पास्टरहरूको एउटा समूह प्रत्येक महिना तिनीहरूको मण्डलीहरूका समस्याहरू छलफल गर्न भेला हुन्छन्। हालैको समयमा उनीहरूले आराधनाको चर्चा गरेका छन्। आराधनाको विषयमा यी पास्टरहरू बीच महत्त्वपूर्ण भिन्नताहरू छन्। तिनीहरूका धर्मसिद्धान्त सम्बन्धिका विश्वासहरू एकै भए तापनि, तिनीहरू आराधना शैलीको मामिलामा धेरै फरक छन्।
प्रकाश एउटा मण्डलीको पास्टर हुन् जसले आराधना गर्ने परम्परागत शैलीलाई पछ्याएका छन्। आशिष वृद्धि भइराखेको मण्डलीमा आराधनाको सेवा गर्दछन् जसले आराधनामा धेरै समकालीन विचारहरू प्रयोग गर्दछन्। सञ्जय अझै पनि उनको मण्डलीको लागि सबैभन्दा उपयुक्त आराधनाको स्वरूप फेला पार्ने कोशिस गर्दैछन्। यी पास्टरहरूले आराधनाको बारेमा धेरै छलफल गरेका छन्, तर तिनीहरू आराधनाका आधारभूत सिद्धान्तहरूमा सहमत हुने तिनीहरूका प्रयासमा निराश छन्।
आज, सुमन भन्छन्, "सायद हामीले यसलाई गलत तरिकाले हेरिराखेका छौं। हामी सोधिरहन्छौं, 'हामी कस्तो प्रकारको आराधना मन पराउँछौँ? हामी कसरी आराधना गर्न चाहन्छौं?' सायद हामीले सोध्नुपर्छ, 'हामीले कसरी आराधना गरेको परमेश्वरले चाहनुहुन्छ? कस्तो प्रकारको आराधना उहाँले मन पराउनुहुन्छ? यदि परमेश्वरले आराधनाको नमुना बनाउने हो भने, यो कस्तो देखिने थियो?' यदि हामीले बाइबलीय आराधना कस्तो देखिन्थ्यो भनी थाह पाउँछौं भने, यसले हामीलाई आजको आराधनाको नमुना दिन सक्छ।"
► यदि परमेश्वरले आराधनाको नमूना बनाउने हो भने, यो कस्तो देखिने थियो? बाइबलीय आराधनाको बारेमा तपाईंलाई पहिले नै थाहा भएको कुरा संक्षेप गर्नुहोस्।
परिचय: परमेश्वरलाई उचित आराधना चाहिन्छ
पाठ २ मा, हामीले प्रकाशको पुस्तकबाट देख्यौं कि साँचो आराधना एक पवित्र परमेश्वरको आराधना हो। हामीले भजनसंग्रह १५ बाट देख्यौं कि परमेश्वरले आफ्ना आराधकहरू पवित्र भएको चाहनुहुन्छ। पाठ ३ मा हामी सोध्छौं, "एउटा आराधक कसरी एक पवित्र परमेश्वरको नजिक जान्छ?"
कतिपय मानिसहरू भन्छन् कि हामी कसरी आराधना गर्छौं, परमेश्वरले त्यसको वास्ता गर्नुहुन्न; उहाँले केवल हृदय सही छ कि छैन भनेर ख्याल गर्नुहुन्छ। यो सत्य हो कि आराधनाको मुख्य कुरा हृदय हो। यद्यपि, हामीसँग पवित्रशास्त्रबाट प्रशस्त साक्षीहरू छन् कि परमेश्वरले उहाँलाई कसरी आराधना गरिन्छ भन्ने बारेमा धेरै चासो राख्नुहुन्छ।
आराधनाको रूप महत्त्वपूर्ण हुन्छ किनभने हाम्रो आराधनाले परमेश्वर प्रतिको हाम्रो बुझाइलाई असर गर्छ। अघिल्लो पाठमा, हामीले देख्यौं कि परमेश्वरको विकृत छविले विकृत आराधनाको नेतृत्व गर्दछ। यो पनि सत्य हो कि विकृत आराधनाले हाम्रो परमेश्वरको स्वरूपलाई बिगार्छ। कनानीहरूले आफ्ना देवताहरूको आराधना गरेझैं इस्राएलले यहोवाको आराधना गर्दा, तिनीहरूले चाँडै नै परमेश्वरको स्वभाव पनि कनानीहरूका देवताहरूजस्तै छ भनेर विश्वास गरे। तिनीहरूले कानानीहरूका देवताहरूजस्तै परमेश्वर पनि प्रतिशोधी र भरपर्न नसकिने हुनुहुन्छ भनी विश्वास गर्न थाले।[1]
आराधनाको स्वरूप महत्त्वपूर्ण हुन्छ किनभने हामी कसरी आराधना गर्छौं प्रायः हामी किन आराधना गर्छौं भन्ने कुराको प्रतिबिम्ब हो। प्रेमले भरिएको हृदयले परमेश्वरलाई आदर गर्ने खालको आराधना गर्न खुशी हुन्छ; हिचकिचाहटपूर्ण आज्ञाकारिताको हृदयले परमेश्वरको नभई हाम्रो तरिकाले आराधना गर्न चाहन्छ।
धेरै कलेजका कक्षाहरूमा शोधपत्रहरूको फारमको लागि निश्चित आवश्यकताहरू छन्। तिनीहरूलाई आवरण पृष्ठ, विवरणहरू, र एक निश्चित किनार चाहिन्छ। यी विवरणहरू लेखको सबैभन्दा महत्त्वपूर्ण भाग होइनन्; विषयवस्तु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। यद्यपि, धेरै शिक्षकहरूले विवरणहरूमा सावधानी अपनाउने विद्यार्थी सामान्यतया विषयवस्तुको बारेमा होसियार हुने कुरा अवलोकन गरेका छन्। तिनीहरू आफ्नो तर्फबाट सक्दो राम्रो गर्न चाहन्छन्। अर्कोतर्फ, यी आवश्यकताहरूलाई बेवास्ता गर्ने विद्यार्थी प्रायः विषयवस्तुसँग लापरवाह हुन्छ। शोधपत्रको आवरणले प्रायः लेखको विषयवस्तुलाई प्रतिबिम्बित गर्दछ। हामीले आराधना गर्ने तरिकाले हाम्रो हृदयको मनोवृत्ति झल्काउँछ। हामी कसरी आराधना गर्छौं त्यो प्रायः हाम्रो आराधनाको अभिप्रायसँग सम्बन्धित छ। यसकारण हामीले कसरी आराधना गर्छौं भनी परमेश्वरले चासो राख्नुहुन्छ।
कयिनले परमप्रभुलाई भेटी ल्याए। कयिन जमिनमा काम गर्ने कामदार थिए। उसले जमिनको फल ल्यायो, तर परमप्रभुले कयिन र उसको भेटीको वास्ता गर्नुभएन। कयिनले सही तरिकाले आराधना गर्न नसक्दा तिनको हृदयको मनोवृत्तिलाई यसले देखायो। कयिनको भेटी आफ्नै लागि सुविधाजनक थियो, तर परमेश्वरले उसको आराधना स्वीकार गर्नुभएन (उत्पत्ति ४:१-५)।
हारूनले यहोवाको आराधनामा प्रयोग गर्न सुनको बाछो बनाए। उनले भने, "भोलि परमप्रभुको निम्ति एउटा चाड़ हुनेछ" (प्रस्थान ३२:१-५)। सायद हारूनले मानिसहरूलाई खुशी पार्ने किसिमले उनले परमेश्वरको आराधना गर्न सक्छन् भनी आफैलाई विश्वस्त पारेका थिए होला, तर परमेश्वरले उनको आराधना स्वीकार गर्नुभएन।
[2]नादाब र अबिहूले सिनै पर्वतमा इस्राएलका परमेश्वरलाई देखे (प्रस्थान २४:१-११)। मोशाका अलावा, अरूभन्दा तिनीहरू परमेश्वरको नजिक गएका थिए, तर पवित्र-स्थानमा तिनीहरूको पुजारीय सेवाको पहिलो दिनमै तिनीहरूले परमप्रभुको अगि अयोग्यरीतिले धूपौरोमा आगो बाले। जवाफमा, परमप्रभुको आगोले तिनीहरूलाई भस्म पार्यो। मोशाले तिनीहरूका शोकाकुल बुबालाई परमेश्वरको न्यायको व्याख्या गरे; "परमप्रभुले भन्नुभएको कुरा यही हो: ‘मेरो नजिक आउनेहरूमा म पवित्र बन्नेछु, अनि सारा मानिसहरूका सामु म महिमित हुनेछु" (लेवी १०:१-७)। यी पूजारीहरूले परमेश्वरको आज्ञा पालन गर्नुको सट्टा आफ्नै तरिकामा धूप चढाए। परमेश्वरले तिनीहरूको आराधना स्वीकार गर्नुभएन।
उज्जियाह एक महान राजा थिए। तिनले परमप्रभुको दृष्टिमा जे ठीक थियो त्यही गरे। २ इतिहासले उनको शासनको सारांश दिन्छ: "तिनलाई यस्तो आश्चर्यको सामान मिलेको कारण तिनको ख्याति चारैतिर फैलिएको थियो। यसले गर्दा तिनी ज्यादै शक्तिशाली भए" (२ इतिहास २६:१५)। दुःखको कुरा, यो उज्जियाहको कथाको अन्तिम रूप होइन। "तर तिनी शक्तिशाली भएपछि तिनको अहङ्कारले गर्दा तिनको पतन भयो। तिनी धूप-वेदीमा धूप बाल्नलाई परमप्रभुको मन्दिरमा पसेर परमप्रभु आफ्ना परमेश्वरको विरुद्धमा तिनले विश्वासघात गरे" (२ इतिहास २६:१६)। उनले आफ्नै तरिकाले परमेश्वरको आराधना गर्ने कोसिस गरे र कुष्ठरोगले ग्रस्त भए (२ इतिहास २६:१-२१)। परमेश्वरले उनको आराधना स्वीकार गर्नुभएन।
निर्वासन पछि यहूदीहरूले मन्दिरमा विकृत बलिदानहरू ल्याए। उचित बलिदानहरू ल्याउन तिनीहरू चुकेकाले तिनीहरूको हृदयको लापरवाही मनोवृत्ति देखियो। तिनीहरूले परमेश्वरलाई साँचो प्रेम गरेनन्, त्यसैले परमेश्वरले तिनीहरूको आराधना स्वीकार गर्नुभएन (मलाकी १:६-१४)।
उहाँलाई कसरी आराधना गरिन्छ भन्ने कुरामा परमेश्वरले चासो राख्नुहुन्छ। यी उदाहरणहरूले सुझाव दिन्छन् कि, हामी आफैलाई छोडेर, हामी उहाँलाई आदर गर्ने तरिकामा परमेश्वरको नजिक जानेछैनौं। हामीलाई जे उपयुक्त लाग्छ त्यो परमेश्वरलाई मान्य नहुन सक्छ। हाम्रो आराधनाको लागि हामीलाई उहाँको निर्देशन हुनुपर्छ।
आराधनाको अर्थ परमेश्वरलाई आदर गर्नु भएकोले, हाम्रो आराधना हाम्रो इच्छाहरू भन्दा पनि परमेश्वरको चरित्रले निर्धारण गर्नुपर्छ। परमेश्वरलाई के मन पर्छ भनेर हामी आफैले निर्धारण गर्न सक्दैनौं; परमेश्वरलाई कसरी खुशी तुल्याउने भन्ने खालको आराधना गर्ने तरिका सिक्नको लागि हामीले परमेश्वरको वचनलाई हेर्नैपर्छ।
[1]मीका 6:6-7 मा, धार्मिक अगुवाहरूले यहोवालाई बालबलि चढाउने प्रयास गर्छन्। मोलेकले मागेको बच्चाको बलिदान मागे जस्तै यहोवाले पनि त्यही प्रकारले आपेक्षा गर्नुहुन्छ भनी तिनीहरू सोच्छन्।
"यदि तपाईं पुरानो करारका पूजाहारी हुनुहुन्थ्यो, र तपाईंले अहिले उहाँको सेवा गरेझैं परमेश्वरको सेवा गर्नुभएको थियो भने, प्रभुले तपाईंलाई मार्नुअघि कति समय लाग्ला?"
- वारेन वियर्सबी
(आराधनाको गम्भीरताको सन्दर्भमा)
परमेश्वरसँग हिँड्नु: अनुग्रहको सम्बन्धको रूपमा आराधना गर्नु
आराधनाको पहिलो बाइबलीय तस्विर अदनको बगैंचामा छ, "अनि साँझपख परमप्रभु परमेश्वर बगैँचामा डुल्दैहुनुहुँदा तिनीहरूले उहाँको सोर सुने..." (उत्पत्ति ३:८)। यसले आराधनाको लागि परमेश्वरको आदर्श देखाउँछ: मानिस र उसको सृष्टिकर्ता बीच एउटा अटुट सङ्गति। पतन हुनु अघि, मानिस र परमेश्वरको बीचमा पापले बाधा पुर्याएको थिएन। बगैंचामा आराधना सरल र सहज थियो।
बगैंचामा, हामी देख्छौं कि परमेश्वर आफ्ना सृष्टिहरूसँग सङ्गति गर्न चाहनुहुन्छ। पतन नभएसम्म, मानिसले परमेश्वरसँग पूर्ण सङ्गतिको आनन्द उठायो; पापले मानिसको स्वभावलाई भ्रष्ट बनाएपछि मात्र मानिसले आफूलाई परमेश्वरबाट लुकायो।
पुरानो करारभरि, परमेश्वरको साथसाथ हिँड्थे भन्ने शब्दलाई आराधनामा परमेश्वरसँगको सम्बन्ध समावेश छ भनी देखाउन प्रयोग गरिएको छ। हनोक परमेश्वरको साथसाथ हिँड्थे; नोआ परमेश्वरको साथै हिँड्ने गर्थे; अब्राहामलाई परमेश्वरसँग हिंड्न आदेश दिइएको थियो (उत्पत्ति ५:२४, उत्पत्ति ६:९, उत्पत्ति १७:१)। यी प्रत्येक उदाहरणले परमेश्वरसँग समय बिताएर सम्बन्ध निर्माण गर्ने व्यक्तिलाई देखाउँछ। सही आराधना परमेश्वरसँग सही सम्बन्धमा आधारित हुन्छ।
उत्पत्ति ३:८ ले देखाउँछ कि आराधना सम्बन्धमा आधारित थियो। यसले यो पनि देखाउँछ कि परमेश्वरको कृपाले मात्र आराधना सम्भव छ। अन्यजातिका देवताहरूले मानिसले तिनीहरूलाई सन्तुष्ट पार्नको लागि उचित रूपमा आराधना गर्ने तरिका खोज्ने अपेक्षा गरे। यसको विपरीत, यहोवाले दयालु भई आराधनाको उचित माध्यमको प्रबन्ध गर्नुभयो। तीनवटा उदाहरणले यसलाई प्रष्ट पार्छ।
परमेश्वरले आदम र हव्वाको लागि आराधना सम्भव बनाउनुभयो
पतनपछि, आदम र हव्वाबाट आराधना खोज्न वा स्वीकार गर्न परमेश्वर बाध्य हुनुभएन। तिनीहरूले परमेश्वरको व्यवस्था तोडेका थिए; तिनीहरूले उहाँको सृष्टिलाई भ्रष्ट गरेका थिए। तिनीहरू न्याय बाहेक अरू केहीको योग्य थिएनन्।
तिनीहरूले पाप गरेपछि, आदम र हव्वाले आफूलाई प्रभुको उपस्थितिबाट लुकाए (उत्पत्ति ३:८)। आदम र हव्वाको लागि अर्को कुनै कारवाही थिएन; तिनीहरूले मृत्युबाहेक अरू केही आशा गर्न सकेनन्। तिनीहरूले थाहा पाएको एउटै प्रतिक्रिया भनेको न्यायकर्ताबाट आफैलाई लुकाउनु थियो, तर अनुग्रहमा परमप्रभु परमेश्वरले आदमलाई बोलाउनुभयो। आराधना परमेश्वरको कृपाले सम्भव भएको हो। हामी आफैंलाई छोडेर, हामीसँग पवित्र परमेश्वरको नजिक पुग्ने कुनै माध्यम छैन। उहाँको कृपाले मात्र हामीलाई आराधना गर्न बोलाइएको छ।
परमेश्वरले अब्राहामको लागि आराधनालाई सम्भव तुल्याउनुभयो
► उत्पत्ति १८:१-८ पढ्नुहोस्।
पाठ १ मा, हामीले देख्यौं कि आराधनाको लागि हिब्रू शब्दहरू मध्ये एक (शकाह) को अर्थ "दण्डवत्" वा "आराधना गर्नु" हो। यो शब्द सर्वप्रथम उत्पत्ति १८:२ मा प्रयोग गरिएको छ। अब्राम आफ्नो पालको ढोकामा बस्दा प्रभु र दुई स्वर्गदूतहरू देखा परे। अब्राम उनीहरूलाई भेट्न पालको ढोकाबाट दौडे र आफूलाई भुईंसम्म झुकाए। अब्राहामले आफैलाई झुकाए-उनले आराधना गरे।
ध्यान दिनुहोस् कि परमेश्वरले यस घटनामा पहलको काम गर्नुभयो। उहाँ अब्राहामलाई भेट्न आउनुभयो। परमेश्वरले आराधनालाई सम्भव तुल्याउनुभयो। पुरानो करार जस्तै नयाँ करारमा, आराधना अनुग्रहद्वारा मात्र सम्भव भएको छ। पुरानो करारका बलिदानहरू सम्बन्ध नरूचाउने क्रोधित परमेश्वरलाई शान्त पार्ने माध्यम होइनन्। तिनीहरू परमेश्वर र पापी मानिसको बीचमा मेलमिलापको निम्ति परमेश्वरले आफैंले बनाउनु भएको एउटा माध्यम थियो। पुरानो करारमा पनि, आराधना केवल परमेश्वरको अनुग्रहबाट सम्भव भएको छ। हामी आफैंमा राम्ररी आराधना गर्ने क्षमता छैन।
परमेश्वरले याकूबको निम्ति आराधना सम्भव तुल्याउनुभयो
► उत्पत्ति २८:१०-२२ पढ्नुहोस्। यस घटनाले आराधनामा परमेश्वरको भूमिकाको बारेमा के प्रकट गर्छ?
आराधनाको सबैभन्दा अचम्मलाग्दो बाइबलीय चित्रहरू मध्ये एक उत्पत्ति २८:१०-२२ मा पाइन्छ। याकूबको विगतमा कुनै पनि कुराले आराधकका गुणहरू देखाउँदैन। उनले भजनसंग्रह १५ को योग्यताहरू पूरा गर्दैनन्। उनले परमेश्वरलाई खोजिरहेको छैनन्; वास्तवमा, ऊनी आफ्नै छलपूर्ण कार्यहरूद्वारा सिर्जना गरिएका समस्याहरूबाट भागिरहेका छन्। आराधना सम्बन्धी कुनै पनि पुस्तकले यसो भन्दैन, "आफ्नै पापको परिणामबाट भाग्ने छलीहरूबाट स्वीकार्य आराधना आउँछ।"
यद्यपि, याकूबको अयोग्यताको बावजुद परमेश्वरले आफूलाई याकूबकहाँ प्रकट गर्नुभयो। याकूबजस्तो अयोग्य व्यक्तिको निम्ति पनि परमेश्वरको अनुग्रहले आराधनालाई सम्भव बनाउँछ। वारेन वियर्सबीले लेखेका छन्, "जब हामी यसको थोरै अपेक्षा गर्छौं-वा यसको योग्य पनि हुन्छौं भने परमेश्वर दयालु रूपमा हामीमा प्रवेश गर्नुहुन्छ। जब आराधनामा अनुग्रहको अनुभव हुन बन्द हुन्छ, यसले महिमाको अनुभव हुनलाई पनि बन्द गरिदिन्छ।"[1]
यो अनुग्रहद्वारा मात्र हो कि परमेश्वरले हामीलाई उहाँको उपस्थितिमा निम्तो दिनुहुन्छ। हाम्रो आराधना उहाँको अनुग्रहको प्रतिक्रिया हो। हामीले आराधना गर्ने कुनै पनि कुरा उहाँको लागि योग्य छैन। उहाँको अनुग्रहले मात्र हामीलाई आराधना गर्ने शक्ति दिन्छ।
[2]याकूबको घटनाले यहोवाको आराधना र झूटा देवताहरूको आराधना बीचको ठूलो भिन्नतालाई देखाउँछ। झूटा देवताहरूका आराधकहरूले आफ्नो देवताको अनुग्रह जित्ने प्रयासमा वेदीहरू बनाए। कर्मेल डाँडामा बालका अगमवक्ताहरूले ... "बालको नाउँ लिएर उनीहरूले बिहानदेखि मध्यान्हसम्म यसो भनेर पुकारे, 'हे बाल, हामीलाई जवाफ दिनुहोस्।' तर केही प्रत्युत्तर आएन। अनि आफूहरूले बनाएको वेदीको वरिपरि उनीहरू खूब उफ्रँदै नाचे" (१ राजाहरू १८:२६)।
साँचो आराधना र झूटो आराधना बीचको भिन्नतालाई १ राजाहरू १८:२०-३९ पढ्नुहोस्।
बालका अगमवक्ताहरूले बाललाई उनीहरूका सामु प्रकट हुनको लागि मनाउने प्रयास गरे। यो ढाँचा मूर्तिपूजामा बारम्बार देखिन्छ। वेदीहरू र बलिदानहरू मूर्तिसँग अनुग्रह कमाउने प्रयास हो।
यसको विपरीत, परमेश्वरले आराधनामा उहाँका जनसामु आफूलाई अनुग्रहपूर्वक प्रकट गर्नुहुन्छ। आफूले सेवा गर्ने परमेश्वरले उनको प्रार्थनाको जवाफ दिनुहुनेछ भनी पूर्ण रूपले विश्वस्त हुँदै एलियाले आफ्नो वेदी बनाए।
हे परमप्रभु, अब्राहाम, इसहाक र इस्राएलका परमेश्वर, इस्राएलमा तपाईं परमेश्वर हुनुहुन्छ, र मचाहिँ तपाईंको दास हुँ, र यी सबै काम तपाईंको आज्ञाअनुसार मैले गरेको छु भनी आज थाहा होस् (१ राजाहरू १८:३६)।
उत्पत्तिमा, कुलपिताहरूले परमेश्वरको ध्यान खिच्नको लागि वेदीहरू बनाएका थिएनन् तर परमेश्वरले आफूलाई प्रकट गर्नुभएको ठाउँहरूको स्मारकको रूपमा वेदीहरू बनाएका थिए। वेदीले परमेश्वरको निगाह प्राप्त गरेन; यसले उहाँको अनुग्रहको उत्सव मनायो। याकूबले हामीलाई देखाउँछन् कि आराधना अनुग्रहद्वारा मात्र सम्भव छ। हामीले कहिल्यै पनि यो सोच्नु हुँदैन कि हाम्रो आराधनाले हामीलाई परमेश्वरको निगाहको योग्य बनाउँछ; हामी अनुग्रहको कारण आराधना गर्छौं।
जब परमेश्वरले आराधना सम्भव बनाउनुहुन्छ, तब के हुन्छ? याकूब रूपान्तरण भए। यो रूपान्तरण पूरा हुन ३० वर्ष लाग्यो, तर यो रूपान्तरण बेथेलमा सुरु भयो। आराधना (याकूब जस्तो अपूर्ण व्यक्तिको अपूर्ण आराधनाले पनि) हामीलाई परिवर्तन गर्छ र हाम्रो लागि त्यस्तो काम गर्छ, जुन हामीले आफ्नै लागि कहिल्यै गर्न सक्दैनौँ।
जाँच
आफैलाई सोध्नुहोस्, "के म आराधनाद्वारा रूपान्तरण भइरहेको छु, वा म खाली गतिहरूबाट गुज्रिरहेको छु? परमेश्वरसँग आराधनामा भेट भएको कारण मैले अन्तिम पटक कहिले आफ्नो कार्य, विश्वास वा मनोवृत्तिलाई परिवर्तन गरें?"
[1]Warren W. Wiersbe, Real Worship, (Grand Rapids: Baker Books, 2000), 72
झूटो आराधनामा, व्यक्तिले मूर्तिको अनुग्रह (कामहरू) प्राप्त गर्न वेदी बनाउँछ।
साँचो आराधनामा, एक व्यक्तिले परमेश्वरको अनुग्रह (अनुग्रह) मनाउन वेदी बनाउँछ।
अब्राहाम: आराधनाको लागि आज्ञाकारिता चाहिन्छ
► उत्पत्ति २२:१-१९ पढ्नुहोस्। यस घटनामा आराधनाका लागि के आवश्यकताहरू छन्?
अब्राहामले गरेको आफ्नो छोराको बलिदान आराधनाको सर्वोच्च कार्य थियो। यस घटनामा, अब्राहामको आज्ञाकारितामा जोड दिइएको याद गर्नुहोस्। परमेश्वरले भन्नुभयो, "तेरो छोरो, अर्थात् तैंले माया गरेको तेरो एउटै छोरो इसहाकलाई लिएर मोरीयाहको देशमा गई मैले तँलाई देखाएको डाँड़ामा त्यसलाई होमबलि गर्।" तीन आज्ञा। अब्राहामले "अब्राहाम बिहानै उठेर गधामा काठी कसे, र आफ्ना कमाराहरूमध्येका दुई जना र छोरो इसहाकलाई साथमा लिए... यसरी ती दुवै जना सँगसँगै गए... तब अब्राहामले आफ्नो छोरालाई बलि गर्न छुरी उठाए।" अब्राहामले हरेक आज्ञा पालन गर्छन्।
अब्राहामले इसहाकलाई गरेको बलिदानले देखाउँछ कि साँचो आराधनालाई पूर्ण आज्ञाकारिता चाहिन्छ। आराधना महशुस गर्ने कुरा वा भावना भन्दा बढी हो; आराधना भनेको गायक वा प्रचारकको कुरा सुन्नु भन्दा बढी हो। आराधना परमेश्वरको लागि सक्रिय प्रतिक्रिया हो।
उत्पत्ति १८ मा अब्राहामको घटनामा फर्कनुहोस्। घटनाको सुरुमा हामी आराधनालाई आज्ञाकारी सेवाको रूपमा देख्छौं। अब्राहामले तीन जना अपरिचित व्यक्तिहरूलाई आफ्नो छाउनीमा आउँदै गरेका देख्छन्। उनी भुइँसम्मै झुक्छन्। उनले आराधना गर्छन्।
त्यसपछि हामी अब्राहामलाई सेवामा व्यस्त भएको देख्छौं। उनले तिनीहरूका खुट्टा धुन पानी दिए। सारालाई भनेर रोटी बनाउन तिनी हतार-हतार पालमा गए। तिनले खाना तयार पारे र तिनीहरूका सामु राखिदिए। प्रतिक्षारत सेवकको रूपमा तिनीहरूले खाना खाँदा उनी रूखमुनि तिनीहरूको छेउमा उभिए। यी सबै कुराहरू आफ्नो मालिकलाई आफ्नो उत्तम सेवा दिने सेवकको भाषा हो। साँचो आराधकसँग स्वेच्छाले सेवा गर्ने मनोवृत्ति हुन्छ।
आराधनामा आज्ञाकारिताको आवश्यकता पुरानो करारभरि देखिन्छ। हाबिलको बलिदान स्वीकार गरियो किनभने यसले बलिदानको लागि परमेश्वरको आवश्यकताहरू पूरा गर्यो। हाबिलले आफ्नो बगालको पहिलो बियाएका पाठाहरू र तिनीहरूका बोसे भागहरू ल्याए (उत्पत्ति ४:४)। हाबिलले आज्ञाकारी रूपमा आफ्नो उत्कृष्ट भाग ल्याए। यसको विपरीत, कयिनले सम्भव भएसम्म सजिलो तरिकाले आफ्नो कर्तव्य पूरा गर्न चाहन्थे।
आराधनामा आज्ञाकारिताको आवश्यकता शाऊलको जीवनमा देखिन्छ। जब शाऊलले अमालेकका सबै पशुहरूलाई नाश गर्ने परमेश्वरको आज्ञालाई बेवास्ता गरे, उनले बलिदानको लागि उत्तम पशुहरू बचाइ राखेको दाबी गरेर बहाना गर्न खोजे। शमूएलले जवाफ दिए, "होमबलि र बलिदानभन्दा बेसी परमप्रभुले आज्ञापालन नै रुचाउनुहुन्न र? आज्ञापालन बलिदानभन्दा उत्तम हो, र उहाँको वचन मान्नु भेड़ाको बोसोभन्दा असल हो" (१ शमूएल १५:२२)।
► १ शमूएल १५:१-२३ पढ्नुहोस्।
परमेश्वरले विद्रोही हृदयबाट आएको आराधना स्वीकार गर्नुहुन्न।
साँचो आराधनाले परमेश्वरसँगको गहिरो सम्बन्धलाई उत्प्रेरित गर्छ। अब्राहामको घटनालाई फेरि हेर्नुहोस्। उत्पत्ति १८ अब्राहामले परमेश्वरलाई गरेको सेवाबाट सुरु हुन्छ; यो अध्याय सम्बन्धमा आएर समाप्त हुन्छ। परमप्रभुले सोध्नुभयो, "मैले गर्न लागेको काम के अब्राहामबाट लुकाएर राखूँ?" परमेश्वरको मनसाय सुने पछि, अब्राहामले साहसी भई सदोमको भविष्यको निम्ति परमेश्वरसँग वार्ता गरे। के भयो? एउटा परमेश्वरको सेवक परमेश्वरको एउटा मित्र पनि हो।
हामीले परमेश्वरलाई साँच्चै चिन्ने भनेको आराधनामा नै हो। यो आराधनामा हो कि जहाँ हामीले परमेश्वरको हृदयलाई हामीले साहसपूर्वक प्रश्न सोध्न सक्ने बिन्दुमा जान्न सक्छौं। यो आज्ञाकारी आराधनामा नै हो जहाँ परमेश्वरसँगको हाम्रो सम्बन्ध गहिरो हुन्छ। ग्रहणयोग्य आराधनाले आज्ञाकारिता (सेवा) र सम्बन्ध दुवै समावेश गर्दछ। आराधक अब्राहाम परमेश्वरको सेवक र परमेश्वरको मित्र दुवै हन्।
आजको बाइबलीय आराधना
के तपाईं कहिले अच्चमित हुनुभएको भएको छ कि किन केही मानिसहरू सेवामा उपस्थित हुन्छन् र परमेश्वरको उपस्थितिमा ल्याइन्छन् जबकि अरूहरू त्यही सेवामा उपस्थित हुन्छन् र परमेश्वरको केही पनि कुरा देख्दैनन्? कोही भेटी चढाउँछन् र आशिष् पाउँछन्। अरूले दिन्छन् र दुखी हुन्छन्। फरक भनेको आज्ञाकारी हृदय हो।
हाम्रो आराधना जतिसुकै सुन्दर किन नहोस्, जतिसुकै प्रतिभाशाली सङ्गीतकारहरू किन नहोस्, जतिसुकै शक्तिशाली उपदेश किन नहोस्, यदि आराधना आज्ञाकारी हृदयबाट आउँदैन भने, यो कयिनको आराधना हो। कयिनको आराधनाले भन्छ, "म आफ्नै तरिकाले मेरो बलिदान ल्याउन सक्छु। यो पर्याप्त रूपमा असल छ।" साँचो आराधना आज्ञाकारी हृदयबाट आउँछ।
जाँच
आफैलाई सोध्नुहोस्, "के म आज्ञाकारी आराधक हुँ? के मेरो आराधना हाबिलको हृदयबाट वा कयिनको हृदयबाट आउँछ?"
बलिदान: रीतिरिवाजको रूपमा आराधना
पतन भन्दा पहिले, आराधना एक साधारण सम्बन्धको रूपमा परमेश्वर र मानिसको बीचमा भयो। पापले मानिसको स्वभावलाई भ्रष्ट गरिसकेपछि, मानिसलाई परमेश्वरको उपस्थितिमा आउनको लागि एउटा प्रक्रिया चाहिने भयो। अनुग्रहमा, परमेश्वरले बलिदानको व्यवस्था प्रदान गर्नुभयो। बगैंचामा परमेश्वरले बलिदानहरू स्थापना गर्नुभएको थियो जब उहाँले एउटा पशुलाई मार्नुभयो र आदम र हव्वाको लागि लुगा बनाउन त्यसको छाला प्रयोग गर्नुभयो। लेवीले इस्राएलको आराधनाको लागि बलिदान व्यवस्थालाई सँगठित गर्यो (लेवी १-७ र १६)।
जब हामी प्रस्थान र लेवी पढ्छौं, यो स्पष्ट हुन्छ कि आराधनाको विवरणहरू परमेश्वरको लागि महत्त्वपूर्ण छन्। "जबसम्म हामी आराधना गर्छौं हामीले कसरी आराधना गर्छौ भनी परमेश्वरले वास्ता गर्नुहुन्न" भनी तर्क गर्नेहरूलाई प्रस्थान र लेवीले देखाउँछ कि हामीले कसरी आराधना गर्छौं भनी परमेश्वरको लागि महत्त्वपूर्ण छ! परमेश्वरले आराधनाको लागि स्पष्ट निर्देशन दिनुभयो। पतनपछि, आदम र हव्वालाई परमेश्वरको प्रकाशजस्तै, यो परमेश्वरको अनुग्रहको एउटा चिन्ह हो। यहोवाले स्पष्ट निर्देशन दिनुभयो, "तिमीहरू मेरो नजिक यसरी आउनुपर्छ।" यो अनुग्रहको कार्य थियो।
इस्राएलको लागि, तिनीहरूले परमेश्वरको घरमा प्रवेश गर्नु अघि नै आराधना सुरु भयो। आराधनाको लागि तयारी गर्ने प्रक्रियाले परमेश्वर र उहाँको घरप्रतिको श्रद्धा देखाएको थियो। आरोहणका गीतहरूले यरूशलेमको यात्रा पनि एक आराधना थियो भनेर देखाउँछन् (भजनसंग्रह १२०-१३४)। आराधनाको रीतिरिवाज व्यर्थको थिएन; बलिदानको प्रत्येक पक्षले आराधकलाई साँचो आराधनाको महत्त्व सम्झाएको थियो।
बलिदानहरूले परमेश्वरप्रति पूर्ण समर्पणताको प्रतिनिधित्व गर्यो
केही ख्रीष्टियानहरूले पुरानो करारको बलिदानको व्यवस्थालाई गलत बुझेका छन्। तिनीहरूले एउटा व्यवस्थाको कल्पना गरे जसमा इस्राएलीहरूले जानाजानी परमेश्वरको कानूनलाई तोडे, एउटा अर्थहीन बलिदान ल्याए र त्यसपछि तुरुन्तै हृदय परिवर्तन नगरी उही पापहरूमा फर्के।
यो सत्य हो कि यो केही परिस्थितिहरूमा भयो। जवाफमा, परमेश्वरले भन्नुभयो, "तिमीहरूका धार्मिक चाड़हरूलाई म घृणा गर्दछु, तिमीहरूका सभाहरू म सहन सक्दिनँ। तिमीहरूले मेरो निम्ति होमबलि र अन्नबलि चढ़ाए तापनि म ती ग्रहण गर्नेछैनँ। तिमीहरूले चढ़ाएका सबैभन्दा असल मेलबलिमाथि पनि म परवाह गर्नेछैनँ" (आमोस ५:२१-२२)।
यद्यपि, यो मानिसको असफलता थियो, परमेश्वरको होइन। बलिदानको व्यवस्था असफल भयो जब मानिसले परमेश्वरको आज्ञा पालन गर्न असफल भयो। साँचो हृदयको पश्चात्ताप झल्काउनको लागि परमेश्वरले बलिदानहरूको योजना गर्नु भएको थियो।
चाडहरूसँग सम्बन्धित रीतिरिवाजहरूले इस्राएललाई आराधनाका कार्यहरूको महत्त्व देखायो। हरेक विवरणले यहोवाप्रतिको इस्राएलको श्रद्धा प्रकट गर्यो। इस्राएलको आराधना व्यर्थको रीतिरिवाज मात्र थिएन; यी रीतिरिवाजहरूले उनीहरूको आत्मसमर्पण र आज्ञाकारिताको वास्तविकतालाई सङ्केत गरेको थियो। पशुको टाउकोमा आफ्नो हात राखेर, आराधकले बलिदानको पशु सँग आफ्नो मृत्यु भएको पहिचान गर्यो। त्यसो गर्दा, उसले स्वीकार गर्दै थियो, "यो म हुनुपर्छ। मेरो पाप मृत्युको योग्य छ" (लेवी १:४ हेर्नुहोस्)।
परमेश्वरले आफ्नो उपस्थिति प्रदान गरेर साँचो आराधनाको सम्मान गर्नुभयो
मन्दिरको निर्माणसँगै इस्राएलको आराधनालाई थप व्यवस्थित गरिएको थियो। भेट हुने पाल जस्तै, मन्दिरको प्रत्येक विवरणले इस्राएलको परमेश्वरप्रतिको श्रद्धेय आज्ञाकारितालाई जनाउँछ (२ इतिहास १-७)। बलिदानहरूको गम्भिरता र मन्दिरको आराधनाको औपचारिकताले इस्राएललाई यहोवाको महिमा र उहाँसँग भेट गर्दाखेरि गर्नुपर्ने नम्रताको सम्झना गराउँदछ।
मन्दिरको आराधनाको लागि रीतिरिवाजहरूले युक्त आराधनाको सावधानीपूर्वक योजनाले परमेश्वरको उपस्थितिलाई बाधा पुर्याएन। इतिहासमा सबैभन्दा व्यवस्थित सेवाहरूमध्ये एक मन्दिरको समर्पण हुनुपर्छ। दाऊदले मन्दिरको योजना वर्षौं अघि नै बनाएका थिए। मन्दिर पूरा भएपछि, सोलोमनले २ इतिहास ५ मा वर्णन गरिएको सुन्दर सेवामा समर्पणको नेतृत्व गरे। वाद्यवाधकहरूले झ्याली, वीणा र सारङ्गी बजाए। १२० पूजाहारीहरूले तुरही बजाए। एउटा आराधनाको झुण्डले प्रशंसाका गीतहरू गाए। तिनीहरूले गाउँदै गर्दा, "तब परमप्रभुको मन्दिर बादलले भरियो, अनि बादलले गर्दा पूजाहारीहरूले सेवा गर्न सकेनन्, किनकि परमेश्वरको मन्दिर परमप्रभुको महिमाले भरिएको थियो" (२ इतिहास ५:१३-१४)।
आजको बाइबलीय आराधना
केही मानिसहरू आराधनाको कुनै पनि संरचना र रूपको विरुद्ध प्रतिक्रिया जनाउँछन्। तिनीहरू विश्वास गर्छन् कि कुनै पनि योजनाबद्ध आराधनाले हृदयको आराधनामा बाधा पुर्याउँछ। यद्यपि, बाइबलीय आराधना संरचित प्रकारको थियो।
यदि हामीले परमेश्वरलाई हाम्रो सर्वोत्तम कुरा ल्याउने सङ्कल्प गर्छौं भने उहाँको आराधनाको लागि सावधानीपूर्वक योजना बनाउनु पर्छ। हामी हाम्रो सेवाको सुन्दरताले अरूलाई प्रभावित पार्नको लागि सेवाको योजना बनाउँदैनौं, तर परमेश्वरलाई हाम्रो आराधनाको उत्तम भेटी ल्याउनको लागि सेवाको योजना बनाउछौँ।
बाइबलमा, दुवै सावधानीपूर्वक संरचित आराधना (जस्तै मन्दिरको समर्पण) र कम संरचित आराधना (जस्तै पहिलो शताब्दीमा घरेलु मण्डलीहरूको सङ्गति) लाई परमेश्वरको उपस्थितिद्वारा आशिष् दिइयो। र, दुवै सावधानीपूर्वक संरचित आराधना (जस्तै यर्मियाको दिनको मन्दिरको आराधना) र कम संरचित आराधना (कोरिन्थको भद्रगोल आराधना जस्तै) परमेश्वरको उपस्थिति बिना गर्न सकिन्छ। मुद्दा संरचनाको परिमाणमा होइन; मुद्दा परमेश्वरको आज्ञाकारिता र परमेश्वरको उपस्थितिको लागि भोक हो।
जाँच
आफैलाई सोध्नुहोस्, "के मेरो सार्वजनिक आराधना (जति नै औपचारिक वा जति अनौपचारिक भए पनि) आज्ञाकारी हृदयबाट आउँछ?"
भजनसंग्रह: प्रशंसाको रूपमा आराधना
भजनसंग्रहको पुस्तक इस्राएलको आराधनाको पुस्तक थियो। यो एउटा भजन पुस्तक थियो; यो प्रार्थनाहरूको एक संग्रह थियो; यो सही आराधनाको लागि मार्गदर्शक थियो; यो धर्मी जीवनयापनको पुस्तिका थियो। भजनसंग्रहको पुस्तक इस्राएलको आराधनाको केन्द्रबिन्दु थियो।
आराधनामा प्रशंसा
[1]भजनसंग्रहको पुस्तकले देखाउँछ कि साँचो आराधनामा प्रशंसाको ठूलो जोड समावेश छ। भजनसंग्रह ८८ को अपवाद बाहेक, प्रत्येक भजनमा प्रशंसाको केही कथन समावेश छ। लेवीका रीतिरिवाजहरूले हामीलाई बाइबलीय आराधनाको गम्भीरताको सम्झना गराउँदछ; भजनहरूले हामीलाई बाइबलीय आराधनाको आनन्दको सम्झना गराउँदछ। भजनसंग्रह १२०-१३४ ले यहूदी तीर्थयात्रीहरूको आराधनाको लागि यरूशलेम यात्रा गर्दाको आनन्द देखाउँदछ। प्रशंसा आराधनाको केन्द्रबिन्दु हो।
भजनसंग्रहको पुस्तकमा पाइने प्रशंसाले साँचो आराधनाको आनन्द झल्काउँछ। प्रशंसाले परमेश्वरमा हाम्रो आनन्द देखाउँछ। साँचो आराधनाले परमेश्वर र उहाँका कामहरूको उत्सव समावेश गर्छ।
आराधनामा विलाप
विलापका भजनसंग्रहहरूले बाइबलीय आराधनाको अर्को पक्षलाई देखाउँछन्; आराधनाले आराधक र परमेश्वर बीच पूर्ण इमानदारीतालाई अनुमति दिन्छ। विलापको भजनमा, भजनरचयिताले यस संसारको अन्याय प्रति निराशा व्यक्त गर्दछन्। भजनसंग्रह १०:१ मा, भजनरचयिताले सोधे, "हे परमप्रभु, तपाईं किन टाढ़ा उभिनुहुन्छ? कष्टको बेला आफैलाई तपाईं किन लुकाउनुहुन्छ?" किन परमेश्वरले दुष्टहरूलाई विद्रोह र घमण्डमा काम गर्न अनुमति दिनुहुन्छ। किनकी आराधना परमेश्वरसँगको सम्बन्धमा आधारित छ, आराधक ईमानदारी र खुल्लासाथ बोल्न सक्छ।
भजनसंग्रह १० परमेश्वरमा भरोसाको घोषणाको साथ समाप्त हुन्छ।
परमप्रभु सदासर्वदाको निम्ति राजा हुनुहुन्छ, जाति-जातिहरू उहाँको देशबाट नष्ट हुनेछन्। हे परमप्रभु, पीडितहरूको इच्छा तपाईं सुन्नुहुन्छ, तिनीहरूको हृदयलाई तपाईं बलियो पार्नुहुन्छ। तिनीहरूको पुकारा तपाईं सुन्नुहुन्छ। तपाईं अनाथ र थिचोमिचोमा परेकाहरूको रक्षा गर्नुहुन्छ, ताकि पृथ्वीको मरणशील मानिसले आतङ्क अझै नमच्चाओस् (भजनसंग्रह १०:१६-१८)।
यो घोषणा परमेश्वरको भरोसामा आधारित छ। दुष्टहरूले अन्याय गरिरहे तापनि भजनरचयिताले परमेश्वरले जे ठीक छ त्यही गर्नुहुनेछ भनी विश्वस्तताका साथ बोल्छन्।
हामी अय्यूबको पुस्तकमा उस्तै इमानदारी देख्छौं। यस्तो इमानदारी परमेश्वरसँगको नजिक र घनिष्ठ सम्बन्धमा आधारित हुन्छ। यो साँचो आराधना हो, परमेश्वरलाई स्वीकार्य आराधना।
"परमेश्वरमा निरन्तर आनन्द कायम राख्न निश्चित हुनुहोस्।"
- रिचर्ड ब्याक्सटर
आजको बाइबलीय आराधना
भजनसंग्रहरूमा दुई प्रकारका प्रशंसाहरू समावेश छन्। हाम्रो मण्डलीको सङ्गीतमा दुवै प्रकारका प्रशंसा समावेश हुनुपर्छ।
उद्घोषणात्मक स्तुति
वर्णनात्मक स्तुति
परिभाषा
प्रशंसा वा प्रशंसा गर्न गरिएको आदेश जुन विशेष कारण उल्लेख नगरी व्यक्त गरिएको हुन्छ
परमेश्वरको चरित्र र उहाँका शक्तिशाली कार्यहरूको बारेमा गरिएको विशेष प्रशंसा
उदाहरण वाक्य
“यहोवाको स्तुति गर! यहोवाको निम्ति नयाँ गीत गाऊ, भक्तहरूको सभामा उहाँको स्तुति गर” (भजनसंग्रह १४९:१)।
“उहाँ यहोवा हाम्रा परमेश्वर हुनुहुन्छ; उहाँका न्यायहरू सम्पूर्ण पृथ्वीमा छन्” (भजनसंग्रह १०५:७)।
यस प्रकारको स्तुतिको लाभ
आराधकलाई परमेश्वरको आराधना गर्न आमन्त्रण गर्दछ
आराधकलाई परमेश्वरको स्वभाव र उहाँका कार्यहरूको गहन सत्य सिकाउँछ
सामान्यतया पाइने गीत शैली
स्तुतिगीतहरू
भजनहरू
भजनसंग्रहका उदाहरणहरू
यी भजनहरूले कारण नबताई प्रशंसा गर्न आदेश दिन्छन्: भजनसंग्रह १४८-१५०
यी भजनहरूले प्रशंसा गर्नका धेरै विशेष कारणहरू वर्णन गर्छन्: भजनसंग्रह १९, १०५, १३६
► माथि दिइएका छवटा भजनसंग्रहहरू हेर्नुहोस्। त्यसमध्ये प्रत्येकमा देखिने प्रशंसा प्रकारहरूको तुलना गर्नुहोस्।
► तपाईंको भाषामा उपलब्ध भजन र स्तुतिगीतहरूको सङ्ग्रह हेर्नुहोस्। दुवै प्रकारका प्रशंसाका २-३ उदाहरणहरू खोज्नुहोस्।
जाँच
भजनरचयिताको प्रशंसाले परमेश्वरमा उहाँको आनन्द देखाउँछ। आफैलाई सोध्नुहोस्, "के म साँच्चै परमेश्वरमा रमाउँछु?"
अगमवक्ताहरू: घोषणाको रूपमा आराधना
बलिदानको व्यवस्था, भेट हुने पाल र मन्दिरले आराधनामा रीतिरिवाजको मूल्यलाई देखाउँछ। यद्यपि, अगमवक्ताहरूले देखाउँछन् कि हृदयको साथ नभएको आराधनाको रीतिरिवाज शुन्य छ। जब इस्राएलका मानिसहरूले आज्ञाकारी हृदयविना रीतिरिवाजहरू पालन गर्न थाले, अगमवक्ताहरूले परमेश्वरको न्यायको सन्देश ल्याए। तिनीहरूले घोषणा गरे कि परमेश्वरले अवफादार जातिको बलिदानहरू स्वीकार गर्नुभएन।
अगमवक्ताहरूले देखाउँछन् कि परमेश्वरको सन्देशको घोषणा आराधना हो। हाम्रा सेवाहरूमा, हामीले आराधनालाई प्रचारबाट अलग गर्नु हुँदैन। वचनको घोषणा नै सत्यता गरिने आराधना हो। प्रचारले हामीमाथि परमेश्वरको अधिकार र हाम्रो जीवनको लागि उहाँको बुद्धिको पुष्टि गर्छ। यो आराधना हो; यसले परमेश्वरलाई सम्मान गर्छ।
अगमवक्ताहरूको सन्देश
वास्तविकता विनाको रीतिरिवाज आराधना होइन।
आमोसले घोषणा गरे कि परमेश्वरले इस्राएलका बलिदानहरूलाई अस्वीकार गर्नुभयो। किन? किनभने आराधकहरूको जीवन शैली पापपूर्ण थियो (आमोस ५:२१-२२)। यशैयाले घोषणा गरे कि इस्राएलका चाडहरू परमेश्वरको लागि थकाउने बोझ थिए। किन? किनभने उसको हात रगतले भरिएको थियो।
आराधना गर्नुअघि आराधकहरूलाई आज्ञा दिइएको थियो: "आफूलाई धोएर चोखो पार। मेरो नजरबाट तिमीहरूका दुष्ट कामहरू फालिदेओ! खराबी गर्न छोड़। भलाइ गर्न सिक! न्याय खोज, अत्याचारमा परेकाहरूलाई प्रोत्साहन देओ, टुहुरा-टुहुरीको रक्षा गर, विधवाको पक्षमा बोलिदेओ" (यशैया १:१३-१७)।
हृदयको वास्तविकतालाई प्रतिबिम्बित नगर्ने रीतिरिवाजहरूबाट परमेश्वर प्रभावित हुनुहुन्न।
साँचो आराधनाको लागि हाम्रो सबैभन्दा उत्तम कुरा चाहिन्छ।
अब्राहामले आफ्नो छोरालाई परमेश्वरलाई अर्पण गरे; उनले आफ्नो उत्कृष्ट कुरा दिए। हाबिलले आफ्नो बगालको पहिले बियाएका पाठाहरू ल्याए। उनले आफ्नो उत्कृष्ट कुरा दिए। लेवीको पुस्तकलाई हेर्दा बलिदानको लागि सबैभन्दा उत्तम पशु चाहिन्छ। दाऊदले त्यस्तो प्रकारको भेटी दिन इन्कार गरे जसको कुनै मूल्यको छैन (२ शमूएल २४:२४)। प्रत्येक अवस्थामा, आराधनालाई हाम्रो सर्वोत्तम कुरा चाहिन्छ।
यो सन्देश अगमवक्ताहरूको पुस्तकमा जारी छ। मलाकीले बलिदानको लागि कम्जोर स्तरका पशुहरू नल्याउन चेतावनी दिए (मलाकी १:६-८)। हाग्गैले न्यायको चेतावनी दिए किनभने मानिसहरूले परमेश्वरको घरको भन्दा आफ्नै घरको अवस्थालाई बढी ध्यान दिए (हाग्गै १:८-११)। साँचो आराधनाको लागि हाम्रो सर्वोत्तम कुरा चाहिन्छ।
साँचो आराधनामा सम्पूर्ण जीवन समावेश हुन्छ।
आमोसले इस्राएलको विद्रोहको लागि व्यावहारिक प्रतिक्रिया दिए। समाधान थप बलिदानहरू थिएन; समाधान एक धार्मिक जीवन थियो। "तर न्यायचाहिँ नदीझैँ र धार्मिकता कहिले नसुक्ने खोलाझैँ बगिरहोस्!" (आमोस ५:२४)। अगमवक्ताहरू मन्दिरको आराधना र बलिदानको विरोधी थिएनन्।[1] तिनीहरू धार्मिक जीवनको साथ नभएको आराधनाको विरोध गर्थे।
साँचो आराधनाले सम्पूर्ण जीवन समावेश गर्छ भनी हामी बाइबलभरि देख्छौं। पंचपुस्तकमा, आराधना विषयक कानून नैतिक व्यवहार विषयक कानून सँग-सँगै छ; तिनीहरू बीच कुनै पृथक्करण छैन। ऐतिहासिक पुस्तकहरूमा, दैनिक जीवनमा इस्राएलको अनाज्ञाकारिताले इस्राएलको आराधनास्थल, मन्दिरको विनाश निम्त्यायो। अगमवक्ताहरूले घोषणा गर्छन् कि परमेश्वरले इस्राएलको आराधनालाई उसको अनाज्ञाकारिताको कारण अस्वीकार गर्नुभएको छ। नयाँ करारमा, येशुले फरिसीहरूलाई सम्झाउनुहुन्छ कि शबाथ पालन जस्ता आराधना अभ्यासहरू दयाको जीवन बिना कुनै अर्थ छैन (मत्ती १२:७)।
अगमवक्ताहरूको उदाहरण: प्रचार र घोषणा आराधना हो
अगमवक्ताहरूले देखाउँछन् कि परमेश्वरको वचनको घोषणा नै आराधना हो। यर्मियाले मन्दिरको अगाडि उभिएर यसो भन्दै गरेको मूर्खताको कल्पना गर्नुहोस्, "मन्दिरमा पस्नुहोस्, भजन गाउनुहोस्, र आफ्नो बलिदान चढाउनुहोस्। त्यो आराधना हुनेछ। जब तपाईंहरू समाप्त गर्नुहुन्छ, म तपाईंहरूलाई परमेश्वरको सन्देश प्रचार गर्नेछु।" होइन! यर्मियाको घोषणा आफैमा आराधनाको कार्य थियो। यर्मियाले प्रचार गरे कि तिनीहरूको पापी जीवनको कारण परमेश्वरले इस्राएलको आराधनालाई अस्वीकार गर्नुभएको थियो। यो आराधना थियो। यसले पवित्र परमेश्वरको शुद्धतालाई चिनायो; यसले परमेश्वरको मूल्यलाई मान्यता दियो।
[1]केही विद्वानहरू भन्छन् कि भविष्यवक्ताहरूले मन्दिरको व्यवस्थालाई अस्वीकार गरे। यद्यपि, धेरै अगमवक्ताहरू मन्दिरसँग सम्बन्धीत थिए। यशैयाले मन्दिरमा प्रभुलाई देखे। इजकिएलले परमेश्वरको महिमाले भरिएको पुनर्स्थापित मन्दिरको भविष्यवाणी गरे। हाग्गैले यरुबाबेललाई मन्दिर पुनर्निर्माण गर्न प्रोत्साहित गरे। अगमवक्ताहरूले बलिदानहरूलाई अस्वीकार गरेनन्; तिनीहरूले बलिदानहरूको दुरुपयोगलाई अस्वीकार गरे।
आजको बाइबलीय आराधना
केही मण्डलीहरूले आराधना र प्रचारलाई अलग गर्छन्। तिनीहरू सूचना गर्छन्, "हामी आराधनाको समयबाट सुरु गर्नेछौं।" आराधना सकिएपछि उनीहरू प्रचारमा लाग्छन्। यसबाट दुईवटा खतरा छन्।
१. यसको अर्थ आराधना सङ्गीतमा मात्र सीमित छ। आराधनाको यो दृष्टिकोण केवल भावनाहरूमा मात्र केन्द्रित छ। साँचो आराधना सङ्गीत र गीत भन्दा बढी हुनुपर्छ।
२. यसले आराधनाबाट वचनलाई अलग गर्छ। मण्डलीको सेवामा हामीले गर्ने सबै कुरा आराधना हुनुपर्छ। सङ्गीत, प्रार्थना, पवित्रशास्त्र, वचन, र भेटी पनि सबै आराधनाको भाग हुन्।
जाँच
आफैलाई सोध्नुहोस्, "के मेरो प्रचार आराधनाको कार्य हो? जब म प्रचार गर्छु, के म परमेश्वरको सन्देश वाहकको रूपमा बोल्दछु जसले परमेश्वरको मूल्यलाई आदर गर्दैछ?"
आराधनाका खतराहरू: आराधनामा असन्तुलन
(१) अत्यधिक अनौपचारिक आराधनाको खतरा
जब हामी बिर्सन्छौं कि बाइबलीय आराधनाले समर्पणको माग गर्दछ, हामी परमेश्वरलाई आदर नगर्ने अनौपचारिक साथीको रूपमा व्यवहार गर्न सुरु गर्न सक्छौं। आराधनाको लागि अत्यधिक अनौपचारिक दृष्टिकोणले यो मनोवृत्तिलाई प्रोत्साहन दिन सक्छ। हामीले कहिल्यै बिर्सनु हुँदैन कि परमेश्वर एक अद्भुत परमेश्वर हुनुहुन्छ जसलाई पूर्ण आज्ञाकारिता चाहिन्छ। उहाँ युग-युगका राजा, अविनाशी र अदृश्य, एकमात्र परमेश्वर हुनुहुन्छ (१ तिमोथी १:१७)। केही मण्डलीहरूले परमेश्वरको महिमालाई बिर्सन्छन्; आराधना एउटा पुरानो साथी सँग एक कप कफी खाएको भन्दा अलि बढी हुन्छ।
(२) अत्याधिक औपचारिक आराधनाको खतरा
जब हामी बिर्सन्छौं कि बाइबलीय आराधना एक परमेश्वरको आराधना हो जसले हामीसँग सम्बन्ध निर्माण गर्न चाहन्छ, हामी परमेश्वरलाई टाढाको देवताको रूपमा व्यवहार गर्न सुरु गर्न सक्छौं। आराधनाको लागि अत्यधिक औपचारिक दृष्टिकोणले यो मनोवृत्तिलाई प्रोत्साहन दिन सक्छ। केही मण्डलीहरूले विश्वासीलाई परमेश्वरसँग घनिष्ठता अनुभव गर्ने मौका दिँदैनन्। उनीहरूको बढी जोड उहाँको महिमा र महानतामा पूर्ण रूपमा केन्द्रित हुन्छ।
आराधनामा, हामीले उहाँको सृष्टि र उहाँका छोराछोरीहरूसँगको घनिष्टतामा परमेश्वरको राजसी अधिकार दुवै अनुभव गर्नुपर्छ।
जाँच
तपाईंको हालसालैको आराधना सेवाबारे सोच्नुहोस्। आफैलाई सोध्नुहोस्, "सेवाको कुन भागले आराधकहरूलाई परमेश्वरको महिमाको सम्मान गर्न प्रोत्साहित गर्यो? के तिनीहरूले हाम्रो महान परमेश्वरको भावना राखेर सेवाबाट गए?" त्यसपछि आफैलाई सोध्नुहोस्, "सेवाका कुन भागहरूले आराधकहरूलाई परमेश्वरको घनिष्ठ मित्रता अनुभव गर्न प्रोत्साहन दियो? परमेश्वरले तिनीहरूलाई गहिरो प्रेम गर्नुहुन्छ भनी थाह पाएर के तिनीहरू सेवाबाट गए?"
निष्कर्ष: मन्दिर समर्पणको लागि एक प्रत्यक्षदर्शीको गवाही
मन्दिरको समर्पण गर्दा त्यहाँ सरिक हुनु कस्तो हुन्थ्यो होला ? सायद यो यसरी व्यक्त गर्न सकिन्छ:
"म त्यहाँ मन्दिरको समर्पणमा थिएँ। त्यो दिन म कहिल्यै बिर्सने छैन। हामीले वर्षौंदेखि त्यो सेवाको प्रतीक्षा गरेका थियौं।
"वर्षौँ? हो, वर्षौँ! राजा दाऊदले मन्दिर निर्माण गर्ने योजना बनाएका थिए र तिनको मृत्युअघि यो जिम्मा सोलोमनलाई दिएका थिए। अब मन्दिर पूरा भयो, र लामो समयदेखि प्रतिक्षा गरिएको समर्पण सेवा आयोजित भयो।
"यो एक सुन्दर व्यवस्थित र एक नाटकीय सेवा थियो। कल्पना गर्नुहोस्…
२२,००० गोरु र १,२०,००० भेडाको बलिदान
दाऊदको भजन गाउँदै सयौंको समूह
झ्याली, वीणा, सारङ्गी र १२० तुरहीको वाद्यवृंद
पूजाहारीहरू र लेवीहरूले उत्कृष्ट सेतो सूतीको कपडा लगाएका थिए
अहिलेसम्म बनेको सबैभन्दा सुन्दर भवनहरू मध्ये एक
प्रत्येक आराधनाको लागि सुन र चाँदीका भाँडाहरू
"यो एक सुन्दर सेवा थियो, तर कार्यक्रमको सुन्दरता मेरो सम्झनामा सबैभन्दा महत्त्वपूर्ण कुरा होइन। मलाई सबैभन्दा याद छ कि संगीतकारहरूले बजाउन र गाउन थालेपछि, 'परमेश्वरको मन्दिर परमप्रभुको महिमाले भरिएको थियो।' परमेश्वरको उपस्थितिले मन्दिर भरियो जसले गर्दा पुजारीहरूले आफ्नो कर्तव्य पूरा गर्न सकेनन्। परमेश्वरको लागि भएको सेवा परमेश्वरले नै अधिग्रहण गर्नुभयो!
"यो स्मरणिय सेवा भएको वर्षौं भइसक्यो। त्यस दिनदेखि म उपस्थित भएका प्रत्येक सेवामा परमेश्वरको उपस्थितिको समान दृश्य चिन्हहरू भएका छन् भनी म दाबी गर्दिन; त्यो विशेष दिन थियो। यद्यपि, म उपस्थित हुने हरेक सेवामा, म परमेश्वरको उपस्थितिको आशा गर्छु।
"कहिलेकाहीँ, उहाँको उपस्थिति नाटकीय हुन्छ; कहिलेकाहीँ, यो शान्त हुन्छ। कहिलेकाहीँ, भजन गाउँदा उहाँको उपस्थितिको महसुस हुन्छ; कहिलेकाहीँ, उहाँ वचनको सेवा मार्फत बोल्नुहुन्छ। कहिलेकाहीँ, मेरा भावनाहरू छुन्छ; कहिलेकाहीँ, उहाँको सत्यताले मेरो मन र इच्छासँग बोल्छ। कहिलेकाहीँ, म प्रोत्साहित भएर जान्छु; कहिलेकाहीँ, म गल्ती सच्याउनुपर्ने महसुससहित जान्छु।"
"परमेश्वरले जस्तो तरिकाले उपस्थित हुन रोज्नु भए पनि, म उहाँको उपस्थितिको कदर गर्छु। मैले परमेश्वरको दृश्य उपस्थितिको यति नाटकीय उदाहरण फेरि कहिल्यै नदेख्न सक्छु, तर म प्रत्येक पटक आराधना गर्दा उहाँको उपस्थितिमा प्रवेश गर्न सक्छु।"
समूह छलफल
► यस पाठको व्यावहारिक प्रयोगको लागि, निम्न छलफल गर्नुहोस्:
रचना एक निष्कपट ख्रीष्टियान हुन् र उनको गाउँमा हुने आराधना सेवाहरूमा उपस्थित हुन मन पराउँछिन्। जोशिलो सङ्गीत र सङ्गतिले दैनिक जीवनको कठिनाइहरूबाट स्वागतयोग्य परिवर्तन प्रदान गर्दछ। उनी आफ्नो सम्पूर्ण हृदयले परमेश्वरको आराधना गर्दा आफूले अनुभव गरेको स्पर्श र भावनाहरूलाई माया गर्छिन्। जे होस्, रचनालाई आफ्नो वैवाहिक जीवन र दैनिक जीवनका कर्तव्यहरूमा शनिवार बिहानको आराधनामा लगाउने जस्तै ऊर्जा राख्न गाह्रो छ। तपाईं रचनालाई कसरी सल्लाह दिनुहुन्छ?
समीक्षामा पाठ ३
(१) हामीले कसरी आराधना गर्छौं भनेर परमेश्वरले ख्याल गर्नुहुन्छ किनभने:
हाम्रो आराधनाको स्वरूपले परमेश्वर प्रतिको हाम्रो बुझाइलाई असर गर्छ।
हाम्रो आराधनाको स्वरूपले देखाउँछ कि हामी किन आराधना गर्छौं।
(२) आराधना सम्बन्ध हो-परमेश्वर सँग-सँगै हिंड्ने।
परमेश्वरले आदम र हव्वाको लागि आराधनाको माध्यमहरू प्रदान गर्नुभयो।
अब्राहामको आराधना सम्भव बनाउन परमेश्वरले अग्रसरता लिनुभयो।
परमेश्वरको अनुग्रहले याकूबको लागि आराधना सम्भव बनायो।
जब हामी परमेश्वरसँग हिंड्छौं, हाम्रो जीवन रूपान्तरण हुन्छ।
(३) आराधना आज्ञाकारिताबाट सुरु हुन्छ।
आराधना भावना वा अनुभूति भन्दा बढी हो।
आराधना भनेको परमेश्वरका आज्ञाहरूप्रति सक्रिय प्रतिक्रिया गर्नु हो।
परमेश्वरप्रतिको आज्ञाकारिताले उहाँसितको हाम्रो सम्बन्धलाई गहिरो बनाउँछ।
(४) आराधनाले रीतिरिवाजलाई (पुरानो करारको बलिदान) समावेश गर्छ।
बलिदानहरूले परमेश्वरप्रति पूर्ण समर्पणतालाई जनाउँछ। (रोमी १२:१)
परमेश्वरले आफ्नो उपस्थितिद्वारा साँचो आराधनालाई सम्मान गर्नुभयो। (२ इतिहास ५)
सार्वजनिक रीतिरिवाज आज्ञाकारी हृदयबाट आउनु पर्छ।
(५) आराधनाले प्रशंसालाई (भजनसंग्रह) समावेश गर्छ।
भजनसंग्रहको पुस्तकले देखाउँछ कि आराधनाले प्रशंसालाई समावेश गर्छ।
भजनसंग्रहको पुस्तकले देखाउँछ कि आराधनाले विलापलाई समावेश गर्छ।
(६) आराधनाले घोषणालाई (अगमवक्ताहरू) समावेश गर्छ।
आराधना प्रशंसा भन्दा बढी हो; यो सत्यताको घोषणा पनि हो। वचन प्रचार गर्नु आराधना हो।
अगमवक्ताहरूले यथार्थ विनाको रीतिरिवाज आराधना होइन भनी सिकाए।
अगमवक्ताहरूले साँचो आराधनाले हाम्रो सबै भन्दा उत्कृष्ट कुराहरू चाहन्छ भनी सिकाए।
अगमवक्ताहरूले साँचो आराधनाले सम्पूर्ण जीवनलाई समावेश गर्छ भनी सिकाए।
पाठ ३ क्रियाकलाप
(१) पुरानो करारको आराधनाको यो पाठबाट तपाईंले सिकेका आराधनाका तीनवटा सिद्धान्तहरू सूचीबद्ध गर्नुहोस्। एउटा पृष्ठ लेख्नुहोस् जसमा तपाइँको मण्डलीको आराधनामा प्रत्येक सिद्धान्त लागू गर्ने व्यावहारिक तरिकाहरू तपाईं छलफल गर्नुहुन्छ।
(२) अर्को पाठको सुरुमा, तपाईंले यस पाठमा आधारित परीक्षा दिनुहुनेछ। तयारी गर्दा खेरी परीक्षाका प्रश्नहरूलाई सावधानीपूर्वक अध्ययन गर्नुहोस्।
पाठ ३ परीक्षा
(१) यस पाठबाट, परमेश्वरले अस्वीकार गर्नु भएको आराधनाका दुईवटा बाइबलीय उदाहरणहरूलाई सूचीबद्ध गर्नुहोस्।
(२) परमेश्वरसँग हिँडे भन्ने शब्दले आराधनाले परमेश्वरसँगको _________ समावेश भएको देखाउँछ।
(३) यस पाठबाट, तीन अयोग्य व्यक्तिहरूको नाम दिनुहोस् जसलाई परमेश्वरले अनुग्रहपूर्वक उहाँको आराधना गर्न सक्षम बनाउनुभयो।
(४) अब्राहामले इसहाकलाई गरेको बलिदानले देखाउँछ कि साँचो आराधनालाई पूर्ण _________ चाहिन्छ।
(५) हाबिलको आराधना र कयिनको आराधनामा के भिन्नता फरक थियो?
(६) बलि चढाइने पशुको टाउकोमा हात राखेर आराधना गर्नुको अर्थ के थियो ?
(७) उद्घोषणात्मक स्तुति र वर्णनात्मक स्तुति दुवैका परिभाषा दिनुहोस्।
(८) अगमवक्ताहरूले देखाउँछन् कि परमेश्वरको सन्देशको ________ आराधना हो।
(९) आराधनाको बारेमा अगमवक्ताहरूको सन्देशका तीन पक्षहरूलाई सूचीबद्ध गर्नुहोस्।
(१०) आराधनामा भएका दुई खतरानाक असन्तुलनहरूको सूची बनाउनुहोस्।
SGC exists to equip rising Christian leaders around the world by providing free, high-quality theological resources. We gladly grant permission for you to print and distribute our courses under these simple guidelines:
No Changes – Course content must not be altered in any way.
No Profit Sales – Printed copies may not be sold for profit.
Free Use for Ministry – Churches, schools, and other training ministries may freely print and distribute copies—even if they charge tuition.
No Unauthorized Translations – Please contact us before translating any course into another language.
All materials remain the copyrighted property of Shepherds Global Classroom. We simply ask that you honor the integrity of the content and mission.