आत्मिक वरदानहरूको सूचीकरण
| आत्मिक वरदानहरुको परिभाषा |
|---|
| आत्मिक वरदान भनेको विश्वासीलाई पवित्र आत्माद्वारा मण्डलीको सेवकाईमा प्रयोग गर्नको लागि दिइएको क्षमता हो। यो विश्वासीमार्फत आत्माको काम हो, तैपनि विश्वासीले आफ्नो वरदानलाई कसरी प्रयोग गर्छ र यसलाई अनुचित तरिकाले प्रयोग गर्न सक्छ भन्ने निर्णय आफै गर्छ। आत्मिक वरदान प्राकृतिक क्षमताको जस्तै उस्तै होइन, तर वरदानहरू प्राकृतिक क्षमतासँग मिल्दोजुल्दो हुन सक्छन् र यसलाई सजिलै छुट्याउन सकिंदैन। |
आत्मिक वरदानहरू र सेवकाईको भूमिकाहरू नयाँ नियममा धेरै ठाउँमा सूचीबद्ध गरिएको छ। सूचीहरू उस्तै उस्तै छन् तर समान छैनन्। बाइबलले हामीलाई सबै आत्मिक वरदानहरूको सूची दिँदैन।
► एक बिद्यार्थीले समूहको लागि एफिसी ४:७-१२ पढ्नुपर्छ।
पद ७-८ ले हामीलाई बताउँछ कि परमेश्वरको अनुग्रह प्रत्येक व्यक्तिलाई आत्मिक वरदानको रूपमा दिइएको छ। प्रेरितले मुक्तिको अनुग्रहको बारेमा कुरा नगरेको जस्तो देखिन्छ, किनकि पद ११ मा तिनले परमेश्वरले दिनुभएको सेवकाईका थुप्रै भूमिकाहरू उल्लेख गरेका छन्।
परमेश्वरले मानिसहरूलाई विशेष सेवकाईमा बोलाउनुहुन्छ र तिनीहरूलाई आवश्यक पर्ने आत्मिक वरदानहरू दिनुहुन्छ। पावलले १ कोरिन्थी को पुस्तकमा आफुले गरेको जस्तै आत्मिक वरदानहरूको सूची दिनुको साटो, केही सेवकाईहरूको सूची दिए। सूचीबद्ध सेवकाईको भूमिकाहरू प्रेरितहरू, अगमवक्ताहरू, प्रचारकहरू, मण्डलीका पास्टरहरू, र शिक्षकहरू हुन्। निस्सन्देह, यो सबै सेवकाईको भूमिकाहरूको पूर्ण सूची हुन भन्ने अर्थको लागि होइन।
प्रेरितहरू
येशूको पार्थिव सेवकाई पछि मण्डली विस्तार गर्नको लागि प्रेरितहरूलाई विशेष गरी छानिएको थियो। तिनीहरू आफ्नो सेवकाईमा आश्चर्यकर्महरूको लागि चिनिन्थे (२ कोरिन्थी १२:१२)। तिनीहरू सबैले येशूलाई उहाँको पार्थिव सेवकाईको दौडान व्यक्तिगत रूपमा चिनेका थिए (१ कोरिन्थी ९:१, प्रेरित १:२१-२२)।
प्रकाश को पुस्तकमा, हामी पढ्छौं कि शहरका बाह्र जगहरूले बाह्र प्रेरितहरूको प्रतिनिधित्व गर्दछ, जसको अर्थ यो हो कि तिनीहरू मण्डलीको इतिहासमा अद्वितीय थिए (प्रकाश २१:१४)। बाह्र जना मात्र प्रेरितहरू छन् भनेर सङ्केत गर्ने अन्य पदहरू मत्ती १०:२ र प्रेरित १:२६ मा छ। यहूदा १७ ले प्रेरितहरू अतीतमा थिए भनेर बुझाउँछ। आज जीवित प्रेषितहरू यहाँ छैनन्।
अगमवक्ताहरू
केही मानिसहरूले अगमवाणी भविष्यका घटनाहरूको भविष्यवाणी हो भन्ने ठान्छन्, तर नयाँ नियमले प्रचारलाई अगमवाणीको रूपमा बुझाउँछ। पुरानो नियममा, अगमवाणीमा अक्सर भविष्यवाणी समावेश थियो, किनकि अगमवक्ताले आफ्नो सन्देश परमेश्वरबाट आएको हो भनेर प्रमाणित गर्ने एउटा तरिका यही थियो। पुरानो नियमको समयमा, प्राय बाइबलको धेरै भाग लेखिएको थिएन।
अगमवक्ता भनेको परमेश्वरबाट एउटा सन्देश प्राप्त गर्ने व्यक्ति हो, जसमा भविष्यवाणी समावेश हुन सक्छ वा नहुन पनि सक्छ। उसको सन्देश सधैं बाइबलका शिक्षाहरूसित मेल खानुपर्छ।
प्रचारकहरू
सुसमाचार प्रचारक एउटा त्यस्तो व्यक्ति हो जसले सुसमाचार व्यक्तिहरूलाई वा मण्डलीहरूलाई संचार गर्छ। प्रत्येक ख्रीष्टियनले सुसमाचार बाँड्नु पर्छ, तर कोही-कोही व्यक्तिहरु यस कामको लागि विशेष रूपमा वरदान पाएका हुन्छन्। एउटा पास्टरले आफ्नो सेवकाईको भागको रूपमा सुसमाचार प्रचार गर्नुपर्छ (२ तिमोथी ४:५)।
मण्डलीका पास्टरहरू
पास्टर भनेको प्रचारक मात्र होइन, तर मानिसहरूको एउटा खास समूहलाई आत्मिक हेरचाह गर्ने व्यक्ति पनि हो।
शिक्षकहरू
मण्डलीमा, शिक्षक त्यो व्यक्ति हो जसले अरूलाई बाइबलीय र आत्मिक सत्यताको व्याख्या गर्छ। प्रत्येक पास्टर एक शिक्षक हुनुपर्दछ (१ तिमोथी ३:२, तीतस १:९), तर अन्य व्यक्तिहरु जो पास्टरहरू होइनन् उनीहरूलाई पनि शिक्षक हुनको लागी वरदान दिइएको हुन्छ।
► एक बिद्यार्थीले समूहको लागि रोमी १२:६-८ पढ्नुपर्छ।
यहाँ प्रेरित भन्छन् कि कुनै पनि व्यक्तिले आफ्नो प्रयास र समयलाई विभिन्न प्रकारका सेवकाईमा छरपस्ट पार्नुको साटो, परमेश्वरले दिनुभएको वरदानसँग आफ्नो प्रयास केन्द्रित गर्नुपर्छ।
केही खास प्रकारका सेवकाईका लागि केही विशेष प्रोत्साहनहरू दिइएका छन्। उदाहरणका लागि, अगुवाई गर्ने व्यक्ति लगनशील हुनुपर्छ, आफूले चाहेको बेला मात्र अगुवाई गर्ने होईन, तर जिम्मेवारीहरू सधैं पूरा हुन्छन् भनेर पक्का गर्नुपर्छ। जसले दिन्छ उसले आफ्नो लागि ध्यान दिने तरिकाले गर्नु हुँदैन तर सरल तरिकाले दिनुपर्छ। तत्काल आवश्यकता परेका मानिसहरूलाई सहयोग गर्ने, दयालु कार्य गर्ने व्यक्तिले यो काम खुशीसाथ गर्नुपर्छ, झर्को मानेर होइन।
► एक बिद्यार्थीले समूहको लागि १ कोरिन्थी १२:२८ पढ्नुपर्छ।
पावलले यस पदमा सबै वरदानहरु वा सेवकाईको भूमिकाको पूर्ण सूची दिन चाहेका थिएनन् जस्तो देखिन्छ। उदाहरणका लागि, तिनले यस सूचीमा पास्टरहरूको नाम उल्लेख गरेनन्, यद्यपि तिनले तिनीहरूलाई एफिसीको सूचीमा उल्लेख गरे।
यस पाठमा पहिले नै प्रेरितहरू, अगमवक्ताहरू र शिक्षकहरूको बारेमा छलफल गरिसकेको छ।
कोही मानिसहरुलाई आश्चर्यकर्म र चङ्गाइको सेवकाईमा बोलाइएको हुन्छ। प्रत्येक विश्वासीलाई आश्चर्यकर्महरूको लागि प्रार्थना गर्ने सुअवसर छ, र परमेश्वरले विश्वासलाई जवाफ दिनुहुनेछ (याकूब ५:१५)। तथापि, केही विश्वासीहरूले परमेश्वरको इच्छा बुझ्ने र आश्चर्यकर्महरूको लागि विश्वासलाई अभ्यास गर्ने वरदान पाएका छन्।
कोही मानिससँग सहयोगको वरदान हुन्छ। तिनीहरूले अन्य मानिसहरूको तुलनामा आवश्यकताहरू छिटो देख्छन्। तिनीहरूले व्यक्तिगत आवश्यकताहरू वा मण्डलीको काममा मदत गर्ने अवसरहरूमा ध्यान दिन्छन्। तिनीहरूसँग विभिन्न व्यावहारिक क्षमताहरू छन्।
कसैलाई नेतृत्व गर्न र प्रशासन गर्न विशेष क्षमता दिइएको हुन्छ। धेरै मानिसहरू सोच्छन् कि अगुवाहरु सबैभन्दा महत्त्वपूर्ण व्यक्तिहरू हुन्, तर मण्डलीमा अन्य वरदानहरू बिना अगुवापन बेकार हुनेछ।
भाषाहरूको वरदान अन्तिममा सूचीबद्ध गरिएको छ। सायद प्रेरितले ती व्यक्तिहरूलाई सच्याउन चाहन्थे जसले यसलाई सबैभन्दा महत्त्वपूर्ण वरदान ठान्थे।