ख्रीष्टियान आराधनाको परिचय
ख्रीष्टियान आराधनाको परिचय
Audio Course Purchase

Search Course

Type at least 3 characters to search

Search through all lessons and sections in this course

Searching...

No results found

No matches for ""

Try different keywords or check your spelling

results found

Lesson 8: आराधनाको योजना र अगुवाइ

2 min read

by Randall McElwain


पाठका उद्देश्यहरू

यस पाठको अन्त्यसम्ममा, विद्यार्थीले सक्षम हुनुपर्छ:

(१) आराधनालाई नेतृत्व गर्नको लागि आत्मिक रूपमा तयार हुनुको महत्त्वलाई बुझ्ने।

(२) आराधना सेवाहरूमा रूपरेखाको भूमिका र विषयवस्तुलाई बुझ्ने।

(३) सन्तुलित आराधना सेवाहरूको योजना बनाउने जसले ख्रीष्टको सम्पूर्ण शरीरसँग बोल्छ।

(४) आराधनाको अगुवामा चाहिने गुणहरूको कदर गर्ने।

(५) नेतृत्व र आराधनाको नियन्त्रण बीचको भिन्नतालाई छुट्याउने।

(६) प्रभावकारी आराधनाको नेतृत्वको लागि व्यावहारिक कदमहरू लागू गर्ने।

पाठको तयारी

२ इतिहास ५:१३-१४ कण्ठ गर्नुहोस्।

परिचय

► प्रत्येक हप्ताको आराधना सेवाको योजना बनाउनलाई कति समय दिनुहुन्छ? के तपाईं गीतहरूलाई प्रवचनसँग मेल गराउनु हुन्छ? के यस प्रकारको योजना आवश्यक छ वा अग्रिम योजनाले आराधनामा पवित्र आत्माको स्वतन्त्रतालाई बाधा पुर्‍याउँछ?

विशेष पाहुनाहरूका लागि खाना तयार गरिरहेकी एक जना महिलाको कल्पना गर्नुहोस्। पाहुनाहरू खाना खान आउँदा मेजमानले भन्छिन‍्, "खाना पाउनमा धेरै समय खेर फाल्ने कुरामा म विश्वास गर्दिनँ। यहाँ केही उब्रेका रोटी, मासु र तरकारीहरू छन्। आफूलाई जे-जे मन पर्छ ती हालेर खानुहोस्।" के तपाईं विशेष अतिथिहरूसँग यस्तै व्यवहार गर्नुहुन्छ? पक्कै पनि गर्नुहुन्न! तपाईंको पाहुनाहरूलाई तपाईंले तपाईंको उत्तम कुराहरू दिन चाहानुहुन्छ।

एक जना पास्टरको कल्पना गर्नुहोस् जसले परमेश्वरकहाँ आराधनलाई आफ्नो भेटीको रूपमा लैजान्छन्। उनी भन्छन्, "म आराधनाको योजनामा धेरै समय बिताउनमा विश्वास गर्दिनँ। म पवित्र आत्मालाई म मार्फत बोल्ने स्वतन्त्रता दिन चाहन्छु, त्यसैले म कुनै योजना बनाउँदिनँ। म आत्माले मलाई डोऱ्याउन दिन्छु।"

केही अगुवाहरू विश्वास गर्छन् कि पवित्र आत्माले राम्रोसँग तयार गरिएको प्रवचन वा योजनाबद्ध सेवाद्वारा काम गर्न सक्नुहुन्न। तथापि, बाइबलले आराधनाको लागि योजना बनाउनुको महत्त्वलाई देखाउँछ। कोरिन्थीको मण्डलीको लागि आराधनाको सन्दर्भमा मन्दिरको आराधनाको लागि सङ्गीतकारहरूको सावधानीपूर्वक तयारीदेखि पावलको निर्देशनहरू सम्ममा, पवित्रशास्त्रले देखाउँछ कि सेवकाइमा अगुवाइ गर्नको लागि योजना बनाउनु महत्त्वपूर्ण हुन्छ। हामीले त्यस्तो भेटी ल्याउनु हुँदैन जसमा हाम्रो केही मूल्य परेको हुँदैन। आराधना परमेश्वरप्रतिको हाम्रो बलिदान भएकोले, परमेश्वर हाम्रो उत्तम बलिदानको योग्य हुनुहुन्छ।

यस पाठमा हामी आराधनाको नेतृत्वका दुई पक्षहरूलाई हेर्नेछौं। पहिलो, हामी आराधनाको योजनाको महत्त्वलाई अध्ययन गर्नेछौं। त्यसपछि, हामी आराधना सेवामा प्रभावकारी नेतृत्वलाई हेर्नेछौं।

आराधना सेवाको तयारी

► प्रस्थान २८-२९ लाई पढ्नुहोस्। इस्राएलको आराधनामा अगुवाइ गर्नेहरूको सावधानीपूर्वक तयारीलाई ध्यान दिनुहोस्। आराधनाको नेतृत्व गर्न तपाईं आत्मिक, मानसिक र भावनात्मक रूपमा कसरी तयार हुनुहुन्छ?

आराधनाको अगुवा तयार गर्नु

आराधना सेवाको लागि योजना र तयारी गर्नु महत्त्वपूर्ण हुन्छ; आराधनाको अगुवा तयार गर्नु अझ महत्त्वपूर्ण हुन्छ। हामी नपुगेको ठाउँमा मानिसहरूलाई नेतृत्व गर्न सक्दैनौं। यसकारण, हामीले आराधनामा अरूलाई अगुवाइ गर्ने प्रयास गर्नुअघि आफ्नो हृदय तयार गर्नुपर्छ।

[1]पाठ २ मा, हामीले आराधकहरूका लागि परमेश्वरको आवश्यकताहरू देख्यौं। परमेश्वरले आफ्ना आराधकहरूलाई सफा हात र शुद्ध हृदय हुन बोलाउनुहुन्छ। आराधना सेवाको तयारी सुरु गर्नु अघि, हामीले आफूलाई आराधनाको अगुवाको रूपमा तयार गर्नुपर्छ। आराधनाको नेतृत्व गर्न हामी आत्मिक तवरमा तयार हुनुपर्छ।

प्रार्थना र पवित्रशास्त्र पढेर आराधनाको योजना सुरु गर्नुहोस्। आफ्नो आत्मिक विकासको लागि परमेश्वरको वचनमा समय बिताउनुहोस्। आराधना अगुवाहरूको लागि निरन्तरको खतराले व्यक्तिगत आत्मिक विकासको लागि सेवाको तयारीलाई प्रतिस्थापन गर्न अनुमति दिइरहेको हुन्छ। हामी अरूहरूको लागि प्रवचनहरू तयार गर्न बाइबल अध्ययन गर्न सक्छौं तर परमेश्वरको वचनलाई हाम्रा आफ्नै आत्मिक आवश्यकताहरू पूरा गर्न अनुमति दिन चुकिरहेका हुन्छौँ।

मण्डलीमा परमेश्वरको वचन बोल्ने खाले वचन-खण्ड र गीतहरू छनोट गर्नु अघि, परमेश्वरको वचन र परमेश्वरको आत्मालाई एक व्यक्तिको रूपमा तपाईंसँग बोल्न दिनको लागि समय लिनुहोस्। त्यसपछि जब तपाईं शनिवारको सेवाको लागि योजना बनाउन थाल्नुहुन्छ, वचन-खण्ड, प्रवचनको विषय र मानिसहरूका आवश्यकताहरू पूरा गर्न सङ्गीतमा मार्गदर्शन गर्नको लागि परमेश्वरसँग प्रार्थना गर्नुहोस्।

जाँच

तपाईं आफ्नो जीवनमा निजी आराधनाको स्वस्थ ढाँचा कसरी विकास गर्नुहुन्छ? तपाईं के कस्ता बाधाहरूको सामना गर्नुहुन्छ? ती अवरोधहरूलाई तपाईं कसरी सम्बोधन दिनुहुन्छ?

आराधना सेवाको योजना बनाउनु[2]

फ्रेड बकले लोयड जोन ओगिल्भीको पास्टरको तयारीबारे वर्णन गरे जसको अधीनमा बसेर उनले सेवा गरेका थिए डा. ओगिल्भीले वर्षभरि आफ्नो प्रवचनको योजना बनाए। धेरै पटक, जनावरीमा छनोट गरिएको प्रवचनको विषय जुलाइमा प्रचार गर्दा मण्डलीको आवश्यकताहरूका लागि उपयुक्त थियो। किन? "हाम्रो परमेश्वर हिजो, आज र भोलिका परमेश्वर हुनुहुन्छ। उहाँलाई हाम्रा आवश्यकताहरू पहिले नै थाहा छ, हामीले थाहा गर्नुभन्दा धेरै अघि। …र जब हामी तयार र सङ्गठित हुन्छौं, यसले हामीलाई पवित्र आत्माको लागि थप उपयोगी, लचिलो औजार बनाउँछ।"[3] पवित्र आत्माले जान्नुहुन्छ कि तपाईंको सेवामा को-को सहभागी हुनेछन्; उहाँले तपाईंलाई ती गीतहरू र पवित्रशास्त्रहरूमा मार्गदर्शन गर्न सक्नुहुन्छ जसले तिनीहरूको आवश्यकताहरूको लागि बोल्नेछ।

सायद तपाईंले एक पटकमा एक वर्षको योजना बनाउनु हुँदैन होला, तर आराधनाको योजना बनाउनु महत्त्वपूर्ण हुन्छ। सावधानीपूर्वक बनाएको योजनाले हामीलाई "अब के हुन्छ?" भनी चिन्ता गर्नुको सट्टा सेवाको समयमा आराधनामा ध्यान केन्द्रित गर्न स्वतन्त्र बनाउँछ। जब हामी योजना बनाउँदैनौं, हामीले अघिल्लो हप्ता के गर्‍यौं भनेर त्यसमा फर्कने प्रवृत्ति हुन्छ। योजनाले हामीलाई शृजनशील हुन स्वतन्त्र बनाउँछ।

एउटा रूपरेखाबाट सुरु गर्नु।

हामीमध्ये धेरैलाई क्रम अनुसारले मिलेको जीवन मन पर्छ। हामी बिहानको खाजा र बेलुकाको खाना खान रुचाउँछौं। हामी प्राय: अनियमित रूपमा पृष्ठहरू पढ्नुको सट्टा अध्याय १ देखि अन्त्यसम्म पुस्तकहरू पढ्छौं। कुनै पनि यात्रु त्यस्तो खाले अन्तर्राष्ट्रिय उडानमा चढ्न चाहँदैन जहाँ पाइलटले, "हामीले आज कुन रुट लिने भन्ने निर्णय गरेका छैनौं। हामी केवल उड्नेछौं र के हुन्छ हेर्नेछौं" भनेको सुन्न चाहँदैन। हामीलाई रूपरेखा मनपर्छ।

[4]आराधनाको रूपरेखाले पवित्र आत्मालाई पछ्याउने हाम्रो स्वतन्त्रतालाई सीमित गर्दैन जब उहाँले हाम्रा योजनाहरूलाई परिवर्तन गर्नुहुन्छ! रूपरेखाले आराधनाको लागि मार्गनिर्देशन दिन्छ, जबकि पवित्र आत्माको अगुवाइको लागि खुला रहन्छ यदि उहाँले हाम्रो रूपरेखालाई रद्द गर्नुहुन्छ भने। मन्दिरको अर्पण सेवामा योजनाबद्ध रूपरेखा थियो, तर परमेश्वरको उपस्थितिले सेवाको क्रमलाई परिवर्तन गर्यो (२ इतिहास ५:१३-१४)।

परिशिष्ट अ मा केही अगुवाहरूले आराधनाको योजनाको लागि प्रयोग गर्ने रूपरेखाहरू छन्। तपाईंलाई तपाईंको सेवाहरूको लागि उनीहरूमध्ये कुनै एकलाई अनुकूल बनाउन उपयोगी लाग्न सक्छ। यी एक अपरिवर्तनिय ढाँचा होइनन् तर यसले एक रूपरेखा प्रदान गर्न सक्छ जुन तपाईंले आफ्नो आवश्यकताहरूमा मिलाउन सक्नुहुन्छ।

आराधनाको योजनाका केही सामान्य रूपरेखाहरूमा यी कुराहरू समावेश हुन्छन्:[5]

(१) प्रवचनमा केन्द्रित रूपरेखा

  • सत्यको उद्‌घोषणा: भजन, पवित्रशास्त्र, प्रवचन

  • सत्यको प्रतिक्रिया: निमन्त्रणा, भेटी, समापनको भजन

(२) आराधनामा परमेश्वरका मानिसहरूको गतिविधिमा आधारित रूपरेखा

  • परमेश्वरका मानिसहरू भेला हुन्छन्: आराधनाको आह्वान, प्रशंसाको भजन, प्रार्थना

  • परमेश्वरका जनहरूले वचन सुन्छन्: पवित्रशास्त्र पढाइ र प्रवचन

  • परमेश्वरका मानिसहरूले वचनप्रति प्रतिक्रिया जनाउँछन्: प्रतिक्रियाको गीत, प्रार्थना, भेटी

  • परमेश्वरका मानिसहरू बाहिर पठाइएका छन्: समापनको भजन, आशीर्वादको प्रार्थना

(३) परमेश्वर र उहाँका जनहरू बीचको संवाद देखाउने रूपरेखा (यशैया ६ मा आधारित)

  • परमेश्वरले आफैलाई प्रकट गर्नुहुन्छ (पद १): आराधनाको आह्वान

  • परमेश्वरका मानिसहरूले प्रशंसा र स्वीकारोक्तिको साथ प्रतिक्रिया दिन्छन् (पद ३-५): भजन र प्रार्थना

  • परमेश्वर आफ्ना जनहरूसँग बोल्नुहुन्छ (पद ६-८): पवित्रशास्त्र पढाइ र प्रवचन

  • परमेश्वरका मानिसहरू प्रतिबद्धतामा जवाफ दिन्छन् (पद ८): भजन र भेटी

  • परमेश्वरले आफ्ना मानिसहरूलाई आज्ञा दिनुहुन्छ (पद ९): आशीर्वादको प्रार्थना

(४) भजनसंग्रह ९५ मा आधारित रूपरेखा

  • आनन्दसाथ धन्यवाद चढाउँदै प्रवेश गर्नुहोस्: (पद १-५): आराधनाको आह्वान, प्रशंसाको भजन

  • श्रद्धापूर्ण आराधनालाई जारी राख्नुहोस् (पद ६-७): समर्पणको भजन, प्रार्थना

  • परमेश्वरको आवाज सुन्नुहोस् (पद ७-११): पवित्रशास्त्र पढाइ र प्रवचन

सबै समेटिएको सन्देश सञ्चार गर्नु।

आराधनाले परमेश्वरसँग बोल्छ, तर यसले मण्डलीसँग पनि बोल्छ। आराधनामा, हामी आराधकहरूका लागि परमेश्वरको वचन ल्याउँछौं। सेवाको योजना बनाउँदा, "यस सेवामा परमेश्वरले आफ्ना जनहरूलाई के सन्देश दिन चाहनुहुन्छ?" भनेर सोध्नु उपयोगी हुन्छ?

के तपाईंले कहिल्यै यस्तो सेवामा भाग लिनुभएको छ?

सेवाको क्रम विषय/थीम
मण्डलीय भजन १ प्रार्थनाको लाभहरू
मण्डलीय भजन २ परमेश्वरको स्तुति
मण्डलीय भजन ३ स्वर्गको आशा
एकल/गायकमण्डली भजन पवित्र आत्मालाई हाम्रो जीवनमा निम्त्याउने
प्रवचन “योनाको निनवेमा बोलावट” - सुसमाचार प्रचारको चुनौती
मण्डलीय भजन ४ परमेश्वरको स्तुति

आराधकहरूसँग के सन्देश बाँकी रहन्छ? उनीहरूले प्रार्थना, परमेश्वरको स्तुति, स्वर्ग, र पवित्र आत्माबारे गीत गाए, तर प्रवचन भने पूरै फरक विषयमा थियो। आउँदो हप्तामा के मानिसहरू सुसमाचार प्रचारको चुनौती सम्झनेछन्? सायद, तर सेवाको संरचनाले यस विषयलाई बलियो बनाएको थिएन।

अब सुसमाचार प्रचारको विषयमा योजना गरिएको सेवा विचार गर्नुहोस्:

सेवाको क्रम विषय/थीम
मण्डलीय भजन १ परमेश्वरको स्तुति
मण्डलीय भजन २ स्तुति र सुसमाचार प्रचार
मण्डलीय भजन ३ हाम्रो सुसमाचार सन्देशको सार
मण्डलीय भजन ४ सुसमाचार प्रचारको आवश्यकता
प्रवचन “योनाको निनवेमा बोलावट” - सुसमाचार प्रचारको चुनौती
एकल/गायकमण्डली भजन सुसमाचार प्रचारको आदेश
मण्डलीय भजन ५ आदेशप्रतिको प्रतिक्रिया

किनकि अगुवाहरूले सेवाको योजना एउटै विषयलाई संप्रेषण गर्नका लागि बनाए, मानिसहरूले हप्ताभर परमेश्वरको स्वर सुन्ने सम्भावना बढी हुन्छ, जसले उनीहरूलाई सुसमाचार प्रचारको बोलावट सम्झाइरहन्छ। जब उनीहरूले खाली जीवन भएका मानिसहरूलाई देख्छन्, उनीहरूले शायद त्यो गीतका शब्दहरू सम्झनेछन् जसले भन्छ कि मानिसहरूलाई प्रभु आवश्यक छ। जब उनीहरू मंगलबार काम गर्दैछन्, उनीहरूले शायद आनन्द मनाउनेछन् कि येशू उद्धार गर्नुहुन्छ, र सम्झनेछन् कि येशूले हामीलाई उद्धार गर्नुभएकोले हामीले यो आनन्द अरूसँग बाँड्नुपर्छ।

के केन्द्रीय विषयवस्तु बिनाको सेवाद्वारा परमेश्वरले काम गर्नुहुन्छ? अवश्य! तथापि, होसियारीसाथ योजना बनाउन समय निकाल्दा हामी हाम्रो मण्डलीलाई सन्देशमा केन्द्रित हुन मद्दत गर्छौं। के यो सधैं आवश्यक छ? होइन। सेवामा कहिलेकाहीं धेरै विषयवस्तुहरू हुन्छन् जुन परमेश्वरले मण्डलीमा विभिन्न आवश्यकताहरू पूरा गर्न प्रयोग गर्नुहुन्छ। परमेश्वरले एउटै तरिकाद्वारा मात्र काम गर्नुहुन्छ भन्ने सोचाइको जालमा हामी कहिल्यै पर्नु हुँदैन। यद्यपि, एक एक रूपता भएको विषयवस्तुले प्राय: आराधकहरूलाई सेवाको सन्देशमा ध्यान केन्द्रित गर्न मद्दत गर्दछ।

आराधनामा सन्तुलन राख्नुहोस्।

हामी सबैको मन पर्ने कुराहरू हुन्छन्: मनपर्ने खानाहरू, मनपर्ने सङ्गीत, मनपर्ने पुस्तकहरू, मनपर्ने खेलहरू, र मनपर्ने बाइबल पुस्तकहरू हुन्छन्। आराधनाको योजना बनाउँदा, यो महत्त्वपूर्ण हुन्छ कि अगुवाले आफ्नो मनपर्ने गीतहरू, पवित्रशास्त्रका वचनहरू र प्रवचनका विषयवस्तुहरू भन्दा बढी नै समावेश गर्नुपर्दछ। सन्तुलित आराधनाले सम्पूर्ण मण्डलीलाई सम्पूर्ण सुसमाचार सुनाउनेछ।

(१) सन्तुलित आराधनाले परमेश्वरको महिमा र हामीसँग रहेको परमेश्वरको उपस्थिति दुवैलाई देखाउँछ।

परमेश्वर एक सर्वोच्च परमेश्वर हुनुहुन्छ जसले सारा पृथ्वीमा राज्य गर्नुहुन्छ; परमेश्वर एक सर्वव्यापी परमेश्वर पनि हुनुहुन्छ जो उहाँका मानिसहरू माझ वास गर्नुहुन्छ। हामी यो सन्तुलन पवित्रशास्त्रभरि देख्छौं।

लाल समुद्र पार गरेपछि, इस्राएलका मानिसहरूले परमेश्वरको शक्तिको गीत गाए; "हे परमप्रभु, देवताहरूमा तपाईंझैँ को छ र? पवित्रतामा अति महान्, महिमामा भययोग्‍य, र उदेकका कर्म गर्नुहुने तपाईंझैँ को छ र?" तिनीहरूले परमेश्वरको हेरचाहको बारेमा गीत गाए। "तपाईंले छुटकारा गर्नुभएका मानिसहरूलाई तपाईंले आफ्‍नो नचुक्‍ने प्रेममा डोर्‍याउनुहुनेछ। तपाईंले आफ्‍नो शक्तिद्वारै तिनीहरूलाई आफ्‍नो पवित्र वासस्‍थानमा अगुवाइ गर्नुहुनेछ" (प्रस्थान १५:११-१३)।

यशैयाले परमप्रभुलाई सिंहासनमा बसेको, अग्लो र माथि उचालिएको देखे। उहाँ महिमित र पृथ्वीभन्दा धेरै माथि हुनुहुन्थ्यो। परमप्रभु सर्वोच्च हुनुहुन्थ्यो, तर उहाँले व्यक्तिगत रूपमा यशैयालाई आज्ञा दिनुभयो "जाऊ गएर यी मानिसहरूलाई भन…" (यशैया ६:१-१३)।

भजनरचयिताले सर्वोच्च परमेश्वरको प्रशंसा गरे; "हे हाम्रा सर्वमान्‍य परमप्रभु, सारा पृथ्‍वीभरि तपाईंको नाउँ कति महिमित छ! तपाईंका महिमाको स्‍तुतिगान उच्‍च स्‍वर्गमा हुँदछ।" उहाँ सर्वोच्च हुनुभएको परमेश्वरले मानिसजातिसँग घनिष्ट रूपमा संलग्न हुनको लागि झुक्नुभएको छ; "मानिस के हो, र तपाईं त्‍यसको वास्‍ता राख्‍नुहुन्‍छ? मानिसको छोरो के हो, र तपाईं त्‍यसको फिक्री गर्नुहुन्‍छ?" (भजनसंग्रह ८)

आराधनामा, हामी परमेश्वरको महिमा र हामीसँग रहेको परमेश्वरको उपस्थितिमा ध्यान दिन्छौं। जब हाम्रो आराधनाले परमेश्वरको महिमालाई बिर्सन्छ, उहाँ एक अनौपचारिक मित्र बन्नुहुन्छ जसलाई अब हाम्रो आज्ञाकारिता र सेवाको आवश्यकता पर्दैन। जब हाम्रो आराधनाले हामीसँग परमेश्वरको उपस्थित रहिरहने संलग्नतालाई बिर्सन्छ, हामी उहाँलाई टाढाको परमेश्वरको रूपमा आराधना गर्छौं जसले हाम्रो चिन्ताको बारेमा कुनै वास्ता गर्दैन। आराधनाको योजना बनाउने क्रममा, हामीले मानिसजातिसँगको परमेश्वरको सम्बन्धका दुवै पक्षहरूमा ध्यान दिनुपर्छ। हामीले आराधकहरूलाई सम्झाउनै पर्छ कि हामी परमेश्वरसँग डराउँछौं; हामीले यो पनि सम्झनुपर्छ कि हामी परमेश्वरमा रमाउँछौं। प्रार्थनामा, हामी परमेश्वरका शक्तिशाली कार्यहरूको लागि उहाँको स्तुति गर्छौं; हामी उहाँकहाँ आफ्ना घनिष्ठ व्यक्तिगत आवश्यकताहरू पनि ल्याउँछौं।

► तपाईंको भाषामा उपलब्ध भजन र स्तुतिगीतहरूको सङ्ग्रह हेर्नुहोस्। परमेश्वरको महिमालाई स्वीकार गर्ने गीतको एउटा उदाहरण खोज्नुहोस्। त्यसपछि, उहाँ हाम्रो नजिकको सम्बन्धमा हुनुहुन्छ भन्नेबारे बोल्ने अर्को गीत पनि खोज्नुहोस्।

(२) सन्तुलित आराधना सामूहिक र व्यक्तिगत दुवै हुन्छ।

भजनसंग्रहको पुस्तकले सामूहिक प्रशंसा र व्यक्तिगत प्रशंसा दुवैलाई समावेश गर्दछ। केही भजनसंग्रहहरूले "हाम्रो" प्रशंसाको कुरा गर्छन्; केही भजनसंग्रहहरूले "मेरो" प्रशंसाको कुरा गर्छन्। मन्दिरमा, हिब्रू आराधकहरूले सँगै आराधना गरे; घरमा, तिनीहरूले व्यक्तिगत रूपमा प्रार्थना गरे। येशु प्रायः सामूहिक आराधनाको लागि सभाघरमा जानुहुन्थ्यो; उहाँ पनि आफ्नो पितासँग एक्लै समय बिताउन सुनसान ठाउँमा जानुभयो (लूका ४:१६ र मर्कूस १:३५)। बाइबलीय आराधना सामूहिक र व्यक्तिगत दुवै थियो। आराधनामा, हामीले मण्डलीलाई शरीरको रूपमा आराधना गर्ने अवसरहरू र व्यक्तिगत आराधकहरूलाई परमेश्वरप्रति आफ्नो व्यक्तिगत भक्ति व्यक्त गर्ने अवसरहरू प्रदान गर्नुपर्दछ।

यसलाई अभ्यास गर्नुहोस्

सामूहिक र व्यक्तिगत दुवै प्रकारको आराधनाले सेवाको सबै पक्षहरूलाई प्रभाव पार्नेछ। हामी सँगै सम्पूर्ण मण्डलीका लागि गीतहरू गाउनेछौँ; हामी सँगै व्यक्तिगत आराधनाका गीतहरू पनि गाउनेछौँ। हामी “हाम्रो स्वर्गीय पिता” सँग प्रार्थना गर्नेछौँ; हामीसँग सामूहिक प्रार्थनाका समयहरू हुनेछन्, जसमा प्रत्येक सदस्यले शरीरभित्र व्यक्तिगत रूपमा प्रार्थना गर्न सक्नेछन्।

इतिहासमा कुनै पनि समय भन्दा बढी, अहिले सामूहिक आराधना एक चुनौती भएको छ। मोबाइलफोन, ट्याब्लेट, टेक्स्टिङ, र निरन्तर इन्टरनेट पहुँचको युगमा, हामी भावनात्मक र आत्मिक रूपमा अलग रहँदै आराधना सेवामा बस्न सक्छौं। सामूहिक आराधनाको प्रतिबद्धताले हामीले ध्यानभङ्ग गर्ने कुराबाट आफूलाई अलग गर्न र शरीरसँग आराधना गर्नुपर्ने आवश्यकताको बारेमा बताउँछ।

► तपाईंको भाषामा उपलब्ध भजन र स्तुतिगीतहरूको सङ्ग्रह हेर्नुहोस्। सामूहिक दृष्टिकोणबाट लेखिएका बोलहरू भएको गीतको एउटा उदाहरण खोज्नुहोस्। यसमा “हाम्रो,” “हामी,” “हामीलाई” जस्ता सर्वनामहरू वा “सबै मानिसहरू” जस्ता शब्दहरू समावेश हुन सक्छन्। त्यसपछि, एउटा व्यक्तिको दृष्टिकोणबाट लेखिएका बोलहरू भएको गीतको एउटा उदाहरण खोज्नुहोस्। यसमा “मेरो,” “म,” “मलाई” जस्ता सर्वनामहरू समावेश हुन सक्छन्।

(३) सन्तुलित आराधनामा परिचित र नयाँ दुवै भजनहरू समावेश हुन्छन्।

यो सन्तुलन ईश्वरशास्त्रीय हुनुको सट्टा व्यावहारिक छ, तर यदि हामी मण्डलीलाई आराधनामा सक्रिय रूपमा समावेश गर्न चाहन्छौं भने यो महत्त्वपूर्ण छ। आराधनाको योजना बनाउँदा हामीले परिचित र नयाँ भजनहरूलाई सन्तुलनमा राख्नुपर्छ।

धेरै नयाँ कुराहरूले मण्डलीलाई आराधकको सट्टा पर्यवेक्षक बनाउँछ; उनीहरू सेवामा राम्रोसँग सहभागी हुन सक्दैनन् किनभने उनीहरूले गीतहरू जानेका हुँदैनन्। सि.एस. लुईसले एक पटक गुनासो गरे कि धेरै पास्टरहरूले बिर्सन्छन् कि "येशुले पत्रुसलाई 'मेरा भेडाहरूलाई खुवाऊ' भन्नुभयो, 'मेरा प्रदर्शन गर्ने कुकुरहरूलाई नयाँ कलाहरू सिकाऊ' भन्नु भएन।'" धेरै नयाँपनले आराधनामा ध्यान केन्द्रित गर्न गाह्रो बनाउँछ।

धेरै परिचित कुराहरूले दिनचर्यालाई खाली बनाउँछ। एउटा सेवा जसलाई पूर्णतया अनुमान गर्न सकिन्छ त्यस्तो सेवाले मण्डलीको ध्यान गुमाउँछ र आराधनाबाट अलग राख्छ।

आराधना योजनामा परिचित र नयाँ भजनहरू दुवै समावेश हुनुपर्छ। उदाहरणका लागि, एउटा आराधना अगुवाले प्रायश्चित्तको बारेमा नयाँ भजनमा मण्डलीलाई नेतृत्व गर्न रोजे। भजनले प्रायश्चित्तको मूल्य देखाउँछ। त्यो गीत गाइसकेपछि, आराधना अगुवाले येशूको बलिदानप्रति प्रतिक्रिया जनाउन मण्डलीलाई आह्वान गर्ने पुरानो र बढी परिचित गीतमा नेतृत्व गरे।

परिचित र नयाँ भजनको सन्तुलनले मण्डलीलाई सक्रिय आराधना गर्न प्रोत्साहन दिन्छ।

यसलाई अभ्यास गर्नुहोस्

परिचित र नयाँ भजनलाई सन्तुलनमा राख्ने आराधनामा पुरानो र नयाँ भजनहरू समावेश हुन्छन्। यसमा परिचित र कम परिचित दुवै खण्डका पढाइहरू समावेश हुनेछन्। यूहन्ना ३:१-२१ जस्ता परिचित खण्ड पढ्नु अघि जसमा येशुले नयाँ जन्मको बारेमा सिकाउनुहुन्छ, हामी इजकिएल ३६:१६-३८ जस्ता कम परिचित खण्ड पढ्न सक्छौं जसमा परमेश्वरले इस्राएललाई पानीले धोइदिने र उहाँका मानिसहरूलाई नयाँ हृदय दिने प्रतिज्ञा गर्नुहुन्छ। यी दुई वचन खण्डहरू विषयवस्तुमा नजिकबाट सम्बन्धित छन्। तिनीहरूलाई सँगै पढ्दा यूहन्ना ३ मा येशुले दिनु भएको शिक्षाको बारेमा बुझ्न मण्डलीको समझलाई अझ गहिरो बनाउनेछ।

यदि तपाईं नयाँ गीत प्रस्तुत गर्दै हुनुहुन्छ भने, परिचित गीतहरूलाई नयाँ गीतसँगै राख्नुहोस्। जब हामी एक अपरिचित गीतबाट आराधनालाई सुरु गर्छौँ, सेवा एक अनिश्चित सुरमा थालनी हुन्छ। परिचित गीतबाट सुरु गरेर मात्रै नयाँ गीत प्रस्तुत गर्नु बुद्धिमानी हुन्छ।

ताइवानको एउटा मण्डलीमा गीतहरू प्रस्तुत गर्ने रचनात्मक तरिका थियो। तिनीहरूका मण्डलीमा धेरै जसो नयाँ विश्वासीहरू थिए र गाइएका धेरै गीतहरू थाहा नभएका थिए। यस मण्डलीले प्रत्येक सेवा अघि पूर्वाभ्यास गर्‍यो। आराधनाको बीस मिनेट अघि, मानिसहरूले आराधना सेवाको समावेश हुने गीतहरू गाए। पियानोवादकले धुन बजाए ताकि सबैले धुन सिक्न सकून्। यो एक पूर्वाभ्यास भएको हुनाले, मण्डलीले राम्ररी नसिकेसम्म अगुवाले रोक्न र वाक्यांश डोहोर्‍याउन सक्थे। १०:०० बजेसम्म, मानिसहरूले आत्मविश्वासका साथ नयाँ गीतहरू पनि गाए।

► तपाईंको भाषामा उपलब्ध भजन र स्तुतिगीतहरूको सङ्ग्रह हेर्नुहोस्। एउटै विषयमा आधारित दुईवटा गीत वा आपसमा सम्बन्धित विषय भएका दुईवटा गीत खोज्नुहोस्। ती दुई गीतबीच स्पष्ट सम्बन्ध हुनुपर्छ। गीतमध्ये एकदम परिचित गीत हुनुपर्छ र अर्को अपरिचित। यदि तपाईंले यी दुई गीतहरूलाई आराधना सेवामा प्रयोग गर्नुभयो भने, कुन गीत पहिले गाउनेहुन्छ? दोस्रो गीतमा कसरी संक्रमण गर्नेहुन्छ?

समूहमा मिलेर योजना बनाउनुहोस्।

उपदेशकको पुस्तकले यो व्यावहारिक सल्लाह दिन्छ; "एकभन्‍दा दुई असल हो, किनभने तिनीहरूले आफ्‍नो कामको असल फल पाउनेछन्‌" (उपदेशक ४:९)। आराधनाको योजना गर्दा त्यहाँ टोली गतिविधि हुनुपर्छ। आराधना सेवाको नेतृत्वमा संलग्न सबैको त्यस योजनामा भूमिका रहेको हुनुपर्छ।

जसरी पास्टर, गीतको अगुवा, र अन्य मण्डलीका अगुवाहरू सेवाको लागि परमेश्वरको इच्छा खोज्न एकसाथ भेला हुन्छन्, प्रत्येक व्यक्तिको वरदानहरू एकसाथ जोडिएका हुन्छन्। एक टोलीको रूपमा काम गरेर, मण्डली नेतृत्वको प्रत्येक सदस्यको शक्तिले आराधनामा योगदान पुर्‍याउँछ।

दीर्घकालीन योजना बनाउनुहोस्।

कुनै पनि सेवाले बाइबलको सम्पूर्ण सन्देशलाई समावेश गर्दैन, तर समयसँगै हामीले हाम्रा आराधकहरूलाई सुसमाचारका सबै पक्षहरू बताउनुपर्दछ। हामीमध्ये प्रत्येकलाई मनपर्ने विषयहरू छन्; हामीले आफूलाई मन नपर्ने विषयहरू प्रचार गर्न र गाउन आफैंलाई जोड दिनुपर्छ।

केही पास्टरहरू र आराधनाका अगुवाहरूले क्यालेन्डर प्रयोग गर्छन् जसले तीन वर्षमा बाइबल मार्फत सिकाउने विषयवस्तुहरू निर्धारण गर्दछ।[6] अरूहरूले साप्ताहिक योजना बनाउँछन् तर समयको अवधिमा पवित्रशास्त्रको सम्पूर्ण सन्देश मार्फत काम गर्न होसियार हुन्छन्।

यदि तपाईंले कडा शिक्षा क्यालेन्डर पालना गर्नुभएन भने पनि, ख्रीष्टियान वर्षको प्राथमिक ऋतुहरूको जागरूकताले तपाईंलाई सुसमाचारका महत्त्वपूर्ण पक्षहरूमा मार्गदर्शन गर्नेछ। ख्रीष्टियान वर्षमा महत्त्वपूर्ण ऋतुहरू यी हुन्:

  • एडभेन्ट (ख्रीष्टमस अघि आउने चार शनिवारहरू): ख्रीष्टको पहिलो र दोस्रो आगमनमा केन्द्रित।

  • ख्रीष्टमस: ख्रीष्टको अवतार र जन्ममा केन्द्रित।

  • लेन्ट (इस्टर अघि आउने छ शनिवारहरू): येशुको पीडा, मृत्युका साथै, प्रत्येक विश्वासी चेला हुने मागमा केन्द्रित।

  • इस्टर: ख्रीष्टको पुनरुत्थान र स्वर्गारोहणमा केन्द्रित।

  • पेन्तिकोस: पवित्र आत्मा र मण्डलीमा केन्द्रित।

चाहे तपाईं एक औपचारिक अनुक्रम पालना गर्नुहुन्छ वा साप्ताहिक आधारमा योजना बनाउनुहुन्छ, यो सुनिश्चित गर्नुहोस् कि तपाईंको मण्डलीले सबै सुसमाचारलाई आराधनाको एक भागको रूपमा सुनेको छ।

शान्तिपूर्वक योजना बनाउनुहोस्।

आराधना हाम्रो बारेमा होइन; आराधना परमेश्वरको लागि हाम्रो बलिदान हो। हाम्रो आराधनाको योजना त्यो बलिदानको एक हिस्सा हो। दोषबाट प्रेरित "के यो पर्याप्त छ त?" भन्ने सोचाइ बिना हामी आराधनाको योजना बनाउँछौं। हामी अनुग्रहको परमेश्वरको आराधना गर्छौं। हाम्रो भेटी पर्याप्त भएको कारण ग्रहण गरिएको होइन, तर आफ्ना सन्तानका इच्छित भेटी भएकोले परमेश्वरले यसलाई ग्रहण गर्नुभएको हो।

"हामीसँग फलानो मण्डलीजत्तिकै राम्रो सेवा हुनुपर्छ" भन्ने दबाबबाट बच्न यो महत्त्वपूर्ण छ। आजको प्रविधि र मल्टि-मिडियाको संसारमा, धेरै मण्डलीका अगुवाहरूले अन्य मण्डलीहरू जस्तै आधुनिक हुन निरन्तर दबाब महसुस गर्छन्। पास्टरहरू नवीनतम प्रविधिको लागि प्रतिस्पर्धा गर्छन्। सङ्गीत निर्देशकहरू नयाँ गीतहरू गाउन प्रतिस्पर्धा गर्छन्। आराधकहरू नयाँ आकर्षणहरू प्रदान गर्ने मण्डली खोज्ने पसलेहरू बन्छन्।

तपाईंको बलिदानले परमेश्वरलाई प्रभाव पार्न प्रयास गर्ने खालको परिक्षामा नपर्नुहोस्। सङ्गीत र प्रविधि जस्ता आराधनाका औजारहरूलाई वास्तविक आराधनाको स्थानमा राख्न नदिनुहोस्। अनुग्रहका परमेश्वर तपाईंको बलिदानको सुगन्धमा हर्षित हुनुहुनेछ भन्ने कुरा थाहा पाएर उहाँको निम्ति उत्तम बलिदान ल्याउनुहोस्। उहाँलाई आफ्नो सबै भन्दा उत्तम भाग दिनुहोस्, र त्यसपछि उहाँले तपाईंको भेटी स्वीकार गर्नुहन्छ भनेर विश्वास गर्नुहोस्। आराधना अन्य मण्डलीहरूसँग गर्ने प्रतिस्पर्धा होइन; यो परमेश्वरलाई दिइएको वरदान हो।


[1]

"राजाको उपस्थितिमा अरूलाई डोर्‍याउने व्यक्तिले राजाको देशमा धेरै टाढा यात्रा गरेको हुनुपर्छ र बारम्बार उसको अनुहार हेरेको हुनुपर्छ।"

- चार्ल्स स्पर्जन

[2]आराधनाको योजना बनाउनु बारेका धेरैजसो बिषयवस्तु "The Nuts and Bolts of Worship Planning" बाट आएको हो जुन http://worship.calvin.edu/resources/resource-library/the-nuts-and-bolts-of-worship-planning मा उपलब्ध छ, जुलाइ 22, 2020 मा प्राप्त गरिएको हो।
[3]Lois and Fred Bock, Creating Four-Part Harmony, (Carol Stream: Hope Publishing, 1989), 43
[4]

"व्यवस्था बिनाको स्वतन्त्रता अराजक हुन सक्छ, र स्वतन्त्रता बिनाको व्यवस्था निर्जीव हुन सक्छ।"

- फ्रैंकलिन सेगलर र र्याण्डल ब्राडली

[5]मैले यहाँ समावेश गरेको रूपरेखाहरू सम्पूर्ण सेवाका लागि हुन्। केही आराधनाका अगुवाहरूले मात्र सेवाको सङ्गीतको भागको लागि मात्र रूपरेखाहरू प्रयोग गर्छन्। मैले यिनीहरूलाई समावेश गरेको छैन किनभने तिनीहरूले आराधनालाई बाँकी सेवाबाट अलग गर्ने प्रवृत्ति राख्छन्। बाइबलमा, आराधनाले सबै सेवाहरू समावेश गर्दछ, प्रवचनबाट अलग गरिएको कुनै विशेष सङ्गीत खालको आराधना मात्र होइन।
[6]http://lectionary.library.vanderbilt.edu/calendar.php जुलाइ 22, 2020 मा अनलाइन उपलब्ध छ।

आराधना सेवाको अगुवाइ

सबैभन्दा महत्त्वपूर्ण प्रश्न: श्रोताहरू को हुन्?

► आराधनामा मण्डलीको भूमिका के हो? आराधना गर्ने अगुवाहरूको भूमिका के हो? परमेश्वरको भूमिका के हो?

धेरै मानिसहरूले आराधनालाई कन्सर्ट जस्तै हेर्छन्। मण्डलीले पास्टर र सङ्गीतकारहरूको प्रदर्शनीको रूपमा सुन्छन्। पवित्रस्थान कन्सर्ट हल बन्न पुग्छ।

ब्यारी लिस्चले आराधनाको यो दृष्यलाई फुटबल खेलको रूपमा वर्णन गरे:[1]

  • आराधना गर्ने अगुवाहरू आराधना गर्ने खेलाडीहरू हुन्।

  • मण्डली भनेको दर्शकदीर्घाबाट खेल हेर्ने दर्शकहरू हुन्।

  • परमेश्वर चाँहि आराधनाका अगुवाहरूलाई के गर्ने भनेर बताउने प्रशिक्षक हुनुहुन्छ।

आराधनाको बाइबलीय चित्र धेरै फरक छ। बाइबलीय आराधनामा, मण्डलीले आराधना गर्दछ जहाँ आराधनाका अगुवाहरूले आराधनालाई मार्गदर्शन गर्ने प्रशिक्षकको रूपमा काम गर्छन्:

  • आराधनाको अगुवा मण्डलीलाई मार्गदर्शन गर्ने प्रशिक्षक हुन्।

  • आराधना गर्नेहरू खेलाडीहरू हुन् जसले आराधना गरिरहेका हुन्छन्।

  • परमेश्वर हाम्रो आराधना ग्रहण गर्ने दर्शक हुनुहुन्छ।

नाटक प्रदर्शनीमा, तपाईंले निर्देशकलाई कहिल्यै याद गर्नुहुन्न। निर्देशकलाई नाटकको प्रत्येक अंश थाहा हुन्छ र प्रवेश गर्ने समय हुँदा प्रत्येक अभिनेतालाई उनले सङ्केत गर्दछन्। यदि उनले आफ्नो काम राम्ररी गर्छिन् भने, दर्शकहरूले उनलाई कहिल्यै याद गर्दैनन्। त्यो आराधनाका अगुवाहरूको भूमिका हो। हाम्रो काम मानिसहरूको लागि आराधना गर्नु होइन; हाम्रो काम मण्डलीलाई आराधनामा डोर्‍याउनु हो। मण्डलीले परमेश्वरको उपस्थितिमा पास्टर र सङ्गीत अगुवाको साथ आराधना गर्दछ। आराधनामा हाम्रो लक्ष्य परमेश्वरलाई खुसी पार्नु हो। बाइबलीय आराधनाको नमूना, परमेश्वर हाम्रो आराधनाको लागि दर्शक हुनुहुन्छ।

यद्यपि, परमेश्वर दर्शक भन्दा बढी हुनुहुन्छ; हामीले आराधनामा गर्ने सबै कुरामा परमेश्वरले शक्ति दिनुहुन्छ। र, आराधनाको अगुवा प्रशिक्षक वा निर्देशक दुवै भन्दा बढी हो। आराधनाको अगुवा निर्देशक र आराधक दुवै हो। आराधनाले धेरै सम्बन्धहरू समावेश गर्दछ:

  • परमेश्वरले आराधकहरूलाई स्वागत गर्नुहुन्छ, आराधनालाई ग्रहण गर्नुहुन्छ, र मण्डलीमा आराधना सेवा गर्दा आराधनाका अगुवाहरूलाई मार्गदर्शन गर्नुहुन्छ।

  • आराधनाका अगुवाहरूले मण्डलीलाई आराधनामा मार्गदर्शन गर्छन्, परमेश्वरको आवाज सुन्छन् र आराधकहरूको रूपमा भाग लिन्छन्।

  • मण्डलीले परमेश्वरलाई आराधना चढ़ाउँछ, परमेश्वरको वचन सुन्छ र आराधनामा एकअर्कासँग कुरा गर्छ।

आराधनालाई प्रदर्शनी[2] को रूपमा हेर्नबाट कसरी जोगिने

१. मानिसहरूले जान्ने वा सजिलै सिक्न सक्ने गीतहरू गाउनुहोस्। ती गीतहरूलाई मण्डलीले गाउन सक्ने स्वरहरूमा गाउनुहोस्। नयाँ गीतहरूलाई सन्तुलित रूपमा प्रयोग गर्नुहोस्।

२. परमेश्वरको शक्ति, महिमा र मुक्तिको गीत गाउनुहोस् र उत्सव मनाउनुहोस्। आफ्नो मण्डलीको सेवा गर्नुहोस्। तिनीहरूलाई परमेश्वरको वचनले भर्नुहोस्। नराम्रो शब्द वा फितलो ईश्वरशास्त्र भएका गीतहरू नगाउनुहोस्।

३. बत्ती बालेर राख्नुहोस्। अति धेरै बोल्न बन्द गर्नुहोस्। सुसमाचारको मुख्य सन्देश गुम्ने गरी तार/बत्ती/श्रव्यदृश्यहरूलाई सृजनशिलताको लागि तपाईंको निकास बन्न नदिनुहोस्।

४. तपाईंको आराधनाको अगुवाइ र तपाईंले छनौट गर्ने गीतहरू तपाईंको अधिकांश मण्डलीको लागि हुने गरी मिलाउनुहोस्। पास्टरीय तरिकाले नेतृत्व गर्नुहोस्।

५. येशुतिर सङ्केत गर्नुहोस्। आफैलाई ध्यान नदिनुहोस्।

आराधना गर्ने अगुवाका गुणहरू

तपाईंको पदको बावजुद, एउटा आराधनाको अगुवाको रूपमा तपाईं एक पास्टरीय भूमिकाको सेवा गर्नुहुन्छ। यदि तपाईं पास्टर हुनुहुन्छ भने, तपाईंले यो पहिले नै बुझ्नुभइसकेको छ। यदि तपाईं सामान्य अगुवा हुनुहुन्छ भने, तपाईंले बुझ्नुपर्छ कि तपाईंको भूमिकाले तपाईंलाई आत्मिक नेतृत्वको स्थानमा राख्छ।

आराधनाको अगुवा छनोट गर्दा हामीले आत्मिक योग्यताहरू विचार गर्नुपर्दछ, सङ्गीतको वा व्यक्तिगत योग्यता मात्र होइन। जब प्रेरितहरूले ग्रीसियन विधवाहरूको हेरचाह गर्न डिकनहरू चुने, तिनीहरूले आत्मा र बुद्धिले भरिपूर्ण, सबैबाट आदर पाएका मानिसहरू खोजे (प्रेरित ६:३)। नैतिक, आत्मिक र सदाचार योग्यताहरू प्राथमिक महत्वको विषय थियो।

केही मण्डलीहरूमा, गीत गाउने अगुवाहरू, सङ्गीतकारहरू, र अन्य नेतृत्व भूमिकाहरूको छनौट लोकप्रियतामा आधारित हुन्छ। यदि खुवाउने पियाउने सेवा गर्ने डिकनहरू तिनीहरूको आत्मिक योग्यताको आधारमा छनौट गरिएका थिए भने, निश्चित रूपमा आत्मिक गुणहरूको आधारमा आराधनाका अगुवाहरू छान्नुपर्छ।

यदि तपाईंले आफ्नो मण्डलीमा आराधनाको नेतृत्व गर्नुहुन्छ (पास्टर, सङ्गीतकार, वा आराधनामा अन्य अगुवाको रूपमा), तपाईंले प्रभावकारी आराधनाको अगुवा बनाउने गुणहरू विकास गर्न खोज्नुपर्छ।

  • आत्मिक अन्तर छुट्याउनु। "के म पवित्र आत्माको अगुवाइप्रति संवेदनशील छु?"

  • संवेदनशीलता। "के म मण्डलीका आवश्यकताहरूप्रति संवेदनशील छु? के म ती आवश्यकताहरू पूरा गर्ने गीत र पवित्रशास्त्रका वचनहरू छान्छु?"

  • सहकार्य। "के म टोलीमा प्रभावकारी रूपमा सेवा गर्छु? के म सहयोगी छु जब पास्टरले मलाई समापनको गीत परिवर्तन गर्न भन्नुहुन्छ? के म सम्पूर्ण टोलीको आवश्यकतालाई आत्मसात गर्छु?"

  • ज्ञान। "के म परमेश्वरको वचनको निम्ति मेरो ज्ञानमा बढ्दैछु? के म परमेश्वरको वचनलाई आराधनामा केन्द्रित गर्छु?"

  • बुद्धि। "के म आराधनाको बारेमा उठ्ने विवादहरू बुझ्न र त्यसलाई सम्बोधन गर्न बुद्धिमा बढ्दैछु? के म आफैलाई सुन्नमा छिटो र बोल्नमा ढिलो हुन अनुशासित गर्छु?" (याकूब १:१९)

  • धैर्य। "सेवाको लागि मेरो योजना लाई स्वीकार गर्न मण्डली ढिलो हुँदा के म धैर्य गर्छु?"

  • नम्रता। "के म मेरो मण्डलीका कम प्रशिक्षित सदस्यहरूको आवश्यकता पूरा गर्ने गीत गाउन इच्छुक छु? के म मेरो मण्डलीका अशिक्षित सदस्यहरूको आवश्यकता पूरा गर्ने सरल शैलीमा प्रचार गर्न इच्छुक छु? के म नम्रताका साथ अगुवाइ गर्छु, वा परमेश्वरले मलाई जुन मण्डलीमा राख्नु भएको छ त्यो मण्डलीभन्दा म आफूलाई उच्च ठान्छु?" आराधनाको अगुवाको रूपमा, तपाईंको सृजनशिलता तपाईंको पास्टरीय जिम्मेवारीको निम्ति उपज हुनुपर्छ। तपाईंको पहिलो दायित्व मानिसहरूको सेवा गर्नु हो।

  • सिर्जनशीलता। "के म आराधनालाई अर्थपूर्ण बनाउने उपायहरू खोज्छु? के म दोहोरिरहने ढाँचामा पर्नबाट जोगिन सक्छु जसमा सबै सेवाहरू उस्तै उस्तै हुन्छन्?"

  • अनुशासन। "के म आराधनामा ध्यान भङ्ग हुनबाट जोगाउन मेरो सृजनशिलतालाई अनुशासन गर्छु? के मैले प्रत्येक सेवालाई अति नयाँ बनाउनबाट जोगाएको छु ताकि मानिसहरूले आफ्नो ध्यान परमेश्वरमा केन्द्रित गर्न सक्दैनन्?"

  • उत्कृष्टता। "के म हरेक हप्ता मेरो उत्कृष्ट बलिदान ल्याउँछु? के म निरन्तर आराधना गर्ने अगुवाको रूपमा बढिरहेको छु?"[3]

आराधनाको अगुवाइमा व्यावहारिक कदमहरू

एक अगुवाले मानिसहरूलाई आराधना गर्न बाध्य पार्न सक्दैन; तथापि, अगुवाले मण्डलीलाई आराधनामा ध्यान दिन सजिलो बनाउन सक्छ।

उदाहरणबाट अगुवाइ गर्नु

आराधनामा अगुवाइ गर्ने सुअवसरहरू मध्ये एउटा मण्डलीसँग आराधना गर्ने अवसर हो। आराधनामा मण्डलीको नेतृत्व गर्दा अगुवाले पनि सँगै आराधना गर्नुपर्छ।

दुर्भाग्यवश, आराधनाको अगुवाको लागि आराधना एक चुनौती हुन सक्छ। हामी आराधनामा यति व्यस्त हुन सक्छौं कि हामी आराधना गर्न चुकिराखेका हुन्छौं! यदि तपाईं सङ्गीत निर्देशक हुनुहुन्छ भने, तपाईंले आफूलाई आराधना गर्ने प्रयास गरिरहनुभएको बेलामा तपाईंले विभिन्न विचारहरू सोच्न सक्नुहुन्छ जस्तै:

  • "एकल गीत गाउने गायिका आउन ढिला भयो। तैपनि मलाई आशा छ कि उनी विशेष गीत गाउनको लागि समयमै यहाँ आइपुग्छिन्!"

  • "पहिलो भजनमा मानिसहरूले राम्रोसँग गाएनन्। के त्यो गीत हाम्रो मण्डलीको लागि गाउन धेरै गाह्रो छ?"

  • "हामी धेरै बिस्तारै गाउँदैछौं जस्तो लाग्छ। के मैले अर्को पदको गति अलि बढाउनु पर्छ?"

यदि तपाईं पास्टर हुनुहुन्छ भने, तपाईंले आफूलाई आराधना गर्ने प्रयास गरिरहनुभएको बेला तपाईंले यस्तो सोचिरहेको पाउन सक्नुहुन्छ:

  • "हामीसँग गत हप्ता भन्दा १० जना व्यक्तिहरू कम छन्। तिनीहरू कहाँ छन्?"

  • "के मैले केही आह्वानका साथ प्रवचनलाई समाप्त गर्नुपर्छ?"

  • "त्यो गीत मेरो प्रवचनसँग मेल खाँदैन! म कसरी स्वर्गको बारेमा गाएको गीतबाट न्यायको मेरो प्रवचनमा जान सक्छु?"

हामीले सेवाको नेतृत्व गर्ने तरिकाले हाम्रो जीवनमा आराधनालाई प्रतिस्थापन गर्न दिनु हुँदैन। जसरी हामी आराधनाको नेतृत्व गर्छौं, हामीले पनि आराधना गर्नुपर्छ। यसले मण्डलीलाई पनि आराधना गर्न प्रेरित गर्छ। एकजना वक्ताले भने, "आराधना गर्ने अगुवाहरूको हैसियतमा हामी भेडा कुकुरहरू होइनौं जसले मण्डलीलाई हामीले चाहेको दिशामा जबरजस्ती गर्नका लागि कुकुरहरूले टोक्छन्। हामी आराधकहरू हौं जसले मण्डलीलाई हामीसँग परमेश्वरको उपस्थितिमा जान आह्वान गर्छौँ।" अगुवाले तिनीहरूलाई आराधना गर्न भन्दैमा मण्डलीले आराधना गर्दैन; अगुवाले आराधना गर्दा मण्डलीले पनि आराधना गर्छन्। आराधनाको अगुवाले उदाहरणद्वारा नेतृत्व गर्छन्।

हौसलाका साथ अगुवाइ गर्ने

गीता बिहान ३:०० बजेसम्म बिरामी बच्चाको हेरचाह गर्दै थिइन्। तीन घण्टा सुतिसकेपछि, उनी बिहानको खाजा बनाउन र मण्डलीको लागि तयार हुन उठिन्। उनी निद्राको अभावबाट थकित भइ मण्डलीमा आइपुगिन्, उनी निरुत्साहित भइन् किनभने उनको छोरोले खेलौना राख्न बिर्सेकोमा उनलाई कडासँग हप्काएकी थिइन्, र यस हप्ता परमेश्वरसँग एक्लै समय बिताउन नसक्दा आत्मिक रूपमा रिक्त भएकी थिइन्।

पास्टर राजन आराधनामा थप संलग्नता भएको हेर्न चाहन्छन्। पहिलो गीत गइसकेपछि उनी मञ्चमा पुग्छन्, "तपाईंहरूलाई के भयो? हामी परमेश्वरको उपस्थितिमा छौं। हामी राजाको आराधना गर्दैछौं, र तपाईंहरू मध्ये कोही कोही बरु घरमा गएर सुत्नु भएको भए असल हुन्थ्यो जस्तो देखिनुहुन्छ! तपाईंहरूलाई लाज लाग्नु पर्ने। आराधनामा सामेल हुनुहोस्!"

पास्टर राजनको मनसाय राम्रो छ। उहाँ आफ्नो मण्डली सक्रिय आराधकहरू भएको चाहनुहुन्छ, तर गीताले के सुनिन्? "म आमाको रूपमा असफल छु; म मेरो छोराको लागि धेरै कठोर भए। म एक ख्रीष्टियानको रूपमा असफल छु; मैले हिजोको मेरो सङ्गतिलाई छुटाए। म मण्डली जानमा पनि असफल छु; परमेश्वर रिसाउनुभएको छ किनभने मैले गाएको छैन।" दोषी भावनालाई उत्प्रेरकको रूपमा प्रयोग गरेर, पास्टर राजनले गीताको लागि आराधनालाई अझ कठिन बनाएका छन्।

आराधनाका अगुवाहरूको रूपमा, हामीले आराधनालाई प्रोत्साहन गर्नुपर्छ। हामीले हाम्रो आफ्नै जीवनमा आराधनालाई नमूना बनाउनुपर्छ। त्यसपछि हामी परिणामहरूलाई परमेश्वरमा छोड्न सक्छौं। यो परमेश्वरको कृपा हो जसले आराधना सम्भव बनाउँछ; यो परमेश्वरको अनुग्रह हो जसले साँचो आराधनालाई शक्ति दिन्छ; यो परमेश्वरको कृपा हो जसले आराधकको हृदयलाई आकर्षित गर्दछ।

हामीले आराधनालाई सकारात्मक शब्दहरूद्वारा प्रोत्साहित गर्नुपर्छ, तर हामीले आराधकहरूलाई दोषी भावनाको साथ नियन्त्रण गर्ने वा कृत्रिम रूपमा भावनाहरूलाई उत्तेजित गर्ने प्रयास गर्नु हुँदैन। हाम्रो लक्ष्य भनेको आराधकहरूलाई परमेश्वरतर्फ औंल्याउनु हो। उहाँले आराधनालाई प्रेरित गर्नुहुन्छ; आराधना हाम्रो प्रेरक प्रविधि वा भावनात्मक नियन्त्रणमा निर्भर हुँदैन। हामी आराधनाका अगुवाहरूको रूपमा परमेश्वरले गर्ने काम गर्नु आवश्यक छैन!

यो खण्ड गीताको कथाबाट सुरु भयो। एक विनम्र, प्रोत्साहन गर्ने आराधनाको अगुवाको सत्य कथाको साथ यसलाई समाप्त गरौं। युवाहरूलाई आराधनामा सक्रिय बनाउन मनोजले सङ्घर्ष गरे। उनले आराधनामा भन्दा मोबाइलको टेक्सट म्यासेजमा उनीहरूले आफ्नो ध्यान बढी केन्द्रित गरेको पाए। केही अगुवाहरूले सेवा यसरी सुरु गरेका हुन सक्थे: "नानीबाबुहरू, हामी यहाँ आराधना गर्न आएका छौं। ती फोनहरूलाई टाढा राख र आराधनामा ध्यान देऊ। तिमीहरू परमेश्वरको अनादर गर्दैछौ!"

मनोजले धेरै फरक काम गरे। गितारवादकले आराधनाको शान्त प्रकृतिको गीत बजाउँदा, मनोजले बिस्तारै भने, "जब हामी परमेश्वरको उपस्थितिमा आउँछौं, मलाई थाहा छ तपाईं आफ्नो छिमेकीको आराधनाबाट ध्यानभङ्ग गराउन चाहनुहुन्न। आज बिहान सबैले आफ्नो फोन राखौं र परमेश्वरको आवाज सुनौं।" कोठामा रहेका प्रत्येक व्यक्तिले आफ्नो फोन राखे। मनोजले आफ्नो जवानहरूलाई नम्र भई आराधना गर्न सिकाए।

अगुवाइ वा चलाकी?

एक जना आधुनिक आराधनाको अगुवाको गवाही सुन्नुहोस्:

"नयाँ मानिसको रूपमा, मैले मेरो विश्वविद्यालय नजिकैको एउटा मण्डलीमा गएँ; यसको… चम्किलो बत्ती र चर्को सङ्गीत रोमाञ्चक [थियो]। आराधनाको अगुवासँग शैली मिलाएको कपाल, जिन्स पाइन्ट र महँगो गितार थियो। सेवाको सुरुमा, मैले उसको कम्मरको उचाईसम्मको प्रयोग नगरिएको माइक्रोफोन देखेँ। 'यसले के उद्देश्य सेवा गर्न सक्छ?’ म अचम्ममा परें, र त्यसपछि मैले हात उठाएँ र धुनमा हराए।

"आवाज अद्भुत थियो, प्रशंसा टोली उत्कृष्ट थियो, र सङ्गीतलाई अन्तिम गीतमा लैजानको लागि सावधानीपूर्वक योजना गरिएको थियो। जब अगुवाले अन्तिम शब्दहरू गाए ('म मेरो घुँडा टेक्दै छु, मेरो सबै कुरा बलिदान गर्दैछु'), उनले घुँडा टेके। यो बिन्दुमा मैले प्रयोग नगरिएको माइक्रोफोनको उद्देश्यलाई महसुस गरें। यसलाई मिलेको उचाइमा राखिएको थियो ताकि अगुवाले आफ्नो घुँडा टेकेर गितार बजाउन र गाउन सक्षम हुनसकोस्। म यस मण्डलीको मनसायको निम्ति न्याय गर्न चाहन्न, तर मैले मद्दत गर्न सकिनँ तर मलाई यो भावनात्मक क्षणमा प्रतिक्रिया दिन नियन्त्रण गरिएको जस्तो महसुस भयो, जुन स्पष्ट रूपमा समय अगावै योजना गरिएको थियो।"[4]

यो उदाहरण आधुनिक आराधनाबाट आएको हो, तर हामीले परम्परागत आराधनाबाट पनि उदाहरणहरू प्रयोग गर्न सक्छौं। नियन्त्रणको समस्या एउटै आराधना शैलीमा मात्र सीमित छैन। हाम्रो साङ्गीतिक शैली वा निश्छल मनशाय जस्तोसुकै भए पनि, हामी मण्डलीलाई कठपुतलीको रूपमा व्यवहार गर्न सक्छौं जुन हामीले विशेष भावनात्मक प्रतिक्रियामा नियन्त्रण गर्छौं।

के आराधनामा भावना गलत छ? होइन; हामी आराधनाको भावनात्मक प्रभावको धेरै बाइबलीय उदाहरणहरू देख्छौं। के भावनात्मक प्रतिक्रियालाई प्रेरित गर्ने प्रयास गर्नु गलत हो? होइन; राम्रो बोलिवचनले दिमाग र भावना दुवैलाई छुन्छ। यद्यपि, यदि हामी होसियार छैनौं भने, हामी पवित्र आत्माको काम बाहेक, विशेष भावनात्मक प्रभाव सिर्जना गर्न काम गर्न सक्छौं।

आराधनाको नेतृत्व र नियन्त्रण बीचको भिन्नता हामी कसरी बताउन सक्छौं? नियन्त्रण तब आउँछ जब मण्डलीको प्रतिक्रिया पवित्र आत्माको शक्तिमा भन्दा अगुवाहरूको कार्यहरूको प्रभावकारितामा बढी निर्भर हुन्छ। हुनसक्छ हामी नेतृत्व र नियन्त्रण बीच पूर्ण रूपमा छुट्याउन सक्दैनौं, तर त्यहाँ केही सङ्केतहरू छन् जसले सुझाव दिन्छ कि हामी नियन्त्रण भित्र आउन रेखा पार गर्दैछौं।

१. जब हामीले भावनालाई आराधनासँग भ्रमित गर्छौं तब हामी आराधनालाई नियन्त्रण गर्ने खतरामा हुन्छौं। हामी भावनात्मक प्रतिक्रिया सिर्जना गर्ने जिम्मेवारी हाम्रो हो भन्ने महसुस गर्न थाल्छौं। केही आराधनाका अगुवाहरूले भनेका छन्, "यो वास्तविक नभएसम्म नक्कली बनाउनुहोस्। भावनालाई नक्कली बनाउनुहोस् जबसम्म मानिसहरूले यसलाई वास्तविक महसुस गर्दैनन्।" यसले यो मान्दछ कि हाम्रो काम भनेको आराधना सिर्जना गर्न भावना प्रयोग गर्नु हो। आराधनाका अगुवाहरूले आराधनाको नेतृत्व गर्छन्; हामीले आराधना सृजना गर्दैनौं।

२. हृदय परिवर्तनको लागि उच्च भावनाको अवस्था आवश्यक छ भनी मान्दा हामी आराधनालाई नियन्त्रण गर्ने खतरामा छौं। परमेश्वरले भावनाले भरिएको मण्डली सेवामा काम गर्न सक्नुहुन्छ, तर उहाँले घरको शान्त क्षणहरूमा पनि काम गर्न सक्नुहुन्छ। हामी मण्डलीलाई नियन्त्रण गर्ने प्रयास गर्ने खतरामा हुन्छौँ यदि हामी विश्वास गर्छौं कि यो हाम्रो प्रयासले मात्र परमेश्वरले हामीले सेवा गरिरहेका मानिसहरूका हृदयमा परिवर्तन ल्याउन सक्नुहुन्छ।

३. हामी आराधनामा नियन्त्रण गर्ने खतरामा हुन्छौँ जब हामीले कुनै विशेष शारीरिक कार्यलाई आराधनासँग तुलना गर्छौं। कहिलेकाहीँ मानिसहरूले प्रतिक्रिया दिएको अगुवाले चाहन्छन्, त्यसैले उनी भन्छन्, "यदि तपाईंले येशुलाई प्रेम गर्नुहुन्छ भने, तपाईंले आफ्नो हात माथि उचाल्नुहुनेछ।" स्पष्ट छ, मण्डलीमा येशुलाई साँचो माया नगर्ने कोहीले हात उठाउन सक्छ! वा, येशुलाई प्रेम गर्ने मण्डलीको कोहीले आफ्नो हात माथि नउचाल्न सक्छ। आराधनालाई कुनै विशेष शारीरिक क्रियाकलापसँग तुलना गरिदैन। गायन गर्दा ताली बजाउनु आराधना गरिरहेको प्रमाण होइन, जसरी प्रार्थना गर्दा चुपचाप बस्नु प्रार्थना गरिरहेको प्रमाण होइन। परमेश्वरले मात्र आराधकको हृदय देख्नुहुन्छ। "जब आराधनाका अगुवाहरूले बाह्य क्रियाकलाहरूलाई आन्तरिक मनोवृत्तिको मुख्य परीक्षा बनाउँछन्, तिनीहरू खतरनाक भूमिको सतहमा हिंडिरहेका हुन्छन्।"[5]

४. हामीले अर्को समय वा ठाउँमा परमेश्वरले गर्नुभएको कुराको नक्कल गर्ने प्रयास गर्दा हामी आराधनालाई नियन्त्रण गर्ने खतरामा छौं। परमेश्वरले गत हप्ता एउटा विशेष गीतलाई आशीर्वाद दिनुभएको हुनाले, उहाँले यस हप्ता उही गीतलाई आशिष् दिनुपर्छ भनेर हामीले मान्नु हुँदैन। जब परमेश्वरले काम गर्नुहुन्छ, उहाँले आफ्नै तरिकाले काम गर्नुहुन्छ। आराधना गर्ने अगुवाहरूले परमेश्वरलाई उहाँले चाहेअनुसार आउन स्वतन्त्र छोड्नुपर्छ। त्यहाँ कुनै चमत्कारी सुत्र छैन जसले हरेक परिस्थितिमा समान आत्मिक प्रतिक्रिया सिर्जना गर्दछ।

५. जब हामीले हाम्रो सेवकाइलाई मानिसहरूबाट प्रतिक्रिया प्राप्त गर्ने हाम्रो क्षमताको आधारमा मापन गर्छौं तब हामी आराधनालाई नियन्त्रण गर्ने खतरामा हुन्छौँ। कुनै पनि सार्वजनिक वक्ता वा सङ्गीतकार आफूलाई सुन्नेहरूबाट प्रतिक्रिया प्राप्त गर्न मन पराउँछन्; त्यो सामान्य हो। तर जब हामीले यी प्रतिक्रियाहरूद्वारा हाम्रो सेवकाइको प्रभावकारिता नाप्छौं भने, हामी पवित्र आत्माको सट्टा हाम्रो सीपमा भर पर्ने खतरामा हुन्छौं।

यो विषय गाह्रो छ। धेरै पटक दुई फरक परिस्थितिहरूमा बोलिने एउटै शब्दहरूले धेरै फरक प्रेरणाहरूको प्रतिनिधित्व गर्दछ। एकातिर, यदि हामी लापरवाह छौं भने हामी आराधनालाई नियन्त्रण गर्न सुरु गर्न सक्छौं। अर्कोतर्फ, यदि हामी भावनाबाट धेरै डराउँछौं भने हामीले कुनै पनि नेतृत्व प्रदान गर्न सक्दैनौं!

यसकारणले गर्दा, हामी अरू कसैले गरेको आराधनाको नेतृत्वको न्याय गर्न ढिलो हुनुपर्छ तर आफ्नै नेतृत्वको मूल्याङ्कन गर्न छिटो हुनुपर्छ। हामीले नेतृत्व गर्दा हाम्रो मनसाय के छ भनेर देखाउनको लागि परमेश्वरलाई सोध्नु पर्छ। हामीले चाहेको विशेष प्रतिक्रियामा आराधकहरूलाई नियन्त्रण नगरी आराधनामा अगुवाइ गर्न होसियार हुनुपर्छ।

व्यावहारिक प्रश्नहरू

हामी कसरी सेवा सुरु गर्छौं?

एक खराब उदाहरण:

१०:०० बजे, यो सेवा सुरु गर्ने समय हो। पास्टरले गीतको अगुवा खोज्ने प्रयास गरिरहनुभएको छ। तीन महिलाहरू एउटा पकाउने विधि साटासाट गरिरहेका छन्। बालीनालीका लागि पानी नपरेको भन्दै चार जना पुरुषहरू कुरा गरिरहेका छन्। यी सबै गतिविधिबाट हामी कसरी आराधनामा लाग्ने?

आराधना अगुवाको महत्त्वपूर्ण जिम्मेवारीहरू मध्ये एक सेवाको उद्घाटन हो। हामी कसरी परमेश्वरका मानिसहरूलाई परमेश्वरको उपस्थितिमा आमन्त्रित गर्छौं?

  • केही मण्डलीहरू मौनताको एक पलबाट सुरु गर्छन्। अगुवाले सामान्य तवरमा सुरु गर्छन्, "हामी परमेश्वरको उपस्थितिमा प्रवेश गर्दा मौन प्रार्थनाको एक क्षणमा हामीसँग सामेल हुनुहोस्।"

  • केही मण्डलीहरू एक साङ्गीतिक "आराधना गर्न आह्वान" बाट सुरु गर्छन्। यो एक आराधना झुण्ड वा व्यक्तिद्वारा गाउन सकिन्छ, वा यो मण्डलीको लागि कोरस हुन सक्छ। केही मण्डलीहरूमा, पास्टरले अगाडि पाइला चाल्नुहुन्छ र एउटा कोरस गाउन थाल्नुहुन्छ, "धन्यवादी भई वहाँको ढोकाभित्र पस्नेछु…" (कोरस भजनसंग्रह १००:४ मा आधारित)।

  • केही मण्डलीहरू पवित्रशास्त्रको एउटा पदबाट सुरु गर्छन्, यो प्रायः भजनसंग्रहबाट लिइएको हुन्छ।

आओ, परमप्रभुको निम्‍ति हामी आनन्‍दले गाऔं, हाम्रो उद्धारको चट्टानकहाँ चर्को सोरले कराऔं। धन्‍यवाद चढ़ाउँदै उहाँको सामुन्‍ने आऔं, भजन र गीतले उहाँको प्रशंसा गरौं (भजनसंग्रह ९५:१-२)।

परमेश्वरको उपस्थितिमा आराधकहरूलाई स्वागत दिने भजनहरूमा भजनसंग्रह १५, भजनसंग्रह ६६:१-४, भजनसंग्रह ९६:१-४, भजनसंग्रह १००, भजनसंग्रह १०५:१-३, भजनसंग्रह १०७:१-३, भजनसंग्रह १४९:१-२, र भजनसंग्रह १५० समावेश छन्।

के सूचनाहरू आराधना हुन्?

एक स्पेनी पास्टरले सोधे, "आराधनामा सूचनाहरू कहाँ उपयुक्त हुन्छन्? हामी हाम्रो मण्डलीमा आराधना र परमेश्वरको उपस्थितिमा ध्यान केन्द्रित गर्ने प्रयास गर्छौं। हामीले अद्भुत सेवा गरेका हुन्छौँ र त्यसपछि दिक्क लाग्दो सूचनाहरूको लामो सूचीको साथ समाप्त गर्छौँ। यसले सेवाको भावनालाई असर गर्छ। हामी कसरी सूचनाहरूलाई आराधनाको भाग बनाउन सक्छौँ?"

हामीले जहाँ सूचनाहरू राखेका हुन्छौँ, तिनीहरूले सेवामा बाधा पुर्‍याउन सक्छन्। सूचनाहरू विरलै आराधना हुन्छन्; बरु, तिनीहरूले आराधनामा बाधा पुर्‍याउँछन्। तपाईं के गर्न सक्नुहुन्छ? त्यहाँ कुनै उत्तम जवाफ छैन, तर केही सुझावहरूले मद्दत गर्न सक्छ:

  • सम्भव भएसम्म, ठूलो स्वरले पढ्नुको सट्टा सूचनाहरू छाप्नुहोस्। जब तपाईंले सार्वजनिक सूचनाहरू गर्नु पर्छ, तिनीहरूलाई छोटो बनाउनुहोस्।

  • सेवा सुरु हुनु अघि सूचनाहरू देखाउन ओभरहेड प्रोजेक्टर प्रयोग गर्नुहोस्।

  • केही मण्डलीहरूमा पहिले सूचनाहरू हुन्छन्, प्रार्थनाको समय हुन्छ र त्यसपछि सेवा सुरु हुन्छ। त्यहाँ एउटा मण्डली छ जसले १०:०० मा आफ्नो सेवा सुरु गर्छ। यो मण्डलीले ९:५० मा सूचनाहरू गर्छ। पास्टरले भने, "यसले दुईवटा कुराहरूलाई पूरा गर्छ। पहिलो, यसले मानिसहरूलाई चाँडै आउन प्रोत्साहन दिन्छ किनभने यदि तिनीहरू ९:५० सम्म यहाँ आएका छैनन् भने तिनीहरूले सूचनाहरू सुन्ने छैनन्। दोस्रो, यसले हामीलाई सेवाको पहिलो शब्दहरूबाट पूर्ण रूपमा आराधनामा ध्यान केन्द्रित गर्न समर्थन दिन्छ।"

  • सूचनाहरूले आराधनाको भावलाई अवरोध गर्न नदिनुहोस्। बरु, मण्डलीको सेवकाइ पूरा गर्ने भागको रूपमा सूचनाहरूलाई हेर्नुहोस्, सूचनाहरू गर्नुहोस्, र अगाडि बढ्नुहोस्। जब हामीले मण्डलीका गतिविधिहरू (प्रार्थना सङ्गतिहरू, समुदायको सेवा, बाहिर गएर गर्ने सेवाहरू, र मण्डली परियोजनाहरू) आराधनाको भाग हुन् भनी बुझ्छौं, यी गतिविधिहरूको सूचनाहरू मण्डलीको आराधनाको भाग हुन्। जसरी एउटा बुबाले हप्ताको योजनाहरूको बारेमा परिवारलाई स्मरण गराएर परिवारको सङ्गति समाप्त गर्न सक्नुहुन्छ, पास्टरले पनि हप्ताको गतिविधिहरूको बारेमा मण्डली परिवारलाई स्मरण गराएर आराधना सेवा समाप्त गर्न सक्नुहुन्छ। मण्डलीका गतिविधिहरूको सूचनाले हामीलाई स्मरण गराउँछ कि हामी एक परिवार हौं; परिवारको सङ्गति आराधनाको महत्त्वपूर्ण पक्ष हो।


[1]Barry Liesch, The New Worship, 2nd edition (Grand Rapids: Baker Books, 2001), 123
[2]Jamie Brown बाट साभार गरिएको, “Are We Headed For A Crash? Reflections on the Current State of Evangelical Worship.” उपलब्ध छ https://worthilymagnify.com/2014/05/19/crash/ मा, जुलाइ 22, 2020 मा।
[3]उत्कृष्टताको गुणस्तरको अर्थ व्यावसायिक रूपमा प्रशिक्षित अगुवाहरूले मात्र आराधनाको नेतृत्व गर्न सक्छन् भन्ने होइन। ह्यारोल्ड बेस्टले उत्कृष्टतालाई "म पहिले भन्दा राम्रो बन्ने दौरानमा" भनेर परिभाषित गर्दछन्। आराधना भनेको परमेश्वरलाई हामीले चढ़ाउने बलिदान भएकोले, हामी निरन्तर पहिले भन्दा उत्कृष्ट बन्न खोज्छौं। Harold Best, Music through the Eyes of Faith (San Francisco: Harper Books, 1993), 108
[4]Joel Wentz, “Confessions of a Former Worship Leader." https://relevantmagazine.com/life5/1301-confessions-of-a-former-worship-leader/ जुलाइ 22, 2020 मा उपलब्ध छ।
[5]Warren Wiersbe, Real Worship (Grand Rapids: Baker Books, 2000), 215

आराधनाका खतराहरू: "हामी यो गर्छौं किनभने…"

एउटी नयाँ दुलही आइतवारको खानाको लागि सुँगुरको मासु पकाउँदै थिइन्। सुँगुरको मासुलाई चूल्होमा राख्नु अघि, उनले सुँगुरको मासुको एक छेउलाई सावधानीपूर्वक काटिन् र त्यसलाई सानो प्यानमा राखिन्। श्रीमानले सोधे, "तिमी किन त्यसो गर्छौ?"

"यसरी तिमीले सुँगुरको मासु पकाउनु पर्छ। मेरी आमाले सधैं पकाउनु अघि सुँगुरको मासुको एउटा छेउ काट्नुहुन्थ्यो। मलाई लाग्छ कि यसले स्वाद आउनमा मद्दत गर्दछ।" जवान दुलहीले सोच्न थालिन्, "सुँगुरको मासुको छेउ काट्दा स्वादको लागि के हुन्छ?" उनले आमालाई बोलाएर सोधिन्, "किन तपाईं सुँगुरको मासुको एउटा छेउ काट्नुहुन्छ?"

उनकी आमाले भनिन्, "किनकि तिम्री हजुरआमा, मेरी आमा सधैं खाना पकाउनु अघि सुँगुरको मासुको एक छेउ काट्नुहुन्थ्यो। यसले स्वाद बढाउन मद्दत गर्नुपर्छ। उहाँलाई सोधौं।"

जवान दुलहीले धेरै बुढी हजुरआमालाई बोलाइन्। हजुरआमाले अब खाना पकाउनु हुँदैन, तर उहाँले उनीहरूको प्रश्नको जवाफ दिनुभयो। "हो, मलाई याद छ कि मैले सुँगुरको मासुको एउटा छेउ किन काटें। जब तिम्रो हजुरबुबाको र मेरो विवाह भयो, हामीले धेरै पकाउने प्यानहरू किन्न सकेनौं। मेरो मासु तार्ने प्यान सानो थियो। मैले सुँगुरको मासुको एउटा छेउ नकाटेसम्म त्यो मेरो प्यानमा अट्दैन थियो!"

५० वर्षसम्म ती हजुरआमाकी छोरी र त्यसपछि नातिनीले अर्थहीन 'परम्परा’ जारी राखेकी थिइन्। तिनीहरूले कहिल्यै सोधेका थिएनन्, "किन?"

आराधनाका अगुवाहरूको रूपमा, हामी कहिलेकाहीँ "किन भन्ने प्रश्नको" विचार नगरी कामहरू गर्छौं।

मण्डलीहरूले कुनै खास तरिकामा कामहरू गर्नुका कारणहरू:

१. विगतका मण्डलीहरूले त्यसो गरे। परम्परामा मूल्यमान्यता हुन्छ। यदि चर्चहरूले अतीतमा केही गरे, भने हामीले "किन गरे?" भनेर नसोधी त्यसलाई फ्याँक्नु हुँदैन। हामीले परम्परालाई जोगाउने राम्रो कारण पाउन सक्छौं; तर यदि "विगतका मण्डलीहरूले यो गरे" भन्ने मात्र कारण हो भने, यो पर्याप्त नहुन सक्छ।

२. ठूला मण्डलीहरूले यो गर्छन्। अरूहरूबाट सिक्दा खेरी त्यस्को मूल्य हुन्छ। यदि कुनै अभ्यासले अन्य मण्डलीहरूमा काम गर्छ भने, हामीले सोध्नु पर्छ, "के यो अभ्यास हाम्रो लागि लाभदायक छ? उनीहरूले यो किन गर्छन्?" हामीले आराधना गर्ने अभ्यासको नक्कल गर्नुको राम्रो कारण पाउन सक्छौं। तर यदि "ठूला मण्डलीहरूले यो गर्छन्" त्यही भएर हामीले यसो गरेको भन्ने मात्र कारण हो भने, यो हाम्रो अवस्थाको लागि उपयोगी नहुन सक्छ।

३. मानिसहरूले यसलाई मन पराउँछन्। त्यस्तो आराधनाको मूल्य हुन्छ जसले मानिसहरूको सहभागितालाई प्रोत्साहन दिन्छ। "तपाईंको आराधना दिक्क लाग्दो हुनुपर्छ!" भनी पवित्रशास्त्रमा केही भनिएको छैन। हाम्रा मानिसहरूको मनपर्ने गीत सत्य र आराधनामय छ भनी हामीले फेला पार्न सक्छौं। यदि त्यसो हो भने, त्यो अद्भुत छ; तर यदि मानिसहरूले झूटा सिद्धान्त सिकाउने गीत मन पराउँछन् भने हामीले त्यो गीत गाउनु हुँदैन।

४. यसले हामीलाई आत्मा र सत्यतामा ईश्वरको आराधना गर्न अनुमति दिन्छ। हामीले गर्ने कार्यको मुख्य कारण यही हो। आराधनाको योजना बनाउँदा र आराधनामा अगुवाइ गर्दा हामीले सोध्नुपर्छ, "के यो गीतले हामीलाई परमेश्वरको उत्तम आराधना गर्न मद्दत गर्छ? के यो आराधनाको ढाँचाले हामीलाई परमेश्वरको उपस्थितिमा लैजान्छ? के आह्वान गर्ने काम प्रवचनको प्रतिक्रियालाई स्वीकार गर्ने उत्तम तरिका हो, वा हामीले प्रशंसाको गीतको साथ अन्त्य गर्नुपर्छ? यस हप्ता हामी कसरी आत्मा र सत्यतामा परमेश्वरको आराधना गर्छौं?"

निष्कर्ष: जब हामी आराधनामा असफल भयौं

मण्डलीले सुरुको भजन आधा हृदयले गाए। आराधना झुण्डहरूले अभ्यास गरेका थिए, तर तिनीहरूले त्यो बिहान खराब गाए। एकल गीत गाउने कलाकारले उनको शब्द नै बिर्से। पियानोवादकले गलत नोटहरू बजाए। पास्टरको प्रवचन मानिसहरूको जीवनसँग जोडिएको देखिएन। सेवा आपत्तिजनक थियो। के तपाईंलाई यस्तो कहिल्यै भएको छ? आराधनाको नेतृत्व गर्न असफल हुँदा के गर्नुहुन्छ?

(१) याद गर्नुहोस्, सबै आराधना पूर्वाभ्यास हो।

हाम्रो आराधना स्वर्गीय आराधनाको पूर्वाभ्यास हो। हामी असिद्ध मानिसहरू हौं र हाम्रो आराधना सधैं त्रुटिपूर्ण हुनेछ। "हामीलाई आराधनामा सर्वोत्तम कुरा दिन बोलाइएको छ, सिद्ध कुरा दिन होइन।"[1]

(२) अर्को हप्ता आउँदैछ।

आइतबार राजीनामा नदिनुहोस्। सेवाको विश्लेषण गर्न सोमबारसम्म पर्खनुहोस्। असफलताबाट सिक्नुहोस् र अगाडि बढ्नुहोस्। भर्खरै वर्णन गरिएको सेवामा, सुरुको भजनसँग मण्डली अपरिचित थियो। निर्देशकले सोचे कि उनीहरूलाई त्यो भजन थाहा छ; तिनीहरूलाई थाहा थिएन। उनले आफ्नो भजनलाई लेखेर नोट बनाए, "मण्डलीले यसलाई फेरि गाउनुअघि यो भजन आराधना झुण्डलाई सिकाउनुहोस्।" आफ्ना गल्तीहरूबाट सिक्नुहोस्, परमेश्वरको मद्दत खोज्नुहोस्, र अर्को शनिवारमा परमेश्वरलाई तपाईंको माध्यमबाट काम गर्न अनुमति दिनुहोस्।

(३) याद गर्नुहोस्, आराधना भनेको अनुग्रहको बारेमा हो।

धेरै आराधना अगुवाहरू सिद्धतावादी छन्; हामी कहिल्यै सन्तुष्ट हुँदैनौं। आराधना सिद्धताको बारेमा होइन; आराधना अनुग्रहको बारेमा हो। परमेश्वरले आफ्नो लक्ष्यहरू प्राप्त गर्न हाम्रो असफलता मार्फत पनि काम गर्नुहुन्छ। यस्तो पो हुनुपर्छ! आराधनालाई शक्ति दिने परमेश्वर नै हुनुहुन्छ भनी हामीले बुझेपछि, हामीलाई नम्रता र समर्पणताको ठाउँमा ल्याइन्छ।

(४) यदि हामीले हाम्रो सर्वोत्तम कुरा दिएका छौं भने, हामी असफल भएका छैनौं।

त्यो शनिवार, आराधना अगुवा निरुत्साहित भएर मण्डलीबाट बाहिर गए। भवनबाट निस्किँदा निराजन उनलाई पर्खिरहेका थिए। निराजन लजालु थिए र विरलै बोल्थे, तर त्यो बिहान उसले भन्यो, "तिमीले भेटी उठाउँदा 'येशुले मलाई प्रेम गर्नुहुन्छ’ पो बजायौ।" (हो, आराधना अगुवालाई थाहा थियो कि उनले के बजाएका थिए-उनले गडबड गरेका थिए!) तर निराजनले भने, "मैले त्यो गीत सुन्न आवश्यक थियो। यो हप्ता डाक्टरले मलाई क्यान्सर भएको बताए। येशुले मलाई प्रेम गर्नुहुन्छ भनेर मलाई सम्झाउन आवश्यक थियो।"

यदि हामीले हाम्रो सर्वोत्तम कुरा दिएका छौं, हामी असफल भएका छैनौं। हामीले सेवा गर्ने मानिसहरूलाई उहाँको वचन बोल्ने हाम्रो कमजोर प्रयासहरूद्वारा परमेश्वरले काम गर्नुहुन्छ।

► सामूहिक छलफल। "समीक्षामा पाठ ८" हेर्नुहोस्। के त्यहाँ कुनै बुँदाहरू छन् जसमा तपाईं असहमत हुनुहुन्छ? तपाईंको शीघ्रतम प्रयोगको लागि तपाईंलाई कुन बिन्दुहरू सबैभन्दा महत्त्वपूर्ण छन् जस्तो लाग्छ?


[1]यो उद्धरण र यस खण्डका सुझावहरू, Franklin Segler र Randall Bradley, Christian Worship (Nashville: B&H Publishing, 2006), 274–275 बाट आएका हुन्।

समीक्षामा पाठ ८

(१) हामी आराधना सेवाको कसरी तयारी गर्छौं?

  • आराधना सेवाको तयारी, परमेश्वरसँग बिताएको समयको माध्यमबाट आराधनाको अगुवाले गरेको तयारीबाट सुरु हुन्छ।

  • योजनाको ढाँचाले आराधना सेवालाई रूपरेखा प्रदान गर्न मद्दत गर्दछ।

  • आराधना सेवाको लागि तयार गरेको विषयवस्तुले केन्द्रीय सन्देश सञ्चार गर्न मद्दत गर्दछ।

  • सन्तुलन अपनाउनाले हाम्रो आराधनाले समस्त मण्डलीलाई सम्पूर्ण सुसमाचार बोल्छ भनी सुनिश्चित गर्दछ।

    • सन्तुलित आराधनाले परमेश्वरको महिमा र हामीसँग रहेको परमेश्वरको उपस्थिति दुवैलाई देखाउँछ।

    • सन्तुलित आराधना सामूहिक र व्यक्तिगत दुवै हुन्छ।

    • सन्तुलित आराधनामा परिचित र नयाँ दुवै भजनहरू समावेश हुन्छन्।

  • आराधनाको लागि योजना बनाउँदा सम्पूर्ण मण्डली नेतृत्व टोली समावेश हुनुपर्छ।

  • आराधनाको योजना बनाउँदा त्यसलाई दीर्घकालीन रूपमा हेर्नुपर्छ।

  • हामीले योजना बनाउँदा दबाब बिना बनाउन सक्छौं किनभने आराधना हाम्रो बारेमा होइन; यो परमेश्वरको बारेमा हो।

(२) आराधना सेवाको अगुवाइमा के महत्त्वपूर्ण छ?

  • आराधनामा सबैभन्दा महत्त्वपूर्ण दर्शक परमेश्वर हुनुहुन्छ।

  • मण्डली, आराधनाका अगुवाहरू, र परमेश्वर सबैले आराधना सेवामा अन्तरक्रिया गर्छन्। अगुवाहरूले दर्शकको लागि आराधना प्रस्तुत गर्दैनन्।

  • आराधना गर्ने अगुवाले आराधना गरेको हुनुपर्छ। उसले उदाहरणीय भएर नेतृत्व गर्छ।

  • आराधना अगुवा दोष्याउने होइन, प्रोत्साहन दिने हुनुपर्छ।

  • आराधना गर्ने अगुवाले नेतृत्व गर्नुपर्छ, नियन्त्रण होइन।

  • सूचनाहरू सम्भव भएसम्म कम्तिमा ध्यानभङ्ग नहुने तरिकामा व्यवस्थापन गर्नुपर्छ।

  • आराधनाको योजना बनाएपछि, उहाँले चाहेको तरिकामा हाम्रा सेवाहरूमा हामीले उहाँलाई प्रवेश गर्नको लागि परमेश्वरमा छोड्नुपर्छ।

पाठ ८ क्रियाकलाप

(१) पाठ ६ र ७ मा, तपाईंले पाँच फरक विषयहरूमा गीतहरू र वचन खण्डहरू चयन गर्नुभयो। प्रत्येक पाँचवटा विषयहरूमा आधारित सेवाको योजना बनाउनुहोस्। मण्डलीका गीतहरू, वचन खण्डहरू, प्रवचनको विषय र पाठ, साथै तपाईंको सेवाको लागि उपयुक्त कुनै पनि अन्य विषयवस्तुहरू सहित एउटा एकीकृत सेवाको योजना बनाउन सकेसम्म होसियार हुनुहोस्। यस परियोजनाको लागि परिशिष्ट अ मा प्रदान गरिएको एक वा बढी रूपरेखाहरूलाई प्रयोग गर्नुहोस्।

(२) अर्को पाठको सुरुमा, तपाईंले यस पाठमा आधारित परीक्षा दिनुहुनेछ। तयारी गर्दा खेरी परीक्षाका प्रश्नहरूलाई सावधानीपूर्वक अध्ययन गर्नुहोस्।

पाठ ८ को परीक्षा

(१) प्रवचनमा केन्द्रित आराधनाको रूपरेखाका दुई मुख्य खण्डहरूलाई सूचीबद्ध गर्नुहोस्।

(२) आराधनामा परमेश्वरका मानिसहरूको गतिविधिमा आधारित आराधना रूपरेखाका चार मुख्य खण्डहरूलाई सूचीबद्ध गर्नुहोस्।

(३) भजनसंग्रह ९५ मा आधारित भएको आराधना रूपरेखाका तीन मुख्य खण्डहरूलाई सूचीबद्ध गर्नुहोस्।

(४) सन्तुलित आराधनाबारे हामीले कुन तीनवटा कुरालाई सम्झनुपर्छ?

(५) आराधनाको बाइबलीय नमूनाअनुसार, हाम्रो आराधनाको दर्शक को हो?

(६) प्रभावकारी आराधनाको अगुवाका तीन गुणहरूलाई सूचीबद्ध गर्नुहोस्।

(७) हामीले आराधनालाई नियन्त्रण गरिरहेको हुनसक्ने तीनवटा सङ्केतहरू के-के हुन्?

(८) आफूले कण्ठ गरेको २ इतिहास ५:१३-१४ लेख्नुहोस्।

Next Lesson