यहाँ रोमका तथ्यहरूको एउटा PDF पनि छ, जसलाई पाठ्यक्रमको कुनै पनि समयमा पढ्न सकिन्छ।
विवादित मुद्दाहरूको पुस्तक
शताब्दीदेखि मण्डलीमा धेरै ईश्वरशास्त्रीय मुद्दाहरू बहस गरिएको छ। बाइबलका अन्य पुस्तकले भन्दा सायद रोमीको पुस्तकले पवित्रशास्त्रका विवादास्पद मुद्दाहरूलाई सम्बोधन गर्छ। यस पत्रमा भएका यस्ता केही प्रश्न उत्तरहरूको उदाहरण यहाँ दिइएको छ।
रोमीमा ईश्वरशास्त्रीय प्रश्नहरूको उत्तर
कक्षा अगुवाको लागि नोट: प्रत्येक प्रश्न पढ्नुहोस् र विभिन्न सदस्यहरूलाई उत्तर दिन पर्खनुहोस्। समूहले एउटै प्रश्नमा धेरै समय खर्च गर्नुहुँदैन र निष्कर्षमा पुगिहाल्ने कोशिस पनि गर्नुहुँदैन। सूचीहरूको उद्देश्य यी प्रश्नहरूको बारेमा धेरै विचारहरू छन् भनेर देखाउनु हो।
1. विश्वासद्वारा मुक्ति पाउनलाई एक व्यक्तिले केमा विश्वास गर्नुपर्छ?
2. एक ख्रीष्टियानले आफ्नो मुक्तिको लागि काम गर्दैन भन्ने अर्थ के हो?
3. के परमेश्वरले कसैलाई बचाउने र कसैलाई नबचाउने निर्णय गर्नुभयो?
4. कसले मुक्ति पाएको छ र कसले पाएको छैन भनेर परमेश्वरले कसरी छान्नुहुन्छ?
5. कहिल्यै सुसमाचार नसुनेका मानिसहरूलाई के हुनेछ?
6. परमेश्वरले कसैलाई क्षमा र कसैलाई दण्ड दिनुभयो भने उहाँ कसरी न्यायी परमेश्वर हुनसक्नु हुन्छ?
7. के एक विश्वासी अझै पनि पापी छ?
8. वास्तविक जीवनको लागि कस्तो प्रकारको आत्मिक विजय सम्भव छ?
9. के विश्वासीले आफ्नो उद्धार-मुक्ति गुमाउन सक्छ?
10. के परमेश्वरसँग इस्राएलीको लागि अझै पनि योजना छ?
रोमीहरूलाई लेखिएको पत्रको उद्देश्य
► विद्यार्थीले समूहको लागि रोमी 1:11-15 र 15:24 पढ्नुपर्छ। पावल रोम किन जान चाहेका छन् भनेर उनले कस्ता कारणहरू दिए?
यस पत्रको उद्देश्य रोमी विश्वासीहरूलाई पावल र उद्धारबारे उनको ईश्वरशास्त्रलाई परिचय गराउनु थियो, ताकि
1. विश्वासीहरूलाई प्रोत्साहन दिन रोमी 1:11-15 र रोममा सुसमाचार प्रचार गर्न उनले तिनीहरूलाई भेट गर्न सक्थे (1:15)।
2. उनले तिनीहरूको सहयोगमा नयाँ मिसन कार्य सुरु गर्नसक्छन् (15:24)।
पावलले सन 47 देखि 57 सम्म एजिएन समुद्र वरपरका इलाकाहरूमा सुसमाचार प्रचार गर्न बिताएका थिए। उनले लगभग 57 ईस्वीमा रोमीहरूलाई पत्र लेखे।[1] उनले यरुशलेम, त्यसपछि रोम जाने योजना बनाएका थिए। पावलले रोममा भएका मण्डलीलाई स्पेनमा मिसनेरी कार्य सुरु गर्ने आधारको रूपमा प्रयोग गर्न चाहन्थे (15:24), जुनचाहिँ पश्चिममा सबैभन्दा पूरानो रोमी उपनिवेश थियो र संसारको त्यो भागमा रोमी सभ्यताको केन्द्र थियो।
पावल कहिल्यै रोम गएका थिएनन्, त्यसर्थ पत्रले उनको भ्रमणको लागि व्यक्तिगत परिचय र तयारी गर्ने काम गर्यो। रोमी 16 अध्यायमा व्यापक रूपले दिइएको अभिवादनको कारण यही हुनसक्छ।
पावलको रोम भ्रमण उनले योजना बनाएमुताबिक भएन। उनी यरूशलेममा पक्राउ परेका थिए। आफूले न्याय नपाउने थाह लागेपछि उनले कैसरलाई अपील गरे। यो डरलाग्दो यात्रापछि, जसमा जहाज भत्किएको थियो, उनी लगभग 60 ए.डी. मा कैदीको रूपमा रोम आइपुगे। यद्धपि, उनी बन्दी थिए, उनले आगन्तुकहरूलाई भेट्न र तिनीहरूमार्फत सेवा पुर्याउन स्वतन्त्र थिए (प्रेरित 28:30-31)। पावलले भने कि हरेक घटनाहरू सुसमाचार फैलाउनका लागि काम गरिरहेका थिए (फिलिप्पी 1:12)। कैसरका घरनाका केहीले पनि प्रभुलाई विश्वास गरेका थिए।
केही इतिहासकारहरूले यो विश्वास गर्छन् कि पावल दुईवर्षपछि मुक्त भएका थिए। उनले स्पेनको भ्रमण गरे वा गरेनन् सो अज्ञात छ। हामीलाई यो थाह छ कि उनलाई रोममा मृत्युदण्ड दिइएको थियो, तर यो उनको दोस्रो भ्रमणमा भएको हुनसक्छ।
[2]आफ्नो मिसनेरी कार्यको आधार देखाउनलाई उद्धारको ईश्वरशास्त्र व्याख्या गर्दै, पावलले सबै ठाउँहरू र समयहरूमा मिसनेरी कार्यको आधार देखाए।
पावलले आफ्नो मिसनेरी यात्रा सुरु गर्न सहायता गर्ने अनुरोधको जवाफमा धेरै प्रश्नहरू स्वभाविक रुपमा उठ्नसक्नेछ। कसैले सोध्न सक्छ कि, तपाईं नै किन जानुपर्छ? यसर्थ, पावलले आफू सुसुमाचार प्रचार कार्यमा समर्पित भएको कुरा उल्लेख गर्दै पत्र सुरु गरेका छन् (1:1)। उनले पछिबाट अन्यजातिहरूको प्रेरितको रूपमा आफ्नो बोलावट र सफलताबारे वर्णन गरेका छन् (15:15-20)।
कसैले सोध्न सक्छ, “किन सबैले सुन्नु आवश्यक छ? हुनसक्छ यो सन्देश सबैको लागि आवश्यक छैन।” तर पावलले विश्वव्यापी मानवजातिको लागि सुसमाचारको सम्भाव्यता (1:14, 16, 10:12) र मिसनेरी कार्यको जरूरत (10:14-15) व्याख्या गरे। उनले यो सन्देश संसारमा भएका हरेक व्यक्तिमा लागू हुने र हरेकले यसलाई सुन्न आवश्यक छ भनी देखाए।
[1]यी मितिहरू विद्धानहरूका विचारहरू हुन्, र यी सबै पूर्णरूपले सही छन् वा छैनन् सो हामीलाई थाहा छैन।
“पावलको मन यस पत्रमा ख्रीष्टको सुसमाचारको सम्पूर्ण शिक्षालाफ संक्षिप्तमा बुझ्नु र पुरानो करारको सम्पूर्ण परिचय तयार गर्नु थियो।”
-विलियम टिन्डेल,
रोमीहरूको प्रस्तावना
खण्ड अध्ययन – रोमी भाग 1
अब पहिलो खण्डलाई हेरौं- पावलको अभिवादन र परिचय।
► विद्यार्थीले समूहको लागि रोमी 1:1-17 पढ्नुपर्छ।
संरचनामाथि टिप्पणी
1:1-17ले सुसमाचार फैलाउनको लागि पावलको बोलावट र प्रेरणाको वर्णन गर्दछ। त्यसपछि, 1:18-3:20 ले सुसमाचार किन आवश्यक छ भनी वर्णन गर्दछ, किनकि पश्चत्ताप नगर्ने पापीहरू परमेश्वरको क्रोधको भागीदार हुन्छन्। तैपनि, 1:15-19 ले यी दुई खण्डहरू बीचमा बदलाउ ल्याउँछ। सुसमाचारलाई संक्षिप्तमा व्यक्त गर्दै यसले एउटा कुरा स्पष्ट पार्दछ: कि पापीहरू दोषी छन् किनकि तिनीहरूलाई राम्रोसँग थाहा छ के गर्नु सही हो भनेर तर तिनीहरूले त्यसो नगर्ने चुनाउ गरेको कारणले, तिनीहरू क्रोधको अधीनमा छन्, तर विश्वास गर्नेहरूले उद्धार पाउनेछन्।
1:1-17 को मुख्य बुँदा
पावललाई सुसमाचार फैलाउन बोलाइएको थियो र उत्साहित गरिएको थियो किनभने यो विश्वास गर्नेको लागि उद्धारको सन्देश हो।
1:1-17 को सारांश
1:1-14 मा भएका सबै कुरा 1:15मा भएको कथनमा अगुवाई गर्छ। 1:15। 1:16-18 ले सुसमाचार के हो र किन सबैलाई यसको आवश्यक छ भनी संक्षिप्तमा बताउँछ। सुसमाचार भनेको सन्देश हो जसले परमेश्वरले प्रबन्ध गर्नुभएको क्षमादान र विश्वासद्वारा यसलाई मानिसहरूले प्राप्त गर्नसक्छन् भनी बताउँछ। सबै मानिसहरूलाई यो सन्देशको खाँचो छ किनकि तिनीहरू सबै परमेश्वरको क्रोधको भागिदार भएका छन्।
रोमीको सम्पूर्ण पुस्तक 1:16-18मा भएका कथनहरूको व्याख्या हो।
हरेक पदहरूको नोटहरू
(कोष्ठकमा दिइएका सबै अध्यायहरू अनि पदहरूको छलफल गरिनेछ)
(1:1) पावलले आफ्नो बारे तीन वटा वक्तव्यहरू दिएका छन्
उनी येशू ख्रीष्टका दास हुन्।
उनी प्रेरित हुन्, किनकि परमेश्वरको बोलावटले उनलाई प्रेरितहरूमध्ये एक बनाएका छन्।
जुन बोलावटमा उनी बोलाइएका थिए त्यस कामको लागि उनी अलग गरिएका थिए।
पावल फरिसी थिए तर अब सुसमाचारको सेवामा समर्पित थिए। पावलसँग रोमी नागरिकता थियो, तर उनले त्यस सत्यतालाई आफ्नो परिचयको लागि उल्लेख गरेनन्। उनको यो परिचयले प्राय रोमी विश्वासीहरूसित जोडिन मद्दद पुर्याउँदैन थियो। रोममा बस्ने अधिकांश मानिससँग नागरिकता थिएन किनकि तिनीहरू विदेशी वा दास थिए। यदि पावलले आफ्नो नागरिकता उल्लेख गरेका भए, त्यसले उनलाई रोमको उच्च वर्गसँग जोड्ने थियो; उनको निम्ति आफ्नो परिचय दिनु भन्दा पनि आत्मिक भूमिकाको बारे उल्लेख गर्नु अझ महत्वपूर्ण थियो।
(1:2) सुसमाचार पूर्णरूपले नौलो थिएन तर पूरानो करारका अगमवक्ताहरूको सन्देशमा समावेश थियो। रोमी 4 ले विशेषगरी अब्राहाम र दाऊदले सुसमाचारलाई बुझेका थिए भनी देखाउँछ।
(1:3-4) आफ्नो प्राकृतिक जीवनमा, परमेश्वरको पुत्र दाऊदको सन्तान हुनुहुन्थ्यो, राजकीय वंशमा जन्मनुभयो, जसलाई मसीह (ख्रीष्ट) भनी भविष्यवाणी गरिएको थियो।
ख्रीष्ट चाहि हिब्रू शब्द मसीहको ग्रीक शब्द हो।
प्रभु शब्दले ईश्वरत्वलाई देखाउँछ। नयाँ करारका पत्रहरूमा प्रभु शब्दको महत्व फिलिप्पी 2:10-11 लाई यशैया 45:23 सँग तुलना गरेर हेर्न सकिन्छ। यसले अरू सबै अधिकारहरूभन्दा सर्वोच्चमा हुनु हुनेलाई देखाउँछ। (प्रेरित 2:36 लाई पनि हेर्नुहोस्)।
प्रभु शब्दको अर्थ नयाँ करारको सुसमाचारका पुस्तकहरूमा जस्तै हुन आवश्यक छैन, जहाँ मानिसहरूले येशूलाई उहाँ नै परमेश्वर हुनुहुन्छ भनेर साँचो प्रकारले नबुझीकन नै केवल आदर दिनको लागि “प्रभु” भनी सम्बोधन गरेको हुनसक्छ।
नयाँ करारका पत्रहरूमा, “येशू ख्रीष्ट हाम्रा प्रभु” नाउँले पहिचानका तीनवटा कथनहरू बनाउँछ। यसले भन्छ कि येशू ऐतिहासिक व्यक्ति हुनुहुन्छ, उहाँ यहूदी मसीह हुनुहुन्छ, अनि उहाँ परमेश्वर हुनुहुन्छ।
पुनरुत्थानले येशूको ईश्वरत्वलाई प्रमाण गर्यो। यूहन्ना 10:18मा, उहाँले आफ्नो प्राण फेरि लिनसक्ने अधिकारको दाबी गरे। उहाँले पुनरुत्थानलाई यो पुस्ताको लागि चिन्हको रुपमा दिनुभयो र पुनरुत्थानका साक्षीहरूले यसलाई सबै पुस्ताका लागि चिन्हका रूपमा स्थापित गरे। एउटा व्यक्ति यदि ऊ परमेश्वर होइन भने आफै मृत्युबाट बौरि उठ्न सक्दैन। न ता परमेश्वरले त्यस व्यक्तिलाई जीवित पार्नुभएको थियो जसले आफूलाई परमेश्वर भएको झुटो दाबी गरेका थिए। खासगरी जसले पुनरुत्थानले आफ्नो पहिचान प्रमाणित गर्नेछ भनी दाबी गरेका थिए।
► अरू मानिसहरू पनि मृत्युबाट जीवित पारिएका छन्, तर तिनीहरू परमेश्वर होइनन्। पुनरुत्थानले येशूले पहिचान प्रमाणित गर्यो भनी तपाईं कसरी व्याख्या गर्नुहुन्छ?
(1:5) प्रेरितीय बोलावट र आत्मिक वरदानचाहिँ सबै राष्ट्रका मानिसहरूलाई ख्रीष्टको आज्ञाकारितामा ल्याउने उद्देश्यले दिइएको थियो। आत्मिक वरदानहरूको सदुपयोगचाहिँ परमेश्वरको कामको लागि मात्र हो। सेवकाईको एउटै मात्र उचित उद्देश्य भनेको ख्रीष्टको नाउँको महिमा हो। परमेश्वरको सेवकको लागि व्यक्तिगत फाइदा र लाभजस्ता उद्देश्य र चाहनाहरू अयोग्य छन्।
प्रेरितीय बोलावटको विशेषता
► के आज पनि जीवित प्रेरितहरू छन्?
प्रेरित शब्द कहिलेकाहीँ बाइबलमा यसको सामान्य अर्थ “पठाइएको व्यक्ति” सित प्रयोग गरिन्छ। प्रेरित 14:14मा, पावल र बरणावासलाई प्रेरित भनिएको छ, यद्धपि, बरणावास बाह्र प्रेरितहरू मध्येका थिएनन्। गलाती 1:19मा, पावलले उनको विशेष भ्रमणमा केफास (पत्रुस) र प्रभुका भाइ याकुब बाहेक कुनै पनि प्रेरितहरूलाई नभेटाएको बताएका छन्। त्यस अवस्थामा, याकुबलाई उनले प्रेरितको रूपमा उल्लेख गरेका छन्, यद्यपि तिनी पनि बाह्र चेलाहरू मध्येका थिएनन्।
तैपनि, बाह्र चेलाहरूलाई सामान्यता एउटा विशेष समूहको रूपमा स्वीकार गरिन्थ्यो, अनि त्यसमा अरू कसैलाई थप्न सकिँदैन। मत्ती 10:2 ले भन्छ, “बाह्र प्रेरितहरूका नाउँ यी हुन्...” (लूका 6:13 लाई पनि हेर्नुहोस्)। येशूले बाह्र प्रेरितहरूलाई भन्नुभयो कि तिनीहरू सिंहासनमा बसेर इस्राएलका बाह्र कुलहरूको न्याय गर्नेछन् (लूका 22:30)। यो प्रतिज्ञा विशेष 12 पुरुषहरूलाई दिइने इनामको रूपमा देखिन्छ। बाह्र प्रेरितहरूका नाउँहरू परमेश्वरको सहरको 12 बटा जगहरूमा छन्, जसले 12 चेलाहरूलाई एक विशेष अद्वितीय समूह भनी जनाउँछ (प्रकाश 21:14)।
येशूका भाइ यहूदाले आफूलाई प्रेरित भनेनन् तर तिनीहरूको अख्तियारलाई उल्लेख गरे (यहूदा 17 लाई 2 पत्रुस 3:2 सँग तुलना गर्नुहोस्)। प्रेरितहरूको एक अद्वितीय अधिकार थियो, र तिनीहरूले मण्डलीहरूलाई लेखेका कुराहरूलाई प्रकाश मानिन्थ्यो (2 पत्रुस 3:15-16)।
मण्डलीले यहूदा ईस्करयोतीको ठाउँलाई भर्न मत्तियासलाई छाने किनकि त्यहाँ बाह्र चेला हुनै पर्थ्यो (प्रेरित 1:26); तर हामी प्रारम्भिक मण्डलीले कुनै प्रेरितको मृत्युपछि तिनको सट्टामा अर्को प्रेरित स्थापना गरेको इतिहास भेट्टाउँदैनौं।
पावललाई परमेश्वरले प्रेरित हुनको निम्ति बोलाउनुभएको थियो (रोमी 1:1)। पावलले आफ्नो प्रेरितीय योग्यतामध्ये एउटा योग्यता यो बताए कि उनले येशूलाई देखेका थिए (1 कोरिन्थी 9:1)। यसले मण्डलीको पहिलो पुस्तामा प्रेरित पदलाई सीमित गर्दछ।
खण्ड अध्ययन - रोमी भाग 1
हरेक पदहरूको नोटहरू जारी
(1:6) “बोलाइएका” ले उद्धार पाउन, पवित्र मानिस हुनका निम्ति बोलाइएको भनी देखाउँछ, जस्तो निम्न पदहरूमा देखाइएको छ। (8:30 लाई हेर्नुहोस्)। पावलले भनेका छन् कि प्रेरितहरूसँग सबै राष्ट्रहरूको लागि सेवकाई छ; उनले अब रोमी ख्रीष्टियानहरू प्रेरितहरूको सन्देशमा विश्वास गर्नेहरू हुन् भनी देखाए। यसरी उनले देखाउँछन् कि उनको प्रेरित अधिकारलाई तिनीहरूले गम्भीरतासित लिन बाध्य छन्। यो पत्र केवल तिनीहरूले सुनेका मिसनेरीले लेखेको पत्र मात्र थिएन। यद्यपि पावल तिनीहरूको मण्डलीको संस्थापन नभए तापनि मण्डलीले पावललाई वास्ता र आदर गर्थे।[1]
(1:7) उद्धारको लागि बोलाउनु भनेको पवित्र हुनको निम्ति बोलाइनु हो। यो भनाईलाई पद 1 मा भएको कथनसँग तुलना गर्न सकिन्छ, जहाँ पावलले भनेका छन् कि उनी प्रेरित थिए किनकि उनी प्रेरित हुनका निम्ति नै बोलाइएका थिए। यसको अर्थ यो होइन कि उनी जबरजस्ती प्रेरित हुने आशा गरिरहेका थिए, तर उनी बोलावटको कारण प्रेरित बनेका थिए। रोमी विश्वासीहरू सन्त हुन बोलाइएका कारण पवित्र बनाइएको थियो। जसरी प्रेरितको बोलावटले त्यो सेवकाईको लागि वरदान र क्षमताहरू लिएर आएको थियो, त्यसरी नै सन्त हुने बोलावट शक्ति र शुद्धताको साथ आउँछ जसले हामीलाई पवित्र बनाउँछ। परमेश्वरको बोलावट सधैँ बोलावट पूरा गर्ने अनुग्रहसित आउँछ।
रूपान्तरणबाट सुरु हुने पवित्रता सबै प्रकारले पूर्ण छैन। विश्वासीहरूले आफ्नो जीवनलाई परमेश्वरको सत्यतासित मेल खाने प्रकारले सधैँ परिवतर्न गरिरहनुपर्छ। पवित्रता रुपान्तरणमा पूरा हुँदैन, तर पवित्रताको सुरुवात रुपान्तरणबाट सुरु हुन्छ जब एउटा पापीले पश्चत्ताप गर्छ, परमेश्वरको आज्ञापालन गर्न आफैलाई समर्पित गर्छ, र एउटा नयाँ सृष्टि बनिन्छ (2 कोरिन्थी 5:17)।
(1:8) संसार शब्द सामान्यतया सम्पूर्ण पृथ्वीको सट्टा सभ्य, चिनिएको संसारलाई बुझाउन प्रयोग गरिएको थियो। सुसमाचार अझै संसारभरि पुगिसकेको थिएन।
(1:9) “नयाँ करारमा भएको latreuo [सेवा गर्दछु] शब्द सधैँ धार्मिक सेवाको लागि प्रयोग गरिएको छ। यो सेवा आराधनाको सेवा हुनसक्छ वा त धार्मिकरुपमा गरिने बाह्य कार्य वा कर्तव्य प्रदर्शनमा समावेश हुनसक्छ।” [2] पावलले विभिन्न प्रकारका धार्मिक क्रियाकलापहरूद्वारा मात्र होइन तर आफ्नो आत्माबाट नै परमेश्वरको सेवा गरे।
(1:10-12) यहाँ पावलले तिनीहरूलाई बताए कि उनले रोम भ्रमण गर्ने योजना बनाएका छन। उनले मण्डलीलाई आत्मिकरुपमा बलियो पार्न चाहन्थे र उनलाई थाह थियो कि तिनीहरूले एक-अर्काको विश्वासले पारस्पारिक रुपमा प्रोत्साहन पाउनेछन्।
पावलको कथनले हामीलाई बताउँछ कि विश्वासीहरूके एक-अर्कासँगको संगतिबाट आत्मिकरुपले लाभ उठाउँछन्। पवित्र आत्माले अन्य विश्वासीहरूमार्फत विश्वासीहरूमा आफ्नो धेरै कामहरू पूरा गर्नुहुन्छ। एउटा व्यक्ति जसले अन्य विश्वासीहरूसँगको सम्बन्धलाई वेवास्ता गर्छ उसले संगतिमार्फत प्राप्त हुने अनुग्रहको लाभ गुमाउनेछ। (1 कोरिन्थी 12 मा पावलले प्रत्येक सदस्यलाई अन्य सदस्यहरूको आवश्यकताबारे बिस्तृतरुपमा बताएका छन्)।
(1:13) तिनीहरूलाई भेट्ने पावलको अघिल्लो योजनामा बाधा पुगेको थियो – समस्याहरूले होइन, सुसमाचार नपुगेको ठाउँमा सुसमाचार प्रचार गर्ने उनको प्राथमिकता भएको कारणले बाधा पुगेको थियो (15:20-22 लाई हेर्नुहोस्)। रोममा पहिले नै सुसमाचार प्रचार गरिएका हुनाले, पावल पहिले अन्य ठाउँहरूमा गए। यद्धपि, अहिले आउनु उनको प्राथमिकताको विपरित थिएन किनकि उनको यो पाइला अर्को सुसमाचार नपुगेको ठाउँमा पुग्ने कदम हुनेवाला थियो (15:23-24)।
(1:14) ग्रीकहरू ग्रीक प्रभावद्वारा सुसंस्कृत र सभ्य भएका थिए। असभ्य जाति शब्दको अर्थ “विदेशी” हो, जुन युनानी संस्कृतिद्वारा कम प्रभावित भएका आदिम संस्कृतिबाट आएको व्यक्तिलाई जनाउँछ। ग्रीकहरूले असभ्य जातिहरूलाई सभ्यता नभएको र अज्ञानी ठान्थे।
बुद्धिमान शब्दले विशेष गरी ग्रीक दर्शनद्वारा शिक्षित मानिसहरूलाई देखाउँछ; निर्बुद्धि मानिसहरूचाहिँ धेर शिक्षा नपाएका मानिसहरू थिए। पावलले देखाए कि उनको सेवकाई चाहिँ केही खास मानिसहरूमा सिमित थिएन। यसले तिनीहरूलाई उनको सेवकाईको लागि तयार पार्यो, साथै एक मिसनेरीको रूपमा उनको भूमिका पनि देखाएको थियो।
पावलले भने कि उनी सुसमाचार नसुनेका सबै मानिसहरूप्रति ऋणी थिए। पापीहरू सुन्ने योग्य भएका हुनाले पावलले ऋण तिरेका होइनन् तर उनले अनुग्रह पाएका थिए र यो अनुग्रह अरूलाई दिनुपर्ने दायित्व उनीसित थियो।
दृष्टान्त: यदि कसैले राजनलाई कमलसित बाँड्न पैसा दिन्छ भने, राजनले कमललाई त्यो पैसा दिन्छ, यद्धपि कमलले पैसा कमाउने कुनै काम नगरेको हुनसक्छ। त्यस्तै प्रकारले, हामी पनि सुसमाचार नसुनेकाहरूको लागि ऋणी छौं किनभने परमेश्वरले तिनीलाई सुसमाचार सुनाउने जिम्मेवारी हामीलाई दिनुभएको छ।
► के सुसमाचार प्रचार गर्न सबै ख्रीष्टियानहरू ऋणी छन्? किन?
(1:15) पावलले ग्रीकहरू र असभ्य जातिलाई सुसमाचार प्रचार गरे, अनि अब रोममा भएका सबैलाई सुसमाचार प्रचार गर्न उत्सुक थिए।
उनले यसो भन्दै सुरु गरे, “सुसमाचार प्रचार गर्न म उत्सुक छु,” त्यसपछि सुसमाचार के हो र संसारलाई यसको किन खाँचो छ भनी संक्षिप्त व्याख्या गरे। यो संक्षिप्त व्याख्या सम्पूर्ण पत्रहरूमा विस्तार गरिएको छ।
1:14-15 ले पावल किन तिनीहरूकहाँ आउन योग्य थिए भनी पुन: देखाउँछ। उनीसित संसारका सबै मानिसहरूको लागि सन्देश थियो।[3]
(1:16) सुसमाचार यहूदी र ग्रीक दुवैका लागि हो, र यो कथनले यहूदी र अन्यजातिहरूको विषय र परमेश्वरको सामु तिनीहरूको अडानलाई परिचय गराउँछ। यो विषय रोमी 3 सम्म जारी छ। साम्राज्यको शक्तिको केन्द्रमा पनि पावल सुसमाचारको लागि लज्जित हुने थिएनन्, किनकि सुसमाचार परमेश्वरको शक्ति हो।
मानिसहरूलाई बचाउने काममा प्रभावकारी बनाउदै सुसमाचारको सन्देशमा परमेश्वरको शक्तिले कार्यरत छ। परमेश्वरका आज्ञाहरू सधैँ तिनीहरूलाई पूरा गर्ने आवश्यक शक्तिको रूपमा छन्। जब परमेश्वरको वचन बोलिन्छ तब उहाँको शक्तिका कामहरू हुन्छन्।[4] सुसमाचार सुनाउनेहरू सुसमाचारको शक्तिमा निर्भर हुन्छन् किनभने तिनीहरूले सन्देश संचार गर्दा पवित्र आत्माले श्रोताहरूलाई विश्वस्त र सशक्त बनाउँछ।
पावलको लागि, सुसमाचारको पक्षमा उभिनुको अर्थ यसलाई वस्तुगत सत्यको रूपमा रक्षा गर्नु मात्र होइन, तर यसलाई परिवर्तन गर्ने सत्यको रूपमा प्रचार गर्नु पनि थियो। उनले यो विश्वासका साथ घोषणा गरे कि यसले उनका श्रोताहरूलाई परिवर्तन गर्नेछ।
► समाचार प्रचार गर्दा हामी किन विश्वस्त हुनुपर्छ?
(1:17) धर्मीचाहिँ विश्वासद्वारा नै बाँच्नेछ।[5] यो रोमीको पुस्तकको मुख्य अनि महत्वपूर्ण सत्यता हो।
रोमीको सम्पूर्ण पत्रले मानिसलाई कसरी धर्मी ठहराउन सकिन्छ अर्थात कसरी धर्मी बनाइयो (परमेश्वरबाट आउने धार्मिकता) भन्ने विषयमा चर्चा गरेको छ। यस विषयको आवश्यकताचाहिँ अर्को पदमा देखाइएको छ, किनकि अधर्ममा रहनेहरूको लागि परमेश्वरको क्रोध तयार छ।
[6]यहाँ उल्लेख गरिएको परमेश्वरको धार्मिकता “उहाँको धार्मिकताको गुण होइन...तर उहाँबाट बग्ने र उहाँलाई स्वीकार गर्दा आउने धार्मिकता” [7]हो, परमेश्वरको धार्मिकता मानवजातिमा तिनीहरूको विश्वासद्वारा काम गर्यो। यही विचार फिलिप्पी 3:9 मा छ: “जुनचाहिँ विश्वासद्वारा परमेश्वरबाट आउने धार्मिकता हो”। केवल पापक्षमाको कारणले मात्र मानिसहरू धर्मी ठहरिएका होइनन्, तर तिनीहरू साँच्चै धर्मी हुन सुरु गर्छन् किनकि परमेश्वरले तिनीहरूलाई परिवर्तन गर्नुहुन्छ।
[8]पत्रमा अझ (रोमी 3:21-22), पावलले भनेका छन् कि येशू ख्रीष्टमा विश्वास गर्ने सबैमाथि परमेश्वरको धार्मिकता विश्वासद्वारा प्रकट भएको छ। रोमी 5:17-19 मा हामी धार्मिकताको वरदानबारे पढ्छौं जसले धेरैलाई धर्मी ठहराए।
“सम्पूर्ण रूपले विश्वासद्वारा नै” भन्ने वाक्यांशले विश्वास नै धार्मिकताको एकमात्र मध्यम हो भनी जोड दिन्छ। विश्वास मात्र उद्धारको आवश्यकता हो भनी प्रोटेस्टेन्डहरूले जोड दिन्छन्।
रोमीको पुस्तकमा, मृत्यु शब्दले परमेश्वरको न्यायलाई बुझाउँछ। विश्वासद्वारा धर्मी ठहरिएकाहरू मात्र जिउनेछन्, अर्थात न्यायबाट बाँच्नेछन् (1:18 लाई हेर्नुहोस्)। विश्वासद्वारा न्यायबाट भाग्नेहरू बाहेक सबैमाथि परमेश्वरको क्रोध खनिनेछ।
► एउटा व्यक्ति विश्वासद्वारा धर्मी ठहरिनेछ भन्नुको अर्थ के हो?
► यो खण्डमा, जिउनुको अर्थ के हो? मृत्यु के हो? विश्वासको माध्यमबाट जिउनुको अर्थ के हो?
“यस पत्रको सामान्य उद्देश्य परमेश्वरको अनन्त, अपरिवर्तनीय उद्देश्य वा आदेश प्रकाशित गर्नु हो, त्यो हो,
विश्वास गर्नेले उद्धार पाउनेछ:
विश्वास नगर्नेलाई धिक्कारिनेछ।”
- जोन वेस्ली,
“पूर्वनिर्धारितलाई शान्तपूर्वक विचार गरियो”
रोमीको पुस्तकद्वारा परिवर्तन भएका तीन ईश्वरशास्त्रीहरू
[1]पत्रले अझ पनि मिसनेरी कार्यको लागि आधार प्रदान गर्ने आफ्नो मौलिक उद्देश्यलाई प्रकट गर्दछ। यद्यपि, यो भन्दा धेर गर्दछ। पावलले सबैले सन्देश सुन्नु किन आवश्यक छ भनी व्याख्या गर्दा, उनले सन्देश के हो र किन मानिस यो माध्यमबाट मात्र बाँच्नेछ भनी विस्तारसित व्याख्या गरे। उनले मानिसका साधारण आपत्तिलाई जवाफ दिए। उनले प्रचार गरेको सन्देशको व्याख्या र प्रतिरक्षाले पुस्तकको अधिकांश भाग भरिएको छ र यसको संरचनालाई नियन्त्रण गर्दछ।
रोमी को पुस्तक उद्धारको ईश्वरशास्त्रको व्याख्या हो। पावलको उद्धारको ईश्वरशास्त्रले यहूदी धर्म मान्नेहरूको विरुद्ध झट्टै रक्षा प्रदान गर्यो, [2]अनि यसले उद्धारको सिद्धान्तहरूको बारेमा आधुनिक त्रुटिहरूलाई पनि सच्याउन काम गर्दछ।[3]
इतिहासको माध्यमबाट, परमेश्वरले रोमीहरूलाई लेखिएको पत्र सबैभन्दा महत्वपूर्ण सत्यता पुनर्स्थापन गर्न प्रयोग गर्नुभयो जति बेला तिनीहरू बिर्सिएका थिए।
जवान मानिसको रूपमा, अगस्टिनले अनैतिक सम्बन्ध र दार्शनिक र बौद्धिक अध्ययनहरूमा सन्तुष्टि खोजे। तिनले सत्य खोजे र यसलाई ख्रीष्टियान धर्मम भेट्टाए। तैपनि, पापप्रतिको तिनको प्रेमले तिनलाई बन्दी बनाएको थियो। तिनले आफूलाई रोमी 7 मा वर्णन गरिएको देखे: तिनले सत्यता थाह पाए तर धर्मी जीवन जिउनु पूर्णरूपमा असमर्थ भए।
अगस्टिन
A.D. 386 मा, रोमी 13:13-14 पढिसके पछि, अगस्टिनले, आफ्नो तीस वर्षको उमेरमा पापी जीवन छोड्ने निर्णय गरे। परमेश्वरले तिनलाई पापको बन्धनबाट मुक्त गर्नुभयो र ख्रीष्ट येशूमा ईश्वरीय जीवन जीवन सक्षम तुल्याउनुभयो।
[4]जीवनका उप्रान्त वर्षहरूमा, अगस्टिनलाई [5] परमेश्वरले शक्तिशाली रूपमा प्रयोग गर्नुभयो। तिनका लेखहरूले झुटा दर्शनहरू विरुद्ध सही सिद्धान्तहरूको रक्षा गरे। त्यस समयको एउटा लोकप्रिय विचार भनेको मानिसहरूमा सही काम गर्ने प्राकृतिक क्षमता हुन्छ र उसले पापी नहुने कुराको छनौट गर्न सक्छ भन्ने विश्वास थियो। रोमी 5 बाट, अगस्टिनले मानिसहरू पापी स्वभावमा जन्मेका हुन्छन् जसको कारण तिनीहरूले परमेश्वरको आज्ञा पालन गर्न चाहँदैनन् भनी सिकाए। यो स्वभावले अनुग्रहबाट बाहेक परमेश्वरलाई पूर्णरुपमा खुशी पार्नु असम्भव बनाउँछ। अगस्टिनले मानिसहरूलाई परमेश्वरको अगुग्रहबारे सिकाए र गवाही दिए जसले परमेश्वरसित मानिसको सम्बन्धलाई ठीक गराउँछ।
मार्टिन लुथर
1515 मा, मार्टिन लुथरले उद्धारको आश्वासनको लागि वर्षौंको खोजी पश्चात रोमी 1:17 को अर्थ बुझे।[6] लुथरले अतिरिक्त जोशका साथ भिक्षुवादको अभ्यासलाई पछ्याएर आत्मिक शान्ति खोजेका थिए। तिनी उपवास बसे, क्याथोलिक धर्मका सबै अनुष्ठानहरू अभ्यास गरे, र आफैलाई पनि शास्ती दिए। रोमको सेन्ट पिटर क्याथेड्रलको सिँढीमा रगतपच्छे घुँडामा घँस्रिदै गर्दा तिनले अचानक परमेश्वरबाट विश्वासद्वारा प्राप्त गर्ने अनुग्रहको बारेमा थाह पाए।
तिनले देखे कि जो परमेश्वरको न्यायबाट बाँच्न चाहन्छ उसले परमेश्वरको क्षमा दिने प्रतिज्ञामा विश्वास गर्दछ। यो आश्वासन तिनको सन्देशको आधार बन्यो कि विश्वासमात्र एउटा माध्यम हो जसबाट हामीले उद्धार पाउन सक्छौं।
जोन वेस्ली
1738 मा, जोन वेस्लीले वर्षौदेखि खोजेको व्यक्तिगत उद्धारको आश्वासन पाए।[7] वेस्ली एउटा जोशिलो बाइबल विद्वान थिए। तिनी अमेरिकाका मूल निवासी भारतीयहरूका लागि मिसनेरीको रुपमा दुई वर्षका लागि गए तर तिनी आफैले सुसमाचारलाई राम्ररी बुझेका थिएनन्। आँधी बेह्रीको समय जहाजमा, तिनले मोराभियन परिवारलाई देखे जसले शान्तिपूर्वक परमेश्वरमा भरोसा गरिरहेका थिए र मृत्युसँग डराएका थिएनन्, त्यससमय वेस्लीले आफूसँग त्यो विश्वास नभएको महसुस गरे।
वेस्लीले वचनमा देखे कि रुपान्तरण अचानक हुन्छ। तिनले मोराभियन भाइहरूलाई भेटे जसले तिनीहरूसित उद्धारको व्यक्तिगत आश्वासन भएको गवाही दिए। तिनले आफूमा निश्चित रुपान्तरणको अनुभव गर्न आवश्यक छ भनी महसुस गर्न थाले। तिनको रुपान्तरण एउटा घरमा वचन अध्ययन र प्रार्थनाको निम्ति रहँदा भयो। कसैले रोमीको पुस्तकमा भएको लुथरको प्रस्तावनालाई पढ्दै गर्दा, वेस्लीले आफ्नो हृदय “अनौठो न्यानो” भएको महसुस गरे। तिनले भने, “मैले मेरो उद्धारको लागि केवल ख्रीष्टमा मात्र भरोसा गरेको महसुस गरें: र उहाँले मेरो पाप हटाइदिनुभएको, अझ मलाई, मेरा सबै पापको र मृत्युको व्यवस्थाबाट बचाउनुभएको आश्वासन दिनुभयो।” [8]
यी तीनै जना पुरुषहरूका लागि, सन्देशलाई बुझ्नु भनेको चाहिँ जोसिलो सुसमाचार प्रचार गर्ने प्रेरणा थियो। पुस्तकले अझ पनि उद्धारको धर्मसिद्धान्तलाई व्याख्या गरेर मिसनहरूको लागि आधार प्रदान गर्ने आफ्नो उद्देश्य पूरा गर्दछ।
►रोमीको पुस्तकले तपाईंको जीवन र सेवामा कस्तो प्रभाव पारेको छ भनी तपाईं कल्पना गर्न सक्नुहुन्छ?
[8]John Wesley, The Works of John Wesley, Vol. I (Kansas City: Nazarene Publishing House), 103
पाठ 1 का समीक्षा प्रश्नहरू
(1) पावलले रोमीहरूलाई यो पत्र किन लेखे?
(2) पावलले रोममा जाने योजना किन बनाए?
(3) नयाँ करारका पत्रहरूमा हाम्रा प्रभु येशू ख्रीष्ट भन्ने शब्दको अर्थ के हो?
(4) पुनरुत्थानले येशूको ईश्वरत्वलाई कसरी प्रमाणित गर्यो?
(5) असभ्य जाति शब्दको अर्थ के हो? (रोमी 1:14)
(6) हामी किन सुसमाचार नसुनेकाहरूको लागि ऋणी छौं?
(7) रोमीको पुस्तकको मुख्य अनि महत्वपूर्ण सत्यता के हो?
(8) रोमीको पुस्तकमा मृत्यु शब्दको अर्थ के हो?
(9) रोमीको पत्रअनुसार परमेश्वरको न्यायबाट को बाँच्न सक्छ?
पाठ 1 का कार्यहरू
(1) यस पाठको खण्ड प्रयोग गर्दै, सुसमाचारको सेवाको बारेमा एक पृष्ठ लेख्नु होस्। सेवाको लागि बोलावट, सुसमाचार प्रचारकले सुन्न आवश्यक पर्नेहरूप्रति राख्नुपर्ने ऋण, र परमेश्वरले सन्देशलाई दिनुहुने शक्तिको बारेमा व्याख्या गर्नुहोस्।
(2) यो पाठ्यक्रमको हप्ताहरूमा, तपाईंले रोमीका खण्डहरूमा आधारित तीनवटा उपदेश र पाठहरू तयार गर्नुपर्छ र कक्षा बाहेक अन्य समूहहरूमा प्रस्तुत गर्नुपर्छ। प्रत्येक प्रस्तुतिपछि, तपाईंले प्रस्तुतिलाई कसरी सुधार गर्न सकिन्छ भनेर श्रोताहरूलाई सोध्नुपर्छ। तपाईंले कक्षा अगुवालाई तपाईंको प्रस्तुतिकरण नोटहरूको प्रतिलिपी, समूह र घटनाको विवरण, प्रस्तुतिकरण सुधार गर्ने योजनाहरू प्रस्तुत गरिसकेपछि दिनुपर्छ।
SGC exists to equip rising Christian leaders around the world by providing free, high-quality theological resources. We gladly grant permission for you to print and distribute our courses under these simple guidelines:
No Changes – Course content must not be altered in any way.
No Profit Sales – Printed copies may not be sold for profit.
Free Use for Ministry – Churches, schools, and other training ministries may freely print and distribute copies—even if they charge tuition.
No Unauthorized Translations – Please contact us before translating any course into another language.
All materials remain the copyrighted property of Shepherds Global Classroom. We simply ask that you honor the integrity of the content and mission.