वारेन वियर्सबीले एउटा मण्डलीमा पाएको आफ्नो अनुभवको बारेमा उनले लेखे जुन मण्डलीले आराधनालाई बुझ्न असफल भएको थियो:
टेलिभिजनको खेल कार्यक्रम इम्सीको आवाज र मुस्कानको साथ आराधना अगुवाले भने "साँझको सेवाको लागि फिर्किन निश्चित हुनुहोस्। हामी रमाइलो समय बिताउन गइरहेका छौं।"
शनिवार दिउँसोको समयमा मैले त्यो भनाइको अर्थ के हो भनेर सोचें। जन्मदिनको भोजको निमन्त्रणामा मात्र "हामी रमाइलो समय बिताउन गइरहेका छौं" भन्ने कुराको अर्थ लाग्छ, तर महिमाका प्रभुको आराधना गर्न भेला भएका ख्रीष्टियान विश्वासीहरूको समूहसँग यो कसरी सम्बन्धित छ? मोशा र इस्राएलका मानिसहरू सीनै पर्वतमा भेला हुँदा रमाइलो गर्ने समय थिएन।
यूहन्नाले पतमोस टापुमा केही नाटकीय अनुभवहरू थिए, तर उनले त्यहाँ रमाइलो समय बिताइरहेको थिए भन्ने कुरामा चाहिँ शङ्कै छ।[1]
यी पाठहरूमा, हामीले देखेका छौं कि आराधना एक रमाइलो समय बिताउनु भन्दा बढी, एक विशेष रीतिरिवाज भन्दा बढी, र शनिवार बिहानको गतिविधि भन्दा बढी हो। आराधना गर्नु भनेको परमेश्वरलाई उहाँले पाउनुपर्ने महिमा दिनु हो। कागजमा लेख्नु, यो कुरा सजिलो छ; तर वास्तविक जीवनमा, यो एक चुनौतीको कुरा हुन सक्छ। यस पाठमा हामी आराधनासँग सम्बन्धित प्रश्नहरू हेर्नेछौं। तपाईंले यी प्रश्नहरूलाई अध्ययन गर्दा, याद गर्नुहोस् कि "मलाई के मन पर्छ? भन्ने कुरा मुख्य प्रश्न होइन, "आराधनाको लागि मुख्य प्रश्न हो "परमेश्वरलाई के मन पर्छ? कुन कुराले उहाँको आदर र महिमा ल्याउँछ?"
[1]Warren Wiersbe, Real Worship (Grand Rapids: Baker Books, 2000), 169-170
आराधना र संस्कृति
► तपाईंको मण्डलीको आराधना शैलीबारे छलफल गर्नुहोस्। तपाईंको आराधनाका कुन पक्षहरूलाई पवित्रशास्त्रमा आज्ञा दिइएको छ र कुन पक्षहरू संस्कृतिद्वारा निर्धारण गरिएको छ?
"मेरो देशमा आराधनाको लागि सबैभन्दा कठिन मुद्दा सांस्कृतिक प्रासङ्गिकता हो। अधिकांश मण्डलीहरूले बाहिरको देशबाट आराधनाको शैलीलाई आयात गर्दैछन्-चाहे यो आधुनिक होस् वा परम्परागत। हाम्रा मानिसहरूले आधुनिक हुन चाहनेले मात्र पश्चिमा शैली अपनाएका छन्, चाँहे 'परम्परागत' वा ' आधुनिक' आराधना होस् दुवै विदेशी भएकाले मानिसहरूसँग जोडिएको छैन। हामीले परमेश्वरको आदर हुने र हामीले सेवा गर्ने संसारसँग बोलेने तरिकामा कसरी आराधना गर्न सक्छौँ?"
संस्कृति वा बाइबल?
दुलहा र दुलही दुई भिन्न संस्कृतिका थिए। विवाह भोजमा खानाका परिकारहरू दुलहीको संस्कृतिको तर्फबाट खुवाइन्थ्यो। एउटा खानाको परिकार दुलहालको नजिकबाट जाँदै गर्दा उनले सोधे, "त्यो के हो?" दुलहीले उनलाई जवाफ दिइन्, "मेरो देशमा, स्वादिष्ट यो भोजन हो।" उनले झोंक्किएर जवाफ दिए, "यो मेरो देशमा घृणित खानेकुरा हो!" सांस्कृतिक भिन्नताहरू चुनौतीपूर्ण हुन सक्छन्।
हामी सबै हाम्रो संस्कृतिबाट प्रभावित छौं। केही ख्रीष्टियानहरूले चपस्टिकको सट्टा काँटाले खाने कारण यो होइन कि काँटाहरू धेरै बाइबलीय वा अझ प्रभावकारी छन्। तिनीहरू काँटाले खान्छन् किनभने तिनीहरू काँटा प्रयोग गर्ने संस्कृतिमा हुर्किएका थिए। संसारका अन्य भागहरूमा रहेका तिनीहरूका ख्रीष्टियान साथीहरूले काँटाभन्दा चपस्टिक धेरै उपयोगी ठान्छन्।
हाम्रो आराधना हाम्रो संस्कृतिबाट प्रभावित छ। हाम्रो आराधनाका धेरै पक्षहरू संस्कृतिका तत्त्वहरू हुन्। परम्परागत अमेरिकी मण्डलीमा हुर्केका व्यक्तिलाई मण्डलीको अर्गानको आवाज मन पर्न सक्छ। मण्डलीको अर्गान गितारभन्दा बढी बाइबलीय छैन; यो संस्कृतिको एक पक्ष हो।
लेसोथोमा, मण्डलीले अगुवा र मण्डली बीचको कुराकानी र प्रतिक्रियाको रूपमा गाउँछन्। यस शैलीमा, अगुवाले एउटा वाक्यांश गाउँछ र त्यसपछि मण्डलीले अर्को वाक्यांश गाउँछ। गायनको त्यो सुन्दर शैली अमेरिकी मण्डलीमा कहिल्यै सुनिएको छैन। यदि अमेरिकी मण्डलीका सङ्गीत निर्देशकले यो कार्यको प्रयास गरे भने, मण्डली अन्योलमा पर्नेछ। एकता विरुद्ध कुराकानी/प्रतिक्रिया गायन संस्कृतिको एउटा तत्त्व हो, तर बाइबलीय सिद्धान्त होइन।
त्यहाँ तीनवटा प्रश्नहरू छन् जब हामी आराधना शैलीको जाँच गर्दैछौं भने जुन हामीले सोध्नु पर्छ:
१. के हामी संस्कृति र पवित्रशास्त्र बीच भ्रमित हुँदैछौँ?
२. के हामो संस्कृतिसँग पवित्रशास्त्र विरोधाभास छ?
३. परमेश्वरले हामीलाई जुन संस्कृतिका मानिसहरूको बीचमा राख्नुभएको छ त्यहाँ हाम्रो आराधनाले कसरी प्रभावकारी रूपमा बोल्न सक्छ?
के हामी संस्कृति र पवित्रशास्त्र बीच भ्रमित हुँदैछौँ?
हाम्रो आफ्नै भन्दा फरक आराधनाको अभ्यासको मूल्याङ्कन गर्दा यो प्रश्न महत्त्वपूर्ण छ। यस्तो अवस्थामा हामीले संस्कृति र पवित्रशास्त्रलाई भ्रमित नगर्ने कुरा सुनिश्चित गर्नुपर्छ। हाम्रा सांस्कृतिक मूल्यहरूलाई पवित्रशास्त्रमा पढ्न र त्यसपछि सबैले बाइबललाई त्यसरी नै पढ्नुपर्छ भनेर जोड दिन हामीलाई सहज हुन्छ। हामी हाम्रो मार्ग बाइबलीय मार्ग हो भनी अनुमान गर्ने खतरामा हुन्छौँ।
कसैले भन्न सक्छ, "मण्डलीको सङ्गीतको लागि अर्गान सही वद्यवाद्यन हो। गितारको प्रयोगको लागि आराधनामा कुनै स्थान छैन। यद्यपि, संसारका धेरै भागहरूमा, अर्गान अव्यावहारिक छ, जबकि जहाँ पनि सजिलैसँग लैजान मिल्ने गितार गाउनको लागि धेरै उपयोगी छ। दोस्रो शताब्दीका घरेलु मण्डलीहरूले पाइप अर्गानहरूको प्रयोग गर्थे भनेर कसैले तर्क गर्न सक्दैन! कसैलाई पाइप अर्गान मन पर्न सक्छ, तर तिनीहरूले आफ्नो सांस्कृतिक प्राथमिकताहरू बाइबलीय सिद्धान्तहरूसँग भ्रमित गर्नु हुँदैन।
पावल ब्राडश, एक आराधना इतिहासकार जसले, मण्डलीको पहिलो दुई शताब्दीमा पनि विभिन्न प्रकारका आराधनाहरू थिए भनेर देखाउँछन्। मण्डली विस्तार हुँदा, हरेक परिवेशमा आराधनाको स्वरूप उस्तै रहने सम्भावना हुँदैन।[1]
यो प्रश्नको व्यावहारिक असर के छ? अरूहरूको आराधना शैलीहरूको मूल्याङ्कन गर्दा वा हाम्रो आफ्नै मण्डलीहरू भित्रबाट नयाँ विचारहरूको प्रतिक्रिया दिंदा, हामीले पवित्रशास्त्रसँग संस्कृतिलाई भ्रमित गर्नु हुँदैन। हामीले कुनै विचारलाई केवल यसले हाम्रो सांस्कृतिक प्राथमिकताहरूलाई ठेस पुर्याउँछ भनेर अस्वीकार गर्नु हुँदैन। यदि कुनै आराधना अभ्यासले बाइबलीय सिद्धान्तहरूको विरोध गर्दैन भने, त्यस बखतमा हामीले अरूहरूलाई उनीहरूको मनपर्ने तरिकामा आराधना गर्न अनुमति दिनुपर्छ।
यसको अर्थ हरेक मण्डलीको लागि हरेक आराधना शैली उपयुक्त हुन्छ भन्ने होइन। आराधना गर्ने बुद्धिमान् अगुवाले आफूले सेवा गर्ने मानिसहरूलाई सुहाउने शैलीमा नेतृत्व गर्नेछ।
जाँच
के त्यहाँ कुनै आराधना अभ्यासहरू छन् जुन तपाईंले आफ्नो सांस्कृतिक प्राथमिकताहरूको कारणले अस्वीकार गर्नुभएको छ, तर बाइबलीय सिद्धान्तहरूको कारणले होइन? यदि त्यसो हो भने, जबसम्म यसले पवित्रशास्त्रको उल्लङ्घन गर्दैन के तपाईं अन्य विश्वासीहरूलाई तिनीहरूको तरिकामा आराधना गर्ने स्वतन्त्रता दिन इच्छुक हुनुहुन्छ?
के हामो संस्कृतिसँग पवित्रशास्त्र विरोधाभास छ?
यो प्रश्न महत्त्वपूर्ण छ जब हामी आराधना अभ्यासको लागि यो हाम्रो संस्कृतिमा सामान्य छ भनी रक्षा गर्ने परीक्षामा पर्छौँ। यदि हामीले हाम्रो संस्कृतिमा पाइने सामान्य कुरा पवित्रशास्त्रको विरोधाभासपूर्ण छ भनी थाहा पायौं भने, हामीले हाम्रो संस्कृतिको अपेक्षा भन्दा पनि पवित्रशास्त्रको पालना गर्नुपर्छ।
धर्मसुधारकहरूले यस समस्याको सामना गरे जब तिनीहरूले आराधनामा नाटकीय परिवर्तनहरू गरे। मध्यकालीन संस्कृतिले भन्यो, "सामान्य मानिसले बाइबल पढ्नु हुँदैन; तिनीहरूले बुझ्न सक्दैनन्।" वाइक्लिफ, हस, लुथर र अन्य धर्मसुधारकहरूले पवित्रशास्त्र सबै मानिसहरूका लागि हो भनेर बुझे। तिनीहरूको मध्यकालीन संस्कृति पवित्रशास्त्रको शिक्षाको विरोधाभास थियो। पवित्रशास्त्रको सत्यताको साथ आफ्नो संस्कृतिको सामना गर्न धर्मसुधारकहरूले आफ्नो जीवन जोखिममा पारे।
यदि संस्कृतिले पवित्रशास्त्रको विरोध गर्छ भने, हामीले हाम्रो संस्कृतिलाई अस्वीकार गर्नुपर्छ! परमेश्वरको वचन हाम्रो लागि निर्णायक कानुन हो; हामी वरपरको संसारमा मिल्नको लागि पवित्रशास्त्रको विश्वासयोग्यतामा सम्झौता गर्न सक्दैनौं। रोमी १२:२ संक्षिप्त रूपमा व्यख्या गरेको वाक्यले यसरी भन्छ, "आफ्नो संस्कृतिमा यति गहिरोसँग समायोजित नहुनुहोस् कि तपाईं बिना सोंच यसमा मिल्न जानुहुनेछ।"[2] संसारलाई उसको ढाँचामा हामीलाई निर्माण गर्न दिन सक्दैनौं।
जाँच
तपाईंको आराधना पवित्रशास्त्रका सिद्धान्तहरूको विरोधाभास हुन सक्ने के त्यहाँ त्यस्ता केही क्षेत्रहरू छन्?
परमेश्वरले हामीलाई जुन संस्कृतिका मानिसहरूको बीचमा राख्नुभएको छ त्यहाँ हाम्रो आराधनाले कसरी प्रभावकारी रूपमा बोल्न सक्छ?
यो प्रश्न हाम्रो संसारमा सुसमाचार लैजानको निम्ति महत्त्वपूर्ण छ। यदि हामी हाम्रो वरपरको संसारलाई सुसमाचारको साथ छुन चाहन्छौं भने, हाम्रो आराधना उनीहरूले बुझ्ने भाषामा बोल्नुपर्छ।
जोन वेस्लीले यो प्रश्नको सामना गरे जब उनले बाहिरको कार्यक्षेत्रहरूमा प्रचार गर्न थाले। आफ्ना एङ्ग्लिकन साथीहरू जस्तै, वेस्लीले पनि सुरुमा मण्डली नै प्रचारको लागि उपयुक्त ठाउँ हो भनी विश्वास गर्थे। तर जर्ज ह्वाइटफिल्डको प्रभावमा, वेस्लीले बुझ्न थाले कि महान् आज्ञाले मण्डली बाहिर प्रचार गर्न आवश्यक छ भनी भन्छ।[3] वेस्लीले विचार गर्न बाध्य भए कि, "विवाह र अन्त्येष्टि बाहेक मण्डलीमा प्रवेश नगर्ने कोइला खानीमा काम गर्ने मानिसहरूलाई म कसरी सबैभन्दा प्रभावकारी ढङ्गमा सुसमाचार प्रचार गर्न सक्छु?" यसको जवाफ, उनीहरूको काम गर्ने ठाउँमा गएर प्रचार गर्नु थियो।
अप्रिल २, १७३९ मा, वेस्ली सहर बाहिर गए अनि मैदानमा भेला भएका करिब ३,००० मानिसहरूलाई प्रचार गरे। यसले १८ औँ शताब्दीको अङ्ग्रेजी बोल्ने संसारलाई परिवर्तन गर्ने सेवकाइको सुरुवात गर्यो।
वेस्लीले बाहिरको खुल्ला ठाउँमा गएर प्रचार गर्ने कार्यको यति कडा विरोध गरेका थिए कि उनले एक पटक भनेका थिए, "मैले आत्माहरूको उद्धार गर्ने कार्य मण्डलीमा नगर्नु लगभग पाप हो भन्ने ठानेथें।" जब उनले महसुस गरे कि उनको सांस्कृतिक पूर्वाग्रह सुसमाचारको लागि बाधा थियो, वेस्ली आफ्नो अभ्यासहरू परिवर्तन गर्न इच्छुक थिए। उनका धेरै एङ्ग्लिकन साथीहरूले यो परिवर्तनलाई अस्वीकार गरे। बाहिरी ठाँउमा गएर प्रचार सुरु गरेको एक महिना भित्र, एक विशपले वेस्लीलाई एङ्ग्लिकन मण्डलीहरूमा त्यसबेला देखी प्रचार गर्न स्वागत नगरेको बताए। आफ्नो संस्कृति बोल्न इच्छुक हुनु जोखिमपूर्ण हुन सक्छ; यसले वेस्लीलाई आफ्ना धेरै एंग्लिकन साथीहरूबाट प्राप्त भएको सम्मान गुम्ने अवस्थामा पुर्यायो। ज्योति र नुन हुन येशुले गर्नुभएको आह्वान व्यक्तिगत सुविधाभन्दा उच्च प्राथमिकता हो।
माइकल कोस्परले हाम्रो आराधना र वरपरको संस्कृति बीचको सम्बन्ध बुझ्नको लागि तीन प्रश्नहरूको सुझाव दिन्छन्।[4]
(१) यहाँ को छ?
यो प्रश्नले हाम्रो मण्डलीलाई हेर्छ; "हाम्रो आराधना सेवामा को-को उपस्थित हुन्छन्?" कहिलेकाहीँ हामी सुसमाचार लिएर संसारमा पुग्नको लागि यति चिन्तित हुन्छौं कि हामी मण्डलीको सेवा गर्न असफल हुन्छौं। हाम्रो आराधना नक्कली बन्न पुग्छ जब हामी अरू मान्छे जस्तो बन्ने प्रयास गर्छौं जो यथार्थमा हामी होइनौँ। आराधनाले मण्डलीमा बोल्नुपर्ने भएकोले हामीले सोध्नुपर्छ, " यहाँ को छ? परमेश्वरले हाम्रो मण्डलीमा कसलाई राख्नुभएको छ?"
(२) यहाँ को थियो?
यो प्रश्नले हाम्रो पुस्तालाई हेर्छ। विश्वासीहरूको रूपमा, हामीसँग सुरुको मण्डलीसँग जोडिएको र संसारभर फैलिएको गौरव छ।
यसको अर्थ विगतका सुन्दर भजनहरूलाई हाम्रो पुस्तालाई परिचय गराउने हामी प्रयास गर्नेछौं। यसको मतलब हामी आज मानिसहरूलाई मण्डलीको इतिहाससँग जोड्नेछौं। युवा ख्रीष्टियानहरूले जान्न आवश्यक छ कि तिनीहरू एउटा पुस्ताको अंश हुन् जुन हामी जन्मनु भन्दा धेरै अघि सुरु भयो र हामी यस संसारबाट गएको लामो समय पछिसम्म पनि जारी रहनेछ। हामी सबै पुस्ताका विश्वासीहरू मिलेर बनेको विश्वव्यापी मण्डलीको अङ्ग हौं।
हाम्रो आराधनाको पुस्ता पेन्तिकोसको समय अगाडि जान्छ, सीनै पर्वतमा मोशालाई परमेश्वरले दिनु भएको प्रकाशको समय अगाडि, र अन्ततः अदनको बगैंचामा आदम र हव्वालाई परमेश्वरले दिनु भएको प्रकाशको समय अगाडि जान्छ। हाम्रो आराधनाले त्यो इतिहासको उत्सव मनाउनुपर्छ। जब हामी "हाम्रो परमेश्वर शक्तिशाली किल्ला हुनुहुन्छ" भनी गीत गाउँछौं, हामी धर्मसुधारको युगको आराधनामा सामेल हुन्छौं। जब हामी प्रेरितको विश्वासको सार पढ्छौं, हामी दोस्रो शताब्दीको आराधनामा सामेल हुँदै गरेको हुन्छौँ। आराधनामा हामी सोध्छौं, "हामी भन्दा पहिले यहाँ को थियो?"
(३) यहाँ को हुनुपर्छ?
यो प्रश्नले हाम्रो समुदायलाई हेर्छ। जब हामी सोध्छौं, "हाम्रो मण्डलीको अङ्ग हुनु पर्ने मानिसहरू को-को हुन्," हामी प्रश्नहरू सोध्छौं जस्तै:
हामी सुसमाचारको साथ कसकहाँ पुग्ने कोशिस गर्दैछौं?
यदि हाम्रो समुदाय मण्डलीमा आयो भने, हाम्रो आराधना सेवा कस्तो देखिनेछ?[5]
आराधना गर्दा हामी आफ्नो सन्देशप्रति कसरी सच्चा हुन सक्छौं जसले हामी पुग्न खोजिरहेका मानिसहरूसँग बोल्छ?
यी प्रश्नहरू कागजमा भन्दा वास्तविक जीवनमा गाह्रो छन्! चार परिदृश्यहरूलाई हेर्नुहोस्। प्रत्येक मण्डलीले समुदायसँग बोल्ने चुनौतीको सामना गरेको छ।
मण्डली अ: जसले "यहाँ को छ?" भनेर प्रश्न सोध्न चुक्यो।
मण्डली अ बूढापाकाहरूको समुदायमा अवस्थित छ। समुदायमा औसत उमेर ७० हो, र मण्डलीमा औसत उमेर ७० हो। दुई वर्ष पहिले, तिनीहरूका पास्टरले युवा परिवारहरूमा पुग्ने दृढ सङ्कल्प गरे। दुई महिनाको अवधिमा, उनले गितार, एउटा प्रशंसा टोली, र एउटा ओभरहेड स्क्रिनद्वारा अर्गान, आराधना झुण्ड, र पूरानो भजनलाई प्रतिस्थापन गरे।
दुर्भाग्यवश, पास्टरले सोध्न बिर्से कि, "यहाँ को छ?" फलस्वरूप, १०० जना ज्येष्ठ नागरिक भएको एउटा मण्डली घटेर ३५ जना ज्येष्ठ नागरिक भएको मण्डलीमा आइपुग्यो जसले आफूलाई मन नपर्ने गीत गाउने, आफूलाई मन नपर्ने स्क्रिन हेर्ने र चर्को गितारहरू बजाउने मण्डलीलाई अस्वीकार गरेको छ।
मण्डली अ बाहिरको समुदायमा पुग्नु पर्छ? बिल्कुल! तर यसले सबैभन्दा प्रभावकारी रूपमा बूढापाकाहरूको समुदायमा पुग्न सक्छ जुन व्यक्तिहरू मण्डली नगएका जेष्ठ नागरिकहरू हुन्। मण्डलीमा पहिलेदेखि नै रहेका मानिसहरूलाई बेवास्ता गरेर, तिनीहरूले आफूलाई मण्डली वा वरपरको समुदायसँग बोल्ने तरिकामा आराधना गर्न असफल भइरहेका छन्। मण्डली अ यो प्रश्न सोध्न असफल भयो, "यहाँ को छ?"
मण्डली आ: जसले "यहाँ को थियो?" भनेर प्रश्न सोध्न चुक्यो।
मण्डली आ धेरै युवा परिवारहरू भएको एउटा छिटो बढ्दै गरेको शहरमा अवस्थित छ। यो मण्डलीले आफ्नो समुदायको भाषा बोल्छ; तिनीहरूको आराधना रोमाञ्चक र उत्साहजनक छ।
मण्डली आ सँग सुसमाचार प्रचारको लागि जोस छ। दुर्भाग्यवश, मण्डलीले यो प्रश्न सोधेको छैन, कि "यहाँ को थियो?" मण्डली आ ले शुद्ध हृदय र विजयी ख्रीष्टियान जीवनको सन्देश प्रचार गर्ने मण्डलीको रूपमा आफ्नो पुस्तालाई बिर्सेको छ। पास्टर सिद्धान्तको प्रचार गर्नबाट टाढा रहन्छन् किनभने उनी सोच्छन्, "मानिसहरू सिद्धान्त सुन्न चाहँदैनन्; तिनीहरू व्यावहारिक उपदेश चाहन्छन्।" सङ्गीत निर्देशक बाइबलीय गहिराइ भएका गीतहरूको बेवास्ता गर्छन् किनभने उनी सोच्छन् कि, "मानिसहरू कठिन शब्दहरू भएका गीतहरू मन पराउँदैनन्; उनीहरूलाई साधारण गीतहरू मनपर्छ।" नतिजा स्वरूप, मण्डलीले "साँचो परमेश्वर नचिन्ने बप्तिस्मा पाएकाहरू" को पुस्ता बढाएको छ।[6]
मण्डली आ सङ्ख्यामा बढ्दैछ, तर त्यसको थोरै सदस्यहरू मात्र परमेश्वरको भक्तिमा बढ्दैछन्। यहाँ धेरै मानिसहरू उपस्थित हुन्छन् किनभने यो एक मनोरञ्जनात्मक मण्डली हो जसले थोरै प्रतिबद्धताको माग गर्दछ। मण्डली आ ले आफ्नो पहिलाको पुस्ताको कुनै ख्याल नगरेको कारणले, धेरै भर्खर विश्वासमा आएकाहरू चाँडै अन्य मण्डलीहरूमा जान्छन् जसले अझ राम्रो मनोरञ्जन प्रदान गर्दछ। मण्डली आ यो प्रश्न सोध्न असफल भयो कि, "यहाँ को थियो?"
मण्डली इ: जसले "यहाँ को हुनुपर्छ?" भनेर प्रश्न सोध्न चुक्यो।
मण्डली इ लगभग १०० वर्ष पहिले सानो ग्रामीण समुदायमा सुरु भएको थियो। आराधना, प्रचार र सङ्गीतले त्यो सहरमा बस्ने मानिसहरूसँग संवाद गर्दथ्यो। पछिल्ला वर्षहरूमा, समुदाय पूर्ण रूपमा परिवर्तन भएको छ। मण्डली इ अब भित्री शहरले घेरिएको छ, तर यसको आराधना अझै पनि ग्रामीण मध्यम वर्गलाई आकर्षण गर्नको लागि त्यही तरिकाले निर्माण गरिएको छ।
दुःखको कुरा, मण्डली इ नजिकै बस्ने धेरै मानिसहरूले मण्डलीमा उनीहरूको गहिरो भोकको लागि उत्तर छ भनेर थाहै नपाई प्रत्येक हप्ता त्यहाँबाट आउनेजाने गर्छन्। मण्डली इ सँग उसको समुदायलाई चाहिने सन्देश छ, तर उसले समुदायसँग स्पष्ट रूपमा संवाद गर्दैन। यदि मण्डली इ ले परमेश्वर र खाँचोमा परेको संसारसँग संवाद गर्ने तरिकामा आराधना गर्न सक्छ भने, उसले आफ्नो समुदायलाई परिवर्तन गर्न सक्छ। यसको सट्टामा, मण्डली इ मर्दै छ किनभने उसले यो प्रश्न सोध्न असफल भयो कि, "यहाँ को हुनुपर्छ?"
मण्डली ई: जसले समुदायसँग बोल्छ
मण्डली ई ले अघिल्लो तीन मण्डलीहरूका धेरै विशेषताहरूसँग साझा गर्दछ। यो मण्डली स्थापना भएको ४० वर्षदेखि नै समुदाय नाटकीय रूपमा परिवर्तन भएको छ। यस सर्वेक्षणमा अन्य मण्डलीहरू भन्दा फरक, मण्डली ई ले आफ्नो समुदायसँग राम्रोसँग संवाद गर्न सिकेको छ।
जब पास्टरीय कर्मचारीहरूले महसुस गरे कि भर्खर विश्वासमा आएका धेरै युवाहरूले शनिवार प्रचार गरिएको सिद्धान्तलाई बुझेनन्, उनीहरूले नयाँ विश्वासीहरूलाई परिपक्वतामा ल्याउन चेला समूहहरूको विकास गरे। जब सङ्गीतको अगुवाले महसुस गरे कि सङ्गीतले उनीहरूको समुदायमा धेरैसँग बोल्दैन, उनले त्यस्ता गीतहरू समावेश गर्न थाले जुन दुवै सैद्धान्तिक रूपमा सत्य र सङ्गीतको रूपमा आकर्षक छन्।
मण्डली ई बढ्दै जाँदा, तिनीहरूले वरपरका शहरहरूमा छोरी मण्डलीहरू स्थापना गरे र यी मण्डलीहरूलाई तिनीहरूको समुदायको आवश्यकता अनुसार अनुकूलन गर्न अनुमति दिए। यी मण्डलीहरूमा मण्डली ई को अङ्ग भएका युवा पुरुषहरूले पास्टरको काम गरेका छन्। प्रत्येक छोरी मण्डली फरक छ, तर प्रत्येक मण्डली सुसमाचारप्रति इमानदार छ। "यहाँ को छ, यहाँ को थियो, र यहाँ को हुनुपर्छ?" भनेर प्रश्न सोध्न सिकेकोले मण्डली ई फस्टाउँदैछ। परमेश्वरले उसलाई जुन समुदायमा राख्नु भएको थियो त्यहाँ उसले बाइबलीय सत्यता बोल्न सिक्यो।
जाँच
के तपाईंको आराधनाले तपाईंको मण्डलीमा उपस्थित हुने मानिसहरूसँग बोल्छ? के तपाईंको आराधनाले ख्रीष्टियान मण्डलीको सुरुका पुस्तालाई झल्काउँछ? के तपाईंको आराधनाले तपाईंको मण्डली मार्फत परमेश्वरले आफू पुग्न चाहनु भएका मानिसहरूसँग बोल्छ?
सङ्गीतको बारेमा के त?
संसारका धेरै भागहरूमा मण्डलीका सङ्गीतकारहरूले बाइबलीय रूपमा स्वस्थ र सांस्कृतिक रूपमा संवेदनशील गीतहरू खोज्ने चुनौतीको सामना गरिरहेका छन्। हामी त्यस्तो सङ्गीतको खोजी गर्छौं जसले समुदायको हृदयको भाषा बोल्छ जहाँ हामी पुग्न खोजिरहेका छौं। विदेशी सङ्गीत, सांस्कृतिक रूपमा सान्दर्भिक नहुन सक्छ, र केही स्थानीय सांस्कृतिक गीतहरू बाइबलीय नहुन सक्छन्। हामीले पवित्रशास्त्रप्रति इमानदार हुने र हामीले जहाँ पास्टरको काम गर्छौँ त्यहाँको संस्कृतिप्रति संवेदनशील हुने सङ्गीत कसरी छान्न सक्छौँ? यस मुद्दाको सामना गर्ने पास्टरहरूबाट यहाँ जवाफहरू छन्:
जब मण्डलीको लागि गीतहरू छनोट गर्ने कुरा आउँछ, कसैले बाइबलीय रूपमा विश्वासयोग्य हुने र सांस्कृतिक रूपमा संवेदनशील हुने कुराको बीचमा गीतहरू छनौट गर्न आवश्यक छैन। "बाइबलको विश्वासयोग्यता" सँग म सत्य र स्पष्ट गीतहरू खोज्दै छु। "सांस्कृतिक रूपमा संवेदनशीलता" सँग म मण्डलीको लागि गाउन योग्य र आकर्षक गीतहरू खोज्दैछु।
बाइबलीय विश्वासयोग्यताले प्राथमिकता लिन्छ, तर हामीले ती मध्ये एक छान्नु पर्दैन। यदि गाउनुको उद्देश्यको अंश संवाद हो भने, के हामीले हाम्रो मण्डलीको सांस्कृतिक [वातावरण] लाई सुहाउने खालको सङ्गीतमय भाषा छनोट गर्ने लक्ष्य राख्नु हुँदैन? यदि हामीले सांस्कृतिक संवेदनशीलतालाई अप्रासङ्गिक ठान्छौं भने हामी [मूर्ख] छौं, र हाम्रा गीतहरू असत्य वा अस्पष्ट छन् भने हामी अप्रासङ्गिक हुनेछौं।
(मुरे क्याम्पबेल, मेलबोर्न, अष्ट्रेलियाको पास्टर)
अफ्रिकी पास्टरहरूलाई तालिम दिँदा, हामी उनीहरूलाई सबैभन्दा वचनले पूर्ण, परमेश्वर-केन्द्रित, सुसमाचारद्वार-संचालित, सुधार गर्ने, र गाउन मिल्ने गीतहरू, पुरानो र नयाँ दुवै किसिमका भजनहरू खोज्न आग्रह गर्छौं, र तिनीहरूलाई खुल्ला छोड्छौँ! कुनै पनि संस्कृतिमा, परमेश्वरका जनहरूलाई ख्रीष्टको लागि बाँच्न र मर्न सिकाउने गीतहरू चाहिन्छ।
(टिम क्यान्ट्रेल, जोहानेसवर्ग, दक्षिण अफ्रिकाको शिक्षक)
हिन्दीमा पवित्रशास्त्रीय रूपमा ठोस, प्रसँग मिल्ने सान्दर्भिक गीतहरूको सङ्ग्रह धेरै सानो छ। राम्रो ईश्वरशास्त्र भएका धेरैजसो गीतहरू पुरानो पश्चिमा भजन वा आधुनिक आराधना गीतहरूबाट अनुवाद गरिएका छन्। यद्यपि शब्दहरू विश्वासयोग्य हुन सक्छन्, सङ्गीत भने मौलिक छैन, र स्थानीय मानिसहरूले तिनीहरूलाई गाउन गाह्रो भएको पाउँछन्। साथै, त्यस्ता गीतहरूले ख्रीष्टियान विश्वास पश्चिमा धर्म हो भनेर मानिसहरूको शङ्कालाई मात्र पुष्टि गर्छ।
अर्कोतर्फ, सङ्गीतको सन्दर्भमा आधारित हिन्दी गीतहरू प्रायः ईश्वरशास्त्रमा हल्का, दोहोरिने र शास्त्रविहीन हुन्छन्। कहिलेकाहीँ गीतहरूले मन्दिरहरूमा प्रयोग हुने धुनहरू उठाउँछन्। हामी यी दुवै प्रकारका गीतहरूबाट टाढा रहन्छौं।
गीतहरू छनौट गर्दा मैले हेर्ने पहिलो कुरा यसको सैद्धान्तिक सुदृढ़ता हो। यदि कुनै गीत ईश्वरशास्त्रीय रूपमा अस्वस्थ छ भने, त्यो जतिसुकै सान्दर्भिक भए पनि हामी त्यसलाई गाउँदैनौं। यदि शब्द राम्रो छ तर धुन भारतीय छैन भने हामी त्यसलाई गाउने छैनौं। हामी भारतीय धुन र विश्वासयोग्य शब्दहरू सँग गीतहरू छनौट गर्छौं। हो, यस श्रेणीमा परेका धेरै गीतहरू छैनन्, तर हामी बिस्तारै हाम्रो सङ्ग्रहलाई निर्माण गर्दैछौं।
(हर्षित सिंह, पास्टर लखनऊ, भारत)
एउटा व्यक्तिले सबैभन्दा स्वभाविक रूपमा बोल्ने र प्रगाढ रूपमा महसुस गर्ने एउटा मौखिक हृदयको भाषा भएजस्तै, व्यक्तिसँग प्रगाढ रूपमा बोल्ने साङ्गीतिक भाषा पनि हुन्छ।
एक मिसनरीको कल्पना गर्नुहोस् जसले आफूले सेवा गर्ने मानिसहरूको भाषा सिक्न असफल भए। उनले भन्न सक्छन् (आफ्नो भाषामा), "म यहाँ तपाईंहरूको बीचमा सुसमाचार ल्याउन आएको छु। तपाईंहरूले मेरो कुरा बुझ्न सक्नुहुन्न होला, तर मेरो कुरा सुनिरहनुहोस्। अन्ततः, मैले के भनेको छु भनी तपाईंहरूले बुझ्नुहुनेछ, र त्यसपछि तपाईंहरूलाई सुसमाचारको बारेमा थाहा हुनेछ।" यो पक्कै पनि होइन! त्यस्तै गरी, जब हामी संस्कृतिको साङ्गीतिक भाषाको प्रयोग गर्न असफल हुन्छौं भने, हामी सुसमाचारलाई बुझ्न अझ गाह्रो बनाइरहेका हुन्छौँ।[7]
दुःखको कुरा, पास्टर सिंहले लेखेझैं, केही संस्कृतिहरूमा गैर-पश्चिमा साङ्गीतिक भाषा प्रयोग गर्ने थोरै बाइबलीय ठोस गीतहरू छन्। यसले प्राय: मण्डलीहरूलाई दुई विकल्पहरू छोड्छ: बाइबलीय रूपमा शक्तिशाली गीतहरू जुन विदेशी धुनहरूमा गाइएका छन् वा बाइबलीय रूपमा कमजोर गीतहरू जसका धुनहरू साङ्गीतिक सन्दर्भमा छन्। यदि हामी संसारभरि मण्डली निर्माण गर्नको लागि सङ्गीतको प्रयोग गर्न चाहन्छौं भने, हामीले पवित्रशास्त्रप्रति सच्चा र मानिसहरूको साङ्गीतिक हृदयको भाषा बोल्ने सङ्गीत खोज्नुपर्छ। मलाई विश्वास छ कि परमेश्वरले हरेक संस्कृतिमा ईश्वरीय गीतकारहरूलाई बोलाउन चाहनुहुन्छ।
यदि तपाईं एउटा त्यस्तो संस्कृतिमा सेवा गर्नुहुन्छ जहाँ कम गुणस्तरको आराधना सङ्गीत उपलब्ध छ भने, तपाईं नयाँ सङ्गीत प्रवर्द्धन गर्न सक्नुहुन्छ। यो काम गर्नको लागि दुई व्यक्तिहरूको बीचमा सहयोगको आवश्यकता हुन सक्छ; कसैले उत्कृष्ट शब्दहरू लेख्न वा अनुवाद गर्न र कसैले सङ्गीत रचना गर्न। थोरै उत्कृष्ट भजन लेखकहरूले आफ्नै धुन लेखेका छन्। एक समर्पित ख्रीष्टियान सङ्गीतकार खोज्नुहोस् र तिनीहरूलाई बाइबलीय सत्यता बोल्ने भजनहरूमा धुनहरू लेख्न लगाउनुहोस्। यसो गरेर, तपाईं आफ्नो संसारमा बाइबलीय सन्देशलाई सञ्चार गर्ने सङ्गीतमय भाषामा गाउन सक्नुहुन्छ।
हामीले सधैं माथिको प्रश्न २ लाई विचार गर्नुपर्छ: "के हाम्रो संस्कृति पवित्रशास्त्रसँग विरोधाभास छ?" यदि साङ्गीतिक संस्कृतिसँग पवित्रशास्त्र बाँझिन्छ भने, हामीले यसलाई प्रयोग गर्नु हुँदैन। यद्यपि, जब त्यहाँ कुनै बाइबलीय सिद्धान्त समावेश छैन भने, त्यहाँ हामीले आराधकहरूको सङ्गीतमय भाषामा आराधनाको नेतृत्व गर्न खोज्नुपर्छ।
आफ्नो बुबाको मण्डलीमा आराधना गर्दा, सेवकाइको लागि तयारी गरिरहेका एक युवकले यो थाहा पाए कि उनीहरूले गाएका गीतहरू थोरै मानिसहरूले बुझेका थिए। आराधना गर्नुको सट्टा, तिनीहरूले गाएका सत्यताहरूबारे उनीहरूले थोरै बुझेको देखाए। जब ती युवकले यस बारेमा गुनासो गरे, तब उनका बुबाले जवाफ दिए, "हेरौं त तिमीले यो भन्दा राम्रो गर्न सक्छौ कि।" युवा आइज्याक वाट्सले आफ्नो बुबाको चुनौतीलाई स्वीकार गरे।
अङ्ग्रेजी बोल्ने मानिसहरूले आज आइज्याक वाट्सको भजन गाउँछन् किनभने एक युवा पास्टरले मानिसहरूले बुझ्ने भाषामा बाइबलीय सन्देश सञ्चार गर्ने भजन लेख्न कटिबद्ध थिए।[8] हाम्रो पुस्तामा, हामीलाई अङ्ग्रेजी भाषा नबोल्ने संसारको हृदय छुने अन्य भाषाहरूमा बाइबलीय सत्यता बोल्ने भजन लेखकहरू चाहिन्छ।
सङ्गीत शैलीमा केही अन्तिम विचारहरू
किनभने सङ्गीत जीवनको यस्तो महत्त्वपूर्ण भाग हो, त्यसैले हामीमध्ये धेरैको सङ्गीतको बारेमा बलियो विश्वास छ। आराधनामा सङ्गीत शैलीहरूको कुनै पनि छलफलले विवाद निम्त्याउँछ।
कुनै खास सङ्गीतका शैलीहरू खराब छन् भन्ने विश्वास गर्नेहरूले भन्छन्, "आराधनामा सङ्गीतका केही खास शैलीहरू मात्र प्रयोग गर्न सकिन्छ।" यद्यपि, पवित्रशास्त्रले सङ्गीत शैलीहरूको लागि विशेष दिशानिर्देशहरू दिँदैन।
सङ्गीत शैलीहरू नैतिक रूपमा तटस्थ छन् भन्ने कुरालाई विश्वास गर्नेहरूले भन्छन्, "मानिसहरूलाई मनपर्ने सङ्गीत खोज्नुहोस् र यसलाई गाउनुहोस्। शैलीले केही फरक पार्दैन; तपाईंलाई जे मन लाग्छ त्यही गाउनुहोस्।" यद्यपि, पवित्रशास्त्रले स्पष्ट पार्छ कि हामीले कामुक व्यवहारमा पुर्याउने कुनै पनि कुराबाट जोगिनै पर्छ। सांस्कृतिक र भावनात्मक महत्वको कारणले, केही सङ्गीतहरू आराधनाको लागि अनुपयुक्त छन्।
सङ्गीत छनोटहरूको बारेमा लेख्दै, स्कट एनियोलले आफ्नो छलफललाई दुई भागमा विभाजित गरे:[9]
१. शब्दहरू: सही र गलत मुद्दा। साङ्गीतिक शैली जस्तोसुकै भए पनि, यदि शब्दले स्पष्ट रूपमा सत्य बोल्दैन भने त्यो आराधनाको लागि अनुपयुक्त हुन्छ। यो सही कि गलत भन्ने विषयबारे हो। त्यहाँ परम्परागत सङ्गीत शैलीहरू प्रयोग गर्ने धेरै गीतहरू छन् जसमा बाइबलीय सत्य नसिकाउने शब्दहरू छन्; यी आराधनाको लागि अनुपयुक्त छन्। त्यहाँ आधुनिक सङ्गीत शैलीहरू प्रयोग गर्ने धेरै गीतहरू छन् जसमा बाइबलीय सत्य नसिकाउने शब्दहरू छन्; यी आराधनाको लागि अनुपयुक्त छन्।
२. सङ्गीत शैली: अस्पष्ट मुद्दा। किनकि पवित्रशास्त्रले सङ्गीत शैलीको मुद्दामा स्पष्ट रूपले बोल्दैन, हामीले रोमी १४ को सिद्धान्तहरूलाई पछ्याउनुपर्दछ। हामीले यसको सांस्कृतिक सम्बन्धका कारण शंकास्पद भएको सङ्गीतबाट बच्नुपर्छ। यद्यपि, हामीले अरूलाई न्याय गर्नु हुँदैन जसको विवेकले उनीहरूलाई भिन्न सङ्गीतको दिशामा लैजान्छ।
जाँच
के तपाईंको आराधनामा त्यहाँ सांस्कृतिक क्षेत्रहरू छन् जसले सुसमाचारको साथ तपाईंको संसारमा पुग्ने तपाईंको क्षमतालाई सीमित गर्दछ? के तपाईं सुसमाचारको साथ आफ्नो संसारमा पुग्नको लागि आफ्नो प्राथमिकताहरूलाई समर्पण गर्न इच्छुक हुनुहुन्छ?
ताली बजाउने बारेमा के त?
आराधनामा ताली बजाउँदा के हुन्छ? यो सही हो कि गलत? ताली दुईवटा सन्दर्भमा बज्छ, जसमा दुई फरक अर्थ हुन्छ।
आराधनाको भागको रूपमा ताली बजाउनु
धेरै मण्डलीहरूले गाउने भागको रूपमा ताली बजाउँछन्; ताली बजाउनु तिनीहरूको मण्डलीको आराधनाको भाग हो। यो पवित्रशास्त्रमा व्यक्त गरिएको आराधनाको भौतिक पक्षको भाग हो। "हे सबै जाति हो, ताली बजाओ, उच्च स्वरले परमेश्वरको जय-जयकार गर" (भजनसंग्रह ४७:१)। यहूदी आराधकहरू उत्साहित थिए। यहूदी आराधनामा विभिन्न प्रकारका वाद्ययन्त्रहरू, हात उठाउने र ताली बजाउने कार्य समावेश थियो।
यदि ताली बजाउनु तपाईंको आराधनाको भाग हो भने, आराधनाको अगुवाले यो सुनिश्चित गर्नुपर्दछ कि यो गाइएको गीतको लागि उपयुक्त छ कि छैन। प्रार्थनाको गीत गाउने क्रममा ताली बजाउनु सन्देशअनुकूल हुँदैन। आनन्दमय प्रशंसाको गीतको समयमा ताली बजाउनु उपयुक्त छ। अगुवाका लागि यो प्रश्न सधैं भइराख्दैन, "ताली बजाउनु सही हो कि गलत?" एउटा राम्रो प्रश्न हुन सक्छ, "के यो गीत र हाम्रो आराधनामा ताली बजाउनु उपयुक्त छ?"
आराधनाको प्रत्तिउत्तरमा ताली
अझ एउटा कठिन मुद्दाचाहिँ विशेष गीतको लागि हामीले प्रतिक्रिया स्वरूप बजाउनु ताली हो। पवित्रशास्त्रमा यहूदी वा ख्रीष्टियान आराधकहरूले आराधनाको प्रतिक्रिया स्वरूप ताली बजाए भनेर कहीं पनि सङ्केत गरेको छैन।
आज केही संस्कृतिहरूमा धन्यवादको अभिव्यक्तिको रूपमा ताली बजाउन हतार गर्छन्। यी संस्कृतिहरूमा, ताली बजाएर परमेश्वरको प्रशंसा व्यक्त गर्नु स्वाभाविक हो। अन्य संस्कृतिहरूले मुख्य रूपमा राम्रो प्रस्तुति गरेको मान्यताको साथ ताली बजाउने कार्यलाई जोड्छन्। यी संस्कृतिहरूमा, गायक वा सङ्गीतकारको प्रतिक्रियामा ताली बजाउँदा आराधनाको सट्टा कन्सर्टको वातावरण सिर्जना हुन सक्छ।
किनकि पवित्रशास्त्रले यस मुद्दालाई प्रत्यक्ष रूपमा सम्बोधन गरेको छैन, यसकारण हामी स्वेच्छाचारी कथनहरूबाट बच्नुपर्छ। यदि ताली एक स्वभाविक आनन्द प्रदायक प्रतिक्रिया हो जसले परमेश्वरको प्रशंसा व्यक्त गर्दछ भने, यो आराधनाको कार्य हुन सक्छ। "यस व्यक्तिले हाम्रो आनन्दको लागि राम्रो प्रदर्शन गरेको छ," भन्ने किसिमले यदि तालीले संवाद गरेको छ भने, यसले आराधनामा बाधा पुर्याउन सक्छ।
मण्डली र सङ्गीतकार दुबैले ताली बजाउने प्रेरणालाई हेर्नुपर्छ। मण्डलीका मानिसहरूले आफैलाई सोध्नुपर्छ, "म किन ताली बजाउँदै छु? के मेरो ताली परमेश्वरको प्रशंसाले उत्प्रेरित छ, वा मेरो ताली एक कलाकारको प्रशंसाले उत्प्रेरित छ?"
सङ्गीतकारले यो सोध्नु पर्छ कि, "मण्डलीले किन ताली बजाइरहेको छ? के मेरो गीतले परमेश्वरको प्रशंसा गर्ने आनन्दको कार्यलाई उत्प्रेरित गर्यो, वा मेरो गीतले मेरो सीपमा ध्यान खिच्यो? के मैले आराधनामा अगुवाइ गरें?" आराधनाका अगुवाहरूको हैसियतमा हामी होसियार हुनुपर्छ कि हाम्रो सेवकाइले हाम्रो क्षमतालाई होइन, परमेश्वरलाई औंल्याउँनुपर्छ।
जाँच
यदि तपाईंको मण्डलीले आराधनाको समयमा ताली बजाउँछ भने, के यो साँच्चै परमेश्वरलाई गरेको प्रशंसाको अभिव्यक्ति हो वा यो एक कलाकारलाई गरेको प्रशंसाको अभिव्यक्ति हो?
रोमी १४ र आराधनाका शैलीहरू
► रोमी १४:१-२३ पढ्नुहोस्।
रोमी १४ ले विवादास्पद विषयहरूको लागि महत्त्वपूर्ण दिशानिर्देशहरू प्रदान गर्दछ जुन विषयको लागि पवित्रशास्त्रले स्पष्ट रूपमा बोल्दैन। मासु खान वा विशेष दिनहरूलाई मान्न असहमत हुनेहरूलाई पावलले सम्बोधन गर्छन्। उनले निम्न सिद्धान्तहरूलाई प्रस्तुत गर्छन्।
(१) शंकास्पद कुराहरूको बारेमा अरूको न्याय नगर्नुहोस्। (रोमी १४:१-१३)।
पवित्रशास्त्रले स्पष्ट रूपमा नबोल्ने क्षेत्रहरूमा, हामीसँग असहमत हुनेहरूलाई विवेकको स्वतन्त्रता दिनु पर्छ। हामी पवित्रशास्त्रले भन्दा बढी निश्चित हुनु हुँदैन!
(२) कमजोरहरूलाई ठेस लाग्ने कारण नबन्नुहोस् (रोमी १४:१३-१५)।
धेरै परिपक्व विश्वासीले प्रयोग गरेको स्वतन्त्रताले अपरिपक्व विश्वासीलाई हानि पुर्याउन सक्छ भनी पावलले बुझे। त्यस अवस्थामा, प्रेमको व्यवस्थाले हामीलाई कमजोरहरूको तर्फबाट हाम्रो स्वतन्त्रतालाई सीमित गर्न आवश्यक छ। आफ्ना स्वतन्त्रताका कारण ख्रीष्टले जसको निम्ति मृत्यु वरण गर्नुभयो, उसलाई नष्ट नगर्नुहोस्।
पावलको कथन ख्रीष्टियान व्यवहारका सबै क्षेत्रहरूको लागि एक शक्तिशाली नमूना हो; "यसकारण खानेकुराले मेरो भाइलाई बाधा पार्छ भने म आफ्नो भाइलाई बाधा नपार्नलाई कहिल्यै मासु खानेछैनँ" (१ कोरिन्थी ८:१३)।
(३) विश्वासका साथ काम गर्नुहोस्, शङ्का होइन(रोमी १४:२३)।
यो जवान ख्रीष्टियानहरूका लागि अति महत्त्वपूर्ण सिद्धान्त हो। "विश्वासबाट उत्पन्न नभएको कुनै पनि कुरा पाप हो।" अरूलाई खुसी पार्नका लागि हामीले कहिल्यै आफ्नो विवेकको उल्लङ्घन गर्नु हुँदैन। "कसैले शङ्का गरेर केही खायो भने त्यो दोषी ठहर्छ, किनकि उसले विश्वाससाथ खाएको छैन।"
आराधना शैलीहरूलाई लागू गर्दा, यी सिद्धान्तहरूले हामीलाई सतर्क गराउँछन्:
१. तपाईंलाई अप्ठ्यारो लाग्ने शैली प्रयोग गर्नेहरूको न्याय नगर्नुहोस्। यदि पवित्रशास्त्रले स्पष्ट रूपमा बोल्दैन भने, तपाईं न्याय गर्न ढिलो हुनुपर्छ।
२. नयाँ विश्वासीलाई चिड़याउने खालको सङ्गीत प्रयोग नगर्नुहोस्। यदि एउटा विश्वासी त्यस्तो खाले जीवन शैलीबाट आएको हो जसमा केही सङ्गीत शैलीहरू अनैतिक व्यवहारसँग सम्बन्धित छन् भने, त्यो शैली त्यो विश्वासीको लागि कहिल्यै सहयोगी बन्न सक्दैन। ख्रीष्टियान भाइप्रतिको प्रेमले तपाईंलाई उसको आत्मिक वृद्धिमा बाधा पुर्याउन सक्ने कुनै पनि कुराबाट बच्न प्रेरित गर्नुपर्छ।
३. आफ्नो विवेकमा शङ्का आउँदा आउँदै पनि स्वतन्त्रताको अभ्यास नगर्नुहोस्। तपाईंले हरफहरूलाई जाँच गर्नु हुँदैन। परमेश्वरप्रतिको प्रेमले तपाईंलाई आफ्नो विवेकमा शङ्का उत्पन्न गर्ने कुनै पनि कुराबाट बच्न प्रेरित गर्नुपर्छ।
[1]Paul Bradshaw, “The Search for the Origins of Christian Worship” in Robert Webber, Twenty Centuries of Christian Worship (Nashville: Star Song Publishing, 1994), 4
[2]E. H. Peterson, The Message (Colorado Springs: NavPress, 2002)
[3]यसले प्रश्न 2 लाई औंल्याउँछ-"के हाम्रो संस्कृति पवित्रशास्त्रसँग विरोधाभास छ?"
[4]Michael Cosper, Rhythms of Grace: How the Church’s Worship Tells the Story of the Gospel (Wheaton: Crossway Books, 2013), 176-179
[5]जोन वेस्लीले यस मुद्दाको सामना गरे। एङ्ग्लिकनहरूले महसुस गरे कि कोइला खानीमा काम गर्ने मानिसहरू, आफ्नो पूरानो जीवनलाई त्यागेर येशुको विश्वासमा आएका वेश्याहरू र अशिक्षित पसलेहरू जस्ता मानिसहरू सहभागि हुने आराधना सेवा उच्च-वर्गको एङ्गलिकनहरूको औपचारिक आराधनाभन्दा धेरै फरक हुनेछ। धेरै पूजाहारीहरूले निर्णय गरे कि तिनीहरूले आफ्नो आराधनालाई निम्न वर्गहरूद्वारा अवरोध गर्न अनुमति दिन चाहँदैनन्। यसले मेथोडिस्ट समाजहरूको गठन हुन नेतृत्व गर्यो।
[6]मार्क डेभरको शब्द बाइबलीय आधार नभएका ख्रीष्टियानहरूका लागि।
[7]यो उदाहरण Ronald Allen र Gordon Borror, Worship: Rediscovering the Missing Jewel (Colorado Springs: Multnomah Publishers, 1982), 168 बाट साभार गरिएकोहो।
[8]"Joy to the World," "When I Survey the Wondrous Cross" र "O God, Our Help in Ages Past" आइज्याक वाट्सले लेखेका 750 भजनहरू मध्ये तीन हुन् ।
[9]Scott Aniol, Worship in Song (Winona Lake, IN: BMH Books, 2009), 135-140
आराधनामा बालबालिका र युवाहरूलाई संलग्न गर्नु
"हामीले बालबालिका र युवाहरूलाई आराधनामा कसरी सामेल गर्न सक्छौं? के हामीले उनीहरूलाई वयस्क सेवा बुझ्ने उमेर नपुगेसम्म छुट्टै सेवामा राख्नुपर्छ? हामी बालबालिका र युवाहरूलाई साँचो आराधना गर्न कसरी प्रोत्साहन दिन्छौं?"
धेरै मण्डलीहरूले बालबालिकाहरू, युवाहरू र वयस्कहरूलाई आराधनामा अलग गर्छन्। यसका दुईवटा कारणहरू छन्: साना बालबालिकाहरूले आराधनाबाट वयस्कहरूलाई ध्यान भङ्ग गराउने चिन्ता र बालबालिकाहरू र युवाहरूले आराधना सेवामा के भइरहेको छ भनेर बुझ्दैनन् भन्ने चिन्ताले गर्दा हो।
पवित्रशास्त्रमा युवा वा बालबालिकाका लागि छुट्टै सेवाहरू गर्न निषेध गर्ने कुरा कहीँ छैन। यद्यपि, त्यहाँ कम्तिमा तीनवटा कुराहरू विचार गर्नुपर्छ:
१. पवित्रशास्त्रमा, आराधना अन्तरपुस्तागत थियो। पवित्रशास्त्रले बालबालिका र युवाहरूलाई आराधनामा फरक व्यवहार गरेको सुझाव दिँदैन। मन्दिरको आराधनामा, बलिदानको परम्पराको लागि परिवार सँगै रहन्थ्यो। सुरुका मण्डलीले आराधनाको समयमा बालबालिका वा युवाहरूलाई छुट्याएको कुरा नयाँ नियममा कहीँ छैन।
२. अन्तरपुस्तागत आराधनाले ख्रीष्टको शरीरलाई एकताबद्ध गर्छ। जसरी आधुनिक आराधना र परम्परागत आराधनाको लागि छुट्टै सेवाहरू प्रदान गर्दा शरीरको एकतालाई कमजोर बनाउन सक्छ, त्यसैगरी बालबालिका र युवाहरूको लागि छुट्टै सेवाहरू प्रदान गर्दा तिनीहरू पनि मण्डली परिवारको एउटै अङ्ग हुन् भन्ने चेतनामा कमि आउन सक्छ। अर्कोतर्फ, मण्डली परिवारको आराधनामा बालबालिका र युवाहरू समावेश भएकाले, सबैले बुझ्छन् कि तिनीहरू ख्रीष्टको शरीरको बहुमूल्य अङ्ग हुन् (१ तिमोथी ४:१२)।
३. अन्तरपुस्तागत आराधना मार्फत, विश्वास अर्को पुस्तामा हस्तान्तरण हुन्छ। हामी आराधना गर्दै गर्दा आराधना गर्न सिक्छौं। सावधानीपूर्वक योजना नगरेसम्म, बालबालिकाको सेवा उनीहरूलाई मनोरञ्जन गराउने समय बन्न सक्छ, ताकि उनीहरूले वयस्कहरूको सेवामा बाधा नपुर्याउन्। यदि हामीले यस्तै मात्र हुन दियौँ भने, बालबालिकाहरूले कहिले आराधना गर्न सिक्ने?
संयुक्त आराधना सेवाको एउटा अङ्गको रूपमा युवा र बालबालिका
युवा र बालबालिकाहरूले प्रायः सबै उमेरका मानिसहरूसँग बोल्ने संयुक्त आराधना सेवामा भाग लिन सक्छन्। यसमा मुख्य प्रवचन जस्तै एउटै विषयमा छोटो बालबालिकाको प्रवचन समावेश हुन सक्छ।
जब हामी ठान्दछौं कि बालबालिकाहरूले गहिरो सत्य बुझ्न सक्दैनन्, हामी तिनीहरूलाई आत्मिक विवेकको लागि पर्याप्त श्रेय दिन असफल हुन्छौं। पवित्र आत्मा नै हो जसले हरेक सुन्नेहरूलाई, वयस्क वा बालबालिकाहरूलाई ज्ञान दिनुहुन्छ (१ कोरिन्थी २:१०)। वयस्क सेवामा पनि, पवित्र आत्माले तिनीहरूको जवान हृदयमा सत्य बोल्न सक्नुहुन्छ। वयस्कहरूको आराधनामा बालबालिकाहरूलाई पनि समावेश गर्दा हामीले तिनीहरूलाई आराधनाको बारेमा सिकाउन आवश्यक छ। हामी बालबालिकाहरूलाई सेवाको बारेमा परिभाषा बुझाउन सक्छौं। हामी पवित्रशास्त्र पढाइ र भजनमा हुने कठिन शब्दहरूलाई उनीहरूको निम्ति परिभाषित गर्न सक्छौँ। वयस्कहरूलाई पनि कहिलेकाहीँ ती शब्दहरू परिभाषित गर्न आवश्यक छ! आराधनामा बालबालिकाहरूको लागि ठाउँ बनाएर, हामी तिनीहरूलाई शरीरको बाँकी अङ्गसँगै आराधकको रूपमा बढ्न मन्जुरी दिन सक्छौँ।
धेरै मण्डलीहरूले युवा र बालबालिकाहरूको लागि छुट्टै सेवाहरू प्रदान गर्छन्। यी सेवाहरू मनोरञ्जन होइन तर आराधना हुनुपर्छ। यदि बालबालिका र युवाहरूले आराधना गर्न सिकेनन् भने, तिनीहरू आत्मिक परिपक्वतामा बढ्न सक्दैनन्। जसरी मिठाईको पोषणले बालबालिकाको शारीरिक स्वास्थ्यको विकास हुन सक्दैन, त्यसरी नै आत्मिक जंक फूडको पोषणले बालबालिकाको आत्मिक स्वास्थ्यको विकास हुँदैन।
यदि एउटा मण्डलीले वयस्क र युवा/बालबालिकाहरूका लागि छुट्टाछुट्टै सेवाहरू प्रदान गर्दछ भने, हामीले यो सुनिश्चित गर्नुपर्छ कि त्यो सेवा वास्तवमा आराधना सेवा हो। युवा र बालबालिकाको आराधनामा पवित्रशास्त्रको पढ़ाइ समावेश हुनुपर्छ। बालबालिकाहरूको लागि, आकर्षक वृत्तचित्रहरूले पवित्रशास्त्रको सत्यतालाई अझ शक्तिशाली बनाउन सक्छ।
सेवामा युवा र बालबालिकाको आवश्यकता अनुसार परमेश्वरको वचन लागू गर्ने उपदेश वा बाइबल पाठ समावेश हुनुपर्छ। शिक्षकले आफ्नो हातैले बाइबललाई मायालु ढङ्गले समात्नु पर्छ। वयस्कहरूले आदरपूर्वक बाइबललाई प्रयोग गरेको देखेर बालबालिका र युवाहरूले पनि परमेश्वरको वचनलाई आदरपूर्वक प्रयोग गर्न सिक्छन्।
सेवामा बाइबलीय सत्यता बोल्ने गीतहरू समावेश गर्नुपर्छ। यसमा प्रार्थनाको समय, प्रशंसा र बिन्ती दुवै समावेश गर्नुपर्छ। यसले बालबालिकाहरूलाई परमेश्वरको निम्ति आफ्नो भेटी ल्याउन स्वीकृती दिने खालको वलिदानको सेवाहरूलाई समावेश गर्नुपर्छ। बालबालिका वा युवाहरूको लागि आराधना सेवामा आराधनाका सबै भागहरूलाई समावेश गर्नुपर्छ।
बालबालिकाहरूलाई प्रार्थना गर्न सिकाउनु: "प्रार्थनाको हात"
बुढी औंलोले हामीलाई हाम्रो नजिकका (परिवार) को लागि प्रार्थना गर्न सम्झाउँछ।
सूचक औंलोले ले मानिसहरूलाई येशु तर्फ देखाउनेहरूको (पास्टर, शिक्षक, र मिसनरीहरू) लागि प्रार्थना गर्न हामीलाई सम्झाउँछ।
बीचको औंलोले सबैभन्दा अग्लो हुन्छ। यसले हामीलाई हाम्रो देश, विद्यालय, मण्डली र घरका अगुवाहरूको लागि प्रार्थना गर्न सम्झाउँछ।
चौथो औंलो सबैभन्दा कमजोर हुन्छ। चौथो औंला मात्र केही कुरा उठाउने प्रयास गरेर यसलाई परिक्षण गर्नुहोस्। यसले हामीलाई कमजोर र येशुको आवश्यकता भएकाहरूका लागि प्रार्थना गर्न सम्झाउँछ।
कान्छी औंलो सबैभन्दा सानो हुन्छ। यसले तपाईंलाई आफ्नो लागि प्रार्थना गर्न सम्झाउँछ।
पूरै हात उठाउनुले हामीलाई परमेश्वरको प्रशंसा गर्न सम्झाउँछ।
यो प्रार्थनाको हातको उदाहरण एउटा प्रार्थनाको ढाँचा बन्न सक्छ जसले युवा आराधकहरूको प्रार्थनाको स्तरलाई माथि उठाउँछ।
सारांश
यदि हामी हाम्रा छोराछोरीलाई परिपक्व विश्वासीहरूमा बढेको देख्न चाहन्छौं भने, हामीले तिनीहरूलाई आत्मिक पोषण प्रदान गर्नुपर्छ। सबैजना सँगै बसेर गरिने सेवामा होस् वा छुट्टा छुट्टै बसेर गरिने सेवामा होस्, हामीले हाम्रा छोराछोरीहरूलाई आराधना गर्नलाई अगुवाइ गर्नुपर्छ।
जाँच
बालबालिकाहरू र युवाहरूका लागि तयार गरिएको छुट्टै सेवाहरू होस् वा सम्पूर्ण मण्डली एक ठाउँमा बसेर गरिने सेवा होस्, के तपाईं आफ्ना छोराछोरी र युवाहरूलाई आराधना गर्न सिकाउँदै हुनुहुन्छ?
[1]यस खण्डले होब साउन्ड बाइबल कलेजको शिक्षाका प्राध्यापक श्रीमती क्रिस्टिना ब्ल्याकको विषयवस्तुलाई प्रयोग गर्छ।
आराधनामा भावना
"मेरो देशका मानिसहरू धेरै भावुक छन्, र हाम्रो आराधनाले अक्सर हाम्रो भावनात्मक जीवन शैलीलाई प्रतिबिम्बित गर्दछ। हाम्रो आराधना सङ्गीत सामान्यतया छिटो, चर्को, र लयबद्ध हुन्छ। यसले हामीलाई भाग लिन र भावना व्यक्त गर्न अनुमति दिन्छ। यद्यपि, सङ्गीत केवल भावना मात्र बन्छ कि भनेर म डराउँछु। मलाई थाहा छैन कि हाम्रो सङ्गीतले साँचो आराधना बन्न अनुमति दिन्छ कि दिँदैन।"
साँचो आराधना भनेको आत्मा र सत्यतामा आराधना गर्नु हो। साँचो आराधनामा भावना समावेश हन्छ, तर यो भावना भन्दा बढि हो। आराधनामा भावनासँग सम्बन्धित दुई त्रुटिहरू छन् जसले हामीलाई बहकाउन सक्छ।
केही आराधकहरूले आराधनामा भावनालाई अस्वीकार गर्छन्। तिनीहरूले आराधनालाई परमेश्वरसँगको बौद्धिक भेटको रूपमा हेर्छन्; तिनीहरू परमेश्वरलाई भेट्ने कुरामा भावनात्मक पक्षलाई चिन्न असफल हुन्छन्। साँचो आराधनाले भावनाहरूसँग बोल्छ। हाम्रो आराधना सेवाले आराधकहरूलाई परमेश्वरको स्वयंको प्रकटीकरणप्रति आफ्नो भावनात्मक प्रतिक्रिया व्यक्त गर्ने अवसर दिनु पर्छ।
(२) आराधनामा भावनालाई बढी जोड दिने त्रुटि।
उल्टो खतरा भनेको आराधनामा भावनाहरूसँग मात्र बोल्ने त्रुटि हो। दिमागलाई बेवास्ता गर्दै भावनाहरूसँग मात्र बोल्ने आराधनाले १ कोरिन्थी १४:१५ को उल्लङ्घन गर्छ; "आत्माले स्तुति गर्नेछु, र म दिमागले पनि स्तुति गर्नेछु।" आराधनाको कुनै पनि पक्ष यस परिक्षामा पर्न सक्छ: एक नाटकीय प्रवचन जुन पवित्रशास्त्रको पाठसँग विश्वासयोग्य छैन; बाइबलीय सत्यता बोल्न असफल भावनात्मक सङ्गीत; आराधकहरूको भावनालाई नियन्त्रण गर्ने आराधनाका अभ्यासहरू। भावनासँग मात्र बोल्ने आराधना साँचो आराधना होइन।
साँचो आराधना: आत्मा र सत्यतामा आराधना गर्नु
हामीले प्रचार गर्ने र गाउने कुराको सत्यतालाई ध्यानपूर्वक मूल्याङ्कन गर्दा आराधनाको बाइबलीय उदाहरणले भावनाको महत्त्वलाई आदर गर्छ। सङ्गीत एक भावनात्मक माध्यम भएकोले, हामीले गाउने कुराको सत्यताको मूल्याङ्कन गर्न हामीले विशेष ध्यान दिनै पर्छ। यद्यपि, सही तरिकाले प्रयोग गर्दा, दिमाग र भावना दुवैसँग बोल्ने सत्यतालाई सञ्चार गर्ने सङ्गीत विशेष रूपमा प्रभावकारी हुन सक्छ।
जोन वेस्लीले आराधनामा भावनाको कदर गर्थे। उनले एउटा मण्डलीलाई "ढुङ्गा जस्तै मरेको-पूर्ण रूपमा सूनसान, र पूर्ण रूपमा बेफिक्री" भनेर वर्णन गरे। सत्यतासँग गरिने सामनाले भावनात्मक प्रतिक्रियालाई प्रेरित गर्नुपर्छ भन्ने उनको विश्वास थियो। साथसाथै, साँचो आराधनाबाट विचलित हुने भावनात्मक अभिव्यक्तिहरूको आलोचना गर्न तिनी छिटो थिए।
वेस्लीले या त चरमताको विरुद्धमा चेतावनी दिए; भावनालाई अस्वीकार गर्दै वा यसले हामीलाई नियन्त्रण गर्न अनुमति दिँदै। "के हामी चरमता तर्फ वा अर्को कुरा तर्फतिर दौडिनुको लागि कुनै आवश्यकता छ? के हामी एक मध्यम मार्गलाई चलाउन सक्दैनौं र परमेश्वरको वरदानलाई अस्वीकार नगरी उहाँका छोराछोरीहरूको ठूलो विशेषाधिकार त्यागेर त्रुटि र उत्साहको भावनाबाट पर्याप्त दूरी राख्न सक्दैनौं?"[2] परमेश्वर र उहाँको सत्यताबाट हाम्रो ध्यानलाई विचलित गर्ने चरम कुराहरूलाई बेवास्ता गर्दै र आराधनामा भावनाको महत्त्वलाई सम्मान गर्दै अगाडि बढ़नु आज हाम्रो लागि यो राम्रो उदाहरण हो।
"स्वभावैले, म भावनात्मक रूपमा संवेदनशील व्यक्ति हुँ। सङ्गीतले मेरो भावनाहरूमा गहिरो प्रभाव पार्न सक्छ। मैले मेरो भावनात्मक प्रतिक्रियाहरूमा धेरै विश्वास राख्ने कुराहरूको बारेमा केही वर्ष पहिले एउटा पाठ सिकें।
"सुन्दर स्वरमाधूर्य भएको गीत सुनेपछि म निकै प्रभावित भएँ। जब गीतको तानता परिवर्तन भयो, मैले आफूलाई रोएको पाएँ। गीतको अन्त्यमा, मैले गहिरो आत्मिक अनुभव पाएको महसुस गरें।
"यद्यपि, मैले दोस्रो पटक सुन्दा, मैले अचम्मलाग्दो कुरा फेला पारे: यो गीतले बाइबलको परमेश्वरलाई आराधना गरेको थिएन। गीतले झूटो पंथको देवताको प्रशंसा गाउँदै थियो। त्यो नाटकीय तानता परिवर्तनका शब्दहरू झूटा थिए।
"त्यस दिन मैले, मेरा भावनाहरूलाई सजिलैसँग नियन्त्रण गर्न सकिन्छ, विशेष गरी सङ्गीतद्वारा भन्ने कुरा सिके। यसको मतलब यो होइन कि सङ्गीतमा सबै भावनात्मक प्रतिक्रियाहरू अमान्य छन्, तर यसको मतलब यो हो कि मैले गीतहरूको विषयवस्तुको मूल्याङ्कन गर्नुपर्छ। तिनीहरू परमेश्वरबाट आएका हुन् कि होइनन् भनी पक्का हुन मैले 'आत्माको जाँच’ गर्नुपर्छ।"
जाँच
के तपाईंको आराधनाले दिमाग र भावना दुवैसँग बोल्छ? तपाईंले गाउनु भएको र सिकाउनु भएको कुरा पवित्रशास्त्रप्रति विश्वासयोग्य छ कि छैन भनी सुनिश्चित गरेर मूल्याङ्कन गर्न के तपाईं होशियार हुनुहुन्छ?
यो पाठ वारेन वियर्सबीको आराधनालाई रमाइलो समयको रूपमा व्यवहार गर्ने विरुद्धको चेतावनीबाट सुरु भएको थियो।[1] उनले चेताउनी दिए कि जब हामी हाम्रा सेवाहरूमा परमेश्वरको सट्टा रमाइलो खोज्छौं तब हामी आराधनालाई तुच्छ बनाउँछौं। "मण्डलीहरूले अझै पनि आराधना शब्द प्रयोग गर्छन् तर यसको अर्थ परिवर्तन भएको हुन्छ। प्रायः आराधना केवल एउटा त्यस्तो शब्द हो जुन मानिसहरूले मण्डलीको लागि योजना बनाएका कुराहरूलाई धार्मिक सम्मान दिन प्रयोग गर्छन्, त्यो सङ्गगतिमा चाहे परमेश्वर केन्द्रविन्दु हुनु भएको होस् वा नहोस्।" यो कसरी हुन्छ?
हामी पवित्रस्थानबाट रङ्गमञ्चमा सर्छौँ
आराधना जहाँ पनि हुन सक्छ। ख्रीष्टियानहरूले गुफाहरूमा सतावट गर्नेहरूबाट लुकेर वा मण्डली रिट्रीटको समयमा क्याम्प फायरमा आराधना गरेका छन्। ख्रीष्टियानहरूले निजी घर वा आकर्षक भवनहरूमा आराधना गरेका छन्। ख्रीष्टियानहरूले अस्पतालमा सुत्दा, विमानमा उड्दा वा काम गर्दा आराधना गरेका छन्। आराधना जहाँ पनि हुन सक्छ, तर धेरैजसो सामूहिक आराधना कुनै न कुनै प्रकारको भवनमा हुन्छ। "मण्डलीका मानिसहरू कतै न कतै भेट्नुपर्छ, र त्यो 'कतै न कतै' या त पवित्रस्थान वा रङ्गमञ्च बन्न पुग्नेछ।"
के फरक छ? पवित्रस्थान "एउटा ठाउँ हो जहाँ मानिसहरू आफ्नो प्रभुको आराधना गर्न र महिमा गर्न भेला हुन्छन्।" रङ्गमञ्च एउटा ठाउँ हो जहाँ मानिसहरू प्रदर्शनी हेर्न भेला हुन्छन्। तपाईंको मण्डली रङ्गमञ्च हो कि पवित्रस्थान?
हामी मण्डलीबाट दर्शकहरूमा सर्छौं
"एउटा ख्रीष्टियान मण्डली येशु ख्रीष्टको आराधना गर्न र उहाँको महिमा गर्न भेला हुन्छ। दर्शकहरू प्रस्तुति हेर्न र सुन्न भेला हुन्छन्।" मण्डली परमेश्वरमा केन्द्रित हुन्छ; दर्शकहरू कलाकारमा केन्द्रित हुन्छन्। मण्डलीमा सहभागीहरू हुन्छन्; दर्शकहरूमा रमिता हेर्नेहरू हुन्छन्। तपाईं मण्डली वा दर्शकहरू के को नेतृत्व गर्दै हुनुहुन्छ?
हामी सेवकाइबाट प्रदर्शनीमा सर्छौँ
"हामी मुख्य रूपमा परमेश्वरको सत्यता व्यक्त गर्न सेवा गर्छौं; हामी हाम्रा क्षमताहरू प्रभावित गर्न प्रदर्शन गर्छौं। सेवकलाई थाहा छ कि परमेश्वरले हेरिरहनु भएको छ र उहाँको स्वीकृतीले सबै फरक पार्छ। कलाकारले दर्शकको ताली खोज्छ।" सेवा विभिन्न तरिकामा प्रदर्शन हुन सक्छ: एक सङ्गीतकार जसले दर्शकहरूको मनोरञ्जनको लागि प्रदर्शन गर्दछ, प्रशंसा टोली जसले विशेष भावनात्मक प्रतिक्रिया खोज्छ, वा एक प्रचारक जसले मानिसहरूको प्रतिक्रियाद्वारा आफ्नो प्रचार मापन गर्दछ। तपाईं सेवकाइ गर्नुहुन्छ कि प्रदर्शन गर्नुहुन्छ?
[1]यस खण्डका उद्धरणहरू Warren Wiersbe, Real Worship (Grand Rapids: Baker Books, 2000), 169–174 बाट साभार गरिएका छन्।
निष्कर्ष: एक मिसनरीको गवाही-अभ्यासमा रोमी १४
"मैले एक मिसनरी साथी र आठ फिलिपिनो पास्टरहरूसँग नेतृत्व सेमिनारमा भाग लिँदा तिनीहरूको आराधना शैलीको कारणले अरूलाई न्याय गर्ने बारे एउटा महत्त्वपूर्ण पाठ सिकें।[1]
"हामी एउटा ठूलो सम्मेलन केन्द्रमा पस्यौं र बेन्चहरूमा हाम्रा सिटहरू अग्लो भेट्टायौं। ठूला-ठूला स्क्रिन र लाउडस्पीकरहरू छतबाट झुण्डिएका थिए। आराधनाको अगुवा एक फिलिपिनो महिला थिइन् जसलाई प्रशंसा टोलीले समर्थन गरेको थियो। उनीहरूले ताली बजाइरहेका थिए र उत्तेजित भीडको नेतृत्व गरिरहेका थिए 'हो, प्रभु, हो!’ मेरो स्वादको लागि यो अत्यधिक जीवन्त थियो।
"दोहोरिरहने सङ्गीत, चर्को स्वरमा गाइको गीत र शारीरिक हाउभाउले मलाई ठूलो चिन्तित हुने कारण बनायो। हामीले हाम्रा फिलिपिनो पास्टरहरूलाई पवित्र अगुवाहरू हुन चुनौती दिएका थियौं, र अब हामी तिनीहरूलाई यस्तो प्रकारको आराधनामा ल्याइरहेका थियौँ! फिलिपिनो पास्टरहरूमध्ये एक जना, धेरै आत्मिक अगुवा, त्यहाँ आफ्नो शिर झुकाएर उभिरहेका थिए। उनले चुपचाप प्रार्थना गर्दै थिए र सेवामा भाग लिएनन्।
"मलाई गाह्रो भयो, 'हामीले के गर्ने?' पछि, मैले त्यही पास्टरलाई आफ्नो सम्पूर्ण हृदयले ताली बजाउँदै र गाउँदै गरेको देखें। उनको अनुहार चम्किरहेको थियो, र उनी आराधनामा रमाइराखेको देखिनु भएको थियो।
"त्यस साँझ, हामीले सम्मेलनमा नेतृत्वको बारेमा के सिक्यौँ भनेर एकआपसमा बाँड़चुड़ गर्यौँ। कुराकानीको क्रममा, मैले फिलिपिन्सको यो अगुवालाई उनले आफ्नो आचरण परिवर्तन गर्नुपर्ने कुरा त्यस्तो के भएको थियो भनेर सोधें। "तपाईं अघि सहभागी हुनुहुन्थेन तर एक्कासी आराधना गर्न र गायनको मज्जा लिन किन लाग्नुभयो?"
"उनको जवाफ शक्तिशाली थियो। 'सङ्गीतले मलाई झर्को लागि राखेको थियो। तर मैले प्रार्थना गर्दा, परमेश्वरले मलाई देखाउनुभयो कि आराधनाको अगुवा र यस सभामा भएका मानिसहरूले आफ्नो सम्पूर्ण हृदयले परमेश्वरको आराधना गरिरहेका थिए। तिनीहरूले आफूले जाने अनुसार परमेश्वरलाई सबै भन्दा उत्तम कुरा दिइरहेका थिए। परमप्रभुले मलाई भन्नुभयो, "के तिमी तिनीहरूलाई मतिर छोड्न सक्छौ? के तिमी अरूको न्याय नगरी मलाई आफ्नो आराधना दिन सक्छौ?"
"यस पास्टरले आफ्नो वरपरका मानिसहरूलाई न्याय गर्नुको सट्टा आफ्नो सारा हृदयले परमेश्वरको आराधना गर्न थाले। के यसले यस पास्टरको आराधनाको दृष्टिकोणलाई परिवर्तन गर्यो? होइन; जब उनी आफ्नो मण्डलीमा फर्के, उनले त्यो सप्ताहन्तमा देखेको आराधना शैलीको अनुकरण गरेनन्।
"हाम्रा मण्डलीहरूमा एक अगुवाको रूपमा, यो व्यक्तिले प्रायः आफ्ना सँगी पास्टरहरूलाई मण्डलीलाई नियन्त्रण नगरी आराधनामा स्वतन्त्रता दिनको लागि प्रोत्साहन दिए। उनले आफ्ना सँगी पास्टरहरूलाई दुई सिद्धान्तहरूलाई सन्तुलनमा राख्न प्रोत्साहन दिए:
१. आफ्नो मण्डलीमा आराधनाका बाइबलीय सिद्धान्तहरूलाई ध्यानपूर्वक पालना गर्नुहोस्।
२. अन्य मण्डलीहरूले गरेको आराधना शैलीको आलोचना नगर्नुहोस्।"
[1]फिलिपिन्सका पूर्व मिसनरी Rev. David Black बाट लिइएको यो गवाही ।
समीक्षामा पाठ ९
(१) आराधना र संस्कृति
आराधना शैलीहरूको मूल्याङ्कन गर्दा, हामीले संस्कृति र पवित्रशास्त्रलाई भ्रमित गर्नु हुँदैन।
जब हाम्रो संस्कृति पवित्रशास्त्रको विरोधाभास हुन्छ, हामीले संस्कृतिको विश्वासलाई पालना गर्नु भन्दा पनि पवित्रशास्त्रका आज्ञाहरू मान्नुपर्छ।
संसारमा सुसमाचार लिएर पुग्नको लागि, हामीले हाम्रो आराधनाले हाम्रो संस्कृतिलाई कसरी प्रभावकारी रूपमा बोल्न सक्छ भनेर सोध्नु पर्छ।
(२) तीन प्रश्नहरूले हामीलाई स्थानीय मण्डलीको आराधना र वरपरको संस्कृति बीचको सम्बन्धलाई बुझ्न मद्दत गर्दछ:
यहाँ को छ? भन्ने प्रश्नले मण्डलीका मानिसहरूलाई हेर्छ जुन मण्डलीको अङ्गहरू हुन्।
यहाँ को थियो? भन्ने प्रश्नले मण्डलीको पहिलेका पुस्ताहरूलाई हेर्छ।
यहाँ को हुनुपर्छ? भन्ने प्रश्नले हामीलाई पुग्न बोलाइएको समुदायलाई हेर्छ।
(३) सङ्गीत हाम्रो सांस्कृतिक पहिचानको केन्द्रबिन्दु भएको हुनाले, मण्डलीहरूले बाइबलीय रूपमा विश्वासयोग्य र सांस्कृतिक रूपमा संवेदनशील हुने सङ्गीत रोज्नुपर्छ।
(४) यदि ताली बजाउने कार्य आराधनाको भाग हो भने, हामीले सोध्नु पर्छ, "के यो गीत र हाम्रो आराधनामा ताली बजाउनु उपयुक्त छ?"
(५) यदि ताली बजाउनु कुनै विशेष गीतको प्रतिक्रियाको लागि हो भने, हामीले सोध्नु पर्छ, "के मेरो ताली परमेश्वरको प्रशंसाले उत्प्रेरित छ, वा मेरो ताली एक कलाकारको प्रशंसाले उत्प्रेरित छ?"
(६) यदि हामीले बालबालिका र युवाहरूलाई वयस्क सेवामा राख्छौं भने, हामीले सबै उमेरका मानिसहरूलाई बोल्ने आराधनाको योजना बनाउनुपर्छ।
(७) यदि हाम्रो बालबालिका र युवाहरूका लागि छुट्टै सेवाहरू छन् भने, हामीले यो सुनिश्चित गर्नुपर्छ कि सेवाहरू मनोरञ्जन होइनन्, तर आराधना हो।
(८) हामीले आराधनामा भावनालाई बढी जोड दिनु हुँदैन वा इन्कार पनि गर्नु हुँदैन।
पाठ ९ क्रियाकलाप
(१) यस पाठले धेरै "जाँचका" प्रश्नहरूलाई समावेश गरेको थियो। यीमध्ये कुनै एक प्रश्नको लागि एक पृष्ठको जवाफ लेख्नुहोस्। तपाईंको जवाफले दुई भागहरूलाई समावेश गर्नुपर्छ:
तपाईंले हाल आराधनामा के गर्नुहुन्छ भन्ने कुराको मूल्याङ्कन।
आराधनाका बाइबलीय सिद्धान्तहरूबाट टाढा नगइकन तपाईंको आराधनालाई थप सांस्कृतिक रूपमा सान्दर्भिक बनाउने खालको परिवर्तनहरूको लागि एउटा सुझाव।
(२) अर्को पाठको सुरुमा, तपाईंले यस पाठमा आधारित परीक्षा दिनुहुनेछ। तयारी गर्दा खेरी परीक्षाका प्रश्नहरूलाई सावधानीपूर्वक अध्ययन गर्नुहोस्।
पाठ ९ परीक्षा
(१) हामीले हाम्रो सांस्कृतिक प्राथमिकताहरूलाई विरोध गर्ने तर बाइबलीय बाइबलीय सिद्धान्तहरूसँग विरोधाभास नहुने आराधनाका अभ्यासहरूप्रति कसरी प्रतिक्रिया जनाउनुपर्छ?
(२) हामीले हाम्रो संस्कृतिमा स्वीकृत आराधना प्रचलनहरूप्रति कसरी प्रतिक्रिया जनाउनुपर्छ, जुन पवित्रशास्त्र विपरीत छ?
(३) हाम्रो मण्डलीको आराधना र वरपरको संस्कृति बीचको सम्बन्ध बुझ्न हामीले कुन तीनवटा प्रश्नहरू सोध्नुपर्छ?
(४) रोमी १४ बाट, आराधनासँग सम्बन्धित तीनवटा सिद्धान्तहरूलाई सूचीबद्ध गर्नुहोस्।
(५) अन्तरपुस्तागत आराधनाको लागि तीन वटा विचारहरूलाई सूचीबद्ध गर्नुहोस्।
(६) आराधनामा भावनासँग सम्बन्धित दुइटा त्रुटिहरूको नाउँ दिनुहोस्।
(७) आफूले कण्ठ गरेको १ कोरिन्थी १४:१५-१७ लेख्नुहोस्।
SGC exists to equip rising Christian leaders around the world by providing free, high-quality theological resources. We gladly grant permission for you to print and distribute our courses under these simple guidelines:
No Changes – Course content must not be altered in any way.
No Profit Sales – Printed copies may not be sold for profit.
Free Use for Ministry – Churches, schools, and other training ministries may freely print and distribute copies—even if they charge tuition.
No Unauthorized Translations – Please contact us before translating any course into another language.
All materials remain the copyrighted property of Shepherds Global Classroom. We simply ask that you honor the integrity of the content and mission.