वीकार गरेका छन् किनकि तिनीहरू परमेश्वरमा विश्वास गर्छन् र तिनीहरूले पाप गरिरहँदा पनि धार्मिक रूपहरू अभ्यास गर्छन्।
► के तपाईंको समाजमा धेरै मानिसहरू छन् जसले आफूलाई गल्तीले ख्रीष्टियान ठान्छन्? किन तिनीहरू त्यस्तो सोच्छन्?
► विद्यार्थीले समूहको लागि रोमी 2:1-29 पढ्नुपर्छ।
हरेक पदहरूको नोटहरू
(2:1) यहूदीहरूसँग कुनै बहाना थिएन, यो कुरा अन्यजातिहरूको अवस्थासँग मेल खान्छ जसकोमा कुनै बहाना थिएन (1:20)। त्यो विचार स्व-धर्मी यहूदीहरूको निम्ति छक्कपर्दो थियो जस्तो कि आधुनिक व्यक्तिलाई लाग्छ कि उ पूरा असल छ।
अरूको न्याय गरेर, तिनीहरू आफै दोषी ठहरिए, किनकि तिनीहरू पनि त्यही पापको दोषी थिए। सत्यको ज्ञानले तिनीहरूको जिम्मेवारी बढायो। येशूले भन्नुभयो कि इस्राएलका केही सहरहरूको न्याय सदोम र गमोराभन्दा पनि खराब हुनेछ (मत्ती 11:21-24)।
यो खण्डले यस्तो व्यक्तिको बारेमा बताउँछ जसले सोच्छ कि उसले अरूहरूको न्याय गर्न सक्छ र आफूलाई चाहिँ निर्दोष सम्झन्छ। अध्यायको उप्रान्त भागमा परमेश्वरलाई न्यायकर्ताको रूपमा राख्छ र यो देखाउँछ कि उहाँको न्याय ती मानिसहरूको न्यायभन्दा कति फरक छ जसले आफ्नो पक्षमा न्याय गर्छन्।
(2:2-3) परमेश्वरको न्याय अपरिवर्तनीय मापदण्डअनुसार हुन्छ। परमेश्वरले मानिसहरूको न्याय परिवर्तनशील र गलत मापदण्डअनुसार गर्नुहुन्न।
(2:4) परमेश्वरले यहूदीहरूलाई विशेष ध्यान दिनुभएको थियो, त्यसैले तिनीहरूले सोचेका थिए कि उहाँले न्यायलाई पनि तिनीहरूकै पक्षमा बद्लाउनु हुनेछ। वास्तवमा, तिनीहरूप्रति उहाँको भलाइको उद्देश्य तिनीहरूलाई पश्चत्तापमा डोर्याउनु थियो, न्यायलाई रद्द गर्नु होइन। धेरै मानिसहरूले परमेश्वरको भलाइलाई केवल उदारता र सहिष्णुताको रूपमा हेरेर घृणा गर्छन्। सांसारिक मानिसले परमेश्वरबाट त्यो भौतिक लाभ र उसको पापलाई सहिदिएको चाहन्छन्। परमेश्वरको भलाइप्रति यस्तो दृष्टिकोण राख्नु भनेको यसलाई घृणा गर्नु हो। परमेश्वरको बारेमा जान्नेहरू बढी दोषी छन् किनकि उहाँको भलाइले तिनीहरूलाई पश्चात्ताप गर्ने अवसर दिन्छ।
(2:5) जब तिनीहरूले पश्चत्ताप गर्नुको सट्टा पाप गरिरहे, तब समयको ढिलाईले क्रोध जम्मा गरिरहेको थियो। किनकि तिनीहरूलाई सत्य थाहा थियो, तिनीहरू बढी जवाफदेही थिए, र त्यसैले तिनीहरूको अनाज्ञाकारिता विरुद्ध परमेश्वरको क्रोध बढ्यो। (यस अध्यायको बाँकी भाग बुझ्नको लागि निम्न खण्ड महत्वपूर्ण छ)।
कामहरूको न्याय
► जब हामी न्यायको दिनमा आइपुग्छौं, तब के हामीले पथ्वीमा गरेका कामहरू महत्वपूर्ण हुनेछन्?
अन्तिम न्याय कामहरूको मूल्याङ्कनको लागि हुनेछ। परमेश्वरले मानिसहरूको कामअनुसार तिनीहरूलाई दण्ड वा पुरस्कार दिनुहुनेछ। विभिन्न मानिसहरूको लागि विभिन्न प्रकारको दण्ड र पुरस्कार हुनेछ (हिब्रू 2:2, हिब्रू 10:28-29, मत्ती 10:42, लूका 12:47-48, 2 कोरिन्थी 5:10)।
पापीहरूलाई केवल अविश्वासको लागि मात्र दोषी ठहराइन्छ भन्ने विचार ईश्वरशास्त्रीय होइन। प्रकाश 20:12मा, मानिसहरूलाई तिनीहरूको कामको अभिलेखअनुसार न्याय गरिनेछ। 2 कोरिन्थी 5:10 ले भन्छ कि हामी सबै, विश्वासीहरू पनि, हाम्रो कामहरूको लागि न्याय गरिनेछ। 1 कोरिन्थी 3:12-15 ले देखाउँछ कि ख्रीष्टियानहरूले तिनीहरूको उद्देश्य र लगनशीलता, र तिनीहरूको सीपको गुणस्तर (सुन, चाँदी, बहुमूल्य पत्थर; काठ, घाँस, पराल) मा निर्भर गर्दै फरक इनाम पाउनेछन्। सबै ख्रीष्टियानहरूलाई पुरस्कृत गरिनेछ किनकि सबै साँचो ख्रीष्टियानहरूले असल कामहरू गरेका छन्, तर तिनीहरूका सबै कामहरू समान रूपमा मूल्यवान हुँदैनन्। गुणस्तरको जाँचमा उत्तीर्ण नहुने विश्वासीहरूको काम आगोले भस्म हुनेछ।
रोमी 2 को तात्पर्य यो हो कि नयाँ करारको सुसमाचार नसुनेका केही मानिसहरूलाई तिनीहरूका कामहरूको लागि दोषी ठहराइनेछैन (2:7, 10, 13, 26-27 लाई हेर्नुहोस्) । यसको अर्थ यो होइन कि केही मानिसहरू छन् जसले कहिल्यै पाप गरेनन् र त्यसैले अनुग्रहबिना कामद्वारा स्वीकार गर्न सकिन्छ; किनकि 3:19-20 ले भन्छ, सबैले पाप गरेका छन्। जसका काम स्वीकार गरिन्छ ती मानिसहरू हुन् जससँग हृदयको खतना भनिने अनुग्रहको अनुभव हुन्छ। तिनीहरूका कामहरू परमेश्वरद्वारा स्वीकृत गरिएका छन् (2:29)।
हृदयमा अनुग्रहको यो सञ्चालन पुरानो करारको समयमा प्रतिज्ञा गरिएको थियो:
परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले आफ्नो सारा हृदय र आफ्नो सारा प्राणले प्रेम गर्नलाई उहाँले तिमीहरूको र तिमीहरूका सन्तानको हृदयको खतना गर्नुहुनेछ, र तिमीहरू जिउन सक (व्यवस्था 30:6)।
यसर्थ, हामी जान्दछौं कि प्राचीन यहूदीहरू अनुग्रहद्वारा बचाइएको थियो, तिनीहरूको कामबाट होइन।
यो अनुग्रह अन्यजातिहरूको लागि पनि उपलब्ध थियो, चाहे तिनीहरू विशेष प्रकाश पाएका थिए वा थिएनन्।
तब पत्रुसले बोल्न थाले, “साँच्ची नै म देख्तछु, कि परमेश्वरले पक्षपात गर्नुहुन्न, तर हरेक जातिमा जो उहाँसँग डराउँछ, र उचित काम गर्छ, त्यो उहाँको सामुन्ने ग्रहणयोग्य हुन्छ” (प्रेरित 10:34-35)।
धार्मिक कामहरू हृदयको परिवर्तनपछि हुन्छ, जसले परमेश्वरप्रति आज्ञाकारिता प्रमाणित गर्छन्। यो प्रमाण रोमी 2:13, 16 मा उल्लेख गरिएको अन्तिम न्यायको आधार हो, अन्तिम न्यायमा धर्मीकरण हो।
खण्डले एउटा व्यक्ति कामहरूद्वारा बचाउन सकिन्छ भनेर सिकाउँदैन, तर वास्तविक आज्ञाकारिता भनेको महत्वपूर्ण कुरा हो, केवल व्यवस्थाको स्वामित्व मात्र होइन। यसले खण्डको विषयलाई समर्थन गर्दछ: कि यहूदीहरूलाई पनि मुक्ति चाहिन्छ किनभने तिनीहरूले आज्ञा उलङ्घन गरेका छन्।
खण्ड अध्ययन – रोमी भाग 2, खण्ड 2
हरेक पदहरूको नोटहरू जारी
(2:7) परमेश्वरले ती मानिसहरूलाई अनन्त जीवन दिनुहुन्छ जसले परमेश्वरलाई प्रसन्न पार्ने कामहरूमा लागिरहेर परमेश्वरबाट आउने सम्मान खोज्दछ।
(2:9) यहाँ हामी हेर्छौं कि यहूदीहरूको विशेषाधिकारले ठूलो उत्तरदायित्व ल्याउँछ। सुसमाचार पहिले यहूदीहरूकहाँ आएको हुनाले, तिनीहरू पहिलो न्यायको योग्य छन्।
(2:11) यो अध्यायको मुख्य पद हो। परमेश्वरको विरुद्धमा विद्रोह गर्नेहरूलाई न्याय गरिनेछ, धार्मिक भएको कारणले गर्दा तिनीहरूलाई कुनै पनि अनुग्रह दिइनेछैन।
याकूबको दृष्टिकोण
याकूब भन्छन् कि मानिस विश्वासद्वारा मात्र होइन, तर कामहरूद्वारा पनि धर्मी ठहरिन्छ (याकूब 2:24)। तर पावलले एफिसी 2:8 मा भनेका छन् कि हामी कामहरूद्वारा होइन अनुग्रहद्वारा बचाइन्छौं। रोमी 3:28 मा, उनले भनेका छन् कि मानिस व्यवस्थाका कर्महरू बिना विश्वासद्वारा नै धर्मी ठहरिन्छ।
त्यसोभए, के हामी काम र विश्वास दुवै धर्मी ठहरिन्छौं, वा हामी विश्वासद्वारा मात्र धर्मी ठहरिन्छौं? के याकूब र पावलले एक-अर्काको विरोध गरे? होइन, तिनीहरूले एक-अर्कालाई विरोध गरेका होइनन् किनकि तिनीहरूले एउटै कुराको बारेमा कुरा गरिरहेका थिएनन्।
पावलले कसरी एक व्यक्ति परमेश्वरको सामु धर्मी ठहरिन्छ भन्ने बारेमा कुरा गरिरहेका छन्। एउटा व्यक्ति विश्वासद्वारा अनुग्रहबाट धर्मी ठहरिन्छ।
याकुबले कसरी एक व्यक्ति अरू मानिसहरूको सामु धर्मी ठहरिन्छ भन्ने बारेमा कुरा गरिरहेका छन्। एउटा व्यक्तिले विश्वासयोग्य जीवन बिताएर ऊसँग बचाउने विश्वास छ भनी देखाउँछ।
याकूबको पत्रको मुख्य विषय भनेको दैनिक जीवनमा वास्तविक विश्वास लागू हुन्छ भनेर प्रमाणित गर्नु हो। उनले भनेका छन् कि अब्राहाम आफ्ना कामहरूद्वारा धर्मी ठहरिएका थिए। विश्वास र कामद्वारा सँगै एउटा व्यक्ति धर्मी ठहरिएको प्रमाणित हुन्छ। यदि कुनै व्यक्ति ख्रीष्टियान भएको दाबी गर्छ र त्यस्तै जीवन बिताउँछ भने उ ख्रीष्टियान हो भनी हामी जान्दछौं।
पावलले यो पुष्टि गरेका छन् कि असल कामहरूले विश्वासको अनुसरण गर्छ। एफिसी 2:10 मा, विश्वासद्वारा हामी बचाइन्छौं भन्ने उनको कथनको तुरुन्त पावलले भने कि हामी असल कामहरूका निम्ति ख्रीष्ट येशूमा सृजना भएका हौं।
याकूब र पावलले एक अर्काको विरोध गर्दैनन्। उनीहरू दुवै सहमत हुनेछन् कि बचाउने विश्वासले व्यक्तिलाई परमेश्वरप्रति स्वीकार योग्य बनाउँछ, अनि कामहरूले परिवर्तनको अनुसरण गर्छ र एउटा व्यक्तिलाई बचाइएको छ भनी प्रदर्शन गर्दछ।
खण्ड अध्ययन- रोमी भाग 2, खण्ड 2
हरेक पदहरूको नोटहरू जारी
(2:12) लिखित व्यवस्था कहिल्यै नसुनेकाहरूका लागि न्यायको मापदण्ड हुनेछैन। तिनीहरू परमेश्वरले आफैलाई अन्य तरिकाले प्रकट गर्नुभएको व्यवस्थाद्वारा दोषी ठहरिनेछन्। (1:20, 2:15 लाई हेर्नुहोस्)
(2:13) तिनीहरू धर्मी ठहरिनेछन् भन्ने कुराले अन्तिम न्यायलाई देखाउँछ। केही मानिसहरूले व्यवस्था आफूसित व्यवस्था भएको कारण धर्मी ठहरिने अपेक्षा गरेका थिए। तर आज्ञापालन बिना व्यवस्थाको ज्ञानले धर्मी ठहराउँदैन।
(2:14) यो सत्यतथ्यको अर्थ यो होइन कि तिनीहरूले स्वभावैले सही काम गर्छन् र तिनीहरू परमेश्वर बिना नै स्वभाविक रूपमा असल छन्। 2:15 ले यो देखाउँछ कि परमेश्वरले तिनीहरूको हृदय र विवेकमा लेखिदिनुभएको व्यवस्थाको कारणले तिनीहरूले सही काम गर्न सक्छन्। “स्वभावैले” को अर्थ हो कि लिखित् पवित्रशास्त्रबिना परमेश्वरद्वारा तिनीहरूको स्वभावमा प्रकट गर्नुभएको कुराद्वारा तिनीहरू यो गर्छन्।
(2:15) लिखित व्यवस्था नभएकाहरूसँग नैतिक स्वभावमा व्यवस्था छ र तिनीहरूले विशिष्ट छनौटहरू गर्नसक्छन्। यसको अर्थ यो होइन कि विवेक पूर्णरूपमा भरपर्दो छ। विवेक वातावरण र शिक्षाबाट प्रभावितभ भएको कारण हरेक विवरणमा सही हुँदैन, तर यो एउटा मार्गदर्शक हो जु सामान्यतया सही हुन्छ। तथापि, सबै मानिसहरू पापी छन्। यहाँसम्म कि यो मापदण्डमुताविक पनि, किनभने तिनीहरूले सधैँ आफूले जानेका असल कामहरू गरेनन्।
2:15, 16 ले देखाउँछ कि न्याय केवल बाह्य कामहरूको लागि मात्र होइन, तर विचारहरूको लागि पनि हुनेछ। (यी पदहरूले हृदय, विचार, विवेक र रहस्यहरूको बारेमा कुरा गर्छन्।)
(2:16) यस खण्डमा छलफल गरिएको धर्मीकरण (2:13 मा उल्लेख गरिएको) विश्वासद्वारा धर्मी ठहरिनुको विकल्प होइन। यो अन्तिम न्यायमा घोषणा गरिएको धर्मिकताचाहिँ पूर्णरुपले धर्मी ठहराइनु हो।
न्यायका यी सिद्धान्तहरू पावलले प्रचार गरेको सुसमाचारको लागि आवश्यक छन्। क्षमा नपाएकाहरूमाथि आउने परमेश्वरको न्यायको समझ बिना क्षमाको सुसमाचार महत्वपूर्ण हुँदैन। परमेश्वरको न्यायको उचित दृष्टिकोणलाई कमजोर पार्ने कुनै पनि भूलले सुसमाचारलाई कमजोर बनाउँछ।
सुसमाचार नपुगेका अन्यजातिहरूको लागि आशा
► सुसमाचार नसुनेका अन्यजातिहरूलाई के हुनेछ? यदि तिनीहरूले सुसमाचार राम्ररी बुझेका छैनन् भने पापको लागि कसरी तिनीहरू दण्डको योग्य हुन्छन्?
रोमी 2:14-16 ले सङ्केत गर्छ कि त्यहाँ कोही छन् जसले सही काम गर्न रोज्छन् र त्यसैले दोषी ठहरिने छैनन्। यद्यपि, हामीलाई थाह छ कि कोही पनि कामद्वारा बचाइनेछैन। सबैले व्यवस्था तोडेका छन् र न्यायको भागीदार छन् (3:9-10; 19-20)। कोही पनि आफ्नो कामको योग्यताद्वारा बचाइनेछैन्। त्यसैकारण, यदि सुसमाचार नसुनेको व्यक्तिले मुक्ति पाउँछ भने, यो प्रायश्चित मार्फत अनुग्रहद्वारा हुनुपर्छ, चाहे उसले सुसमाचार नसुनेको नै किन नहोस्।
यदि कसैले परमेश्वरलाई आदर गर्छ भने, परमेश्वरले उसलाई उहाँसित सम्बन्ध बनाउने मार्ग देखाउनुहुन्छ। भजनसंग्रह 25:14 ले भन्छ, “परमप्रभुको भय मान्नेहरूसँग उहाँको घनिष्टता हुन्छ, र उहाँले तिनीहरूलाई आफ्नो करार बताइदिनुहुन्छ।” परमेश्वरको करारले हामीलाई देखाउँछ कि उहाँसित समबन्धमा आउनको लागि के आवश्यक छ। परमेश्वरसँगको सम्बन्धको लागि अनुग्रह चाहिन्छ, किनकि सबै मानिसले पाप गरेका छन्।
त्यहाँ अय्यूब, बालाम र नोआजस्ता मानिसहरू थिए जसले परमेश्वरलाई चिनेका थिए यद्यपि तिनीहरूसँग कुनै पवित्रशास्त्र थिएन। त्यहाँ मल्किसेदेक थिए, जो परमेश्वरको पुजाहारी थिए, यद्यपि परमेश्वरले इस्राएलमार्फत गर्नुभएको कामसँग उनको कुनै सम्बन्ध थिएन। परमेश्वरले आफूलाई कुनै पनि संस्कृति र समयमा प्रकट गर्नसक्नुहुन्छ। (भजनसंग्रह 19:1-4, रोमी 10:18 पनि हेर्नुहोस्)। रोमी 1 मा मूर्तिपूजकहगरू भ्रष्ट अवस्थामा थिएनन् किनकि तिनीहरूले परमेश्वरको बारेमा कहिल्यै जानेनन्, तर तिनीहरूले जे जान्दथे त्यसलाई अस्वीकार गरेका थिए।
के कुनै पनि मूर्तिपूजक मानिसले सुसमाचार नसुनी उद्धार पाउन सक्छ? यदि कुनै व्यक्तिले आफूसँग भएको सत्यलाई पछ्याउँछ भने, परमेश्वरले उसलाई त्यस्तो बुझाइमा अगुवाइ गर्नुहुनेछ कि उसले क्षमा खोज्न र पाउन सक्छ। त्यो अनुग्रहद्वारा पाउने उद्धार हो, कामद्वारा होइन। यो धेरैजसो धर्महरूले प्रदान गर्ने कर्मद्वारा प्राप्त उद्धार अनि मुक्तिको विपरित हो।
तसर्थ, यदि कुनै व्यक्तिले सुसमाचार नसुनी उद्धार पाउन सक्छ भने, हामीले सुसमाचार फैलाउनु किन जरुरी छ? त्यो प्रश्नको उत्तर पनि दिइनेछ।
खण्ड अध्ययन- रोमी भाग 2 खण्ड 2
हरेक पदहरूको नोटहरू जारी
(2:17-20) यहूदीहरू कपटी थिए किनभने तिनीहरूले व्यवस्था तोड्दै पनि सिकाउथे। तिनीहरू व्यवस्थाको मालिक, सही कुरा छुट्याउन सक्ने र अज्ञानीहरूको शिक्षकको रूपमा आफ्नो भूमिकाको आनन्द उठाउँथे। पावलले तिनीहरूको उच्च दाबीहरू सूचीबद्ध गर्दा यहाँ व्यङ्गको एउटा नोट छ।
बाइबल अझ बढी अधर्मी हुँदै गइरहेको समाजमा सबैभन्दा बढी बिक्री हुने पुस्तक हुनसक्छ। यसले देखाउँछ कि मानिसहरूको निम्ति परमेश्वरको वचन पालन गर्नुभन्दा पनि बाइबल घरमा राख्नु महत्वपूर्ण हुन्छ।
परमेश्वरसँगको सम्बन्धको आत्मिक वास्तविकता गुमाएपछि मानिसहरूले प्राय: पापको आवरणको रूपमा धर्मको एउटा नयाँ रूप कायम राख्छन्।
(2:21-24) यहूदीहरूले व्यवस्थाद्वारा अन्यजातिहरूलाई दोषी ठहराउन रमाइलो मान्थे, तर तिनीहरू आफैले यसलाई पूर्नरूपमा पालन गरेनन्। तिनीहरूले उच्च आत्मिक स्थीति दाबी गर्दै पापमा बाँचेर परमेश्वरको अनादर गरे। त्यसरी नै, ख्रीष्टियान मतको सबैभन्दा सामान्य आपत्ति यो हो कि ख्रीष्टियानहरू तिनीहरूले विश्वास गरेको दाबी गर्छन्, तर त्यसअनुसारको राम्रो उदाहरण बन्दैनन्।
(2:25) तिनीहरूले सम्पूर्ण व्यवस्था पालन नगरेसम्म खतनाको आधारमा परमेश्वरको सामू धर्मी भएको दाबी गर्न सक्दैनथे। यदि तिनीहरूले व्यवस्था तोडिरहेका थिए भने, तिनीहरू खतना नगरिएका जस्तै थिए।
खतना
► खतनाको अर्थ के थियो?
यहूदीहरूले संसारमा दुई वर्गका मानिसहरू देखे: परमेश्वरसँगको करारमा रहन योग्न मानिसहरू र योग्य नभएका मानिसहरू। खतना इस्राएल र परमेश्वर बिचको करारको चिन्हको रूपमा दिइएको थियो, तर अन्तत: करारको लागि आवश्यकताहरूको सम्पूर्ण समूहको प्रतिनिधित्व गर्न लाग्यो। त्यसैकारण, यहूदीहरू संसारका दुई वर्गका मानिसहरूलाई खतना गरिएका र खतना नगरिएकाहरू भने। पावलको शब्दमा खतना हुनु भनेको सामान्यतया करारमा रहनको निम्ति यहूदी धर्मको सम्पूर्ण प्रणालीलाई अनुसरण गर्नु हो। (शब्दको यस प्रयोगको उदाहरणको लागि गलाती 5:2-3 लाई हेर्नुहोस्।) त्यस अर्थमा खतना हुनु भनेको अनुग्रहद्वारा नभई कामहरूद्वारा बचाउने प्रयास थियो।
खण्ड अध्ययन- रोमी भाग 2, खण्ड 2
हरेक पदहरूको नोटहरू जारी
(2:26) यदि खतना नगरिएको व्यक्तिले व्यवस्थाको वास्तविक अभिप्रायलाई पूरा गर्छ भने, परमेश्वरले उसलाई खतना नगरेको कारणले दोषी ठहराउनुहुनेछैन।
(2:27) धर्मी अन्यजाति र पापी यहूदीबीचको भिन्नताले यो देखाउँछ कि यहूदी नै दोषी हो, यद्यपि ऊसित यहूदी धर्मका रुपहरू छन्। त्यसै अर्थमा, नोआले आफ्नो धार्मिकताद्वारा संसारलाई दोषी ठहर गरे किनभने तिनले वास्तविक आज्ञापालन के हो सो देखाए (हिब्रू 11:7)।
(2:28-29) खतना यहूदीहरूको लागि पहिचानको चिन्ह थियो, जसले उ परमेश्वरका जनहरूमध्ये एक हो भन्ने प्रमाण दिन्छ। व्यवस्था 30:6 र नयाँ करारका धेरै ठाउँहरूमा खतनाले पवित्र आत्माको कामलाई देखाउने गर्दछ जब उहाँले पापीको हृदयलाई परमेश्वरलाई प्रेम गर्न र आज्ञापालन गर्न सक्षम बनाउन परिवर्तन गर्नुहुन्छ।[1] यो ख्रीष्टियानहरूको लागि खतनाको विशेषता हो।
► विद्यार्थीले समूहको लागि व्यवस्था 30:6 पढ्नुपर्छ।
परमेश्वरले प्राचीन इस्राएलीहरूलाई प्रतिज्ञा गर्नुभयो कि उहाँले तिनीहरूको हृदयमा अनुग्रहको कार्य गर्नुहुनेछ। यो केवल तिनीहरूका सन्तानहरूको लागि मात्र थिएन, तर त्यस समयमा सन्देश सुन्ने मानिसहरूको लागि पनि थियो।
यस अध्यायमा वर्णन गरिएको व्यक्ति त्यो हो जसले पवित्रशास्त्र नजानीकन धार्मिक कार्यहरू गर्छ अनि आफूसँग भएको सत्यलाई स्वीकार गरेर विश्वासद्वारा अनुग्रह प्राप्त गरेको छ।
परमेश्वरले सधैँ औपचारिकता र विधीवादको सट्टा हृदयबाटको आज्ञाकारिता चाहनुहुन्थ्यो, र हरेक जातिका मानिसहरूलाई अनुग्रह प्रदान गर्नुभयो। यशैया 56:6-7 का यी पदहरूलाई ध्यान दिनुहोस्:
परमप्रभुको सेवा गर्न, परमप्रभुको नाउँलाई प्रेम गर्न र उहाँको आराधना गर्न, शबाथ-दिन बिटुलो नपारी मान्न र मेरो करार पालन गर्न परमप्रभुमा बाँधिएका सबै विदेशीहरूलाई म मेरो पवित्र पर्वतमा ल्याएर मेरो प्रार्थनाको घरमा आनन्दित तुल्याउनेछु। तिनीहरूका होमबलि र बलिदानहरू मेरो वेदीमा ग्रहणयोग्य हुनेछन्, किनकि मेरो भवन सबै जातिहरूका निम्ति प्रार्थनाको घर भनिनेछ ।
पाठ 3 का समीक्षा प्रश्नहरू
(1) भविष्यसूचक शास्त्रले के वर्णन गर्छ?
(2) यहूदीहरूले किन परमेश्वरद्वारा कृपा पाउने आशा गरेका थिए?
(3) एउटा व्यक्ति कसरी धर्मी ठहरिन्छ?
(4) कुनै व्यक्तिले ऊसँग बचाउने विश्वास छ भनी कसरी देखाउँछ?
(5) यहूदीको लागि खतनाले केलाई जनाउँछ र ख्रीष्टियनको लागि यसले केलाई जनाउँछ?
पाठ 3 को कार्य
परमेश्वरले तिनीहरूलाई स्वीकार गर्नैपर्छ भन्ने यहूदीहरूको गलत सोचाईको भूल बुझाइलाई वर्णन गर्दै एक पृष्ठ लेख्नुहोस। आज यस्तै भूल बुझाइ भएका मानिसहरूको वर्णन गर्नुहोस्।
SGC exists to equip rising Christian leaders around the world by providing free, high-quality theological resources. We gladly grant permission for you to print and distribute our courses under these simple guidelines:
No Changes – Course content must not be altered in any way.
No Profit Sales – Printed copies may not be sold for profit.
Free Use for Ministry – Churches, schools, and other training ministries may freely print and distribute copies—even if they charge tuition.
No Unauthorized Translations – Please contact us before translating any course into another language.
All materials remain the copyrighted property of Shepherds Global Classroom. We simply ask that you honor the integrity of the content and mission.