पावलको समयमा, रोम संसारमा सबैभन्दा ठूलो सहर थियो, जहाँ 10 लाखभन्दा बढी बासिन्दाहरू थिए।[1] त्यहाँ जातीय समूह, भाषा र धर्मको मिश्रण थियो। अधिकांश मानिसहरू दास थिए।
रोममा पहिलो मिसनेरीहरू
रोममा सुसमाचार पुर्याउने प्रथम व्यक्ति को हुन् भनी हामीलाई थाह छैन। पेन्टिकोसको दिनमा, रोमबाट आएका यहूदीहरू उपस्थित (प्रेरित 2:10)। त्यसदिन परिवर्तन वा रुपान्तरण भएका यहूदीहरूले नै पक्कै रोममा सुसमाचार लिएर गए। ख्रीष्ट (मसीह) आउनुभएको छ भनी गरिएको तिनीहरूको घोषणाले उत्साह र विवाद दुवै निम्त्याउनेवाला थियो। यहूदी धर्मको सम्मान गर्ने अन्यजातिहरूमा सुसमाचार सबैभन्दा छिट्टो फैलिएको थियो।
अन्यजाती (गैरयहूदी) मण्डली
पत्रका केही भागहरूमा यहूदीहरूलाई सम्बोधन गरिएता पनि, रोममा भएका मण्डली प्राय: अन्यजाति थिए। पावलले तिनीहरूलाई अन्यजाति (1:13-15) भनी सम्बोधन गरेका छन् र उनी ग्रीक र असभ्यजाति दुवैलाई सुसमाचारको ऋणी भएकाले रोमीहरूलाई सुसमाचार प्रचार गर्न तयार थिए। यद्धपि, रोमी मण्डलीमा यहूदी मतको धेरै प्रभाव थियो, किनकि त्यहाँ पहिलो विश्वासीहरू यहूदीहरू नै थिए। यो पनि हुनसक्छ कि त्यहाँ सुसमाचारलाई स्पष्ट रूपमा व्याख्या गरिएको थिएन जसले विश्वासीहरूलाई यहूदी धर्मका नियमहरूबाट स्वतन्त्र भएका देखाउँदछ।
[1]Bruce Wilkinson & Kenneth Boa, Talk through the New Testament, 375
पावलको उद्देश्य मिसनेरी कार्यलाई बढावा दिनुभएकोले, स्वभाविक रूपमा एउटा प्रश्न उठ्छ, “के सबैलाई विश्वासद्वारा धर्मी ठहराउन आवश्यक छ?” आखिरमा, त्यहाँ केही कुराहरू छन्, जो सबैलाई आवश्यक छैन। आर्टिकमा भएका मानिसहरूलाई कसैले हिउँ लिएर दिन जरूरी छैन, अनि मरूभूमिमा बस्नेहरूलाई बलुवाको जरूरत छैन।
कसैले सोँच्न सक्छ कि विश्वासद्वारा धर्मी ठहराउनु संसारमा सबैलाई चाहिने कुरा होइन; हुनसक्छ केही मानिसहरूले धर्मी जीवन बिताएका छन् र परमेश्वरले अघिबाटै तिनीहरूलाई स्वीकार गरिसक्नुभएको छ। पत्रको भाग 2 (1:18-3:20) सबै जना विश्वासद्वारा धर्मी ठहरिन आवश्यक छ, त्यसैकारण यसको बारेमा सन्देशको आवश्यक छ भनी देखाउन लेखिएको हो।
1:18-3:20 को मुख्य बुँदा
संसारमा भएका सबैले परमेश्वरको आवश्यकताहरू उलङ्घन गरेका छन र दोषी भएका छन्। परमेश्वरका आवश्यकताहरू पूरा गर्ने आधारमा कसैलाई पनि बचाउँन सकिँदैन किनभने हरेक मानिसले अघि बाटै ती आवश्यकताहरूलाई उलङ्घन गरिसकेका छन्।
1:18-3:20 को सारांश
प्रथम, पावलले मूर्तिपूजक अन्यजातिहरूको अवस्था वर्णन गर्दछ जो परमेश्वरको प्रकट गरिएको वचनबिना थिए र उनले यो पनि देखाउँछन् कि तिनीहरूले सृष्टिमा देखाउनुभएको परमेश्वरको ज्ञानलाई अस्वीकार गरे। त्यसपछि, उनले इस्राएलीहरूको अवस्था वर्णन गरेका छन्, जससँग परमेश्वरको लिखित वचन थियो तर तिनीहरूले वचन पालन गरेनन्। उनले संसारको साधारण पापमय अवस्थाको वर्णन गरेर समाप्त गर्छन्। निष्कर्ष यो हो कि सारा संसार परमेश्वरको अघि दोषी छ। यसैले सुसमाचारको आवश्यकता छ किनकि कसैले पनि आफ्नो क्षमतामा आफैलाई बचाउन सक्दैन।
यी पाठहरूको लागि, भाग 2 (1:18-3:20) लाई तीन खण्ड विभाजन गरिनेछ। यस पाठमा, हामी सुरुमा खण्ड (1:18-32) लाई अध्ययन गर्नेछौं।
खण्ड अध्ययन – रोमी भाग 2, खण्ड 1
1:18 यो खण्ड र अघिल्लो खण्डको बीचमा सङ्क्रमणकालीन पद हो।
1:18-32 को मुख्य बुँदा
अन्यजातिहरूसँग परमेश्वरबारे आधारभूत ज्ञान थियो, तर तिनीहरूले यसलाई अस्वीकार गरे र मूर्तिहरूतिर फर्के, अनि पुर्णरुपले भ्रष्ट भएर गए।
► विद्यार्थीले समूहको लागि रोमी 1:18-32 पढ्नुपर्छ।
हरेक पदहरूको नोटहरू
(1:18) परमेश्वरले तिनीहरूलाई आफ्नो बारे आधारभूत ज्ञान दिनुभएको छ। तिनीहरूले थाह पाएर पनि सत्यलाई दबाउने गर्छन्। अर्को पदले व्याख्या गरेझैं यस पदले तिनीहरूसँग केही सत्यता थियो भनी संकेत गर्छ। तिनीहरूको दोष भनेको नै तिनीहरूसँग भएको सत्यतालाई इन्कार गर्नु हो। “भक्तिहीनता ले धार्मिक क्षेत्रमा अपराधको वर्णन गर्दछ र आफैलाई मूर्तिपूजकको रूपमा प्रकट गर्दछ, जसले सृष्टिकर्तालाई होइन सृष्टिको पूजा गर्दछ (1:19-23)। अधर्मले नैतिक विकृति बुझाउँछ र यसलाई अनैतिकता र दुष्टताद्वारा चित्रण गरिएको छ (1:24-32)।”[1]
1:20 मा तिनीहरूले दबाएका सत्यता निर्दिष्ट गरिएको छ। यसमा तिनीहरूमाथि परमेश्वरको अधिकारको ज्ञान समावेश छ। तिनीहरूले परमेश्वरको अधिकारलाई इन्कार गरेका छन् भनी तिनीहरू कै जीवनशैलीले देखाउँछ। यसको विपरित, ख्रीष्टियान जीवनशैलीले आफ्नो जीवनमा उसले के गर्ने र के नगर्ने भन्ने दुवै कुरामा परमेश्वरको अधीनमा रहेको देखाउँछ।
[1]William Greathouse, “Romans”, in Beacon Bible Commentary, Vol VIII. (Kansas City: Beacon Hill Press, 1968) 50 बाट अनुकूलित।
प्रकाशका प्रकारहरू- विशेष प्रकाश र सामान्य प्रकाश
► सबै मानिसहरलाई परमेश्वरको सत्यता प्रकट गर्ने तरिकाहरू के के हुन्?
परमेश्वरले सत्यलाई धेरै माध्यमबाट प्रकट गर्नुभएता पनि, हामी दुई तहमा कुरा गर्नेछौं: सामान्य प्रकाश र विशेष प्रकाश । पावलले यी कुराहरू रोमीको पुस्तकमा उल्लेख गरेका छन्, तैपनि, यी शब्दहरूसित होइन।
सामान्य प्रकाश भनेको हामी परमेश्वरको सृष्टिद्वारा उहाँलाई बुझ्न सक्छौं। हामी ब्रह्माण्डको बनावटमा परमेश्वरको अद्भूत बुद्धि र शक्ति देख्छौं।
हामी मानिसलाई जसरी सृष्टि गरिएको छ, त्यसमा परमेश्वरको महत्वबारे देख्छौं। हामी तर्क गर्न सक्छौं, सुन्दरताको कदर गर्न सक्छौं, र सही र गलत बीचको भिन्नतालाई बताउन सक्छौं (यद्यपि त्रुटिरहित रूपमा होइन), यसले हाम्रो सृष्टिकर्तासँग ती क्षमताहरू उच्च स्तरमा छन् भन्ने देखाउँछ। हामीलाई थाहा छ कि परमेश्वरले विचार गर्न र संचार गर्न सक्नुहुन्छ किनभने हामीसित ती क्षमताहरू छन्। (भजनसंग्रह 19:1-4 र 94:9 लाई हेर्नुहोस्।)
सामान्य प्रकाशले हामीलाई परमेश्वर बोल्न सक्नुहुन्छ भन्ने देखाएको कारण, हामी यो महसुस गर्न सक्छौं कि विशेष प्रकाश पनि हुनसक्छ। परमेश्वर व्यक्ति[1] हुनुहुन्छ र उहाँ आफ्नो सृष्टिसँग कुरा गर्न सक्नुहुन्छ। यसले हामीलाई परमेश्वरबाट सन्देशहरू र परमेश्वरबाट एउटा पुस्तक पनि हुनसक्छ भनी महसुस गर्न मद्दत गर्दछ।
सामान्य प्रकाश द्वारा, पवित्रशास्त्रबिना पनि, मानिसहरूलाई थाह छ कि परमेश्वर हुनुहुन्छ, अनि तिनीहरूले उहाँको आज्ञापालन गर्नुपर्छ, अनि तिनीहरूले अघिबाटै आज्ञा उलङ्घन गरिसकेका छन् (रोमी 1:20)। तर सामान्य प्रकाशले हामीलाई परमेश्वरसँगको सही सम्बन्धमा कसरी आउने भनेर बताउँदैन। सामान्य प्रकाशले हामीलाई विशेष प्रकाशको आवश्यकता देखाउँछ किनभने यसले मानिसहरू पापी छन् र आफ्ना सृष्टिकर्ताको अगाडि कुनै बहाना गर्नसक्दैन भनी देखाउँछ।
सामान्य प्रकाशले देखाउँछ कि मानिस जाति पापमा पतन भएका र दोषी छन्। विशेष प्रकाशले किन मानवजाति यो अवस्थामा छ भनी व्याख्या गर्छ। विशेष प्रकाश त्यो सत्य हो जो बाइबलको प्रेरणा र ख्रीष्टको अवतारमा प्रकट भएको छ। विशेष प्रकाशले परमेश्वरको चरित्रको वर्णन गर्दछ, पतन र पापको व्याख्या गर्दछ, र हामी कसरी परमेश्वरसँग मेलमिलाप गर्न सकिन्छ भनेर देखाउँछ।
[1]हामी यो भनिरहेका छैनौं कि परमेश्वर मानव हुनुहुन्छ; तर उहाँ एक व्यक्ति हुनुहुन्छ - सोच्न, इच्छा गर्न र बोल्न सक्षम - कुनै अवैयक्तिक शक्तिको सट्टा।
खण्ड अध्ययन – रोमी भाग 2, खण्ड 1
हरेक पदहरूको नोटहरू जारी
► सामान्य प्रकाश बाट हामी जे जति जान्दछौं त्यो भन्दा अगाडि विशेष प्रकाश ले हामीलाई के बताउँछ?
(1:19) सृष्टिलाई नियाल्दा हामी परमेश्वरको सत्यतालाई हेर्नसक्छौं। ग्रीक दार्शनिकहरूले पनि ब्रह्माण्डलाई नियन्त्रण गर्ने कुनै प्रकारको ईश्वरीय दिमाग हुनुपर्छ भनी स्वीकार गरे। सृष्टिको एक विशेष महत्वपूर्ण भाग मानिसको स्वभाव हो। मानिसमा सही र गलत छुट्याउन सक्ने नैतिक चेतना छ भनी हेरेर हामी परमेश्वरको अस्तित्व र स्वभावको सत्यताकलाई देख्छौं। (1:32 लाई हेर्नुहोस्)।
► जब हामी मानिसलाई हेर्छौं तब हामी परमेश्वरको बारेमा के बुझ्न सक्छौं?
(1:20) सृष्टिबाट नै मानिसहरू जान्दछन् कि तिनीहरू सृष्टि गरिएका हुन्, र तिनीहरूमाथि परमेश्वरको अनन्त शक्ति र अधिकार छ। यो ज्ञान तिनीहरूले परमेश्वरलाई बहिस्कार गर्ने कुरा क्षमा गर्न नसकिने बनाउनलाई पर्याप्त छ। तिनीहरूको पापको लागि तिनीहरूको न्यायसंगत प्रकारले न्याय हुनेछ। तिनीहरूलाई थाह छ कि तिनीहरू विद्रोहको दोषी छन्।[1] यो सत्यतथ्य कि तिनीहरू परमेश्वर र आफ्नो बारेमा यी कुराहरू जान्दछन्, तिनीहरूसँग कुनै बहाना रहनेछैन।
परमेश्वरको न्यायको लागि यो आवश्यक छ कि दण्ड दिनुअघि यो जानीजानी गरेको पाप हो भनी देखाइदिनुपर्छ। यो पनि आवश्यक छ कि तिनीहरूसँग भएको ज्ञान असल छनौट गर्नलाई पर्याप्त हो। यदि तिनीहरूको लागि फरक तरिकाले छनौट गर्न असम्भव थियो भने, तिनीहरू बहानाबिना रहन सक्दैनन्। परमेश्वर आफैले आफ्नोबारे बताउँदै हुनुहुन्छ।[2]
संसारको लगभग प्राय सबै संस्कृतिको यो मान्यता छ कि संसार सृष्टि गर्ने एक सर्वोच्च परमेश्वर हुनुहुन्छ। प्रायजसो तिनीहरूले परमेश्वरको सट्टा कुनै अन्य अलौकिक शक्तिको पूजा गर्छन् किनभने तिनीहरूलाई थाह छ कि तिनीहरू सर्वोच्च परमेश्वरबाट पृथक भएका छन्। पावलले परमेश्वरको अस्तित्व प्रमाण गर्न प्रयास गरेनन् तर परमेश्वरको अस्तित्व र अधिकार हरेक संस्कृतिमा थाह छ भनी देखाए। यो ज्ञानले अपराधबोध गराउनतिर डोर्याउँछ।
सामान्य प्रकाशमा सीमितताहरू छन्। ख्रीष्टको ज्ञान र सुसमाचार विशेष प्रकाशद्वारा बाहेक अरूबाट प्रकट हुँदैन। साथै, सृष्टि गरिएको संसारले परमेश्वरलाई सहीरूपमा चित्रण गर्दैन, किनकि यो पापको श्रापको अधिनस्त छ र यसको मूल बनावट पूर्णरूपमा देखाउँदैन। सृष्टि एउटा माटोको पदचिन्ह भएको सुन्दर चित्रजस्तै हो। यो क्षतिग्रस्त भएको छ, तर यसको मौलिक सुन्दरता अझैँ बाँकी छ, जसले चित्रकारको वा कलाकारको बारेमा देखाइरहेको छ।
(1:21-22) परमेश्वर योग्य हुनुहुन्छ कि मानिसले उहाँलाई परमेश्वर भनी (आराधना) आदर गरून् र धन्यवाद (प्रशंसा) गरून्। तर तिनीहरूले उहाँबाट पाएका कुराहरूको लागि धन्यवादी हुनुको सट्टा उहाँको अख्तियारलाई रिस उठाए। आफूसँग भएका सबै कुराको श्रेय लिँदै तिनीहरू आफैं ईश्वर बन्न चाहन्थे। यस्तो स्वतन्त्र ईश्वरत्वको दाबी गर्नु मुर्खता थियो।
[3]तिनीहरूको हृदय अँध्यारो भयो। हृदयले व्यक्तिको इच्छा र निष्ठालाई प्रतिनिधित्व गर्दछ। उज्यालोले सत्यताको प्रतिनिधित्व गर्छ। तिनीहरूले सत्यलाई बहिस्कार गरे, यसैले तिनीहरूले यसलाई हेर्ने क्षमता गुमाए। तिनीहरूले आत्मिक र अनन्तको कुराहरूको बुझाइलाई गुमाए, यसर्थ भौतिक संसारलाई तिनीहरूले सही रूपमा बुझेनन्।
(1:23, 25) तिनीहरूको ध्यान आफै माथि र भौतिक संसारमाथि थियो र सृष्टिकर्ताको बहिस्कारले गर्दा तिनीहरूलाई यस्ता देवताहरू बनाउनतिर लागे जसले तिनीहरूको आफ्नै पतित स्वभावलाई प्रशंसा गर्थे। तिनीहरूले परमेश्वरको महिमा सृष्टि गरिएका कुराहरूमा हस्तान्तरण गरे। आफ्नो सृष्टिकर्ताप्रति भएको जिम्मेवारीबाट बाँच्न, तिनीहरूले उहाँको अस्तित्वलाई इन्कार गरे र सृष्टिलाई सम्मान गरे। यो मनोवृत्ति आधुनिक विकास र मानवतावादको आधार हो। यदि मानिसहरूले आफैलाई उत्पादन गरे भने, तिनीले आफ्नो उद्देश्य, मूल्य र नैतिकता आफै निर्धारण गर्नसक्छन्।
परमेश्वरको सृष्टिलाई सेवा गर्नु र पुज्नु नै मूर्तिपूजा हो। कुनै कुराको सेवा गर्नु त्यसलाई जीवनमा पहिलो स्थान दिनु हो र त्यो प्राथमिकताअनुसार जीवनलाई व्यवस्थित गर्नु हो। कुनै कुराको आराधना गर्नु नै त्यसमाथि भरोसा गर्नु र त्यसलाई आदर दिनु हो,जुन केवल परमेश्वरको हो। मूर्तिपूजाले सृष्टि गरिएका वस्तुहरूबाट सन्तुष्टिको अपेक्षा गर्दछ, जुनचाहिँ सृष्टिकर्ता परमेश्वरले मात्र दिनसक्नुहुन्छ। आधुनिक भौतिकवाद मूर्तिपूजा हो। एक व्यक्तिले परमेश्वरको आराधना कम नगरी भौतिक कुराहरूको सम्मान गर्न सक्दैन।
►परमेश्वरको ज्ञानप्रति अन्यजातिहरूले कसरी प्रतिक्रिया जनाए?
(1:24) यो पदले 1:26-27 मा विस्तारपूर्वक वर्णन गरिएको विषयवस्तुको परिचय दिन्छ। सृष्टिप्रतिको मूर्तिपूजक प्रेमले स्वभाविकरूपमा अनैतिकतातिर डोर्याउँछ, जसमा यौनजन्य पाप पनि सामेल छ। यौनजन्य पापले शारीरिक इच्छाहरूलाई प्राथमिकता दिन्छ तर शरीरलाई अनादर गर्छ किनभने शरीर पवित्र हुनुपर्छ र परमेश्वरको सेवामा समर्पित हुनुपर्छ।
(1:26-27) अनैतिकता आफैलाई महिमा दिने र स्वार्थी चाहनालाई राज गर्न दिने स्वभाविक परिणाम थियो। जब इच्छाहरूले राज गर्छन्, तिनीहरू कुरूप हुन्छन्। कसैले कसैलाई राम्रोसँग प्रेम गर्न सक्दैन वा कुनै पनि कुराको उचित रूपमा आनन्द लिन सक्दैन जबसम्म उसमे परमेश्वरलाई सर्वोच्च प्रेम र आदर गर्नसक्दैन। 1:24 ले यो विषयको परिचय दिन्छ र अनैतिकता र परमेश्वरको अस्वीकृति बीचको सम्बन्धलाई देखाउँछ।
सबै पाप परमेश्वरले बनाउनुभएको असल कुराको विकृति हो; यौनजन्य विकृति केही पापहरूभन्दा बढी स्पष्ट छ। मानिस जति परमेश्वरको मार्गबाट टाडा जान्छ, उ त्यति नै उ क्रूर, निर्दयी अनि विकृत बन्छ। कतिले सोंच्छन् कि त्यहाँ साधारण संस्कृतिहरू छन् जसले राम्रो जीवन बिताउँछन् किनकि तिनीहरू कुनै सभ्यताद्वारा भ्रष्ट पारिएका छैनन्। सत्यतथ्य यो हो कि पौराणिक संस्कृतिका अधिकांश मानिसहरू मृत्यु र अलौकिकताको डरमा बाँच्छन्, धेरैजसो क्रूर संस्कारहरू अभ्यास गर्छन् र अधिकांश मानिसहरू विकृत, पापमय जीवनशैलीको परिणाम भोग्छन्।
मानिसलाई परमेश्वरसँगको सम्बन्धमा मानिसको रूपमा काम गर्न सृष्टि गरिएको हो। यदि उ परमेश्वरबाट अलग हुन्छ भने, उ वास्तवमा मानवताको उद्देश्य जस्तो हुनुपर्छ त्यस्तो हुँदैन। उ आफ्नै आदर्शबाट पनि कम हुन्छ। परमेश्वर बिना पुरुषत्व र नारीत्वको आदर्श पनि एक व्यक्तिको लागि प्राप्त गर्न नसकिने हुन्छ। यौनजन्य विकृति सबैभन्दा स्पष्ट चरम हो, तर हरेक व्यक्ति अन्य तरिकामा पनि वास्तविक मानवताको क्षतिबाट प्रभावित हुन्छ। परमेश्वरलाई परमेश्वरको रूपमा बहिस्कार गर्नु भनेको मानिसलाई मानिसको रूपमा बहिस्कार गर्नु हो। परमेश्वरको आराधना गर्नु इन्कार गर्नु भनेको तपाईंको आफनै मानवतालाई बहिस्कार गर्नु हो।
विडम्बनाको कुरा, जसले सृष्टि गरिएको कुराको आराधना गरे, तिनीहरूले प्रकृतिको विरुद्ध गएर प्राणीलाई समेत विकृत गरे। यदि मानिसहरूले आफूलाई आफ्नो स्वभाविक पच्छाहरूद्वारा राज गर्ने अनुमति दिन्छन् भने, ती इच्छाहरूले चरम, अस्वभाविक रूपहरू लिन्छन्।
यो विडम्बना हो कि यदि कसैले परमेश्वरलाई भन्दा बढी शरीरको चाहनालाई सम्मान गर्छ भने उसले अन्तत: शरीरको पनि अनादर गर्छ। यौनजन्य पापमा मानिसले शरिरको जुन अङ्गको पूजा गर्छ, त्यही अङ्गलाई त्यतिबेला बोलेर प्रयोग गर्छन् जतिबेला तिनीहरूले कुनै आश्लील वा अपशब्द भन्न खोज्छन्।
प्रायजसो, महिलाहरू पुरुषहरूजस्तो यौनजन्य अनैतिकता र विकृतिको लागि आफूलाई सुम्पन हतार गर्दैनन्। तिनीहरू सहज प्रकारले आफ्नो परिवारको अखण्डतालाई रक्षा गर्न चाहन्छन्। महिलाहरूले यो महान दुष्कर्म गर्दा यो देखिन्छ कि तिनीहरूको समाजको भ्रष्टता पूरा भएको छ।
► तपाईंको समाजमा प्रचलित विकृतिका रूपहरू के के हुन्
जुन पापपूर्ण अवस्थामा तिनीहरू पसे वास्तवमा तिनीहरूलागि त्यही उचित थियो। पापपूर्ण अवस्था पापको लागि उपयुक्त सजाय हो, यसको बढ्दो, असन्तुष्ट चाहनाहरू, र व्यभिचारको परिणाममा दु:ख र शर्मको कारण हो।
“यदि मानिसको पापको जरा धार्मिक विकृति हो भने, फल
नैतिक भ्रष्टाचार हो।”
- विलियम ग्रेटहाउस,
रोमीहरूमाथि टिप्पणी
समलैंगिक पापप्रति ख्रीष्टियान प्रतिक्रिया
बाइबलले “प्रेमिलो, प्रतिबद्ध समलैंगिक सम्बन्धहरू” को वैधतालाई मान्यता दिन्छ भन्ने कुनै प्रमाण छैन।[1] यदि यस्तो मुद्दा थियो भने, हामी बाइबलमा कही न कही यसबारे सिकाइएको आशा गर्नसक्छौं जसरी अन्य प्रकारका मानव सम्बन्ध (जस्तै पति-पत्नी, अभिभावक र छोरा-छोरी, नागरिक र प्रशासक) विषयमा सिकाइन्छ। यसको सट्टा, बाइबल कुनै यस्तो खण्ड वा पद छैन जसले यो बताउँछ कि यस्तो सम्बन्ध परमेश्वरको नजरमा स्वीकार्य हुने सम्भावनालाई संकेत गर्छ।
यो प्रलोभन, दुई जना मानिस बीचको प्रेम र आकर्षणको भावनाहरू, अथवा हाम्रो आत्मामा संघर्ष होइन जुन शास्त्रमा निषेध गरिएको छ। वास्तवमा, परमेश्वरले हामीलाई बताउनुहुन्छ कि उहाँ दुखित, भ्रमित र प्रलोभनमा परेका मानिसहरूको नजिक हुनुहुन्छ। पाप तब हुन्छ जब कामुक विचारहरूलाई स्वागत गर्छौं (याकूब 1:15) वा हामी परमेश्वरको परियोजनादेखि बाहिरको व्यवहारमा संलग्न हुन्छौं।
समलैंगिकताप्रति मण्डलीको उचित प्रतिक्रियामा दयालु प्रेम, कोमल सत्य, र प्रमाणिक विनम्रता समावेश गर्नुपर्छ। अरूहरूलाई प्रेम गर्नु भनेको तिनीहरूको हेरचाह गर्नु र ख्रीष्टको प्रेममा बढाउनु हो, चाहे तिनीहरू आफ्नो पापबाट फर्कून् वा नफर्कून्। अरूहरूलाई प्रेम गर्नुको अर्थ यो पनि हो कि तिनीहरूलाई हामीले ख्रीष्टको आँखाले हेर्नु, ठीक त्यसरी नै जसरी उहाँले हाम्रो पापहरूलाई हेर्नुभयो (अहिले पनि हेर्नुहुन्छ)। प्रायजसो, यो एक व्यक्तिसँगको हाम्रो सम्बन्ध हो जसले सुरुमा त्यो व्यक्तिलाई ख्रीष्टसँगको बचाउने सम्बन्धमा मार्गदर्शन गर्दछ। त्यसपछि, यो पवित्र आत्माको काम हो, जसले साधारणत: स्थानीय मण्डलीभित्र पूर्णतामा पुनर्सथापित गर्ने काम गर्छ।
तैपनि, कसैलाई प्रेम गर्नु भनेको सत्य बोल्नु पनि हो, चाहे यसको सामना शत्रुता र उदासीनतासित होस्। परमेश्वरको वचन साझा गर्नाले पुरुष वा महिलालाई जीवनभरको खराब निर्णय, भ्रम, पाप र पीडाबाट बचाउन सकिन्छ। सबैजना बाइबलीय उपदेशहरू स्वीकार गर्न तैयार छैनन्। सत्यको बारेमा हाम्रो छलफललाई धैर्य र नम्रताले मार्गदर्शन गर्नुपर्दछ। हामीले खुल्ला हृदयले सुन्नुपर्छ र प्रेम र विवेकको साथ पवित्रशास्त्र प्रयोग गर्नुपर्छ। हामीले व्यक्तिको लागि हाम्रो वास्तविक हेरचाह देखाउनैपर्छ, ताकि तिनीहरूले हाम्रो सुझावलाई कदर गर्नेछन्।
ख्रीष्टियान सन्देशको निम्ति वास्तविक नम्रता आवश्यक छ। नम्रता तब आउँछ जब हामी परमेश्वरसित बातचित गर्छौं र समय व्यतित गर्छौं; आफ्नो पापलाई थाह गरेर, स्वीकार गर्दै र त्यस पापबाट फर्कन्छौं; र क्रूसमा व्यक्त गरिएको परमेश्वरको गहिरो प्रेमलाई अगाल्दै जान्छौं। हामीले डर, क्रोध र घृणाको सट्टा प्रेम र करुणालाई आफ्नो उद्देश्य बनाउनुपर्छ।
(1:28) तिनीहरूले आफ्नो सोंच र जीवनशैलीमा परमेश्वरलाई अस्वीकार गरेको कारणले तिनीहरूको विचारशैली र दर्शनहरू तिनीहरूको व्यवहारजस्तै खराब भए। त्यहाँ ग्रीक भाषामा शब्दहरूको खेल छ जसले देखाउँछ कि तिनीहरूले परमेश्वरलाई त्यागेपछि, परमेश्वरले तिनीहरूलाई एउटा यस्तो मनसित छोडिदिनुभयो जुन उहाँले अस्वीकार गर्नुभयो – अर्थात, प्रभाव पार्न बन्द गरिदिनुभयो। परमेश्वरले मानिसलाई स्वतन्त्र इच्छा दिनुभएको छ र यसलाई सञ्चालन गर्न अनुमति दिनुभएको छ। केही समयपछि, परमेश्वरले उहाँलाई पुर्णरूपले अस्वीकार गर्नेहरूलाई उहाँको प्रभावबाट मुक्त हुन अनुमति दिनुहुन्छ। तब तिनीहरूका मनहरूले परमेश्वरद्वारा निर्बाध गरिएका भ्रष्टताको मार्ग पछ्याउँछन्।
परमेश्वरले तिनीहरूलाई त्याग्नुभएको कथन (1:24, 26, 28) ले यो संकेत गर्दछ कि यी मानिसहरू व्यवहारिक रूपममा निराश अवस्थामा थिए र तिनीहरूले उल्टाउनै नसक्ने छनौटहरू गरेका थिए (2 थेसलोनिकी 2:10-12 सँग तुलना गर्नुहोस्)।
विकृतिले मानिसको मन र सोचमा नकारात्मक असर पारेको छ। भ्रष्टताले मानिसहरूलाई बाधा पुर्याउँछ जब तिनीहरूले नैतिक निर्णयहरू गर्नुपर्छ। यसले मानिसहरूलाई तिनीहरूको पापपूर्ण इच्छा र कार्यहरूको रक्षा गर्न प्रेरणा दिन्छ।
► आफ्ना पापहरूको लागि मानिसले बनाउने अनुचित बहानाका केही उदाहरणहरू केके हुन्?
(1:29-31) यी पदहरूमा हामी भयानक पापहरूको सूची पाउँछौं। संस्कृति र सरकारले यी प्रवृत्तिलाई रोक्छ, तर ती सबै पापी मानिसको हृदयमा अवस्थित छ। यदि सांस्कृतिक र सरकारी प्रतिबन्धहरू हटाइयो भने, धेरै मानिसहरू चाढैं नै जङ्गली भएर जानेछन्।
यहाँ सूचीबद्ध पापीहरूको पाप र विवरणहरू सबै एक-अर्काबाट पूर्णरूपमा भिन्न छैन। यहाँ प्रत्येकले लागू गरेका केही विशेष विचारहरू छन्।
दुष्टता – यो गलत कार्यहहरू र गलत चरित्रको लागि प्रयोग गरिने सामान्य शब्द हो।
लोभ – ग्रीक लेखहरूमा आक्रमक स्वार्थलाई बुझाउन धेरै प्रयोग गरिएको शब्द हो यो। यसले एक आफ्नो स्वार्थ पुरा गर्नको लागि अरूको हितलाई कुल्चीमिल्ची गर्ने व्यक्तिको बारेमा वर्णन गर्दछ। यसमा आफ्नो फाइदा वा मुनाफाको लागि आफ्नो अधिकारलाई गलत प्रयोग गर्ने कुरा पनि समावेश छ।
डाह – अर्कोलाई प्राप्त भएको सफलतामा, सम्मानमा, सम्बन्धमा, वा सम्पत्तिमा चित्त दुखाउँछ र असन्तुष्ट हुन्छ।
इबी – अरूकोमा जे छ त्यसलाई लिने चाहना, आफूले मन पराएको कुरा जसकोमा छ त्यससित रिस गर्नु।
हत्या – गैरकानुनी तरिकाले कसैलाई मार्नु, जुनचाहिँ घृणा र आक्रोशको चरम परिणाम हो।
झैँझगड़ा – झगडा, सम्भवत: प्रतिद्वान्द्वीको कारण।
छल – जालसाजी, प्रलोभन दिएर फसाउने तरिका।
बदख्वाइँ – घृणित, बिना कारण अरूलाई चोट पुर्याउन तयार।
कुरौटे – गुप्तमा बदनाम गर्ने वा कुरा काट्नेहरू।
बदनाम गर्ने – बदनाम गर्ने वा कुरा काट्नेहरूले अरूको बारेमा खराबी वा झुटो बोलेर तिनीहरूको प्रतिष्ठा बर्बाद गर्छन्।
परमेश्वरलाई घृणा गर्ने – तिनीहरूले परमेश्वरलाई शत्रुको रूपमा हेर्छन् किनकि परमेश्वरको व्वस्थाले तिनीहरूलाई दोषी ठहराउँछन्।
ढीट – यो व्यक्ति घमण्डी र क्रूर छ। यो विशेषता भएको एक कम्जोर व्यक्ति जसले आदर पाउनको निम्ति अरूको अपमान गर्छ। यो विशेषता भएको शक्तिशाली व्यक्ति अरूप्रति निर्दयी र क्रूर हुन्छ अनि उसलाई आदर नगर्ने व्यक्तिसित प्रतिशोध।
अहङ्कारी – अहङ्कारी हुनु भनेको आफैलाई उच्चमा देख्नु हो। यो सबै पापको जड हो किनकि यसले मानिसलाई आफ्नो सृष्टिकर्ताको अवहेलना गर्दै आफ्नो जीवनलाई आफै अधिकार गर्ने कुरामा उत्प्रेरित गर्दछ।
अभिमानी – आफैलाई उचाल्ने। यी मानिसहरू स्व-केन्द्रित हुन्छन्। यदि यहाँ अन्य लक्षणहरू विचार गरिन्छ भने, तिनीहरूले आफूलाई अरूहरूको खर्चमा र अरूहरूलाई हानी पुर्याउने कुरामा धोका दिएर आफूलाई माथि उचाल्ने काम गर्छन्।
दुष्ट कुरा रचिहिँड्ने – तिनीहरू दुष्ट र हानिकारक कुराहरूको विकासमा रचनात्मक हुन्छन्।
आमा-बुबाको आज्ञापालन नगर्ने – परिवारको विनाश पापको परिणाम हो र यसले समाजको विघटनतिर डोर्याउँछ। पापी स्वभाव त्यस बालकमा चाँढो देखापर्दछ जसले आफूले जानेको पहिलो अख्तियारको विरुद्धमा विद्रोह गर्दछ।
मूर्ख – नैतिक मूल्यहरूप्रति सचेत छैन। यो व्यक्ति नैतिकतामा आधारित तर्कद्वारा मनाउन सकिँदैन। यो बुद्धिको कमी होइन, तर अपाङ्ग नैतिक भावना हो, जुनचाहिँ दुष्ट हृदयको परिणाम हो।
विश्वासघाती – भरोसा गर्न नसकिने। नैतिकता र अख्तियार छोड्नु, पूर्ण सत्यलाई घृणा गर्नु जो तिनीहरूको लागि झुक्ने पूर्ण सत्यलाई घृणा गर्नु र आफ्नो वाचा तोड्दै, प्राथमिकता दिँदै।।
निर्दयी – सुरक्षात्मक र मायालु प्रवृत्तिको विपरित। आफ्नो इच्छा पूरा गर्न तिनीहरूले आफ्नो परिवारलाई छोड्न सक्छन्। प्रेमको आधारभूत प्रवृत्ति बद्लिनसक्छ। तिनीहरूले आफ्नो सुरक्षामा रहेका मानिसहरूलाई दुर्व्यवहार गर्न सक्छन्।
क्रूर – दया नभएको। तिनीहरू दयाबिना पीडा हेर्न सक्छन्। तिनीहरूको कार्यले अरूहरूलाई पुर्याउने कष्ट देखेर पनि तिनीहरू दुष्ट दिशाबाट हट्दैनन्। आफ्नै गल्तीले भोग्नुपरेको पीडा देखेर तिनीहरू पछुतो गर्दैनन्।
(1:32) तिनीहरूलाई थाह छ कि यी कुराहरू गलत हुन्। नास्तिकहरूले आफूसँग भएको सत्यलाई विश्वासपूर्वक पछ्याउँदैनन्। तिनीहरूलाई थाह छ कि तिनीहरू दोषी छन्। तैपनि, तिनीहरूले पापको पछि लाग्ने मात्र होइन, तिनीहरूले अरूहरूको पापलाई स्वीकार गर्छन्। समाजको नैतिकता यति तल झरेको छ कि आचरणको नयाँ मानकले नैतिकतालाई अनुमोदन गर्दछ।
जसले पापलाई पूर्णरूपमा स्वीकार गर्छ त्सस व्यक्तिले आफुलाई पापीको रूपमा स्वीकार गर्छ र अरूलाई पनि पापीको रूपमा स्वीकार गर्दछ। उसले अरूको पापद्वारा मनोरञ्जन गर्नसक्छ। रोमी अखडामा मानिसहरू हत्यामा रमाए। आधुनिक समयमा धेरै मानिसहरू हिंसा र अनैतिक यौनजन्य कार्यहरू। तिनीहरूले ती मानिसहरूको प्रशंसा गर्छन् जो पाप गर्नमा उत्कृष्ट हुन्छन्।
“पापले मानिसको व्यक्तित्वलाई पुर्याउने पूर्णक्षति बुझ्न गाह्रो छ। इच्छाशक्तिको कमजोरी र उत्तेजित भावनाहरूको कोलाहलभन्दा बाहिर एउटा मन छ जुन सुस्त पारिएको छ र इच्छाको दास बनाइएको छ। यसलाई कारण दिनुको सट्टा बहाना बनाउनु सिकाइएको छ। यसले पहिले निर्णय गर्छ, र पछि सोंच्दछ। यसले कारण दिनुको सट्टा तर्कसंगत बनाउँछ। यसले कहिलेकाहीँ सत्य बोल्छ तर निरन्तर रूपमा होइन। यसमा भर पर्न सकिँदैन... यसले सत्यलाई झूटको लागि, ईश्वरलाई मूर्तिपूजाको लागि, बुद्धिलाई मूर्खताको लागि साट्यो...”
- विल्बर डेटन
[2]केही ग्रीक पाण्डुलिपिहरूमा यो शब्द यस सूचीमा छैन।
[3]धेरै ग्रीक पाण्डुलिपिहरूमा यो शब्द यस सूचीमा छैन।
के सबै अपरिवर्तित पापी यस्तै हुन्छ?
हरेक व्यक्तिले सक्रियरूपमा यी पापहरू गरेका छैनन्। यद्यपि, पतन भएका मानव जातिमा यी सबै पापहरूको प्रवित्ति हुन्छ, र यदि तिनीहरू फरक परिस्थितिमा थिए भने हेरक व्यक्तिले यीमध्ये कुनै पनि पाप गरेको हुनसक्छ।
सेनेका एकजना रोमी दार्शनिक र सरकारी अधिकारी थिए जो पावलको समयमा बाँचिरहेका थिए। तिनी ख्रीष्टियान थिएनन अनि बाइबलसित परिचित पनि थिएनन्, तर तिनले हरेक पापको सम्भाव्यता हरेक व्यक्तिमा छ भनी समीक्षा गरे। तिनले भने, “सबै अवगुणहरू सबै मानिसहरूमा अवस्थित छ, यद्धपि, सबै अवगुणहरू हरेक व्यक्तिमा प्रमुखरूपमा देखा पर्दैनन्।” [1] हाम्री हेर्नसक्छौं कि अपरिवर्तित पापीको बारेमा पावलको व्याख्या प्रत्येक समय अवधि र हरेक संस्कृतिमा लागू हुन्छ।
सरकार र समाजको मापदण्डले व्यक्तिको धेरै खराब प्रवृत्तिलाई रोक्दछ। धेरै मानिसहरू आफ्नो हृदय र मनमा पापपूर्ण इच्छाहरू पूरा गर्छन् जसलाई तिनीहरूले खुल्लमखुल्ला देखाउन चाहदैनन् किनकि तिनीहरूले अरूहरूको अनुमोदन चाहन्छन्। यस खण्डमा सूचीबद्ध पापहरूप्रति मानिसहरूको गोप्य प्रवृत्ति हुन्छ र तिनीहरू हृदयमा यी पापहरूको दोषी हुन्छन्।
[1]F.F. Bruce द्वारा उद्घृत गरिएको, The Epistle to the Romans, in Tyndale Bible Commentaries (Grand Rapids: William B. Eerdmans Pub. Co., 1963), 87.
खण्डको लागू
यो खण्ड मुख्यरुपमा सुसमाचार नसुनेका समाजका मानिसहरूको विवरण हो। तिनीहरूले सृष्टि र तिनीहरूको अन्तस्करणमा प्रकट भएको परमेश्वरको ज्ञानलाई बहिस्कार गरे। त्यसपछि तिनीहरूले आराधना गर्न अरू केही फेला पारे जसले तिनीहरूलाई आफ्नो पापी स्वभावका इच्छाहरू पुरा गर्ने अनुमति दियो, तिनीहरूको इच्छा विकृत भयो। यस खण्डले ती मानिसहरूलाई सुसमाचार किन चाहिन्छ भनेर बताउँछ।
यो खण्ड सबैको लागि महत्वपूर्ण छ, किनकि यसले धेरै प्रकारका पापहरूको सूची दिएको छ र देखाएको छ कि परमेश्वरले सबै पापहरूलाई घृणा गर्नुहुन्छ। यो चेताउनी पनि हो कि सबै पापमा पापीलाई थप दुष्टतामा लैजाने प्रवृत्ति हुन्छ। सुसमाचार सुन्ने र यसलाई बहिस्कार गर्ने मानिसहरू सही र गलत बुझाइ गुमाउने एउटै प्रक्रियाबाट गुज्रने खतरामा छन्।
यो खण्डले हामीलाई हाम्रो आफ्नै समाजमा देख्नसक्ने अवस्थाहरूको बारेमा बताउँछ, यद्धपि त्यहाँ सुसमाचार प्रचार गरिएको छ। एउटा संस्कृतिले परमेश्वरको स्तरलाई बेवास्ता गर्दै, निश्चित पापहरूलाई स्वीकार्य बनाउने तरिका खोज्छ।
गवाही
शमागीको जन्म पूर्वी यूरोपको जर्जियामा भएको थियो। शमागीका आमाबुबा नास्तिक थिए, र उनी बाल्यकालमा मण्डली गएनन्। उनको नाउँको अर्थ “छिटो रीस गर्ने” हो अनि यो नाउँ उनको स्वभावसित मेल खान्छ। युवावस्थामा उनी बारम्बार समस्यामा परे। अपराधमा दोषी ठहरिएपछि उनलाई दुई वर्षको लागि रुसको झ्यालखानमा पठाइयो। रुसको विरुद्ध जर्जियाको विद्रोहमा उनी मुक्त भए र जर्जिया फर्किए।
जाँड-रक्सीले शमागीको कलेजो नराम्रोसँग बिग्रेको थियो र डाक्टरले उनलाई लामो समयसम्म बाँच्न नसक्ने बताए। शमागी आफ्नो जीवनमा दु:खी भए र परमेश्वरलाई चिन्ने इच्छा गर्न थाले। उनले केही ख्रीष्टियान साथीहरूलाई मण्डलीमा लिएर जाने आग्रह गरे। सुरुमा, तिनीहरूलाई उनलाई भने कि मण्डली उनको लागि होइन। पछिबाट उनका साथीहरूले यदि उनले मण्डलीमा बहस नगर्ने वाचा गर्यो भने मात्र मण्डलीमा लिएर जानसक्ने बताए। उनी मण्डलीमा गए र 22 वर्षको उमेरमा उनले उद्धार पाए। उनको जीवन पूर्णरूपमा परिवर्तन भयो।
शमागी कलेजोको रोगबाट निको भयो। उनले आफ्नो रोगको कारण विवाह गर्नसक्ने आशा गरेको थिएनन्, तर परमेश्वरले उनलाई नयाँ भविष्य दिनुभयो। अहिले उनको श्रीमति र तीन जना छोरीहरू छन्। शमागीले पास्टर र सेवकाई प्रशिक्षकको रूपमा सेवा गर्छन्।
पाठ 2 का समीक्षा प्रश्नहरू
(1) मानिसहरूले कुन माध्यमबाट सामान्य प्रकाश पाउँछन् ?
(2) पवित्रशास्त्रविना पनि सबै मानिसहरूलाई परमेश्वरको बारेमा के थाहा छ?
(3) विशेष प्रकाश भनेको के हो?
(4) मूर्तिपूजा के हो?
(5) भ्रष्टताले मानिसहरूको सोचाइलाई असर गर्ने दुई तरिकाहरू बताउनुहोस्।
पाठ 2 को कार्य
सुसमाचार नसुनेर पनि परमेश्वरलाई अस्वीकार गर्ने समाजको अवस्था वर्णन गर्नुहोस्। तिनीहरूसित परमेश्वरको कस्तो ज्ञान थियो? तिनीहरूको सोचाइको के भयो? तिनीहरूको दुष्टता वर्णन गर्नुहोस्। किन सबैले एउटै किसिमको दुष्टता देखाउँदैनन्, सो वर्णन गर्नुहोस्।
SGC exists to equip rising Christian leaders around the world by providing free, high-quality theological resources. We gladly grant permission for you to print and distribute our courses under these simple guidelines:
No Changes – Course content must not be altered in any way.
No Profit Sales – Printed copies may not be sold for profit.
Free Use for Ministry – Churches, schools, and other training ministries may freely print and distribute copies—even if they charge tuition.
No Unauthorized Translations – Please contact us before translating any course into another language.
All materials remain the copyrighted property of Shepherds Global Classroom. We simply ask that you honor the integrity of the content and mission.