ख्रीष्टियान आराधनाको परिचय
ख्रीष्टियान आराधनाको परिचय
Audio Course Purchase

Search Course

Type at least 3 characters to search

Search through all lessons and sections in this course

Searching...

No results found

No matches for ""

Try different keywords or check your spelling

results found

Lesson 7: आराधनामा पवित्रशास्त्र र प्रार्थना

3 min read

by Randall McElwain


पाठका उद्देश्यहरू

यस पाठको अन्त्यसम्ममा, विद्यार्थीले सक्षम हुनुपर्छ:

(१) आराधनामा पवित्रशास्त्रको महत्त्वलाई कदर गर्नु।

(२) आराधनामा पवित्रशास्त्रको प्रयोगका व्यावहारिक चरणहरूलाई जान्नु।

(३) वचन प्रचारलाई आराधनाको एउटा भागको रूपमा मान्यता दिनु।

(४) आराधनामा प्रार्थनाको महत्त्वलाई मूल्य दिनु।

(५) अर्थपूर्ण सामूहिक प्रार्थनामा मण्डलीको नेतृत्व गर्नु।

(६) भेटी उठाउनु आराधनाको एउटा कार्य हो भन्ने बुझ्नु।

(७) प्रभु-भोजलाई आनन्दपूर्ण उत्सव र गम्भिर सम्झना दुवैको रूपमा अवलोकन गर्नु।

पाठको तयारी

मत्ती ६:५-८ लाई कण्ठ गर्नुहोस्।

परिचय

कखग मण्डली यसको आराधना समयको लागि राम्रोसँग परिचित छ। उनीहरूको सेवाहरूले निम्न ढाँचाहरूलाई पछ्याउँछन्:

मण्डली सेवाको क्रम
परिचय र सूचनाहरू  
आराधनाको समय (प्रशंसाका गीतहरू) ३० मिनेट
भेटी/विशेष सङ्गीत/प्रार्थना १५ मिनेट
वचन ३० मिनेट
आराधनाको समय (प्रशंसाका गीतहरू) १५ मिनेट

मानिसहरूले कखग मण्डलीमा सङ्गीत मन पराउँछन्। आगन्तुकहरू धेरै जोसिलो सेवाको प्रशंसा गर्छन्। तर, पास्टर अनिल आफ्नो सेवकाइको दीर्घकालीन नतिजालाई लिएर चिन्तित भएका छन्। नयाँ विश्वासीहरू चाँडै अन्य मण्डलीहरूमा जान्छन्। अझ नराम्रो कुरा त, लामो समयसम्म उपस्थित हुनेहरूको सर्वेक्षणले पत्ता लगायो कि मण्डलीले "येशु ख्रीष्टका पक्का चेलाहरू उत्पादन गरिरहेको छैन। सङ्ख्या त वृद्धि भएको छ; चेलाहरू चाहिँ छैन।"[1]

पास्टर अनिल विश्वास गर्छन् कि समस्याको पाटो भनेको मण्डलीको आराधना प्रतिको बुझाइ हो। कखग मण्डलीमा, आराधना भनेको सङ्गीत हो। पास्टर अनिलले सोध्न थालेका छन्, "के साँचो आराधनामा सङ्गीतभन्दा बढी अरू केही समावेश हुन्छ? के हामी परमेश्वरको वचन र प्रार्थनालाई आराधनाबाट अलग गर्दैछौं? के यसले वचन प्रचारको प्रभावलाई कम गर्छ?"

► कृपया पास्टर अनिलको चिन्ताको जवाफ दिनुहोस्। के आराधना र प्रचारमा फरक छ? कखग मण्डलीले आराधना सेवाका सबै भागहरूलाई आराधकहरूको विचारमा कसरी जोड्न सक्छ?


[1]यो अमेरिकाको सबैभन्दा ठूलो मण्डलीहरूमध्ये एउटाले गरेको सर्वेक्षणबाट उद्धृत गरिएको हो। तिनीहरूले फेला पारे कि तिनीहरूका बहुसङ्ख्यक नयाँ विश्वासीहरू कहिल्यै साँचो चेला बन्न सकेनन्।

आराधनामा पवित्रशास्त्रको महत्त्व

हामी इभान्जेलिकलहरू हाम्रा सिद्धान्तहरू र आराधनाहरू पवित्रशास्त्रबा निर्देशित छन् भनेर सिकाउँछौं। हामी विश्वास गर्छौं कि बाइबलले हाम्रो आराधनामा केन्द्रीय स्थान राख्नुपर्छ। परमेश्वरले उहाँका मानिसहरूसँग वचनको पढाइमा बोल्नुहुन्छ। पुरानो करारको समयदेखि, पवित्रशास्त्रलाई आराधनामा केन्द्रित गरिएको छ।

दुःखको कुरा, हामी बाइबल हाम्रो आराधनाको मूल हो भनी भन्दछौं, तर धेरै मण्डलीहरूले तिनीहरूको सेवामा थोरै मात्र पवित्रशास्त्रको भागलाई समावेश गर्दछन्। केही मण्डलीहरूमा सेवामा उपस्थित हुन र पवित्रशास्त्रका थोरै पदहरू मात्र सुन्न सम्भव छ। यो आराधनाको बाइबलीय उदाहरणबाट टाढा छ।

बाइबलीय आराधनामा वचन पढ्नु महत्त्वपूर्ण थियो

► प्रस्थान २४:१-१२ पढ्नुहोस्।

प्रस्थान २४:७ मा, मोशाले करारको पुस्तक लिए, र मानिसहरूको सुनुवाइमा पढे। मानिसहरूले परमेश्वरका आज्ञाहरू पालन गर्ने प्रतिज्ञा गरे: "परमप्रभुले भन्‍नुभएका सबै कुरा हामी गर्नेछौं र आज्ञाकारी हुनेछौं।" यसपछि, परमेश्वरले ढुङ्गाका पाटीहरूमा करार (दश आज्ञाहरू) को सारांश लेख्नुभयो। इस्राएल त्यो पुस्तकका मानिसहरू थिए। लिखित करार इस्राएलको आराधनाको केन्द्रबिन्दु थियो।

पवित्र-वासस्थान र मन्दिरमा परमेश्वरको वचन मुख्य थियो। यहूदी वर्षमा वार्षिक चाडहरू सबैभन्दा महत्त्वपूर्ण घटनाहरू थिए। निस्तार चाडमा, अगौटे फलको चाड र छाप्रो-वासको चाड चाडमा परमेश्वरको वचनका अङ्गहरू सार्वजनिक रूपमा पढिन्थ्यो। प्रत्येक सात वर्षमा, मानिसहरू व्यवस्था पढेको सुन्न भेला हुन्थे, र करारलाई नवीकरण गरिन्थ्यो।[1]

नयाँ करारमा, पावलले ख्रीष्टियानहरूलाई सार्वजनिक रूपमा पवित्रशास्त्र पढ्न आज्ञा दिए। यसमा पुरानो करार, पावलका पत्रहरू, र पवित्रशास्त्रको रूपमा वर्गीकृत अन्य लेखहरू समावेश थिए।[2] उनले एक जवान सेवकलाई पवित्रशास्त्रको सार्वजनिक पाठ, उपदेश र शिक्षामा आफूलाई समर्पित गर्न निर्देशन दिए (१ तिमोथी ४:१३)। नयाँ करारको आराधनामा परमेश्वरको वचन मुख्य थियो।

बाइबलीय आराधनामा वचन प्रचार गर्नु महत्त्वपूर्ण थियो

► नहेम्याह ८:१-१८ लाई पढ्नुहोस्।

निर्वासनबाट फर्केपछि, एज्राले मानिसहरूको लागि व्यवस्था पढेर सुनाए। एज्राले पुरुष र स्त्रीहरू र बुझ्न सक्नेहरूको उपस्थितिमा व्यवस्था पढ्दा मानिसहरू सुन्न भेला भए। र सबै मानिसहरूका कान व्यवस्थाको पुस्तकबाट सुन्नमा चनाखो थियो (नहेम्याह ८:३)। जवाफमा, मानिसहरूले "आमेन" भने र आराधनामा घोप्टो परे। एज्रा र तिनका सहायकरूले पढ्दै गर्दा, तिनीहरूले पवित्रशास्त्रको व्याख्या गरे र सुन्नेहरूलाई पढेको कुरा बुझ्न प्रेरित गरे। यो परमेश्वरको वचनलाई प्रचार गर्ने, व्याख्या गर्ने र मानिसहरूका आवश्यकताहरूमा लागू गर्ने बाइबलीय उदाहरण हो। साँचो बाइबलीय प्रचारले वचनको प्रतिक्रिया स्वरूप आराधनालाई प्रेरित गर्छ।

येशु आफ्नो आदतअनुसार शबाथको दिन सभाघरमा जानुभयो र यशैयाको पुस्तकबाट पढ्नुभयो। जब उहाँले पढिसक्नुभयो, येशुले एउटा वचन प्रचार गर्नुभयो जसमा उहाँले देखाउनुभयो कि उहाँ यशैयाको प्रतिज्ञा पूरा गर्न आउनुभएको थियो (लूका ४:१६-२९)।

[3]पेन्तिकोसको समयमा आफ्नो प्रचारमा, पत्रुसले पुरानो करारका प्रतिज्ञाहरू येशुको सेवकाइमा र पवित्र आत्माको आगमनमा पूरा भएको देखाए। उनले पश्चात्ताप गर्न र बप्तिस्मा लिने निमन्त्रणाको साथ पवित्रशास्त्रको व्याख्या समाप्त गरे (प्रेरित २:१४-४१)। बाइबलीय प्रचारले उनलाई सुन्नेहरूबाट प्रत्युतर माग्यो। प्रचारले दिमागसँग बोल्छ, तर यसले हृदयसँग पनि बोल्नुपर्छ। प्रचारले इच्छाबाट प्रतिक्रियाको लागि आह्वान गर्नुपर्छ। जब येशुले इम्माउसको बाटोमा पवित्रशास्त्रको अर्थ खोल्नु भयो, उहाँलाई सुन्नेहरूको हृदय तिनीहरूभित्र प्रज्वलित भयो (लूका २४:३२)।

सुरुका मण्डलीहरूको विस्तारमा प्रचार गर्नु महत्त्वपूर्ण थियो। प्रेरितमा, परमेश्वरको वचन २० पटक भन्दा बढी उल्लेख गरिएको छ। प्रेरितहरूले प्रभुको वचन प्रचार गरे; तिनीहरूले साहसका साथ परमेश्वरको वचन बोलेका थिए। तिनीहरूले परमेश्वरको वचन सिकाए। जवाफमा, धेरै मानिसहरूले परमेश्वरको वचन प्राप्त गरे; परमेश्वरको वचन बढ्यो र वृद्धि भयो; परमेश्वरको वचन प्रबल भयो; अनि अन्यजातिहरूले प्रभुको वचनको महिमा गरे। परमेश्वरको वचन प्रेरितहरूको सन्देशको जग थियो।

जबकि प्रचार भनेको पवित्रशास्त्रले बोल्ने एक मात्र माध्यम होइन, यो परमेश्वरका मानिसहरूलाई परमेश्वरको वचन पुर्‍याउनको लागि प्राथमिक माध्यम हो। यो उद्देश्य पूरा गर्नको लागि, एक पास्टरले कहिल्यै बिर्सनु हुँदैन कि परमेश्वरको वचन केन्द्रमा हुनुपर्छ। बाइबलीय प्रचार परमेश्वरको वचनबाट सुरु हुनुपर्दछ, परमेश्वरको वचनको व्याख्या गर्नुपर्दछ, र परमेश्वरको वचनमा व्यक्तिगत प्रतिक्रियाको लागि आह्वान गर्नुपर्छ।

मण्डलीको इतिहासमा वचन प्रचार गर्नु महत्त्वपूर्ण थियो

मण्डलीको सुरुको शताब्दीहरूमा वचन प्रचार आराधनाको केन्द्रबिन्दु थियो। दोस्रो शताब्दीमा, जस्टिन मार्टरले लेखे कि ख्रीष्टियानहरू आइतवारको दिनमा पत्रहरू र भविष्यवक्ताहरूको पुस्तक पढ्न र तिनीहरूलाई व्याख्या गरिएको सुन्न भेला हुन्थे। तेस्रो शताब्दीसम्ममा, आराधनाको समयमा बाइबलको प्रत्येक प्रमुख खण्डको सानो अंशहरू पढिन्थ्यो।

मध्य युगको दौरान, क्याथोलिक मण्डलीले प्रचारको भूमिकालाई कम गर्‍यो, तर धर्मसुधारकहरूले आराधनाको केन्द्रीय स्थानमा प्रचारलाई फर्काए। सुधारिएको प्रचारको लक्ष्य मनोरञ्जन, प्रचारकको व्यक्तिगत एजेन्डा वा समाजका सांस्कृतिक मागहरू थिएन। प्रचारको लक्ष्य परमेश्वरको वचनको सावधानीपूर्वक व्याख्या गर्नु थियो; सुन्नेहरूलाई प्रभाव पार्ने र जीवन परिवर्तन गर्ने प्रतिक्रियाको लागि आह्वान गर्ने तरिकामा पवित्रशास्त्रको व्याख्या गर्नु थियो।


[1]Timothy J. Ralston, “Scripture in Worship” in Authentic Worship. Edited by Herbert Bateman. (Grand Rapids: Kregel, 2002), 201
[2]1 तिमोथी 4:13, 1 थेसलोनिकी 5:27, कलस्सी 4:16, 2 पत्रुस 3:16
[3]

बाइबलीय प्रचारमा

"साँचो बाइबलीय व्याख्याको आशिष् एक प्रज्वलित हृदय हो, फुलेको टाउको होइन।"

- वारेन वियर्सबि

आराधनामा पवित्रशास्त्रलाई मुख्य बनाउनु

यदि परमेश्वरको वचन हाम्रो आराधनामा मुख्य हुनुपर्छ भने, हामीले यो सिद्धान्तलाई कसरी व्यवहारमा उतार्ने? हाम्रो आराधनामा पवित्रशास्त्रलाई मुख्य बनाउनको लागि व्यावहारिक कदमहरू निम्न प्रकारले समावेश छन्:

आराधनाको सबै भागहरूमा पवित्रशास्त्र समावेश हुनुपर्छ

आराधनामा पवित्रशास्त्र सुन्नको लागि हामीले वचनको समयसम्म पर्खनु हुँदैन। परमेश्वरको वचनबाट आराधना सुरु गर्नुभन्दा राम्रो अरू कुनै तरिका छैन।

आराधनाको लागि दुई खाले सुरुवातलाई विचार गर्नुहोस्। परमेश्वरको उपस्थितिमा आउनको लागि कुन चाहिँ प्रभावकारी निमन्त्रणा हो?

१. "आज मण्डलीमा आउनु भएकोमा धन्यवाद। वर्षाले तपाईंहरूमध्ये केहीलाई यात्रा गर्न गाह्रो बनायो, तर तपाईं आउनु भएकोमा म खुसी छु। आफ्नो ध्यान परमेश्वर र आराधनामा केन्द्रित गरौं। जसै हामी गाउँछौँ 'पवित्र, पवित्र, पवित्र भनेर के तपाईंहरू खडा हुन सक्नुहुन्छ?"

२. "'जब तिनीहरूले मलाई भने, “परमप्रभुको भवनमा हामी जाऔं,” तब म आनन्‍दित भएँ' परमेश्वरको भवनमा स्वागत छ! मन्दिरमा, यशैयाले परमप्रभुलाई उच्च र माथि अग्लिएको देखे। तिनले स्वर्गदूतहरूलाई 'सेनाहरूका परमप्रभु 'सर्वशक्तिमान्‌ परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्‍छ, सारा पृथ्‍वी उहाँको महिमाले भरिपूर्ण छ।' जसै हामी 'पवित्र, पवित्र, पवित्र' भन्दै गाउँछौँ हामीसँग प्रशंसामा सामेल हुनुहोस्।"

पहिलो अगुवाले हामीलाई यात्राको कठिनाइहरूको सम्झना गराए; दोस्रो अगुवाले हामीलाई आराधनाको आनन्दको सम्झना गराए। पहिलो अगुवाले सामान्य शब्दहरूबाट सुरु गरे; दोस्रो अगुवाले परमेश्वरको वचनबाट सुरु गरे। पहिलो अगुवाले एउटा साधारण भजन गाए; दोस्रो अगुवाले हामीलाई सम्झाए कि स्वर्गदूतहरूले परमेश्वरको प्रशंसामा यो भजन गाउँछन्। कुन मण्डलीले बढी उत्साहका साथ गाउनेछ?

संयुक्त राज्य अमेरिकामा सेप्टेम्बर ११, २००१ आतंककारी हमलाहरू पछि, मण्डलीहरू आइतवार तिनीहरूका मण्डलीहरूमा सामान्य रूपमा आराधना गर्न भेला भए। यी दुई मण्डलीहरूबाट आराधना सेवाहरूको संचालनको तुलना गर्नुहोस्:

१. "आज हामीसँग सामेल हुनुभएकोमा धन्यवाद। यो हाम्रो देशको लागि एक दुखद हप्ता भएको छ। हामीमध्ये धेरैलाई शोक भएको छ। यो अँध्यारो समयमा पनि आराधना गर्न आउनु भएकोमा धन्यवाद। हामी 'पुरानो कठोर क्रूस' भन्ने गीतलाई गाएर सुरु गर्नेछौं।"

२. "'परमेश्‍वर हाम्रा शरणस्‍थान र शक्ति हुनुहुन्‍छ, सङ्कष्‍टमा सधैँ हाजिर रहने सहायता।' यी कठिन समयहरूमा, हामीले उहाँ हाम्रो आशा हुनुहुन्छ भनेर बिर्सनु हुँदैन। उहाँ हाम्रो शरणस्थान हुनुहुन्छ। 'एउटा शक्तिशाली किल्ला हाम्रो परमेश्वर हुनुहुन्छ, एउटा पर्खाल कहिल्यै नढल्नु हुने' भनेर सम्झेर गाउँदै गर्दा हामीसँगै सामेल हुनुहोस्।"

सुरुको अगुवाले मण्डलीलाई उनीहरूको शोकको सम्झना गराए; दोस्रो अगुवाले उनीहरूलाई सम्झाए कि परमेश्वर उनीहरूको आशा हुनुहुन्छ। पवित्रशास्त्र र त्यस पवित्रशास्त्रमा आधारित भजनले मानिसहरूको विश्वासको जाँच भइरहेको बेला एक हप्तामा बलियो जग प्रदान गर्‍यो।

आराधना सेवाको धेरै भागहरूमा पवित्रशास्त्र प्रयोग गर्न सकिन्छ:

  • सेवा सुरु गर्दाखेरि बोलिने सुरुका वचनहरू

  • भेटीको लागि आह्वान

  • सङ्गीतका शब्दहरू

  • प्रार्थना

हाम्रो आराधना परमेश्वरको वचनबाट तृप्त हुनुपर्छ। आराधना भनेको परमेश्वरले उहाँको वचनमा आफूलाई प्रकट गर्नुभएको एउटा प्रतिक्रिया हो। पवित्रशास्त्रले आराधना सेवाका सबै भागहरूलाई निहित गर्नुपर्छ।

पवित्रशास्त्रको पढाइले आराधनामा केन्द्रीय स्थान प्राप्त गर्नुपर्छ

के तपाईंले कहिल्यै पास्टरले यसो भनेको सुन्नु भएको छ, "आज हामीसँग समयको कमी छ र मसँग लामो प्रवचन छ, त्यसैले म वचनको पाठ पढ्न छोड्नेछु?" कुन बढी महत्त्वपूर्ण छ, परमेश्वरको वचन वा हाम्रा शब्दहरू? हामीले आराधनामा पवित्रशास्त्रलाई समय दिनु पर्छ।

पवित्रशास्त्र पढ्नु आराधना हो, हामीले यसलाई कसरी पढ्ने भन्नेमा ध्यान दिनुपर्छ। यसलाई शुद्धसँग र प्रस्टसँग पढ्नुपर्छ। पाठकले (चाहे पास्टर होस् वा सामान्य व्यक्ति) सेवा अघि अभ्यास गर्नुपर्छ। मण्डलीको पहिलो तीन शताब्दीमा, पवित्रशास्त्रको पाठकको स्थानलाई पवित्र ढङ्गले सुम्पिएको थियो। पाठकहरूले आफूले तोकेका किताबहरू घरमै राखेर पढ्ने अभ्यास गर्थे। जब तिनीहरू आराधनामा पढ्थे, तिनीहरू शुद्धसँग र प्रस्टसँग व्यक्त गरेर पढ्न तयार हुन्थे।[1]

याद गर्नुहोस्, यो परमेश्वरको वचन हो जुन परमेश्वरको घरमा परमेश्वरका मानिसहरूको लागि आराधनाको रूपमा पढिन्थो। यदि आराधनाको सङ्गीत अभ्यासको योग्य छ भने, परमेश्वरको वचन पनि अभ्यासको योग्य छ। यो हाम्रो क्षमतामा गर्व गर्ने कुरा होइन; यो सुनिश्चित गर्ने कुरा हो कि परमेश्वरको वचन श्रोताहरूलाई सुनाइन्छ। यो परमेश्वरको वचन हो; यो महत्त्वपूर्ण छ!

हामीले वचन पाठलाई अर्थपूर्ण बनाउनुपर्छ। विभिन्न प्रकारका पाठहरू प्रयोग गर्नाले सुन्नेहरूको कानमा पवित्रशास्त्र ताजा रहनेछ।

(१) मण्डलीले परमेश्वरले बोल्नु भएको कुरा सुन्ने हुँदा कहिलेकाहीँ अगुवाद्वारा पवित्रशास्त्र पढ्न सकिन्छ। यस प्रकारको पढाइ पंचपुस्तक र धेरैजसो भविष्यसूचक पुस्तकहरूको लागि उपयुक्त छ।

(२) कहिलेकाहीँ अगुवा र मण्डलीले आलो पालो गर्दै पढ्न सक्छन्। यस प्रकारको उत्तरदायी पाठका लागि धेरै भजनसंग्रहहरू उपयुक्त छन्।

► भजनसंग्रह १३६ पढ्नुहोस्। कक्षाको अगुवालाई प्रत्येक पद सुरु गर्न लगाउनुहोस्। कक्षाले प्रत्येक पदको दोस्रो भागमा प्रतिक्रिया स्वरूप भन्नुपर्छ, "उहाँको प्रेम अनन्‍तकालसम्‍म रहिरहन्‍छ।"

डाँडाको उपदेश अनुक्रियात्मक रूपले पाठ गर्नको लागि उपयुक्त छ (मत्ती ५:१-१०):

अगुवा: धन्‍य आत्‍मामा दीन हुनेहरू,
मण्डली: किनभने स्‍वर्गको राज्‍य तिनीहरूको हो।
अगुवा: धन्‍य शोक गर्नेहरू,
मण्डली: किनभने तिनीहरूले सान्‍त्‍वना पाउनेछन्‌।

(३) केही पवित्रशास्त्रहरू मण्डलीले एकैसाथ पढ्न सक्छन्। सामूहिक गीत जस्तै, शरीरको रूपमा पवित्रशास्त्र पढ्दा मण्डलीको एकता देखाउँछ। सबै मण्डलीहरू परमेश्वरको वचन बोल्नमा सामेल हुन्छन्। भजनसंग्रह १२४ जस्ता प्रार्थनाहरू एकरूपमा पढ्नका लागि उपयुक्त छन्।

एज्राको व्यवस्था पढाइसम्बन्धी नहेम्याहको विवरणले आराधनामा पवित्रशास्त्र मुख्य भाग हुँदाखेरिको प्रभावलाई देखाउँछ।

► यदि तपाईंलाई यो तथ्यमा समीक्षा गर्न आवश्यक छ भने नहेम्याह ८ फेरि पढ्नुहोस्।

पढाइको विवरणलाई ध्यान दिनुहोस्।

  • एज्राले सबै मानिसहरूको सामुन्ने पुस्तक खोले। त्यहाँ शब्दसँग दृश्य सम्बन्धित थियो।

  • उनी सबै मानिसहरू भन्दा माथि उभिए। पाठकलाई स्पष्ट देख्न र सुन्न सकिन्थ्यो।

  • जब उनले पढ्न थाले, सबै मानिसहरू उठे। त्यहाँ वचनको लागि शारीरिक प्रतिक्रिया थियो।

  • जब उनले पढे, सबै मानिसहरूले जवाफमा भने, "आमिन, आमिन," आफ्ना हात उठाए, र तिनीहरूले आफ्ना शिर निहुर्‍याए, र भुइँमा घोप्टो परेर परमप्रभुलाई आराधना गरे। तिनीहरूले परमेश्वरको वचनप्रति आफ्नो समर्पणता प्रकट गरे।

  • लेवीहरूले परमेश्वरको व्यवस्थालाई स्पष्ट रूपमा पढे, र अर्थ खुलाए, ताकि मानिसहरूले पढेको बुझे। तिनीहरूले परमेश्वरको वचन बुझ्न ध्यान दिए। यो आजको प्रचारको लक्ष्य हो।

  • मानिसहरू रोए, जब तिनीहरूले व्यवस्थाका वचनहरू सुने। नहेम्याहले तिनीहरूलाई आनन्दित हुन आज्ञा दिए, "किनभने परमप्रभुको आनन्‍द नै तिमीहरूको बल हो।" परमेश्वरको वचनले पश्चात्ताप र आनन्द दुवैलाई प्रेरित गर्‍यो।

यद्यपि यस विशेष अवसरको हरेक विवरण हाम्रा सेवाहरूमा दोहोरिने छैन; यस तथ्यले पवित्रशास्त्रको शक्तिलाई देखाउँछ। हामीले हाम्रो आराधनामा पवित्रशास्त्रलाई केन्द्रमा राख्नुपर्छ।

जाँच

के तपाईंको मण्डलीले आराधनामा बाइबल पढाइको महत्त्व बुझ्छ? पवित्रशास्त्र पढ्दा मण्डलीको वरिपरि हेर्दा तपाईंले देख्नुहुने केही व्यवहार र प्रतिक्रियाहरू वर्णन गर्नुहोस्।

औसत शनिवार, तपाईंको मण्डलीले कतिवटा फरक-फरक पवित्रशास्त्रका पदहरू सुन्छ? के आराधकहरूलाई थाहा छ यसमा किन प्रत्येक खण्ड समावेश गरिएको छ?

वचन प्रचार हाम्रो आराधनाको मुख्य केन्द्रबिन्दु हुनुपर्छ

जसरी हरेक पुस्तामा सङ्गीतका शैलीहरू परिवर्तन हुन्छन्, प्रत्येक पुस्ताका आवश्यकताहरू पूरा गर्न प्रचारको शैलीहरू पनि परिवर्तन हुन्छन्। पवित्रशास्त्रले एउटा खास सङ्गीत शैलीलाई आराधना सङ्गीतको लागि बाइबलीय शैलीको रूपमा परिभाषित गर्दैन; पवित्रशास्त्रले एउटा खास प्रचार विधिलाई बाइबलीय प्रचार शैलीको रूपमा परिभाषित गर्दैन।

शैली पुस्तादेखि पुस्ता र संस्कृतिबाट संस्कृतिमा परिवर्तन हुन सक्छ; विषयवस्तु परिवर्तन हुनु हुँदैन। पवित्रशास्त्रले सङ्गीत शैली परिभाषित गर्दैन, तर यसले विषयवस्तुलाई परिभाषित गर्दछ। त्यसै गरी, प्रचार शैलीहरू पुस्तादेखि पुस्तामा परिवर्तन हुन सक्छ, तर विषयवस्तु परिवर्तन हुनु हुँदैन।

पवित्रशास्त्रमा भएका प्रवचनहरूले परमेश्वरको वचनको घोषणा गर्नु मण्डलीको अगाडि उभिने प्रचारकको प्राथमिक जिम्मेवारी हो भनी देखाउँछ। परमेश्वरको वचनमा एकाग्र हुने कुरा समकालीन प्रचारमा केन्द्रविन्दुमा हुनुपर्छ। प्रविधि र सिक्ने शैलीहरूमा भइरहने परिवर्तनले गर्दा प्रचार गर्ने शैलीलाई असर गर्न सक्छ; वचन प्रचारमा विषयवस्तुले जरा गाडिराखेको हुनुपर्छ।

[2]आराधनाको रूपमा प्रचार: व्यावहारिक प्रभावहरू

प्रचारलाई आराधनाको रूपमा हेर्नुको व्यावहारिक प्रभावहरू के-के हुन्? यसले प्रचार गर्ने हाम्रो दृष्टिकोणलाई कसरी असर गर्छ?

वचन प्रचारलाई होसियारीपूर्ण तयारी चाहिन्छ।

[3] यदि प्रचार गर्नु आराधना हो भने, हामी जिम्मेवार छौँ सावधानीपूर्वक तयारी गर्न। हामीले हाम्रा उत्कृष्ट उपहारहरू परमेश्वरको वेदीमा ल्याउनै पर्छ। दाऊदले आफू मोल तिर्नु नपरेको कुरा ल्याएनन्; हामीले परमेश्वरको अघि हाम्रो उपहारको रूपमा तयारबेगरको प्रवचनहरू ल्याउनु हुँदैन। हामीले सेवा गर्नु अघि हाम्रो उपदेश सावधानीपूर्वक तयार गर्नुपर्छ (२ शमूएल २४:२४)।

वचन प्रचारमा मण्डलीले प्रतिक्रिया जनाउन आवश्यक छ।

यदि वचन प्रचार गर्नु आराधना हो भने, यसलाई मण्डलीबाट प्रतिक्रिया चाहिन्छ। आराधनामा हामी परमेश्वरलाई देख्छौं, हामी आफैलाई देख्छौं, र हामी हाम्रो संसारको आवश्यकताहरू देख्छौं (यशैया ६:१-८; पाठ १ हेर्नुहोस्)। हाम्रा प्रवचनहरूले सुन्नेलाई परमेश्वर प्रकट गर्नुपर्छ, हाम्रा प्रवचनहरूले सुन्नेलाई आवश्यकताको निश्चयता ठहराउनुपर्छ, र हाम्रा प्रवचनहरूले मण्डलीलाई हराएको संसारमा पुग्न प्रेरित गर्नुपर्छ। आराधनाको रूपमा प्रचार गर्नाले पापीहरूलाई आफू दोषी भएको महसुस गराउनेछ र विश्वासीहरूलाई सुसमाचार प्रचार गर्न प्रेरित गर्नेछ।

वचन प्रचारमा प्रचारकले प्रतिक्रिया जनाउन आवश्यक छ।

यदि प्रचार गर्नु आराधना हो भने, हामीले प्रचार गर्न हामीबाट प्रतिक्रिया चाहिन्छ भनेर बुझ्नेछौं। यदि हामी बलिदानको आराधनाको रूपमा प्रचार गर्न तयार छौं भने, हामी परमेश्वरलाई देख्नेछौं; हामी हाम्रो आफ्नै जीवनमा आवश्यक क्षेत्रहरूको निश्चयतालाई महसुस गर्नेछौं; र हामी हाम्रो वरपरको संसारको आवश्यकताहरूलाई देख्नेछौं। प्रतिक्रिया स्वरूप, हामी यशैयासँगै कराउनेछौं, "म हाजिर छु। मलाई पठाउनुहोस्‌।" साँचो प्रचारले प्रचारकलाई परिवर्तन गर्नेछ। परमेश्वरले हामीसँग व्यक्तिगत रूपमा बोल्नुभएन र हामीले स्वीकार नगरेसम्म हामीले हाम्रो मण्डलीहरूमा परमेश्वरको सन्देश ल्याउनु हुँदैन।

येशुले आफ्नो समयका शास्त्रीहरूलाई (प्रचारकहरू) खराब प्रचारहरूको लागि हप्काउनुभएन; तिनीहरूले प्रचार गरेअनुसार जीवन बाँच्न असफल भएकोमा उहाँले तिनीहरूलाई हप्काउनुभयो। उनीहरूलाई पवित्रशास्त्र र वचनको व्याख्या कसरी गर्ने भन्ने थाहा थियो, तर तिनीहरू पवित्रशास्त्रद्वारा परिवर्तन भएनन्। येशुले भन्नुभयो, "किनकि तिनीहरूले शिक्षा त दिन्‍छन्, तर त्‍यसअनुसार गर्दैनन्‌" (मत्ती २३:३)। यदि प्रचार गर्नु आराधना हो भने, हामी पास्टरको रूपमा हामीले प्रचार गर्ने सत्यताहरूद्वारा परिवर्तन हुनेछौं। बदलामा, हामीले प्रचार गर्ने मानिसहरूको हृदय र जीवन परिवर्तन गर्न परमेश्वरले हामी मार्फत बोल्नुहुनेछ।

प्रचारक पवित्र आत्माको शक्तिद्वारा भरिएको हुनुपर्छ।

यदि प्रचार गर्नु आराधना हो भने, प्रचारक पवित्र आत्माद्वारा बलियो बनाइनुपर्छ। जसरी आराधनाका अन्य सबै क्षेत्रहरूमा साँचो शक्तिको लागि पवित्र आत्मामा भर पर्छन्, त्यसरी नै एक प्रचारक प्रभावकारी हुनको लागि परमेश्वरको आत्माद्वारा अभिषेक हुनुपर्छ।

► २ कोरिन्थी ३:३-१८ लाई पढ्नुहोस्।

हामी प्रवचनको लागि तयारीको हाम्रो उत्तम बलिदान ल्याउँछौं; तापनि, हाम्रो तयारी पूरा भएपछि, प्रचार गर्ने शक्ति पवित्र आत्माद्वारा आउँछ। पवित्र आत्माको शक्ति बिना, हामी अरूको सोचाइमा बोल्न सक्छौं, हामी मण्डलीलाई प्रभावित पार्न सक्छौं, र हामीसँग राम्रो विषयवस्तु हुनसक्छ, तर हामीले जीवन परिवर्तन गर्ने छैनौँ।

जाँच

के तपाईंको प्रचार बाइबलीय आराधनाको एउटा कार्य हो? यदि एउटा व्यक्तिले तपाईंको नियमित रूपमा प्रचार सुन्छ भने, के तिनीहरूले सन्तुलित बाइबलीय सत्यलाई सुन्नेछन्?


[1]Keith Drury, The Wonder of Worship, (Fishers, IN: Wesleyan Publishing House, 2002), 35
[2]

"यदि प्रचार गर्नु आराधनाको कार्य होइन भने, मण्डलीले परमेश्वरको आराधना गर्नुको सट्टा प्रचारकको आराधना गर्न सक्छ।"

- वारेन वियर्सबि

[3]

"प्रचार, यदि आराधना होइन भने, अपवित्र छ ...। साँचो प्रवचन भनेको परमेश्वरको कार्य हो, र केवल मानिसले गरेको प्रदर्शन होइन।"

- जे.आइ. प्याकरबाट साभार गरिएको

आराधनाका खतराहरू: परमेश्वरको वचन गुम्नु

धेरै नाममात्र ख्रीष्टियानीहरूको दैनिक जीवनमा बाइबलले आफ्नो स्थान गुमाएको छ। दुःखको कुरा, यसले धेरै मण्डलीहरूको साप्ताहिक आराधनामा पनि आफ्नो स्थान गुमाएको छ। जहाँ सुरुका मण्डलीले भजन गाउँथे, आज केही मण्डलीहरूले थोरै वा कुनै बाइबलीय विषयवस्तु बिना गीतहरू गाउँछन्। जहाँ सुरुका मण्डलीले पवित्रशास्त्रका लामो खण्डहरू पढ्थे, आज केही मण्डलीहरूले प्रवचन अघि केही पदहरू मात्र पढ्छन्। धेरै सेवाहरूमा, पवित्रशास्त्रलाई गीत र उपदेशले प्रतिस्थापन गरिएको छ जसले गर्दा परमेश्वरको वचनमा थोरै ध्यान पुगिराखेको हुन्छ।

समकालीन आराधना अभियानका केही अगुवाहरूले पवित्रशास्त्रको सार्वजनिक पाठ अबका आधुनिक आवश्यकताहरूसँग बोल्दैन भनेर जोड दिन्छन्। एक प्रसिद्ध पास्टरले भर्खरै आफ्नो मण्डलीका कर्मचारीहरूलाई आफ्नो प्रचारको मूल्याङ्कन गर्न आग्रह गरे। तिनीहरूले उनलाई धेरै बाइबल प्रयोग गरिरहेको बताए! "बाइबलमा आफ्नो उपदेशलाई आधार बनाउनु तपाईंको लागि राम्रो हो, तर तपाईंले चाँडै सान्दर्भिक कुरामा पुग्नु राम्रो हुन्छ, नत्रता हामी सुन्न छोड्छौं।" यस मण्डलीका कर्मचारीहरूले बाइबल आजका मानिसहरूका लागि सान्दर्भिक छ भनेर सोचेका थिएनन्!

आराधनाका अगुवाहरूको रूपमा, हामीले आराधनामा पवित्रशास्त्रको केन्द्रीयता कायम राख्नुपर्छ। आराधनामा, हामी प्रार्थना र प्रशंसाका गीतहरू मार्फत परमेश्वरसँग कुरा गर्छौं। आराधनामा, हामी वचनको पाठ र घोषणाद्वारा परमेश्वरले हामीसँग बोल्नु भएको सुन्छौं। हाम्रो आराधनाको शैली जस्तोसुकै भए तापनि, हामीले आराधनामा परमेश्वरको वचनको केन्द्रीयतालाई कहिल्यै गुमाउनु हुँदैन।

► नहेम्याह ८ को समीक्षा गर्नुहोस्। व्यवस्थाको पाठमा मानिसहरूले राखेको मूल्य देखाउने प्रत्येक वाक्यांशको सूची बनाउनुहोस्। यसलाई तपाईंको आजको आराधनामा पवित्रशास्त्रको पढाइसँग तुलना गर्नुहोस्। तपाईंको आराधनामा पवित्रशास्त्रको प्रभाव बढाउन सक्ने एउटा व्यावहारिक कदमबारे छलफल गर्नुहोस्।

आराधनामा प्रार्थनाको महत्त्व

सुनिता[1] एक प्रतिबद्ध ख्रीष्टियान हुन्। उनी स्कुलमा हुँदा पनि हरेक बिहान परमेश्वरसँग एक्लै समय बिताउँथिन्। बिहानको खाजा अघि, उनले बाइबल र प्रार्थनामा समय बिताइन्।

तर अहिले उनी चार सन्तानकी आमा भइसकेकी हुनाले, प्रार्थना गर्न र बाइबल पढ्न धेरै गाह्रो भइरहेको छ। एउटा बच्चा शिशु अवस्थामा छ र रातमा सुनितालाई जगाउँछ। सुनिताले केटाकेटीहरू ब्यूँझनुअघि बिहान ओछ्यानबाट उठ्नका लागि प्रायः सङ्घर्ष गर्ने गरेको पाउँछिन्। रातको समयमा, प्रार्थना र बाइबलमा ध्यान केन्द्रित गर्नलाई तिनी धेरै थकित हुन्छन्।

शनिवार आइपुग्दा सुनिता धेरै खुसी हुन्छिन्। प्रत्येक शनितवार, उनले आराधनाको क्रममा आत्मिक प्रोत्साहन पाउँछिन्, तर हप्ताभर उनी निरुत्साहित हुन्छिन्। उनको भक्तिको जीवन पूर्ण रूपमा असफल भएको उनी महसुस गर्छिन्।

► कृपया सुनितालाई उनको भक्तिपूर्ण जीवनको लागि व्यावहारिक सल्लाह दिनुहोस्।

हामीले यो पाठलाई आराधनामा पवित्रशास्त्रको अध्ययनको महत्त्वबाट सुरु गर्‍यौं। हामी आराधनामा प्रार्थनाको महत्त्व बारेमा अध्ययन जारी राख्नेछौं। पवित्रशास्त्रमा, परमेश्वर हामीसँग बोल्नुहुन्छ; प्रार्थनामा, हामी परमेश्वरलाई जवाफ दिन्छौं। पवित्रशास्त्र र प्रार्थनाले हाम्रो आराधनाको प्रत्येक अङ्गलाई पूर्णरूपमा भरिनुपर्छ।

बाइबलीय आराधनामा सार्वजनिक र व्यक्तिगत प्रार्थना

हामीले देखेका छौं कि भजनसंग्रहको पुस्तक यहूदी आराधनाको लागि भजन पुस्तक थियो। यो यहूदी आराधनाको लागि "प्रार्थना पुस्तक" पनि थियो। भजनसंग्रहरूमा सार्वजनिक आराधना र व्यक्तिगत प्रार्थनाको लागि प्रार्थनाहरू समावेश गरिएको छ। यहूदी आराधनाको लागि सार्वजनिक र व्यक्तिगत दुवै प्रार्थना महत्त्वपूर्ण थियो।

घरमा बस्दा, इमानदार यहूदीहरूले दिनमा तीन पटक प्रार्थना गर्थे (दानिएल ६:१०)।[2] धेरै भजनसंग्रहरू व्यक्तिगत प्रार्थनाहरू हुन्। यी प्रार्थनामा हामी को सट्टा प्रयोग गरेर पहिचान गर्न सकिन्छ। व्यक्तिगत प्रार्थनाको लागि भजनसंग्रहरूको उदाहरणहरू निम्न रूपमा समावेश छन्:

  • भजनसंग्रह १८ – धन्यवादको गीत

  • भजनसंग्रह ३२ – क्षमा पाएकोमा आनन्दको प्रार्थना[3]

  • भजनसंग्रह ३८ – पश्चात्तापको प्रार्थना

  • भजनसंग्रह ४१ – दयाको लागि प्रार्थना

  • भजनसंग्रह ५१ – पश्चात्तापको प्रार्थना

  • भजनसंग्रह ८८ – दुखको समयमा गरिएको एक विलाप

  • भजनसंग्रह ११६ – परमेश्वरको हेरचाहको लागि धन्यवादको गीत

मन्दिरमा, यहूदी आराधकहरू सार्वजनिक प्रार्थनामा एकसाथ सामेल भए। मन्दिरको समर्पणमा, सोलोमनले मानिसहरूमा परमेश्वरको अनुग्रह आउनको लागि राष्ट्रिय प्रार्थनाको नेतृत्व गरे (२ इतिहास ६)। यशैयाले यहूदामा परमेश्वरको सन्देश ल्याए; "मेरो भवन सबै जातिहरूका निम्‍ति प्रार्थनाको घर भनिनेछ" (यशैया ५६:७)। निर्वासन पछि, सभाघरको आराधना व्यवस्थाको पढाइ र प्रार्थनामा केन्द्रित थियो। सभाघरमा सेवा प्रार्थनाको एक श्रृंखलाबाट सुरु भयो।

सुरुको मण्डलीमा हिब्रू प्रार्थनाको ढाँचा जारी थियो। प्रथम शताब्दीका ख्रीष्टियानले घरमा दिनमा तीन पटक प्रार्थना गर्थे। जब ख्रीष्टियानहरू आराधनाको लागि भेला भए, तिनीहरूले एउटै शरीरको रूपमा प्रार्थना गरे। प्रभुको प्रार्थना प्रत्येक आराधना सेवाको भाग थियो। प्रत्येक आराधना सेवामा अन्य प्रार्थनाहरू चढाइन्थ्यो।

आजको आराधनामा प्रार्थना

यदि प्रार्थना बाइबलीय आराधनामा महत्त्वपूर्ण थियो भने, प्रार्थना आज हाम्रो आराधनामा पनि महत्त्वपूर्ण हुनुपर्छ। सार्वजनिक र व्यक्तिगत प्रार्थना दुवै महत्त्वपूर्ण छ।

[4]व्यक्तिगत प्रार्थना ले हामीलाई दाखसँग जोड्छ र हाम्रो आत्मिक जीवनको लागि पोषण प्रदान गर्दछ। व्यक्तिगत प्रार्थनाको कमीले धेरै मण्डलीहरूमा आत्मिक शक्तिको कमीलाई व्याख्या गर्न सक्छ। यदि येशुलाई आफ्नो पृथ्वीको सेवकाइको दौरान व्यक्तिगत प्रार्थनाको समय चाहिन्थो भने, हामी कति बढी आत्मिक पोषण र सेवामा शक्तिको लागि प्रार्थनामा निर्भर छौं।

सार्वजनिक प्रार्थना आराधनाको महत्त्वपूर्ण भाग हो। केही मण्डलीहरूले प्रार्थनामा थोरै ध्यान दिन्छन्। एक जना पास्टरले आफ्नो मण्डलीमा सार्वजनिक प्रार्थनाको कमीलाई यसो भन्दै बचाउ गरे, "आँखा बन्द हुँदा तपाईंले मानिसहरूको चासो राख्न सक्नुहुन्न।"[5] उनी विश्वास गर्थे कि आफूलाई सुन्नेहरूलाई खुसी पार्नु परमेश्वरलाई खुसी पार्नु भन्दा महत्त्वपूर्ण छ।

सामूहिक प्रार्थनाले ख्रीष्टियान जीवन मेरो र परमेश्वरसँगको मात्र मेरो सम्बन्ध हो भन्ने गलत धारणालाई सच्याउछ; हामी शरीरका अङ्ग हौं। जब हामी प्रार्थनाका अनुरोधहरू सुन्छौं र सामूहिक प्रार्थनामा सामेल हुन्छौं, हामी सँगी ख्रीष्टियानको रोग, भावनात्मक चोटहरू र जीवनका परिस्थितिहरूबारे सचेत हुन्छौं। सामूहिक प्रार्थनाले हामीलाई मण्डलीका सदस्यहरू एउटै शरीर हुन् भनी सम्झाउँछ। सामूहिक प्रार्थनाले हामीलाई सम्झाउँछ कि परमेश्वरले मण्डलीलाई शरीरको रूपमा हेरचाह गर्नुहुन्छ।

जसरी आराधना सेवामा पवित्रशास्त्रको प्रयोग गरिनुपर्छ, त्यसरी नै आराधना सेवामा प्रार्थना पनि चढाइराख्नु पर्छ। सेवामा परमेश्वरको उपस्थितिलाई स्वागत गर्ने सुरुको प्रार्थनाबाट, मानिसहरूका आवश्यकताहरूको लागि प्रार्थनाको विशेष समयसम्म, सदस्यहरू संसारमा सेवा गर्न छुट्टिदा आशीर्वादको समापन प्रार्थनासम्म, प्रार्थनाले हाम्रो आराधनामा ध्यान केन्द्रित गर्नुपर्छ।


[1]सुनिताको कथा Keith Drury बाट लिइएको हो, The Wonder of Worship (Fishers, IN: Wesleyan Publishing House, 2002), 17।
[2]दानिएलको अभ्यास इमानदार यहूदीहरूमाझ सामान्य थियो।
[3]यो भजनसंग्रह सम्भवतः भजनसंग्रह 51 मा दाऊदको पश्चात्ताप पछि तुरुन्तै रचना गरिएको थियो।
[4]

"धेरै ख्रीष्टियानहरू व्यक्तिगत भक्ति गर्नुभन्दा त्यसमा विश्वास मात्र गर्छन्।"

किथ ड्ररी

[5]Keith Drury मा उद्धृत गरिएको, The Wonder of Worship (Fishers, IN: Wesleyan Publishing House, 2002), 28।

आराधनामा प्रार्थनालाई केन्द्रविन्दु बनाउनु

[1]हामीले प्रार्थनालाई सार्वजनिक आराधनाको अझ अर्थपूर्ण भाग बनाउन सक्ने केही व्यावहारिक तरिकाहरू के-के हुन्? यहाँ छ वटा व्यावहारिक सुझावहरू छन्।

आफ्नो व्यक्तिगत प्रार्थनाको जीवनलाई मलजल गर्नुहोस्

पहिले आफूले आराधना नगरेसम्म कोही पनि अरूलाई आराधनामा अगुवाइ गर्न तयार भएको हुँदैन। कोही पनि सार्वजनिक प्रार्थनाको अगुवाइ गर्न तयार हुँदैन जबसम्म उसले पहिले आफूले व्यक्तिगत रूपमा प्रार्थना गरेको हुँदैन। हामीले व्यक्तिगत प्रार्थनाको जीवन विकास गरेपछि मात्र हामी सार्वजनिक प्रार्थनामा अगुवाइ गर्न सुसज्जित हुन्छौँ। एउटा आराधना अगुवाको रूपमा, दैनिक व्यक्तिगत प्रार्थनाको अनुशासनमा आफैलाई प्रतिबद्ध गर्नुहोस्।

कसरी प्रार्थना गर्ने सिक्नुहोस्

येशुका चेलाहरूले भने, "हामीलाई पनि प्रार्थना गर्न सिकाउनुहोस्‌" (लूका ११:१)। जवाफमा, येशुले 'प्रभुको प्रार्थना' भनेर चिनिने नमुना प्रार्थना गर्न सिकाउनुभयो। प्रार्थना गर्न सिक्न सकिन्छ।

केही हदसम्म, प्रार्थना गर्ने कुरा परमेश्वरका प्रत्येक छोराछोरीको लागि स्वाभाविक हो; तथापि, प्रार्थना गर्न सिक्न सकिन्छ। एउटा सानो बच्चाले बोल्ने कक्षा नलिइकन कुरा गर्न सिक्छ। यद्यपि, बच्चा बढ्दै जाँदा, तिनीहरूले भाषा, शब्दावली, र शिष्ट बोलीको बारेमा थप जान्दछन्। त्यसै गरी, एउटा जवान ख्रीष्टियान स्वाभाविक रूपमा परमेश्वरसँग कुरा गर्न चाहन्छ, तर हामी विश्वासमा परिपक्व हुँदैजाँदा, प्रार्थना प्रतिको हाम्रो समझ र मूल्याङ्कन गहिरिएर गएको हुन्छ।

प्रार्थनाको बारेमा लेखिएका पुस्तकहरूले प्रार्थना प्रतिको तपाईंको बुझाइलाई गहिरो बनाउन सक्छ। प्रार्थनाको बारेमा लेखिएका पुस्तकहरू जसले हरेक ख्रीष्टियानलाई फाइदा पुर्‍याउन सक्छ:

  • E.M. Bounds द्वारा लिखित Power Through Prayer

  • Andrew Murray द्वारा लिखित With Christ in the School of Prayer

  • Wesley Duewel द्वारा लिखित Mighty Prevailing Prayer

पवित्रशास्त्रका वचनहरूद्वारा प्रार्थना गर्नुहोस्

पवित्रशास्त्रमा भन्दा प्रार्थना सिक्नको लागि कुनै राम्रो ठाउँ छैन। प्रार्थनाको पहिलो विद्यालय बाइबल हो। भजनसंग्रह र अन्य बाइबलीय प्रार्थनाहरूले हामीलाई प्रभावकारी रूपमा प्रार्थना गर्न सिकाउँछन्। मण्डली इतिहासमा, महान् ख्रीष्टियानहरूले आफ्नो प्रार्थना पवित्रशास्त्रले भरेका छन्। बाइबलका केही महान् प्रार्थनाहरू निम्नानुसार समावेश छन्:

  • आराधनाको प्रार्थना प्रस्थान १५:१-१८, १ शमूएल २:१-१०, १ इतिहास २९:११-२०, लूका १:४६-५५, लूका १:६८-७९, १ तिमोथी ६:१५-१६, र प्रकाश ४:८-५:१४।

  • पाप स्वीकारको प्रार्थना एज्रा ९:५-१५, भजनसंग्रह ५१, र दानिएल ९:४-१९।

  • अन्तरबिन्तीको प्रार्थना उत्‍पत्ति १८:२३-३३, प्रस्थान ३२:११-१४, एफिसी १:१५-२३, र फिलिप्पी १:९-११।

परमेश्वरसँग सञ्चार गर्नमा केन्द्रित हुनुहोस्

धेरै पटक, हाम्रो प्रार्थनाले परमेश्वरलाई अनुरोध मात्र गर्दछ। केही मानिसहरूले परमेश्वरलाई अनुरोधहरूको सूची नै दिन्छन्, अघिल्लो दिनको अनुरोधहरूको जवाफ दिनुभएकोमा उहाँलाई धन्यवाद दिन्छन्, र त्यसपछि "आमेन" भन्छन्। साँचो प्रार्थना अनुरोधहरूको सूची भन्दा बढी हुनुपर्छ; प्रार्थना भनेको परमेश्वरसँग सञ्चार गर्नु हो।

प्रभुको प्रार्थनाले प्रार्थना गर्नको लागि एउटा नमुना प्रदान गर्दछ (मत्ती ६:९-१३)। प्रभुको प्रार्थनामा यी कुराहरू समावेश थिए:

  • आराधना: "हे हाम्रा पिता, जो स्‍वर्गमा हुनुहुन्‍छ, तपाईंको नाउँ पवित्र होस्‌।"

  • समर्पण: "तपाईंको राज्‍य आओस्‌। तपाईंको इच्‍छा स्‍वर्गमा जस्‍तो छ, त्‍यस्‍तै यस पृथ्‍वीमा पूरा होस्‌।"

  • निवेदन: "हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्‌।"

  • पाप स्वीकार: "हाम्रा अपराध क्षमा गर्नुहोस्, जसरी हामीले आफ्‍ना अपराधीहरूलाई क्षमा गरेका छौं।"

  • मार्गनिर्देशनको लागि प्रार्थना: "हामीलाई परीक्षामा पर्न नदिनुहोस्, तर दुष्‍टबाट छुटाउनुहोस्‌ किनभने राज्‍य,"

  • प्रशंसा: "पराक्रम र महिमा सदासर्वदा तपाईंकै हुन्, आमेन।"

धेरै ख्रीष्टियानले चार-भागको ढाँचा पछ्याउँछन् जसमा येशुले सिकाउनु भएको नमुना प्रार्थनामा प्रत्येक भाग समावेश छ: बढ़ाइ, पाप स्वीकार, धन्यवाद र बिन्ती।

बढ़ाइ

प्रार्थनामा आराधना र प्रशंसालाई कहिल्यै हटाउनु हुँदैन। प्रशंसाको साथ सुरु गरेर, हामी सुनिश्चित गर्छौं कि हाम्रो प्रार्थना सहायता पाउँनको लागि अनुरोध गरिएको सूची भन्दा बढी हो। भजनसंग्रहले प्रार्थनाको लागि नमुना प्रदान गर्दछ जुन प्रशंसामा आधारित छ। विलापका भजनसंग्रहहरूमा पनि प्रशंसा समावेश छ। यदि प्रार्थना साँचो आराधना हो भने, यसमा परमेश्वरको बढ़ाइ समावेश हुनेछ।

पाप स्वीकार

यशैया ६ ले देखाउँछ कि जब हामी परमेश्वरलाई देख्छौं (बढ़ाइ), हामी आफैलाई देख्नेछौं। जब हामी आफैलाई परमेश्वरको पूर्ण शुद्धताको प्रकाशमा देख्छौं, हामी पाप स्वीकारको आवश्यकता बुझ्छौं। कुनै पनि ख्रीष्टियान, जतिसुकै परिपक्व भए पनि, परमेश्वरसँगको उसको यात्रा जतिसुकै गहिरो भए पनि, ऊ त्यो ठाउँमा पुग्नु हुँदैन जहाँ उसले भन्छ, "मलाई पाप स्वीकार गर्न आवश्यक छैन। मेरो सिद्धतामा कुनै शङ्का छैन।" येशुले आफ्ना चेलाहरूलाई भन्नुभयो, "तिमीहरूले प्रार्थना गर्दा यसो भन... हाम्रा पाप हामीलाई क्षमा गरिदिनुहोस्, किनकि हामी पनि हाम्रा विरुद्धमा अपराध गर्नेहरूलाई क्षमा गर्दछौं" (लूका ११:४)। साँचो आराधनामा पापको स्वीकारोक्ति समावेश हुन्छ।

धन्यवाद

बढ़ाइ गर्दा उहाँ को हुनुहुन्छ भनेर परमेश्वरको प्रशंसा गरिन्छ; धन्यवाद दिने कार्यले हाम्रो संसारमा उहाँले के गरिरहनुभएको छ भनेर त्यसको लागि परमेश्वरको प्रशंसा गर्दछ। धन्यवाद दिने कार्यले हरेक असल दान र हरेक सिद्ध वरदान माथिबाट आएको हो भनी मान्यता दिन्छ (याकूब १:१७)। धन्यवाद दिने कार्यमा, उहाँले हाम्रो जीवनमा के गर्नुभएको छ भनेर हामी परमेश्वरलाई धन्यवाद दिन्छौं। १० कुष्ठरोगीको कथाले धन्यवाद दिनुको महत्त्वलाई देखाउँछ (लूका १७:१२-१९)।

बिन्ती

प्रभुको प्रार्थनामा, येशुले देखाउनु भयो कि परमेश्वरले आफ्ना छोराछोरीहरूको बिन्तीको कदर गर्नुहुन्छ। परमेश्वर पृथ्वीको शासकजस्तो हुनुहुन्न जो एक साधारण नागरिकको आवश्यकता पूरा गर्न पनि दिक्क मानेर व्यस्त हुन्छ। यसको सट्टामा, आफ्ना छोराछोरीहरूलाई असल वरदानहरू दिनुहुने परमेश्वर सिद्ध पिता हुनुहुन्छ। प्रभुको प्रार्थनामा, हामीलाई सामान्य आवश्यकताहरू ("हामीलाई आज हाम्रो दैनिक भोजन दिनुहोस्‌") र आत्मिक मार्गदर्शनको लागि ("हामीलाई परीक्षामा पर्न नदिनुहोस्") प्रार्थना गर्न प्रोत्साहित गरिन्छ।

प्रभुको प्रार्थनामा, हामीले अनुरोध गर्दा हाम्रो इच्छा परमेश्वरलाई समर्पण गर्न सिक्छौं। भरोसा गर्ने छोराछोरीहरूको रूपमा, हामी उहाँको इच्छा सिद्ध छ भनेर सिक्छौं। उहाँको "हुन्न" भन्ने जवाफ हाम्रो भलाइको लागि हो। प्रार्थना हाम्रो इच्छा पूरा गर्न परमेश्वरलाई जबरजस्ती गर्नको लागि गरिने चमत्कारी औजार होइन। प्रार्थना एक आत्मिक अनुशासन हो जसले हामीलाई परमेश्वरको इच्छामा आनन्दपूर्ण समर्पणतामा ल्याउँछ।

आफ्नो प्राथमिकताहरूलाई परमेश्वरको प्राथमिकताहरूसँग मिलाउनुहोस्।

प्रार्थनाले प्रायः हाम्रो लागि सबैभन्दा महत्त्वपूर्ण कुरा देखाउँछ। हाम्रो सबैभन्दा साँचो हृदयको प्रार्थना हुनको लागि, शारीरिक आवश्यकता वा आत्मिक आवश्यकताहरू कुन कुराले प्रेरित गर्छ?

थेसलोनिकीका ख्रीष्टियानहरूका लागि आफ्नो प्रार्थनामा पावलले भने, "यस हेतुले हामी तिमीहरू सबैका निम्‍ति निरन्‍तर प्रार्थना पनि गर्छौं, कि हाम्रा परमेश्‍वरले तिमीहरूलाई आफ्‍नो बोलावटको योग्‍य बनाऊन्, र हरेक असल उद्देश्‍य र विश्‍वासको कामलाई उहाँको शक्तिद्वारा पूर्ण गरिदेऊन्, ताकि हाम्रा परमेश्‍वर र प्रभु येशू ख्रीष्‍टको अनुग्रहअनुसार हाम्रा प्रभु येशूको नाउँ तिमीहरूमा महिमित होस्, र तिमीहरू उहाँमा" (२ थेसलोनिकी १:११-१२)। पावलको सबैभन्दा ठूलो चासो परमेश्वरले उनीहरूको जीवनमा आफ्नो उद्देश्य पूरा गर्नुहुन्छ भन्ने कुरामा थियो। यी ख्रीष्टियनहरूलाई सताइएको थियो, तर पावलको प्रार्थना परमेश्वरसँग तिनीहरूलाई दुःखबाट बचाउनको लागि थिएन। बरु, उनले प्रार्थना गरे कि तिनीहरूमा प्रभु येशुको नाउँ महिमित होस्।

जसरी हाम्रा बिन्तीहरूले हाम्रा प्राथमिकताहरू देखाउँदछन्, त्यसरी नै हाम्रो धन्यवाद दिने कार्यले हाम्रा प्राथमिकताहरू देखाउँदछन्। यदि हाम्रो धेरैजसो धन्यवाद भौतिक आशिष्‌हरूको लागि मात्र हो भने, भौतिक आशिष्‌हरूको नै हामीले सबैभन्दा महत्त्वपूर्ण मानेका हुन सक्छौं। यदि हाम्रो धेरैजसो धन्यवाद दिने कार्य हाम्रो आत्मिक जीवनमा परमेश्वरको सहायताको लागि हो भने, हाम्रो लागि आत्मिक वृद्धि भनेको सबैभन्दा महत्त्वपूर्ण कुरा हो।

थेसलोनिकीहरूका निम्ति आफ्नो प्रार्थनामा, पावलले परमेश्वरलाई धन्यवाद दिए किनभने तिनीहरूको विश्वास प्रशस्त मात्रामा बढिरहेको थियो, र तिनीहरूको एकअर्काप्रतिको प्रेम बढ्दै गइरहेको थियो (२ थेसलोनिकी १:३)। उनले दिएका सबैभन्दा ठूलो धन्यवादको प्रार्थना क्षणिक आशिष्‌हरूको लागि थिएन; उनको सबैभन्दा ठूलो धन्यवादको प्रार्थना तिनीहरूको आत्मिक वृद्धिको लागि थियो। तपाईंले धन्यवादको प्रार्थना गर्नको लागि सबैभन्दा ठूलो कारण, आर्थिक आशिष् हो या तपाईंको जीवनमा भएको आत्मिक वृद्धि हो?

परमेश्वरसँग कुरा गर्नुहोस्, मण्डलीसँग होइन

पवित्रशास्त्र मार्फत, परमेश्वरले मण्डलीसँग बोल्नुहुन्छ। प्रार्थनामा, मण्डलीले परमेश्वरसँग बोल्छ। सार्वजनिक प्रार्थनाको समय त्यो अवसर होइन जहाँ अगुवाले (प्रार्थना मार्फत)विश्वासीहरूलाई आफ्नो कुरा बताउँछ! प्रार्थनामा परमेश्वरसँग बोलिन्छ।

येशुले आफ्ना चेलाहरूलाई साँचो आराधनाको भावमा प्रार्थना गर्ने तरिका बताउनुभयो:

जब तिमी प्रार्थना गर्दछौ तब ढोंगीहरूजस्‍ता नहोओ, किनकि तिनीहरू सभाघरहरूमा र सड़कहरूका कुनामा मानिसहरूले देखून्‌ भनी खड़ा भएर प्रार्थना गर्न मन गर्दछन्‌। साँच्‍चै, म तिमीहरूलाई भन्‍दछु, तिनीहरूले आफ्‍नो इनाम पाइसकेका छन्‌। तर तिमी जब प्रार्थना गर्दछौ, आफ्‍नो भित्री कोठामा पस, र ढोका थुनेर गुप्‍तमा हुनुहुने तिम्रा पितालाई प्रार्थना गर, र गुप्‍तमा देख्‍नुहुने तिम्रा पिताले तिमीलाई इनाम दिनुहुनेछ। र प्रार्थना गर्दा अन्‍यजातिहरूजस्‍ता व्‍यर्थै नबरबराओ। किनभने धेरै शब्‍दमा बोल्‍दा तिनीहरूको सुनाइ हुन्‍छ भन्‍ने तिनीहरू विचार गर्दछन्‌। यसकारण तिनीहरूजस्‍ता नहोओ। किनभने तिमीहरूले उहाँसँग माग्‍नभन्‍दा अघिबाटै तिमीहरूलाई कुन-कुन कुराको खाँचो छ, सो तिमीहरूका पिता जान्‍नुहुन्‍छ (मत्ती ६:५-८)।

साँचो प्रार्थनाले परमेश्वर वा मण्डलीलाई प्रभावित पार्ने प्रयास गर्दैन; यसले हाम्रो स्वर्गीय पितासँग सरल र स्पष्ट रूपमा बोल्दछ।

► तपाईंको व्यक्तिगत प्रार्थनाको जीवनमा बढ्नको लागि तपाईंले के गर्नुहुनेछ? तपाईंले आफ्नो मण्डलीमा प्रार्थनालाई सार्वजनिक आराधनाको रूपमा अझ अर्थपूर्ण अंश कसरी बनाउनुहुनेछ?


[1]

"ख्रीष्टियान जीवनको मुख्य तत्व भनेको हाम्रो व्यक्तिगत अस्तित्वको केन्द्रको रूपमा परमेश्वरको आराधना र बढ़ाइको दैनिक अनुभव हो।"

डेनिस किन्ल

परमेश्वरको वचनको प्रतिक्रियाको रूपमा भेटी चढाँउनु

प्रार्थना भनेको परमेश्वरको वचन प्रतिको स्वाभाविक प्रतिक्रिया हो। यस कारणले, हामीले पवित्रशास्त्र पाठ र प्रार्थनाको साथ उपदेशलाई पछ्याउनु पर्छ। प्रार्थनामा, हामीले परमेश्वरको वचनबाट प्राप्त गरेको सत्यतालाई प्रतिक्रिया दिन्छौं; हामी आज्ञाकारितामा प्रतिबद्ध छौं।

भेटी पनि परमेश्वरको वचनको प्रतिक्रिया हो। पुरानो करारमा, बलिदान (भेटी) व्यवस्था (परमेश्वरको वचन) प्रति आराधकको प्रतिक्रिया थियो। नयाँ करारमा, भेटि दिने कार्य हाम्रो सम्पूर्ण अस्तित्व परमेश्वरमा समर्पण भएको प्रतीक हो।

भेटी दिने कार्य आराधनाको अङ्ग हो। भजनरचयिताले आराधकहरूलाई भेटी लिएर उहाँको मन्दिरमा प्रवेश गर्न आह्वान गरे (भजनसंग्रह ९६:८)। हिब्रूका लेखकले आराधनालाई दानसँग जोडेका छन्; "भलाइ गर्न र आफूसँग भएका कुरा बाँड़चूँड़ गर्न नभुल, किनकि यस्‍तै बलिहरूमा परमेश्‍वर प्रसन्‍न हुनुहुन्‍छ" (हिब्रू १३:१६)। पावलले फिलिप्पीहरूलाई भनेका थिए कि उनलाई तिनीहरूले दिएको उपहार उनको निम्ति सुगन्धित भेटी थियो, एउटा ग्रहणयोग्य र परमेश्वरलाई मनपर्ने बलिदान (फिलिप्पी ४:१८)।

आराधनापूर्वक दान दिने विषयको ईश्वरत्रशास्त्र

मण्डली जानेहरू धेरै जनाले भेटीलाई मण्डलीका बिलहरू तिर्ने माध्यमको रूपमा हेर्छन्। यसले भेटीलाई आत्मिक आराधनाको सट्टा आर्थिक लेनदेन बनाउँछ। ख्रीष्टियान भण्डारेपनलाई आराधनाको भागको रूपमा बुझ्नुपर्छ। निम्न सिद्धान्तहरूमध्ये प्रत्येक हाम्रो निम्ति दान दिने कार्य ईश्वरत्रशास्त्रको भाग हुनुपर्छ।

आराधनापूर्वक दिइएको दान अनुग्रहले उत्प्रेरित हुन्छ, डरले होइन।

आराधनाको कार्यको रूपमा दान दिन कुरा परमेश्वरको अनुग्रहको लागि कृतज्ञताबाट प्रेरित हुन्छ। पावलले कोरिन्थीहरूलाई यरूशलेमका खाँचोमा परेका ख्रीष्टियनहरूलाई मद्दत गर्न आग्रह गरे। उनले तिनीहरूलाई यसो भनेर धम्की दिएनन्, "तिमीहरूले दिनुपर्छ किनकि तिमीहरूलाई पनि कुनै दिन सहायता चाहिन्छ।" बरु, उनले प्रशंसाको साथ आफ्नो आग्रहलाई समाप्त गरे, "उहाँको वर्णन गर्न नसक्‍ने वरदानको निम्‍ति परमेश्‍वरलाई धन्‍यवाद होस्‌" (२ कोरिन्थी ९:१५)। तिनीहरूको दान परमेश्वरको अनुग्रहको उपहारको लागि धन्यवादद्वारा उत्प्रेरित हुनेछ। यदि भेटी दिने कार्य साँचो आराधना हो भने, यो इच्छुक हृदयबाट आउँछ।

आराधनापूर्वक दान दिने कार्य प्रेमले प्रेरित हुन्छ, इनाम होइन।

साँचो आराधना परमेश्वरप्रतिको प्रेमद्वारा प्रेरित हुन्छ, इनामको चाहनाले होइन। हामीले दिने मौद्रिक भेटीहरू परमेश्वरको निम्ति हामी आफैलाई भेटीको रूपमा दिइएको कुराको एउटा प्रतीक हो। पावलले माकेडोनियन ख्रीष्टियानको प्रशंसा गरे किनभने "तिनीहरूले पहिले आफैलाई प्रभुमा अर्पण गरे, र परमेश्‍वरको इच्‍छाअनुसार हामीलाई दिए" (२ कोरिन्थी ८:५)। तिनीहरूले दिएका भेटीहरू परमेश्वर र तिनीहरूको इलाकामा सुसमाचार ल्याउने प्रेरितहरूका लागि तिनीहरूको प्रेमको प्रतीक थियो।

जसरी सङ्गीत वा अन्य कुनै आराधनाको गतिविधि गलत उद्धेश्यले गर्न सकिन्छ, दान दिने कार्य परमेश्वरप्रतिको प्रेमको सट्टा इनामको चाहनाले प्रेरित हुन सक्छ। केही प्रचारकहरूले वाचा गर्छन् कि आर्थिक भेटीहरू दिएकोमा परमेश्वरले आर्थिक आशिष्‌हरूद्वारा फेरि त्यसलाई फिर्ता गर्नुहुनेछ। तिनीहरूको बाइबलीय सन्दर्भबाट पाठहरूलाई घुमाएर, तिनीहरूले परमेश्वरलाई दिएको भेटीहरूको लागि सय गुणा इनाम दिने वाचा गर्छन्। यस्तो प्रकारले दान दिने कार्य प्रेमिलो आराधनाको कार्य हुनेछैन, तर यो एउटा संसारिक लटरी टिकट किन्नुजस्तै हुनेछ जसमा दिने व्यक्तिले ज्याकपोटमा पुग्ने आशा राख्छ! यस प्रकारको दानलाई बाइबलले कतै पनि प्रशंसा गरेको छैन।

बरु, बाइबलले मरियमले दिएको कुराको प्रशंसा गर्छ। जब उनले येशुलाई अभिषेक गरिन्, त्यहाँ कुनै इनाम थिएन। उनले आफ्नो बचतको फिर्ता पाउने कुराको कुनै विचार नगरी येशुको शिरमा खन्याइन्। उनले गरेको नोक्सानी देखेर चेलाहरू पनि रिसाए। केवल येशुले उनको दानलाई देख्नुभयो र प्रशंसा गर्नुभयो, एउटा दान जुन केवल प्रेमद्वारा प्रेरित थियो (मत्ती २६:६-१३)।

आराधनापूर्वक दान दिने कार्य परमेश्वरप्रतिको प्रेमले मात्र होइन, तर अरूप्रतिको प्रेमले पनि प्रेरित हुन्छ। यूहन्नाले आफ्ना पाठकहरूलाई सम्झना गराए कि साँचो प्रेम शब्दहरू भन्दा बढी हुन्छ; यो व्यवहारिक कार्य हो। पावलको लागि फिलिप्पीहरूको प्रेम तिनीहरूले दिएको दानद्वारा देखियो। विश्वासीले अरूहरूप्रति गरेको प्रेम उनीहरू दिने दानमा देखिन्छ।

कसैसित संसारको धन-सम्‍पत्ति छ, र पनि आफ्‍ना दाजुभाइलाई खाँचोमा परेको देख्‍दा उनीहरूप्रति आफ्‍नो मन कठोर पार्छ भने, परमेश्‍वरको प्रेमले कसरी त्‍यसमा वास गर्छ? मेरा साना बालकहरू, वचन वा मुखले मात्र हामी प्रेम नगरौं, तर काम र सत्‍यताले प्रेम गरौं (१ यूहन्ना ३:१७-१८)।

आराधनापूर्वक दिइएको दान उदारता हो, कन्जुस्याइँ होइन।

पावलले कोरिन्थीको मण्डलीलाई उदारतापूर्वक दान दिने कुरामा चुनौती दिए जब उनले भने, "तिमीहरूको ठूलो उदारताको निम्‍ति हरेक कुरामा तिमीहरू धनी तुल्‍याइनेछौ, जुन उदारताले हामीद्वारा परमेश्‍वरमा चढ़ाउने धन्‍यवाद उत्‍पन्‍न गराउनेछ। यस सेवाको कामले सन्‍तहरूको अभाव पूरा हुन्‍छ। त्‍यति मात्र होइन, परमेश्‍वरप्रति धेरै धन्‍यवादका भावना उर्लेर आउँछन्‌" (२ कोरिन्थी ९:११-१२)। दान दिने कार्य साँचो आराधना हुनको लागि, यो उदारले पूर्ण हुनुपर्छ।

आराधनापूर्वक दान दिने कार्य नम्रताले उत्प्रेरित हुन्छ, घमण्डले होइन।

► मत्ती ६:१-४ पढ्नुहोस्।

डाँडाको उपदेशमा, येशुले दान दिने कार्यलाई गलत उद्धेश्यले प्रेरित हुने कुरामा चेतावनी दिनुभयो। कोही अरूबाट प्रशंसा प्राप्त गर्नलाई दान दिन्छन्; तिनीहरूको इनाम प्रशंसा हो। "तिनीहरूले आफ्‍ना इनाम पाइसकेका छन्‌।" कसै-कसैले आफ्नो नम्रताको प्रशंसा गर्दै चुपचाप दिन्छन्; तिनीहरूको इनाम आत्म-सन्तुष्टि हो। येशुले भन्नुभयो, "तिम्रो दाहिने हातले के गरिरहेछ सो देब्रे हातले थाहा नपाओस्‌।" आफ्नो उदारतामा आफैलाई प्रशंसा नगर्नुहोस्। बरु, स्वर्गमा हुनुहुने तपाईंको पिताले चाहानुभए अनुसार उहाँलाई हेर्न र इनाम दिन अनुमति दिनुहोस्।

आनन्दपूर्वक दान दिनुको कथा

जोन वेस्लीले भर्खरै मात्र आफ्नो कोठाको लागि तस्बिरहरू किनेका मात्र के थिए एक जना नोकरनी उनको ढोकामा आइन्। त्यो चिसो दिन थियो र तिनले पातलो गाउन मात्र लगाएकी उनले देखे। उनले तिनलाई कोट किन्नको लागि केही पैसा दिन आफ्नो खल्तीमा हात पुर्‍याए, र उनले थोरै पैसा बाँकी रहेको पाए। उनले कराएर भने, "मैले मेरो भित्तालाई पैसाले सजाएको छु जसले यो गरिब महिलालाई चिसोबाट बचाउन सक्छ!"

वेस्लीले आफ्नो खर्च सीमित गर्न थाले ताकि उनीसँग गरिबहरूलाई दिनको लागि पैसा होस्। आफ्नो दैनिकी अभिलेखमा, उनले लेखे कि एक वर्षको उनको आम्दानी ३० पाउण्ड थियो, र उनको जीवनयापनको खर्च २८ पाउण्ड थियो। त्यसैले उनीसँग २ पाउण्ड दान दिनको लागि थियो। अर्को वर्ष, उनको आम्दानी दोब्बर भयो, तर उनीले अझै २८ पाउण्डमा नै आफ्नो जीवनयापन गरे र ३२ पाउण्ड दान दिए। तेस्रो वर्षमा, उनको आम्दानी ९० पाउण्ड पुग्यो; फेरि उनले २८ पाउण्डमा नै आफ्नो जीवनयापन गरे, ६२ पाउण्ड दान दिए। चौथो वर्षमा, उनले १२० पाउण्ड कमाए, फेरि २८ पाउण्डमा नै आफ्नो जीवनयापन गरे, र ९२ पाउण्ड गरिबलाई दिए।

वेस्लीले ख्रीष्टियानले दशांश मात्र नभई त्यो भन्दा बेसी दिनु पर्छ भनी प्रचार गरे। आम्दानी बढेसँगै हाम्रो दान दिने कार्य पनि बढ्नुपर्छ भन्ने उनको मान्यता थियो। उनले जीवनभर यो अभ्यास गरे। जब उनको आम्दानी हजारौं पाउन्डमा बढ्यो, त्यसबेला पनि उनले सरल जीवन बिताए र उब्रेको पैसा दिए। एक वर्ष उनको कमाइ १,४०० पाउण्ड भन्दा बढी थियो; उनले ३०[1] पाउण्ड बाहेक सबै दान दिए। उनले आफ्नो जीवनकालमा कमाएको ३०,००० पाउण्ड मध्ये धेरैजसो नै दान दिए।[2]

यस कथाको मुख्य विषयवस्तु गरिबीको लागि कानुनी आदेश होइन! मुख्य वषयवस्तु आनन्दको भरिपुरी र परमेश्वरप्रतिको इच्छुक आज्ञाकारिता हो। परमेश्वरले सबैलाई जोन वेस्लीलाई दिए जस्तै आम्दानी दिनुहुन्न; परमेश्वरले सबैलाई जोन वेस्लीलाई जस्तै समान दरमा दान दिन बोलाउनु हुन्न। परीक्षा यो होइन कि, "के मैले अरूले जत्तिकै भेटी दिइरहेको छु?" परीक्षा यो हो, "के म परमेश्वरलाई आनन्दले पूर्ण आज्ञाकारितामा दिइरहेको छु?" परमेश्वरले हामीलाई बलिदान दिएर आराधना गर्न बोलाउनुहुन्छ।

दान दिने अभ्यास

किनभने दान दिनु भनेको आराधनाको कार्य हो, भेटीहरू सङ्कलन गर्दा आराधनाको भावलाई योगदान पुर्‍याउने गर्ने तरिकाले गर्नुपर्छ। निम्न व्यावहारिक सोचहरूलाई विचार गर्नुहोस्।

भेटीमा जोड दिने कार्य आराधना हुनुपर्छ, आवश्यकतामा होइन।

हुनसक्छ धेरै ख्रीष्टियानहरूले भेटीलाई मुख्य रूपमा मण्डलीको बिलहरू तिर्ने माध्यमको रूपमा देख्नुको कारण यो हो कि भेटी दिनुलाई बिलहरू तिर्नुमा जोड दिइएको हुन्छ! यो झन् त्यतिबेला खराब हुन्छ जतिबेला मन खोलेर भेटी नदिएकोले आर्थिक सङ्कटले हामीलाई यसो भन्न बाध्य गराउँछ, "मण्डली बन्द हुन‍ेछ" वा "हामीसँग मिसनरी पठाउने पैसा छैन"। कहिलेकाहीं पास्टरले भेटी मागेकोमा माफी माग्नुहुन्छ; "म चाहन्छु कि हामीले तपाईंसँग पैसा माग्नु पर्दैन।" बरु, भेटी दिने कार्य आनन्दपूर्ण धन्यवादको अभिव्यक्ति हुनुपर्छ।

भेटी लिँदा आराधनामा जोड दिइनुपर्छ। भेटीलाई पवित्रशास्त्रको वचनका साथ प्रस्तुत गर्न सकिन्छ जसले आराधकहरूलाई भेटीको उद्देश्यको सम्झना दिलाउँछ। २ कोरिन्थी ८: ९ र ९:७, प्रस्थान २५:२, प्रेरित २०:३५, र यूहन्ना ३:१६ जस्ता पवित्रशास्त्रका वचनहरूले भेटी दिनको लागि साँचो प्रेरणाको संकेत गर्दछ।

भेटी दिने कार्य आराधना सेवाको भाग हुनुपर्छ।

कुनै-कुनै संस्कृतिहरूमा मानिसहरूलाई सेवा बाहेकका क्षेत्रहरूमा तिनीहरूको भेटी दिन प्रोत्साहित गर्नु सामान्य हुन्छ। यो देखावटी हुनबाट जोगिन वा सेवामा समय बचत गर्ने इच्छाबाट प्रेरित हुन सक्छ, यसले दानलाई आराधनाबाट अलग गर्छ। भेटीलाई आराधना सेवाको भागको रूपमा लिनुले आराधकहरूलाई दान दिने कार्य आराधनाको कार्यको रूपमा बुझ्न मद्दत गर्दछ।

बलिदान भनेको परमेश्वरप्रतिको हाम्रो प्रतिक्रिया भएकोले, तपाईंले वचनको भागको अघिको सट्टा पछि भेटी उठाउने विचार गर्न सक्नुहुन्छ। यसले भन्छ, "हामी परमेश्वरलाई उहाँको वचनको प्रतिक्रिया स्वरूप भेटी दिइरहेका छौं।"

आमाबाबुले आफ्ना छोराछोरीहरूलाई आराधनामा दान दिने कार्यसँग परिचित गराउनुपर्छ।

जसरी हामीले हाम्रा छोराछोरीहरूलाई गाउन, प्रार्थना गर्न, र पवित्रशास्त्र पढेको र प्रचार गरिएको सुन्न सिकाउँछौं, हामीले हाम्रा छोराछोरीहरूलाई खुसीसाथ दिन सिकाउनुपर्छ। हाम्रा छोराछोरीहरूले दान दिनु भनेको प्रशंसाको आनन्ददायी कार्य हो भनी सिके भने, तिनीहरू पनि आराधक बन्छन्।

भेटीको समयमा बजाइने सङ्गीत आराधनामय हुनुपर्छ।

यदि भेटी दिनु आराधना हो भने, भेटीको समयमा बजाइने सङ्गीत आराधनामय हुनुपर्छ। यो सङ्गीत वाद्यवाद्यनको वा मौखिक गायन हुन सक्छ; यो एकल वा सामूहिक हुन सक्छ; यो शान्त र चिन्तनशील वा आनन्दपूर्ण र उत्साहपूर्ण हुन सक्छ; शैली जस्तोसुकै भए पनि, यो आराधनाको एक भाग हुनुपर्छ। भेटीको समयमा सङ्गीत दिनेहरूले आत्मिक मार्गदर्शनको लागि प्रार्थना गर्नुपर्छ जसरी आराधनाका अगुवाले आत्मिक मार्गदर्शनको लागि प्रार्थना गर्छन्। आराधनाको कुनै पनि भागलाई हल्का रूपमा लिनु हुँदैन।

भेटी उठाउने कार्य अर्पणको प्रार्थना पछि हुनुपर्छ।

भेटी परमेश्वरको लागि दिइने दान भएकोले, अर्पणको प्रार्थना पछि उठाउनुपर्छ। यसले आराधकहरूलाई दिनुको उद्देश्यलाई सम्झना गराउँछ र आराधनाको रूपमा दान दिनुको कारणलाई स्पष्ट प्रमाण प्रदान गर्दछ।

मण्डलीका अगुवाहरू मानिसहरूका भेटीहरूको असल भण्डारे हुनुपर्छ।

भेटी दिँदा, आराधकहरूले आफ्ना दानहरू मण्डलीका अगुवाहरूको भण्डारेपनलाई सुम्पिरहेका हुन्छन्। मण्डलीका अगुवाहरू दानहरूको राम्रो हेरचाह गर्ने हुनुपर्छ। पैसाको प्रयोगको लागि मण्डलीलाई लेखा देखाउँने कुराले स्पष्ट पार्छ कि भेटीहरू परमेश्वरको कामको लागि प्रयोग भइरहेको छ। यसले मण्डलीमा दान दिनलाई प्रोत्साहित गर्छ र नेतृत्वमा बेइमानीको परिक्षालाई कम गर्छ। ख्रीष्टियान अगुवाहरूलाई अविश्वासको नजरले हेरिएको संसारमा, हामीले आफूलाई निर्दोष देखाउनको लागि सम्भव हुने सबै प्रयास गर्नुपर्छ।

भेटी दिनु बिल तिर्ने तरिका भन्दा धेरै हो; यो आराधनाको एक कार्य हो। आफ्नो वचनद्वारा, परमेश्वरले आफूलाई आराधकहरूसामु प्रकट गर्नुहुन्छ। हामी आनन्दित हृदयबाट दिइएका बलिदानपूर्ण भेटीहरूको साथ प्रतिक्रिया दिन्छौं। यो साँचो आराधना हो।

जाँच

के तपाईंको मण्डलीका मानिसहरूले उनीहरूले भेटी दिँदा आराधना गर्दै छन् भन्ने महसुस गर्छन्, वा उनीहरूले बिलहरू मात्र तिरिरहेका छन् भन्ने महसुस गर्छन्? भेटीलाई आराधनाको कार्य बनाउन तपाईं कस्ता व्यावहारिक कदमहरू चाल्न सक्नुहुन्छ?


[1]आहिलेको तुलनामा, यो लगभग २ करोड ६६ लाख रुपैयाँ कमाउने र ६ लाख ६५ हजार रुपैयाँ बाहेक सबैलाई दिने बराबर हो। आफ्नो जीवनकालमा, वेस्लीले आजको पैसामा लगभग ३ करोड ९० लाख रुपैयाँ बराबर कमाए र दान दिए।
[2]यो कथा Charles Edward White बाट साभार गरिएको हो, “Four Lessons on Money from One of the World’s Richest Preachers” Christian History 19 (Summer 1988): 24। https:// christianhistoryinstitute.org/uploaded/50cf76d05900d6.14390582.pdf जुलाई 22, 2020 मा उपलब्ध।

प्रभु-भोज

► तपाईंको मण्डलीमा हुने प्रभु-भोजको अभ्यासबारे छलफल गर्नुहोस्। तपाईं प्रभु-भोज कति पटक लिनुहुन्छ? जब तपाईं प्रभु-भोजको अभ्यास गर्नु हुन्छ, के यो सेवाको अभिन्न अङ्ग हो?

जसरी परमेश्वर लिखित वचन (पवित्रशास्त्रको पढाइ) र बोलिएको वचनमा (उहाँको वचनको प्रचार) प्रकट हुनुहुन्छ, त्यसरी नै उहाँ प्रभु-भोजको प्रदर्शित वचनमा प्रकट हुनुहुन्छ।[1] प्रभु-भोज, येशुको प्रायश्चित मृत्यु र उहाँको पुनरुत्थानको उत्सवको सम्झना हो। प्रभु-भोज निस्तार चाडसँग सम्बन्धित थियो, तर यसले नयाँ करारको पनि उद्घाटन गर्‍यो।

► मत्ती २६:१७-३० र १ कोरिन्थी ११:१७-३४ पढ्नुहोस्।

[2]प्रभु-भोज सम्बन्धी नयाँ करारका सन्दर्भहरू सुसमाचारका पुस्तकहरूमा रहेका विवरणहरू र कोरिन्थीको मण्डलीलाई पावलको निर्देशनहरूमा समावेश छन्।

तीनवटा प्रश्नहरू प्रायः प्रभु-भोजको अभ्याससँग सम्बन्धित छन्।

  • प्रभु-भोजको अर्थ के हो?

  • प्रभु-भोजलाई कति पटकसम्म अभ्यास गर्नु पर्छ?

  • प्रभु-भोजलाई कसरी अभ्यास गर्नुपर्छ?

प्रभु-भोजको अर्थ के हो?

प्रभु-भोज अभ्यास गर्नु भनेको आराधनाको अर्थपूर्ण भाग हो।[3] कोरिन्थीको मण्डलीलाई लेख्दै, पावलले प्रभु-भोजको बारेमा देखाउनुभयो:

१. हामी ख्रीष्टको मृत्युलाई फर्केर हेर्छौं ("तिमीहरू प्रभुका मृत्‍युको घोषणा गर्दछौ")।

२. हामी ख्रीष्टको पुनरागमनको प्रतीक्षा गर्छौं ("उहाँ नआउञ्‍जेल")।

जब हामी प्रभु-भोज लिन्छौं, हामी उहाँको बलिदानलाई सम्झन्छौं, र हामी उहाँको प्रतिज्ञा गरिएको पुनरागमनको प्रतीक्षा गर्छौं। रोटी र दाखमद्यहरूले ख्रीष्टको शरीर र रगतलाई प्रतिनिधित्व गर्दछ र तिनीहरूले हामीलाई प्रभुको मृत्युमा हाम्रो सहभागिताको सम्झना गराउँछन्। "आशिष्‌का त्यो कचौरा जुनको निम्‍ति हामी आशिष्‌ माग्‍छौं, के त्‍यो ख्रीष्‍टको रगतमा हुने सहभागिता होइन र? त्‍यो रोटी, जुन हामी भाँच्‍छौं, के त्‍यो ख्रीष्‍टको शरीरमा हुने सहभागिता होइन?" (१ कोरिन्थी १०:१६) प्रभु-भोज क्रूसमा टाँगिएका र बौरी उठ्नु भएको प्रभुको निरन्तर उपस्थितिको शक्तिशाली प्रतीक हो।

प्रभु-भोजलाई कति पटकसम्म अभ्यास गर्नु पर्छ?

न त पवित्रशास्त्र वा मण्डली इतिहास कुनै पनि कुराले यस प्रश्नको निश्चित जवाफ दिँदैन। सुरुका मण्डलीमा यो देखिन्छ कि प्रभु-भोज हरेक आइतवार लिइएको थियो। आज, केही मण्डलीहरूले प्रभु-भोज साप्ताहिक रूपमा अभ्यास गर्छन् जबकि अरूहरूले यसलाई वर्षमा एक वा दुई पटक मात्र अभ्यास गर्छन्।

साप्ताहिक बाइबल पढाइले आराधनामा पवित्रशास्त्रको महत्त्वलाई नघटाएझैँ, प्रभु-भोज आराधनाको एक आदरणीय पक्ष भएकोसम्म यसको बारम्बारको अभ्यासले प्रभु-भोजको अर्थलाई पनि घटाउँदैन।

प्रभु-भोजलाई कसरी अभ्यास गर्नुपर्छ?

पावलले कोरिन्थीहरूलाई "अयोग्‍य रीतिले" खाने र पिउने बारेमा चेतावनी दिए (१ कोरिन्थी ११:२७)।[4] केही व्यावहारिक कदमहरूले हामीलाई प्रभु-भोजलाई ख्रीष्टियानका निम्ति यसको महत्त्वको हिसाबले अभ्यास गर्न मद्दत गर्न सक्छ।

प्रभु-भोज आराधना सेवाको केन्द्रीय भाग हुनुपर्छ, परिशिष्ट होइन।

प्रभु-भोजको लागि स्वभाविक समय भनेको वचनको भाग पछि हो। यस अवस्थामा, वचनले हामीलाई प्रभु-भोजको गहिरो बुझाइमा डोऱ्याउनुपर्छ। यो प्रभु-भोजमा सिधै सम्बोधन गरिएको वचन वा सम्बन्धित विषय (उद्धार, प्रायश्चित, अनुग्रह, चेलापन) मा उपदेश मार्फत गर्न सकिन्छ। प्रभु-भोज बारम्बार मनाउने मण्डलीहरूका लागि, प्रत्येक सेवाको विषयवस्तुलाई प्रभु-भोजमा केन्द्रित गर्नु उपयुक्त हुँदैन। तापनि, प्रभु-भोजको अभ्यास र अघिल्लो सेवा बीचको स्पष्ट सम्बन्ध हुनुपर्छ।

प्रभु-भोज एक गम्भीर र रमाइलो दुवै अवसर हो।

प्रभु-भोज एक गम्भीर आत्म-जाँच र परमेश्वरको अनुग्रहको आनन्दमय उत्सवको समय हो। प्रभुको मृत्युको स्मरणमा प्रभु-भोज खाएको सम्झनाले यस अभ्यासको गम्भीरता झल्काउँछ। यस अभ्यासको आनन्द प्रभुको पुनरागमनको प्रतिज्ञामा प्रतिबिम्बित हुन्छ।

कहिलेकाहीं, पुनरुत्थानको उत्सव र ख्रीष्टको पुनरागमनको प्रत्याशा प्रभु-भोजमा प्राथमिक जोड हुन सक्छन्। अन्य समयमा, येशुको मृत्युको गम्भीरता र आत्म-जाँचको महत्त्व प्राथमिक जोड हुन सक्छन्। दुबै पक्षहरू यस अभ्यासका अङ्गहरू हुन्।

हामी प्रभु-भोजमा रमाउँछौं किनभने प्रभु-भोज परमेश्वरको अनुग्रहले गर्दा सम्भव भएको हो। प्रभु-भोजमा, हामीलाई स्मरण गराइन्छ कि अनुग्रहले मात्र हामीलाई मुक्ति प्रदान गर्दछ। प्रभु-भोजमा हाम्रो सहभागिताले हामी पापबाट भाग्ने प्रतिबद्धतालाई जनाउँछ भन्ने कुरालाई सम्झन्छौं। प्रभुको टेबुलमा, प्रत्येक आराधकले आफैलाई जाँच गर्नुपर्छ।

प्रभु-भोजले मण्डलीको एकतालाई प्रतिबिम्बित गर्नुपर्छ।

यो दुःखको कुरा हो कि प्रभु-भोजको व्यवस्था जुन मण्डलीको एकतालाई प्रतिबिम्बित गर्ने उद्देश्यले स्थापित भएको थियो तर यो कहिलेकाहीं विभाजनको कारण भएको छ। प्रभु-भोजको सेवा कसरी गरिन्छ (व्यक्तिगत कचौरामा, एक साझा कचौरामा, कचौरामा रोटी चोपेर) र कसले खान सक्छ भन्ने भिन्नताहरूले (सबै पक्का विश्वासीहरूले, बप्तिस्मा लिएकाहरू मात्रले, स्थानीय मण्डलीका सदस्यहरूले मात्र) मण्डलीहरू बीच विभाजन ल्याएको छ।

पावलले कोरिन्थीको मण्डलीलाई सम्झाए कि तिनीहरूले एउटै रोटीलाई बाढे़, यसकारण तिनीहरू एउटै शरीर हुनुपर्छ। "किनभने रोटी एउटै हो, हामी धेरै भए तापनि एउटै शरीर हौं, किनकि हामी सबै एउटै रोटीबाट खान्‍छौं" (१ कोरिन्थी १०:१७)।

हामीले सम्झनुपर्छ कि प्रभु-भोजमा, आराधना प्राथमिक हुन्छ जबकि विधिहरू माध्यमिक हुन्छन्। मण्डलीले सुसमाचार र १ कोरिन्थीप्रति इमानदार हुने तरिकाहरू कायम गर्नुपर्छ। यद्यपि, प्रभु-भोज जस्तोसुकै तरिकाले खाए पनि, यो विभाजनकारी हुनु हुँदैन। प्रभु भोजमा, हामी परमेश्वरको परिवारको एकताको उत्सव मनाउँछौं।


[1]Franklin M. Segler and Randall Bradley, Christian Worship: Its Theology and Practice (Nashville: B&H Publishing, 2006), 178
[2]

"प्रभु-भोज उहाँका मानिसहरूसँगको प्रभुको भेटघाटको वाचा हो। ख्रीष्टसँगै यो भेटघाटको वाचा पालन गर्नेहरूले उहाँ निश्चित रूपमा तिनीहरूलाई भेट्न आउनुहुनेछ भन्ने बेधक आशा गर्न सक्छन्।"

- फ्रैंकलिन सेगलर र र्याण्डल ब्राडली

[3]चित्र: Allison Estabrook ले 14 अक्टोबर 2022 मा लिइएको "The Lord's Supper" https://www.flickr.com/photos/sgc-library/52476662295/ बाट प्राप्त, CC BY 4.0 अन्तर्गत इजाजतपत्र प्राप्त।
[4]कोही पनि येशुको बलिदानको योग्य छैन। कोरिन्थीमा सच्याउनुपर्ने समस्या आराधकको अयोग्यताको लागि थिएन, तर तिनीहरूले यस पवित्र भोजको अभ्यास गर्ने अनादरपूर्ण, अयोग्य तरिकामा गरिएको थियो।

निष्कर्ष: आराधनाको शक्तिशाली प्रभाव

के आराधना महत्त्वपूर्ण छ? यहाँ १९४५ को एक गवाही छ जसले देखाउँछ कि एक साधारण व्यक्तिले प्रार्थना मार्फत आराधना गर्दा के हुन सक्छ।

दोस्रो विश्वयुद्धको समयमा, बेलर विश्वविद्यालयमा, प्रभु येशुलाई विश्वास गरेर रूपान्तरित भएका बौद्ध धर्मावलम्बी जापानी-अमेरिकी व्यक्ति सो विश्वविद्यालयका विद्यार्थीहरूको जागृतीको लागि एक साधन बने। रेजी होसिजाकीले विद्यालय जानको लागि पैसा तिर्नको निम्ति चौकीदारको रूपमा काम गरे। कक्षाकोठा सफा गर्दा, उनले प्रत्येक डेस्कको छेउमा प्रार्थना गर्न थाले।

एक दिन, हप्ताभरिको प्रार्थना पछि, रेजी कक्षामा बसिरहेका थिए जब उनी आफ्ना सहपाठीहरूको कष्टले यति धेरै विचलित भए कि उनी घुँडा टेकेर रुन र प्रार्थना गर्न थाले। विद्यार्थीहरूले सोधे, "रेजीसँग के गलत छ?" रेजीसँग केही गलत थिएन; उनको कुर्सी उनको वेदी बन्यो।

रेजीको अन्तरविन्ती मार्फत, जागृति बेलर विश्वविद्यालय र त्यसपछि टेक्सास राज्यभरि फैलियो। दर्जनौं विद्यार्थी प्रचारकहरूले पूरै दक्षिणपश्चिमी संयुक्त राज्य अमेरिकामा जागृती फैलाउन बेलरको क्याम्पस छोडे। प्रार्थना आराधनाको अनिवार्य अङ्ग हो। जब हामी आराधना गर्छौं, हाम्रो संसार परमेश्वरको शक्तिले परिवर्तन हुन्छ।

पाठ ७ को समीक्षा

(१) हामी हाम्रो आराधनाको सबै भागहरूमा पवित्रशास्त्र समावेश गरेर आराधनामा पवित्रशास्त्रलाई केन्द्रबिन्दु बनाउन सक्छौं।

(२) आराधनामा पवित्रशास्त्र केन्द्रबिन्दु भएको हुनाले, हामीले यसलाई सफासँग पढिएको, स्पष्ट रूपमा वचार तथा भावव्यक्त गरिएको र विभिन्न तरिका अपनाएर जसले गर्दा पढाइलाई ताजा बनाउँछ।

(३) प्रचार गर्नु आराधनाको भाग भएकोले:

  • वचन प्रचारलाई होसियारीपूर्ण तयारी चाहिन्छ।

  • वचन प्रचारमा मण्डलीले प्रतिक्रिया जनाउन आवश्यक छ।

  • वचन प्रचारमा प्रचारकले प्रतिक्रिया जनाउन आवश्यक छ।

  • प्रचारक पवित्र आत्माको शक्तिद्वारा भरिएको हुनुपर्छ।

(४) प्रार्थनालाई सार्वजनिक आराधनाको अर्थपूर्ण भाग बनाउने व्यावहारिक तरिकाहरू:

  • आफ्नो व्यक्तिगत प्रार्थनाको जीवनलाई मलजल गर्नुहोस्।

  • कसरी प्रार्थना गर्ने सिक्नुहोस्।

  • पवित्रशास्त्रका वचनहरूद्वारा प्रार्थना गर्नुहोस्।

  • परमेश्वरसँग सञ्चार गर्नमा केन्द्रित हुनुहोस्।

  • आफ्नो प्राथमिकताहरूलाई परमेश्वरको प्राथमिकताहरूसँग मिलाउनुहोस्।

  • परमेश्वरसँग कुरा गर्नुहोस्, मण्डलीसँग होइन।

(५) भेटी दिने कार्य आराधनाको भाग भएकोले:

  • आराधनापूर्वक दिइने दान अनुग्रहले उत्प्रेरित हुनुपर्छ, डरले होइन।

  • आराधनापूर्वक दान दिने कार्य प्रेमले प्रेरित हुनुपर्छ, इनाम होइन।

  • आराधनापूर्वक दिइने दान उदारता हुनुपर्छ, कन्जुस्याइँ होइन।

  • आराधनापूर्वक दान दिने कार्य नम्रताले उत्प्रेरित हुनुपर्छ, घमण्डले होइन।

  • हामीले भेटी सङ्कलन गर्ने तरिकाले आराधनाको भावलाई योगदान पुर्‍याउने हुर्नुपर्छ।

(६) प्रभु-भोज

  • ख्रीष्टको मृत्युलाई फर्केर हेर्छ।

  • ख्रीष्टको पुनरागमनको प्रतीक्षा गर्छ।

  • योग्य रीतिले अभ्यास गर्नुपर्छ।

  • गम्भिर र आनन्दपूर्वक दुवै तरिकाले अभ्यास गर्नुपर्छ।

  • मण्डलीको एकतालाई प्रतिबिम्बित गर्ने तरिकामा अभ्यास गर्नुपर्छ।

पाठ ७ क्रियाकलाप

(१) पाठ ६ मा, तपाईंले पाँच फरक विषयहरूसँग सम्बन्धित भएका गीतहरूलाई चयन गर्नुभयो। यी पाँचवटा विषयहरूमध्ये प्रत्येकको लागि, यस विषयमा बोल्ने ३-४ वटा पवित्रशास्त्रका पदहरू खोज्नुहोस्। जसै तपाईंले आराधना सेवाको योजना गर्नुहुन्छ तपाईंको सूचीहरूलाई पछिल्लो पाठमा प्रयोग गरिनेछ।

  • परमेश्वरको स्वभावको विषयमा ३-४ वटा पदहरू

  • येशु र उहाँको मृत्यु र पुनरुत्थानको विषयमा ३-४ वटा पदहरू

  • पवित्र आत्मा र मण्डलीको विषयमा ३-४ वटा पदहरू

  • ३-४ पदहरू जसले परमेश्वरका जनहरूलाई आत्मसमर्पण गरेको, पवित्र जीवनमा बोलाउँछन्

  • सुसमाचार र मिसनको विषयमामा ३-४ वटा पदहरू

(२) अर्को पाठको सुरुमा, तपाईंले यस पाठमा आधारित परीक्षा दिनुहुनेछ। तयारी गर्दा खेरी परीक्षाका प्रश्नहरूलाई सावधानीपूर्वक अध्ययन गर्नुहोस्।

पाठ ७ परीक्षा

(१) आराधनामा पवित्रशास्त्रको महत्त्व देखाउने तीनवटा उदाहरणहरूलाई सूचीबद्ध गर्नुहोस्।

(२) पवित्रशास्त्र प्रयोग गर्न सकिने आराधना सेवाका तीन भागहरूलाई नाउँ दिनुहोस्।

(३) प्रचार गर्नु भनेको आराधना हो भन्ने सिद्धान्तका चार व्यावहारिक अर्थहरूलाई सूचीबद्ध गर्नुहोस्।

(४) प्रार्थनालाई सार्वजनिक आराधनाको अर्थपूर्ण भाग बनाउनका लागि तीनवटा व्यावहारिक सुझावहरूलाई सूचीबद्ध गर्नुहोस्।

(५) आराधनामूलक दानका चार ईश्वरशास्त्रीय सिद्धान्तहरूलाई सूचीबद्ध गर्नुहोस्।

(६) दान दिने कार्यलाई आराधनाको कार्य बनाउनका लागि चाहिने चारवटा व्यावहारिक विचारहरूलाई सूचीबद्ध गर्नुहोस्।

(७) १ कोरिन्थीमा ग्रहणयोग्य प्रभु-भोजका दुई पक्षहरूको सूची बनाउनुहोस्।

(८) आफूले कण्ठ गरेको मत्ती ६:५-८ लेख्नुहोस्।

Next Lesson