► बचाउने विश्वास भनेको के हो? यदि कुनै व्यक्तिसित बचाउने विश्वास छ भने, उसले विश्वास गर्नुको अर्थ के हो?
विश्वासीले के विश्वास गर्छ?
(1) उसले विश्वास गर्छ कि आफूलाई धर्मी ठहराउन उसले केही गर्न सक्दैन।
“किनभने अनुग्रहबाट विश्वासद्वारा तिमीहरूले उद्धार पाएका छौ— र यो तिमीहरू आफैबाट होइन, यो त परमेश्वरको वरदान हो— कर्महरूद्वारा होइन, नत्रता मानिसले घमण्ड गर्नेछ” (एफिसी 2:8-9)।
उसले महसुस गर्छ कि उसले गर्नसक्ने कुनै पनि कर्मले आंशिकरूपमा पनि उसलाई मुक्तिको योग्य बनाउने छैन।
(2) उसले विश्वास गर्छ कि ख्रीष्टको बलिदान उसको क्षमादानको लागि पर्याप्त छ।
“उहाँ हाम्रा पापका निम्ति प्रायश्चित हुनुहुन्छ, र हाम्रा निम्ति मात्र होइन, तर सारा संसारका पापको निम्ति पनि” (1 यूहन्ना 2:2)।
प्रायश्चित भनेको हाम्रो क्षमादान सम्भव तुल्याउने बलिदान हो।
(3) उसले विश्वास गर्छ कि परमेश्वरले उसलाई केवल विश्वासको सर्तमा क्षमा गर्नुहुन्छ।
“यदि हामीले आफ्ना पापहरू स्वीकार गर्यौं भने उहाँले हाम्रा पाप क्षमा गर्नुहुन्छ, र सबै अधर्मबाट हामीलाई शुद्ध पार्नुहुन्छ, किनकि उहाँ विश्वासयोग्य र धर्मी हुनुहुन्छ” (1 यूहन्ना 1:9)।
यदि उसलाई लाग्छ कि अन्य सर्तहरू छन् भने, उसले अनुग्रहबाट पूर्णरूपले नभई आंशिकरूपमा कामहरूद्वारा मुक्ति पाउने आपेक्षा गर्दछ।
भाग 3 मा तीन खण्डहरू छन्। पहिलो खण्ड (3:21-31) ले देखाउँछ कि मानिस परमेश्वरले बनाउनुभएको तरिकाद्वारा धर्मी ठहरिनुपर्छ, किनकि मानिसले गरेको कामको आधारमा धर्मी ठहरिन सक्दैन। दोस्रो खण्ड (रोमी 4) ले अब्राहाम र दाऊदलाई धर्मी ठहराउने विश्वासको उदाहरणको रूपमा प्रयोग गर्दछ, जसले यो सिद्धान्त नयाँ होइन भनेर देखाउँछ। तेस्रो खण्ड (रोमी 5) ले ख्रीष्टको बलिदानले यस प्रकारको धर्मी ठहर कसरी सम्भव बनाउँछ भनेर वर्णन गर्दछ। यस पाठमा हामी यी तीनैवटा खण्डहरूको अध्ययन गर्नेछौं।
3:21-5:21 को मुख्य बुँदा
मानिसको मुक्तिको लागि परमेश्वरको प्रबन्ध ख्रीष्टको बलिदान हो, जसले विश्वासद्वारा अनुग्रहबाट धर्मी ठहराउनुहुन्छ।
खण्ड अध्ययन – रोमी भाग 3, खण्ड 1
3:21-31को मुख्य बुँदा
परमेश्वरको धर्मीकरणको माध्यम विश्वासद्वारा अनुग्रहबाट हो, र कामहरूद्वारा धर्मी ठहराउनु असम्भव छ।
3:21-31 को सारांश
सधैँ सबै व्यवस्था पालन गर्ने आधारमा कोही पनि धर्मी नठहरिएका हुनाले, धर्मीकरणको अन्य कुनै माध्यम खोज्नुपर्छ। दुविधा (3:26 मा प्रस्तुत गरिएको) भनेको परमेश्वरले पापीलाई धर्मी ठहराउनुहुन्छ र अझ पनि धर्मी न्यायकर्ता बन्नुहुन्छ। दुविधा प्रायश्चितद्वारा समाधान हुन्छ; परमेश्वरले क्षमाको आधारको रूपमा बलिदान प्रबन्ध गर्नुभयो। विश्वास गर्नेलाई उहाँले क्षमा गर्नसक्नुहुन्छ, तर बलिदानले देखाउँछ कि परमेश्वरले पापलाई गम्भीर ठान्नुभयो।
► विद्यार्थीले समूहको लागि रोमी 3:21-31 पढ्नुपर्छ।
हरेक पदहरूको नोटहरू
(3:21) परमेश्वरलाई स्वीकार हुने धार्मिकता व्यवस्था बिना नै पुरा हुन्छ। प्रेरितले भन्छन् कि यो विचार नयाँ होइन, तर व्यवस्था र अगमवक्ताहरूद्वारा सिकाइएको हो। “तर अब” ले खीष्टमा सुसमाचारको पूर्ण प्रकाशनको समयलाई जनाउँछ जस्तो कि अर्को पदले भन्छ। (3:25 पनि हेर्नुहोस्)।
(3:22-23) यहूदी र अन्यजातिहरूलाई बचाउने तरिकामा कुनै भिन्नता छैन किनकि तिनीहरू समान रूपमा दोषी ठहरिएका छन्। प्राचीन इस्राएलमा पनि, जब तिनीहरुले परमेश्वरले दिनभएको रीतिथितिहरु पालना गर्थे, बलिदान र रीतिथितिहरूद्वारा कोहि पनि कहिल्यै बचाइएन। जो कोही बचाइएको थियो उसले विश्वासद्वारा अनुग्रह प्राप्त गरेर बचाइएको थियो। (3:30 लाई हेर्नुहोस्।)
सबैको लागि उद्धार विश्वासद्वारा हुन्छ। यहाँ “सबै” शब्द धेरै पटक प्रयोग गरिएको छ। जसरी सबैले पाप गरेका छन्, त्यसरी नै विश्वास गर्ने सबैले उद्धार पाउन सक्छन्। “विश्वास गर्नाले सबैमाथि” वाक्यांशले प्रस्तावको खुलापनलाई जोड दिन्छ, जसरी “विश्वासद्वारा नै आउँछ” वाक्यांशले विश्वासको अवस्थालाई जोड दिन्छ (1:17)।
(3:24) अनुग्रह हाम्रो लागि नि:शुल्क छ किनभने येशूले छुटकाराको मूल्य तिरिदिनुभयो।
(3:25) पहिलेका पापहरू ख्रीष्ट आउनुअघि गरिएका पापहरू हुन्। तिनीहरूको प्रायश्चित धार्मिक अनुष्ठानबाट भएको थिएन, तर ख्रीष्टको मृत्यद्वारा गरिएको थियो, यद्यपि पाप गरिएको वेला येशूको मृत्यु भविष्यमा थियो। परमेश्वरले ख्रीष्टको प्रायश्चितको आधारमा तिनीहरूलाई क्षमा गर्नुभयो, किनकि यो सुरुदेखि नै योजना गरिएको थियो। (3:21लाई हेर्नुहोस्)
प्रायश्चितले देखायो कि परमेश्वर धर्मी हुनुहुन्थ्यो, यद्यपि उहाँको न्याय तुरुन्तै थिएन। यसले देखायो कि परमेश्वरले पापलाई गम्भीरतापूर्वक लिनुहुन्छ।
(3:26) यो पदले ठूलो दुविधाको समाधान देखाउँछ: परमेश्वर कसरी न्यायी हुन सक्नुहुन्छ र पापीलाई कसरी धर्मी ठहराउन सक्नुहुन्छ? प्रायश्चितले बाटो प्रदान गर्यो। परमेश्वरले क्षमाको आधारको रूपमा बलिदान प्रबन्ध गर्नुभयो। विश्वास गर्नेलाई उहाँले क्षमा गर्नसक्नुहुन्छ, तर बलिदानले देखाउँछ कि परमेश्वरले पापलाई गम्भीर ठान्नुभयो।
► यदि परमेश्वरले प्रायश्चित बिना मानिसहरूलाई क्षमा गर्नुभएको भए कस्तो समस्या निम्त्याउने थियो?
परमेश्वर ब्रह्माण्डको धर्मी न्यायकर्ता हुनुहुन्छ। उहाँले पाप यति गम्भीर छ कि यसको निम्ति अनन्त दण्ड छ भनी घोषणा गर्नुभयो। पापको कारण मानिसहरू परमेश्वरबाट अलग भएका छन्। परमेश्वर ब्रह्माण्डको लागि अन्तिम न्यायको निम्ति जिम्मेवार हुनुहुन्छ, असल गर्ने मानिसहरूको लागि इनाम अनि गलत गर्नेहरूको लागि दण्ड।
कुनै पनि आधारबिनाको क्षमादानले परमेश्वरको पहिचानसित द्वन्द्व गर्छ । पापप्रतिको उहाँको प्रतिक्रियामा असंगत देखिने भएकोले यसले उहाँलाई अनादर गर्नेछ। यदि उहाँले केही मानिसहरूलाई दण्ड दिनुभयो र अरूलाई क्षमा गर्नुभयो भने उहाँ अन्यायपूर्ण देखिनुहुन्छ। यो सानो समस्या होइन, किनकि सम्पूर्ण ब्राहमण्ड परमेश्वरको महिमा गर्न अवस्थित छ। यदि मानिसहरूले उहाँलाई न्यायी ठान्दैनन् भने कसरी इमानदारीपूर्वक परमेश्वरको महिमा गर्न सक्छन्?
समाधान यस्तो हुनुपर्थ्यो जसले पापलाई गम्भीर देखाउँछ, क्षमादानको कारण प्रबन्ध गर्छ, र परमेश्वरको स्वभाव प्रदर्शन गर्छ; ताकि मानिसहरूले परमेश्वरलाई पवित्र र न्यायपूर्ण रूपमा सम्मान गर्न जारी राख्न सकून्।
प्रायश्चितले त्यस आवश्यकतालाई पूरा गर्छ। क्रूसमा येशूको बलिदानले पाप गम्भीर छ भनी देखायो। पश्चात्तापको आवश्यकताले पापीलाई आफ्नो पापको दुष्टता स्वीकार गर्न बाध्य बनाउँछ। सबैका लागि उद्धारको निशुल्क प्रस्तावले छनौटलाई व्यक्तिगत बनाउँछ, ताकि परमेश्वरको लागि यो उचित हुन्छ कि जसले आफनो पाप स्वीकार गर्छ त्यसलाई उहाँले क्षमा गर्नुहुन्छ र जसले स्वीकार गर्दैन त्यसलाई उहाँले क्षमा गर्नुहुन्न।
पश्चात्ताप नगर्नेहरूलाई उहाँले किन क्षमा गर्नुहुन्न? पश्चत्ताप नगरी पाप गरिरहने व्यक्तिलाई क्षमा गर्नुले प्रायश्चितको उद्देश्यलाई असफल पार्नेछ: परमेश्वरको न्याय देखाउँदै क्षमा प्रदान गर्नु।
(3:27) उद्धार प्राप्त गर्न स्व-प्रशंसा गर्ने कुनै आधार छैन। कति मानिसहरूले विश्वास गरेका छन् कि यदि कुनै व्यक्तिले आफू उद्धार पाएको दाबी गर्छ भने उसले घमण्ड गर्छ। तर एउटा व्यक्ति जसलाई थाह छ कि उसलाई अनुग्रहको कारणले क्षमा गरिएको छ, उसँग नम्र हुने कारण छ, घमण्ड गर्ने होइन।
(3:28) धर्मीकरण पहिलेको धार्मिकतामा निर्भर गर्दैन। धर्मीकरणको अर्थ पश्चात्ताप गर्ने र विश्वास गर्ने पापीलाई धर्मी ठहराइन्छ मानौं उसले पाप गरेको छैन। परमेश्वरप्रति आज्ञाकारिताको जीवन धर्मीकरणबाट सुरु हुन्छ, पहिलेबाट होइन। एक व्यक्तिले आफूलाई परमेश्वरमा स्वीकार्य बनाउने उद्देश्यले आफ्नो जीवन परिवर्तन गर्नसक्दैन। उ ख्रीष्टको प्रायश्चित मार्फत पहिलाबाट नै परमेश्वरमा स्वीकार्य छ, र अरू कुनै तरिका छैन।
[1](3:29-30) यी पदहरूले यस खण्डलाई पुस्तकको विषयवस्तुसँग जोड्दछ। सन्देश सम्पूर्ण संसारको लागि हो। सुसमाचारको यो विश्वव्यापी प्रयोग एकेश्वरवादमा आधारित छ। किनकि एउटै परमेश्वर हुनुहुन्छ, उहाँका उद्देश्यहरू सम्पूर्ण मानवतामा लागू हुँदछ, स्थानीय देवता जस्तो नभई जो केवल एउटा राष्ट्र वा कुलमा मात्र रुचि राख्छन्। परमेश्वरले सधैँ इस्राएलले अन्यजातिहरूसँग परमेश्वरको ज्ञान बाँड्ने उद्देश्य राख्नुभएको थियो (यशैया 42:6, यशैया 43:21, यशैया 49:6)।
► प्रेरितले भने कि विश्वासद्वारा धर्मी ठहराइनुले व्यवस्थालाई नष्ट गर्दैन, बरु यसलाई कायम राख्छ। त्यो कसरी हो?
(3:31) जब कसैले आफ्नो पापको पश्चत्ताप गर्छ र आज्ञाकारितामा जिउन थाल्छ, उसले व्यवस्थालाई धार्मिकताको स्तरको रुपमा समर्थन गरिरहेको हुन्छ। प्रायश्चित र धर्मीकरणको कुनै पनि सिद्धान्त जसले व्यवस्थालाई ख्रीष्टियानको लागि अप्रासंगिक बनाउँछ, यो पदसँग मेल खाँदैन।[2] यदि कुनै व्यक्तिले क्षमा माग्छ तर परमेश्वरको आज्ञा पालन गर्न सुरु गर्ने चाहना राख्दैन भने, उसले पापको दुष्टता र उसलाई क्षमा चाहिने वास्तविक कारण बुझेको छैन भन्ने देखाउँछ। उसले व्यवस्थाको सम्मान गर्ने नाटक गरेर उद्धारको लाभ उठाउने प्रयास मात्र गरिरहेको हुन्छ।
पश्चात्ताप गर्ने र पापबाट फर्कने र मुक्तिको लागि येशूमा भरोसा गर्नेहरूले जत्तिको पूर्ण रूपमा व्यवस्थालाई कसैले पनि स्थापित गर्दैन।"
- जर्ज म्याकलाफ्लिन,
रोमीहरूको पुस्तकको टिप्पणी
[2]जोन वेस्लीका दुई वटा प्रवचनहरू जसको शिर्षक थियो “The Law Established by Faith” यी अवधारणाहरूको राम्ररी व्याख्या गर्छ।. (यो पाठ्यक्रमको अन्त्यमा सिफारिस गरिएको पठन खण्ड हेर्नुहोस्।)
खण्ड अध्ययन – रोमी भाग 3, खण्ड 2
अध्याय 4 को मुख्य बुँदा
अब्राहाम, जसलाई परमेश्वरले आफ्ना मानिसहरूका पिता हुन छान्नुभएको थियो, विश्वासद्वारा धर्मी ठहरिए।
अध्याय 4 को सारांश
विश्वासद्वारा अनुग्रहबाट धर्मीकरणको सिद्धान्त पुरानो करारमा स्थापित छ। अब्राहाम, जसलाई परमेश्वरले आफ्ना मानिसहरूका पिता हुन छान्नुभएको थियो, विश्वासद्वारा धर्मी ठहरिए। राजा दाऊदले पनि अनुग्रहबाट धर्मीकरण बुझेका थिए। खतना मुक्तिको माध्यम थिएन तर पछिबाट यसलाई विश्वासको चिन्हको रूपमा दिइएको थियो, जुनचाहिँ अब्राहामसित पहिलेदेखि नै थियो। अब्राहाम पछिबाट विश्वासद्वारा उद्धार पाउने सबैका पिता र उदाहरण बने।
► विद्यार्थीले समूहको लागि रोमी 4 पढ्नुपर्छ।
हरेक पदहरूको नोटहरू
(4:1) अब्राहाम यहूदीहरूका पिता थिए। प्रश्न यो हो, “अब्राहामले वास्तवमा के पाए?” यो प्रश्नको उत्तर “यसको उत्तराधिकार को हुनसक्छ?” र “हामी कसरी यसको उत्तराधिकार हुनसक्छौं” जस्ता प्रश्नहरूको उत्तर दिनको लागि दिइनेछ।
(4:2) कर्मबाट हुने उद्धारको सिद्धान्तले स्वभाविक रूपमा घमण्ड निम्त्याउँछ।
► अब्राहामसँग कस्तो विश्वास थियो जुन बचाउने विश्वासको रूपमा गनियो?
(4:3) अब्राहामलाई उद्धारको सम्पूर्ण योजना थाह थिएन, त्यसर्थ, ख्रीष्टको प्रायश्चितमा आफ्नो विश्वास राख्न सकेनन्। तैपनि, तिनले परमेश्वरको प्रतिज्ञा जस्तो प्रकट गरिएको थियो, त्यसमा विश्वास गरे। यस अध्यायमा उल्लेख गरिएको प्रतिज्ञाको भाग यो कि अब्राहाम धेरै जातिहरूका पिता हुनेछन् (4:17-18), तर बाँकी प्रतिज्ञा यो थियो कि पृथ्वीका सबै मानिसहरूले तिनका सन्तानहरू मार्फत आशिष् पाउनेछन् (उत्पत्ति 12:2-3, उत्पत्ति 22:17-18)। यो प्रतिज्ञा याकूबलाई दोहोर्याइएको थियो (उत्पत्ति 28:14)। अब्राहामका सन्तानहरू मार्फत पृथ्वीका सबै मानिसहरूलाई परमेश्वरको अनुग्रह प्रदान गरिनेछ। यो अब्राहामलाई परमेश्वरको अनुग्रहको प्रतिज्ञा थियो। यो सबैलाई प्रदान गरिएको अनुग्रहको प्रतिज्ञा थियो।
अब्राहाम धर्मी ठहरिए किनकि तिनले परमेश्वरको अनुग्रहको प्रतिज्ञामा विश्वास गरे। तिनको धर्मीकरण हाम्रो जस्तै थियो, यद्यपि हाम्रो विश्वासमा अझ धेरै सत्यता छ।
(4:4) यदि कुनै व्यक्तिले आफ्नो उद्धारको लागि काम गरिरहेको छ भने, त्यो उद्धार उपहार होइन। बरु उसले एउटा हिसाब दिनुपर्छ जुन उसले चुक्ता गर्न खोजिरहेको छ (रोमी 11:6 लाई हेर्नुहोस्)।
(4:5) काम नगर्ने व्यक्ति परमेश्वरको आज्ञा पालन गर्न वास्ता नगर्ने व्यक्ति होइन, तर उद्धार पाउने साधनको रुपमा काम नगर्ने व्यक्ति हो। स्वर्गमा प्रवेश पाउनको लागि आफ्नो काममा भर पर्नुको सट्टा उसले परमेश्वरको उद्धारको प्रतिज्ञामा विश्वास गर्छ।
(4:6-8) राजा दाऊदले पापको क्षमामा निर्भर परमेश्वरको स्वीकृतिको वर्णन गर्दा विश्वासद्वारा धर्मीकरणको पनि उल्लेख गरे। परमेश्वरले विश्वासीलाई विगतको पापको दोष लगाउनुहुनेछैन। प्रेरित पावलले देखाइरहेका छन् कि विश्वासद्वारा अनुग्रहबाट धर्मी ठहराउने सिद्धान्त कुनै नयाँ विचार होइन- यहाँ सम्म कि राजा दाऊदले पनि यो कुरा बुझेका थिए।
हामी कसरी जान्दछौं कि यसले विगतको पापलाई जनाउँछ र निरन्तर पापलाई जनाउँदैन? रोमी रोमी 6:2 ले भन्छ कि हामी पापको लागि मरेका छौं, त्यसैले अब हामी यसमा जिउँदैनौं। रोमी 6 को सम्पूर्ण सन्देशले यस विचारलाई खण्डन गर्दछ कि हामी विश्वासद्वारा धर्मी ठहरिँदा हामी पापमा बाँच्न सक्छौं। (रोमी 5:6-8 लाई पनि हेर्नुहोस्: “हामी दुर्बल हुँदा नै” र “हामी पापी छँदै”, जसको अर्थ हो कि अब हामीसँग शक्ति छ र हामी पहिले जस्तो पापी छैनौं – हामी धर्मी ठहराइएका छौं र परिवर्तन भएका छौं।)
(4:9) यो प्रश्नले कसरी एक व्यक्ति विश्वासद्वारा धर्मी ठहरिने स्थीतिमा पुग्नसक्छ भन्ने विषयलाई परिचय गराउँछ। के यो आशिष् केवल खतना गरिएकाहरूलाई मात्र आउँछ?
► कुनचाहिँ पहिला आयो? व्यवस्था वा अनुग्रह?
(4:10-12) जब अब्राहामले अनुग्रह पाए त्यसबेला तिनको खतना भएको थिएन। त्यसैकारण, खतना नगरिएको व्यक्तिले विश्वासद्वारा अनुग्रह प्राप्त गर्न सम्भव छ। अब्राहाम ती व्यक्तिहरूका आत्मिक पिता हुन् जसले तिनको उदाहरण पछ्याउँछन् (विश्वासको पाइलामा हिँड्छन्), तिनीहरू खतना नगरिएको किन नहोस्। ती मानिसहरू जससँग बचाउने विश्वास छ, ती सबै अब्राहामका आत्मिक सन्तान हुन्। इस्राएलीहरू तिनको आफ्नै वंश भए पनि, विश्वास नगरेसम्म तिनका आत्मिक सन्तान होइनन्।
(4:13-14) अब्राहामको आशिष् कसले पाउँछ? यदि तिनीहरू व्यवस्था पालन गर्नेहरू हुन् भने, यो प्रतिज्ञामा विश्वास गरेर होइन।
(4:15) व्यवस्था न्यायको साधन हो, किनकि यसले पाप प्रकट गर्दछ। यो अनुग्रह प्राप्त गर्ने साधन होइन। यदि व्यवस्था नभएको भए, यसको कुनै उलङ्घन पनि हुने थिएन। पावलले विशेषरुपमा मोशाबाट प्राप्त व्यवस्थाको बारेमा कुरा गरिरहेका छैनन्, तर सामान्यतया मानवताको लागि परमेश्वरको आवश्यकताहरूको बारेमा कुरा गरिरहेका छन्। यस्तो कुनै ठाउँ नै छैन जहाँ परमेश्वरको आवश्यकताहरू पूर्ण रूपमा अज्ञात छ (1:20)।
(4:16-17) अब्राहामाका धेरै जैविक सन्तानहरू थिए जसले विभिन्न जातिहरू निर्माण गरे। यद्यपि, यहाँ पावल प्रेरितले भनेका छन् कि अब्राहाम धेरैका पिता थिए किनकि तिनी विश्वास गर्ने सबैका पिता हुन्।
उद्धार विश्वासद्वारा प्राप्त हुन्छ ताकि यो अनुग्रहद्वारा दिन सकियोस्। यदि प्रापकलाई योग्य बनाउन कुनै कार्य खाँचो पर्थ्यो भने, यो पूर्ण रूपमा अनुग्रहद्वारा हुने नै थिएन। किनभने यो अनुग्रहबाट, विश्वासद्वारा मात्र प्राप्त हुन्छ। यसलाई कमाउने कोशिस गर्ने व्यक्तिले उद्धारलाई बुझ्न सक्दैन।
► परमेश्वरले अब्राहामसित गर्नुभएको प्रतिज्ञा के थियो? हामीले पाउने उद्धारको प्रतिज्ञासँग यो कसरी मिल्दोजुल्दो थियो?
(4:18-19) अब्राहामले परमेश्वरमा त्यतिबेला विश्वास गरे जब तिनको परिस्थीतिमा आशा दिने कोही थिएन। बच्चा जन्माउनसक्ने तिनको क्षमताको सन्दर्भमा तिनको शरीर मरेतुल्य थियो। सारा पनि शारीरिक रूपमा बच्चा जन्माउनसक्ने तिनको समय बितिसकेको थियो। तर साँचो विश्वास परिस्थीतिमा निर्भर गर्दैन।
यो विश्वास कामहरूमा भरोसा गर्नुको विपरित हो। यसले बताउँछ कि हागारको छोरा इश्माएल कामहरूद्वारा उद्धारको एउटा प्रकार हो (गलाती 4:22-31)। इश्माएलको जन्म विश्वासद्वारा होइन, शारीरिक रूपमा सम्पन्न भएको थियो। उद्धार प्रतिज्ञाद्वारा, त्यसपछि विश्वासद्वारा, त्यसपछि चमत्कारद्वारा हुन्छ।
(4:20-21) परमेश्वरको महिमा मानिसको क्षमताबाट भन्दा पनि मानिसको भरोसाबाट हुन्छ।
(4:22) पद 3 मा भएको टिप्पणी हेर्नुहोस्।
► के हामीले अब्राहामले पाएको उद्धार-मुक्ति पाउँछौं?
(4:23-25) अब्राहामको विश्वास हाम्रो लागि उदाहरण हो। तिनलाई मुक्तिको सम्पूर्ण योजना थाह थिएन तर तिनलाई प्रकट गरिएको कुरामा तिनले विश्वास गरे। हामीले उद्धारको योजनाको प्रकट गरिएको विवरणहरूमा विश्वास गर्नुपर्छ जुन अब्राहामलाई थाह थिएन- ख्रीष्टको मृत्यु र पुनरुत्थान। यी पदहरूले देखाउँदछ कि हामीले अब्राहामले प्राप्त गरेको धार्मिकता पाउँछौं, किनकि यसले भन्छ कि धार्मिकता तिनलाई दिइएको थियो र त्यही आधारमा हामीलाई पनि दिइनेछ।
खण्ड अध्ययन- रोमी भाग 3, खण्ड 3
अध्याय 5को मुख्य बुँदा
ख्रीष्टले आफ्नो मृत्यु र पुनरुत्थानमा पापको परिणामलाई उल्टाउनुभयो, र मेलमिलाप, धार्मिकता र जीवन ल्याउनुभयो।
अध्याय 5 को सारांश
[1]अब हामी विश्वासद्वारा धर्मी ठहरिएका छौं, हामी ख्रीष्टद्वारा परमेश्वरसँग मिलापमा छौं (5:1)। “हाम्रा प्रभु येशू ख्रीष्टद्वारा” भन्ने वाक्यांशले अध्यायको विषयवस्तु प्रस्तुत गर्दछ: ख्रीष्टको प्रायश्चित कार्यको प्रभावकारिता। आदमको पापले संसारलाई पाप र मृत्युको अधीनमा ल्यायो, र तिनले पाप गरेपछि हरेक व्यक्तिले पाप गरेका छन्। ख्रीष्टको प्रायश्चितले पापको प्रभावलाई उल्ट्याइ दियो।
► विद्यार्थीले समूहको लागि रोमी 5 पढ्नुपर्छ।
हरेक पदहरूको नोटहरू
(5:1-2क) यो पदले अघिल्लो खण्डलाई यस खण्डसित जोड्छ। अध्यायको विषय ख्रीष्टको कामको प्रभावकारिता हो। शान्तिले परमेश्वरसँगको मेलमिलापलाई जनाउँछ – शत्रुता हटाइनेछ र क्रोध हटाइनेछ।
येशूले भन्नुभयो कि उहाँ ढोका हुनुहुन्छ (यूहन्ना 10:9))। यो पदले पनि यस्तै कुरा भन्छ, किनभने उहाँद्वारा हामी विश्वासद्वारा अनुग्रहमा प्रवेश गर्न सक्छौं। उहाँ बाटो, सत्य र जीवन हुनुहुन्छ (यूहन्ना 14:6)।
(5:2ख-5) यी पदहरूले विश्वासीले अनुग्रहमा रहँदा गरेको अनुभव वर्णन गर्दछ।
पावलले भने कि हाम्रो आनन्द भनेको त्यो आशाको कारण हो कि हामी परमेश्वरको महिमा अनुभव गर्नेछौं। उनले भने कि हामी कष्टमा पनि आनन्दित हुनसक्छौं।
ख्रीष्टियानले साना कुराहरूको (जीवनको परिस्थीति) आनन्द लिनसक्छ र त्यसलाई सहन पनि सक्छ किनकि ठूला कुराहरू सुरक्षित छन्। अविश्वासीले जीवनका कुराहरूबाट आनन्द लिन खोज्छ। तर कुनै पनि कुराहरू सन्तुष्ट पार्नलाई पर्याप्त हुँदैनन्; ती सबै चाँढै बितेर जान्छ। यदि जीवन यात्रा हो भने जीवनको अवस्थाहरू धेरै खराब हुँदैन, तर यदि अरू केही छैन भने जीवनको अवस्था दयनीय लाग्छ।
संकष्टलाई विश्वासयोग्यसित सहनुले विश्वासीको लागि एउटा प्रक्रिया पूरा गर्दछ। (याकूब 1:2-4 लाई पनि हेर्नुहोस्) विश्वासद्वारा सङ्कष्ट सहन गर्दा, हामी धर्य विकास गर्छौं। धैर्य भनेको केवल पर्खने इच्छा मात्र होइन; यो विश्वासद्वारा सहनसक्ने क्षमता हो। जब हामी यो धैर्यशील विश्वासको अभ्यास गर्छौं, हामी परमेश्वरको कामको अनुभव र समीक्षा गर्न जारी राख्छौं जसले हामीलाई आशा दिन्छ। हामीलाई थाह छ कि परिस्थीति खराब देखिएता पनि परमेश्वरको इच्छा पूरा भइरहेको छ।
► जब तपाईं खराब परिस्थीतिमा हुनुहुन्छ, तब तपाईं आफैलाई कसरी प्रोत्साहन दिनुहुन्छ?
हामीलाई थाह छ कि हाम्रो आशा निराश हुनेछैन, किनकि हामीले पहिले नै पवित्र आत्माद्वारा हाम्रो हृदयमा परमेश्वरको प्रेम अनुभव गरिसकेका छौं। एफिसी 1:13-14मा, पावलले भने कि पवित्र आत्मा नै ग्यारेन्टी हुनुहुन्छ कि परमेश्वरले गर्नुभएको सबै प्रतिज्ञा पूरा गर्नुहुनेछ। आत्मा करारको लागि निक्षेप जस्तै हो।
5:6-10 ले जोड दिन्छ कि हामी धर्मी ठहराइएको बेला हामी यसको योग्य थिएनौं र यसलाई पूरा गर्न केही गर्न सक्दैनौं। हामी शक्तिहिन थियौं, अझ पापी थियौ, र शत्रु थियौं।
(5:6) कमजोर हुनुको अर्थ विशेषगरी व्यवस्थाका आवश्यकताहरू पूरा गरेर आफूलाई बचाउन असमर्थ हुनु हो। हामी परमेश्वरका आवश्यकताहरू पूरा गर्न वा पापबाट आफूलाई छुटकारा दिन शक्तिहिन थियौं।
(5:7-8) असल मानिसको लागि पनि कोही मरिदिने कुरा विरलै हुन्छ, तर हामी पापी छँदै ख्रीष्ट हाम्रो लागि मर्नुभयो।
(5:9-10) ख्रीष्ट हाम्रो मध्यस्थ र अधिवक्ताको रुपमा रहनुहुन्छ। पावलले तर्क गर्छन् कि यदि हामी पापी छँदै परमेश्वर क्षमा गर्न तयार हुनुहुन्थ्यो भने, अब हामी ख्रीष्टमा धर्मी ठहरिएका छौं र उहाँको अनुग्रहको बारेमा अझ बढी विश्वस्त हुनसक्छौं। हाम्रो लागि उहाँको मृत्युद्वारा हामी मिलाप भएका छौं र जीवित ख्रीष्टसँग जोडिएर परमेश्वरमा स्वीकार्य भइरहने छौं।
► के हामी आदमको पापको दोषी छौं। आफ्नो उत्तर बताउनुहोस्।
रोमी 5:12-19 ले भन्छ कि आदमको पापको कारणले गर्दा सबै मानवजाति पाप र मृत्युको अधीनमा परे। के हामी व्यक्तिगतरूपले आदमको पापको दोषी छौं? के पापीहरूलाई आदमको पापको लागि दण्ड दिइनेछ?
पावलले पापीहरूलाई आदमको पापको लागि दण्ड दिइनेछ भनेर भनेनन्। 5:12 मा उनले भने कि सबै मानिसले पाप गरेका हुनाले सबै मानिसमा मृत्यु फैलियो। प्रत्येक व्यक्ति व्यक्तिगत रूपमा आफ्नै पापको दोषी छ। रोमी 1-2 ले पहिले नै जोड दिएको छ कि मानिस धर्मी ठहरिनु खाँचो छ किनकि परमेश्वरको व्यवस्था तोड्नेहरू पापी हुन्। मानिसहरूलाई तिनीहरूको जन्मेको अवस्थाको लागि दोषी ठहराइँदैन तर तिनीहरूले पाप गर्ने छनौट गरेको कारण दोषी ठहराइन्छ। हरेकको न्याय कामअनुसार हुनेछ (प्रकाश 20:12, रोमी 2:6-16, 2 कोरिन्थी 5:10)।
तैपनि, आदमद्वारा समसारमा पापको प्रवेश भयो। सम्पूर्ण नजन्मिएको मानवजातिको पिताको रूपमा, तिनले मानवजातिलाई परमेश्वरबाट अलग गरे। त्यसपछि सबै मानिसहरू परमेश्वरबाट अलग भएर जन्मिएको कारण भ्रष्ट हुन्छन्। आदमको पापको कारण, सबै मानिसहरू पाप गर्ने प्रवृति लिएर जन्मेका हुन्छन् र तिनीहरू सबैले पाप कार्य गरेर यसको अनुसरण गरेका छन्।
निम्न कथनहरूलाई त्यस बुझाइको साथ व्याख्या गर्न सकिन्छ:
एक जना मानिसको अपराधले गर्दा धेरै मरे (5:15)
एउटा अपराधको इन्साफले दण्डको आज्ञा ल्यायो (5:16)
एउटै मानिसको अपराधले गर्दा मृत्युले राज्य गर्यो (5:17)
एउटै मानिसको अपराधले सबै मानिसहरू दण्डको भागिदार बने (5:18)
एउटै मानिसको अनाज्ञाकारिताले धेरै जना पापी बनाइए (5:19)
पावलले यसो भनेनन् कि हामी आदमको पापको दोषी छौं; तर आदमले पाप ल्यायो, अनि सबैले पाप गरे। पापीहरूले तिनीहरूको धेरै अपराधको क्षमा पाउनु खाँचो छ (5:16), आदमले गरेको पापको लागि होइन।
3खण्ड अध्ययन – रोमी भाग 3, खण्ड 3
हरेक पदहरूको नोटहरू जारी
(5:12) सबै मानिसमा पाप फैलिनुको कारण आदमको दोष होइन तर सबै मानिसले पाप गरेको कारणले नै हो। आदम नै संसारमा पाप ल्याउने र आफ्ना सन्तानमाथि यसको प्रभाव ल्याउने व्यक्ति थिए।
(5:13-14) व्यवस्था बिना पाप प्रकट गरिएको थिएन र स्पष्टरूपमा निन्दा गरिएको थिएन। यद्यपि, मोशाले व्यवस्था प्राप्त नगरेसम्म, मृत्युले राज्य गर्यो। मानिसहरूलाई थाह थियो कि तिनीहरू पापको दोषी छन्, यहाँसम्म कि व्यवस्थाले प्रदान गर्ने स्पष्टता बिना पनि (1:20 लाई हेर्नुहोस्)। पापको वास्तविक सीमा व्यवस्थाद्वारा देखाइएको छ। आदमको पापजस्तै पापको अर्थ हुन्छ व्यवस्थालाई जानीजानी नमान्नु। कुनै पनि प्रकाश नभएकाहरूसँग स्पष्ट विकल्प थिएन, तैपनि तिनीहरूले अझ पनि आफ्नो विवेकलाई पूर्णरूपमा पालन गरेनन् (1:21)।
(5:15) आदमको कार्यले धेरै जना मरे, र ख्रीष्टको कार्यले धेरै जनामा जीवन ल्यायो। धेरै शब्दले सामान्यतया सबैलाई बुझाउँछ। यस कुरालाई जोड दिइएको छ कि ख्रीष्टको प्रायश्चित आदमको पापको प्रभावभन्दा धेरै व्यापक थियो। यस पदले भन्छ कि जसरी आदमको पापले सबैलाई पापी बनायो, त्यसरी नै ख्रीष्टको प्रायश्चितले सबैलाई अनुग्रह प्रदान गर्दछ। आदमको पतनले पापी बनाइएका हरेक व्यक्तिलाई परमेश्वरले अनुग्रह प्रदान गर्नुहुन्छ।
► पद 15 बाट, परमेश्वरले मानवताको थोरै प्रतिशतको लागि मात्र उद्धारको प्रबन्ध गर्नुभयो भन्ने सोच्ने व्यक्तिलाई तपाईं कसरी उत्तर दिनुहुन्छ?
(5:16 ) मौलिक पाप एउटा कार्य थियो, तर अब धेरै पापहरूको लागि अनुग्रहको आवश्यकता छ। अनुग्रह मौलिक पापभन्दा धेरै ठूलो हुनुपर्छ।
(5:17-19) आदमको पापको प्रभावले गर्दा धेरै जना पापी बनाइए। तिनीहरू ख्रीष्टद्वारा धर्मी बनाइनेछन्। यसको अर्थ तिनीहरू परिवर्तन हुन्छन् भन्ने हो।
(5:20) व्यवस्थाले पापलाई यस अर्थमा गुणा गर्छ कि यसले अपराधहरूको लामो सूची बनाउँछ जहाँ पहिले केही पापहरू मात्र पहिचान भएका थिए। यसले पापलाई यस अर्थमा पनि बढाउँछ कि एक व्यक्तिले व्यवस्थालाई थाहा पाएपछि र त्यसलाई अस्वीकार गर्ने छनौट गरेपछि, ऊ पहिलेको भन्दा खराब पापी बन्छ। यो 7:5-24 मा वर्णन गरिएको अवस्था हो। तर अनुग्रह सबै पापभन्दा धेरै मात्रामा बढी हुन्छ।
अमेजिङ ग्रेस (अचम्मको अनुग्रह)
जोन न्युटिनकी ख्रीष्टियान आमा थिइन् तर उनी नाविक र जहाजको कप्तान बने र गहिरो पापमा डुबे। उनले आफ्नो जीवनमा कठिन परिस्थीतिको सामना गरे। साथीहरूले उनलाई धोका दिए र केही समयको लागि उनी दास बने। जब उनको अवस्थामा सुधार भयो, उनले पाप गर्न जारी राखे र दास व्यापार गरेर धेरैको जीवन नष्ट गर्न मद्दत गरे। उनी वर्षौंसम्म दास जहाजको कप्तान थिए। एकपटक उनको जहाज दुर्घटनाग्रस्त भयो र उनी एउटा टापुमा अलपत्र परेका थिए तर उनका बुबाका मित्र एक कप्तानले तिनको त्यहाँबाट निकाले। उनले महसुस गरे कि उनी दुष्ट भए पनि परमेश्वर उनीप्रति दयालु हुनुभएको थियो। पछि फेरि जहाज ठूलो आँधीमा पर्यो; र उनले परमेश्वरलाई दयाको लागि पुकारे। जहाज आँधीबाट बाँच्यो र न्युटन परमेश्वरको दयामा भर पर्न थाल्यो। उनले अन्तमा समुद्र छोडे र पादरी बने। उनले लेखेका भजनहरू मध्ये एउटा भजन सबैभन्दा बढी गाइने र सबैभन्दा बढी रेकर्ड गरिने भजन हो — “अचम्मको अनुग्रह” (Amazing Grace)।
आफ्नो साक्षीमा, न्युटनले भने, “परमेश्वरले कृपापूर्वक मलाई गहिरो दलदलबाट बाहिर निकाल्नुभएको छ र मेरो खुट्टालाई चट्टान, ख्रीष्ट येशूमाथि बसाल्नुभएको छ। उहाँले मेरो प्राणलाई बचाउनुभएको छ। र अब, उहाँको अतुलनीय, स्वतन्त्र, सार्वभौम र विशिष्ट अनुग्रहको प्रशंसा र सम्मान गर्ने मेरो हृदयको इच्छा र किनभने “'म जो छु, त्यो परमेश्वरको अनुग्रहले छु” (1 कोरिन्थी 15:10)। मेरो उद्धार पूर्णरूपमा परमेश्वरको अनुग्रहमा श्रेय दिनु मेरो हृदयको ठूलो आनन्द हो।” [1]
(1) बचाउने विश्वास भएको व्यक्तिले के विश्वास गर्छ?
(2) प्रायश्चितले कुन दुविधा समाधान गर्छ?
(3) प्रायश्चितले कसरी दुविधा समाधान गर्यो?
(4) धर्मीकरण (धर्मी ठहराइनु)को अर्थ के हो?
(5) कसैले धार्मिकताको स्तरको रूपमा व्यवस्थालाई कसरी समर्थन गर्छ? (रोमी 3:31)
(6) अब्राहामलाई परमेश्वरको अनुग्रहको प्रतिज्ञा के थियो?
(7) दाऊदले विश्वासद्वारा धर्मी ठहरिने बारेमा के भने?
(8) अब्राहामका आत्मिक सन्तानहरू को हुन्?
(9) रोमी 5:15 बाट हामी कसरी थाहा पाउँछौं कि उद्धार सबैलाई प्रदान गरिएको छ?
पाठ 5 को कार्य
निम्न प्रश्नहरूको उत्तर दिँदै धर्मीकरणको बारेमा एक पृष्ठ लेख्नुहोस्: प्रायश्चितले समाधान गर्ने दुविधा के हो? पापी आज्ञाकारिताद्वारा किन बचाउन सकिँदैन? अब्राहामले विश्वासद्वारा कसरी धर्मीकरण प्रदर्शन गरे? उद्धार सबैको लागि उपलब्ध छ भनेर कसरी थाह पाउन सक्छौं?
SGC exists to equip rising Christian leaders around the world by providing free, high-quality theological resources. We gladly grant permission for you to print and distribute our courses under these simple guidelines:
No Changes – Course content must not be altered in any way.
No Profit Sales – Printed copies may not be sold for profit.
Free Use for Ministry – Churches, schools, and other training ministries may freely print and distribute copies—even if they charge tuition.
No Unauthorized Translations – Please contact us before translating any course into another language.
All materials remain the copyrighted property of Shepherds Global Classroom. We simply ask that you honor the integrity of the content and mission.