ख्रीष्टियान आराधनाको परिचय
ख्रीष्टियान आराधनाको परिचय
Audio Course Purchase

Search Course

Type at least 3 characters to search

Search through all lessons and sections in this course

Searching...

No results found

No matches for ""

Try different keywords or check your spelling

results found

Lesson 5: मण्डली इतिहासमा आराधना

1 min read

by Randall McElwain


पाठका उद्देश्यहरू

यस पाठको अन्त्यसम्ममा, विद्यार्थीले सक्षम हुनुपर्छ:

(१) विभिन्न आराधनाका परम्पराहरू बीचको भिन्नतालाई सम्मान गर्ने।

(२) आराधनाका अपरिपर्तित सिद्धान्तहरू र परिवर्तनीय आराधना अभ्यासहरू बीचको भिन्नता बुझ्ने।

(३) आराधनाले हाम्रो ईश्वरीय विश्वासलाई प्रतिबिम्बित गर्छ र ती विश्वासहरूलाई प्रभाव पार्छ भनेर बुझ्ने।

(४) आज आराधना गर्न विभिन्न मण्डली परम्पराहरूको आराधनाबाट पाठहरू लागू गर्ने।

पाठको तयारी

भजनसंग्रह १००:१-५ कण्ठ गर्नुहोस्।

परिचय

प्रकाशले परम्परागत आराधनालाई महत्त्व दिन्छन्। तिनीहरूको मासिक बैठकमा समकालीन आराधना सेवाको नेतृत्व गर्ने आशिषले सोधे, "तपाईंहरू आफ्ना सेवाहरूमा किन नयाँ प्रयास गर्नुहुन्न?"

"हामी बाइबलीय हौं," प्रकाशले जवाफ दिए। "यदि बाइबलले कुनै विशेष आराधना अभ्यासलाई आदेश दिँदैन भने, हामी प्रारम्भिक मण्डलीको आराधना अभ्यासहरू थप्न स्वतन्त्र छैनौं। बाइबलीय आराधना परिवर्तन गर्ने हामी को हौं? हाम्रो मण्डलीमा, हामी केवल भजन गाउँछौं। ती गीतहरू प्रारम्भिक मण्डलीका गीतहरू थिए; तिनीहरू हाम्रो लागि पर्याप्त छन्!"[1]

आशिषले जवाफ दिए, "इतिहास प्रकाशको पुस्तकको अन्त्यसँगै रोकियो भन्ने तपाईं विचार गर्नुहुन्छ भने जस्तो मलाई लाग्छ। हामी २,००० वर्ष पुरानो आराधना शैलीमा कसरी हामी आफैलाई सीमित राख्न सक्छौं? जबसम्म बाइबलले कुनै अभ्यासलाई निषेध गर्दैन, र जबसम्म अभ्यासले मण्डलीलाई विभाजित गर्दैन, हामीले हाम्रो पुस्ताको आवश्यकता अनुसार आराधनालाई अनुकूलन गर्नुपर्छ। मेरो मण्डलीमा, हामी धेरै नयाँ गीतहरू गाउँछौं। यदि परमेश्वरले नयाँ गीतहरू निषेध गर्न चाहनुहुन्थ्यो भने, बाइबलले तिनीहरूलाई स्पष्ट रूपमा निषेध गर्ने थियो।"[2]

सुमनको प्रतिक्रिया व्यावहारिक थियो। "आराधनाको बारेमा बाइबलले के भन्छ हामीले अध्ययन गरेका छौं। हामीलाई पवित्रशास्त्रबाट आराधनाका सिद्धान्तहरू थाहा छ। अन्य ख्रीष्टियानहरूले प्रत्येक पुस्तामा यी सिद्धान्तहरूलाई कसरी लागू गरेका छन् भनेर हामीले हेर्नु आवश्यक छ। मण्डलीको इतिहासमा आराधना कस्तो देखिन्थ्यो?"

सुमनले आराधनाको बारेमा छलफल गर्दा एउटा महत्त्वपूर्ण सिद्धान्त बुझ्छन्। यद्यपि आराधनाको बाइबलीय सिद्धान्तहरू अपरिवर्तित छन्, बाइबलमा आराधनाको प्रत्येक अनुभव फरक छ। विवरणहरू फरक हुन सक्छन्; तर आराधनाका आवश्यक भागहरू उस्तै रहन्छन्। हामीले अन्तिम दुई पाठहरूमा आराधनाका आवश्यक सिद्धान्तहरू देख्यौं, तर प्रवृत्ति परिवर्तन हुन्छ। विचार गर्नुहोस्:

  • अब्राहामले आराधना गर्दा उनी आफ्नो पालको ढोकामा थिए। कसैले यो पढेर भन्न सक्छ, "साँचो आराधना घरमा हुँदा हुन्छ।" तर…

  • यशैया मन्दिरमा थिए जब उनले प्रभुलाई उच्च पारिएको देखे। कसैले यो पढेर भन्न सक्छ, "साँचो आराधना तब हुन्छ जब तपाईं मण्डलीमा हुनुहुन्छ।" तर…

  • अय्यूब टाउकोदेखि खुट्टासम्म खटिरै-खटिराले ढाकिएका थिए जस उनले यसो भने, "मेरा कानहरूले तपाईंका बारेमा सुनेका मात्र थिए, तर अब ता म तपाईंलाई आफ्‍नै आँखाले देख्‍दछु" (अय्यूब ४२:५)। कसैले यो पढेर भन्न सक्छ, "अहा! साँचो आराधना तब हुन्छ जब तिमी दुःख दायी अवस्थामा हुन्छौ।"

के तपाईंले मूख्य कुरा देख्नुहुन्छ? आराधना धेरै फरक परिस्थितिहरूमा, धेरै फरक तरिकामा, र धेरै फरक ढाँचाहरू पछ्याएर हुन्छ। हामी प्रायः आराधनाको परिवर्तनशील परिस्थितिलाई अपरिवर्तित सिद्धान्तहरूसँग भ्रमित हुन्छौँ।

यस पाठमा, हामी हेर्नेछौं कि मण्डलीले इतिहासभरि आराधनाका सिद्धान्तहरू कसरी लागू गरेको छ। यसले तपाईंलाई परमेश्वरका जनहरूले आराधना गर्ने विभिन्न तरिकाहरूबारे बुझाउनेछ। आशा छ कि यसले तपाईंलाई सबै परिस्थितिहरूमा सबै मानिसहरूले पालना गर्नुपर्ने आराधनाको लागि कुनै एकल ढाँचा छैन भनेर हेर्न मद्दत गर्नेछ। बरु, हामीले हाम्रो परिस्थितिहरूमा आराधनाका बाइबलीय सिद्धान्तहरूलाई कसरी लागू गर्ने भनेर निर्धारण गर्नको लागि परमेश्वरको आत्माको निर्देशन खोज्नुपर्छ।

यस पाठमा, हामी यो पनि हेर्नेछौं कि हामीले कसरी आराधना गर्छौं भन्ने कुराले हाम्रो विश्वासलाई प्रतिबिम्बित गर्दछ। हाम्रो आराधना अभ्यासहरू परमेश्वरको बारेमा हाम्रो विश्वास र हामी उहाँको अगाडि कसरी आउँछौं त्यसबाट प्रभावित हुन्छ।

तपाईंले आराधनाको बारेमा निर्णय गर्दा यो बुझाइ महत्त्वपूर्ण हुन्छ। के तपाईंको आराधना सेवालाई तपाईंको विश्वास बताउने तरिकामा तपाईंले सञ्चालन गर्नुहुन्छ, वा तपाईं केवल अर्को मण्डलीको ढाँचाको नक्कल गर्दै हुनुहुन्छ? यदि तपाईं अर्को मण्डलीको नक्कल गर्दै हुनुहुन्छ भने, तपाईंले यो सुनिश्चित गर्नुपर्दछ कि तपाईं परमेश्वरको बारेमा त्यो मण्डलीको विश्वास र हामी उहाँको नजिक कसरी आउँछौँ भन्ने कुरालाई देखाउँदै हुनुहुन्छ। हाम्रो आराधनाले हामीले के विश्वास गर्छौँ भन्ने कुरालाई देखाउँछ।

► यस पाठलाई जारी राख्नु अघि, तपाईंको हालको आराधना सेवाहरूबारे छलफल गर्नुहोस्। यदि व्यक्तिलाई तपाईंको सिद्धान्तको बारेमा केही थाहा छैन भने, तपाईंको आराधना शैलीले तिनीहरूलाई के भन्छ? तिनीहरूले परमेश्वरप्रतिको तपाईंको दृष्टिकोण, परमेश्वरसँगको हाम्रो सम्बन्धप्रतिको तपाईंको दृष्टिकोण र तपाईंको आराधना सेवाको परिणामस्वरूप सुसमाचार प्रचार गर्ने दृष्टिकोणबारे के सिक्नेछन्?


[1]यसलाई आराधनाको "नियामक सिद्धान्त" भनिन्छ। जोन क्याल्भिनद्वारा सिकाइएको, यसले पवित्रशास्त्रमा स्थापित नभएका कुनै पनि आराधना अभ्यासहरूलाई निषेध गर्दछ। मूलतः यसले कुनै पनि वाद्य सङ्गीत (नयाँ करारको आराधनामा वाद्ययन्त्रहरू उल्लेख गरिएको छैन) वा भजनबाहेक अन्य कुनै गीतहरूको प्रयोगलाई रोकेको थियो। आज यो सिद्धान्त पछ्याउने केही मण्डलीहरूले वाद्ययन्त्रहरू र भजनहरू थपेका छन्; तर तिनीहरू आराधनाको लागि नयाँ दृष्टिकोणबाट टाढा रहन जारी राख्छन्।
[2]यसलाई आराधनाको "सामान्य सिद्धान्त" भनिन्छ। यस दृष्टिकोणले सिकाउँछ कि पवित्रशास्त्रमा निषेध नगरिएको कुनै पनि आराधना अभ्यासहरूलाई अनुमति दिइएको छ, जबसम्म तिनीहरूले मण्डलीको शान्ति र एकतामा बाधा पुर्‍याउँदैनन्।

दोस्रो शताब्दीमा आराधनाको एउटा चित्र

नयाँ करारको समय पश्चात् हाम्रो सबैभन्दा पहिलो आराधनाको दृश्य ईस्वी सम्वत् ११३ को एउटा पत्रबाट पाउँछौं। बिथिनियाका गभर्नर प्लिनीले सम्राट ट्राजनलाई लेखेको पत्रमा ख्रीष्टियान आराधनाको बारेमा वर्णन गरे।[1] उनले लेखे कि ख्रीष्टियानहरू, बिहान हुन अघि एक निर्दिष्ट दिनमा भेला हुन्छन् र पालैपालो गरी ख्रीष्टको लागि एउटा देवताको रूपमा भजन गाउँछन्, र कुनै चोरी, कुनै धोखा, कुनै व्यभिचार नगर्ने ... भनेर तिनीहरूले शपथ लिन्छन् ...। अनि छुट्टिने र पछि फर्केर सँगै खाना खाने उनीहरूको चलन छ।

प्लिनीका अनुसार, ख्रीष्टियानहरू आइतबार सूर्योदय अघि भजन गाउन र नैतिक आचरणको प्रतिज्ञा गर्न भेला भए, सम्भवतः पवित्रशास्त्र पढेको प्रतिक्रिया स्वरूप। दिनको पछिल्लो समयमा, तिनीहरूले खाना खाए, जसमा प्रभु-भोज पनि समावेश थियो।

चालीस वर्ष पछि, जस्टिन मार्टरले आराधनाको थप विस्तृत विवरण दिए।[2] जस्टिनले रोमी सम्राटलाई ख्रीष्टियान आराधनाको रक्षा गर्न लेखे जसले ख्रीष्टियानहरूलाई अनैतिकता र साम्राज्यप्रति राजद्रोहको शङ्का गर्थे। जस्टिनले सम्राटलाई आश्वासन दिए कि ख्रीष्टियान आराधना रोमको लागि खतरा होइन। जस्टिनका अनुसार ख्रीष्टियान आराधनामा निम्न भागहरू थिए:

१. पवित्रशास्त्रको पढाइ।

२. धर्मसभाका अगुवाद्वारा गरिएको वचनको सेवा।

३. प्रार्थना। व्यक्तिहरूले चुपचाप प्रार्थना गरे; त्यसपछि अगुवाले औपचारिक प्रार्थनाको नेतृत्व गरे, जसलाई मानिसहरूले जवाफ दिए, "आमेन।" प्रार्थनाको अन्त्यमा, आराधकहरूले पवित्र आत्माको उपस्थितिलाई जनाउने पवित्र चुम्बनले एकअर्कालाई अभिवादन गरे।

४. सेवा प्रभु-भोजसँगै समापन भएको थियो। सेवापछि, दुई जना डिकनहरूले बिरामीहरू र जेलमा सहिद हुने पर्खाइमा रहेकाहरूका लागि बाँकी रोटी र दाखमद्य लान्थे।

५. सेवाको अन्त्यमा, पैसा वा खानेकुरा हुनेहरूका उपहारहरू अगुवाकहाँ ल। भेटीहरू चाहिँ "अनाथ र विधवाहरू, बिरामी वा अन्य कुनै कारणले खाँचोमा परेकाहरू र हाम्रा बीचमा बन्दीहरू र अपरिचितहरूको निम्ति लगिएको थियो।"

दोस्रो शताब्दीको आराधनाको शक्ति भनेको मण्डलीको सहभागिता थियो। प्लिनी र जस्टिन मार्टर दुवले एउटा सर सेवाबारे बताए, यसमा रोमको रहस्यात्मक मूर्तिपूजक धर्महरूमा सामान्य रूपमा पाइने जटिल रीतिरिवाहरू जस्तो केही कुरा थिएन। साना समूहहरू निजी घरहरूमा भेला भएकाले आराधना आत्मिय थियो।

अर्को शक्ति चाहिँ आराधना र जीवन बीचको स्पष्ट सम्बन्ध थियो। प्लिनीको पत्रले नैतिक व्यवहारप्रति ख्रीष्टियानको प्रतिबद्धतालाई उल्लेख गरेको छ; जस्टिन मार्टरले खाँचोमा परेकाहरूलाई मद्दत गर्ने उपहारहरू उल्लेख गर्छन्। आराधनामा सम्पूर्ण जीवन स‌ंलग्न हुन्छ।

► दोस्रो शताब्दीको आराधनाका कस्ता पक्षहरूले तपाईंको आराधनालाई फाइदा पुऱ्याउन सक्छ? के तपाईंले दोस्रो शताब्दीको आराधनामा कुनै खतरा देख्नुहुन्छ?


[1]Pliny, Letters 10.96-97, https://faculty.georgetown.edu/jod/texts/pliny.html बाट प्राप्त जनवरी 26, 2023 मा।
[2]Justin Martyr, (मार्कस डोड्सद्वारा अनुवादित), The First Apology of Justin (अध्याय 67)। https://en.wikisource.org/wiki/Ante-Nicene_Christian_Library/The_First_Apology_of_Justin_Martyr#Chapter_67 बाट प्राप्त जनवरी 26, 2023 मा।

मध्य युगमा आराधनाको चित्र

आराधनाको दोस्रो तस्वीरको लागि, १२ औं शताब्दीमा जानुहोस्। मध्यवर्ती वर्षहरूमा, ख्रीष्टियान धर्म पवित्र रोमन साम्राज्यको आधिकारिक धर्म बन्यो। सन् ३१३ मा कन्स्टेन्टाइनको मिलानको आज्ञापत्रपछि, मण्डलीहरूले बढ्दो रूपमा भव्य मण्डली भवनहरू निर्माण गर्न थाले। धेरै ठूला युरोपेली क्याथेड्रलहरू यी १,००० वर्षहरूमा निर्माण गरिएका थिए।

मध्य युगमा, आराधना झन् भव्य भयो। सकारात्मक पक्षमा, क्याथेड्रल आराधनाले परमेश्वरको महिमा देखायो। काँचका झ्यालहरूले पढ्न नसक्नेहरूलाई बाइबलका घटनाहरू चित्रण गर्थे। आराधना झुण्डहरूले सुन्दर भजन गाए। आराधना नाटकीय र सुन्दर थियो।

मध्य युगमा रहेका आराधनाका कमजोरीहरू

आत्माका कुराहरूभन्दा सुन्दरता महत्त्वपूर्ण थियो।

आराधनाको लागि सुन्दर कुराहरू: धूप, प्रशिक्षित गायकहरूद्वारा गाइने विस्तृत सङ्गीत, घण्टीहरू र पूजाहारीका विशेष लुगाका प्रयोगमा जोड दिइयो। त्यहाँ आत्मिकभन्दा कलात्मक कुरा बढी महत्त्वपूर्ण भयो।

मानिसहरूले सेवालाई बुझ्न सकेका थिएनन्।

सेवा थोरै मानिसहरूले मात्र बुझ्ने ल्याटिन भाषामा थियो। धेरै स्थानीय पूजाहारीहरू वचन प्रचार गर्न धेरै कम तालिम पाएका थिए। प्रार्थनाहरू धेरै फरक स्रोतहरूको मिश्रित खण्डहरूबाट थिए र प्रायः एकैसाथ मिल्दैन थिए।

मानिसहरू दर्शक थिए, सक्रिय आराधकहरू होइनन्।

मानिसहरूको कमै सहभागिता थियो। मण्डली एक नाटक, भिड हेरिरहेका दर्शकहरूको समूह थियो। पूजाहारीहरूले आराधनाका घटनाहरू अभिनय गरे जहाँ दर्शकहरूले हेरिरहेका थिए। सेवाको केन्द्र वचन भन्दा प्रभु-भोज थियो।

रोमन क्याथोलिक मण्डलीले रोटी र दाखमद्य ख्रीष्टको वास्तविक शरीर र रगतमा परिणत भएको सिकाएको थियो (यसलाई ट्रान्ससबस्टेन्सिएसन को सिद्धान्त भनिन्छ।) अधिकांश सामान्य मानिसहरूले इस्टरमा मात्र प्रभु-भोज लिन पाउँथ्ये। पूजाहारीले दाखमद्य पिए र मण्डलीलाई रोटी मात्र बाँडे।

सुसमाचारलाई रीतिरिवाजसँग प्रतिस्थापित गरिएको थियो।

हाम्रो आराधनाले हाम्रो विश्वासलाई आकार दिन्छ। हामी मध्य युगतिर यो सिद्धान्तले काम गरिरहेको देख्छौं; रोमन क्याथोलिकको आराधनाले तिनीहरूको ईश्वरशास्त्रलाई आकार दियो। परमेश्वर मानव सरोकारबाट टाढा हटाइएको रूपमा देखिनु भयो। साधारण मानिसहरूले आफू परमेश्वरको नजिक पुग्न सक्ने महसुस गरेनन्; बरु, तिनीहरूले पूजाहारी मार्फत मात्र परमेश्वरसँग कुरा गर्न सक्थे। पूजाहारी, परमेश्वर र मानिस बीच मध्यस्थकर्ता बने।

मध्य युगमा आराधनाको शक्ति यसको महिमा र परमेश्वरसामु भयको भावमा थियो। वास्तुकला, सङ्गीत, नाटक र सुन्दर कलात्मकता मार्फत, आराधनाले परमेश्वरको महिमाको चित्रण गर्‍यो।

यद्यपि, मध्य युगको आराधनाको कमजोरीले यसको शक्तिलाई ओझेल पार्‍यो। साधारण ख्रीष्टियन आराधना सेवामा मात्र एक दर्शक थिए। धेरै तरिकामा, मध्य युगको आराधना नयाँ करारको आराधनाबाट एक दुखद विचलन थियो।

आराधनाका खतराहरू: अर्थहीन आराधना

जसै हामीले दैनिक रूपमा आराधना गर्छौँ हामी यो किन गर्छौं भनेर हाम्रा मण्डलीहरूलाई सिकाउन समय निकाल्नुपर्छ, अन्यथा आराधकहरूलाई अर्थपूर्ण परम्पराहरू अर्थहीन लाग्न सक्छन्।

एक नयाँ विश्वासीले आफ्नो पास्टरलाई सोधे, "हामी किन प्रार्थनाको अन्त्यमा 'आमेन' भन्छौं? के 'आमेन' एउटा जादुले भरिएको शब्द हो जसले परमेश्वरलाई हामीले मागे अनुसार गराउँछ?" त्यो पास्टरले त्यस विश्वासीलाई आराधनाको विधिहरूबारे बुझाउनुपर्छ भन्ने महसुस गरे। यदि हामीले हाम्रो मण्डलीलाई आराधनाको बारेमा सिकाउँदैनौं भने "आमेन" जस्तो आधारभूत कुरा अर्थहीन हुन सक्छ।

आराधनाबाट प्रतीकात्मकता र रहस्य हटाउन आवश्यक छैन। यसको समाधान भनेको मण्डलीलाई हाम्रा आराधनाका अभ्यासहरूको अर्थ सिकाउनु हो। हामीले प्रयोग गर्ने भाषा किन प्रयोग गर्छौं भनेर उनीहरूले थाहा पाउनुपर्छ। मण्डलीको लागि मण्डलीको गायन किन महत्त्वपूर्ण छ भनेर उनीहरूले थाहा पाउनुपर्छ। पवित्रशास्त्रका वचनहरूको अर्थ के हो भनेर उनीहरूले थाहा पाउनुपर्छ।

► मध्य युगको आराधनाका कुन पक्षहरूले तपाईंको आराधनालाई फाइदा पुर्‍याउन सक्छ? के तपाईंले मध्य युगको आराधनामा कुनै खतराहरू देख्नुहुन्छ?

धर्मसुधारको युगमा आराधनाको चित्र

हाम्रो आराधनाले हाम्रो ईश्वरशास्त्रलाई आकार दिन्छ भन्ने धर्म-सुधारकहरूलाई राम्रोसँग थाहा थियो। यसकारणले गर्दा, उनीहरूलाई थाहा थियो कि सुधारको ईश्वरशास्त्रीय सत्यताहरू हराउनेछन् जबसम्म आराधनाले सुधारको ईश्वरशास्त्रलाई प्रतिबिम्बित गर्दैन।

धर्मसुधारकहरूले प्राथमिक धर्मशास्त्रीय चिन्ता विश्वासीको पूजाहारीपन थियो। यसको मतलब विश्वासीहरूले प्रत्यक्ष रूपमा परमेश्वरको आराधना गर्छन्; हामी पूजाहारीको माध्यमबाट जाँदैनौं। सुधारकहरूले पनि दृढ विश्वास गरे कि परमेश्वरको वचन हरेक विश्वासीहरूको लागि उपलब्ध हुनुपर्छ।

धर्मसुधारको युगमा आराधनाले हरेक आराधकलाई सामेल गर्न खोज्यो। आराधना मानिसहरूको आफ्नै भाषामा थियो, ल्याटिनमा होइन। सबै आराधकहरूले आफ्नै भाषामा परमेश्वरको वचन बुझ्न सकून् भनेर पवित्रशास्त्र पढियो र प्रचार गरियो। मण्डलीको सामूहिक भजनले प्रत्येक आराधकलाई आराधनामा भाग लिन अनुमति दियो। मार्टिन लूथर एक भजन लेखक थिए, र उनका भजनहरू धर्मसुधारको युग फैलाउन मद्दतको लागि लागू गरिएको छ।

यी साझा क्षेत्रहरू बाहेक, आराधनाको सन्दर्भमा धर्मसुधारकहरू बीच धेरै असहमति थियो। लुथरन र एङ्गलिकेनहरूले रोमन क्याथोलिक मण्डलीको धेरै रीतिरिवाजहरूलाई राखे। लूथर विश्वास गर्थे कि, जबसम्म तिनीहरूलाई पवित्रशास्त्रमा निषेध गरिएको छैन वा मण्डलीमा द्वन्द्व उत्पन्न भएको छैन, नयाँ आराधनाका अभ्यासहरूलाई अनुमति दिनुपर्छ।

क्याल्भिन र तिनका अनुयायीहरूले केही रीतिरिवाजहरू पालन गरे तर ती आराधना अभ्यासहरूलाई अस्वीकार गरे जुन विशेष रूपमा पवित्रशास्त्रमा छलफल गरिएको थिएन। क्याल्भिनले सामूहिक गायनलाई प्रोत्साहन दिए, तर केवल भजन गाउनलाई मात्र। उनले विश्वास गरे कि "परमेश्वरको प्रशंसामा गाउन केवल परमेश्वरको वचन मात्र योग्य छ।"[1] उनी मण्डलीको सहभागिता हुने सामूहिक प्रभु-भोजमा फर्किए, र प्रभु-भोजको सेवा कम्तिमा पनि महिनामा एक पटक गर्ने सुझाव दिए, अझ बढी प्राथमिक रूपले प्रत्येक प्रभुको दिनमा।

एनाब्याप्टिस्ट र प्युरिटनहरूले धेरैजसो रीतिरिवाजलाई अस्वीकार गरे र आराधनाको सरल रूपतिर फर्के। यी समूहहरूले कहिलेकाहीँ निजी घरहरूमा मात्र आराधना गर्थे र आफूलाई मात्र पहिलो शताब्दीको आराधनालाई साँचो रूपमा पछ्याउनेहरू हुन् भनी ठान्थे।

आराधनाको सुधारको युगको शक्ति यसको मण्डलीको सामूहिक संलग्नतामा फर्कनुमा थियो। धर्मसुधारको युगमा विभिन्न मण्डलीहरू बीच भिन्नताहरू भए तापनि, सबै धर्मसुधारकहरूले आराधनामा विश्वासीहरूको पूजाहारीपनलाई नमूना बनाउन खोजे।

► धर्मसुधारको युगको आराधनाका कुन पक्षहरूले तपाईंको आराधनालाई फाइदा पुर्‍याउन सक्छ? के तपाईंले सुधारको युगको आराधनामा कुनै खतरा देख्नुहुन्छ?


[1]Donald P. Hustad, Jubilate II (Carol Stream: Hope Publishing Company, 1993) मा उद्धृत, 194।

स्वतन्त्र मण्डलीहरूमा आराधनाको एक चित्र

धर्मसुधारको युगपछि, केही मण्डलीहरूले राज्यको नियन्त्रण अस्वीकार गरे। "स्वतन्त्र मण्डलीहरू" भनिने यी मण्डलीहरूमा एनाब्याप्टिस्ट, प्युरिटान्स, स्वतन्त्रवादीहरू, पृथकतावादीहरू र असन्तुष्टवादीहरू समावेश थिए। यी मध्ये धेरैले निश्चित आराधना र रीतिरिवाजलाई पनि अस्वीकार गरे।

स्वतन्त्र मण्डलीका आराधनाका विशेषताहरू:

(१) प्रचार केन्द्रमा थियो।

(२) मण्डलीको सहभागिता महत्त्वपूर्ण थियो।

मण्डलीको सहभागिताको प्रकृति एउटा मण्डलीदेखि अर्को मण्डलीमा फरक-फरक थियो।

  • केही मण्डलीहरूमा मण्डलीका सदस्यहरूले भजन गाए। अन्य मण्डलीहरूमा, सार्वजनिक आराधनामा सङ्गीत थिएन।

  • केही मण्डलीहरूमा मण्डलीका सदस्यहरूले ठूलो स्वरमा प्रार्थना गरे। अन्य मण्डलीहरूमा पास्टरले मानिसहरूको तर्फबाट प्रार्थना गर्थे।

सर्वसाधारण र पास्टरबीच थोरै भेद थियो। धेरैजसो स्वतन्त्र मण्डलीहरूमा पास्टरहरूको लागि कुनै विशेष लुगाहरू थिएनन्।

(३) सबै आराधना मानिसहरूको आफ्नै भाषामा हुन्थ्यो।

१६०८ मा सेवाको रूपरेखाले निम्न कुराहरूलाई समावेश गर्दछ (सेवा चार घण्टासम्म चल्यो):

  • प्रार्थना

  • पवित्रशास्त्र पढाइ (व्याख्या सहित १-२ अध्याय)

  • प्रार्थना

  • वचन (एक घण्टा वा बढी)

  • सामान्य मानिसद्वारा वचनात्मक योगदान

  • प्रार्थना

  • भेटी

आराधनामा अब प्रभु-भोज र पूजाहारीको प्रभुत्व थिएन। स्वतन्त्र मण्डलीहरूको आराधना सेवाहरू नयाँ करारको मण्डलीको आराधना जस्तै देखिन्थ्यो।

आराधना गर्ने यस पद्धतिमा खतराहरू छन्। स्वतन्त्र मण्डलीहरूले विश्वासीको पूजाहारीपनको सेवाबारे सिकाउँथे, तापनि व्यवहारमा प्रचारकले कहिलेकाहीँ आराधनाको केन्द्रबिन्दुको रूपमा पूजाहारीलाई प्रतिस्थापित गरे। केही मण्डलीहरूमा भने, त्यस मण्डलीका सदस्यहरूको संलग्नता थोरै हुन्थ्यो।

सायद स्वतन्त्र आराधनाको सबैभन्दा ठूलो खतराहरू चरम व्यक्तिवादको खतरा थियो। यदि विश्वासीको पूजाहारीपनको सेवाको सिद्धान्त मण्डलीको एकताको सिद्धान्तको साथमा छैन भने, मण्डली आराधनामा एकताबद्ध भएको ख्रीष्टको शरीर हुनुको सट्टा व्यक्तिहरूको एउटा संग्रह बन्छ। यो त्यसबेला देखिन्छ जब मण्डली शरीरको रूपमा चिनिँदैन, आराधना "येशु र म" बारे मात्र हुन्छ।

► स्वतन्त्र मण्डलीहरूको आराधनाका कुन पक्षहरूले तपाईंको आराधनालाई फाइदा पुर्‍याउन सक्छ? के तपाईंले स्वतन्त्र मण्डलीहरूको आराधनामा कुनै खतराहरू देख्नुहुन्छ?

वेस्लियन जागृतिको समयमा आराधनाको चित्र

[1]जोन वेस्ली एङ्ग्लिकन मण्डलीबाट प्राप्त सामूहिक आराधनाको परम्परा र एनाब्याप्टिस्ट परम्परासँगको सम्पर्कबाट प्राप्त व्यक्तिगत आत्मिक अनुभवमा जोड दिएर दुवैबाट प्रभावित भएका थिए। त्यो समयमा जब एङ्ग्लिकन आराधनाले मध्यकालीन रोमन क्याथोलिक मण्डलीको व्यर्थखाले रीतिरिवाजलाई पछ्याइरहेको थियो, वेस्ली र तिनीहरूका अनुयायीहरूले (जसलाई मेथोडिस्ट भनिन्छ) आराधनाको वास्तविकतालाई पुनर्जीवित गरे जसले आराधकहरूलाई परमेश्वरको उपस्थितिमा ल्यायो।

प्रारम्भिक मेथोडिस्ट आराधनाको जोड:

१. प्रचार। जोन वेस्लीका वचनहरू प्रकाशित भएका थिए र यो मेथोडिस्ट आराधकहरूको लागि सैद्धान्तिक आधार बन्यो।

२. बारम्बारको प्रभु-भोज। जोन वेस्लीले हप्तामा औसत पाँच पटक प्रभु-भोज लिए। उनले आफ्ना अनुयायीहरूलाई हप्तामा कम्तिमा एक पटक प्रभु-भोज लिन प्रोत्साहित गरे।

३. भजन गायन। चार्ल्स वेस्लीका भजनहरूले ब्रिटिश टापुहरू र नयाँ संसारमा मेथोडिस्ट सिद्धान्त फैलाए।

४. साना समूहहरू। मेथोडिस्ट चेलापनको लागि कक्षा बैठकहरू केन्द्रीय थिए।

५. सामूहिक आराधना। मेथोडिस्टहरू बारम्बार भेट्थे, र धेरै एङ्ग्लिकन पूजाहारीहरूले मेथोडिस्टहरूलाई अस्वीकार गरेपछि पनि, वेस्लीले आफ्ना अनुयायीहरूलाई एङ्ग्लिकन आराधनामा उपस्थित हुन प्रोत्साहित गरिरहे।

६. सुसमाचार प्रचार। मेथोडिस्टको जागृति इङ्गल्याण्ड र बाहिर फैलिएपछि हजारौं नयाँ नयाँ विश्वासीहरू ख्रीष्टमा जीतिएका थिए।

मेथोडिस्टको आराधनामा परमेश्वरको महिमा गर्ने भजन, परिपक्व विश्वासीहरूलाई निर्माण गर्ने चेलापन, र मण्डली र खाँचोमा परेको संसार दुवैलाई सत्यता घोषणा गर्ने प्रचार समावेश थियो।

► वेस्लियन जागृतिमा आराधनाका कुन पक्षहरूले तपाईंको आराधनालाई फाइदा पुर्‍याउन सक्छ? के तपाईंले वेस्लियन जागृतिको आराधनामा कुनै खतराहरू देख्नुहुन्छ?


[1]

मेथोडिस्टवाद र
अठारौं शताब्दीको आराधना

अठारौं शताब्दीको असफल आराधनाको प्रतिक्रिया स्वरूप मेथोडिस्टवादको उदय भयो।

"जब पवित्र-विधिहरू मण्डली जीवनको किनारमा थियो, प्रारम्भिक मेथोडिस्टवादले तिनीहरूलाई केन्द्रमा राख्यो; जब धार्मिक जोशमा गिरावट थियो, मेथोडिस्टवादले उत्साहलाई महत्वपूर्ण बनायो; जहाँ धर्म क्याथेड्रलहरूमा सीमित थियो, मेथोडिस्टवादले यसलाई खेत र सडकहरूमा पुर्‍यायो।"

- रोबर्ट वेबरको पुस्तकमा जेम्स ह्वाइटको भनाइ
ख्रीष्टियान आराधनाको बीसौं शताब्दी

प्रारम्भिक अमेरिकामा आराधनाको चित्र

सुरुमा अङ्ग्रेजहरू अहिलेको संयुक्त राज्य अमेरिकाको पूर्वी तटमा बसोबास गरे। १७०० को उत्तरार्धमा र त्यसपछि, मानिसहरूले भूमि खोज्न र घरहरू निर्माण गर्न पश्चिमका अस्तव्यस्त इलाकामा सर्न जारी राखे। मानिसहरूले धेरै चुनौतीहरूको सामना गरे किनभने मण्डलीहरू, विद्यालयहरू र कानुन प्रवर्तन बिस्तारै विकसित भयो। इतिहासमा बिस्तारै बसोबास गरेको यस क्षेत्रलाई अमेरिकी सीमावर्ती क्षेत्र भनिन्छ।

अमेरिकाको प्रारम्भिक इतिहासमा आराधना अध्ययन गर्नुको उद्देश्य अमेरिकी नमुनालाई सबै आराधनाको ढाँचाको रूपमा व्यक्त गर्नु होइन, तर यसलाई अन्य ठाउँहरूका युवा मण्डलीहरूमा विकसित हुने आराधनासँग तुलना गर्नु हो। धेरै देशहरूमा भर्खरै स्थापित मण्डलीहरूले पनि यस्तै चुनौतीहरूको सामना गरिरहेका छन्।

प्रारम्भिक अमेरिकामा आराधनाका विशेषताहरू:

१. सम्प्रदायहरू र आराधनाको औपचारिक स्वरूपहरूबाट स्वतन्त्रता। अमेरिकी सीमावर्ती मण्डलीहरू सांप्रदायिक नियन्त्रणबाट स्वतन्त्र हुन थाले। तिनीहरूले रीतिरिवाजयुक्त र पहिलै क्रमवद्ध रूपमा निर्धारित गरिएको आराधनामा न्यूनतम ध्यान दिए (यद्यपि जोन वेस्लीले उपनिवेशहरूमा प्रयोगको लागि आफ्नो आराधनाको ढाँचालाई समायोजीत गरे)। मण्डली भवनहरू र आराधना सेवाहरू सरल र सादा थिए।

२. प्रभु-भोजका दुर्लभ अवसरहरू। इङ्गल्याण्डमा, वेस्लीहरूले नियमित प्रभु-भोजको महत्त्वलाई जोड दिएका थिए।अमेरिकी सीमावर्ती क्षेत्रमा, पास्टरीय अभिषेक पाएकाहरूको अभावको अर्थ विश्वासीहरूले प्रभु-भोजको अभ्यास गर्न थोरै अवसर पाएका थिए।

३. वचनको प्रचार। आराधना सेवाहरूमा प्रचारलाई मुख्य जोड दिइयो। अप्रशिक्षित प्रचारकहरूले पनि वेस्ली र अन्य सेवकहरूको प्रवचन पढ्छन्। मण्डलीको केन्द्र बिन्दु वचन प्रचार गर्ने मंच थियो, प्रभु-भोजको टेबल होइन। प्राथमिक जोड वचनको प्रचारमा थियो।

४. जीवन्त गायन। गायन जीवन्त थियो। अमेरिकी मण्डलीहरूले अशिक्षित मण्डलीले सिक्न सजिलो भएको शैलीमा साक्षीका साधारण गीतहरूसँगै चार्ल्स वेस्लीका भजनहरू गाए।

५. प्रार्थना, सुसमाचार प्रचार र जागृति। प्रार्थना अनौपचारिक थियो र प्रायः सामान्य मानिसहरूको नेतृत्वमा हुने गर्थ्यो। सुसमाचार प्रचार महत्त्वपूर्ण थियो, र अमेरिकामा भएको जागृतिको अवधिले हजारौंको रूपान्तरण देखायो। वचन प्रचार सामान्यतया अविश्वासी मानिसहरूलाई अगाडि आउन र पश्चात्तापको प्रार्थना गर्न निमन्त्रणाद्वारा अगाडी बढ्थ्यो। अमेरिकामा ख्रीष्टियान पवित्रता प्रतिको जोड फैलिए सँगै, निमन्त्रणाले अविश्वासीहरूलाई रूपान्तरण र विश्वासीहरूलाई पूर्ण अभिषेक गर्न बोलायो।

अन्य परम्पराहरू जस्तै, यस आराधनामा शक्ति र खतराहरू थिए। शक्तिहरूमा, व्यक्तिगत संलग्नता र जोश समावेश थियो। खतराहरू चाहिँ सिद्धान्तमा थोरै जोड दिएर व्यक्तिगत अनुभवलाई बढी जोड दिनु थियो। झूटा शिक्षालाई सीमावर्ती क्षेत्रहरूमा फैलाउन सजिलो थियो किनभने त्यहाँ कम उत्तरदायित्व थियो।

► अमेरिकी सीमावर्ती क्षेत्रहरूको आराधनाका कुन पक्षहरूले तपाईंको आराधनालाई फाइदा पुर्‍याउन सक्छ? के तपाईंले अमेरिकी सीमावर्ती क्षेत्रहरूको मण्डलीको आराधनामा कुनै खतराहरू देख्नुहुन्छ?

आराधनाका खतराहरू: अपरिवर्तित सिद्धान्तहरूका साथ अलमल्याउने खालका परिवर्तित अभ्यासहरू

हामी प्रायः बाइबलीय आराधनाका अपरिवर्तनीय सिद्धान्तहरूसँग परिवर्तित हुने खालका आराधनाको अभ्यासहरूसँग अलमल हुने परिक्षामा परेका छौं। विचार गर्नुहोस्:

  • केही मण्डलीहरूमा, आराधकहरूले प्रार्थना गर्दा नम्रता देखाउन आफ्नो घुँडा टेक्छन्। अन्य मण्डलीहरूमा, आराधकहरूले प्रार्थना गर्दा पवित्र हात उचालछन्।

  • केही मण्डलीहरूमा, प्रार्थनाको समयमा मधुर स्वरमा वाद्यवाद्यदन बजाइन्छ। अन्य मण्डलीहरूमा, त्यहाँ मौनता हुन्छ जब पास्टरले प्रार्थनाको नेतृत्व गरिरहेका हुन्छन्। अन्य मण्डलीहरूमा, सबैले ठूलो स्वरमा प्रार्थना गर्छन्।

  • केही मण्डलीहरूमा, कोरसहरू प्रोजेक्टरद्वारा पर्दामा देखाइन्छन्। अन्य मण्डलीहरूमा, मानिसहरूले भजन पुस्तकबाट हेरेर गाउँछन्।

  • केही मण्डलीहरूमा, पास्टरले आफ्नो उपदेशको सुरुमा पवित्रशास्त्र पढ्छन्। अन्य मण्डलीहरूमा, पास्टरले प्रचार गर्नु अघि सामान्य व्यक्तिले पवित्रशास्त्र पढ्छन्। अन्य मण्डलीहरूमा, त्यहाँ दुई वा तीन पटक पवित्रशास्त्र पढाइहरू हुन्छन्।

यी मध्ये कुनै पनि गलत छैनन्; ती अभ्यासका विषयहरू हुन्, सिद्धान्त होइनन्। हामीले हाम्रो बाटो मात्र बाइबलीय बाटो हो भनेर सोच्नु हुँदैन। साँचो आराधना भनेको शैलीको कुरा होइन; यो परमेश्वरको उपस्थिति हुने कुरा हो।

त्यहाँ केही सिद्धान्तहरू छन् जुन अपरिवर्तित छन्। हामीले यी सिद्धान्तहरूलाई बाइबलमा आराधनासम्बन्धी पाठहरूमा देखेका छौं। यी सिद्धान्तहरू ऐच्छिक छैनन्। ख्रीष्टियनहरूको हैसियतमा, यी सिद्धान्तहरूले हामीलाई परमेश्वरको अगाडि जाने कुराममा डोऱ्याउछन्।

अर्को केही पाठहरूमा, हामी आराधना गर्ने अभ्यासहरू हेर्नेछौं। सिद्धान्तहरू परिवर्तन हुँदैनन्; अभ्यासहरू विभिन्न स्थान र समयहरूमा फरक हुन्छन्। यसकारणले गर्दा, हामीले आराधना गर्ने तरिका भन्दा फरक रूपमा आराधना गर्नेहरूप्रति सहिष्णु हुनुपर्छ। यसको मतलब यो होइन कि अभ्यास महत्वहीन छ; तर यसको मतलब सिद्धान्तहरू भन्दा अभ्यासको सन्दर्भमा यो अधिक लचिलो हुनेछ।

ओसवाल्ड चेम्बर्सले हाम्रो जीवनमा परमेश्वरको लागि ठाउँ बनाउने बारेमा लेखे। यो आराधनामा लागू हुन्छ:

परमेश्वरका सेवकहरूको रूपमा, हामीले उहाँको लागि ठाउँ बनाउन सिक्नु पर्छ ... हामी योजना गर्छौं, तर हामी परमेश्वरले छनौट गरे अनुसार उहाँ आउनको लागि ठाउँ बनाउन बिर्सन्छौं। के हामी अचम्ममा पर्नेछौं यदि परमेश्वर हाम्रो सभामा वा हाम्रो प्रचारमा आउनु भयो जसरी हामीले उहाँ आउनुहुनेछ भन्ने खालको अपेक्षा गरेका थिएनौँ? परमेश्वरलाई उहाँ कुनै खास तरिकामा आउन हुन्छ भनेर नहेर्नुहोस्, तर उहाँलाई हेर्नुहोस्। उहाँको लागि ठाउँ बनाउने तरिका अपनाउनु भनेको उहाँको आगमनको अपेक्षा गर्नु हो, तर यहि खास तरिका हुनुपर्छ भन्ने रूपमा होइन।

आफ्नो जीवनलाई परमेश्वरसँग निरन्तर सम्पर्कमा यति राख्नुहोस् कि उहाँको आश्चर्यजनक शक्तिले कुनै पनि बिन्दुलाई तोडोस्। प्रत्याशाको एक स्थिर अवस्थामा बाँच्नुहोस्, र उहाँले निर्णय गरे अनुसार परमेश्वर आउनको लागी ठाउँ छोड्नुहोस्।[1]


[1]Oswald Chambers, My Utmost for His Highest (25 जनवरी प्रविष्टि)। 22 जुलाई, 2020 मा https://utmost.org/leave-room-for-god/ बाट प्राप्त।

निष्कर्ष: आजको आराधनाको चित्र

२१औँ शताब्दीमा आराधना कस्तो देखिन्छ? यो एक प्रश्न हो जसको सरल जवाफ दिन सकिदैन। २१औँ शताब्दीमा आराधनाले विभिन्न रूपहरू लिन्छ। केही मण्डलीहरूले रीतिरिवाज र परम्परालाई महत्त्व दिन्छन्; अन्य मण्डलीहरूले आराधनामा व्यक्तिगत स्वतन्त्रताको पक्षमा रीतिरिवाज अस्वीकार गर्छन्।

आजको आराधनाको वर्णन गर्ने प्रयास गर्नुको सट्टा, तपाईंको आफ्नै विवरण बनाउन समय लिनुहोस्। तपाईंको मण्डलीमा आराधना कस्तो देखिन्छ? यदि तपाईं समूहमा अध्ययन गर्दै हुनुहुन्छ भने, तपाईंको समूहमा प्रतिनिधित्व गर्ने मण्डलीहरूमा आराधना बीचको भिन्नता र समानताहरू छलफल गर्नुहोस्।

पाठ्यक्रमको यस बिन्दुमा, यस विवरणको उद्देश्य मूल्याङ्कन होइन। प्रश्न यो होइन, "हामी सही छौं कि गलत?" प्रश्न सरल छ, "हामी हाम्रो आराधना सेवामा के गर्छौं?"

यसको विवरण बनाउनुको कारण निम्न पाठहरूको लागि आधारशिला राख्नु हो। एकचोटि तपाईंले हाल आराधनामा के गर्नुहुन्छ भन्ने विवरण प्राप्त गरेपछि, तपाईंले सोध्न थाल्न सक्नुहुन्छ, "हामीले जे गर्छौं त्यो किन गर्छौं?" र "हामी यसलाई कसरी राम्रो गर्न सक्छौं?"

आराधनाका निर्णयहरूले ईश्वरशास्त्रीय विश्वासहरूलाई प्रतिबिम्बित गर्दछ। हाम्रो आराधनाका भागहरूले हामी परमेश्वरको बारेमा के विश्वास गर्छौं र हामी उहाँसँग कस्तो सम्बन्ध राख्छौं भनेर देखाउँछ; हाम्रो आराधनाका भागहरूले हामी मण्डलीको बारेमा के विश्वास गर्छौं र हामी कसरी एकअर्कासँग सम्बन्ध राख्छौं भनेर देखाउँछ; हाम्रो आराधनाका भागहरूले हराएका मानिसबारे हामी के विश्वास गर्छौं र कसरी आराधना तिनीहरूसम्म पुग्न सक्छ भनेर देखाउँछ।

एउटा उदाहरणलाई लिऔं-सामूहिक गायन।

  • रोमन क्याथोलिक मण्डलीमा सामूहिक गायनको अनुपस्थितिमा सामान्य मानिसहरूले पवित्रशास्त्र (पवित्रशास्त्र सहितको गायन) बुझ्न सक्दैनन् भन्ने विश्वासलाई झल्काउँछ। जसरी सामान्य व्यक्तिलाई आफ्नै शास्त्र पढ्न अनुमति थिएन, त्यसरी सामान्य व्यक्तिलाई आराधनाका गीतहरू गाउन अनुमति थिएन। पूजाहारीले नै आराधना गर्दैथे।

  • धर्मसुधारको युगको सामूहिक गायनको जोडले लुथरको विश्वासलाई प्रतिबिम्बित गर्‍यो कि प्रत्येक ख्रष्टियानले ख्रीष्टको शरीरको अङ्गको रूपमा आराधना गर्न सक्छ।

  • स्तुतिका भजन बाहेक अन्य भजनहरूलाई अनुमति दिन क्याल्भिनले गरेको इन्कारले उनको विश्वासलाई प्रतिबिम्बित गर्‍यो कि केवल परमेश्वरको वचन मात्र आराधनामा स्वीकार्य छ।

  • सामूहिक गायन र भजनहरू मार्फत सिद्धान्त सिकाउनमा मेथोडिस्टले गरेको जोडले प्रत्येक विश्वासीले गाउनै पर्छ र हामीले गाउने कुरालाई हामीले विश्वास गरेको कुरालाई असर गर्छ भन्ने वेस्लीको विश्वासलाई प्रतिबिम्बित गर्यो।

  • सीमावर्ती क्षेत्रमा भएको गायनको सरलताले मेथोडिस्टहरूको यो विश्वास देखायो कि मुक्ति सबै मानिसहरूको लागि हो। यही विश्वासका कारण उनीहरूले सबैलाई उत्साहपूर्ण गायनमा सम्मिलित गरे।

हामीले यो पाठ्यक्रमलाई जारी राख्दा, हामी आराधनाका धेरै भागहरू हेर्नेछौं। आराधनाको सन्दर्भमा तपाईंको पहिलो प्रश्न हुन सक्छ, "के मलाई यो मनपर्छ?" त्यो महत्त्वपूर्ण प्रश्न होइन। धेरै महत्त्वपूर्ण कुरा चाहिँ, "मेरो आराधनाले मैले विश्वास गरेको कुराको बारेमा के भन्छ? के यसले परमेश्वर र उहाँसँगको मानिसको सम्बन्धको सही बुझाइ देखाउँछ?" भन्ने कुरा हो।

हाम्रो आराधनाले हामीले विश्वास गर्ने कुरालाई आकार दिन्छ, तर यसको विपरीत पनि सत्य हुन्छ: हाम्रो विश्वासले हामीले आराधना गर्ने तरिकालाई आकार दिन्छ।

समीक्षामा पाठ ५

(१) प्रारम्भिक मण्डलीमा:

  • आराधना अनौपचारिक र घनिष्ठ थियो।

  • आराधनाले सर्वसाधारणको सहभागितालाई जोड दिएको थियो।

  • आराधनाले सम्पूर्ण जीवनलाई समाविष्ट गरेको थियो।

(२) मध्य युगको आराधनामा:

  • आत्माका कुराहरूभन्दा सुन्दरता महत्त्वपूर्ण थियो।

  • मानिसहरूले सेवालाई बुझ्न सकेका थिएनन्।

  • मानिसहरू दर्शक थिए, सक्रिय आराधकहरू होइनन्।

  • सुसमाचार लाई रीतिरिवाजसँग प्रतिस्थापित गरिएको थियो।

(३) सुधारको युगमा:

  • आराधनाले विश्वासीको पूजाहारीपनलाई देखाएको थियो।

  • आराधना मानिसहरूको आफ्नै भाषामा हुन्थ्यो।

  • लुथर, क्याल्भिन र प्युरिटनहरू आराधनामा रीतिरिवाजको भूमिकामा असहमत थिए।

(४) धर्मसुधारको युगलाई पछ्याउने स्वतन्त्र मण्डलीहरूमा:

  • प्रचार केन्द्रमा थियो।

  • मण्डलीको सहभागिता महत्त्वपूर्ण थियो।

  • सबै आराधना मानिसहरूको आफ्नै भाषामा हुन्थ्यो।

(५) प्रारम्भिक मेथोडिस्ट आराधना निम्न कुराहरूद्वारा चिन्हित गरिएको थियो:

  • प्रचारमा जोड

  • लगातारको प्रभु-भोजमा जोड

  • भजन गायनमा जोड

  • साना समूहहरूमा जोड

  • सामूहिक आराधनामा जोड

  • सुसमाचार प्रचारमा जोड

(६) प्रारम्भिक अमेरिकामा आराधना:

  • व्यक्तिगत संलग्नता र सुसमाचार प्रचारको लागि जोशको प्रवर्द्धन

  • कहिलेकाहीँ सैद्धान्तिक अखण्डताको मूल्यमा व्यक्तिगत अनुभवलाई जोड दिइयो

(७) आजको हाम्रो आराधनाले परमेश्वरप्रतिको हाम्रो विश्वास र उहाँसित हामी कस्तो सम्बन्ध राख्छौं भनेर प्रतिबिम्बित गर्छ।

पाठ ५ क्रियाकलाप

(१) जस्टिन मार्टरले दोस्रो शताब्दीको मण्डलीको आराधनालाई केही अनुच्छेदहरूमा वर्णन गरे। उनले ख्रीष्टियान आराधना सेवा कहिल्यै नदेखेको व्यक्तिलाई लेख्दै थिए। २-३ अनुच्छेदहरू लेख्नुहोस् जसमा तपाईंले आफ्नो आराधना सेवाबारे ख्रीष्टियान मण्डलीमा नगएको व्यक्तिलाई वर्णन गर्दै हुनुहुन्छ। तपाईंको आराधनामा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो, ध्यानपूर्वक विचार गर्नुहोस्। ख्रीष्टियान आराधनाको केन्द्रबिन्दुले के कुरालाई सञ्चार गर्ने भन्ने तरिकामा तपाईंको आफ्ना सेवाहरूले कसरी व्याख्या गर्न सक्नुहुन्छ?

यदि तपाईं समूहमा अध्ययन गर्दै हुनुहुन्छ भने, तपाईंको अर्को कक्षा बैठकमा समूहको प्रत्येक सदस्यको जवाफहरू छलफल गर्नुहोस्।

(२) अर्को पाठको सुरुमा, तपाईंले यस पाठमा आधारित परीक्षा दिनुहुनेछ। तयारी गर्दा खेरी परीक्षाका प्रश्नहरूलाई सावधानीपूर्वक अध्ययन गर्नुहोस्।

पाठ ५ परीक्षा

(१) जस्टिन मार्टरद्वारा वर्णन गरिएको दोस्रो शताब्दीको आराधनाका तीन भागहरूलाई सूचीबद्ध गर्नुहोस्।

(२) मध्य युगमा आराधनाका तीन कमजोरीहरूको सूची बनाउनुहोस्।

(३) विश्वासीहरूको पूजाहारीपनसँग सम्बन्धित धर्मसुधारको युगका दुई प्राथमिक सरोकारहरू के-के थिए?

(४) धर्मसुधारको युगमा ती समूह(हरू)को पहिचान गर्नुहोस् जो प्रत्येक विवरणमा राम्रोसँग मेल खान्छ।

  • पवित्रशास्त्रमा निषेध नगरिएको कुनै पनि आराधना अभ्यासहरूलाई अनुमति दिइएको छ: _______________

  • पवित्रशास्त्रमा छलफल नभएका आराधनाका अभ्यासहरूलाई अनुमति दिइएन: _______________

  • अधिकांश रीतिरिवाज अस्वीकार गरियो। कहिलेकाहीँ निजी घरहरूमा आराधना गरियो: _______________

(५) स्वतन्त्र मण्डलीका आराधनाका तीनवटा विशेषताहरूलाई सूचीबद्ध गर्नुहोस्।

(६) प्रारम्भिक मेथोडिस्ट आराधनाको तीनवटा जोडहरूलाई सूचीबद्ध गर्नुहोस्।

(७) प्रारम्भिक अमेरिकामा आराधनाका तीन विशेषताहरूलाई सूचीबद्ध गर्नुहोस्।

(८) आफूले कण्ठ गरेको भजनसंग्रह १००:१-५ लेख्नुहोस्।

Next Lesson