ख्रीष्टियान आराधनाको परिचय
ख्रीष्टियान आराधनाको परिचय
Audio Course Purchase

Search Course

Type at least 3 characters to search

Search through all lessons and sections in this course

Searching...

No results found

No matches for ""

Try different keywords or check your spelling

results found

Lesson 1: आराधनाको परिभाषा

2 min read

by Randall McElwain


पाठका उद्देश्यहरू

यस पाठको अन्त्यसम्ममा, विद्यार्थीले सक्षम हुनुपर्छ:

(१) आराधनाको बाइबलीय परिभाषा थाहा गर्नु।

(२) साँचो आराधनाले हाम्रो जीवनका सबै क्षेत्रहरूलाई असर गर्छ भनेर बुझ्नु।

(३) परमेश्वरमा ग्रहणयोग्य आराधनाको स्वरूपलाई पहिचान गर्नु।

(४) ख्रीष्टियान जीवनमा आराधनाको महत्त्वको कदर गर्ने छौँ।

पाठको तयारी

यूहन्ना ४:२३-२४ कण्ठ गर्नुहोस्।

परिचय

अमेरिकामा आइतवारको बिहान। सुकिलोमुकिलो लुगा लगाएका ख्रीष्टियानहरू सुन्दर पवित्र स्थानमा आराधनाको लागि भेला हुन्छन्। अर्गन र क्वाएरका साथमा तिनीहरूले सानदार भजनहरू गाउँछन्। भेटी उठाउँदा अकेस्ट्रा बजाइन्छ। आराधकहरूले मनमनै प्रार्थना गर्छन् जब कि पास्टरले भने प्रार्थनमा अगुवाइ गर्छन्। तिनको प्रवचनको समयमा, पास्टरले आफ्नो पुस्तक सङ्ग्रहहरूबाट लेखकहरूका भनाइ उद्धृत गर्छन्। प्रवचन सकेपछि, त्यस मण्डलीले चाँदीको प्रभु-भोज लिने भाँडाको प्रयोग गरेर एक-एकलाई रोटी र कप दिँदै प्रभु-भोजमा सहभागी हुन्छन्। यो आराधना हो।

चीनमा आइतवारको बिहान। तीस जना सामान्य लुगा लगाएका विश्वासीहरू एउटा अपार्टमेन्टमा भेला हुन्छन्। वाद्यवादन बिना नै तिनीहरूले प्रशंसाका गीतहरू गाउँछन्। तिनीहरूको अगुवाले आफ्नो वचन अध्ययनद्वारा सिकेकी सत्यता बताउँछिन्। थप प्रार्थनाको समयमा त्यो घरका सदस्यहरूले एक-अर्काका आवश्यकताहरूका लागि पालैपालो प्रार्थना गर्छन्। प्रार्थना सकेपछि, तिनीहरूले रोटी र प्लास्टिकको कपहरूमा दाखमद्य लिएर प्रभु-भोज लिन्छन्। उक्त भेटीलाई विशेष आवश्यकता भएको सदस्यहरूमा साझा गरिन्छ। यो आराधना हो।

नाइजेरियामा आइतवारको बिहान। रङ्गीविरङ्गी लुगा लगाएका ख्रीष्टियानहरू एउटा जोशिलो आराधना सेवाको लागि भेला हुन्छन्। गितारहरू, किबोर्ड र ड्रमसेटले साथ दिएको एक प्रशंसाको दलले त्यो भेलालाई स्क्रिनमा देखाएको गीतहरू गाउनमा अगुवाइ गर्छ। त्यो सङ्गीत समूहले बाजा बजाउँदै गर्दा पवित्र स्थान अघि राखिएको भेटी सङ्कलन बाकसमा त्यसका सदस्यहरूले भेटी दिन्छन्। प्रवचनमा समकालीन नाइजेरियाको समाजका आवश्यकताहरूबारे व्यावहारिक प्रचार गरिन्छ। त्यो सेवा हात मिलाउने कार्य, अङ्गालो र आनन्दसँगै अन्त्य हुन्छ। यो आराधना हो।

आराधनाले थुप्रै स्वरूपहरू लिन्छ। हरेक देश र हरेक संस्कृतिमा आराधनाको स्वरूप भिन्नाभिन्नै हुनेछ। आराधना कुनै खास किसिमको सेवाभन्दा बढी कुरो हो। वास्तवमा भन्दा, आराधना आफैंमा सेवाभन्दा बढी कुरो हो; आराधनामा ख्रीष्टियान जीवनका सबै क्षेत्रहरू समावेश हुन्छन्। यो पाठमा हामी आराधनाको बाइबलीय परिभाषालाई हेर्ने छौँ।

► यूहन्ना ४:१-२९ पढ्नुहोस्। आत्मा र सत्यतामा आराधना गर्नुको अर्थ के हो भनेर छलफल गर्नुहोस्।

बाइबलीय आराधनाको पक्षहरू

आराधना परमेश्वरको मुल्यलाई पहिचान गर्नु र सम्मान गर्नु हो। यसको अर्थ परमेश्वरलाई दिनुपर्ने उचित आदर उहाँलाई दिनु हो।

► आराधनाका तीन वटा परिभाषाहरू तल दिइएको छ। तपाईंको लागि सबैभन्दा बढी अर्थपूर्ण परिभाषालाई कण्ठ गर्नुहोस्।

  • "आराधना अनन्तको परमेश्वरप्रति मानिसको श्रद्धाभाव जनाउने प्रतिक्रिया हो।"-ईभ्लीन अन्डरहिल

  • "आराधना परमेश्वरलाई इच्छुक प्रतिक्रिया स्वरूप हाम्रो हृदयलाई माथि उठाउनु हो।" – फ्र्याङ्क्लिन सेज्लर

  • "आराधना हाम्रा सम्पूर्ण अस्तित्वको प्रतिक्रिया हो, परमेश्वरको सम्पूर्ण अस्तित्वप्रति।" – वारेन वाएर्सबी

आराधना भनेको श्रद्धेयपूर्ण समर्पणता हो

बाइबलमा "आराधना" भनेर अनुवाद गरिएको मौलिक हिब्रू र ग्रीक शब्दहरूले परमेश्वरको अघि दण्डवत् गर्नु भन्ने विचार बोक्दछ।[1] यसले आराधनामा संलग्न विन्रम समर्पणलाई बताउँछ। दण्डवत् गर्ने शारीरिक कार्यले हृदयको श्रद्धाभावलाई प्रतिबिम्बित गर्छ। कम्तिमा पनि दोस्रो शताब्दीदेखि, प्रार्थना गर्दा ख्रीष्टियानहरूले श्रद्धाभाव देखाउन घुँडा टेके।

प्रकाश ४:१०-११ मा प्रेरित यूहन्नाले स्वर्गमा गरिने आराधनाको दर्शन देखे:

तब ती चौबीस जना धर्म-गुरुहरू सिंहासनमा विराजमान हुनुहुनेको सामुन्‍ने घोप्‍टो पर्दछन्, र सदासर्वदा जीवित रहनुहुनेलाई दण्‍डवत्‌ गर्दछन्, र तिनीहरूका आ-आफ्‍ना मुकुट सिंहासनको सामुन्‍ने राखेर यसरी गाउँछन्: “हे हाम्रा प्रभु र परमेश्‍वर, तपाईं महिमा, आदर, र शक्ति ग्रहण गर्ने योग्‍यको हुनुहुन्‍छ, किनभने सबै कुरा तपाईंले नै सृष्‍टि गर्नुभएको हो, र तपाईंकै इच्‍छाबमोजिम ती अस्‍तित्‍वमा आए, र तिनको सृष्‍टि भयो।"

जब कैसरको अघि पराजित राजालाई ल्याइन्थ्यो, उसले कैसरको पाउमा आफ्नो राजमुकुट राखिदिनु र समर्पणमा झुक्नु पर्थ्यो। यूहन्नाले देखाउँछन् कि परमेश्वर, जो कैसरभन्दा कयौं गुणा शक्तिशाली र योग्य हुनुहुन्छ, आराधकहरूको विनम्र समर्पण पाउन योग्य हुनुहुन्छ।

पुरानो करारमा परमेश्वरले विद्रोहीको बलिदान ग्रहण गर्न इन्कार गर्नुभयो। "यी मानिसहरू मुख देखाउन मेरो नजिक आउँछन्‌ र ओठले मेरो आदर गर्छन्, तर तिनीहरूको हृदय भने मदेखि टाढ़ा छ। मप्रतिको तिनीहरूको आराधना केवल मानिसहरूले सिकाएका विधिहरू हुन्‌'" (यशैया २९:१३)। बाहिरबाट, तिनीहरू आराधक जस्ता देखिन्थे; तिनीहरूले ठीक कुराहरू बोले र ठीक विधिविधानहरू पालना गरे। भित्रबाट, तिनीहरूका हृदय परमेश्वरबाट टाढा थियो। साँचो आराधना हृदयबाट श्रद्धाका साथ समर्पण हुनु हो।

यही सत्य नयाँ करारमा देख्न सकिन्छ। सामरी स्त्रीले आराधना गर्ने भौतिक स्थान यरूशलेम हो या गीरीज्जीम डाँडा भनेर तर्कवितर्क गरिन्। येशुले आराधना गर्ने आत्मिक स्थान, हृदयतिर औंल्याउनु भयो। "परमेश्‍वर आत्‍मा हुनुहुन्‍छ, र उहाँका आराधकहरूले आत्‍मा र सत्‍यतामा आराधना गर्नुपर्छ" (यूहन्ना ४:२४)। साँचो आराधनामा परमेश्वर प्रतिको समर्पणको आवश्यकता पर्छ।

साँचो आराधनाले आराधना गरिनेको श्रद्धा गर्छ। केही मण्डलीहरूमा आराधनाले परमेश्वरलाई दिनुपर्ने उचित श्रद्धा दिन असफल हुन्छ। हामी पछिल्लो परिभाषामा हेर्ने छौँ, कि आराधनामा आनन्द समावेश हुन्छ, तर यसले परमेश्वरको श्रद्धा पनि गर्छ। यसको अर्थ यो होइन कि आराधनाको एउटै मात्र शैली उपयुक्त हुन्छ। तैपनि, यो परिभाषाले हामीलाई यो याद दिलाउँछ कि हामीले आफ्नो आराधनाका अभ्यासहरूबारे निर्णय लिँदा, हामीले यो प्रश्न सोध्नुपर्छ, "कै मैले आराधना गर्ने परमेश्वरप्रति म श्रद्धा देखाउँदै छु?"

आराधना सेवा हो

यसकारण भाइ हो, परमेश्‍वरको कृपालाई ध्‍यानमा राखी म तिमीहरूलाई अनुरोध गर्दछु, कि तिमीहरूको आत्‍मिक उपासनाको रूपमा आ-आफ्‍ना शरीरलाई पवित्र र परमेश्‍वरलाई ग्रहणयोग्‍य हुने जिउँदो बलिको रूपमा अर्पण गर (रोमी १२:१)।

यो पदले हाम्रो श्रद्धापूर्वकको समर्पणलाई दैनिक जीवनसँग जोड्छ। हामीले आफैलाई जीवित बलिदानको रूपमा अपर्ण गर्‍यौँ भने मात्र हाम्रो सेवा वा आराधना परमेश्वरमा ग्रहणयोग्य हुन्छ। मण्डलीको नियमित भेला महत्त्वपूर्ण छ; सुरुको मण्डलीले सामूहिक आराधनालाई महत्त्व दियो।[2] तैपनि, सार्वजनिक भेला सकिएसँगै आराधना सकिँदैन। साँचो आराधनाले जीवनका सबै क्षेत्रहरूलाई असर गर्छ।

आराधना प्रशंसा हो

भजनसंग्रहको पुस्तकमा प्रशंसा शब्द १३० भन्दा बढी पटक प्रयोग गरिएको छ। त्यहाँ तीनवटा हिब्रू शब्दहरू छन् जसलाई "प्रशंसा" भनेर अनुवाद गरिएको छ। पहिलो शब्द, हलाल, मा उत्सव मनाउने वा घमण्ड गर्ने भन्ने किसिमको धारणा छ। दोस्रो शब्द, यादह, को अर्थ प्रशंसा गर्नु, धन्यवाद दिनु वा स्वीकार गर्नु हो। तेस्रो शब्द, जमार, को अर्थ "गाउनु" वा "प्रशंसा गाउनु" हो।

यी शब्दहरू, विशेष गरी हलाल, ले आराधनाको आनन्दलाई सङ्केत गर्दछ। हलाल एक यहूदी व्यक्तिले कसैलाई घमण्ड गर्न प्रयोग गर्ने शब्द हो। आराधनामा, हामी परमेश्वरको बारेमा घमण्ड गर्छौं; आराधनामा, हामी उहाँको भलाइको उत्सव मनाउँछौं; आराधनामा, हामी परमेश्वरको महानतामा रमाउँछौं।

साँचो आराधनाले परमेश्वरलाई आदर गर्दछ; यद्यपि, साँचो आराधनाले परमेश्वरमा हर्ष पनि मनाउँछ! आराधनामा, हामी परमेश्वरको भलाइमा रमाउँछौं। पाठ ६ मा, हामी आराधनामा सङ्गीतको भूमिकाबारे अध्ययन गर्नेछौं। सङ्गीतको, आराधनामा महत्त्वपूर्ण हुन्छ किनभने यसले मण्डलीलाई उत्सवमा सामेल हुन र परमेश्वरको प्रशंसा गर्ने तरिका प्रदान गर्दछ।

आराधना सङ्गति हो

आराधना भनेको परमेश्वर र मानिसबीचको सम्बन्ध हो। आराधनामा आराधकहरू बीचको सङ्गति पनि समावेश हुन्छ। ग्रीक शब्द (कोइनोनिया) को अर्थ सङ्गति वा साझेदारी हुन्छ जुन प्रायः आराधनाको सन्दर्भमा प्रयोग गरिन्छ। ख्रीष्टियानहरूले आफूलाई प्रेरितहरूको शिक्षा र सङ्गति (कोइनोनिया), रोटी भाँच्न र प्रार्थनामा समर्पित गरे (प्रेरित २:४२)। विश्वासीहरूको रूपमा, हामीलाई परमेश्वरका पुत्र, हाम्रा प्रभु येशु ख्रीष्टको सङ्गति (कोइनोनियामा) बोलाइएको छ (१ कोरिन्थी १:९)।

आराधनालाई सङ्गतिको रूपमा बुझ्ने एउटा नमुना त्रिएकत्व पनि हो। जसरी परमेश्वरत्वका सदस्यहरू सङ्गतिमा एकअर्कासँग सम्बन्ध राख्छन्, त्यसरी नै हामी एक अर्कासँग र आराधनामा परमेश्वरसँग सम्बन्ध राख्छौं। पृथ्वीमा गरिने आराधनालाई अनन्त त्रिएकत्वसँग सम्बन्धित आशिष्‌मा, पावलले लेखे, "प्रभु येशू ख्रीष्‍टको अनुग्रह, परमेश्‍वरको प्रेम र पवित्र आत्‍माको सङ्गति तिमीहरू सबैसँग रहून्‌" (२ कोरिन्थी १३:१४)। हामी ख्रीष्टसँग एक भएको हुनाले, हामी पितासँग पुत्रको सङ्गतिमा आत्माद्वारा भाग लिन्छौं।[3] आराधनामा, हामी त्रिएकत्वको समृद्ध सङ्गतिको अनुभव गर्छौं। हाम्रो पृथ्वीको आराधना त्रिएक परमेश्वरको सिद्ध सहभागितामा आधारित छ।

त्रिएकीय आराधना, अनुग्रहको एउटा अनुभव हो, काम होइन। हाम्रो प्रधान पुजारी येशु ख्रीष्टद्वारा आराधना सम्भव भएको छ। उहाँले हाम्रो अयोग्य आराधना लिनुहुन्छ, यसलाई पवित्र गर्नुहुन्छ, र यसलाई दागरहित र चाउरी बिना पितालाई प्रस्तुत गर्नुहुन्छ। हाम्रो आराधनालाई पिताले येशुको खातिर स्वीकार गर्नुभएको छ, र हामी उहाँको आत्मामा येशुसँग एकताबद्ध छौं।

किनभने यसले परमेश्वरको अनुग्रह कमाउँछ भनेर हामी आराधना गर्दैनौं, तर अनुग्रहद्वारा हामीलाई परमेश्वरसँगको सङ्गतिमा भाग लिने सुअवसर दिइएको छ भनेर हामी आराधना गर्छौँ।

हाम्रो सीमित कोइनोनिया आज (आराधनामा परमेश्वरसँगको सङ्गति अन्य विश्वासीहरूसँगको सङ्गति) स्वर्गीय आराधनाको पूर्वाभ्यास हो। आराधकहरूको रूपमा, हामी सँगी विश्वासीहरूसँग सङ्गति खोज्छौं किनभने पृथ्वीको आराधना अनन्त आराधनाको लागि एउटा पूर्वाभ्यास हो।

आराधनाले सम्पूर्ण जीवनलाई समावेश गर्दछ

नयाँ नियममा आराधनाको लागि प्रयोग गरिएको अर्को शब्दको रूपमा कहिलेकाहीँ "धर्म" भनेर अनुवाद गरिएको छ:[4]

यदि कोही मानिसले आफूलाई धर्मी सम्‍झन्‍छ, र आफ्‍नो जिब्रोमा लगाम लाउँदैन, तर आफ्‍नो हृदयलाई धोका दिन्‍छ भनेता त्‍यस मानिसको धर्म व्‍यर्थ हुन्‍छ। परमेश्‍वर र पिताको अगाडि शुद्ध र पवित्र धर्म यही हो: अनाथ र विधवाहरूलाई तिनीहरूको कष्‍टमा हेरचाह गर्नु, र आफूलाई संसारबाट निष्‍कलङ्क राख्‍नु (याकूब १:२६-२७)।

यो शब्दले आराधना शनिवारको दिनमा हुने सङ्गतिभन्दा पनि बढी कुरो हो भनेर देखाउँछ। बाइबलीय आराधनामा सम्पूर्ण जीवन समावेश छ। आराधना सेवा उपासनाको केन्द्रित अभिव्यक्ति हो, तर आराधना सेवा आफैमा पर्याप्त छैन। हामीले आराधनाको जीवनशैली कायम गर्नुपर्छ। हाम्रो साप्ताहिक सामूहिक आराधना हाम्रो दैनिक जीवनमा देखिनुपर्दछ।

साँचो आराधना दैनिक रूपमा परमेश्वरको समर्पणमा देखिन्छ। याकूबले देखाउँछन् कि यदि मैले शनिवार प्रशंसाको गीत गाउँछु, तर सोमवार मेरो जिब्रोलाई नियन्त्रण गर्न म असफल हुन्छु भने, मेरो आराधना अपूर्ण हुन्छ। शुद्ध र पवित्र आराधनामा व्यावहारिक सेवा (अनाथ र विधवाहरूलाई भेट्ने) र दैनिक आज्ञाकारिता (संसारबाट आफूलाई निर्दोष राख्ने) दुवै समावेश हुन्छन्।

यशैया ६ मा, अगमवक्ताले परमेश्वर आफ्नो सिंहासनमा बस्नु भएको दर्शन देखे। अगमवक्ताको रूपमा यशैयाको सेवा यस अनुभवद्वारा परिवर्तन भयो। यशैयाले प्रभुले सोध्नु भएको कुरा सुने, "म कसलाई पठाऊँ, र हाम्रा निम्‍ति को जाने?” अनि मैले भनें, “म हाजिर छु। मलाई पठाउनुहोस्‌!" (यशैया ६:८)। साँचो आराधनाले हाम्रो जीवन परिवर्तन गर्छ र हामीलाई परमेश्वरको इच्छुक र प्रभावकारी सेवक बनाउँछ।

► मलाकी १:६-९, १ शमूएल १३:८-१४, लेवी १०:१-३, र प्रेरित ५:१-११ पढ्नुहोस्। यी पवित्रशास्त्रका वचनहरूले आराधनाको बारेमा के सिकाउँछन्?


[1]हिब्रू शब्द शाखाह हो, जसलाई "आराधना," "दण्डवत्," "घोप्टनु," वा "भक्ति" भनेर अनुवाद गरिएको छ। यसको ग्रीक शब्द प्रोस्कुनेओ हो, जसलाई नयाँ करारमा "आराधना" वा "दण्डवत" भनेर अनुवाद गरिएको छ।
[2]हिब्रू 10:25 जस्ता बाइबलको खण्डमा सामूहिक आराधनाको आज्ञा दिइएको छ। प्रेरित 2:46-47 जस्ता बाइबलको खण्डलाई सामूहिक आराधना मानिन्छ
[3]James B. Torrance, Worship, Community, and the Triune God of Grace (Downers Grove: InterVarsity Press, 1996), 20-21
[4]ग्रीक शब्दले सामान्यतया आराधनाको बाह्य पक्षहरूलाई जनाउँछ। प्रेरित 26:5, कलस्सी 2:18, र याकूब 1:26-27।

आराधना किन महत्त्वपूर्ण छ?

ए.डब्ल्यु टोजरले आराधनालाई आधुनिक मण्डलीको "हराएको गहना" भने। उनले भने कि हामी कसरी प्रचार गर्ने, कसरी सुसमाचार प्रचार गर्ने, र कसरी सङ्गति राख्ने जान्दछौं। यद्यपि, हाम्रा सबै शक्तिहरूका साथ, हामी प्रायः आराधनामा असफल हुन्छौं। हामी प्रचारकले प्रचार गरेको हेर्छौं; हामी आराधना झुण्ड, प्रशंसा टोली, वा एकल गायकले गाएको सुन्छौं; हामी भेटीको समयमा पैसा दिन्छौं। तर हामी अक्सर साँचो आराधना गर्न असफल हुन्छौं; हामी गतिविधिलाई साँचो आराधनाको विकल्पको रूपमा अनुमति दिन्छौं।

आराधना हाम्रो लागि महत्त्वपूर्ण हुनुपर्छ किनभने यो परमेश्वरको लागि महत्त्वपूर्ण छ।

► परमेश्वरले आराधनामा कति महत्त्व राख्नुहुन्छ भनी हेर्न प्रस्थान २०:१-५ पढ्नुहोस्।

पहिलो दुई आज्ञाहरू आराधनासँग सम्बन्धित छन्। पहिलो आज्ञाले हामीलाई बताउँछ कि हामी कसको आराधना गर्छौं। "मबाहेक अरू कुनै देवता-देवीहरू नमान्‍नू।" (प्रस्थान २०:३)। दोस्रो आज्ञाले हामी कसरी आराधना गर्छौं भनेर हामीलाई बताउँछ। "आफ्‍ना निम्‍ति खोपेर कुनै किसिमको मूर्ति नबनाउनू,.." (प्रस्थान २०:४)। त्यसपछि, प्रस्थान २० को अन्तिम पदहरूमा, परमेश्वर आराधनाको विषयतिर फर्कनुहुन्छ। यी पदहरूले इस्राएललाई कसरी तिनीहरूको वेदीहरू निर्माण गर्ने र कसरी आदरपूर्वक वेदीमा पुग्ने भनेर सिकाउँछन्।

► प्रस्थान २०:२३-२६ पढ्नुहोस्। परमेश्वरको लागि आराधना महत्त्वपूर्ण छ!

पवित्रशास्त्रमा आराधनाले मुख्य भूमिका खेलेको छ। प्रस्थान र लेवीले इस्राएलको आराधनाको लागि विशेष निर्देशन दिन्छ। भजनसंग्रहले आराधनाको लागि भजन पुस्तक प्रदान गर्दछ। सुसमाचारका पुस्तकहरूमा, हामी मानिसहरूलाई येशुको आराधना गर्न घोप्टो परिरहेका देख्छौं।

► मत्ती २:११, मत्ती ८:२, मत्ती ९:१८, मत्ती १४:३३, मत्ती १५:२५, मत्ती २८:१७ पढ्नुहोस्।

प्रेरितको पुस्तकमा, मण्डली आराधनाको लागि भेला हुन्छ।[1] आफ्ना पत्रहरूमा, पावलले मण्डलीमा आराधना गर्ने अभ्यासहरूलाई सम्बोधन गर्दछन् (१ कोरिन्थी ११ र १ तिमोथी २)। प्रकाशको पुस्तकले हामीलाई परमेश्वरको सिंहासनमा भइरहेको आराधनाको झलकको लागि स्वर्गमा हेर्न अनुमति दिन्छ। पृथ्वीमा गरिने आराधना भनेको स्वर्गमा गरिने आराधनाको पूर्वाभ्यास हो (प्रकाश ४-५)। परमेश्वरको लागि आराधना महत्त्वपूर्ण छ।

आराधना महत्त्वपूर्ण छ किनभने आराधनामा हामी परमेश्वरलाई देख्छौं

► यशैया ६:१-८ पढ्नुहोस्। मन्दिरमा यशैयाले गरेका अनुभवको चर्चा गर्नुहोस्।

यशैया ६ ले आराधनाको महत्त्वपूर्ण बाइबलीय चित्र प्रदान गर्दछ। यसले देखाउँछ कि आराधनामा हामी परमेश्वरलाई देख्छौं। मन्दिरमा, यशैयाले प्रभुलाई उचालिएको देखे।

यो सत्य, पवित्रशास्त्रभरि दोहोर्‍याइएको छ। प्रभुको दिनमा आराधना गर्दा यूहन्नाले आफ्नो स्वर्गीय दर्शन देखे (प्रकाश १:१०)। जसै पावल र सिलासले प्रार्थना र भजनमा आराधना गरे, परमेश्वरले आफ्नो शक्ति प्रकट गर्नुभयो (प्रेरित १६:२५-२६)। दाऊदले पीडा सहे जसले गर्दा तिनले यसो भनेर पुकारा गर्न थाले, "हे मेरा परमेश्‍वर, हे मेरा परमेश्‍वर, तपाईंले मलाई किन त्‍याग्‍नुभएको छ?" (भजनसंग्रह २२:१)। आफ्नो दुःखको बीचमा, दाऊदले आराधना र प्रशंसाद्वारा परमेश्वरलाई देखे। "तापनि तपाईं परमपवित्र, सिंहासनमा विराजमान हुनुहुन्‍छ, तपाईं इस्राएलका प्रशंसा हुनुहुन्‍छ।" (भजनसंग्रह २२:३)। आराधनामा हामी परमेश्वरलाई देख्छौं।

आराधना महत्त्वपूर्ण छ किनभने आराधनामा हामी आफैलाई देख्छौं र रूपान्तरित हुन्छौं

मन्दिरमा, यशैयाले प्रभुलाई उचालिएको मात्र देखेका होइन, तर उनले आफूलाई पनि देखे। जब यशैयाले परमेश्वरलाई आफ्नो सिंहासनमा देखे, उनले भने, "धिक्‍कार! म नष्‍ट भएँ, किनभने म अशुद्ध ओठ भएको मानिस हुँ..." (यशैया ६:५)। साँचो आराधनाले हामी आफूलाई परमेश्वरले जस्तै देख्ने अनुमति दिन्छ।

यही कारणले गर्दा आराधनाहरूले परम्परागत रूपमा स्वीकारको प्रार्थना समावेश गरेको छ। स्वीकारको प्रार्थनाले यसो भन्दैन, "हामीले परमेश्वरको व्यवस्थाको विरुद्धमा विद्रोह गरेका छौं र जानाजानी पाप गरेका छौं।" स्वीकारको प्रार्थनाले यो मान्यता दिन्छ, "पवित्र परमेश्वरको पूर्ण शुद्धताको तुलनामा सबैभन्दा शुद्ध मानव हृदय पनि अशुद्ध छ। हामी परमेश्वरको अनुग्रहको निरन्तर आवश्यकतामा खडा छौं।"

आराधनामा, हामी आफूलाई पवित्र परमेश्वरको आँखाबाट देख्छौं। आराधना बाहेक, यो दृश्य एक डरलाग्दो अनुभव हुनेछ। यद्यपि, किनकि हामीले परमेश्वरलाई देखिसकेका छौं, हामी शुद्ध छौं, तर दोषी ठहराइएका छैनौँ। किनभने हामीले परमेश्वर र उहाँको अनुग्रह देखेका छौं, हामी आफैलाई इमानदारीपूर्वक देख्छौं, उहाँको आवश्यकतालाई स्वीकार गर्छौं, र हाम्रो जीवनमा उहाँको अनुग्रह दाबी गर्छौं।

आराधनाले हामी को हौं भनेर प्रकट गर्छ, तर यसले हामीलाई भेटेकै रूपमा त्यसै छोड्दैन। परमेश्वरको शुद्धताको प्रकाशमा, यशैयाले आफूलाई अशुद्ध देखे। यद्यपि, निराशाको सट्टा आराधनाले रूपान्तरण ल्यायो।

तब चिम्‍टाले वेदीबाट आगोको भुङ्‌ग्रो हातमा लिएर सराफहरूमध्‍ये एक जना मकहाँ उड़ेर आए। तिनले मेरो मुख त्‍यस भुङ्‌ग्रोले छोएर भने, “हेर, यसले तिम्रो ओठ छोएको छ। अब तिम्रो अधर्म मेटियो, र तिम्रो पापको प्रायश्‍चित भयो" (यशैया ६:६-७)।

यशैया पवित्र परमेश्वरसँगको भेटद्वारा परिवर्तन भएका थिए।

साँचो आराधनाले आराधकलाई परिवर्तन गर्छ—मन्दिरमा रहेका यशैया, इनारको छेउमा बसेकी एक सामरी स्त्री र येशुको रूपान्तरण भएको पहाडमा रहेका चेलाहरू। परमेश्वरसँगको भेटले आराधकलाई रूपान्तरण गर्छ।

आराधना महत्त्वपूर्ण छ किनभने आराधनामा हामी हाम्रो संसारलाई देख्छौं

[2]आराधनामा, यशैयाले परमेश्वरलाई देखे; उसले आफैलाई देख्यो; उनले आफ्नो संसारको आवश्यकतालाई देखे। "अशुद्ध ओठ भएका मानिसहरूका बीचमा म बस्‍तछु" (यशैया ६:५)। जवाफमा, उनले भने, "म हाजिर छु। मलाई पठाउनुहोस्‌!" (यशैया ६:८)। यो आराधनामा समावेश छ कि हामी खाँचोमा परेको संसारको लागि प्रभावकारी सेवाको लागि सुसज्जित छौं।

साँचो आराधनाले सम्पूर्ण जीवनलाई असर गर्छ भनेर हामीले पहिले देख्यौं। केही मण्डलीहरूले आराधना र सुसमाचारलाई अलग गरेका छन्। तिनीहरू भन्छन्, "हाम्रो मण्डलीको केन्द्रबिन्दु सुसमाचार प्रचार हो। अन्य मण्डलीहरूले आराधनामा ध्यान केन्द्रित गर्न सक्छन्।" वा तिनीहरू भन्छन्, "हाम्रो लक्ष्य आराधना हो। हामी सुसमाचार प्रचार र मिशनको काम अरू कसैलाई छोड्नेछौं। " यसले आराधनाको गलत बुझाइ देखाउँछ। आराधनामा, हामी परमेश्वरलाई हाम्रो संसारको आवश्यकताहरू देखाउन अनुमति दिन्छौं। साँचो आराधनाको परिणाम सुसमाचार प्रचार हुनेछ।

साँचो आराधनाले यशैयाको आवश्यकता प्रकट गर्‍यो।—र उनी आराधनाद्वारा रूपान्तरित भए। साँचो आराधनाले यशैयाको संसारको आवश्यकता प्रकट गर्‍यो।—र उनले त्यो संसारलाई परिवर्तन गर्न आफूलाई समर्पित गरे। आराधनामा, हामी हाम्रो संसारको सेवा गर्ने जोश प्राप्त गर्नेछौं। साँचो आराधनाको लागि आवश्यक प्रतिक्रिया हो, "म हाजिर छु। मलाई पठाउनुहोस्‌!"

ओस्वाल्ड चेम्बर्सले सम्भावित मिसनरीहरूलाई चेतावनी दिए, "यदि तपाईंले दैनिक अवसरहरूमा आराधना गरिरहनुभएको छैन भने, जब तपाईं परमेश्वरको काममा संलग्न हुनुहुन्छ, तपाईं आफैं मात्र बेकार हुनुहुनेछैन तर तपाईंको वरपरका मानिसहरूका लागि पनि अवरोधको कारण हुनुहुनेछ।"[3]

चेम्बरले प्रभावकारी सेवाको लागि तयारीको रूपमा आराधनाको महत्त्व बुझे। आराधनामा, परमेश्वरले हाम्रो वरपरको संसारको आवश्यकताहरू प्रकट गर्नुहुन्छ र हामीलाई ती आवश्यकताहरू पूरा गर्न तयार गर्नुहुन्छ।

आराधना महत्त्वपूर्ण छ किनभने आराधना गर्न असफल हुनुले हामीलाई परमेश्वरबाट अलग गर्छ

► रोमी १:१८-२५ पढ्नुहोस्। झूटो आराधना र पाप बीच के सम्बन्ध छ?

रोमीको सुरुमा, पावलले देखाउँछन् कि, किन मानिस परमेश्वरको सामु दोषी ठहरिन्छ। उनले देखाउँछन् कि अहिलेको मानिसको पतित अवस्था साँचो परमेश्वरको आराधना गर्न इन्कार गरिएको परिणाम हो। पावलले रोमी १:२१-२५ मा वर्णन गरेको प्रक्रियालाई ध्यान दिनुहोस्:

१. तिनीहरूले परमेश्वरको आराधना गरेनन्। "किनकि परमेश्‍वरलाई चिनेर पनि तिनीहरूले परमेश्‍वरलाई दिनुपर्ने महिमा दिएनन्, न त धन्‍यवाद नै चढ़ाए..." (रोमी १:२१)। "किनकि तिनीहरूले परमेश्‍वरको सत्‍यतालाई झूटसँग साटेर सदासर्वदाका परमधन्‍य सृष्‍टिकर्तालाई त्‍यागेर बरु सृष्‍टि गरिएका थोकहरूको पूजा र सेवा गरे" (रोमी १:२५)।

२. फलस्वरूप "...तर तिनीहरू आफ्‍ना विचारमा बेकम्‍मा भए, र तिनीहरूको मूर्ख मन अझ अँध्‍यारो भयो। बुद्धिमान्‌ छु भन्‍ने दाबी गरे तापनि तिनीहरू मूर्खै भए, र तिनीहरूले विनाशी मानिस, चराचुरुङ्गी, चारखुट्टे जनावर र घस्रने जीवहरूका मूर्तिका रूपसँग अविनाशी परमेश्‍वरको महिमा साटफेर गरे" (रोमी १:२१-२३)।

३. इन्साफमा "परमेश्‍वरले तिनीहरूलाई तिनीहरूका हृदयका कामवासनाको अशुद्धतामा छोडिदिनुभयो..." (रोमी १:२४)।

मानिसजातिको मूर्खता, भ्रष्टता र अभिलाषामा पतन हुनु भनेको मानिसहरूले परमेश्वरको आराधना गर्न इन्कार गरेको परिणाम हो भनी पावलले देखाउँछन्। तिनीहरूले परमेश्वरको आराधना गरेनन्; तिनीहरूले सृष्टिकर्ताको सट्टा सृष्टिको पूजा र सेवा गरे।

सबैले आराधना गर्छन्। ख्रीष्टियानहरू परमेश्वरको आराधना गर्छन्। एक मुस्लिम अल्लाहको आराधना गर्दछ। नास्तिकले आफ्नो बुद्धिको आराधना गर्छ। सबैले आराधना गर्छन्। यदि हामीले सृष्टिकर्ताको आराधना गर्न अस्वीकार गर्यौँ भने, हामी सृष्टिको आराधना गर्नेछौं।

आराधना महत्त्वपूर्ण छ। साँचो परमेश्वरको साँचो आराधनाले हामीलाई उहाँको स्वरूपमा परिवर्तन गर्छ। झूटा देवताको आराधनाले हामीलाई त्यो देवताको स्वरूपमा परिवर्तन गर्छ। हामी जसको आराधना गर्छौं त्यस्तै बन्छौं।


[1]प्रारम्भिक समयका ख्रीष्टियानहरूले मन्दिर र सभाघरमा आराधना गर्न जारी राखे (प्रेरित 2:46-47, प्रेरित 3:1-11, प्रेरित 5:12, 21, 42)। यसबाहेक, ख्रीष्टियानहरू प्रार्थना, शिक्षा र सङ्गतिको लागि घरहरूमा भेला भए। यी सबै आराधनाका विभिन्न पक्षहरू हुन् (प्रेरित 2:46-47, प्रेरित 4:31, प्रेरित 5:42)।
[2]

"आराधना गर्न जानुहोस्—सेवा गर्न छोड्नुहोस्"

- मण्डलीको ढोका माथि टाँसिएको लेखा

[3]Oswald Chambers, My Utmost for His Highest, (सेप्टेम्बर 10 प्रविष्टि)। जुलाई 21, 2020 मा https://utmost.org/missionary-weapons-1/ बाट प्राप्त।

आराधनामा तीन लक्ष्यहरू

मार्भा ड्वन साँचो आराधनाका तीन लक्ष्यहरू पहिचान गरे।[1] आराधनामा, हामी:

(१) आराधनामा, हामी परमेश्वरसँग भेट्छौं।

कुनै पनि आराधना सेवा जसले हामीलाई परमेश्वरसम्म पुर्‍याउँदैन भने त्यो साँचो आराधना हुनबाट चुक्दछ। यसको मतलब यो होइन कि हरेक आराधना सेवा भावनात्मक वा नाटकीय हुनेछ। यसको मतलब यो पनि होइन कि हरेक सेवामा आराधनाको विषयवस्तु हुनेछ। तर हरेक सेवामा, हामीले आफूलाई परमेश्वरको उपस्थितिमा भेट्टाउनुपर्दछ। यो उपदेशबाट प्राप्त सत्य मार्फत हुन सक्छ; यो परमेश्वरको वचन पढेर हुन सक्छ; यो परमेश्वरको प्रशंसा गर्ने गीत मार्फत हुन सक्छ; यो प्रार्थनाको समयमा हुन सक्छ जुन समयमा हामीले परमेश्वरसँग हिँड्नको लागि नयाँ शक्ति प्राप्त गर्छौं। कुनै न कुनै रूपमा, प्रत्येक सेवाले हामीलाई परमेश्वरसँगको भेटमा ल्याउनै पर्छ।

(२) आराधनामा, हामी ख्रीष्टियान चरित्र बनाउँछौं।

आराधनामा, हामी आफैलाई देख्छौं र रूपान्तरण हुन्छौं। आराधनामा, हामी सत्यहरू सिक्छौं जसले हाम्रो ख्रीष्टियान चरित्रलाई आकार दिन्छ। जब हामी परमेश्वरको आराधना गर्छौं, हाम्रो चरित्र उहाँको स्वरूपमा थप र अधिक पुन: निर्माण हुन्छ। हामी जसको आराधना गर्छौं त्यस्तै बन्छौं।

(३) आराधनामा हामी ख्रीष्टियान समुदाय निर्माण गर्छौं।

आराधनामा, हामी हाम्रो वरपरको संसार देख्छौं र त्यस संसारको आवश्यकताहरू पूरा गर्न आफूलाई प्रतिबद्ध गर्छौं। जब हामी यो गर्छौं, मण्डलीको निर्माण हुन्छ, र विश्वारीहरू हर किसिमले ख्रीष्टमा बढ्छन्, जो शिर हुनुहुन्छ (एफिसी ४:१५)। साँचो ख्रीष्टियान समुदाय निर्माण गर्नको लागि साँचो आराधना एक साधन हो।


[1]Marva Dawn, Reaching Out Without Dumbing Down (Grand Rapids: Eerdmans, 1995)

कुन प्रकारको आराधना परमेश्वरलाई स्वीकार्य हुन्छ?

► तपाईंलाई कस्तो प्रकारको आराधनालाई परमेश्वरले स्वीकार गर्नुहुन्छ जस्तो लाग्छ?

येशुले सामरी स्त्रीलाई भन्नुभयो कि साँचो आराधकहरूले उहाँलाई आत्मा र सत्यतामा आराधना गर्छन् (यूहन्ना ४:२३-२४)। त्यहाँ एक साँचो आराधना छ जुन परमेश्वरलाई स्वीकार्य छ; यसले झुटो आराधना स्वीकार्य छैन भन्ने संकेत गर्दछ।[1]

आराधनाका अगुवाहरूले प्रायः सोध्छन्, "के हाम्रो आराधनाले मण्डलीलाई उत्प्रेरित गर्‍यो? के यसले मानिसहरूलाई रमाइलो शैलीमा सञ्चार गर्‍यो?" धर्मशास्त्रले अझ महत्त्वपूर्ण प्रश्नहरू देखाउँछ, "के हाम्रो आराधनाले परमेश्वरलाई आदर गर्‍यो? के हामीले परमेश्वरलाई उहाँको इच्छाअनुसार आराधना गर्‍यौं? के उहाँलाई हाम्रो आराधना स्वीकार्य छ?"

परमेश्वरले अस्वीकार गर्ने आराधना

परमेश्वरले अज्ञानी आराधना स्वीकार गर्नुहुन्न।

सामरी स्त्रीलाई थाहा थिएन कि उसले के आराधना गरिन् (यूहन्ना ४:२२)। एथेन्समा, पावलले अज्ञात देवताको आराधना गर्ने मानिसहरूलाई देखे (प्रेरित १७:२३)।

पाठ २ मा हामीले आराधना गर्ने परमेश्वरको प्रकृतिको अध्ययन गर्नेछौं। जब हामी परमेश्वरलाई साँच्चै चिन्दैनौं, हाम्रो आराधना बेमतलबीको हुन्छ; यो एक अज्ञात परमेश्वरको आराधना हो। हामी एक धार्मिक विधिको गतिमा जान्छौं,[2] तर हाम्रो आराधना अज्ञात परमेश्वरको हो। आराधनाले आराधकलाई परमेश्वरको स्वरूप प्रकट गर्नुपर्छ। हामीले परमेश्वरका गुणहरू बोल्ने गीतहरू गाउनु पर्छ; हामीले परमेश्वरको बारेमा सत्य बोल्ने पवित्रशास्त्र पढ्नुपर्छ। हामीले परमेश्वरको स्वभाव प्रकट गर्ने उपदेशहरू प्रचार गर्नुपर्छ। हामीले अज्ञात परमेश्वरको आराधना स्वीकार गर्नु हुँदैन।

परमेश्वरले मूर्तिपूजालाई स्वीकार गर्नुहुन्न।

मूर्ति भनेको यस्तो कुनै पनि चीज हो जसले जीवनको कुनै पनि पक्षमा सर्वोच्च अधिकारको रूपमा परमेश्वरको उचित स्थान लिन्छ। संसारका केही क्षेत्रहरूमा मूर्तिहरू मूर्तिपूजक मानिसहरूको देवताहरूको प्रतिमाहरू हुन्। संसारका अन्य क्षेत्रहरूमा, मूर्तिहरू भनेको काम, बैंक खाता, घर र मनोरञ्जन हुन्। हाम्रो जीवनमा परमेश्वरको उचित स्थान लिने कुनै पनि चीज मूर्ति हो। यदि हामी आइतवार मण्डली जान्छौं तर हाम्रो दैनिक जीवनमा अन्य चीजहरूलाई अन्तिम अधिकार लिन अनुमति दिन्छौं भने, हामी मूर्तिको सेवा गरिरहेका छौं।

परमेश्वरले निम्न स्तरको आराधना स्वीकार गर्नुहुन्न।

► निम्न स्तरको आराधनाका केही उदाहरणहरू दिनुहोस्।

अगमवक्ता मलाकीले इस्राएलको आराधना परमेश्वरलाई अपमानजनक भएको चेतावनी दिए। तिनीहरूले विरोध गरे, "हामीले कसरी परमेश्वरलाई अपमान गरेका छौं?" मलाकीले जवाफ दिए,

"जब तिमीहरूले अन्‍धा पशुहरू बलिदान चढ़ाउन ल्‍याउँछौ, तब के त्‍यो भूल कुरो होइन र? जब तिमीहरूले लङ्गड़ा र बेथा लागेका पशुहरू बलिदान चढ़ाउँदछौ, तब के त्‍यो भूल कुरो होइन र? ती तिमीहरूका राज्‍यपाललाई चढ़ाउन कोशिश गर। के तिनी तिमीहरूदेखि खुशी हुनेछन्‌? के तिनले त्‍यो ग्रहण गर्नेछन्‌?” सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ (मलाकी १:८)।

तिनीहरूले आफ्नो राज्यको राज्यपाललाई उपहारको रूपमा लङ्गडा जनावर कहिल्यै ल्याउने थिएनन्, तर तिनीहरूले सारा जगतका सर्वशक्तिमान परमेश्वरलाई बलिदानको रूपमा लङ्गडा जनावरहरू ल्याए।

केही मानिसहरू विश्वास गर्छन् कि आराधनाका बाहिरी पक्षहरू महत्त्वपूर्ण छैनन् किनभने परमेश्वरले हृदयलाई हेर्नुहुन्छ। यो सत्य हो कि परमेश्वरले हृदयलाई हेर्नुहुन्छ। यद्यपि, यो धर्मशास्त्रमा स्पष्ट छ कि आराधनाका बाहिरी पक्षहरू परमेश्वरको लागि महत्त्वपूर्ण छन्। प्रस्थान र लेवीले आराधनाको लागि परमेश्वरको आवश्यकताहरूको विस्तृत निर्देशन दिन्छन्। भेट हुने पालका लागि निर्देशनहरू सटीक थिए। परमेश्वरले पुजारीहरूले लगाउने लुगाहरूका लागि विस्तृत निर्देशनहरू दिनुभयो। प्रस्थान ३९-४० मा, इस्राएलको आज्ञाकारिता देखाउनको लागि "परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम" भन्ने वाक्यांशलाई १३ पटक दोहोर्‍याइएको छ। आराधनाका विशिष्टताहरू परमेश्वरको लागि महत्त्वपूर्ण थिए। उहाँलाई इस्राएलको उत्कृष्टता चाहिएको थयो।

जब हामी परमेश्वरलाई हाम्रो उत्तम कुराभन्दा कम दिन्छौं तब हामी तुच्छ आराधना चढाउँदछौं। अहिले हामीले परमेश्वरलाई पशुको बलि नचढाए तापनि, यी सिद्धान्तहरू अझै महत्त्वपूर्ण छन्। मलाकीमा सोधिएका प्रश्नहरूले आजको हाम्रो आराधनाको बारेमा हामीले सोध्नुपर्ने प्रश्नहरूलाई उल्लेख गर्छ।

  • पास्टरहरू: "यदि गभर्नर मेरो वचन सुन्ने श्रोताहरूमा हुन्थे भने के म मेरो वचनको भागलाई अझ सावधानीपूर्वक तयार गर्ने थिएँ? के म परमेश्वरको लागि लङ्गडो बलिदान ल्याइरहेको छु?"

  • सङ्गीतकारहरू: "यदि प्रसिद्ध सङ्गीतकार श्रोतामा थिए भने के म अझ सावधानीपूर्वक अभ्यास गर्थें? के म परमेश्वरको लागि लङ्गडो बलिदान ल्याइरहेको छु?"

  • सर्वसाधारणहरू: "यदि राष्ट्रपति वक्ता हुनुहुन्थ्यो भने के म यो वचनलाई अझ ध्यान दिएर सुन्थेँ? के म परमेश्वरको लागि लङ्गडो बलिदान ल्याइरहेको छु?"

परमेश्वरले घमण्डी आराधना स्वीकार गर्नु हुन्न।

परमेश्वरले हाम्रो उत्तम बलिदानभन्दा अर्को बलिदान स्वीकार गर्नुहुन्न। यद्यपि, त्यहाँ एक विपरीत खतरा छ जुन हामीले बेवास्ता गर्नुपर्छ। घमण्डी र अहङ्कारी हृदयको बलिदानलाई परमेश्वरले स्वीकार गर्नुहुन्न। यद्यपि हामीले हाम्रो सबै भन्दा उत्तम बलिदान परमेश्वरलाई ल्याउँछौं, हामीले यो स्वीकार गर्नुपर्दछ कि हामीले ल्याउने कुनै पनि कुरा वास्तवमा परमेश्वरको लागि योग्य छैन। हाम्रो सबै भन्दा उत्तम बलिदान जुन केवल परमेश्वरको लागि योग्य छ त्यसको एक सानो प्रतीक हो। हामी नम्रताका साथ परमेश्वरको उपस्थितिमा आउँछौं, कहिल्यै घमण्ड र आत्म-मूल्यको मनोवृत्तिको साथ होइन।

आराधना जुन परमेश्वरले स्वीकार गर्नुहुन्छ

यदि यी आराधनाका विशेषताहरू परमेश्वरलाई स्वीकार्य छैनन् भने, परमेश्वरले कस्तो प्रकारको आराधना स्वीकार गर्नुहुन्छ?

ग्रहणयोग्य आराधना परमेश्वरमा केन्द्रित हुन्छ।

यशैया ६ जस्तै, प्रकाश ४ ले स्वर्गमा झ्याल खोल्छ। प्रकाश ४ मा, आराधकहरूको ध्यान सिंहासनमा विराजमान हुनुभएको प्रति केन्द्रित छ। साँचो आराधना परमेश्वरमा केन्द्रित हुन्छ। साँचो आराधनाले परमेश्वरलाई आराधनाको योग्यको रूपमा औंल्याउँछ।

ग्रहणयोग्य आराधनाले परमेश्वरलाई दिनुपर्ने महिमा दिन्छ।

भजनसंग्रह ९६:७-८ ले आराधनाको उद्देश्यलाई देखाउँछ:

जाति-जातिका परिवार हो, परमप्रभुलाई चढ़ाओ, परमप्रभुलाई महिमा र शक्ति चढ़ाओ। परमप्रभुलाई उहाँको नाउँअनुसारको महिमा चढ़ाओ, भेटी लिएर उहाँको मन्‍दिरमा प्रवेश गर।

आराधनाले परमेश्वरले पाउनुपर्ने महिमा उहाँलाई दिन्छ। हामीले जुनसुकै गीत गाउँछौं, हामीले उत्तेजित गर्ने भावनाहरू वा दर्शकहरूबाट हामीले प्राप्त गरेको प्रतिक्रिया, परमेश्वरको महिमा नगर्ने आराधनाले आफ्नो उद्देश्य पूरा गर्न असफल भएको छ।

आराधनाको उद्देश्य मेरो लागि आशीर्वाद प्राप्त गर्नु होइन; आराधनाको उद्देश्य परमेश्वरलाई आदर र महिमा दिनु हो। जब हामी आराधना गर्छौं, हामी प्रायः आशिष् पाउँछौं-तर हाम्रो आशीर्वाद आराधनाको लागि प्रेरणा होइन। आराधनाको प्रेरणा भनेको परमेश्वरको सम्मान हो।

आराधनाको उद्देश्यलाई पहिचान गर्दा हामीले प्रायः आराधनाको बारेमा सोध्ने प्रश्नलाई परिवर्तन गर्छ। "के आजको आराधनाको मैले आनन्द उठाएँ?" भनेर प्रश्न गर्नुको साटो, हामीले यो प्रश्न गर्ने छौँ, "के आजको आराधनाले परमेश्वरको सम्मान गर्‍यो?" हामीले आराधनाको उद्देश्यलाई अझ राम्ररी बुझेपछि, हामी हाम्रो ध्यान स्वयंबाट परमेश्वरमा परिवर्तन गर्नेछौं।

ग्रहणयोग्य आराधना आत्मा र सत्यतामा गरिने आराधना हो।

यूहन्ना ४ मा सामरी स्त्रीसँग येशुको कुराकानीमा, उहाँले तिनलाई भन्नुभयो कि परमेश्वरको आराधना गर्नेहरूले आत्मा र सत्यतामा परमेश्वरको आराधना गर्नुपर्छ (यूहन्ना ४:२४)। यो आराधनाको लागि सही ढाँचा हो।

सामान्यतया जब हामी आराधनाका ढाँचाहरू छलफल गर्छौं, हामी सङ्गीत शैलीहरू, लिटर्जीको क्रम, र फारमको अन्य मामिलाहरू छलफल गर्छौं। नयाँ नियमको मण्डलीमा आराधना गर्ने अभ्यासहरूबारे विस्तृत जानकारीको अभावले धेरै मानिसहरू निराश भएका छन्। नयाँ नियमको आराधनाको बारेमा हामीलाई थाहा नभएका सबै कुराहरू विचार गर्नुहोस्:

  • हामीलाई थाहा छ उनीहरूले भजन गाए। हामीलाई थाहा छैन तिनीहरूले कुन धुन प्रयोग गरे; हामीलाई थाहा छैन कि तिनीहरूले कुन वद्यवाधनहरूको प्रयोग गरे; हामीलाई थाहा छैन उनीहरूले कुन नयाँ गीत गाए।

  • हामीलाई थाहा छ तिनीहरूले प्रार्थना गरे। हामीलाई थाहा छैन कि तिनीहरू सबैले ठूलो स्वरमा प्रार्थना गरे वा गरेनन्, तिनीहरूले सानो समूहमा प्रार्थना गरे, वा एउटा व्यक्तिले प्रार्थनाको नेतृत्व गरे। हामीलाई थाहा छैन कि उनीहरूले लिखित प्रार्थनाहरू (भजनहरू) वा झ्वाट्ट गरिहाल्ने प्रार्थनाहरू मात्र प्रयोग गरे।

  • हामीलाई थाहा छ तिनीहरूले प्रचार गरे। उनीहरूले कति समयसम्म प्रचार गरे, उनीहरूले कस्तो प्रचार शैली प्रयोग गरे, वा प्रत्येक सेवामा वचनको सेवा थियो वा थिएन भन्ने कुरा हामीलाई थाहा छैन।

नयाँ करार र केही दशक पछि लेखिएको एउटा पाठ बाहेक, हामीसँग आराधनाको लागि प्रारम्भिक मण्डलीका ढाँचाहरूको बारेमा थोरै जानकारी छ।[3]

विद्वानहरूको लागि, यो जानकारीको कमी निराशाजनक छ। यद्यपि, सायद यसले देखाउँछ कि हामीले सबैभन्दा महत्त्वपूर्ण ठानेका मुद्दाहरू परमेश्वरले सबैभन्दा महत्त्वपूर्ण ठान्नुभएको मुद्दाहरू होइनन्! जब येशुले आराधनाको ढाँचाको बारेमा छलफल गर्नुभयो, उहाँले दुईवटा मुद्दाहरूमा ध्यान केन्द्रित गर्नुभयो: आत्मा र सत्यता। यी मुद्दाहरू साँचो आराधनाको लागि सबैभन्दा महत्त्वपूर्ण छन्।

आत्मामा गरिने आराधनाले सायद मानव आत्मालाई बुझाउँछ। आराधना मन विहीनको रीतिरिवाज हुनुहुँदैन; यसमा आत्मा समावेश हुन्छ। यो साँचो आराधना हो; यो हृदयबाट आउँछ।

आत्मामा आराधना गर्नु?
१९९४ मा, टोरन्टोको भाइनयार्ड मण्डलीले एक पुनरुत्थानको रिपोर्ट गर्‍यो जसमा मानिसहरू हाँसे, सिंह जस्तै गर्जे, र "क्रन्च्ड" (भावनाहरू सफा गर्ने बान्ता जस्तै)। "पवित्र हाँसो" को समयमा, मानिसहरू कहिलेकाहीं उन्मादमा गए। परमेश्वरको वचनलाई खोजकर्ताहरूको हृदयमा गहिरो रूपमा काम गर्न अनुमति दिनुको सट्टा, "टोरन्टो ब्लेसिङ" ले भावनात्मक प्रतिक्रिया मात्र खोज्यो। के यो आत्मामा गरिएको आराधना हो? के यो साँचो आराधना हो?

सत्यतामा आराधना गर्ने कुरा बाइबलीय शिक्षासँग मेल खान्छ। यो एक राम्रो भावना वा भावनात्मक प्रतिक्रिया भन्दा बढी हुन्छ। पास्टरहरू र आराधनाका अगुवाहरूको रूपमा, हामी हाम्रो आराधनाको प्रत्येक पक्षको मूल्याङ्कन गर्छौं, "के यो सत्य हो?" हामीले प्रचार गर्ने शब्दहरू, हामीले गाउने गीतका शब्दहरू, र हामीले प्रार्थना गर्ने शब्दहरू पवित्रशास्त्रमा विश्वासयोग्य हुनुपर्छ। परमेश्वर खाली शब्दहरूले प्रभावित हुनुहुन्न; उहाँ आत्मा र सत्यतामा गरिएको आराधना खोज्दै हुनुहुन्छ (यूहन्ना ४:२४)।

सत्यतामा आराधना गर्नु?
पास्टर विकासले आराधनामा सङ्गीतको महत्त्व बुझेका छन्। उनी पुराना भजनको प्रशंसा गर्छन्, तर नयाँ गीतलाई पनि स्वागत गर्छन्। धेरै मण्डलीहरूमा लोकप्रिय भएको एउटा गीतले विश्वासीहरू निरन्तर जानीजानी पापमा फस्छन् र त्यसपछि पुनर्स्थापना खोज्छन् भनी सिकाउँछ। गीतले विजयी ख्रीष्टियान जीवनको कुनै प्रतिज्ञा दिँदैन। गीत सुनेर विकासले भने, "यो गीत पवित्रशास्त्रसँग सत्य छैन, तर यो एउटा गीत मात्र हो। मानिसहरू सङ्गीतको मन पराउँछन्; उनीहरूको लागि शब्दहरू महत्त्वपूर्ण छैनन्।" के यो सत्यतामा गरिएको आराधना हो?

[1]यस खण्डका केही अंशहरू David Jeremiahका भनाइबाट लिएका छन्। Worship (CA: Turning Point Outreach, 1995), 20-24
[2]लिटर्जी सार्वजनिक आराधनाको समयमा प्रयोग गरिने एउटा योजना हो। लिखित निर्देशनहरूको साथ लिटर्जीलाई धेरै व्यवस्थित गर्न सकिन्छ। आराधकहरूको लागि कुनै लिखित निर्देशनहरू बिना यो धेरै अनौपचारिक हुन सक्छ। यस पाठ्यक्रममा, "लिटर्जी" शब्दले आराधनाको लागि कुनै पनि योजनालाई जनाउँछ। कोही-कोही मानिसहरूले योजनाबद्ध आराधना साँचो आराधना होइन भनी सुझाव दिएर सबै आराधनाको आलोचना गर्छन्। हामी "लिटर्जी" शब्दलाई धेरै सामान्य अर्थमा प्रयोग गर्नेछौं। योजनाबद्ध आराधना रित्तो हुन सक्छ, वा यो परमेश्वरको उपस्थितिले भरिन सक्छ।
[3]Didache (द टिचिङ) पहिलो वा दोस्रो प्रारम्भिक शताब्दीको छोटो पाठ हो। Didache ख्रीष्टियान नैतिकता, मण्डली विधिविधानहरू, र मण्डली संगठनको शिक्षा समावेश छन्।

आराधनाका खतराहरू: साँचो आराधनाको विकल्पहरू

येशुले साँचो आराधनाको बारेमा बताउनुभयो। यदि साँचो आराधना छ भने, त्यहाँ झुटो आराधना पनि हुनेछ। मार्टिन लुथरले प्रायः एउटा जर्मन उखान उद्धृत गरे, "जहाँ परमेश्वरले मण्डली बनाउनुहुन्छ, त्यसकै छेउमा शैतानले च्यापल बनाउँछ।" शैतानले हामीलाई साँचो आराधनाको लागि झूटा विचारहरू बदल्न प्रोत्साहन दिन मन पराउँछ। हामीले आराधना गर्ने परमेश्वरको मागलाई पछ्याउनको सट्टा संस्कृतिको मागलाई पछ्याउने आराधनालाई हामीले प्रायः अनुमति दिएका छौं। साँचो उपासनाका केही विकल्पहरू के-के हुन्?

म्याकवर्सिप

म्याकवर्सिप भनेको त्यो आराधना हो जसले परमेश्वरलाई खुशी पार्नुको सट्टा व्यक्तिगत सुविधामा केन्द्रित हुन्छ। संसारमा ३५,००० म्याकडोनाल्डसहरू छन्। हरेक दिन ६ करोड ८० लाख ग्राहकहरूले म्याक डोनाल्डमा खान्छन्। यो म्याकडोनाल्डमा उत्कृष्ट खाना पाइने कारणले गर्दा होइन। यो तिनीहरूले एकदमै स्वस्थकर खाना उपलब्ध गराएको कारणले गर्दा होइन। यो म्याकडोनाल्डले सुविधायुक्त, सहज र मनोरञ्जनात्मक वातावरण उपलब्ध गराएको कारणले हो। म्याकवर्सिपमा, हाम्रो प्राथमिक चिन्ता सुविधा, सहजता र मनोरञ्जन हो।

म्याकडोनाल्डस र म्याकवर्सिपले संख्याद्वारा सफलता मापन गर्दछ। म्याकडोनाल्डस घमण्ड गर्दछ, " ३० खर्ब भन्दा बढीको सेवा गरियो।" म्याकवर्सिपले घमण्ड गर्छ, "गत वर्षको तुलनामा १७% ले हाम्रो व्यापार वृद्धि भयो।" परमेश्वरभक्तिको सट्टा संख्या चाहिँ सफलताको नाप बन्छ।

म्यावर्सिपर्सको माग थोरे छ। म्याकवर्सपले न्यूनतम लागतमा राम्रो सङ्गीत, मनोरञ्जनात्मक स्पिकरहरू र आकर्षक प्याकेजहरू प्रदान गर्छ। म्याकवर्सिपले भीडलाई आकर्षित गर्छ, तर आत्मिक भोजन प्रायः खाली हुन्छ र आत्मिक स्वास्थ्यलाई बढावा दिँदैन। मानिसहरूलाई सुसमाचारमा आकर्षित गर्न खोज्नु राम्रो हो, तर म्याकवर्सिप साँचो आराधना होइन।

सङ्ग्रहालय आराधना

एक सङ्ग्रहालयको वातावरण म्याकडोनाल्डसको विपरीत छ। सङ्ग्रहालयमा परम्परा जोगाउनलाई ठूलो जोड दिइन्छ। प्रदर्शनीहरू हेर्दा मानिसहरू आदर गर्छन्। अधिकांश सङ्ग्राहालयले व्यक्तिगत सहभागिता र प्रतिबद्धतालाई जोड दिँदैनन्। तपाईंलाई लुभ्र कला संग्रहालयको भित्तामा आफ्नो चित्र राख्न आमन्त्रित गरिएको छैन!

सङ्ग्रहाल आराधनामा, हाम्रो प्राथमिक चिन्ताको विषय भनेको परम्परा र रूप हो। मण्डलीले सधैं गाएको गीतहरू हामी गाउँछौं। हामी परम्पराप्रतिको हाम्रो वफादारीमा गर्व गर्छौं। तर मानिसहरूले व्यक्तिगत प्रतिबद्धताको लागि परमेश्वरको मागको सामना नगरी हप्ता-हप्तामा उपस्थित हुन सम्भव छ। प्रत्येक शनिवार मण्डलीमा उपस्थित हुन र जीवन परिवर्तन बिनाका प्रदर्शनीहरू (वचन, भजनहरू, प्रार्थनाहरू) हेर्न सम्भव छ। हाम्रो सम्पदाको कदर गर्नु राम्रो हो, तर सङ्ग्रहालय आराधना साँचो आराधना होइन।

कक्षाकोठा आराधना

कक्षाकोठामा, शिक्षक नै प्रमुख व्यक्ति हो। शिक्षकले कक्षाले के सिक्नु पर्ने हो भनेर आफै निर्णय गर्छ। शिक्षकले व्याख्यान दिन्छ; विद्यार्थीहरू सुन्छन् र नोटहरू लिन्छन्। सहभागिता शिक्षकद्वारा नियन्त्रित छ।

कक्षाकोठाको आराधनामा, पास्टर नै केन्द्रीय व्यक्तित्व हुन्। वचनको समय सेवाको केन्द्रविन्दु हो; अरू सबै प्रारम्भिक मात्र हुन्छन्। मण्डलीका विश्वासीहरू सुन्न र नोटहरू लिन त्यहाँ हुन्छन्। आराधनालाई बौद्धिक गतिविधिमा मात्र सीमित गरिएको छ। हाम्रो आराधनामा सत्यतासँग संवाद गर्न खोज्नु राम्रो हो; हामीले हाम्रा आराधकहरूलाई सत्यताको व्याख्या गर्नै पर्छ, तर कक्षाकोठाको आराधना साँचो आराधना होइन।

साँचो आराधना

साँचो आराधना परमेश्वरमा केन्द्रित हुन्छ। साँचो आराधनाले यो सोध्छ, "परमेश्वर के चाहनुहुन्छ?" साँचो आराधनाले मलाई परमेश्वरको आँखाबाट आफूलाई हेर्न मद्दत गर्छ-र त्यो व्यक्तिको लागि असहज हुन्छ जो परमेश्वरबाट परिवर्तन हुन इच्छुक हुँदैन। साँचो आराधना उहाँको बारेमा हो। साँचो आराधनामा क्रूस, बलिदान, आत्मसमर्पणता समावेश हुन्छ। साँचो आराधनाले आराधकलाई परिवर्तन गर्छ।

निष्कर्ष: मार्थाको गवाही

आराधना कत्तिको महत्त्वपूर्ण छ? मार्थाको गवाही सुन्नुहोस्।

"म एक व्यावहारिक व्यक्ति हुँ। कसैले भुइँ बडार्नु पर्छ, खाना पकाउनु पर्छ, र घरपरिवारको विवरणहरूको हेरचाह गर्नुपर्छ। त्यो नै मेरो शक्ति हो; मसँग सेवाको वरदान छ।

"मलाई त्यो दिन याद छ जुन दिन येशु बेथानीको हाम्रो सानो घरमा आउनुभयो। हाम्रो घरमा उहाँ जस्तो महत्त्वपूर्ण शिक्षक आउनुभएकोमा अब के गर्ने होला भनेर म व्याकुल थिएँ। सबै कुरा एकदम ठीकसँग भएको म चाहन्थें। लूकाले पछि लेखे, 'तर मार्था सेवा-सत्‍कारको धेरै काममा अल्‍झेकी थिइन्‌' (लूका १०:४०)। म सबै कुरालाई ठीकसँग गर्नमा व्यस्त थिएँ।

"जब म घरको हेरचाहमा व्यस्त थिएँ, मरियम छेउको कोठामा बसेर येशुको कुरा सुनिरहेकी थिइन्। म खुसी भइनँ; मलाई मद्दत चाहियो! यसबाहेक, उनी एक महिला हुन्; उनले गुरूबाट सिक्नु आवश्यक छैन।

"म यति विचलित भएँ कि म भित्र छिरेँ र भनें, भनिन्, 'प्रभुज्‍यू, मेरी बहिनीले सेवा-सत्‍कारको काममा मलाई एकलै पारेकी छिन्, तपाईं वास्‍ता राख्‍नुहुन्‍न? त्‍यसलाई भनिदिनोस्, र त्‍यसले मलाई सघाओस्‌।' (लुका १०:४०)। म उहाँको जवाफ कहिल्यै बिर्सने छैन। येशुले मलाई हेर्नुभयो र आफ्नो टाउको हल्लाउनुभयो। 'मार्था, मार्था, तिमी धेरै कुराका विषयमा चिन्‍ता गर्छ्यौ, र व्‍याकुल हुन्‍छ्यौ। तर आवश्‍यकता एउटै कुराको छ, त्‍यही असल कुरा मरियमले छानेकी छे...' (लूका १०:४१-४२)।

"गुरूले मलाई के भन्नुभएको थियो? उहाँले सेवा महत्त्वपूर्ण छैन भन्न खोजेको होइन। हामीलाई भेट्नु भन्दा ठीक अघि, येशुले असल सामरीको दृष्टान्त भन्नुभयो-सेवाको बारेमा एउटा कथा (लूका १०:२५-३७)। सेवा महत्त्वपूर्ण छैन भनेर येशुले भन्नु भएको थिएन; उहाँले मलाई भन्नुभएको थियो कि मेरो सेवा मेरो आराधनाबाट निस्कनुपर्छ। मुख्य कुरा आराधना हो। आराधना गरेँ भने सेवा स्वाभाविक रूपमा बग्छ। म 'चिन्‍ता गर्छ्यौ र व्‍याकुल हुन्‍छ्यौ' (लूका १०:४१)।

"त्यस दिन, मैले मेरो जीवनको पाठ सिकेँ। फेरि कहिल्यै मेरो सेवालाई मेरो आराधना भन्दा प्राथमिकता दिइनँ। त्यस दिनदेखि, मैले येशुको खुट्टामा मरियमसँग सामेल हुन समय निकालें। मैले आराधना गर्न समय निकालें।"

जाँच

आफैलाई सोध्नुहोस्, "म कसरी राम्रो आराधक बन्न सक्छु?" केही क्षेत्रहरू पत्ता लगाउनुहोस् जहाँ तपाईं आफ्नो आराधनालाई बाइबलीय परिभाषासँग मिल्दोजुल्दो बनाउन सक्नुहुन्छ।

समीक्षामा पाठ १

(१) आराधना भनेको के हो?

  • आराधना भनेको श्रद्धेयपूर्ण समर्पणता हो (प्रकाश ४:१०-११)।

  • आराधना सेवा हो (रोमी १२:१)।

  • आराधना प्रशंसा हो (भजनसंग्रह)।

  • आराधना सङ्गति हो (प्रेरित २:४२)।

  • आराधनाले सम्पूर्ण जीवनलाई समावेश गर्दछ (याकूब १:२६-२७)।

(२) आराधना किन महत्त्वपूर्ण छ?

  • आराधनामा हामी परमेश्वरलाई देख्छौं (यशैया ६:१-८)।

  • आराधनामा हामी आफैलाई देख्छौं र रूपान्तरित हुन्छौं (यशैया ६:१-८)।

  • आराधनामा हामी हाम्रो संसारलाई देख्छौं (यशैया ६:१-८)।

  • आराधना गर्न असफल हुनुले हामीलाई परमेश्वरबाट अलग गर्छ (रोमी १:१८-२५)।

(३) आराधनाको लक्ष्यहरू:

  • आराधनामा, हामी परमेश्वरसँग भेट्छौं।

  • आराधनामा, हामी ख्रीष्टियान चरित्र बनाउँछौं।

  • आराधनामा हामी ख्रीष्टियान समुदाय निर्माण गर्छौं।

(४) परमेश्वरलाई कुन आराधना ग्रहणयोग्य छ?

  • ग्रहणयोग्य आराधना परमेश्वरमा केन्द्रित हुन्छ (प्रकाश ४)।

  • ग्रहणयोग्य आराधनाले परमेश्वरलाई दिनुपर्ने महिमा दिन्छ (भजन ९६:७-८)।

  • ग्रहणयोग्य आराधना आत्मा र सत्यतामा गरिने आराधना हो (यूहन्ना ४:२३-२४)।

पाठ १ क्रियाकलाप

(१) बाइबलले आराधनालाई कसरी वर्णन गर्छ? निम्न शास्त्रहरूमा आधारित एक पृष्ठको जवाफ लेख्नुहोस्:

  • भजनसंग्रह १११:१-२

  • भजनसंग्रह १४७:१

  • भजनसंग्रह १५०

  • यशैया ६:१-८

  • प्रकाश ४

यदि तपाइँ समूहमा अध्ययन गर्दै हुनुहुन्छ भने, तपाइँको अर्को कक्षाको बैठकमा तपाइँको जवाफलाई छलफल गर्नुहोस्।

(२) अर्को पाठको सुरुमा, तपाईंले यस पाठमा आधारित परीक्षा दिनुहुनेछ। तयारी गर्दा खेरी परीक्षाका प्रश्नहरूलाई सावधानीपूर्वक अध्ययन गर्नुहोस्।

पाठ्यक्रम परियोजना

३०-दिनको आराधनाको यात्रा [1]

तपाईंले यस पाठ्यक्रममा यस परियोजनामा रहेर काम गर्नुहुनेछ। पाठ्यक्रमको अन्त्यमा, तपाईंले प्रतिवेदन दिनुहुनेछ कि तपाईंले यो परियोजना पूरा गर्नुभयो। तपाईं आफ्नो दैनिकी अभिलेख कक्षाको अगुवालाई पेश गर्नुहुने छैन।

प्रत्येक दिन ३० दिनको लागि, तपाईंले परमेश्वरको कुनै एक गुणमा ध्यान मनन् गर्न केही मिनेट खर्च गर्नुहुनेछ। यो योजना बिहान गर्नको लागि सबै भन्दा राम्रो छ ताकि तपाईं दिनभरि गुणमा ध्यान गर्न सक्नुहुन्छ। ध्यान गर्नु भनेको कुनै कुराको बारेमा गहिरिएर सोच्नु हो।

दैनिकी अभिलेखको रूपमा प्रयोग गर्न खाली नोटबुक ल्यउनुहोस्। परमेश्वर तपाईंसँग प्रकट हुनुभएको होस् भनेर अनुरोध गर्दै प्रत्येक दिन प्रार्थनाको साथ सुरु गर्नुहोस्। त्यसपछि, भजनसंग्रहको पुस्तक खोल्नुहोस् र पढ्न सुरु गर्नुहोस्। यस परियोजनाको लक्ष्य भनेको ध्यान मनन् गर्नु हो, धेरै मात्रामा पढ्नु होइन। तपाईंले एउटा पद वा सम्पूर्ण भजनसंग्रह मात्र पढ्न सक्नुहुन्छ।

पढ्दै गर्दा, परमेश्वरको एउटा गुण वा परमेश्वरको लागि रूपक वा अलङ्कार खोज्नुहोस्। विशेषता वा गुण भनेको परमेश्वरको चरित्रको केही पक्ष हो-उहाँको दया, उहाँको पवित्रता, उहाँको हेरचाह। परमेश्वरको प्रतिको एउटा रूपक वा अलङ्कारले परमेश्वरलाई अरू कुरासँग तुलना गर्छ-उहाँ गोठालो हुनुहुन्छ, चट्टान हुनुहुन्छ, हाम्रो आश्रय हुनुहुन्छ।

जब तपाइँ तपाइँसँग बोल्ने विशेषता, रूपक वा अलङ्कार फेला पार्नुहुन्छ, तपाइँको दैनिकी अभिलेखको पृष्ठको शीर्षमा त्यो विशेषतालाई लेख्नुहोस्। त्यस अन्तर्गत, त्यो विशेषतालाई जनाउने पदलाई लेख्नुहोस्।

त्यो गुणको बारेमा सोच्नुहोस् र यसले परमेश्वरको बारेमा के भन्छ त्यसलाई पनि सोच्नुहोस्। तपाईंले प्रार्थना गरिसकेपछि, परमेश्वर र यो गुणको बारेमा आफ्ना विचारहरू लेख्नुहोस्। यो एक शैक्षिक पत्र होइन; यो आराधनाको व्यक्तिगत अभिलेख हो। दिनभरि, परमेश्वर र उहाँको चरित्रको बारेमा सोच्नुहोस्। उहाँ को हुनुहुन्छ भनेर उहाँको प्रशंसा गर्नुहोस्। ३० दिनसम्म यसो गर्दा तपाईंलाई परमेश्वरको गहिरो ज्ञान हुनेछ।


[1]यो परियोजना Louie Giglio, The Air I Breathe: Worship as a Way of Life (Sisters, OR: Multnomah Publishers, 2003) बाट लिइएको हो।

पाठ १ परीक्षा

(१) यस पाठको सुरुमा तपाईंलाई आराधनाको तीन परिभाषाहरू दिइएको थियो। तपाईंले कण्ठ गर्नुभएको परिभाषालाई लेख्नुहोस्।

(२) बाइबलीय आराधनाका चार पक्षहरू सूचीबद्ध गर्नुहोस्।

(३) जब सामरी स्त्रीले आराधनाको भौतिक स्थानको बारेमा बहस गरिन्, येशुले आराधनाको _________ स्थानलाई औंल्याउनुभयो।

(४) भजनसंग्रहमा, ________ शब्द प्राय: आराधनाको आनन्दलाई सङ्केत गर्न प्रयोग गरिन्छ।

(५) याकूबका अनुसार, शुद्ध र निर्दोष आराधनामा कुन दुई पक्षहरू समावेश छन्?

(६) आराधना महत्त्वपूर्ण छ चार कारणहरू सूचीबद्ध गर्नुहोस्।

(७) यस पाठको अनुसार, ईश्वरलाई स्वीकार्य आराधनाका तीनवटा विशेषताहरू के हुन्?

(८) आफूले कण्ठ गरेको यूहन्ना ४:२३-२४ लेख्नुहोस्।

Next Lesson