ख्रीष्टियान आराधनाको परिचय
ख्रीष्टियान आराधनाको परिचय
Audio Course Purchase

Search Course

Type at least 3 characters to search

Search through all lessons and sections in this course

Searching...

No results found

No matches for ""

Try different keywords or check your spelling

results found

Lesson 2: परमेश्वर र आराधक

2 min read

by Randall McElwain


पाठका उद्देश्यहरू

यस पाठको अन्त्यसम्ममा, विद्यार्थीले सक्षम हुनुपर्छ:

(१) परमेश्वरको बाइबलीय चित्र र हाम्रो आराधनामा उहाँको भूमिकालाई चिन्ने।

(२) आराधकहरूका लागि परमेश्वरको आवश्यकताहरू बुझ्ने।

(३) आराधकहरूको लागि परमेश्वरको आवश्यकताहरू अनुरूप गर्न खोज्ने।

(४) मानिसलाई आराधनाको लागि आफ्नो उपस्थितिमा प्रवेश गर्न अनुमति दिनु भएकोमा परमेश्वरको अनुग्रहको प्रशंसा गर्ने।

पाठको तयारी

प्रकाश ५:९-१४ कण्ठ गर्नुहोस्।

परिचय

एउटा सानो समूह टेबलको वरिपरि बसेर हप्ताको बाइबल अध्ययनको विषयमा छलफल गरिरहेको थियो। छलफलको प्रश्न थियो, "परमेश्वर कस्तो हुनुहुन्छ र हामीले उहाँलाई कसरी आराधना गर्छौं?"

सितारा पहिले बोलिन्। "जब म परमेश्वरको बारेमा सोच्दछु, म लामो सेतो दाह्री भएका हजुरबुबाको बारेमा सोच्दछु। उहाँले हामीलाई नातिनातिनाजस्तै हेर्नुहुन्छ। हामीले पाप गर्दा उहाँ दुःखी हुनुहुन्छ, तर उहाँले हामीलाई प्रेम गर्नुहुन्छ र हामी आफ्नो सक्दो प्रयास गरिरहेका छौँ भनेर बुझ्नुहुन्छ। जबसम्म हामी उहाँलाई प्रेम गर्छौँ भनी देखाउँदैनौँ, तबसम्म उहाँलाई हामी कसरी आराधना गर्छौँ भन्ने कुरा वास्ता छैन जस्तो मलाई लाग्छ।"

हन्नाले जवाफ दिइन्। "म परमेश्वरलाई माग राख्ने बुबा जस्तै सोच्दछु। उहाँ आफ्ना छोराछोरीसँग धेरै नजिक हुनुहुन्न, तर हामीले आज्ञा पालन गर्छौं कि गर्दैनौं भनी उहाँ हेर्नुहुन्छ। आराधनामा, हामीले देखाउनुपर्छ कि हामी समर्पित र आज्ञाकारी छौं। मलाई परमेश्वरलाई हाम्रो साथीको रूपमा मान्ने खालका गीतहरू मन पर्दैन; हामीले सम्झनुपर्छ कि उहाँ हाम्रो स्वर्गीय मालिक हुनुहुन्छ र हामी उहाँका सेवक हौं! परमेश्वरले मैले के गरेको आशा गर्नुहुन्छ भनी जान्नको लागि म मण्डली जान्छु।"

अबीगेल यी कुनै पनि जवाफबाट सन्तुष्ट भएनन्। "म परमेश्वरलाई साथीको रूपमा सोच्छु। बाइबलले भन्दछ कि परमेश्वरले आफ्ना छोराछोरीहरूलाई असल वरदान दिन मन पराउनुहुन्छ। परमेश्वरले मेरो लागि के गर्न चाहनुहुन्छ भनेर जान्न म मण्डली जान्छु। म प्रार्थना गर्छु र मलाई के चाहिन्छ भनी उहाँलाई बताउँछु। परमेश्वरले मेरो जीवनलाई कसरी आशिष् दिनुहुन्छ भनेर जान्नको लागि म वचन र सङ्गीत सुन्छु। परमेश्वर असल वरदान दिन चाहनुहुन्छ; म ती वरदानहरू लिन मण्डली जान्छु।"

यी प्रत्येक महिलाको परमेश्वर प्रतिको फरक धारणा छ। त्यसकारणले गर्दा, प्रत्येक महिलाको आराधना सेवाको लागि फरक अपेक्षा हुन्छ।

सिताराले हाम्रो आराधनाका विवरणहरूमा धेरै वास्ता नगर्ने हजुरबुबा-जस्तो परमेश्वरको अपेक्षा गर्छिन्। उनको आदर्श आराधना सेवामा हरेक व्यक्तिले आफूलाई सबैभन्दा सहज बनाउने तरिकाले आराधना गर्नेछ। पवित्र वासस्थानमा आराधना गर्दा सितारालाई छक्क लाग्ने थियो। त्यहाँ उनले आराधनाको हरेक विवरणमा परमेश्वरले चासो राख्नुहुन्छ भनी सिक्ने थिइन्।

हन्नाले परमेश्वरलाई टाढा र डर लाग्ने परमेश्वरको रूपमा देख्छिन्। उनलाई भजनहरूको आत्मीय भाषा र परमेश्वरलाई अय्यूबले गरेको गुनासोको सत्यतासँग असहज लाग्ने थियो। उनको आदर्श आराधना सेवाले आराधक र परमेश्वर बीचको दूरी कायम राख्छ। प्रार्थना औपचारिक र संरचित हुनेछ। सङ्गीत भव्य, तर अवैयक्तिक हुनेछ। हन्नालाई प्रथम शताब्दीका घरेलु मण्डलीहरूमा पाइने घनिष्ठ सङ्गतिको आनन्द उठाउन मन पर्दैनथ्यो।

प्रमिलालाई परमेश्वर मानिसहरूको आवश्यकताहरू पूरा गर्ने सेवक हुनुहुन्छ भन्ने लाग्छ। जब प्रमिलाले सेवा छोड्छिन्, उनको प्रश्न हुन्छ, "मैले यसबाट के पाएँ?" सङ्गीत उनको व्यक्तिगत रुचि अनुसारको आकर्षक हुनुपर्छ। प्रार्थनाहरू व्यक्तिगत आवश्यकताहरूमा केन्द्रित हुनुपर्छ। वचन व्यवहारिक हुनुपर्छ र उनको आवश्यकता अनुसार बोल्नुपर्छ। प्रमिलालाई मन्दिरको आराधनाबाट निराश लाग्ने थियो। मन्दिरको आराधना मानिसले परमेश्वरलाई बलिदान चढाउने बारेमा थियो, परमेश्वरले मानिसलाई वरदान दिने बारेमा होइन।

यी महिलाहरूमध्ये प्रत्येकले आराधना सेवालाई त्यो नजरले हेर्छन् जसले तिनको परमेश्वरको अवधारणलाई प्रतिबिम्बित गर्छ। परमेश्वरप्रतिको हाम्रो बुझाइले हाम्रो आराधनामा ठूलो प्रभाव पार्छ।

► परमेश्वरको बारेमा तपाईंको अवधारणाबारे छलफल गर्नुहोस्। तपाईंको परमेश्वरप्रतिको अवधारणाले तपाईंको आराधनालाई कसरी असर पार्छ?

यस पाठमा हामी दुई प्रश्नहरूलाई हेर्नेछौं:

(१) हामी कसको आराधना गर्छौं?

आराधनाले परमेश्वरलाई दिनुपर्ने उचित आदर दिने भएको हुनाले परमेश्वरबारे जति धेरै जान्नेछौं, त्यति नै हामी साँचो आराधनाको लागि सुसज्जित हुनेछौं। परमेश्वरप्रतिको विकृत तस्विरले विकृत आराधनाको नेतृत्व गर्दछ।

मूर्तिपूजाको बाइबलीय चित्रले यो सिद्धान्त देखाउँछ। बाल एक प्रजनन देवता थियो, चाहिने भन्दा बढी अनियन्त्रित देवता। बालका अगमवक्ताहरूले कसरी आराधना गरे? अनियन्त्रित भावना र अधिकता सँग। "यसैले उनीहरू अझै जोडसित कराए, र उनीहरूको दस्‍तूरअनुसार तरवार र भालाले रगत नबगुञ्‍जेल आफैलाई चोट पारे" (१ राजाहरू १८:२८)।

(२) परमेश्वर आफ्ना आराधकहरूबाट के चाहनुहुन्छ?

परमेश्वर पवित्र हुनुभएको हुनाले, हामी उहाँको उपस्थितिमा कसरी प्रवेश गर्ने? उहाँको आराधना गर्नेहरूबाट परमेश्वर के चाहनुहुन्छ?

बाल र मोलोख जस्ता झूटा देवताहरू पवित्र थिएनन्; तिनीहरूका आराधकहरू पवित्र हुनु आवश्यक थिएन। बालका आराधकहरू बाल जस्तै, नैतिक रूपमा अपवित्र भए। हामी जसको आराधना गर्छौं त्यस्तै बन्छौं।

साँचो परमेश्वर पवित्र हुनुहुन्छ। यसकारण, उहाँलाई पवित्र मानिसहरू चाहिन्छ। यहोवाका आराधकहरू यहोवाजस्तै भए। तिनीहरू पवित्र परमेश्वरको आराधना गर्ने पवित्र मानिसहरू हुनुपर्छ।

हामी कसको आराधना गर्छौं?

[1]कल्पना गर्नुहोस् कि तपाईं एक सुन्दर सूर्यास्तको प्रशंसा गर्दै हुनुहुन्छ।[2] अचानक तपाईंले "सूर्यास्त हेर्दैछु" भन्ने आफ्नो तस्बिर खिच्न सूर्यास्त हेर्न छोड्नुहुन्छ। यसलाई "सेल्फी" भनिन्छ, आफ्नो तस्बिर। तपाईंको ध्यान सूर्यास्तबाट आफैतिर सरेको छ। सेल्फी लिने व्यक्तिले आफूले हेरिरहेको घटनामा भन्दा आफ्नो उपस्थितिमा बढी चासो राख्छ।

परमेश्वर हाम्रो उत्तम आराधनाको योग्य हुनुहुन्छ। तर जब हामीले आराधना गर्ने परमेश्वरमा भन्दा हाम्रो आराधनाको गुणस्तरमा ध्यान केन्द्रित गर्छौं, हामीले एक धार्मिक सेल्फी ("परमेश्वरको आराधना गर्दै म") सिर्जना गरेका छौं। हामीले आराधना गर्ने परमेश्वरमा केन्द्रित हुने कुरालाई हाम्रो आराधनाको उत्कृष्टताप्रति हाम्रो चासोले कहिल्यै प्रतिस्थापन गर्न दिनुहुँदैन।

सि.एस. लुइसले परमेश्वरमा भन्दा आराधना सेवामा बढी ध्यान दिने कुरा मूर्तिपूजा हो भनेर लेखेका थिए।। हालै, डि.ए. कार्सनले चेतावनी दिए कि हामी "परमेश्वरको आराधना गर्नुको सट्टा आराधनालाई आराधना गर्ने परिक्षामा पर्न सक्छौं।"[3]

जबसम्म म परमेश्वरको आराधनामा हराउँदिन तबसम्म त्यो आराधना साँचो आराधना होइन। साँचो आराधनामा, म आराधना गर्ने मेरो प्रयासको गुणस्तरमा भन्दा परमेश्वरमा बढी ध्यान दिन्छु। साँचो आराधना, मेरो आराधनाको अनुभवको गुणस्तरमा होइन, परमेश्वरमा केन्द्रित हुन्छ।

हामीले पाठ १ मा देख्यौं, पहिलो आज्ञाले हामीलाई बताउँछ कि हामी कसको आराधना गर्छौं। "म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ... मबाहेक अरू कुनै देवता-देवीहरू नमान्‍नू" (प्रस्थान २०:२-३)। आराधनाको अर्थ परमेश्वरलाई योग्यको आदर दिनु भएको हुनाले परमेश्वर को हुनुहुन्छ भनेर सोधेर आराधनाको अध्ययन सुरु गर्नुपर्छ। प्रकाशको पुस्तकका चारवटा भजनहरूले यस प्रश्नको आंशिक जवाफ दिन्छन्।

हामी सृष्टिकर्ताको आराधना गर्छौं (प्रकाश ४)

► प्रकाश ४ लाई ठूलो स्वरमा पढ्नुहोस्। स्वर्गीय दृश्य कल्पना गर्न समय लिनुहोस्। हामीले आराधना गर्ने परमेश्वरको बारेमा यस अध्यायले हामीलाई के बताउँछ?

स्वर्गको दृश्यसँगै, प्रकाश ४ ले हामीले आराधना गर्ने सृष्टिकर्ताको झलक दिन्छ।

सृष्टिकर्ता सार्वभौम हुनुहुन्छ।

परमेश्वर संसार भन्दा माथि विराजमान हुनुहुन्छ। यस अध्यायमा सिंहासन शब्द १४ पटक प्रयोग गरिएको छ। उहाँ सर्वशक्तिमान् परमप्रभु परमेश्वर हुनुहुन्छ; उहाँ सार्वभौम हुनुहुन्छ। आराधनाले सधैं परमेश्वरको सार्वभौमिकतालाई स्वीकार गर्नुपर्छ। आराधनामा, हामी सार्वभौम परमेश्वरप्रति हाम्रो समर्पण व्यक्त गर्छौं। उहाँ प्रेमिलो पिता हुनुहुन्छ, तर उहाँ सार्वभौम हुनुहुन्छ।

सृष्टिकर्ता पवित्र हुनुहुन्छ।

सम्पूर्ण पवित्रशास्त्रबाट, परमेश्वरलाई एक पवित्र परमेश्वरको रूपमा देखिन्छ।

  • परमेश्वरले इस्राएलीहरूलाई भन्नुहुन्छ, "म, परमप्रभु तिमीहरूका परमेश्‍वर, पवित्र छु" (लेवी १९:२)।

  • परमेश्वरको प्रशंसा गरिएको छ, " तापनि तपाईं परमपवित्र, सिंहासनमा विराजमान हुनुहुन्‍छ, तपाईं इस्राएलका प्रशंसा हुनुहुन्‍छ" (भजनसंग्रह २२:३)।

  • अगमवक्ता यशैयाले स्वर्गदूतहरूलाई सिंहासनको वरिपरि बसेर आराधना गरिरहेका देख्छन्, "सर्वशक्तिमान्‌ परमप्रभु, पवित्र, पवित्र, पवित्र हुनुहुन्‍छ, सारा पृथ्‍वी उहाँको महिमाले भरिपूर्ण छ" (यशैया ६:३)।

  • प्रेरित यूहन्नाले स्वर्गमा देख्छन्, जहाँ एल्डरहरू यसो भनेर कराउँछन्, "पवित्र, पवित्र, पवित्र परमप्रभु सर्वशक्तिमान्‌ परमेश्‍वर, जो हुनुहुन्‍थ्‍यो र हुनुहुन्‍छ र जो आउनुहुनेछ" (प्रकाश ४:८)।

हामी पवित्र परमेश्वरको आराधना गर्छौं।

सृष्टिकर्ता अनन्त हुनुहुन्छ।

उहाँ हुनुहुन्थ्यो र हुनुहुन्छ र हुन आउनुहुनेछ (प्रकाश ४:८)।

दाऊदले सृष्टिको आश्चर्यपूर्ण कुरालाई परमेश्वरको महिमाको झ्यालको रूपमा औंल्याए। "आकाशले परमेश्‍वरका महिमाको वर्णन गर्छ। र तारा-मण्‍डलले उहाँका हातको सीपको घोषणा गर्छ" (भजनसंग्रह १९:१)। उत्‍पत्तिको पहिलो अध्याय सृष्टिकर्ताको रूपमा परमेश्वरबाट सुरु हुन्छ; बाइबलको अन्तिम पुस्तकले हामीलाई फेरि सम्झाउँछ कि परमेश्वर सृष्टिकर्ता हुनुहुन्छ र उहाँले आफ्ना सृष्टिहरूमाथि अनन्त शासन गर्नुहुनेछ।

यो जोडले आराधनाको उचित मुख्य केन्द्रबिन्दु देखाउँछ। हामी, उहाँको सिर्जनाको कृति रूपमा, सृष्टिकर्ता परमेश्वरको आराधना गर्छौँ। आराधना उचित रूपमा उहाँको बारेमा हो, हाम्रो बारेमा होइन। जब हामी सृष्टिकर्ताको आराधनामा आफूलाई हराउँछौँ, स्वर्ग फेरि उहाँको महिमाको घोषणा गर्दछ।

हामी उद्धारकर्ताको आराधना गर्छौं (प्रकाश ५)

► प्रकाश ५ ठूलो स्वरमा पढ्नुहोस्। हामीले आराधना गर्ने परमेश्वरको बारेमा यो भव्य दृश्यले हामीलाई के बताउँछ?

ख्रीष्टियनहरूको हैसियतमा, सारा संसारको राजाले हाम्रो उद्धारको लागि प्रबन्ध गर्नुभएको छ भनी सम्झँदा हामीले आफ्नो अचम्मको भावना कहिल्यै गुमाउनु हुँदैन। प्रकाश ५ मा, हामी परमेश्वरको थुमा, संसारको उद्धारकर्तालाई आराधना गरिएको रूपमा हेर्छौं। प्रकाशको पुस्तकमा येशुलाई २८ पटक "थुमा" भनिएको छ। यो प्रकाशको पुस्तकमा केन्द्रीय रूपहरू मध्ये एक हो।

हामी उद्धारकर्ताको आराधना गर्छौँ किनभने उहाँ जो हुनुहुन्छ त्यसको लागि।

उहाँ यहूदाको कुलको सिंह हुनुहुन्छ। उहाँ दाऊदको मूल हुनुहुन्छ। उहाँ मारिएको थुमा हुनुहुन्छ। उहाँ सातवटा सीङ र सातवटा आँखा भएको थुमा हुनुहुन्छ (प्रकाश ५:६), पूर्णताको प्रतीक। आराधनामा, हामी येशु जो हुनुहुन्छ त्यही रूपमा उहाँको प्रशंसा गर्छौं। आराधना "ख्रीष्टको महिमापूर्ण सिद्धताहरूको उत्सव" हो (जोन पाइपर)।

हामी उद्धारकर्ताको आराधना गर्छौँ किनभने उहाँ जहाँ हुनुहुन्छ त्यसको लागि।

प्रकाश ५:६ मा, येशु स्वर्गको आराधनाको केन्द्रमा हुनुहुन्छ। उहाँ सिंहासन र चार जीवित प्राणीहरू र एल्डरहरू बीच हुनुहुन्छ। हिब्रूका लेखकले हाम्रो अधिवक्ता परमेश्वरको सिंहासनको दाहिने हातमा विराजमान हुनुहुन्छ भन्ने अद्भुत प्रतिज्ञा दिन्छन् (हिब्रू १२:२)।

उहाँले हाम्रो निम्ति जे गर्नु भएको छ त्यसको लागि हामी मुक्तिदाताको आराधना गर्छौं।

परमेश्वरको मूल्यमा ध्यान केन्द्रित गर्ने प्रयासमा, केही शिक्षकहरूले गलत रूपमा सुझाव दिएका छन् कि हामीले परमेश्वरको आराधना केवल उहाँ जो हुनुहुन्छ त्यसको लागि मात्र गर्नुपर्छ, उहाँले हाम्रो लागि के गर्नुहुन्छ त्यसको लागि होइन। यूहन्ना प्रकाशकले स्वर्गीय आराधनाले थुमाको प्रशंसा गरेको देखाउँछन्, उहाँले जे गर्नुभएको छ त्यसको लागि। "मारिएका थुमा ... योग्‍यका हुनुहुन्‍छ" (प्रकाश ५:१२)।

यो ढाँचा भजनसंग्रहमा देखिन्छ। भजनसंग्रह १३४ ले हामीलाई प्रभुलाई प्रशंसा दिन आदेश दिन्छ। यसले उहाँको प्रशंसा गर्न कुनै कारण दिँदैन; हामी उहाँको प्रशंसा गर्छौं किनभने उहाँ परमेश्वर हुनुहुन्छ। यो भजनसंग्रह १३५-१३६ सँगै आएको छ, जसले इस्राएलको इतिहासमा परमेश्वरले गर्नुभएको कामको कारणले उहाँको प्रशंसा गर्दछ। परमेश्वरको चरित्र त प्रशंसाको योग्य छ नै, तर उहाँका शक्तिशाली कार्यहरू पनि प्रशंसाको योग्य छन्। उहाँ जो हुनुहुन्छ त्यसको निम्ति हामीले परमेश्वरको प्रशंसा गर्नुपर्छ उहाँले हाम्रो लागि जे काम गर्नुभएको छ त्यसको लागि पनि।

हामी राजाको आराधना गर्छौं (प्रकाश ११:१५-१८)

प्रकाश ११ ले स्वर्गीय आराधनाको अर्को दृश्य प्रदान गर्दछ। यस दृश्यमा, एल्डरहरूले आफ्नो अधिकारको सिंहासन लिएका राजाको आराधना गर्छन्। यद्यपि संसारको राज्यहरूले उहाँको विरुद्धमा विद्रोह गरेतापनि, तिनीहरूले अन्ततः उहाँको अख्तियारको अगाडि आत्मसमर्पण गर्नुपर्छ। "संसारको राज्‍य हाम्रा प्रभुको र उहाँका ख्रीष्‍टको राज्‍य भएको छ, अनि उहाँले सदासर्वदा राज्‍य गर्नुहुनेछ" (प्रकाश ११:१५)।

यस भजनमा, संसारमाथि राजाले गर्नुभएको उचित न्यायको लागि प्रशंसा गरिएको छ। यो भजनले हामीलाई सम्झाउँछ कि परमेश्वरले महान् शक्तिको साथ शासन गर्नुहुन्छ। राष्ट्रहरू क्रोधित भए तापनि परमेश्वरले तिनीहरूको न्याय गर्नु भयो।

आराधना भनेको सत्यतामा गरिने आराधना हो। साँचो आराधनाले परमेश्वरको अद्भुत न्यायलाई कम महत्वको बनाउदैन। फेरि, प्रकाशको पुस्तकको आराधना भजनसंग्रहको आराधनासँग मेल खान्छ। भजनसंग्रह ९६ प्रभुको लागि एउटा नयाँ गीत हो। यस गीतमा, जातिहरूका बीचमा परमेश्वरको प्रशंसा गरिएको छ। सबै देवताहरू भन्दा बढी उहाँको भय मानिन्छ। उहाँको प्रशंसा गरिन्छ किनभने उहाँले मानिसहरूको न्याय धार्मिकतासाथ गर्नुहुनेछ। साँचो आराधनाले यो जान्द छ कि हामी परमेश्वरसँग डराउनुपर्छ। हामी उहाँलाई राजाको रूपमा आराधना गर्छौं।

हामी विजयी दुलहाको आराधना गर्छौं (प्रकाश १९:१-९)

बाइबल सर्वेक्षण कक्षामा एक जना शिक्षकले सोध्नुभयो, "तपाईंहरूमध्ये कति जनाले प्रकाशको पुस्तकको आनन्द लिनुहुन्छ?" थोरै विद्यार्थीले हात उठाए। जब शिक्षकले सोधे, "तपाईंलाई प्रकाशको पुस्तकको किन मन पर्दैन?" एक विद्यार्थीले जवाफ दिए, "यो डरलाग्दो छ!"

यी विद्यार्थीहरूलाई प्रकाशको पुस्तक डरलाग्दो लाग्नुको कारण तिनीहरूले पुस्तकका उत्कृष्ट भागहरूलाई बेवास्ता गर्छन्। तिनीहरू परमेश्वरको विरुद्धमा विद्रोह गर्नेहरूमाथि पर्ने न्यायहरूमा ध्यान केन्द्रित गर्छन्। त्यो पक्कै पनि प्रकाशको पुस्तकको एउटा महत्त्वपूर्ण सन्देश हो। तर ख्रीष्टियनहरूको लागि, प्रकाशको पुस्तकको प्राथमिक सन्देश हाम्रो परमेश्वरको अन्तिम विजय हो!

प्रकाश १९ ले यो सन्देशलाई चित्रण गर्दछ। यो अध्यायमा गन्धकको अग्नि-कुण्ड (प्रकाश १९:२०) र राजाहरूको मासु, कप्तानहरूको मासु र शक्तिशाली मानिसहरूको मासु खाने चराहरूको विवरण समावेश छ... (प्रकाश १९:१८) राजाको विरुद्ध विद्रोह गर्नेहरूको भाग यही हो। आदरपूर्वक समर्पित भएर राजाको आराधना गर्नेहरूका लागि, प्रकाश १९ आनन्दको गीत हो। आफ्नो अनैतिकताले पृथ्वीलाई भ्रष्ट गर्ने महान् वेश्या नष्ट भएकी छे (प्रकाश १९:२)। दुलहाले आफ्ना शत्रुहरूलाई जित्नु हुन्छ र आफ्नो पवित्र दुलहीलाई थुमाको विवाह भोजमा स्वागत गर्नुहुन्छ। (प्रकाश १९:९)

यस महान् विजयको जवाफमा, यूहन्नाले सुने "एउटा ठूलो भीड़को सोरजस्‍तो, उर्लंदो पानीहरूको आवाज र धेरै शक्तिशाली मेघ गर्जनको आवाजजस्‍तो, जसले यसो भनिरहेको थियो: “हल्‍लेलूयाह! किनकि परमप्रभु हाम्रा परमेश्‍वर सर्वशक्तिमान्‌ले राज्‍य गर्नुहुन्‍छ। हामी रमाऔं र अत्‍यन्‍त खुशी होऔं, र उहाँलाई महिमा दिऔं! किनकि थुमाका विवाहको दिन आएको छ, र उहाँकी दुलही स्‍वयम्‌ तयार भएकी छिन्‌" (प्रकाश १९:६-७)।

आराधनामा, हामी विजयी दुलहाको प्रशंसा गर्छौं। हाम्रो आराधनाले येशुले आफ्नी दुलहीको लागि तयारी गरिरहनुभएको भविष्यको अनुमान गर्छ। आराधना महत्त्वपूर्ण छ भन्ने एउटा कारण यो हो कि आराधनाले हामीलाई विरोधी संसारमा विजयी ख्रीष्टियान जीवन बिताउन शक्ति दिन्छ। आराधनामा, हामी सम्झन्छौं कि "हाम्रो नागरिकता स्‍वर्गमा छ। त्‍यहाँबाट आउनुहुने मुक्तिदाता, अर्थात्‌ प्रभु येशू ख्रीष्‍टको प्रतीक्षा हामी गर्दछौं। उहाँले, जुन शक्तिद्वारा सबै कुरालाई उहाँको अधीनमा ल्‍याउन सक्‍नुहुन्‍छ, हाम्रा हीन शरीरलाई आफ्‍नै महिमाको शरीरजस्‍तै हुनलाई परिवर्तन गरिदिनुहुनेछ (फिलिप्पी ३:२०-२१)।

प्रकाशका यी चार भजनहरूले हामीले आराधना गर्ने परमेश्वरको झलक दिन्छ। आराधनामा, हामी आफैमा होइन तर परमेश्वरमा केन्द्रित हुन्छौं। आराधनामा, हामी सृष्टिकर्ताको अगाडि झुक्छौं; आराधनामा, हामी उद्धारकर्ताको प्रशंसा गर्छौं; आराधनामा हामी ख्रीष्ट राजालाई उच्च पार्छौँ। आराधनामा, हामी विजयी दुलहाको उपस्थितिमा अनन्तकालको आशा गर्छौं।

हामीले आराधना गर्ने परमेश्वर यही हो। यसले प्रश्न उठाउँछ, "कसले आराधना गर्न सक्छ? उहाँको उपस्थितिमा आउनेहरूबाट परमेश्वर के चाहनुहुन्छ?"


[1]

"हे परमेश्वर, तपाईं...

सबैभन्दा उच्च, सबैभन्दा उत्कृष्ट;

सबैभन्दा दयालु र सबैभन्दा न्यायी;

सबैभन्दा गुप्त र सबैभन्दा हाजिर हुने;

सबैभन्दा सुन्दर र बलियो;

सधैं काम गर्ने, सधैं शान्त;

भेला हुने, तर केही आवश्यक नभएको;

सम्हाल्ने र संरक्षण गर्ने;

सिर्जना गर्ने र पालनपोषण गर्ने;

खोजी गर्ने, तर पनि सबै थोकको आधिपत्य गर्ने हुनुहुन्छ।"

- अगस्टिनको भनाइबाट लिएको

[2]यसको धेरै जसो अंशहरू Warren Wiersbe, Real Worship, (Grand Rapids: Baker Books, 2000), अध्याय 5 बाट लिइएको छ।
[3]D.A. Carson बाट साभार गरिएको, Worship by the Book, (Grand Rapids: Zondervan, 2002), 31।

परमेश्वरले आराधकबाट के चाहानुहुन्छ?

सामरी स्त्रीसँगको कुराकानीमा,[1] येशुले एउटा उल्लेखनीय कुरा भन्नुभयो। साँचो आराधकहरूले आत्मा र सत्यतामा पिताको आराधना गर्नेछन् भनी उनलाई बताइसकेपछि, येशुले भन्नुभयो कि पिताले त्यस्ता मानिसहरूलाई उहाँको आराधना गर्न खोज्दै हुनुहुन्छ (यूहन्ना ४:२३)। परमेश्वरले एक विशेष प्रकारको आराधक खोज्दै हुनुहुन्छ, जो आत्मा र सत्यतामा आराधना गर्दछ। परमेश्वरले भक्तहरूलाई खोज्नुहुन्छ।

उहाँको आराधना गर्नेहरूमा परमेश्वरले खोज्ने विशेषताहरू के हुन्? जो कोही आराधना सेवामा सहभागी हुन सक्छ; जो कोहीले प्रशंसाको गीत गाउन सक्छ; जो कोहीले प्रार्थना गर्न सक्छ। यद्यपि, परमेश्वरले साँचो आराधकको विशेषताहरूको लागि विशेष निर्देशनहरू दिनुभएको छ। यो हेर्नको लागि एउटा ठाउँ भजनसंग्रह १५ हो।

► भजनसंग्रह १५ पढ्नुहोस्। यसले आराधकको जीवनबारे के बताउँछ?

भजनसंग्रह १५ एक लिटर्जिकल भजन हो। यसले मन्दिरको प्रवेशद्वारमा पुजारी र आराधक बीचको कुराकानीलाई वर्णन गर्दछ। आराधकले परमेश्वरको पवित्र मन्दिरमा प्रवेश खोज्छ। आराधकको प्रश्न “कसले प्रवेश गर्न सक्छ?” को जवाफमा पुजारीले प्रवेशको लागि आवश्यकताहरू सूचीबद्ध गर्छ। भजनसंग्रह २४:३-६ र मीका ६:६-८ मा पनि यही ढाँचा प्रयोग गरिएको छ। भजनसंग्रह १५ तीन भागमा विभाजित छ:

१. प्रश्न: कसले आराधना गर्न सक्छ?

२. उत्तर: आराधकको विवरण

३. समापन अवलोकन: आराधकलाई प्रतिज्ञा

प्रश्न: कसले आराधना गर्न सक्छ? (भजनसंग्रह १५:१)

मन्दिरको प्रवेशद्वारमा, एक आराधकले सोध्छन्, "हे परमप्रभु, तपाईंको पवित्रस्‍थानमा कसले वास गर्न पाउनेछ? तपाईंको पवित्र पर्वतमा को बस्‍न पाउनेछ?" यी प्रश्नहरूले आराधकका तीनवटा गुणहरूलाई देखाउँछन्।

साँचो आराधकलाई परमेश्वरको भय थाहा हुन्छ।

यो भजनले देखाउँछ कि परमेश्वरको उपस्थितिमा गरिने प्रवेश कहिल्यै लटरपटरको कुरा होइन। एक साँचो आराधकले बुझ्छ कि परमेश्वर पवित्र हुनुहुन्छ र हामी उहाँबाट अलग छौं।

सम्पूर्ण धर्मशास्त्रमा, परमेश्वरको उपस्थितिसँग सम्बन्धित डरको भावना छ। सीनै पर्वतमा, मानिसहरूलाई पर्वतबाट टाढा रहन चेतावनी दिइएको थियो जहाँ परमेश्वरले मोशासँग कुरा गर्नुभयो (प्रस्थान १९:७-२५)। येशुको रूप परिवर्तन भएको पहाडमा, चेलाहरू धेरै डराएका थिए (मत्ती १७:६)।

विश्वासीको लागि, परमेश्वरको भय आतंक होइन जसले व्यक्तिलाई परमेश्वरको उपस्थितिबाट धकेल्छ। यसको सट्टा, यो आदर हो जसले आराधकलाई नम्रतामा परमेश्वरको नजिक पुग्न मद्दत गर्दछ। एक आराधक बिनातयारी परमेश्वरको उपस्थितिमा हिंड्नु हुँदैन।

साँचो आराधकले नम्रतामा आराधना गर्छ।

आराधकले सोधे, "तपाईंको पवित्रस्‍थानमा कसले वास गर्न पाउनेछ?" प्रवासीहरू अर्को देशमा बसोबास गर्ने विदेशीहरू हुन्। तिनीहरू पाहुना हुन्, जससँग नागरिकको अधिकार छैन।

भजनसंग्रह १५ ले आराधकलाई हामी परमेश्वरको उपस्थितिमा पाहुना हौं भनेर चिन्न आवश्यक छ। किनभने परमेश्वर पवित्र हुनुहुन्छ र उहाँको घर पवित्र छ, हामी त्यहाँ हुन योग्य छैनौं। जीवनमा हाम्रो स्थिति जस्तोसुकै भए पनि, हामीले नम्रताको मनोवृत्तिको साथ परमेश्वरको उपस्थितिमा प्रवेश गर्नुपर्छ। हामी उहाँका पाहुना हौं।

साँचो आराधकले परमेश्वरको अनुग्रहको उत्सव मनाउँछ।

हामीले परमेश्वरको पवित्रतालाई चिनेको कारणले, हामी परमेश्वरको अनुग्रहको उत्सव मनाउँछौं जब उहाँले हामीलाई उहाँको घरमा स्वागत गर्नुहुन्छ। एउटा आराधक जसले सोधे, "तपाईंको पवित्र पर्वतमा को बस्‍न पाउनेछ?" उनीहरूलाई परमेश्वरको घरमा निम्तो दिइनेछ भनी निर्धक्क भएर यो प्रश्न सोधे। परमेश्वरले इस्राएलसँग सम्बन्ध स्थापित गर्नुभएको थियो; यहूदी आराधनाले यो अनुग्रही सम्बन्धको उत्सव मनाएको थियो।

भजनसंग्रह १०३ आराधना गर्न निमन्त्रणा हो, "हे मेरो प्राण, परमप्रभुको प्रशंसा गर्‌।" भजनसंग्रह १०३ मा अनुग्रहको एक सुन्दर सम्झना समावेश छ जसले हामीलाई परमेश्वरको उपस्थितिमा प्रवेश गर्न अनुमति दिन्छ।[2]

"जसरी बुबाले आफ्‍ना छोराछोरीहरूलाई टिठ्याउँछन्‌, त्‍यसरी नै उहाँका भय मान्‍नेहरूलाई परमप्रभुले टिठ्याउनुहुन्‍छ। किनभने उहाँ जान्‍नुहुन्‍छ, हाम्रो सृष्‍टि कसरी भएको हो, हामी धूलो मात्र हौं भनी उहाँ सम्‍झनुहुन्‍छ" (भजनसंग्रह १०३:१३-१४)। हामीलाई धूलोबाट सृष्टि गर्नुहुने परमेश्वरले अनुग्रहपूर्वक हामीलाई आराधना गर्न बोलाउनुभएको छ! जब हामी आराधनामा प्रवेश गर्छौं, हामी परमेश्वरको कृपालाई सम्झन्छौं। यो एउटा अनुग्रह हो जसले धुलोलाई सारा संसारको सृष्टिकर्ताको उपस्थितिमा प्रवेश गर्न अनुमति दिन्छ।

साँचो आराधनामा परमेश्वरको भय, नम्रता र अनुग्रह समावेश हुन्छ। आराधनाका यी प्रत्येक पक्षलाई मन्दिरको आराधनामा देखिएको थियो। यहूदी आराधकहरूले मन्दिरलाई आदरपूर्वक व्यवहार गर्थे किनभने यो एक पवित्र परमेश्वरको घर थियो।[3] परमेश्वरको अगाडि उचित नम्रता देखाउनको लागि तिनीहरूले सावधानीपूर्वक आराधनाको लागि तयारी गरे। उनीहरूले आराधनाको खुशीयाली पनि मनाए। यहूदीहरूको आराधनागायन, वाद्ययंत्र, प्रचुर सुगन्ध र उहाँका मानिसहरूको लागि परमेश्वरको अनुग्रहको खुशीयाली मनाउने वातावरणले भरिएको थियो।

आज, हामी परमेश्वरको भयको भावनाका साथ परमेश्वरकोको घरमा प्रवेश गर्नुपर्छ। हामीले परमेश्वरको सामु आफ्नो अयोग्यता पहिचान गर्नुपर्छ। तर हाम्रो आराधनाले हामीलाई उहाँको उपस्थितिमा स्वागत गर्ने परमेश्वरको अनुग्रहको खुशीयाली पनि मनाउनुपर्छ। एक पुरानो सामुदायिक धार्मिक विधिले भन्छ, "हामी योग्य छौं भनेर आउँदैनौं, तर हामीले निमन्त्रणा पाएका छौं।" यो परमेश्वरको अनुग्रहको खुशीयाली मनाउने आराधना हो।

उत्तर: आराधकको विवरण (भजनसंग्रह १५:२-५)

"परमेश्वरको घरमा कसले प्रवेश गर्न सक्छ?" भन्ने प्रश्नको जवाफमा पुजाहारीले आराधना गर्नेको विवरण दिए। भक्त परमेश्वरको अगाडि निर्दोष भएर हिँड्छ। अरूसंगको व्यवहार प्रति उनी सजग हुन्छ। उसले परमेश्वरलाई अस्वीकार गर्नेहरूलाई अस्वीकार गर्छ, तर परमेश्वरसँग डराउनेहरूलाई उसले आदर गर्छ। उसले आफ्नो चरित्रमा परमेश्वरको चरित्रको अनुकरण गर्न खोज्छ। जो व्यक्तिले साँच्चै परमेश्वरको आराधना गर्छ ऊ धेरै भन्दा धेरै परमेश्वर जस्तै बन्नेछ।

यो जवाफले हामीलाई सम्झाउँछ कि आराधनाले सम्पूर्ण जीवनलाई असर गर्छ। परमेश्वरको उपस्थितिमा प्रवेश गर्न सम्पूर्ण आज्ञाकारिता चाहिन्छ। दाऊदले "म परमेश्वरको सन्तान हुँ, तर म परमेश्वरको व्यवस्थाको अधीनमा रहन सक्दिनँ" भन्ने व्यक्तिको कल्पना गर्न सकेनन्। पवित्रशास्त्रले एक व्यक्तिलाई "येशु मेरो मुक्तिदाता हुनुहुन्छ, तर उहाँ मेरो जीवनको प्रभु हुनुहुन्न" भनी भन्न अनुमति दिँदैन। परमेश्वरको उपस्थितिमा प्रवेश गर्नको लागि परमेश्वरको अख्तियारको अधीनमा हुन आवश्यक छ।

साँचो आराधकले भक्तिमय जीवन बिताउँछ।

भजनसंग्रह १५:२ ले आराधकको सामान्य विवरण दिन्छ। परमेश्वरको उपस्थितिमा प्रवेश गर्नेहरूले निर्दोष भएर हिँड्नु पर्छ; यसले सबै क्षेत्रमा सत्यनिष्ठाको जीवन जीउनको सुझाव दिन्छ। तिनीहरूले निरन्तर रूपमा सही काम गर्नुपर्छ। तिनीहरूले हृदयमा (वा हृदयबाट) सत्य बोल्नु पर्छ। यी वाक्यांशहरूले आराधकको निरन्तर जीवनको वर्णन गर्दछ। आराधनाले जीवनका सबै पक्षहरूलाई प्रभावित गर्छ।

साँचो आराधक समुदायसँग सही सम्बन्धमा रहन्छ।

जसरी दाऊदले "म परमेश्वरको सन्तान हुँ, तर म परमेश्वरको व्यवस्था मान्दिनँ" भन्ने व्यक्तिको कल्पना गर्न सकेनन्, न त उनले "म परमेश्वरको सामु धर्मी छु, न म मेरा छिमेकीहरूसँग धार्मिक व्यवहार गर्दिनँ" भन्ने व्यक्तिको कल्पना गर्न सके।

परमेश्वरको उपस्थितिमा प्रवेश गर्ने व्यक्ति भनेको समुदायसँग सही सम्बन्धमा बाँच्ने व्यक्ति हुनुपर्दछ। उनी:

  • आफ्‍नो जिब्रोले अरूको निन्‍दा गर्दैन।

  • आफ्‍नो छिमेकीको बिगार गर्दैन।

  • आफ्‍नो साथी-भाइको अपवाद फैलाउँदैन; उसले कुरा काट्दैन।

  • परमेश्वरलाई अस्वीकार गर्नेहरूको विरोध गर्छ।

  • परमप्रभुको भय मान्‍नेहरूलाई आदर गर्दछ।

  • उहाँको वचनमा सत्य भएर बस्छ।

  • अन्यायपूर्ण ऋण लिएर गरिबको शोषण गर्दैन।

  • निर्दोषको विरुद्धमा घूस लिँदैन।

परमेश्वरको पालमा बस्ने व्यक्ति भित्री र बाहिरी रूपमा धर्मी व्यक्ति हो। साँचो आराधक सत्यनिष्ठ व्यक्ति हो। साँचो आराधकले आराधनाका रीतिरिवाजहरूलाई आज्ञाकारिताको दैनिक जीवनलाई प्रतिस्थापन गर्न अनुमति दिँदैन।

समापन अवलोकन: आराधकलाई प्रतिज्ञा (भजनसंग्रह १५:५ग)

आराधकलाई गरिको प्रतिज्ञासँगै भजनसंग्रह १५ समाप्त हुन्छ; "यस्‍ता काम गर्ने कहिल्‍यै पनि डग्‍नेछैन" (भजनसंग्रह १५:५)। जो व्यक्ति परमेश्वरको आज्ञा पालन गर्दै जीवन बिताउँछ उसलाई परमेश्वरको सुरक्षाको प्रतिज्ञा गरिएको छ। भजनसंग्रह १५ ले भजनसंग्रह १ लाई यसको ईश्वरभक्तिको वर्णन र एक ईश्वरीय व्यक्तिमा परमेश्वरको आशिषको प्रतिज्ञासँग समानान्तर गर्दछ।

भजनसंग्रह १५ ले उहाँको आराधना गर्नेहरूबाट परमेश्वरले के चाहनुहुन्छ भनी देखाउँछ। भजनसंग्रह १५ लाई आज्ञाको रूपमा ("परमेश्वरले चाहनुभएको कुरा यही हो") र प्रतिज्ञाको रूपमा ("परमेश्वरले उहाँसँग माग्नेहरूका लागि यो गर्नुहुनेछ") दुवै रूपमा पढ्नुपर्छ। यशैया ६ को दर्शनमा, हामी बुझ्छौं कि उहाँ यस्तो परमेश्वर हुनुहुन्छ जसले आराधकलाई आज्ञाकारिताको लागि शक्ति दिनुहुन्छ। परमेश्वर जसले अशुद्ध ओठहरूलाई शुद्ध पार्नुहुन्छ। भजनसंग्रह १५ को मागहरूलाई सम्भव बनाउनुहुने परमेश्वर नै हुनुहुन्छ। साँचो आराधना परमेश्वरको अनुग्रहमा निर्भर गर्दछ। यो हाम्रो कमजोर प्रयासबाट प्राप्त हुँदैन, तर उहाँको आराधना गर्न खोज्नेहरूको जीवनमा परमेश्वरको अनुग्रहद्वारा प्राप्त हुन्छ। आराधनामा परमेश्वरको अनुग्रहलाई कहिल्यै नबिर्सनुहोस्; पिताले साँचो आराधकहरूलाई खोज्नुहुन्छ, पिताले आराधनालाई सम्भव बनाउनुहुन्छ।

जाँच

आफैलाई सोध्नुहोस्, "के मसँग साँचो आराधकको हृदय र हात छ?" जाँचको रूपमा भजनसंग्रह १५ पढ्नुहोस्। प्रत्येक वाक्यांश पछि, सोध्नुहोस् "के यसले मलाई वर्णन गर्छ? के म आराधनाको लागि तयार छु ?"

व्यक्तिगत प्रार्थनाको रूपमा, भजनसंग्रह १५ फेरि पढ्नुहोस्। "हे प्रभु, मलाई निर्दोष भएर हिँड्न र जे सही छ त्यो गर्न शक्ति दिनुहोस्। मलाई चुगली र निन्दाबाट बच्न अनुग्रह दिनुहोस्..." परमेश्वरको प्रतिज्ञालाई सुनेर समाप्त गर्नुहोस्, "यस्‍ता काम गर्ने कहिल्‍यै पनि डग्‍नेछैन।"


[1]यसको धेरै जसो अंशहरू Ronald E. Manahan द्वारा "The Worshipper’s Approach to God" बाट लिइएको छ, Herbert Bateman द्वारा सम्पादन गरिएको Authentic Worship अध्याय 2 मा पाइन्छ। (Grand Rapids: Kregel Books, 2002)।
[2]यो अवलोकन Richard Averbeck को "Worshipping God in Spirit" बाट लिएको हो।
[3]येशुको समयसम्म, यो आदर हराएको थियो र मन्दिरको प्रवेशद्वार बजार बनिसकेको थियो। येशुले मन्दिरलाई बदनाम गर्ने पैसा साट्नेहरूलाई बाहिर निकाल्नुभयो र जसले यसलाई " डाँकूहरूको अड्डा " बनाए (मत्ती 21:12-13)।

आराधनाका खतराहरू: ढोंग

येशुले आफूलाई आराधनामा निपूण ठान्ने मानिसहरूसित कुरा गर्नुभयो। शास्त्रीहरू र फरिसीहरू बाइबलका आज्ञाहरू र यहूदी परम्पराहरू दुवै आराधनाको हरेक विवरणहरू पालन गर्न सावधान थिए। तिनीहरू आफ्नो परमपराको प्रत्येक विवरण पालन गर्न असफल हुने जो कोहीलाई दोष लगाउन छिटो थिए। तथापि, येशुले तिनीहरूको आराधनाको खण्डन गर्नुभयो किनभने तिनीहरू ढोंगी थिए।

फरिसीहरूले विरोध गरे कि येशुका चेलाहरूले आफ्नो हात धुने औपचारिक परमपराहरू पालना गर्दैनन्। येशुले जवाफ दिनुभयो, "ढोंगी हो, यशैयाले तिमीहरूका विषयमा ठीकै अगमवाणी बोले, यस जातिले मलाई ओठले मात्र आदर गर्छ, तर तिनीहरूको हृदय मबाट टाढ़ा छ। तिनीहरू व्‍यर्थमा मेरो उपासना गर्दछन्, तर तिनीहरूका शिक्षा मानिसहरूले सिकाएका विधि मात्र हुन्‌''' (मत्ती १५:७-९)। यशैयाको दिनमा रहेका झूटा आराधकहरू जस्तै फरिसीहरूलाई येशुले दुईवटा कुरामाहरूमा चुकेको कारणले ढोंगीहरू भन्नुभयो:

१. तिनीहरूको आराधना बाह्य थियो, हृदयबाट होइन (मत्ती १५:८)।

२. तिनीहरूको आराधना मानवीय परम्परामा आधारित थियो, परमेश्वरको आज्ञामा होइन (मत्ती १५:९)।

हामी ढोंगी आराधनाको खतराबाट बच्न होसियार हुनुपर्छ। हाम्रो आराधना हृदयबाट आउनु पर्छ, र हाम्रो आराधना परमेश्वरद्वारा निर्देशित हुनुपर्छ, न कि परमेश्वरको वचनको बराबरको ओहदामा उचालिएको परम्पराहरूद्वारा।

निष्कर्ष: आराधकहरूको गवाही

यदि हामीले ख्रीष्टियान जीवनमा अनुग्रहको भूमिकालाई याद नगरीकन भजनसंग्रह १५ पढ्यौं भने, हामीले आराधना गर्ने अधिकार कमाउनै पर्छ भन्ने गलत विचार पाउन सक्छौं। यद्यपि, भजनसंग्रह १५ ले उहाँको घरमा स्वागत पाउनको लागि परमेश्वरले हाम्रो लागि के गर्नुहुन्छ भनेर देखाउँछ, हामीले के गर्छौं भनेर होइन।

आराधनामा कसलाई निमन्त्रणा गरिएको छ? आराधकहरूको केही आश्चर्यजनक गवाहीहरू सुन्नुहोस्। तिनीहरूले देखाउँछन् कि आराधना भनेको हामी कत्तिको योग्य छौँ भन्ने बारेमा होइन; आराधना भनेको विनम्र भई परमेश्वरको उपस्थितिमा आउनु र उहाँको अनुग्रहद्वारा रूपान्तरण हुनु हो।

एउटा फरिसीले भन्छ:

"म येशुको शिक्षाबाट किन अप्रसन्न छु भनेर तपाईंले बुझ्न सक्नुहुन्छ भन्ने पक्का छ। म राम्रो मान्छे हुँ। म आज्ञाहरू भङ्ग गर्दिनँ म उपवास बस्तछु र दशांश दिन्छु। यदि कोही परमेश्वरको अनुग्रहको योग्य छ भने, त्यो म हुनुपर्छ! म असल मान्छे हुँ भनी देखाउन परमेश्वरको घरमा आएको छु। परमेश्वरले मेरो आराधनालाई कसरी अस्वीकार गर्न सक्नुहुन्छ र?"

कर उठाउनेले भन्छ:

"साँच्चै, म फरिसी जस्तै छक्क परेको छु! म मन्दिरमा पस्न सक्छु भन्ने पनि पक्का थिएन। म असल मान्छेहरूबाट सकेसम्म टाढा बसेँ। मैले आशा गरेको थिए कि कसैले मलाई याद गर्नेछैन। म दयाको योग्य नभए पनि मैले परमेश्वरको कृपा खोजेँ। मेरो आश्चर्यचकितमा, म धर्मी ठहरिएर घर गए। मेरो जीवन आराधानमा परिवर्तन भयो।"

एउटा धनी मानिसले भन्छ:

"म मन्दिरमा धेरै पैसा दिन्छु। मलाई लाग्छ कि येशु मेरो भेटीबाट प्रभावित हुनुपर्छ। त्यो मेरो आराधना हो। जब मैले मेरो भेटीको बाकसमा हाल्छु, सबैलाई थाहा हुन्छ कि 'पैसा ज्यु' यहाँ छ। म लाग्छ कि मैले कति दिन्छु भन्ने कुरालाई परमेश्वरले ध्यान दिनुहुन्छ!"

एउटा गरिब विधवाले भन्छिन्:

"मलाई मेरो भेटी बाकसमा राख्न लाज लाग्यो। मसँग दुईवटा साना सिक्का मात्र थिए। अरू सबैले धेरै दान दिइरहेका थिए; मसँग लगभग केही थिएन। तर आराधना भनेको परमेश्वरलाई आफ्नो उत्तम कुरा दिनु हो। यो धेरै थिएन; तर मैले मसँग भएका सबै दिएँ। मलाई आशा थियो कि कसैले मेरो सानो सिक्कालाई याद गर्नेछैन, तर कसैले याद गरेको थियो। मैले दिएको कुरा येशुले देख्नुभयो! र उहाँले भन्नुभयो कि मैले अरू सबैले भन्दा बढी दिए। मलाई थाहा भएन कि येशुले त्यो भनाइले के भन्न खोज्नुभएको थियो, तर म खुशी छु कि मैले मेरो तर्फबाट सबैभन्दा असल चिज दिएँ!"

समूह छलफल

► यस पाठको व्यावहारिक प्रयोगको लागि, निम्न कुराहरू छलफल गर्नुहोस्:

किरण धेरै वर्ष देखि एउटा ख्रीष्टियान भएका छन्। उनलाई थाहा छ कि मण्डलीमा उपस्थित हुनु, बाइबल पढनु र प्रार्थना गर्नु महत्त्वपूर्ण छ, तर यी गतिविधिहरूमा परमेश्वरको उपस्थिति महसुस गर्न उनलाई गाह्रो छ। तिनीहरू विधि बाहेक अरू केही देखिँदैनन्। किरणलाई उनको आराधनामा परमेश्वरलाई हेर्न तपाईं कसरी मद्दत गर्न सक्नुहुन्छ?

समीक्षामा पाठ २

(१) आराधना गर्न परमेश्वरको बारेमा हाम्रो बुझाइ महत्त्वपूर्ण छ किनभने परमेश्वरको विकृत तस्विरले विकृत आराधनाको नेतृत्व गर्दछ।

(२) आराधना हाम्रो आराधना अनुभवको गुणस्तरमा होइन, परमेश्वरमा केन्द्रित हुनुपर्छ।

(३) प्रकाशको पुस्तकले स्वर्गीय आराधनाको चित्र दिन्छ:

  • स्वर्गीय आराधना भनेको सृष्टिकर्ताको आराधना हो जो सार्वभौम, पवित्र र अनन्त हुनुहुन्छ।

  • स्वर्गीय आराधना भनेको उद्धारकर्ताको आराधना हो।

  • स्वर्गीय आराधना भनेको राजाको आराधना हो।

  • स्वर्गीय आराधना भनेको विजयी दुलहाको आराधना हो।

(४) भजनसंग्रह १५ एक आराधनामय भजन हो जसले आराधकहरूका लागि परमेश्वरको आवश्यकताहरू संक्षेप गर्दछ।

  • साँचो आराधकलाई परमेश्वरको भय थाहा हुन्छ।

  • साँचो आराधकले नम्रतामा आराधना गर्छ।

  • साँचो आराधकले परमेश्वरको अनुग्रहको उत्सव मनाउँछ।

  • साँचो आराधकले भक्तिमय जीवन बिताउँछ।

  • साँचो आराधक समुदायसँग सही सम्बन्धमा रहन्छ।

  • साँचो आराधकले सुरक्षा र आशिषको परमेश्वरको प्रतिज्ञा प्राप्त गर्छ।

पाठ २ क्रियाकलाप

(१) भजनसंग्रह १२०-१३४ यरूशलेम यात्रा गर्ने तीर्थयात्रीहरूको लागि गीतहरूको संग्रह हो। यी भजनहरूले विभिन्न परिस्थितिहरूमा आराधनाको बारेमा सिकाउँछन्। तलको तालिकामा भएका प्रश्नहरूको जवाफ दिँदा यी भजनहरू पढ्नुहोस्।

भजनसंग्रह जवाफ दिनुपर्ने प्रश्नहरू
१२० मेशेक र केदार कहाँ छन्? मेशेक वा केदारमा बस्ने तीर्थयात्रीका लागि यरूशलेमको आराधना किन महत्त्वपूर्ण छ?
१२२ आराधनाप्रति हाम्रो मनोवृत्तिबारे यस भजनसंग्रहले के सिकाउँछ?
१२३ आराधकको परमेश्वरसँगको सम्बन्धको बारेमा पद २ ले के सिकाउँछ?
१२४ यस भजनसंग्रहले कठिन परिस्थितिमा प्रशंसाको बारेमा के सिक्नुहुन्छ?
१२६ राष्ट्रहरू बीचको मिशनसँग आराधना कसरी सम्बन्धित छ? पद २ लाई नोट गर्नुहोस्।
१३० यस भजनसंग्रहले आराधनामा स्वीकारको भूमिकाबारे के सिकाउँछ?
१३१ भजनरचयिताले आफूलाई आराधनाको लागि कसरी तयार गर्नुहुन्छ? यस नमुनालाई पछ्याउन तपाईंले चाल्न सक्ने व्यावहारिक कदमहरू के के हुन्?
१३३ भजनसंग्रह १३३, यूहन्ना १७:२०-२३, र एफिसी ४:१-१६ सबै एकताको कुरा गर्छन् र सबै कुनै न कुनै रूपमा मण्डलीको जीवनसँग सम्बन्धित छन्। आराधना र मण्डलीको जीवनसँग एकता कसरी सम्बन्धित छ?
१३४ भजनसंग्रह १३४ कसरी आराधनाका भजनहरूको यस शृङ्खलाको लागि उपयुक्त अन्त्य हो?

(२) अर्को पाठको सुरुमा, तपाईंले यस पाठमा आधारित परीक्षा दिनुहुनेछ। तयारी गर्दा खेरी परीक्षाका प्रश्नहरूलाई सावधानीपूर्वक अध्ययन गर्नुहोस्।

पाठ २ परीक्षा

(१) प्रकाश ४ को भजनमा सृष्टिकर्ता परमेश्वरको बारेमा हामीले सिक्ने तीनवटा कुराहरूलाई सूचीबद्ध गर्नुहोस्।

(२) प्रकाश ५ मा उद्धारकर्ताको आराधना गर्नुका तीनवटा कारणहरू सूचीबद्ध गर्नुहोस्।

(३) ख्रीष्टियानहरूका लागि प्रकाशको पुस्तकको मुख्य सन्देश के हो?

(४) भजनसंग्रह १५ एक आराधनामय भजन हो जुन तीन भागमा विभाजित छ। ती तीन भागहरूलाई सूचीबद्ध गर्नुहोस्।

(५) आफूलाई परमेश्वरको उपस्थितिमा पाहुना हो भनी बुझ्ने आराधकको मनोवृत्ति कस्तो हुन्छ?

(६) भजनसंग्रह १५:२-५ बाट साँचो आराधकका दुई महत्त्वपूर्ण विशेषताहरू के-के हुन्?

(७) येशुले किन फरिसीहरूलाई ढोंगी भन्नुभयो?

(८) आफूले कण्ठ गरेको प्रकाश ५:९-१४ लेख्नुहोस्।

Next Lesson