रोमी 6 पापको शक्तिबाट छुटकाराको बारेमा हो। पश्चात्ताप र विजय बुझ्नलाई, हामीले पाप के हो भनी बुझ्नुपर्छ।
► पाप के हो?
बाइबलले सामान्यतया पापपूर्ण कार्यहरूलाई जानीजानी गर्ने कार्यको रुपमा बताउँछ (1 यूहन्ना 3:4-9, याकूब 4:17)। जब कुनै व्यक्तिले जानीजानी परमेश्वरको आज्ञा भङ्ग गर्ने छनौट गर्छ, त्यो इच्छापूर्वक गरिएको पाप हो।
परमेश्वरको अपरिवर्तनीय व्यवस्थाको अनजान वा आकस्मिक उलङ्घन हुन्छ भने जानीजानी गरेको पापले झैं परमेश्वरसँगको हाम्रो सम्बन्धमा असर गर्दैन। हामी ज्योतिमा हिँड्छौं भने (हामीलाई थाह भएको सत्यअनुसार रहँदा), हामी सबै पापबाट शुद्ध हुन्छौं (1 यूहन्ना 1:7) र हामी डराउनु पर्दैन कि अनजानमा गरिएको आज्ञा भङ्गले हामीलाई परमेश्वरबाट टाडा बनाउँछ।
यो खण्डले मुख्य रुपमा जानीजानी गरिएको पापको बारेमा बताइरहेको छ, जसले विश्वासलाई नष्ट गर्छ र परमेश्वरसँगको सम्बन्धमा हानि पुर्याउँछ।
रोमी को भाग 4 (रोमी 6-8) धर्मी ठहराइएकाहरूको पवित्रीकरणको बारेमा हो।
यहाँसम्म, पावलले प्रतिबन्धित धार्मिकताको बारेमा कुरा गर्दै आएका छन्। यो धार्मिकता त्यो हो जुन विश्वासीलाई उसको विगतका पापहरूको सट्टा दिइएको छ। अब उसले प्रदान गरिएको धार्मिकताको वर्णन गर्न थाल्छ। प्रदान गरिएको धार्मिकता पनि धर्मी ठहराइँदा अनुग्रहद्वारा दिइन्छ र यसको अर्थ हुन्छ कि विश्वासी पापको शक्तिबाट मुक्त भएर र पवित्र आत्मा पवित्र जीवन बिताउन सहयोग गरेर वास्तवमा धर्मी बन्छ। त्यसैकारण, विश्वासीलाई पवित्र मात्र मानिएको छैन, तर उसलाई पवित्र बनाइएको छ; यसलाई पवित्रीकरण भनिन्छ।
यस पाठमा हामी रोमी 6 अध्याय अध्ययन गर्नेछौं, जुन पापमाथि विजयको बारेमा हो।
अध्याय 6 को मुख्य बुँदा
विश्वासी पापको बन्धनबाट मुक्त छ र उसले पापमाथि विजयी भएर परमेश्वरको आज्ञाकारितामा जिउन रोज्नुपर्छ, नत्रता ऊ फेरि पापको नियन्त्रणमा आउनेछ।
अध्याय 6 को सारांश
रोमी 6 मा पावलले धेरै मानिसहरूको गलत विचारलाई उत्तर दिएका छन्: गलत विचार यो हो कि अनुग्रहको कारणले गर्दा, विश्वासीहरूले परमेश्वरको व्यवस्थाअनुसार जिउनु आवश्यक छैन। यो त्रुटि अनुग्रहको गलत बुझाइमा आधारित छ। पावलले दुई काल्पनिक प्रश्नहरू सोधेर र उत्तर दिएर यस त्रुटिको जवाफ दिन्छन् (6:1, 15)।
जब केही मानिसहरूले 5:20 लाई पढ्छन्, तिनीहरूले तर्क गर्छन् कि हामी पापमा लागिरहनुपर्छ, ताकि हामी अझ धेरै अनुग्रह पाउन सकौं (6:1)। तिनीहरू सोच्छन् कि हाम्रो पापको अभिलेखलाई प्रतिबन्धित धार्मिकताले प्रतिस्थापन गरेको हुनाले, हामीले पाप गरिरहँदा पनि कुनै फरक पर्दैन।
केही मानिसहरूले विश्वासीहरूलाई परमेश्वरको व्यवस्थाको पालन गरिरहनु आवश्यक छैन भन्ने सोच्नुको अर्को कारण पनि छ। हामी हाम्रा कार्यहरूद्वारा होइन, अनुग्रहद्वारा स्वीकार गरिन्छौं। यही कारणले गर्दा तिनीहरूको गलत सोचाइ छ कि हामी जे गर्छौं त्यसले केही फरक पार्दैन (6:15)।
पावलले दुवै काल्पनिक प्रश्नहरूको तर्कलाई कडासित अस्वीकार गरे। उनले पापमाथि विजय किन यति महत्वपूर्ण छ भनी व्याख्या गर्दै उत्तर दिए।
► विद्यार्थीले समूहको लागि रोमी 6 पढ्नुपर्छ।
हरेक पदहरूको नोटहरू
(6:1) यहाँ प्रेरितले एउटा प्रश्न सोधे जुन कसैले सुनेपछि सोध्नसक्छ कि अनुग्रह पापभन्दा प्रशस्त छ। कसैलाई लाग्नसक्छ कि पाप वास्तवमा यसको परिणाममा राम्रो छ किनभने यसले प्रशस्त अनुग्रहको लागि बाटो बनाउँछ। यस्तो विचारले यस्तो देखाउँछ कि हामी पापमा लापरवाह भएर बाँच्न स्वतन्त्र छौं।
(6:2) पावल प्रेरितले यस प्रश्नको उत्तर अपमानजनक रूपमा दिए। त्यसपछि उनले व्याख्या गरे कि हामी पापमा बाँचिरहन सम्भव छैन, किनकि हामी पापको लेखि मरेका छौं।
(6:3-5) हामी पापमा रहिरहँदैनौं किनकि हामी ख्रीष्टको मृत्यु र पुनरुत्थानमा एकताबद्ध छौं। रोमी 5:15-19 ले व्याख्या गरेझैं, येशूले हामी सबैको लागि उद्धारको काम पूरा गर्नुभयो। विश्वासद्वारा हामी उहाँसँग जोडिन्छौं, ताकि ख्रीष्टलाई जस्तै परमेश्वरको निगाह हामीमा विस्तारित होस्।
येशू एकपल्ट पापको लागि मर्नुभयो, र त्यसपछि परमेश्वरको लागि जीवित हुनुभयो। येशूको मृत्यु हाम्रो पापको लागि थियो, आफ्नै लागि होइन, तर मुख्य कुरा यो हो कि पापको मुद्दा समाप्त भयो। विश्वासद्वारा हामी मरेका छौं र उहाँसँगै बौरी उठेका छौं, ताकि हामी पनि पापबाट समाप्त भएका छौं।
बप्तिस्मा भनेको येशूको मृत्यु र पुनरूत्थानमा हाम्रो सहभागिताको प्रतिक हो।
(6:6) पुरानो मनुष्यत्वले परिवर्तन हुनुभन्दा अघिको पापमय जीवनलाई प्रतिनिधित्व गर्दछ। (यस पाठको पछिबाट आउने खण्डले पुरानो मनुष्यत्वको अवधारणालाई व्याख्या गर्दछ)। पापको जीवन पूर्णरूपमा समाप्त हुन्छ, त्यसैले हामी अब पापको दास रहँदैनौं।
यो खण्डमा पापलाई के भएको छ भन्ने बारेमा प्रयोग गरिएको शब्दलाई ध्यान दिनुहोस्: यो मरेको छ, क्रूसमा टाँगिएको छ र नष्ट गरिएको छ। यी शब्दहरूले पापमाथि पूर्ण विजयको संकेत गर्दछ।
(6:7-11) यी पदहरूको जोड यो हो कि विश्वासीको लागि पापको नियन्त्रण समाप्त हुन्छ। मृत्यु यसको दृष्टान्त हो। एउटा व्यक्ति जोचाहिँ मरेको छ ऊ पापबाट स्वतन्त्र भएको छ, र हामीले आत्मिक अनुभव पाउनुपर्छ जोचाहिँ मृत्युजस्तै छ।
पुनरुत्थानपछि, येशू फेरि मर्नुभएन र मरिरहनुभएको छैन। उहाँले मृत्युसँगै समाप्त गर्नुभयो। हामी पापको लागि पूर्णरुपमा मर्नुपर्छ र यससँग समाप्त हुनुपर्छ र यसबाट स्वतन्त्र हुनुपर्छ। पापको लागि मृत्युको अर्थ हो समाप्त हुनु, त्यसपछि हामी परमेश्वरको लागि जिउनुपर्छ।
पावलले रोमी रोमी 6:1-23 मा वर्णन गरेको पापको लागि ख्रीष्टको मृत्यु, उहाँको दफन, र त्यसपछिको पुनरुत्थानसँग ख्रीष्टियानको मिलनले तिनीहरूलाई पापको शक्ति र दासत्वबाट मुक्त गर्छ। त्यस व्यक्तिलाई पापको लेखि मरेको (रोमी 6:2) र पापबाट मुक्त भएको (रोमी 6:7) भनी घोषणा गरिएको छ। पापको लागि मर्नु भनेको अब त्यसको शक्ति र नियन्त्रणमा नहुनु हो। एउटा विश्वासीले विश्वासद्वारा आफूलाई पापको लेखि मरेको, तर येशू ख्रीष्टमा परमेश्वरको लागि जीवित भएको ठान्नुपर्छ (रोमी 6:11)। यसको अर्थ ख्रीष्टियानले आफ्नो बारेमा परमेश्वरले घोषणा गर्नुभएको कुरालाई व्यक्तिगतरुपमा अनुभव गरेको हुनुपर्छ। उसले अब आफ्नो शरीरमा पापलाई राज्य गर्न दिनुहुँदैन (रोमी 6:12), न त उसले आफ्नो शरीरका अङ्गहरूलाई दुष्टताको साधनको रूपमा प्रयोग गर्नुपर्छ (रोमी 6:13क)। बरु, उसले आफूलाई परमेश्वरमा स्वीकार्य हुने जिउँदो बलिदानको रूपमा प्रस्तुत गर्नुपर्छ (रोमी 12:1), र आफ्नो शरीरका अङ्गहरूलाई धार्मिकताको साधनको रूपमा समर्पण गर्नुपर्छ (रोमी 6:13, 19)।[1]
रोमी 6:11मा, ठान्नु भनेको लेखा लिनु हो। यो यसको अर्थ जे सत्य छ त्यसको पुष्टि गर्नु हो। यो देखावटी होइन। पावल प्रेरितले विश्वासीहरूलाई यस्तो कुनै कुरा भन्न लगाइरहेका छैनन् जो सत्य छैन। एउटा विश्वासीले महसुस गर्नुपर्छ कि ऊ पापबाट पूर्णरुपमा मुक्त भएको छ, मानौं ऊ मरिसकेको छ, र उसले पापको शक्तिबाट स्वतन्त्र भएर जिउने छनौट गर्नुपर्छ।
► आफूलाई पापको लेखि मरेको ठान्नु भनेको के हो?
यस अध्यायको बाँकी भागले पापमाथि विजय महत्वपूर्ण हुनुको अर्को कारण बताउँछ। हामी पापको दास होइनौं, तर परमेश्वरको दास हौं। तपाईं दुवैको सेवा गर्नसक्नुहुन्न। जब तपाईं पापको दास हुनुहुन्थ्यो, तपाईंले कुनै धार्मिकता गर्नुभएन (6:20)। अब तपाईं पापबाट मुक्त हुनुहुन्छ र परमेश्वरको दास हुनुहुन्छ; त्यसैले तपाईं पवित्रतामा जिउनुहुन्छ (6:22)।
(6:12-13) यहाँ हामी एउटा भिन्नता देख्छौं। यदि हामीले पापमाथि विजय हासिल गरेनौं भने, पापले हामीमाथि राज्य गर्नेछ। विश्वासीहरू पापी इच्छाद्वारा नियन्त्रित हुँदैनन्। गलत कार्यहरूको लागि आफ्नो शरीर प्रयोग गर्नु भनेको यसलाई पापको अधिकारमा सुम्पनु हो। बरु, तपाईंको शरीर परमेश्वरको हो र उहाँको लागि प्रयोग गरिनुपर्छ।
(6:14) व्यवस्थाको अधीनमा हुनु भनेको परमेश्वरको स्वीकृतिको लागि व्यवस्थाको पालनमा निर्भर हुनु हो। त्यो व्यक्ति बचाउने अनुग्रह बिना हुन्छ, त्यसैले कामहरूको आधारमा उसको न्याय गरिन्छ। किनकि अनुग्रह बिना कोही पनि पापमाथि विजय हुनसक्दैन, व्यवस्थाको अधीनमा हुनु भनेको दोषी ठहरिनु र पापको शक्तिको अधीनमा हुनु हो। अनुग्रहको अधीनमा हुनु भनेको परमेश्वरको स्वीकृतिको लागि अनुग्रहमा निर्भर हुनु हो। अनुग्रहको अधीनमा भएको व्यक्ति पापको अधीनमा छैन। व्यवस्थाको अधीनमा हुनु वा अनुग्रहको अधीनमा हुनु भनेको पुरानो करार वा नयाँ करारको अधीनमा हुनु होइन।
► विद्यार्थीहरूलाई व्यवस्थाको अधीनमा हुनु भनेको के हो भनी आफ्नै शब्द, फेरि व्याख्या गर्न लगाउनुहोस्।
(6:15) यहाँ पावल प्रेरितले एउटा प्रश्न सोधे जुन कसैले पनि व्यवस्थाको अधीनमा छैनौं भनेर सुनेपछि सोध्न सक्छ: “के हामी पाप गर्न सक्छौं, किनकि हामी व्यवस्थाको अधीनमा छैनौं?” त्यो व्यक्ति सोचिरहेको छ कि यदि परमेश्वरसामु हाम्रो स्वीकृति हाम्रो आज्ञाकारिता आवश्यक छैन। पावलले प्रश्नको कडा प्रतिक्रिया दिन्छन्।
पावलले किन अनुग्रहले निरन्तर पापलाई स्वत: ढाक्दैन भनेर प्रत्यक्षरूपमा व्याख्या गरेनन्। बरु, उनले व्याख्या गरे कि यदि कुनै व्यक्ति पापको शक्तिको अधीनमा छ भने ऊ परमेश्वरको सेवक हुन सक्दैन।
(6:16) परमेश्वर र पाप दुवैको सेवा गर्नु असम्भव छ किनकि तपाईं जसको आज्ञा पालन गर्नुहुन्छ त्यसको दास हुनुहुन्छ। यदि तपाईंले पापको आज्ञा पालन गर्नुहुन्छ भने, पाप तपाईंको मालिक हो, जसको अर्थ परमेश्वर तपाईंको मालिक हुनुहुन्न। प्रेरित पत्रुसले भनेझैं जुनसुकै कुराले व्यक्तिलाई जित्छ त्यसले उसलाई दासत्वमा ल्याउँछ (2 पत्रुस 2:19)। पापको दास नबनी तपाईं पापको अधीनमा रहन सक्नुहुन्न।
(6:17-18) विश्वासीहरूले पापको शक्तिबाट छुटकारा दिइएको छ र अब तिनीहरूले धार्मिकताको सेवा गर्छन्। तिनीहरूले सुसमाचार पालन गरेर यो छुटकारा अनुभव गरे। फेरि, यो भनिएको छ कि धार्मिकताको सेवा गर्न तिनीहरूलाई पापबाट छुटकारा पाउनु आवश्यक थियो।
सम्पूर्ण अध्यायले पापद्वारा बाँधिएको हुनु र विजयी जीवन जिउनुको बीचको भिन्नतालाई प्रस्तुत गर्दछ। एउटा विश्वासी पापको शक्तिमा रहनु वा पापीले पाप गरिरहने क्रममा धर्मी हुनु सम्भव छ भन्ने कुरा कहिल्यै हुन सक्दैन। पावलले यसलाई अझ स्पष्टरूपमा भन्न सक्ने तरिका फेला पार्न गाह्रो हुनेछ।
(6:19) उनले भने कि उनले यसलाई मानव शब्दमा व्याख्या गर्दैछन् ताकि तिनीहरूले यसलाई बुझ्न सकून्। तिनीहरू अघि पापमा समर्पित थिए, जसले तिनीहरूलाई अझ पापमा डुबायो। अब, तिनीहरू आफ्नो कार्यमा धर्मी हुनुपर्छ, जुन पवित्रताको लागि आवश्यक छ। एउटा व्यक्ति सही काम गरेर पवित्र हुँदैन, तर यदि उसले सही काम गरिरहेको छैन भने उ पवित्र छैन।
► परमेश्वरको सेवा गर्नु र पापमा रहनु एउटै समयमा असम्भव छ भनी तपाईं कसरी व्याख्या गर्नुहुन्छ?
(6:21-23) पापले कुनै असल कुरा उत्पादन गर्दैन तर स्वभाविक रुपले मृत्यु ल्याउँछ। पापीले मृत्यु कमाउँछ; पापको ज्याला मृत्यु हो। विश्वासीले अनन्त जीवनको कमाइ गर्दैन, किनकि उसले यसलाई कमाउन सक्दैन, यसलाई उसले अनुग्रहको उपहार स्वरूप प्राप्त गर्छ।
कसैले सोच्छन् कि एक पटक कसैले ख्रीष्टलाई स्वीकार गरिसकेपछि उसको जस्तोसुकै जीवनशैलीमा रहँदा पनि उसको उद्धार सुरक्षित हुन्छ।[1] उद्धारको दाबी जीवन परिवर्तनमा परिणत नभए पनि, पश्चात्ताप र रुपान्तरणको कुनै फल देख्न नसकेता पनि, अनि एउटा व्यक्तिले येशूको साँचो चेला हुन बहिस्कार गरेता पनि, उसले झुटो तरिकाले उद्धारको दाबी गर्नसक्छ। यो एउटा घातक छल हो र धेरै पवित्रशास्त्रहरूद्वारा यसको बारेमा खण्डन गरिएको छ।
हाम्रा हृदय खराब विवेकबाट छर्कोद्वारा चोख्याइएर र शुद्ध पानीले हाम्रो शरीरलाई धोएर साँचो हृदयले विश्वासको सम्पूर्ण भरोसामा हामी परमेश्वरको समीप जाऔं (हिब्रू 10:22)।
आखिर समयमा प्रकट हुन आँटेका मुक्तिको निम्ति तिमीहरू विश्वासद्वारा परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौ (1 पत्रुस 1:5)।
यी खण्डहरूबाट हामी सिक्छौं कि उद्धारको बाइबलीय आश्वासन विश्वासमा निर्भर छ:
उद्धारको आश्वासन विश्वासमा निर्भर छ जसले बुझाउँछ- “सम्पूर्ण भरोसामा”। आश्वासन सुसमाचारको स्पष्ट समझबाट सुरु हुन्छ (1 कोरिन्थी 15:3-4)। यो “समझका परिपूर्णता” हो जसको बारेमा कलस्सी 2:2 मा पनि भनिएको छ। उद्धार केवल अनुग्रहबाट मात्र छ, ख्रीष्टको प्रतिस्थापन मृत्युमा भएको हाम्रो विश्वासद्वारा (एफिसी 2:8-9)। उद्धार-मुक्तिको आवश्यक्ता पापरहित पूर्णता (कोही पनि योग्य हुनेछैन) वा सधैँ बचाइएको अनुभव गरिरहनु होइन, बरु हामी असफल हुँदा पनि ख्रीष्टको योग्यता र उद्धारको पूरा काममा निरन्तर विश्वास गर्नु हो। विश्वासयोग्यताको लागि जोशले साँचो बचाउने विश्वासलाई पछ्याउनेछ।
उद्धार-मुक्तिको आश्वासन साँचो विश्वासमा निर्भर हुन्छ- “साँचो हृदयले।” साँचो परिवर्तन भएको व्यक्ति त्यो हो जसको हृदय “खराब विवेकबाट छर्कोद्वारा चोख्याइएको” हुन्छ (हिब्रू 10:22)। दोष र लाजलाई हटाइएको छ र शान्ति र प्रेमले भरिएको छ। एउटा साँचो परिवर्तित व्यक्ति त्यो पनि हो जसको शरीर “शुद्ध...पानीले धोएर” शुद्ध पारिएको छ, किनकि पुराना कुराहरू बितिसकेका छन् र ती सबै नयाँ भइसकेका छन् (2 कोरिन्थी 5:17)। एउटा साँचो परिवर्तित व्यक्ति त्यो पनि हो जसले आफ्ना गल्तीहरू र पापहरू मानिलिन्छ र त्यसबाट क्षमा पाउन र छुटकारा पाउनका लागि पश्चात्ताप गर्छ। (मत्ती 6:12, याकूब 5:16)।
आश्वासन जीवित विश्वासमा आधारित छ – “विश्वासद्वारा परमेश्वरको शक्तिबाट सुरक्षित राखिएका छौं।” यो विचार महल वा किल्लाको रक्षा गरेजस्तै हो। परमेश्वरको दिव्य शक्तिले हामीलाई बचाउँछ, संरक्षण गर्छ र अन्तत: विजयतर्फ डोर्याउनेछ। यो ख्रीष्टको शुद्ध रगतको शक्ति र उहाँको पुनर्स्थापनको शक्ति हो जुन हामी विश्वासद्वारा उपयुक्त बनाउँछौं जसले हाम्रो आत्मालाई अनन्त जीवनको लागि सुरक्षित राख्छ। एक मात्र वास्तविक उद्धार गर्ने विश्वास भनेको दृढ विश्वास हो; विश्वास जुन निरन्तर ख्रीष्टमा र क्रूसमा उहाँले समापन गर्नुभएको काममा भरोसा राख्छ। विश्वास काम होइन, तर यो मुक्तिको लागि एक अवस्था हो। हिब्रू लेखकले यसलाई यसरी राखे: “विश्वासबिना परमेश्वरलाई प्रसन्न पार्नु असम्भव छ” (हिब्रू 11:6)।
धेरै मानिसहरू विश्वास गर्छन् कि उद्धारमा कुनै पनि आवश्यकताहरू जोड्नु भनेको विधीवाद हो, तर येशू र प्रत्येक नयाँ करारका लेखकले निरन्तर विश्वासको आवश्यकतालाई स्पष्ट रूपमा सिकाउनुभयो।
तिमीहरू मेरो वचनमा रह्यौ भने तिमीहरू साँच्चै मेरा चेला हौ (यूहन्ना 8:31)।
यदि तिमीहरू आफ्ना विश्वासमा अचल र स्थिर भइरह्यौ र तिमीहरूले सुनेका सुसमाचारको आशाबाट हटेनौ भने (कलस्सी 1:23)।
तर मेरो धार्मिक जनचाहिँ विश्वासद्वारा बाँच्नेछ,र यदि ऊ पछि हट्छ भनेता म उसँग खुशी हुनेछैनँ (हिब्रू 10:38)।
विश्वास र स्वच्छ विवेक कायम राख। कुनै-कुनै मानिसले विवेकलाई इन्कार गरेर आफ्नो विश्वासको जहाज डुबाएका छन् (1 तिमोथी 1:19)।
उद्धारको निश्चयताको वर्णन गर्दै, जोन वेस्लीले भने,
मेरो सान्त्वना कुनै पनि विचारमा होइन, विश्वासीले पतन हुनसक्छ वा सक्दैन भन्ने कुरामा होइन, हिज ममा भएको कुनै पनि कुराको सम्झनामा होइन; तर आज जे छ, ख्रीष्टमा परमेश्वरको बारेमा मेरो वर्तमान ज्ञानमा, मलाई आफूसँग मिलापमा; येशू ख्रीष्टको सामुन्ने परमेश्वरको महिमाको प्रकाश अहिले देख्नु; ज्योतिमा हिँड्नु जसरी उहाँ ज्योतिमा हुनुहुन्छ र पिता र पुत्रसँग संगति गर्नु। मेरो शान्त्वना यो हो कि अनुग्रहद्वारा म प्रभु येशू ख्रीष्टमा विश्वास गर्नसक्छु, र आत्माले मेरो आत्मासँग गवाही दिन्छ कि म परमेश्वरको सन्तान हुँ।[2]
► अघिल्लो खण्डमा उल्लेख गरिएका अवधारणाहरूबाट, एउटा ख्रीष्टियानले जीवित विश्वासको आधारमा उद्धारको निश्चयता पाउन सक्छ भनेर तपाईं कसरी व्याख्या गर्नुहुन्छ?
[2]John Wesley, “Serious Thoughts Upon the Perseverance of the Saints”, in The Works of John Wesley: Letters, Essays, Dialogs and Addresses Vol. X, (Grand Rapids, MI: Zondervan) 295. अनलाइन पनि उपलब्ध छ: https://archive.org/details/worksofjohnwesle0010wesl/
पुरानो स्वभाव
पुरानो स्वभाव शब्द पत्रहरूमा तीन पटक प्रयोग गरिएको छ। पावलले तीनै पटक यो शब्द प्रयोग गरेका थिए। यी तीनै घटनाहरूलाई तिनीहरूको सन्दर्भना तुलना गरेर हामी यो शब्दको अर्थ के हो भनी बुझ्न सक्छौं।
कलस्सी 3:9-10
ले भन्छ, “एउटाले अर्कालाई नढाँट, किनकि पुरानो स्वभाव त्यसका चलनसमेत तिमीहरूले त्यागेका छौ, र नयाँ स्वभाव धारण गरेका छौ।” पावलले भने कि यी विश्वासीहरूले पुरानो स्वभावलाई पहिले नै त्यागिसकेका थिए। उनको कथनको अर्थ यो होइन कि तिनीहरू अघिबाट नै पूर्ण रूपमा पवित्र थिए, किनकि कलस्सी 3 को अधिकांश भागले तिनीहरूलाई पवित्रतामा बोलाइरहेको छ।
पहिला उनले कलस्सीको विश्वासीहरूलाई भने, “माथिका कुराहरूको खोजी...माथिका कुरामा मन लगाओ...किनभने तिमीहरू मरेका छौं, र तिमीहरूको जीवन परमेश्वरमा ख्रीष्टसँग लुकाइएको छ” (कलस्सी 3:1-3)। त्यसपछि उनले भने, “यसकारण तिमीहरूमा जो संसारिक स्वभावका कुराहरू छन् तिनलाई मार: व्यभिचार, अशुद्धता, कामुकता...” (3:5) । 3:6 ले भन्छ कि यस्ता पापहरूले परमेश्वरको क्रोध ल्याउँदछ, र 3:7 ले भन्छ कि यी विश्वासीहरू अघि यी कुराहरूमा रहेका थिए। पावलले तिनीहरूलाई आफ्नो जीवनमा यस्ता कुराहरू नसहने आग्रह गरे। यो कुरा यो कुरा तिनीहरूले यस्ता सबै कुराहरू मार्नुपर्छ भन्ने कथनमा निहित छ।
त्यसपछि उनले तिनीहरूलाई केही कुराहरू त्याग्न आह्वान गरे: रीस, डाह, फोहोर बोली र अन्य (3:8)। यो ख्रीष्टमा भएको जीवनसित दाज्न नसकिनेछ।
त्यसपछि हामी यो कथनमा आउँछौं कि तिनीहरूले यो सबै गर्नुपर्छ किनभने तिनीहरूले अघि नै आफ्ना पुराना स्वभावलाई त्यसका कामहरूसहित त्यागेका छन्।
उहाँले तिनीहरूलाई पवित्र गुणहरू वर्णन गरेर (3:12), त्यसपछि सम्बन्धहरूमा ख्रीष्टको समानतालाई आग्रह गरेर (3:13), त्यसपछि तिनीहरूलाई प्रेम धारण गर भन्दै (3:14) आफ्नो ख्रीष्टियान विश्वासमा अगाडि बढ्न आह्वान गर्नुभयो, जसले सबै कुरालाई पूर्ण सद्भावमा एकसाथ बाँध्छ।
यो स्पष्ट देखिन्छ कि यस सन्दर्भमा पुरानो व्यक्तित्व भनेको परिवर्तनको समयमा स्थगित गरिएको पुरानो जीवन थियो। किनभने तिनीहरूले त्यसो गरेका थिए, पावलले विश्वास गरे कि तिनीहरू पूर्ण पवित्रतामा अगाडि बढ्न सक्छन्।
एफिसी 4:22
यो पद कलस्सीको खण्डसँग समानान्तर छ। 4:17-19 मा, उनले अन्यजातिहरूको जीवनशैली वर्णन गरे; त्यसपछि 4:20 मा उनले यसलाई विश्वासीको जीवनसँग तुलना गरे। 4:21-24 ले ख्रीष्टलाई...जानेका” (4:20) हुनु र उहाँको विषयमा सुनेका र सिकाइएका हुनुको अर्थ के हो भनी वर्णन गर्दछ (4:21)। यी कुराहरूमा पुरानो स्वभाव त्याग्नु र नयाँ आत्मा धारण गर्नु समावेश छ। यो तिनीहरू परिवर्तन हुँदा भएको घटनाको एउटा भाग थियो।
एफिसीको यो खण्डले कलस्सी 3 सँग मिल्दोजुल्दो ढाँचालाई पछ्याउँछ। यो कथनपश्चात कि पुरानो स्वभावलाई त्याग्नु सुसमाचारको भाग हो जुन तिनीहरूले पहिले नै सिकेका थिए, पावलको पहिलो आज्ञा झुट त्याग्नु हो। उनले क्रोध, कुवाक्य र द्वेषको उल्लेख गरे। उनले तिनीहरूलाई दयालु र क्षमाशील हुन बताए। पुरानो स्वभाव पहिले नै त्याग गरिएको भनाइपछि कलस्सीमा यी सबै कुराहरू पनि उल्लेख गरिएको थियो।
पुरानो स्वभाव यस्तो कुरा होइन कि जसबाट विश्वासीले अझ पनि छुटकारा पाउन आवश्यक छ, तर त्यस्तो कुरा हो जुन परिवर्तन हुँदा त्यागिएको थियो। तिनीहरू अझ पूर्णरुपमा पवित्र थिएनन्, र पावलले तिनीहरूलाई आफ्नो जीवनमा पूर्ण पवित्रताको आह्वान गरे जुन तिनीहरूले पुरानो स्वभावबाट छुटकारा पाउँदा गरेको सुरुवातसँग मेल खान्छ।
रोमी 6:6
यस खण्डमा पावलले अविश्वासी र विश्वासी बीचमा ठूलो भिन्नता चित्रण गरे। अध्यायको मुख्य बुँदा येशूका अनुयायीहरूले पापमाथि विजय पाएका छन् भनी आश्वस्त पार्नु हो। विश्वासीले पापमाथि विजयी भएर जिउन सक्छ भनी प्रमाणित गर्न उनले दिएको एउटा कारण हो कि पुरानो स्वभावलाई क्रूसमा टागिएको छ। “हामी जान्दछौं कि हाम्रो पुरानो मनुष्यत्व उहाँसँग क्रूसमा टाँगियो, ताकि हाम्रो पापमय शरीर नाश होस्, र अब उसो हामी पापका कमारा नहोऔं ।” उनले स्पष्टरूपमा भनेका छन् कि विश्वासी पापबाट मुक्त हुनसक्छ किनभने परिवर्तनमा पहिले नै भइसकेको छ।
निष्कर्ष
त्यसो भए पुरानो स्वभाव शब्दको अर्थ के हो? पुरानो स्वभाव भनेको पापको स्व-केन्द्रित जीवन हो जुन स्वभावलाई एउटा व्यक्ति परिवर्तन हुँदा परित्याग गर्छ।
नयाँ परिवर्तन भएको व्यक्तिमा अझै पनि त्यस्ता व्यवहार र मनोवृत्तिहरू हुन्छन् जुन नयाँ स्वभावसँग भन्दा पुरानो स्वभावसँग बढी मिल्दोजुल्दो हुन्छन्। त्यसैले पावलले विश्वासीहरूलाई आफ्नो जीवनमा थप सुधार गर्न भने जुन पुरानो स्वभावको बहिस्कारसँग मिल्दोजुल्दो हुनेछ। उनले भनिरहेका थिए, “किनकि तपाईंले पापको पुरानो जीवन त्याग्नुभएको छ, धार्मिकताको नयाँ जीवनसँग नमिल्ने कुनै पनि व्यवहार रोक्नु आवश्यक छ।”
हाम्रो पवित्रीकरणको लागि येशूको प्रबन्ध
रोमी 6:1-10 मा हामीलाई हाम्रो व्यक्तिगत पवित्रीकरणको लागि येशूको प्रबन्धहरूको बारेमा बताइएको छ। [1]जब हामी नयाँ गरी जन्मियौं, हामीलाई ख्रीष्टसँग राखियो। सबै थोक जसको लागि उहाँ मर्नुभयो अनि जीवित हुनुभयो, ती सबै उहाँमा हाम्रो हुन्छ। यसको अर्थ ख्रीष्टमा हामीसँग पापमाथि पूर्ण विजयका लागि स्रोतहरू छन्।
ख्रीष्टसँगको हाम्रो एकताको कारणले गर्दा, उहाँलाई जे भयो त्यो मलाई पनि भएको छ। जब उहाँ मर्नुभयो, म मरें। जब उहाँ बौरी उठ्नुभयो, म उहाँमा बौरी उठें। ख्रीष्टसँगको यो जीवित एकताको कारण, विश्वासीको पापसँग एकदमै नयाँ सम्बन्ध छ। हामी अब पापको लागि मरेका छौं। हामी पापका कार्यहरू र पापको सिद्धान्त दुवैको लागि मरेका छौं। यो पापसँगको हाम्रो स्थितिगत सम्बन्ध हो।
ख्रीष्टसँगको हाम्रो मिलनको कारण, अब हामी नयाँ जीवनमा हिँड्छौं किनकि हामी उहाँको पुनर्जीवित जीवन साझा गर्छौं।
ख्रीष्टसँगको हाम्रो मिलनको कारण, उहाँको क्रूसको मृत्यु मेरो क्रूसको मृत्यु बन्छ। उहाँको मृत्युले पापको शक्तिलाई पराजित गरेको हुनाले, हामी अब यसको बन्धनमा बाँधिएका छैनौं।
ठान्नु को अर्थ के हो? (रोमी 6:11) यो अवस्थामा, यो एउटा हिसाबकिताबको शब्द हो। यसको अर्थ हुन्छ, पूरा हिसाब राख्नु। नयाँ करारमा यो ग्रीक शब्द 11 पल्ट विभिन्न खण्डहरूमा प्रयोग भएको छ, र यसलाई फरक शब्दमा अनुवाद गरिएको छ। यहाँ यसको तात्पर्य “विश्वासद्वारा पापबाट स्वतन्त्रता र ख्रीष्टको प्रायश्चित र पुनरुत्थानमा प्रदान गरिएको परमेश्वरसँगको एकता” हो।[2] क्रियाको अर्थ यो हो कि हामीले उहाँमाथि विश्वास गर्नुपर्छ जो अघिबाट नै सत्य हुनुहुन्छ: हामी पापको लेखि मरिसकेका छौं।
म पापको लेखि मरिसकेको छु र ख्रीष्ट येशूमा परमेश्वरको लागि जीवित छु भन्ने सत्यको लागि मैले के गर्नुपर्छ? विश्वासद्वारा म परमेश्वरको वचनलाई मेरो हृदयको लागि सत्यको रूपमा ग्रहण गर्छु। म परमेश्वरको अचुक वचनको अधिकारमा घोषणा गर्दछु कि म सबै पापबाट स्वतन्त्र भएको छु र ख्रीष्ट येशू मेरा प्रभुमा परमेश्वरको लागि पूर्णरुपमा जीवित भएको छु।
येशू ख्रीष्टको स्वैच्छिक प्रेमको दासको रूपमा, म स्वेच्छाले ती मनोवृत्ति र कार्यहरू त्याग्छु जुन पुरानो जीवनको विशेषता थियो। येशूप्रति पूर्ण समर्पित आनन्द हो! र ख्रीष्टसँगको मेरो सम्बन्धको परिणामस्वरूप, मसँग अनन्त जीवन छ।
निष्कर्ष
पापको नियन्त्रण गर्ने शक्तिबाट पूर्ण स्वतन्त्रता पाउनु हाम्रो लागि रगतले किनेको विशेषाधिकार हो भनेर हामीले देखेका छौं। तर त्योभन्दा पनि बढि, यो परमेश्वरको आज्ञा हो कि हामी विजयी बनौं।
[3]सायद तपाईंले यो सत्यलाई कहिल्यै महसुस गर्नुभएको छैन होला। परमेश्वरले तपाईंलाई बचाउनुभएको छ र तपाईं जीवनको नयाँपनमा हिँडिरहनुभएको छ; तर तपाईंले आफ्नो जीवनमा पाप अझै पनि देखा परिरहेको पाउनुहुन्छ। तपाईं यो चाहनुहुन्न! तर भित्र केही छ जुन कुरालाई आफ्नै तरिकाले गर्न चाहन्छ। यदि यो मामला हो भने, पावलको आज्ञाहरू पालन गर्नुहोस्, आफूलाई पापको लागि साँच्चै मरेको ठान्नुहोस् (6:11) र आफूलाई परमेश्वरमा समर्पण गर्नुहोस् (6:13)।
उहाँलाई पूर्ण नियन्त्रण दिनुहोस्! यदि तपाईंले यो गर्नुभयो भने, उहाँले तपाईंलाई पापको नियन्त्रणको शक्तिबाट स्वतन्त्र जीवन बिताउन सक्षम बनाउने प्रतिज्ञा गर्नुहुन्छ। परमेश्वरले भन्नुभएको कुरामा विश्वास गर्नुहोस् र विश्वासद्वारा पापबाट स्वतन्त्रताको दाबी गर्नुहोस्।
► ख्रीष्टसँगको एकताको अर्थ के हो? तपाईं ख्रीष्टसँग एकताबद्ध हुनुभएकोले तपाईंले आफ्नो जीवनमा के आशा गर्नुपर्छ?
रोमी ६-८ को अध्ययन गर्दा हामीले पत्ता लगाउनेछौं कि सामान्य ख्रीष्टियान जीवन बिताउने अवस्थाहरू चारपत्रे छन्। ती हुन्
(1) जान्नु, (2) विचार गर्नु, (३) आफूलाई परमेश्वरमा प्रस्तुत गर्नु, र (४) आत्मामा हिंड्नु, र तिनीहरू त्यस क्रममा प्रस्तुत गरिएका छन्।”
- वाचम्यान नी,
सामान्य ख्रीष्टियान जीवन
विजयी जीवन कसरी बिताउने?
के तपाईंले कहिल्यै सोच्नुभएको छ कि के पापमाथि विजय प्राप्त गरेर जिउन साँच्चै सम्भव छ? परमेश्वरले परीक्षामा हाम्रो कमजोरीको क्षतिपूर्ति गर्ने अनुग्रहलाई सक्षम बनाउने प्रतिज्ञा गर्नुभएको छ:
मानिसलाई आइपर्ने परीक्षाबाहेक तिमीहरू अरू परीक्षामा परेका छैनौ। तर परमेश्वर विश्वासयोग्य हुनुहुन्छ, जसले तिमीहरूलाई तिमीहरूका शक्तिदेखि बाहिरका परीक्षामा पर्न दिनुहुनेछैन, तर तिमीहरूले सहन सकून् भनेर परीक्षाको साथसाथै उम्कने बाटो पनि दिनुहुन्छ। यसरी तिमीहरू त्यसलाई खप्न सक्नेछौ (1 कोरिन्थी 10:13)।
यो पदले हामीलाई धेरै महत्वपूर्ण कुराहरू बताउँछ।
1. हरेक परिक्षा मानिस जातिको लागि सामान्य हुन्छ। हामी मानिस भएको कारण यो परिक्षा हामीलाई आउँछ र यसले मानिसको कमजोरीलाई लक्षित गर्दछ। यसको अर्थ तपाईंका संघर्षहरू वास्तवमा तपाईंमा मात्र सीमित छैनन्।
2. परमेश्वरलाई हाम्रो क्षमता थाह छ। उहाँलाई थाह छ कि हामी कति सहन सक्छौं। हामीलाई वास्तवमा थाह छैन कि हामी कति सहन सक्छौं, तर उहाँलाई थाह छ।
3. परमेश्वरले हामीमाथि आउने परीक्षालाई सीमित गर्नुहुन्छ किनकि उहाँले हामीलाई विजयमा जिएको चाहनुहुन्छ। केही मानिसहरू मान्छन् कि परीक्षा प्राय: हाम्रो क्षमताभन्दा बाहिर हुनेछ किनभने हामी मानिस हौं। तिनीहरू मान्छन् कि निरन्तर विजय असम्भव छ, तर यस पदअनुसार यस्तो छैन।
4. परमेश्वरले हामीलाई विजयमा जिउनका लागि आवश्यक कुरा प्रदान गर्नुहुन्छ। उहाँले उम्कने बाटो प्रदान गर्नुहुन्छ।
यसर्थ यो पदबाट हामीले निकाल्नसक्ने निष्कर्ष यो हो कि परमेश्वरले हामीलाई विजयमा जिउन दिनचाहनुहुन्छ। विश्वासको प्रत्युत्तरमा विजयी जीवनको लागि अनुग्रह दिइन्छ।
किनकि परमेश्वरबाट जन्मेको हरेकले संसारमाथि विजय प्राप्त गर्छ, र संसारलाई जित्ने विजय हाम्रो विश्वास हो (1 यूहन्ना 5:4)।
त्यो मानिस धन्यको हो, जो आपत्-विपत्मा स्थिर रहन्छ, किनकि जाँचको सामना गरिसकेपछि त्यसले जीवनको त्यो मुकुट पाउनेछ, जो परमेश्वरले उहाँलाई प्रेम गर्नेहरूलाई दिने प्रतिज्ञा गर्नुभएको छ (याकूब 1:12)।
यदि हामी बुझ्न सक्छौं कि विश्वासीहरू परीक्षाबाट कसरी पराजित भएका छन्, सायद हामी यसलाई कसरी रोक्न सक्छौ भनेर बुझ्नसक्छौं। परीक्षामा पर्ने व्यक्तिले सामान्यतया आफुलाई निश्चित प्रक्रियाबाट गुज्रन दिन्छ।
यो प्रक्रिया याकूब 1:14-15 मा वर्णन गरिएको छ: “तर हरेक मानिस आफ्नै खराब इच्छाद्वारा लोभिएर परीक्षामा पर्दछ। तब खराब इच्छाले गर्भधारण गरेपछि त्यसले पाप जन्माउँछ… ।”
जोन वेस्लीले अवलोकन गरे कि जानीजानी पाप गर्ने चरणहरू साधारणरुपले निम्न प्रकारले हुन्छन्।
1. परिक्षा उत्पन्न हुन्छ (संसारबाट, शरीरबाट र शैतानबाट)।
2. आत्माले विश्वासीलाई सतर्क रहने चेताउनी दिन्छ।
3. एउटा व्यक्तिले परिक्षामा ध्यान दिन्छ र त्यसको आकर्षण वृद्दि हुन्छ। (यहाँबाट व्यक्तिले यस प्रक्रियामा आफ्नो पहिलो गल्ती सुरु गर्छ)।
4. आत्मा दु:खित हुन्छ, व्यक्तिको विश्वास कमजोर हुन्छ, र परमेश्वरप्रतिको उसको प्रेम सेलाउँछ।
5. आत्माले तिब्ररुपले हप्काउनुहुन्छ।
6. व्यक्ति आत्माको पिडादायी आवाजबाट टाडिन्छ र परीक्षाको आकर्षक आवाजतिर फर्कन्छ।
7. खराब इच्छाहरू सुरु हुन्छ र उसको हृदय खराब इच्छाले भरिन्छ; विश्वास र प्रेम हराउँछ; ऊ बाहिरी पाप गर्न तयार हुन्छ।
हामीले यो मान्नुहुँदैन कि हरेक व्यक्तिको अनुभव सधैँ यो ढाँचासित मेल खान्छ। कहिलेकाहीँ मानिसहरू कुनै पनि प्रक्रियाबाट नगुज्रिकन अचानक परीक्षामा पर्छन्।
परिक्षाले आफ्नो शक्ति हामीलाई आकर्षित गर्दै बढाउँछ, त्यसैले पापमाथि विजय कायम राख्न गम्भीर हुने विश्वासीले आफ्नो हृदय बलियो पार्नुपर्छ ताकि उसले परिक्षालाई तुरुन्तै बहिस्कार गर्न सकोस्। पाप गर्ने परिक्षालाई चिन्ने तर त्यसको प्रतिरोध गर्न हिच्किच्याउने व्यक्तिले आफूलाई ठूलो खतरामा पार्छ। पाप प्रतिरोध गर्न हिच्किच्याएर उसले यो कुरालाई प्रदर्शन गर्छ कि ऊ आफ्नो हृदयमा परमेश्वरलाई खुशी पार्न पूर्णरुपले दृढ छैन।
परीक्षा हाम्रो विश्वासको निम्ति चुनौती हो, किनकि परीक्षाले हामीलाई शंका गर्ने अवसर दिन्छ कि त्यस क्षण परमेश्वरको आज्ञाकारिता नै उत्तम तरिका हो।
► यदि कुनै विश्वासी पापमाथि विजयी बन्न असमर्थ देखिन्छ भने, त्यसको कारण के हो?
यो सम्भवत: तल दिएको एक वा बढी समस्याहरूको कारणले हो।
1. उसले परमेश्वरले आज्ञाकारिताको माग गर्नुहुन्छ भन्ने कुरा देख्दैन।
2. उसले अनुग्रह सक्षम तुल्याउने परमेश्वरको प्रतिज्ञालाई देख्दैन वा विश्वास गर्दैन।
3. उसले व्यक्तिगत सामर्थको सट्टा परमेश्वरको सक्षम पार्ने अनुग्रहमा भरोसा गर्दैन।
4. उसले पूर्ण सर्तबिहिन आज्ञाकारिताको सट्टा खास चुनेर राखिएको आज्ञाकारिताका साथ परमेश्वरको सेवा गर्छ।
5. उसले अनुग्रहद्वारा परमेश्वरको इच्छा पूरा गर्न एउटै उद्देश्य राख्न कोसिस गरेन (फिलिप्पी 3:13-15)।
6. उसले परमेश्वरसँगको आफ्नो विश्वास-निर्माण सम्बन्धलाई बलियो बनाउने आत्मिक अनुशासनहरू कायम राख्दैन।
7. उसले स्थानीय मण्डलीमा आत्मिक जवाफदिता कायम राख्दैन।
8. उसले नियमित रूपमा परमेश्वरको वचन मनन गर्दैन।
9. उसले आफ्नो जीवनमा पवित्र आत्माको आवाजप्रति संवेदनशीलता विकास गरेको छैन।
तीन जनाले चालकको जागिरको लागि आवेदन दिए। पहिलोले सम्भावित रोजगारदातालाई प्रभावित पार्ने उद्देश्यले भन्यो, “म यति कुशल चालक हुँ कि यदि मैले भीरको छेउबाट द्रुत गतिमा गाडी चलाएँ भने तपाईंले चिन्ता लिनु पर्दैन।” दोस्रो पनि पछि पर्न चाहेन, त्यसैले उसले भन्यो, म भीरको केही इन्च पर द्रुत गतिमा गाडी चलाउनसक्छु, त्यहाँ नचढिकन।” तेस्रो आवेदक हिचकिच्यायो, त्यसपछि उसले रोजगारदातालाई भन्यो, “म भीरको नजिक गएर तपाईंको ज्यान जोखिममा पार्नेछैन।” तपाईंलाई के लाग्छ, कसलाई काममा लगाइयो?
हामीले परीक्षाको कति नजिक पुग्नसक्छौं भनी हेर्ने प्रयास गर्नुहुँदैन। परमेश्वरले हामीलाई हाम्रो कमजोरीका क्षेत्रहरूबाट जोगाउने व्यक्तिगत दिशानिर्देशन दिन चाहनुहुन्छ। हामी यो सिक्नुपर्छ कि कुनचाहिँ डरलाग्दो छ, जस्तो कुनै मनोरञ्जनहरू, र ती कुराहरूबाट टाडा रहनुपर्छ।
यदि कुनै विश्वासीले परमेश्वरसँगको आफ्नो सम्बन्ध कायम राखेको छैन भने, उसले तुरुन्तै पश्चात्ताप गर्नुपर्छ र हाम्रो अधिवक्ता, येशू ख्रीष्ट मार्फत पुनर्स्थापित हुनुपर्छ (1 यूहन्ना 2:1-2)। उसले भविष्यमा हुने कुनै पनि समयको प्रतीक्षा गर्नुहुँदैन, जुन उसले अझ सुविधाजनक ठान्छ। यदि ऊ पुनर्स्थापित हुन चाहन्छ भने, पवित्र आत्माले उसलाई त्यो इच्छा दिँदै हुनुहुन्छ र उसलाई परमेश्वरसँगको सम्बन्धमा फेरि ल्याउँदै हुनुहुन्छ। यदि उसको पश्चात्ताप वास्तविक छ भने, उसलाई तुरुन्तै पुनर्स्थापित गर्न सकिन्छ।
परमेश्वरले हाम्रो मुक्तिको लागि येशूको बलिदानमा सर्वोच्च लगानी गरिसक्नुभएको छ। हामीलाई निरन्तरता दिन आवश्यक अनुग्रह दिन असफल भएर उहाँले त्यो लगानी खेर जान दिनुहुनेछैन।
जान्न र दाबी गर्न योग्य पाँच सत्यहरू
पापका कार्यहरू विजय प्राप्त गर्नु ख्रीष्टियानहरूको सामान्य अनुभव हो किनकि ऊ येशूको मृत्यु, दफन र पुनरुत्थानद्वारा पापको दासत्वबाट मुक्त भएको छ।[1] निरन्तर पाप परमेश्वरको अनुग्रहको अज्ञानता, ख्रीष्टसँग एकतामा रहन असफलता, आफूलाई पापको लेखि मरेको र परमेश्वरको लागि जीवित ठान्न असफलता, र धार्मिकताको साधनको रूपमा आफ्नो शरीरलाई पूर्ण र निर्णायक रूपमा परमेश्वरलाई प्रस्तुत गर्न असफलताको परिणाम हो।
हरेक साँचो विश्वासीले पापमाथि विजय प्राप्त गर्ने इच्छा राख्छ। यो यसकारणले भएको हो कि हामीलाई पापबाट बचाउन येशूले ठूलो मूल्य चुकाउनुभएको छ। यो पापको विनाशकारी प्रकृतिको कारणले हो। “पापको लागि अनुग्रह प्रशस्त भएकोले, किन पाप गरिरहनुहुँदैन?” भन्ने तर्क गर्नेहरूलाई पावलको उत्तर धेरै बलियो छ। “त्यसो नहोस्!” उनी घोषणा गर्छन् (रोमी 6:1-2)। परमेश्वरले यसको उपचार प्रदान गर्नुभएको कारणले गर्दा पापको रोगप्रति लापरवाह मनोवृत्ति अप्नाउनु भनेको एचआईभी/एड्स, वा क्यान्सरको बारेमा लापरवाह हुनुजस्तै हुनेछ किनभने चिकित्सा उपचार पत्ता लागेको थियो। उपचारको पिडा र रोगको अवधिबाट कसैलाई बचाउने थिएन। न त यसले दागहरूबाट नै बचाउने थियो। कुनै पनि व्यक्तिले आफ्नो सही दिमागमा यो भन्दैन, “आऔ हामी बिरामी बनौं र उपचार प्राप्त गरौं”। जो कसैलाई पापको भयावहता, पवित्र परमेश्वरप्रति पापको अपमानजनकता, र पापको उपचारको लागि तिरेको ठूलो मूल्यको बारेमा अवगत छ, उसले यसो भन्न सक्दैन, “आओ हामी पाप गरौं किनकि परमेश्वरको अनुग्रहले यसलाई ढाकिदिन्छ!”
पापबाट मुक्तिको एउटा ख्रीष्टियानको अनुभव उसको ज्ञानमा (रोमी 6:3, 6, 9) र यी सत्यहरूको प्रयोगमा निर्भर हुँदछ:
(1) पापी व्यक्तिको रूपमा म मरें।
पुरानो मनुष्यत्व, जुन पुरानो पापी व्यक्ति हामी अघि थियौं, आत्मिक रूपमा ख्रीष्टसँगै क्रूसमा मर्यौं र उहाँसँगै उहाँको चिहानमा गाडियौं। मरेको व्यक्तिले अब दासको रूपमा सेवा गर्न नसक्ने भएकोले, हामीमाथि पापको प्रभुत्व तोडिएको छ। यो मृत्यु पहिले नै भइसकेको छ। हाम्रो पुरानो पापी जीवनको मृत्यु त्यसबेला भयो जब हामीले हाम्रो लागि ख्रीष्टको मृत्युमा विश्वास गर्यौं, हाम्रा पापहरूको पश्चात्ताप गर्यौं र उहाँले दिनुभएको अनन्त जीवनको उपहार प्राप्त गर्यौं।
रोमी 6 बाट यी कथनहरूलाई ध्यान दिनुहोस्:
“…हामी जो पापको लेखि मर्यौं, त कसरी हामी अझै त्यसैमा जिउनु?” (6:2)।
“यसकारण बप्तिस्माद्वारा हामी मृत्युमा उहाँसँगै गाडियौं…” (6:4)।
“यदि उहाँको मृत्युमा हामी उहाँसँग एउटै भएका छौं भने…” (6:5)।
“हामी जान्दछौं कि हाम्रो पुरानो मनुष्यत्व उहाँसँग क्रूसमा टाँगियो, ताकि हाम्रो पापमय शरीर नाश होस्, र अब उसो हामी पापका कमारा नहोऔं” (6:6)।
“किनभने जो मरेको छ त्यो पापबाट मुक्त भएको छ” (6:7)।
आज धेरै विश्वासीहरूको समस्या यो हो कि तिनीहरू आफ्नो क्षमताभन्दा तल जिउँछन्। धेरै विश्वासीहरूलाई असफलतालाई सामान्य रूपमा स्वीकार गर्न बाध्य पारिएको छ। तिनीहरू सोच्छन् कि विजयी ख्रीष्टियान जीवन सम्भव छैन र निरन्तर पापको आशा गर्नुपर्छ । अरू विश्वासीहरू सोच्छन् कि मानव असफलताको कुनै सहिष्णुता छैन। यो शिक्षा विश्वासको लागि विनाशकारी छ र धेरैलाई यसले निराशा वा कपटतर्फ डोर्याएको छ। पावलले क्रूसमा ख्रीष्टको विजयमा साझेदारी गरेर विजय हाम्रो हो भनी स्पष्ट पार्छन्।
(2) परमेश्वरले मलाई नयाँ व्यक्ति हुनका लागि येशूसँगै बौरि उठाउनुभयो।
येशूले आफ्नो पुनरुत्थानद्वारा सबै पापमाथि विजय प्राप्त गर्नुभयो। यो पुनरुत्थान भएको जीवन हो जुन हामी विश्वासद्वारा साझा गर्छौं। विश्वासद्वारा, पापले अब हामीलाई दबाउने, अपमानित गर्ने, चोट पुर्याउने वा मार्ने शक्ति राख्दैन। हामी आत्मिक रूपमा ख्रीष्टसँगै विजयी जीवनको लागि उठाइएका छौं।
“…जसरी पिताको महिमाद्वारा ख्रीष्ट मरेकाहरूबाट जीवित पारिनुभयो, त्यसरी हामी पनि नयाँ जीवनको मार्गमा हिँड़ौं” (6:4)।
“…उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी उहाँसँगै एक हुनेछौं” (6:5)।
“हामी जान्दछौं कि ख्रीष्ट मरेकाहरूबाट जीवित भएर फेरि मर्नुहुनेछैन। अब उसो उहाँमाथि मृत्युको राज्य हुँदैन” (6:9)।
“जुन मृत्युमा उहाँ मर्नुभयो त्यो पापको लेखि सधैँको लागि एकै पल्ट मर्नुभयो। तर जुन जीवनमा उहाँ जिउनुहुन्छ, त्यो परमेश्वरको निम्ति जिउनुहुन्छ” (6:10)।
“यसै गरी तिमीहरूले पनि आफू-आफूलाई पापको लेखि मरेका, तर ख्रीष्ट येशूमा परमेश्वरको लागि जीवित भएका ठान्नुपर्छ” (6:11)।
मेरो पुरानो जीवन उहाँसँगै क्रूसमा टाँगिएको मात्र होइन, मैले उहाँको जस्तै नयाँ जीवन पाएको मात्र होइन; तर म उहाँमा वास गरिरहेको छु, र उहाँ ममा! (गलाती 2:20 र यूहन्ना 14-16 अध्याय पनि हेर्नुहोस्।) यो येशूले हरेक चेलालाई प्रतिज्ञा गर्नुभएको छ: कि परमेश्वरले पवित्र आत्माद्वारा विश्वासीहरूलाई भित्री रूपमा बस्न रोज्नुभएको छ। यो मिलन र भित्रीरूपमा बस्नुले पापमाथि विजय र पवित्र जीवन सम्भव बनाउँछ। यसले विश्वासीहरूलाई येशूको शुद्ध, कृपालु, दयालु, क्षमाशील र पवित्र जीवन प्राप्त गर्न र बाँच्न सम्भव बनाउँछ।
“यदि उहाँको मृत्युमा हामी उहाँसँग एउटै भएका छौं भने, उहाँको पुनरुत्थानमा पनि निश्चय नै हामी उहाँसँगै एक हुनेछौं” (6:5)।
“…हाम्रो पुरानो मनुष्यत्व उहाँसँग क्रूसमा टाँगियो …” (6:6)।
“तर यदि हामी ख्रीष्टसँग मरेका छौं भनेता उहाँसँग जिउने पनि छौं भन्ने विश्वास गर्दछौं” (6:8)।
यूहन्ना 15 मा येशूले यो एकताको बारे आफ्नो चेलाहरूलाई सिकाउनुभयो। ख्रीष्टियान जीवनमा हाम्रो सफलताको लागि ख्रीष्टसँगको आत्मिक एकता आवश्यक पर्दछ!
(4) परमेश्वरले मलाई दिनुभएको विजयलाई मैले विश्वासद्वारा धारण गर्नुपर्छ।
यसै गरी तिमीहरूले पनि आफू-आफूलाई पापको लेखि मरेका, तर ख्रीष्ट येशूमा परमेश्वरको लागि जीवित भएका ठान्नुपर्छ (6:11)।
ठान्नु भनेको यसलाई सत्य मान्नु हो ताकि हामी यसलाई आफ्नै जीवनमा अनुभव गर्न सकौं।
यहाँ पुरानो करारबाट एउटा उदाहरण छ जुन उपयोगी हुनेछ। हामीलाई थाह छ कि परमेश्वरले इस्राएलीहरूलाई प्रतिज्ञा गरिएको भूमिको वाचा मात्र गर्नुभएको थिएन, तर तिनीहरूले वास्तवमा यो अधिकार गर्नुभन्दा धेरै अघि नै यो तिनीहरूलाई दिनुभएको थियो। 40 वर्षसम्म तिनीहरू उजाडस्थानमा भौंतारिए, आफ्नो क्षमताभन्दा कम जीवन बिताए, किनभने तिनीहरू डराए र परमेश्वरलाई विश्वास गर्न असफल भए। तर परमेश्वरले तिनीहरूलाई प्रेम गर्नुभयो र तिनीहरूलाई आफ्नो उत्तराधिकारीमा अगुवाइ गर्नुभयो।
यहोशू 1:3 “मैले मोशालाई प्रतिज्ञा गरेझैँ तेरा पैतालाले कुल्चने सबै जग्गा म तँलाई दिनेछु”। केही पदहरू पश्चात परमेश्वरले आज्ञा गर्नुभयो “छाउनीको बीचबाट गएर मानिसहरूलाई आदेश दिई भन, ‘आ-आफ्ना खाने सामान तयार गर, किनकि तीन दिनभित्र परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएको देश अधिकार गर्न तिमीहरू यो यर्दन पारि जानुपर्छ’” (यहोशू 1:11)।
परमेश्वरका मानिसहरूले विश्वासद्वारा परमेश्वरले दिनुभएको भूमि अधिकार गर्नुपर्थ्यो। कनानका बासिन्दाहरूमाथि विजय प्रबन्ध गरिएको थियो, र वास्तविक अर्थमा पहिले नै पूरा भइसकेको थियो, तर इस्राएलले यो विजयी आज्ञाकारी विश्वासद्वारा मात्र अनुभव गर्नेछ। नयाँ करारका विश्वासीहरूले पनि त्यस्तै तरिकाके विजय प्राप्त गर्न सक्छ; विश्वासद्वारा ख्रीष्ट येशूले हाम्रो लागि गर्नुभएको विजयलाई विचार गरेर र प्रतिज्ञाहरू प्राप्त गरेर।
(5) मैले मेरो शरीर परमेश्वरलाई अर्पण गर्नुपर्छ।
यसकारण शरीरका अभिलाषाअनुसार चल्नुनपरोस् भनी तिमीहरूका मरणशील शरीरमा पापलाई राज्य गर्न नदेओ। आफ्ना शरीरका अङ्गहरू दुष्टताका साधनको रूपमा पाप गर्नलाई समर्पण नगर। तर मृत्युबाट जीवनमा ल्याइएका मानिसहरूजस्तै आफैलाई परमेश्वरकहाँ दिइहाल, र शरीरका अङ्गहरूलाई धार्मिकताका साधनजस्तै परमेश्वरकहाँ समर्पण गर (रोमी 6:12-13)।
► थुप्रै विद्यार्थीहरूले अघिल्लो लेखमा उल्लेख गरिएका पाँच सत्यहरूको महत्व व्याख्या गर्नुपर्छ।
जसले आफ्नै निज पुत्रलाई बाँकी राख्नुभएन, तर हामी सबैका निम्ति उहाँलाई दिनुभयो, के उहाँले हामीलाई सबै थोक पनि उहाँकै साथमा दिनुहुनेछैन र? (रोमी 8:32)।
अब, जसले तिमीहरूलाई पापमा फस्नदेखि बचाउन सक्नुहुन्छ, र जसले तिमीहरूलाई आनन्दसहित उहाँकै महिमाको सामने निष्कलङ्क प्रस्तुत गर्न सक्नुहुन्छ, उही एकमात्र परमेश्वर, हाम्रा मुक्तिदातालाई येशू ख्रीष्ट हाम्रा प्रभुद्वारा महिमा, प्रभुत्व, पराक्रम र अधिकार युग-युग पहिलेदेखि आज र सदासर्वदा भइरहोस्। आमेन (यहूदा 24-25)।
(7) परमेश्वर र पाप दुवैको सेवा गर्नु किन असम्भव छ?
(8) पुरानो स्वभाव शब्दको अर्थ के हो?
पाठ 6 का कार्यहरू
(1) विश्वासीको लागि पापमाथि विजय कसरी सम्भव छ सो बारे व्याख्या गर्दै एक पृष्ठ लेख्नुहोस्। जानीजानी गर्ने पापहरूको परिभाषा समावेश गर्नुहोस् र पापको परिभाषा किन महत्वपूर्ण छ भनी व्याख्या गर्नुहोस्। पापमाथि विजयको सम्भावनाप्रति मानिसहरूले गर्ने आपत्तिहरूको प्रतिक्रिया दिनुहोस्।
(2) तपाईंले आफ्ना प्रवचनहरू वा पाठहरूको तीनवटा प्रस्तुति समाप्त गर्नुपर्छ।
SGC exists to equip rising Christian leaders around the world by providing free, high-quality theological resources. We gladly grant permission for you to print and distribute our courses under these simple guidelines:
No Changes – Course content must not be altered in any way.
No Profit Sales – Printed copies may not be sold for profit.
Free Use for Ministry – Churches, schools, and other training ministries may freely print and distribute copies—even if they charge tuition.
No Unauthorized Translations – Please contact us before translating any course into another language.
All materials remain the copyrighted property of Shepherds Global Classroom. We simply ask that you honor the integrity of the content and mission.